पाठकहरूका प्रश्नहरू
गलाती ६:८ अनुसार “जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरबाटै विनाशको कटनी गर्नेछ। तर त्यसले आत्माको लागि रोप्तछ, आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ।” यो कुन “आत्मा” हो र हामी कसरी जीवनको कटनी गर्नसक्छौं?
“आत्मा” भनी अनुवाद गरिएका हिब्रू र युनानी पदहरूको बेग्लाबेग्लै अर्थ छ, जस्तै: (१) परमेश्वरको सक्रिय शक्ति, (२) मानिस अथवा जनावरहरूमा हुने जीवन शक्ति, (३) एक जना मानिसको जोडदार मानसिक शक्ति, र (४) आत्मिक मानिस वा स्वर्गदूत। गलाती ६:८ मा भनिएको अर्थ यीमध्ये प्रथम अर्थात् परमेश्वरको सक्रिय शक्ति हो।
जानकारीसरह गलाती ३:२ लाई स्मरण गर्नुहोस्। त्यहाँ गलातीको पुस्तकमा प्रथम चोटि “आत्मा” शब्द प्रयोग गरिएको छ। पावलले मसीहीहरूलाई सोधे: “तिमीहरूले आत्मालाई व्यवस्थाको कामबाट पायौ, कि विश्वासको सुनाइबाट?” त्यसपछि, गलाती ३:५ मा त्यो “आत्मा[लाई]” शक्तिशाली कार्यहरू गर्नुसित जोडिएको छ। अतः तिनले उल्लेख गरेको “आत्मा,” पवित्र आत्मा अर्थात् परमेश्वरको अदृश्य सक्रिय शक्ति हो।
पछि, गलाती ५:१६ मा पावलले आत्मा र शरीरको भिन्नता देखाए। हामी यस्तो लेखिएको पाउँछौं: “म भन्दछु, आत्माको भरमा हिंड़, र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नु पर्नेछैन।” तिनले “शरीरको लालसा” भन्नुको अर्थ, पापी मानव शरीर हो। तसर्थ, तिनले गलाती ५:१९-२३ मा “शरीरका कामहरू” र “आत्माको फल[को]” भिन्नता सूचिबद्ध गरे।
यसर्थ, गलाती ६:८ मा “आफ्नै शरीरको लागि” रोप्ने व्यक्ति “शरीरका कामहरू[मा]” लिप्त भएर पापी मानव इच्छाअनुसार हिंड्ने मानिस हुनुपर्छ। उसले त्यस्तो आचरणको भ्रष्ट प्रभावहरू भोग्नसक्छ र आफूलाई परिवर्तन गरेन भने उसले निश्चय पनि परमेश्वरको राज्यमा जीवन प्राप्त गर्नेछैन।—१ कोरिन्थी ६:९, १०.
समर्पित मसीहीहरूको हैसियतमा हामीले ‘परमेश्वरको आत्माअनुसार रोप्ने’ इच्छा राख्नुपर्ने हो। त्यसो गर्न हाम्रो जीवनमा पवित्र आत्मा अनवरोधित ढंगमा क्रियाशील भएर त्यसका फलहरू प्रकट हुने ढंगमा जीवन बिताउनुपर्छ। हामीले के पढ्ने अनि कुन टेलिभिजन कार्यक्रम हेर्ने भनेर निर्णय गर्दा यो सिद्धान्तलाई सम्झनुपर्छ। मण्डलीका सभाहरूमा ध्यान दिंदा र आत्माले अभिषिक्त प्राचीनहरूको सल्लाह अपनाउन प्रयास गर्दा हामीले आत्माअनुसार रोप्छौं।—प्रेरित २०:२८.
चाखलाग्दो कुरा, पवित्र आत्माअनुसार रोप्दा हामी “अनन्त जीवनको कटनी” गर्न योग्यका हुनेछौं भन्ने आश्वासनसहित गलाती ६:८ टुंग्याइएको छ। हो, ख्रीष्टको छुटकाराको बलिदानको आधारमा परमेश्वरले पवित्र आत्माद्वारा अनन्त जीवन प्रदान गर्नुहुनेछ।—मत्ती १९:२९; २५:४६; यूहन्ना ३:१४-१६; रोमी २:६, ७; एफिसी १:७.