के तपाईंलाई सम्झना छ?
के तपाईंले प्रहरीधरहरा-का हालैका अंकहरू पढ्नुभएको छ? पढ्नुभएको छ भने, निम्न बुँदाहरू पुनः स्मरण गर्नु तपाईंलाई रोचक लाग्ला:
◻ मत्ती २४:३, २७, ३७, ३९ मा प्रयोग गरिएको युनानी शब्द पारुसिया-को अर्थ के हो?
भाइनको नयाँ नियमका शब्दहरूको व्याख्यात्मक शब्दकोश (अंग्रेजी) भन्छ: “पारुसियाले . . . आगमन र आगमनपश्चात् हुने उपस्थिति दुवैलाई संकेत गर्छ।” तसर्थ, पारुसियाको अर्थ केवल आगमन नभई आगमनपश्चात् रहिरहने उपस्थिति हो।—८/१५,पृष्ठ ११.
◻ प्रथम शताब्दीमा “देहधारी” बच्न सकोस् भनेर कसरी ‘ती दिन घटाइए’ र व्यापक तवरमा यो कसरी हुनेछ? (मत्ती २४:२२)
सा.यु. ६६ मा रोमीहरूले मसीही “देहधारी[लाई]” बच्ने मौका दिंदै अप्रत्याशित तवरमा यरूशलेम कब्जा गर्न छाडे। त्यस्तैप्रकारले महान् बेबिलोनमाथि हुने आक्रमण पनि केही हदसम्म घटाइनेछ भनेर हामी प्रत्याशा गर्छौं। त्यसरी अभिषिक्त मसीहीहरू र तिनीहरूका सहयोगीहरू त्यस पक्कै हुने विनाशबाट बच्नेछन्।—८/१५, पृष्ठ १८-२०.
◻ कुनै व्यक्तिले स्मरणार्थ प्रतीकमा भाग लिन थाल्दा वा लिन बन्द गर्दा हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ?
यसबारे अरू मसीहीहरू चिन्तित हुनुपर्ने आवश्यक छैन। येशूले भन्नुभयो: “म असल गोठालो हुँ, म आफ्ना जतिलाई चिन्छु।” आत्मिक पुत्रहरू हुन कसलाई यहोवाले छान्नुभएको छ त्यो उहाँलाई थाह हुनु पनि आश्वासनदायी छ। (यूहन्ना १०:१४; रोमी ८:१६, १७)—८/१५, पृष्ठ ३१.
◻ मोशालाई दिइएको व्यवस्थाको मुख्य उद्देश्य के थियो?
मुख्यतः यसले इस्राएलीहरूलाई आ-आफ्नो पापी अवस्थाबाट मोल तिरेर तिनीहरूलाई किन्ने व्यक्ति अर्थात् मसीहको खाँचो छ भनेर सिकायो। (गलाती ३:२४) व्यवस्थाले ईश्वरीय भय र आज्ञाकारिता पनि सिकायो र यसले इस्राएललाई वरपरका राष्ट्रहरूको भ्रष्ट रीतिहरूबाट अलग्ग हुन मदत गर्थ्यो। (लेवी १८:२४, २५)—९/१, पृष्ठ ९.
◻ नयाँ करारको उद्देश्य के हो? (यर्मिया ३१:३१-३४)
यसको उद्देश्य सारा मानिसजातिलाई आशिष् दिन राजाहरू र पूजाहारीहरूको राष्ट्र खडा गर्नु हो। (प्रस्थान १९:६; १ पत्रुस २:९; प्रकाश ५:१०)—९/१, पृष्ठ १४, १५.
◻ हामीले क्षमा माग्ने कलाको अभ्यास किन गर्नुपर्छ?
असिद्धताको कारण हुने पीडालाई क्षमायाचनाले कम गर्नसक्छ र यसले कटु सम्बन्धहरूलाई सुल्झाउनसक्छ। हरेक चोटि क्षमा माग्दा हामी नम्रताको पाठ सिक्छौं र यसले हामीलाई अरूका भावनाहरूप्रति बढी होशियार हुन सिकाउँछ।—९/१५, पृष्ठ २४.
◻ के नूहको समयको विश्वव्यापी जलप्रलय एउटा ऐतिहासिक तथ्य हो?
हो, विश्वव्यापी जलप्रलयसम्बन्धी पुरातन कथाहरू अमेरिकादेखि लिएर अस्ट्रेलियासम्म संसारभरि पाइन्छ। यससम्बन्धी व्याप्त धारणाले बाइबलको विवरणअनुसार विश्वव्यापी जलप्रलय साँच्चै भएको थियो भन्ने तथ्यलाई समर्थन गर्छ। (उत्पत्ति ७:११-२०)—९/१५, पृष्ठ २५.
◻ आतिथेय हुनुमा के कुरा सम्मिलित छ? (रोमी १२:१३)
अतिथि-सत्कार युनानी शब्दबाट अनुवाद गरिएको हो। र यो शब्द “प्रेम” र “अपरिचित व्यक्ति” अर्थ लाग्ने दुइटा मूल शब्दहरू मिलेर बनेको छ। यसर्थ, अतिथि सत्कारको खास अर्थ “अपरिचित व्यक्तिहरूप्रति प्रेम” हो। तर यसमा कर्त्तव्य पूरा गर्ने भावले सैद्धान्तिक प्रेम देखाउनुबाहेक अझ धेरै कुरा समावेश छ। यो निष्कपट माया, स्नेह र मित्रताको अभिव्यक्ति हो।—१०/१, पृष्ठ ९.
◻ पावलले कोरिन्थीहरूलाई लेखेको आफ्नो प्रथम पत्रको अध्याय ७ मा विवाह गर्ने र अविवाहित बस्नेसम्बन्धी कस्तो तर्क गरे?
विवाह जायज हुनुका साथै कसै कसैका लागि विवाह गर्नु नै बेस भए तापनि कम बाधाबिना यहोवाको सेवा गर्न चाहने मसीही पुरुष तथा स्त्रीको लागि अविवाहित रहनु निस्सन्देह लाभकारी छ।—१०/१५, पृष्ठ १३.
◻ प्राचीनले कसरी ‘आफ्ना परिवारको पालनपोषण’ गर्छन्? (१ तिमोथी ५:८)
प्राचीनले ‘आफ्नो परिवारलाई’ अर्थात् छोराछोरीका साथै पत्नीलाई भौतिक, आध्यात्मिक तथा भावनात्मक तवरमा ‘पालनपोषण’ गर्नुपर्छ।—१०/१५, पृष्ठ २२.
◻ यहोवाले आफ्ना सेवकहरूलाई कसरी सान्त्वना दिनुहुन्छ?
परमेश्वरको पवित्र आत्माले “सान्त्वनादाता[को]” रूपमा काम गर्छ। (यूहन्ना १४:१६, पादटिप्पणी, NW) परमेश्वरले हामीलाई सान्त्वना दिनुहुने अर्को माध्यम बाइबल हो। परमेश्वरले हाम्रा व्यक्तिगत आवश्यकताहरू बुझ्नुहुन्छ र पावलले कोरिन्थीहरूबारे तीतसको रिपोर्ट सुन्दा सान्त्वना पाएझैं हामीलाई पनि एकअर्कालाई सान्त्वना दिन चलाउन सक्नुहुन्छ। (२ कोरिन्थी ७:११-१३)—११/१, पृष्ठ १०, १२.
◻ पावलले यहोवालाई “कृपाका पिता” भनेर २ कोरिन्थी १:३ मा गरेको वर्णनले कुन कुरालई देखाउँछ?
“कृपा” भनी अनुवाद गरिएको युनानी संज्ञा अरूलाई दुःख पर्दा शोक व्यक्त गर्न चलाइने शब्दबाट आउँछ। यसप्रकार, संकष्टमा परेको आफ्नो कुनै पनि विश्वासी जनप्रति परमेश्वरले देखाउनु हुने कोमल अनुभूतिबारे पावल सविवरण बताउँछन्।—११/१, पृष्ठ १३.
◻ प्रायश्चितको दिनमा इस्राएलीहरू उपवास बस्नुको उद्देश्य के थियो? (लेवी १६:२९-३१; २३:२७)
उपवासले इस्राएलका मानिसहरूलाई आफ्नो पापी अवस्था र छुटकाराको खाँचोबारे झन् सचेत हुन उत्प्रेरित गराउँथ्यो। त्यसद्वारा तिनीहरूले आफ्ना पापहरूको लागि परमेश्वरसामु अफसोस र पश्चात्ताप व्यक्त गर्थे।—११/१५, पृष्ठ ५.
◻ “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्” भनी युवा जनहरूलाई दिइएको आदेशले कुन कुरालाई देखाउँछ? (उपदेशक १२:१)
एक विशेषज्ञअनुसार “सम्झना” भनी अनुवाद गरिएको हिब्रू शब्दले अक्सर “सम्झनाको कारण उत्पन्न हुने स्नेह र कार्यलाई” संकेत गर्छ। अतः यो आदेश पालन गर्नुको अर्थ यहोवाबारे सोच्नु मात्रै होइन। यसमा उहाँलाई खुशी तुल्याउने कार्य गर्नु समावेश छ।—१२/१, पृष्ठ १६.