प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १०/१५ pp. १२-१६
  • तपाईं कस्तो मनोभाव देखाउनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं कस्तो मनोभाव देखाउनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • संसारको मनोभाव त्याग्नुहोस्‌
  • मण्डलीमा आदरपूर्ण मनोभाव देखाउनुहोस्‌
  • अरूसितको सम्बन्धमा असल मनोभाव देखाउनुहोस्‌
  • तपाईंको राम्रो मनोभावले पूरै मण्डलीको हित हुन्छ
  • मण्डलीको सकारात्मक मनोभाव जोगाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • आत्माको भरमा हिंड्‌नुहोस्‌ र समर्पण अनुरूप जीवन बिताउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • यहोवाको आत्माले उहाँका जनहरूलाई डोऱ्‍याउँदछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १०/१५ pp. १२-१६

तपाईं कस्तो मनोभाव देखाउनुहुन्छ?

“तिमीहरूले देखाउने मनोभावमा प्रभु येशू ख्रीष्टको असीम अनुग्रह रहोस्‌।”—फिले. २५.

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

  • आफूले देखाउने मनोभावबारे हामीले किन ध्यान दिनुपर्छ?

  • हामी कस्तो मनोवृत्ति देखाउन चाहँदैनौं? त्यसो गर्नदेखि कसरी जोगिन सक्छौं?

  • मण्डलीमा राम्रो मनोभाव देखाउन हामी के गर्न सक्छौं?

१. मण्डलीहरूलाई लेखेको पत्रमा पावलले धेरै चोटि कुन कुरा दोहोऱ्‍याए?

प्रथम शताब्दीका मण्डलीहरूले देखाएको मनोभावलाई परमेश्‍वर र ख्रीष्टले स्वीकार्नुहुनेछ भन्‍ने आशा राखेको कुरा प्रेषित पावलले आफ्ना पत्रहरूमा धेरै चोटि दोहोऱ्‍याए। उदाहरणका लागि, तिनले गलातीका ख्रीष्टियनहरूलाई यस्तो लेखे: “भाइहरू हो, तिमीहरूले देखाउने मनोभावमा हाम्रा प्रभु येशू ख्रीष्टको असीम अनुग्रह रहोस्‌। आमिन।” (गला. ६:१८) “तिमीहरूले देखाउने मनोभाव” भनेर तिनले के भन्‍न खोज्दै थिए?

२, ३. (क) “मनोभाव” शब्द प्रयोग गरेर पावलले कुन कुरा बुझाउन खोज्दै थिए? (ख) आफूले देखाउने मनोभावबारे हामी कस्ता प्रश्‍न सोध्न सक्छौं?

२ पावलले यहाँ प्रयोग गरेको “मनोभाव” शब्दले हाम्रो मनोवृत्ति अर्थात्‌ सोच्ने तरिकालाई बुझाउँछ। त्यसले हामीलाई कुनै खास तरिकामा केही कुरा भन्‍न वा गर्न लगाउँछ। कोही कोमल, विचारशील, नरम-मिजासको, उदार वा क्षमाशील हुन्छन्‌। बाइबलले “शान्त अनि नम्र मनोभावको” हुनु र “ठण्डा मिजास” राख्नु राम्रो कुरा हो भनेर बताउँछ। (१ पत्रु. ३:४; हितो. १७:२७) अरू भने अर्काको व्यङ्‌ग्य गर्ने, भौतिकवादी, झनक्क रिसाइहाल्ने वा कसैको अधीनमा बस्न नचाहने स्वभावका हुन्छन्‌। तर योभन्दा पनि नराम्रो कुरा हो, कसै-कसैले अशुद्ध, अनाज्ञाकारी वा विद्रोही मनोभावसमेत देखाउँछन्‌।

३ यसैकारण “तिमीहरूले देखाउने मनोभावमा प्रभुको आशिष्‌ होस्‌” भन्‍ने अभिव्यक्‍ति प्रयोग गरेर पावलले परमेश्‍वरको इच्छाअनुसार गर्ने र ख्रीष्टको जस्तो व्यक्‍तित्व झल्काउने मनोभाव देखाउन प्रोत्साहन दिंदै थिए। (२ तिमो. ४:२२; कलस्सी ३:९-१२ पढ्‌नुहोस्‌) आफूलाई यी प्रश्‍नहरू सोध्नु राम्रो हो: ‘म कस्तो मनोभाव देखाउँछु? परमेश्‍वरलाई प्रसन्‍न पार्ने मनोभाव देखाउन म अझ के गर्न सक्छु? परमेश्‍वरलाई प्रसन्‍न पार्ने मनोभाव देखाउन मण्डलीका अरू सदस्यहरूलाई कसरी प्रोत्साहन दिन सक्छु?’ एउटा उदाहरण विचार गर्नुहोस्‌: सूर्यमुखी फूल ढकमक्क फुलेको बगैंचामा प्रत्येक फूलको महत्त्व हुन्छ र प्रत्येक फूलले पूरै बगैंचाको सौन्दर्य बढाउँछ। के हामी पनि पूरै मण्डलीको शोभा बढाउने “फूल” हौं? यस्तो प्रयास हामीले अवश्‍य गर्नुपर्छ। परमेश्‍वरलाई प्रसन्‍न पार्ने मनोभाव देखाउन हामी के गर्न सक्छौं, आउनुहोस्‌ विचार गरौं।

संसारको मनोभाव त्याग्नुहोस्‌

४. “संसारको मनोभाव” के हो?

४ बाइबल यसो भन्छ: “हामीले संसारको मनोभाव होइन तर परमेश्‍वरको पवित्र शक्‍ति पाएका छौं।” (१ कोरि. २:१२) “संसारको मनोभाव” के हो? यो एफिसी २:२ मा उल्लेख गरिएकै मनोभाव हो, जहाँ यस्तो लेखिएको छ: “तिमीहरू कुनै बेला यस युगका मानिसहरूझैं अनि यस संसारमा हावासरि फैलिएको मनोभावको शासकको इच्छाबमोजिम चल्थ्यौ, जुन मनोभावले अहिले अनाज्ञाकारी सन्तानहरूमा काम गरिरहेको छ।” यो “हावा” संसारको मनोभाव अर्थात्‌ संसारका मानिसहरूको सोच्ने तरिका हो। यो मनोभाव हावासरि चारैतिर फैलिएको छ। आजकाल अधिकांश मानिसहरू यस्तो सोचाइ राख्छन्‌: ‘मैले के गर्नुपर्छ मलाई थाह छ, कसैले सिकाउनु पर्दैन’ वा ‘आफ्नो अधिकारको लागि लड।’ यस्तो मनोभाव देखाउने मानिसहरू सैतानको संसारमा व्याप्त “अनाज्ञाकारी सन्तानहरू” हुन्‌।

५. कोही-कोही इस्राएलीले कस्तो खराब मनोभाव देखाए?

५ यस्तो मनोभाव नयाँ कुरा होइन। मोशाको समयमा कोरहले इस्राएलीहरूको समुदायमा अख्तियार पाएका व्यक्‍तिहरूको विरोध गरे। कोरहले खास गरी पुजारीको रूपमा सेवा गर्ने सुअवसर पाएका हारून र तिनका छोराहरूको विद्रोह गरे। सायद कोरहले तिनीहरूका गल्ती देखे। अथवा मोशाले आफ्ना नातेदारहरूलाई सुअवसर दिएर नातावाद देखाएको जस्तो कोरहलाई लाग्यो होला। कारण जेसुकै होस्‌, कोरहले मानव दृष्टिकोणबाट हेरे अनि यहोवाले नियुक्‍त गर्नुभएका व्यक्‍तिहरूप्रति घोर अनादर देखाउँदै यसो भने: “तपाईंहरू किन आफूलाई उच्च तुल्याउनुहुन्छ?” (गन्ती १६:३) त्यसरी नै दातान र अबीरामले पनि मोशाविरुद्ध गनगन गर्दै भने, “फेरि तपाईं हामीमाथि नेता पनि बन्‍न खोज्नुहुन्छ?” मोशाले बोलाउँदा अहङ्‌कारी हुँदै तिनीहरूले यस्तो जवाफ फर्काए: “हामी पटक्कै आउँदैनौं।” (गन्ती १६:१२-१४) यस्तो मनोभाव देखाएकोमा यहोवा पटक्कै प्रसन्‍न हुनुहुन्‍न थियो। उहाँले ती सबै विद्रोहीलाई नाश गर्नुभयो।—गन्ती १६:२८-३५.

६. प्रथम शताब्दीमा कोही-कोहीले खराब मनोभाव कसरी देखाए? त्यस्तो मनोभाव देखाउनुको कारण के हुन सक्छ?

६ प्रथम शताब्दीमा पनि कोही-कोहीले “प्रभुत्वलाई तुच्छ” ठान्दै मण्डलीमा अख्तियार पाएकाहरूको आलोचना गरे। (यहू. ८) सम्भवतः यी मानिसहरू आफूले पाएको सुअवसरमा असन्तुष्ट थिए। साथै परमेश्‍वरले दिनुभएको जिम्मेवारीलाई बडो ध्यान दिएर पूरा गर्न प्रयास गरिरहेका नियुक्‍त पुरुषहरूको विरोध गर्न तिनीहरूले अरूलाई उक्साए।—३ यूहन्‍ना ९, १० पढ्‌नुहोस्‌।

७. मण्डलीमा कस्तो मनोवृत्ति नदेखाउन हामी होसियार हुनुपर्छ?

७ ख्रीष्टियन मण्डलीमा त्यस्तो मनोभावको कुनै ठाउँ छैन। त्यसैले हामी होसियार हुनुपर्छ। मोशाको समयका र प्रेषित यूहन्‍नाको समयका बूढा-प्रधानहरू त्रुटिरहित थिएनन्‌। आज पनि एल्डरहरू त्रुटिरहित छैनन्‌। एल्डरहरूको गल्तीले हामीलाई प्रत्यक्ष असर गर्न सक्छ। त्यसो भएमा मण्डलीका कुनै सदस्यले संसारको मनोभाव देखाउँदै ‘म न्याय चाहन्छु!’ वा ‘त्यो भाइलाई कारबाही गर्नै पर्छ!’ भनेर आक्रोश व्यक्‍त गर्नु कत्ति अनुचित हुनेछ। यहोवाले सानातिना गल्तीहरूको बेवास्ता गर्ने छनौट गर्न सक्नुहुन्छ। के हामी पनि त्यसो गर्न सक्दैनौं र? गम्भीर गल्ती गरेकाहरूलाई मदत गर्न एल्डरहरू खटाइएका हुन्छन्‌। तर तिनीहरूलाई ती एल्डरहरूको कुनै-कुनै कुरा चित्त नबुझ्न सक्छ। त्यसैले तिनीहरू ती एल्डरहरूसित भेट्‌नै इन्कार गर्छन्‌। यस अवस्थालाई एक जना बिरामीसित तुलना गर्न सकिन्छ, जो आफ्नो रोगको उपचार गर्ने डाक्टरको कुनै-कुनै कुरा चित्त नबुझेकोले उपचारै गर्न मान्दैन।

८. मण्डलीमा अगुवाइ लिइरहेकाहरूप्रति उचित दृष्टिकोण राख्न कुन-कुन पदले मदत गर्न सक्छ?

८ येशूको “दाहिने हातमा सात वटा तारा” छ भनेर बिर्सेनौं भने हामी त्यस्तो मनोभाव राख्नदेखि जोगिन सक्छौं। “तारा”-ले अभिषिक्‍त निरीक्षकहरूलाई बुझाउँछ तर यसले मण्डलीका अन्य सबै निरीक्षकलाई समेत बुझाउँछ। येशू आफ्नो हातमा भएका “तारा”-लाई आफूले चाहेअनुसार चलाउन सक्नुहुन्छ। (प्रका. १:१६, २०) त्यसैले ख्रीष्टियन मण्डलीको शिर येशूलाई एल्डरहरूको निकायको अवस्था राम्ररी थाह छ। त्यस निकायका कोही सदस्यलाई सुधारको खाँचो छ भने ‘आगोको ज्वालाजस्ता आँखा’ भएका येशूले ठीक समयमा अनि ठीक तरिकामा अनुशासन दिनुहुनेछ। (प्रका. १:१४) त्यतिन्जेल, पवित्र शक्‍तिद्वारा नियुक्‍त यी एल्डरहरूप्रति हामीले उचित आदर देखाउनुपर्छ। पावलले लेखे: “जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ र तिनीहरूको अधीनमा बस, किनकि परमेश्‍वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्‌। तिनीहरूले यो काम खुसीसाथ गरून्‌, सुस्केरा हाल्दै होइन, नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ।”—हिब्रू १३:१७.

९. (क) सच्याइँदा वा अनुशासन पाउँदा आफ्नो मनोभावको कसरी जाँच हुन सक्छ? (ख) सुधार पाउँदा हामीले देखाउनुपर्ने सही मनोभाव के हो?

९ आफूलाई सच्याइँदा वा मण्डलीमा आफूले पाइरहेको जिम्मेवारीबाट हटाइँदा पनि ख्रीष्टियनको मनोभावको जाँच हुन सक्छ। हिंस्रक भिडियो गेम खेल्ने एक जवान भाइलाई एल्डरहरूले कौशलतापूर्वक सल्लाह दिए। दुःखको कुरा, तिनले त्यो सल्लाह सुनेनन्‌। अनि बाइबलमा बताइएको योग्यता पूरा नगरेकोले तिनलाई सहायक सेवकको जिम्मेवारीबाट बर्खास्त गरियो। (भज. ११:५; १ तिमो. ३:८-१०) पछि ती भाइले आफूलाई त्यो निर्णय अस्वीकार्य भएको कुरा सबैलाई सुनाउँदै हिंडे, एल्डरहरूबारे गुनासो गर्दै पटक-पटक शाखा कार्यालयलाई चिठी लेखे अनि मण्डलीका अरू सदस्यहरूलाई पनि त्यस्तै चिठी लेख्न उक्साए। आफ्नो गलत व्यवहारको सफाइ दिन सम्पूर्ण मण्डलीको शान्ति भाँड्‌दा कसैको हित हुँदैन। बरु यसरी सुधार पाउँदा त्यसलाई आफ्नो कमजोरी सच्याउने मौका ठानेर चुपचाप स्वीकार्नु कत्ति बेस!—विलाप ३:२८, २९ पढ्‌नुहोस्‌।

१०. (क) याकूब ३:१६-१८ बाट उचित र अनुचित मनोभावबारे हामी के सिक्न सक्छौं? (ख) “माथिबाट आउने बुद्धि”-अनुसार चल्दा परिणाम कस्तो हुन्छ?

१० याकूब ३:१६-१८ ले मण्डलीमा हामीले देखाउनुपर्ने उचित मनोभाव र देखाउन नहुने अनुचित मनोभावबारे राम्रो सल्लाह दिन्छ। त्यहाँ यसो भनिएको छ: “जहाँ ईर्ष्या अनि वैमनस्यता हुन्छ, त्यहाँ गोलमाल र हरकिसिमका खराब कुराहरू हुन्छन्‌। तर माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम पवित्र हुन्छ, त्यसपछि शान्तिप्रिय, व्यावहारिक र आज्ञाकारी हुनुका साथै ऊ कृपा अनि असल फलहरूले भरिपूर्ण हुन्छ र उसले कुनै किसिमको भेदभाव अनि ढोंग गर्दैन। यसबाहेक, जसले शान्ति कायम गर्छ, उसले शान्तिपूर्ण अवस्थामा त्यसको बीउ छर्छ र त्यसबाट असल फल बटुल्छ।” “माथिबाट आउने बुद्धि”-अनुसार चल्दा हामीले परमेश्‍वरका गुणहरू अनुकरण गर्न सक्नेछौं। यसो गर्दा भाइहरूमाझ राम्रो मनोभाव कायम गर्न सक्छौं।

मण्डलीमा आदरपूर्ण मनोभाव देखाउनुहोस्‌

११. (क) उचित मनोभाव छ भने हामी के गर्नेछैनौं? (ख) दाऊदको उदाहरणबाट हामी के सिक्छौं?

११ ‘मण्डलीलाई गोठालोले झैं डोऱ्‍याउने’ काम यहोवाले एल्डरहरूलाई सुम्पनुभएको छ भनेर हामीले बिर्सनु हुँदैन। (प्रेषि. २०:२८; १ पत्रु. ५:२) एल्डरको रूपमा सेवा गर्ने सुअवसर पाएका होऔं या नहोऔं, परमेश्‍वरको प्रबन्धलाई आदर गर्नु सबैभन्दा बुद्धिमानी कुरा हो भनेर हामीले बुझेका छौं। उचित मनोभाव कायम राख्यौं भने ओहदाको विषयमा अचाक्ली चिन्ता गर्नेछैनौं। इस्राएलका राजा शाऊललाई आफ्नो राजकीय ओहदा दाऊदमा जाला भन्‍ने डर थियो। त्यसैले शाऊलले “दाऊदलाई डाहाको दृष्टिले हेर्नलागे।” (१ शमू. १८:९) शाऊलले अनुचित मनोभाव विकास गरे र दाऊदलाई मार्नसमेत खोजे। शाऊलले जस्तो आफ्नो ओहदाको विषयमा अचाक्ली चिन्ता गर्नुको साटो दाऊदजस्तो हुनु कत्ति बेस। आफूले तीनथुप्रो अन्याय भोग्नुपरे तापनि जवान दाऊदले परमेश्‍वरले नियुक्‍त गर्नुभएको व्यक्‍तिप्रति आदर देखाए।—१ शमूएल २६:२३ पढ्‌नुहोस्‌।

१२. मण्डलीको एकतामा कसरी योगदान पुऱ्‍याउन सक्छौं?

१२ मतभिन्‍नताले गर्दा मण्डलीका सदस्यहरूमाझ मात्र होइन, निरीक्षकहरूमाझ पनि चिढचिढाहट हुन सक्छ। यस सन्दर्भमा बाइबलको सल्लाहले हामीलाई मदत गर्न सक्छ: “एक-अर्काको आदर गर्नमा अगुवाइ लेओ” र “तिमीहरू आफ्नै नजरमा बुद्धिमान्‌ नहोओ।” (रोमी १२:१०, १६) आफ्नै कुरामा जिद्दी गर्नुको साटो एउटै कुरालाई विभिन्‍न दृष्टिकोणले हेर्न सकिन्छ भनेर मानिलिनुपर्छ। अरूको दृष्टिकोण बुझ्ने प्रयास गऱ्‍यौं भने मण्डलीको एकतामा योगदान पुऱ्‍याउन सक्छौं।—फिलि. ४:५.

१३. आफ्नो राय व्यक्‍त गरिसकेपछि के गर्नुपर्छ? हामीले चाल्नुपर्ने कदमबारे बाइबलको कुन उदाहरणले प्रस्ट पार्छ?

१३ के यसको मतलब मण्डलीमा कुनै कुरा छाँटकाँट गर्नुपर्ने जस्तो लागेमा आफ्नो राय व्यक्‍त गर्नु गलत हो? होइन। प्रथम शताब्दीमा एउटा विषयमा निकै बहस चलेको थियो। “यस विषयमा कुरा गर्न भाइहरूले पावल र बर्णाबासका साथै आफूहरूमध्येका अरू केही मानिसहरूलाई यरूशलेममा भएका प्रेषित र एल्डरहरूकहाँ पठाए।” (प्रेषि. १५:२) निस्सन्देह, त्यस मामिलाबारे र त्यो कसरी सुल्झाउने भन्‍नेबारे ती भाइहरूको आ-आफ्नै धारणा थियो। तर सबैले आ-आफ्नो विचार व्यक्‍त गरिसकेपछि अनि पवित्र शक्‍तिको निर्देशनबमोजिम निर्णय गरिसकेपछि तिनीहरूले त्यस विषयमा गन्थन-मन्थन गरिरहेनन्‌। मण्डलीहरूले त्यस निर्णयबारे पत्र पाउँदा तिनीहरू आफूले पाएको “प्रोत्साहनले गर्दा रमाए” र तिनीहरूको “विश्‍वास बलियो हुँदै” गयो। (प्रेषि. १५:३१; १६:४, ५) आज पनि कुनै विषयबारे जिम्मेवार भाइहरूलाई अवगत गराइसकेपछि त्यस विषयमा अझै चिन्ता गरिरहनुको साटो तिनीहरूकै हातमा छोडिदिनुपर्छ।

अरूसितको सम्बन्धमा असल मनोभाव देखाउनुहोस्‌

१४. अरूसित व्यवहार गर्दा कसरी असल मनोभाव देखाउन सक्छौं?

१४ अरूसितको सम्बन्धमा असल मनोभाव देखाउने मौका प्रशस्त छन्‌। अरूले चित्त दुखाउँदा क्षमा दियौं भने दुवै पक्षको हित हुन्छ। परमेश्‍वरको वचन यसो भन्छ: “यदि कसैसित केही गुनासो छ भने एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो। यहोवाले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर।” (कल. ३:१३) “यदि कसैसित केही गुनासो छ भने” भन्‍ने अभिव्यक्‍तिले कहिलेकाहीं अरूसित व्यवहार गर्दा झिजो लाग्ने जायज कारण हुन सक्छ भनी बुझाउँछ। तर अरूको सानोतिनो बेढङ्‌गी स्वभावले गर्दा चिढचिढ हुनु हुँदैन। यस्तो व्यवहारले मण्डलीको शान्ति खलबल्याउन सक्छ। बरु सङ्‌गी भाइबहिनीलाई क्षमा दिन तयार हुनुका साथै उनीहरूसित मिलेर सेवा गर्दै यहोवाको अनुकरण गर्नुपर्छ।

१५. (क) क्षमा दिने सन्दर्भमा अय्यूबबाट के सिक्न सक्छौं? (ख) राम्रो मनोभाव देखाउन प्रार्थनाले कसरी मदत गर्न सक्छ?

१५ क्षमा दिने सन्दर्भमा हामी अय्यूबबाट सिक्न सक्छौं। सान्त्वना दिन्छु भनी टोपल्ने तीन जना साथीले तिनको चित्त दुखाउने थुप्रै कुरा गरे। तैपनि अय्यूबले क्षमा दिए। तिनले क्षमा दिन सक्नुको कारण के थियो? “आफ्ना मित्रहरूका निम्ति अय्यूबले अन्तरबिन्ती” गरे। (अय्यू. १६:२; ४२:९) अरूको निम्ति प्रार्थना गरिदिंदा तिनीहरूप्रति हाम्रो दृष्टिकोण परिवर्तन हुन सक्छ। सबै ख्रीष्टियन भाइबहिनीको लागि प्रार्थना गर्दा ख्रीष्टको जस्तै मनोभाव विकास गर्न सक्छौं। (यूह. १३:३४, ३५) हाम्रा भाइबहिनीको लागि प्रार्थना गर्नुका साथै पवित्र शक्‍तिको लागि पनि प्रार्थना गर्नुपर्छ। (लूका ११:१३) अरूसित व्यवहार गर्दा ख्रीष्टियन गुणहरू देखाउन परमेश्‍वरको पवित्र शक्‍तिले मदत गर्नेछ।—गलाती ५:२२, २३ पढ्‌नुहोस्‌।

तपाईंको राम्रो मनोभावले पूरै मण्डलीको हित हुन्छ

१६, १७. तपाईंले कस्तो “मनोभाव” देखाउने सङ्‌कल्प गर्नुभएको छ?

१६ राम्रो मनोभाव कायम गर्न प्रत्येकले प्रयास गर्दा पूरै मण्डलीको हित हुन्छ। यस लेखले तपाईंलाई आफ्नो मनोभाव अझ राम्रो बनाउन अनि अरूलाई अझ प्रोत्साहन दिने तरिकाबारे सोच्न मदत गऱ्‍यो होला। त्यसो हो भने, कुन-कुन क्षेत्रमा सुधार गर्नुपर्छ, त्यसबारे परमेश्‍वरको वचनले तपाईंलाई जाँच्न दिनुहोस्‌। (हिब्रू ४:१२) मण्डलीमा राम्रो उदाहरण बसाल्न चाहने पावलले यसो भने: “मलाई आफू कुनै कुराको दोषी छु जस्तो लाग्दैन। तैपनि यसो भन्दैमा परमेश्‍वरको नजरमा म असल साबित हुँदिनँ, तर मलाई जाँच्ने यहोवा नै हुनुहुन्छ।”—१ कोरि. ४:४.

१७ माथिबाट आउने बुद्धिअनुसार चल्ने र आफ्नो ओहदाको विषयमा अचाक्ली चिन्ता नगर्ने प्रयास गऱ्‍यौं भने मण्डलीमा राम्रो मनोभाव कायम गर्न योगदान पुऱ्‍याउन सक्छौं। अरूलाई क्षमा गर्दा अनि अरूप्रति सकारात्मक दृष्टिकोण राख्दा सङ्‌गी भाइबहिनीहरूसित शान्तिमय सम्बन्ध कायम गर्न सक्छौं। (फिलि. ४:८) यी कुराहरू गऱ्‍यौं भने ‘हामीले देखाउने मनोभावमा’ यहोवा र येशू प्रसन्‍न हुनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्छौं।—फिले. २५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने