शोकको सामना गर्ने
“तिनका [याकूबका] सबै छोराहरू र छोरीले तिनलाई सान्त्वना दिने प्रयत्न गरे, तर तिनलाई शान्ति भएन। तिनले भने, ‘अहँ, यो मेरो शोकमानै म मेरो छोराकहाँ चिहानमा जानेछु।’ यसरी तिनका बाबुले तिनका निम्ति बिलौना गरे।”—उत्पत्ति ३७:३५.
आफ्नो छोरा गुमाएकोले कुलपिता याकूब एकदमै दुःखी भए। उनलाई आफू नमरेसम्मै यो चोट निको हुँदैन जस्तो लागेको थियो। याकूबलाई जस्तै तपाईंलाई पनि आफ्नो प्रियजन गुमाउँदाको पीडा कहिल्यै नपुरिने घाउ जस्तो लाग्ला। के यस्तो गहिरो शोकले परमेश्वरप्रति कम विश्वासी भएको कुरालाई संकेत गर्छ? अहँ, गर्दैन!
बाइबलले याकूब विश्वासी व्यक्ति थिए भनेर वर्णन गर्छ। तिनका बाजे अब्राहाम र बुबा इसहाकसँगसँगै याकूबलाई पनि तिनको उल्लेखनीय विश्वासको कारण प्रशंसा गरिएको छ। (हिब्रू ११:८, ९, १३) हुन पनि तिनले एक चोटि परमेश्वरको आशिष् पाउन रातभरि नै स्वर्गदूतसित कुश्ती लडेका थिए! (उत्पत्ति ३२:२४-३०) स्पष्ट छ, याकूब एकदमै आध्यात्मिक व्यक्ति थिए। त्यसो भए याकूबको शोकबाट हामी के सिक्न सक्छौं? परमेश्वरप्रति गहिरो विश्वास गर्ने व्यक्तिलाई पनि गहिरो दुःख र शोक महसुस हुन्छ। आफूले माया गरेको व्यक्ति गुमाउँदा शोकित हुनु सामान्य अनि स्वाभाविक हो।
के हो शोक?
दुःखले हामीलाई विभिन्न तरिकामा असर गर्न सक्छ तर प्रायजसोलाई एकदमै सताउने भनेको गहिरो भावनात्मक चोट हो। लियोनार्डोको अनुभवलाई विचार गर्नुहोस्। तिनका बुबा मुटु र स्वास-प्रश्वास समस्याको कारण अचानक बित्दा तिनी १४ वर्षका थिए। आफ्नी सानी-आमाले बुबाको मृत्युको समाचार सुनाएको क्षण लियोनार्डो कहिल्यै बिर्संदैनन्। सुरुमा त लियोनार्डोले त्यो समाचार सत्य हो भनेर स्वीकार्नै मानेनन्। तिनले अन्त्येष्टिमा बुबाको शव देखे तर यो हुनै नसक्ने कुराजस्तो तिनलाई लाग्यो। लगभग छ महिनासम्म लियोनार्डो रुन पनि सकेनन्। प्रायः तिनी आफ्ना बुबा कामबाट घर फर्कनुहुन्छ कि भनेर पर्खिरहन्थे। बुबा बितिसक्नुभयो भनेर पूरै स्वीकार्न तिनलाई करिब एक वर्ष लाग्यो। त्यसपछि तिनले एकदमै एक्लो महसुस गरे। कोही पनि नभएको घरमा फर्कने जस्तो सामान्य कुराले पनि लियोनार्डोलाई बुबा हुनुहुन्न भन्ने कुराको झस्का दिलाउँथ्यो। त्यस्तो बेला तिनको भक्कानो फुट्थ्यो। तिनलाई बुबाको कमी कत्ति खट्किन्थ्यो!
लियोनार्डोको अनुभवले देखाएझैं शोक एकदमै खपी नसक्नु पनि हुन सक्छ। तर खुसीको कुरा, यो चोट निको हुन सम्भव छ। तर, केही समय भने लाग्न सक्छ। जसरी शरीरको गहिरो चोट निको हुन समय लाग्छ त्यसरी नै प्रियजनको मृत्युको पीडा निको हुन पनि समय लाग्छ। चोट निको हुन महिनौं, वर्षौं वा त्योभन्दा धेरै समय पनि लाग्न सक्छ। तर सुरुमा तपाईंले महसुस गर्नुभएको तीव्र पीडा समयको अन्तरालमा कम हुँदै जानेछ अनि जीवन त्यति अन्धकार र अर्थहीन लाग्नेछैन।
यसका साथै, मृत्यु हुँदा पर्ने चोट निको हुन र नयाँ परिस्थितिमा बाँच्न सिक्न दुःख आवश्यक छ भनेर पनि भनिन्छ। मृत्यु भएपछि उक्त व्यक्तिको स्थान अब रित्तो हुन्छ। उनी नभए पनि हामीले जीवन जिउन सिक्नुपर्छ। शोकले तपाईंलाई आफ्नो भावना पोखाउन मदत गर्न सक्छ। पक्कै पनि सबैले एकै तरिकामा शोक व्यक्त गर्दैनन्। तर एउटा कुरालाई भने नकार्न सकिदैंन कि शोकलाई आफूभित्र गुम्साएर राख्यो भने मानसिक, भावनात्मक र शारीरिक तवरमा हानि पुग्न सक्छ। त्यसो भए तपाईं आफ्नो शोकलाई कसरी स्वस्थ्यकर तरिकामा व्यक्त गर्न सक्नुहुन्छ? बाइबलमा केही व्यावहारिक सुझावहरू पाइन्छन्।
चोट सहने
शोकमा परेका थुप्रैले कुराकानी गर्दा पनि राहत पाएका छन्। उदाहरणको लागि, बाइबलका पात्र अय्यूबको शब्दलाई ध्यान दिनुहोस्। उनले आफ्ना दसै जना छोराछोरी गुमाएका थिए र अरू दुःख पनि भोगेका थिए। उनले यसो भने: “मेरो जीवनदेखि म विरक्त भएँ। मेरो दुःख नरोकी म पोखाउनेछु। म मेरो मनको पीरमा बोल्नेछु।” (अय्यूब १:२, १८, १९; १०:१) याद गर्नुहोस्, अय्यूबलाई आफ्नो दुःख ‘पोखाउनु’ परेको थियो। उनले यो कसरी गरे? उनले यसो भने: ‘म बोल्नेछु।’
पाउलो, जसले आफ्नी आमा गुमाएका थिए यसो भन्छन्: “मलाई मदत गरेको एउटा कुरा भनेको अरूसित आमाबारे कुरा गरेर नै हो।” त्यसैले विश्वासी साथीलाई आफ्ना भावनाहरू पोखाउँदा केही हदसम्म भए तापनि मन हल्का हुन सक्छ। (हितोपदेश १७:१७) आफ्नी आमा गुमाइसकेपछि योनेले ख्रीष्टियान भाइबहिनीहरूलाई पहिलाभन्दा बढी आफूलाई भेट्न आउन आग्रह गरिन्। “कुरा गर्दा पीडा कम भयो” तिनी यसरी सम्झन्छिन्। तपाईंले पनि आफ्ना भावनाहरू मनको कुरा बुझ्ने व्यक्तिलाई पोखाउँदा चोट सहन सजिलो हुनेछ।
राहत पाउन, लेख्नु पनि मदतकारी हुन सक्छ। मनको कुरा भन्न गाह्रो लाग्नेहरूले आफ्नो भावनालाई लेखेर व्यक्त गर्न सजिलो पाएका छन्। शाऊल र जोनाथनको मृत्युपछि विश्वासी पुरुष दाऊदले गहिरो शोक व्यक्त गर्दै शोकगीत लेखे। जसमा उनले आफ्नो वेदना पोखाए। यो शोकगीत अन्तमा गएर बाइबलको पुस्तक दोस्रो शमूएलको एक भाग बन्न पुग्यो।—२ शमूएल १:१७-२७.
रोएर पनि भावनात्मक रूपमा राहत पाउन सकिन्छ। “सबै कुराको लागि समय छ, . . . रूने एउटा समय छ” भनेर बाइबल बताउँछ। (उपदेशक ३:१, ४) पक्कै पनि, आफूले माया गर्ने व्यक्तिको मृत्यु हुँदा “रूने . . . समय” हो। दुःखमा आँसु झार्न अप्ठ्यारो मान्नु पर्दैन। बाइबलमा यस्ता विश्वासी पुरुष तथा स्त्रीका थुप्रै उदाहरण छन् जसले खुलेआम रोएर आफ्नो दुःख व्यक्त गरे। (उत्पत्ति २३:२; २ शमूएल १:११, १२) भर्खरै मरेका आफ्नो प्यारो साथी लाजरसको चिहान नजिकै पुग्दा “येशू रुनुभयो।”—यूहन्ना ११:३३, ३५.
चोट सहन धीरज चाहिन्छ। किनभने तपाईंले त्यतिबेला भावनात्मक रूपमा उतार-चढाव महसुस गर्नुहुन्छ। नबिर्सनुहोस्, रुन लाज मान्नुपर्दैन। थुप्रै विश्वासी व्यक्तिहरूले मृत्युको चोटबाट निको हुनको लागि रुन स्वाभाविक र आवश्यक पाएका छन्।
परमेश्वरको नजिक हुनुहोस्
बाइबल हामीलाई यसो भन्छ: “परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ।” (याकूब ४:८) परमेश्वरको नजिक हुने एउटा तरिका प्रार्थना हो। यसको महत्त्वलाई हल्कासित नलिनुहोस्! बाइबल हामीलाई यस्तो सान्त्वनादायी प्रतिज्ञा गर्छ: “टुटेका हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ, र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१८) बाइबल अझै यस्तो आश्वासन दिन्छ: “तेरो भारी परमप्रभुमा राख्, र उहाँले तँलाई सँभाल्नुहुनेछ।” (भजन ५५:२२) यसबारे सोच्नुहोस्। माथि पनि बताइएझैं, थुप्रैले विश्वासी साथीलाई आफ्नो भावना पोखाउनु मदतकारी पाएका छन्। त्यसोभए हामीलाई सान्त्वना दिन्छु भनेर प्रतिज्ञा गर्नुहुने परमेश्वरलाई आफ्नो भावना पोखाउनु के झनै मदतकारी नहोला र?—२ थिस्सलोनिकी २:१६, १७.
अघि पनि उल्लेख गरेको पाउलो यस्तो टिप्पणी गर्छन्: “अब चाहिं यो पीडा सहन सक्दिनँ जस्तो लाग्दा भुईंमा घुँडा टेक्छु अनि परमेश्वरलाई प्रार्थना गर्छु। मदतको लागि म उहाँलाई गुहार्छु।” प्रार्थनाले मदत गरेको कुरामा पाउलो विश्वस्त छन्। निरन्तर प्रार्थना गर्दा “सबै सान्त्वनाका परमेश्वर”-ले चोट सहने साहस र बल दिनुहुनेछ भन्ने कुरा तपाईंले पनि थाह पाउन सक्नुहुन्छ।—२ कोरिन्थी १:३, ४; रोमी १२:१२.
पुनरुत्थानको आशा
येशूले भन्नुभयो: “पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्वास गर्ने मऱ्यो भने पनि बाँच्नेछ।” (यूहन्ना ११:२५) मरेकाहरू फेरि बाँच्नेछन् भनेर बाइबलले सिकाउँछ।a पृथ्वीमा हुनुहुँदा येशूले आफू पुनरुत्थान गर्न अर्थात् मरेकाहरूलाई ब्यूँताउन सक्षम छु भनेर देखाउनुभयो। एक पटक उहाँले १२ वर्षकी ठिटीको पुनरुत्थान गर्नुभयो। तिनका आमाबाबुले कस्तो प्रतिक्रिया देखाए? “तिनीहरू एक्कासि साह्रै छक्कमाथि छक्क परे [अर्थात्, “एकदमै आनन्दित भए,” NW ]।” (मर्कूस ५:४२) शान्त र धार्मिक अवस्था भएको आफ्नो शासनकालमा स्वर्गका राजा येशू ख्रीष्टले पृथ्वीमा अनगिन्ती मानिसहरूको पुनरुत्थान गर्नुहुनेछ। (प्रेरित २४:१५; २ पत्रुस ३:१३) मानिसहरू जीवित भएर आफ्नो प्रियजनसित पुनर्मिलन हुँदा कत्ति आनन्द हुनेछ, कल्पना गर्नुहोस् त!
विमान दुर्घटनामा आफ्नो छोरा गुमाएकी क्लडेटले छोरा रिनाटोको फोटो फ्रिजको बाहिर टाँसेकी छिन्। तिनी अक्सर त्यो फोटो हेर्छिन् र आफैलाई यसो भन्छिन्, ‘छोरा, पुनरुत्थान भएपछि हामी फेरि भेट्ने है!’ लियोनार्डोले पनि, परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा आफ्ना बुबा ब्यूँतेर आएको कल्पना गर्छन्। हो, पुनरुत्थानको आशा तिनीहरूलगायत प्रियजन गुमाएका अरू थुप्रैको लागि साँचो सान्त्वनाको स्रोत भएको छ। तपाईंको लागि पनि हुन सक्छ! (w08 7/1)
[फुटनोट]
a बाइबलमा बताइएको पुनरुत्थानको आशाबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको अध्याय ७ हेर्नुहोस्।
[पृष्ठ ७-मा भएको पेटी/चित्र]
“सबै सान्त्वनाका परमेश्वर”
“हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता, कृपाका पिता, र सबै सान्त्वनाका परमेश्वर धन्यका हुनुहुन्छ।”—२ कोरिन्थी १:३.
यो बाइबल पदले संकेत गरेअनुसार परमेश्वर आफ्ना सेवकहरूले सामना गर्ने कुनै पनि समस्या वा चुनौती सहन मदत दिन सक्नुहुन्छ। परमेश्वरले सान्त्वना दिनुहुने एउटा माध्यम भनेको एउटै विश्वासमा भएका साथी र प्रियजन हुन्।
बुबा गुमाएका लियोनार्डो आफूले बल र सान्त्वना पाएको एउटा अनुभव सम्झन्छन्। तिनले घरभित्र पाइला मात्र के राखेका थिए कोही पनि छैन भनेर सम्झे र अविरल आँसुको धारा बग्न थाल्यो। तिनी नजिकैको पार्कमा गए, बेञ्चमा बसे अनि त्यहाँ पनि धुरुधुरु रुन थाले। आँसु झार्दै तिनले परमेश्वरलाई मदतको लागि प्रार्थना गरे। त्यत्तिकैमा एउटा गाडी तिनको अगाडि रोकियो अनि लियोनार्डोले त्यो गाडीको चालक आफ्नै ख्रीष्टियान भाइ भनेर चिनिहाले। ती भाइ सामान पुऱ्याउने सिलसिलामा बाटो भुलेर त्यहाँ आइपुगेका रहेछन्। उक्त भाइको उपस्थितिले मात्र पनि लियोनार्डोलाई निकै सान्त्वना मिल्यो।
एक पटकको कुरा हो, एक जना विधुरले एकदमै एक्लो र निराश महसुस गरिरहेका थिए। जताततै अन्धकारै-अन्धकार छाएको जस्तो लागेकोले तिनले आँसु थाम्नै सकेनन्। भुईंमा थचक्क बसेर मदतको लागि तिनले परमेश्वरलाई व्यग्रतासाथ पुकारे। प्रार्थना गरिरहेकै बेलामा फोनको घन्टी बज्यो। त्यो फोन तिनकी नातिनीको थियो। तिनी सम्झन्छन्: “हाम्रो छोटो कुराकानीले पनि मलाई पुनः बल दियो। उसको फोन नै मेरो प्रार्थनाको जवाफ हो भन्ने मलाई अनुभूति भयो।”
[पृष्ठ ९-मा भएको पेटी]
अरूलाई सान्त्वना दिने
“परमेश्वरबाट जुन सान्त्वना हामीले पाएका छौं, त्यही सान्त्वनाले कुनै पनि सङ्कष्टमा हुनेहरूलाई सान्त्वना दिनसकौं भनेर हो। उहाँले हाम्रा सबै सङ्कष्टमा सान्त्वना दिनुभएको छ।”—२ कोरिन्थी १:४.
यी शब्दहरू थुप्रै साँचो ख्रीष्टियानहरू आफैले अनुभव गरेका छन्। प्रियजन गुमाउँदा त्यसको सामना गर्न आफूले पाएको सान्त्वनाको कारण तिनीहरूले अरूलाई प्रोत्साहन र सान्त्वना दिन सकेको अनुभव गरेका छन्।
क्लडेटको उदाहरणलाई विचार गर्नुहोस्। बाइबल आधारित आफ्नो विश्वास अरूलाई बाँड्न तिनी नियमितरूपमा अरूलाई भेट्ने गर्छिन्। आफ्नो छोरा गुमाउनुअघि तिनी एउटी आइमाईलाई नियमित भेट्ने गर्थिन् जसको छोरो ल्युकेमिया रोगले मरेको थियो। ती आइमाईलाई क्लडेट आएको मन त पर्थ्यो, तर उसलाई लाग्थ्यो क्लडेटले उसको पीडा कहिल्यै राम्ररी बुझ्न सक्दैन। तर क्लडेटको छोरा मरेको लगत्तै ती आइमाई तिनलाई भेट्न गईन्। अनि छोरो मरेपछि पनि क्लडेटले आफ्नो विश्वास कायम राखेकी छिन् कि छैनन् त्यो हेर्न आएको कुरा क्लडेटलाई बताइन्। क्लडेटको बलियो विश्वासबाट प्रभावित भएर ती आइमाईले क्लडेटसित नियमित बाइबल अध्ययन गरिरहेकी छिन् र परमेश्वरको वचनबाट निकै सान्त्वना पाइरहेकी छिन्।
आफ्ना बुबा गुमाइसकेपछि लियोनार्डोले बाइबलको सान्त्वनादायी सन्देश बहिराहरूलाई पनि बाड्न सकियोस् भनेर सांकेतिक भाषा सिक्ने निर्णय गरे। बहिराहरूलाई मदत गर्न आफ्नो शक्ति खर्चंदा निकै लाभ पुगेको तिनले महसुस गरेका छन्। तिनी भन्छन्: “मलाई शोक सहन मदत मिलेको एउटा कुरा भनेको परमेश्वरबारे बहिराहरूलाई बुझ्न मदत गर्ने मेरो इच्छा नै हो। उनीहरूलाई मदत गर्न मैले धेरै समय र शक्ति खर्च गरेको छु। मेरो पहिलो बाइबल विद्यार्थीले बप्तिस्मा लिंदा मेरो दुःखका भावनाहरू खुसीमा परिणत भए! साँच्चिनै भन्ने हो भने मेरा बुबाको मृत्युपछि, पहिलो चोटि मैले यसरी गहिरो खुसी महसुस गरेको थिएँ।”—प्रेरित २०:३५.
[पृष्ठ ५-मा भएको चित्र]
कुराकानी गरेर आफ्नो भावना पोखाउँदा केही हदसम्म भए पनि मन हल्का हुन सक्छ
[पृष्ठ ६-मा भएको चित्र]
शोक व्यक्त गर्न लेख्नु मदतकारी हुन सक्छ
[पृष्ठ ६-मा भएको चित्र]
पुनरुत्थानबारे पढ्नु साँचो सान्त्वनाको स्रोत हुन सक्छ
[पृष्ठ ८-मा भएको चित्र]
येशूले उहाँमा विश्वास गर्नेहरूलाई पुनरुत्थान गर्छु भनेर प्रतिज्ञा गर्नुभएको छ