प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bt chap. १४ pp. १०८-११५
  • “हाम्रो सर्वसम्मतिद्वारा”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हाम्रो सर्वसम्मतिद्वारा”
  • परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “भविष्यवक्‍ताहरूले बताएको कुरा पनि यससित मेल खान्छ” (प्रेषित १५:१३-२१)
  • ‘केही भाइलाई रोजेर पठाए’ (प्रेषित १५:२२-२९)
  • “त्यसबाट पाएको प्रोत्साहनले गर्दा रमाए” (प्रेषित १५:३०-३५)
  • अहिले परिचालक निकायले कसरी काम गर्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • आज परमेश्‍वरका जनहरूलाई कसले डोऱ्‍याउँदै छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • सञ्चालक-समिति सँग आज सहयोग गर्न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • “निकै मतभेद . . . भएपछि”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
bt chap. १४ pp. १०८-११५

अध्याय १४

“हाम्रो सर्वसम्मतिद्वारा”

परिचालक निकायको निर्णय र यसले मण्डलीमा कायम गरेको एकता

प्रेषित १५:१३-३५ मा आधारित

१, २. (क) प्रथम शताब्दीको परिचालक निकायसामु कस्ता गम्भीर प्रश्‍नहरू खडा भएका छन्‌? (ख) सही निर्णयमा पुग्न ती भाइहरूले के-कस्तो मदत पाए?

अब कस्तो निर्णय हुने होला भनेर जान्‍न सबै उत्सुक छन्‌। यरुसलेमको एउटा कोठामा भेला भएका प्रेषितहरू र अरू एल्डरहरू निर्णायक घडीमा पुगेको महसुस गर्दै एकअर्कालाई हेराहेर गर्दै छन्‌। खतनाको विवादले गम्भीर प्रश्‍नहरू खडा गरेको छ। के ख्रिष्टियनहरू मोसाको व्यवस्थाको अधीनमा छन्‌? के यहुदी र अन्यजातिका ख्रिष्टियनहरूबीच कुनै फरक छुट्ट्याइनेछ?

२ जिम्मेवार भाइहरूले थुप्रै प्रमाण केलाइसकेका छन्‌। तिनीहरूले यहोवाको भविष्यसूचक वचन छलफल गरेका छन्‌ अनि उहाँले अन्यजातिका ख्रिष्टियनहरूलाई स्विकार्नुभएको कुरा आफैले देखेकाहरूबाट चित्तबुझ्दो प्रमाण पनि पाएका छन्‌। तिनीहरू सबैले खतनाको विवादबारे आफूलाई थाह भएको र आफूले महसुस गरेको कुरा खुलस्त बताएका छन्‌। चर्किँदै गइरहेको त्यो विवाद सुल्झाउन तिनीहरूले पर्याप्त प्रमाण पाइसकेका छन्‌। अब के निर्णय गर्नुपर्ने हो भनेर यहोवाको पवित्र शक्‍तिले डोऱ्‍याइरहेको कुरा प्रस्ट छ। के तिनीहरूले उक्‍त डोऱ्‍याइअनुसारै निर्णय गर्नेछन्‌?

३. प्रेषित १५ अध्यायलाई केलाउँदा हामी कस्तो लाभ उठाउन सक्छौँ?

३ यस विवादको सम्बन्धमा यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइ स्विकार्न साँचो विश्‍वास र साहस चाहिन्थ्यो। निर्णय भएपछि ख्रिष्टियनहरूलाई यहुदी धर्मगुरुहरूले अझै घृणा गर्ने अवस्था आउन सक्थ्यो। मोसाको व्यवस्था पालन गर्नै पर्छ भनेर जिद्दी गरिरहेका मण्डलीका कसै-कसैबाट विरोध पनि आउन सक्थ्यो। परिचालक निकायले के गर्ने थियो? आउनुहोस्‌, हामी हेरौँ। यस विवरणलाई केलाउँदै जाँदा त्यतिबेलाको परिचालक निकायले बसालेको नमुना आज यहोवाका साक्षीहरूको परिचालक निकायले कसरी पछ्याइरहेको छ भनेर पनि हामी बुझ्नेछौँ। ख्रिष्टियनको रूपमा निर्णयहरू गर्नुपर्दा र चुनौतीहरू भोग्नुपर्दा हामीले पनि त्यो नमुना पछ्याउनुपर्छ।

“भविष्यवक्‍ताहरूले बताएको कुरा पनि यससित मेल खान्छ” (प्रेषित १५:१३-२१)

४, ५. याकुबले कुन भविष्यवाणी उद्धरण गरे?

४ येसुका भाइ चेला याकुब बोल्न थाले।a यस सभामा तिनले अध्यक्षको भूमिका निभाइरहेका थिए जस्तो देखिन्छ। परिचालक निकायको सर्वसम्मत निर्णयको सार बताउँदै भेला भएका पुरुषहरूलाई तिनले यसो भने: “अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्‍न परमेश्‍वरले कसरी पहिलो चोटि तिनीहरूतर्फ ध्यान दिनुभयो भनेर सिमियोनले विस्तृत रूपमा बताइसकेका छन्‌। अनि भविष्यवक्‍ताहरूले बताएको कुरा पनि यससित मेल खान्छ।”—प्रेषि. १५:१४, १५.

५ सिमियोन अर्थात्‌ सिमोन पत्रुसको भाषण अनि पावल र बर्णाबासले प्रस्तुत गरेका प्रमाणहरू सुन्दा याकुबले छलफल भइरहेको विषयसित सम्बन्धित शास्त्रपदहरू सम्झेका हुन सक्छन्‌। (युह. १४:२६) याकुबले “भविष्यवक्‍ताहरूले बताएको कुरा पनि यससित मेल खान्छ” भनेपछि आमोस ९:११, १२ का शब्दहरू उद्धरण गरे। “भविष्यवक्‍ताहरूको शिक्षा” भनिने हिब्रू धर्मशास्त्रका पुस्तकहरूमध्ये आमोसको पुस्तक पनि एउटा हो। (मत्ति २२:४०; प्रेषि. १५:१६-१८) यसमा पाइने शब्दहरू र याकुबले उद्धरण गरेका शब्दहरू एउटै नभएको कुरा सायद तपाईँले याद गर्नुभयो होला। याकुबले हिब्रू धर्मशास्त्रको ग्रीक अनुवाद सेप्टुआजिन्ट-बाट उद्धरण गरेको हुनुपर्छ।

६. धर्मशास्त्रले भाइहरूलाई परमेश्‍वरको इच्छा बुझ्न कसरी मदत गऱ्‍यो?

६ “दाउदको . . . छाप्रो” पुनर्निर्माण गरिने अर्थात्‌ शासन दाउदको वंशलाई दिइने र मसीही राज्य स्थापना गरिने समय आउनेछ भनेर यहोवाले आमोसमार्फत भविष्यवाणी गर्नुभएको थियो। (इज. २१:२६, २७) के यहोवाले यहुदीहरूलाई फेरि आफ्नो विशेष जन ठान्‍नुहुने थियो? अहँ, थिएन। “[परमेश्‍वरको] नामद्वारा पुकारिने मानिसहरू”-को रूपमा “सबै राष्ट्रका मानिसहरू”-लाई एक गरिनेछ भनेर त्यस भविष्यवाणीमा बताइएको थियो। साथै भर्खरै मात्र पत्रुसले यसो भनेका थिए: “हामी [यहुदी ख्रिष्टियन] र उनीहरूबीच [अन्यजातिका ख्रिष्टियनबीच] उहाँले कुनै भेदभाव गर्नुभएन तर विश्‍वासद्वारा उनीहरूको हृदय शुद्ध पार्नुभयो।” (प्रेषि. १५:९) भन्‍नुको मतलब, यहुदी र अन्यजातिहरू परमेश्‍वरको राज्यको उत्तराधिकारीको रूपमा एक होऊन्‌ भन्‍ने उहाँको इच्छा थियो। (रोमी ८:१७; एफि. २:१७-१९) अन्यजातिका ख्रिष्टियनहरूले पहिले खतना गर्नुपर्छ वा धर्म परिवर्तन गरेर यहुदी बन्‍नुपर्छ भन्‍ने कुराको सङ्‌केत भविष्यवाणीहरूमा कतै पाइँदैन।

७, ८. (क) याकुबले कस्तो प्रस्ताव अघि सारे? (ख) याकुबले भनेको कुरालाई हामीले कसरी बुझ्नुपर्छ?

७ यसरी धर्मशास्त्र र भाइहरूले दिएको सशक्‍त प्रमाणको आधारमा याकुबले यस्तो प्रस्ताव अघि सारे: “त्यसकारण मेरो निर्णय यो छ, परमेश्‍वरतर्फ फर्किरहेका अन्यजातिहरूलाई हामी दुःख नदेऔँ। बरु मूर्तिपूजाद्वारा अपवित्र भएका कुराहरू, अवैध यौनसम्बन्ध, गला अँठ्याएर मारिएको जनावरको मासु र रगतबाट अलग रहनू भनेर लेखौँ। मोसाका पुस्तकहरूमा लेखिएका कुराहरू प्रचार गर्ने मानिसहरू प्राचीन समयदेखि नै सहरैपिच्छे छन्‌ किनकि हरेक विश्रामदिनमा तिनीहरूले सभाघरहरूमा ठूलो स्वरले यी पुस्तकहरू पढ्‌ने गर्छन्‌।”—प्रेषि. १५:१९-२१.

८ “त्यसकारण मेरो निर्णय यो छ” भनेर याकुबले भन्दा के तिनले त्यस सभाको अध्यक्षको हैसियतमा अरू भाइहरूमाथि अधिकार जमाएर एकलौटी निर्णय गर्न खोजिरहेका थिए? पक्कै पनि थिएनन्‌! “मेरो निर्णय यो छ” भनेर अनुवाद गरिएको वाक्यांशले ग्रीक भाषामा “मेरो राय यस्तो छ” वा “मेरो धारणा यस्तो छ” भन्‍ने अर्थ पनि दिन्छ। याकुबले त्यस छलफलमा सहभागी सबैको तर्फबाट निर्णय गरिरहेका थिएनन्‌। बरु तिनले भाइहरूसामु त्यतिबेलासम्म सुनेका प्रमाणहरू र त्यस विषयमा धर्मशास्त्रले भनेका कुराहरूको आधारमा आफ्नो प्रस्ताव पेस गरिरहेका थिए।

९. याकुबको प्रस्तावबाट कस्तो लाभ हुने थियो?

९ के याकुबको प्रस्ताव मनासिब थियो? पक्कै पनि! त्यसैले प्रेषितहरू र एल्डरहरूले यो प्रस्ताव स्विकारे। यसबाट कस्तो लाभ हुने थियो? एउटा लाभ त त्यस प्रस्तावले अन्यजातिका ख्रिष्टियनहरूलाई मोसाको व्यवस्था पालन गराएर ‘दुःख दिइरहेको’ हुने थिएन। (प्रेषि. १५:१९) अर्कोतर्फ उक्‍त निर्णयले यहुदी ख्रिष्टियनहरूको अन्तस्करणको पनि आदर गरेको हुने थियो, जसले वर्षौँदेखि “मोसाका पुस्तकहरूमा लेखिएका कुराहरू . . . हरेक विश्रामदिनमा . . . सभाघरहरूमा” सुन्दै आएका थिए।b (प्रेषि. १५:२१) त्यसले अन्यजातिका ख्रिष्टियनहरू र यहुदी ख्रिष्टियनहरूबीचको बन्धन पक्कै पनि बलियो बनाउने थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा त, यो निर्णय यहोवा परमेश्‍वरको इच्छाबमोजिम भएकोले उहाँ खुसी हुनुहुने थियो। परमेश्‍वरका जनहरूको सम्पूर्ण मण्डलीको एकता र हितलाई खतरामा पारेको समस्यालाई एकदमै राम्ररी सुल्झाइयो। आज ख्रिष्टियन मण्डलीको लागि कत्ति उत्कृष्ट उदाहरण!

सन्‌ १९९८ को अन्तरराष्ट्रिय अधिवेशनमा भाषण दिँदै भाइ अल्बर्ट डि. श्रोडर

१०. प्रथम शताब्दीको परिचालक निकायको नमुना आज यहोवाका साक्षीहरूको परिचालक निकायले कसरी पछ्याउँछ?

१० अघिल्लो अध्यायमा उल्लेख गरिएझैँ प्रथम शताब्दीको परिचालक निकायजस्तै आज पनि यहोवाका साक्षीहरूको परिचालक निकाय डोऱ्‍याइको लागि ब्रह्‍माण्डको मालिक यहोवामा र मण्डलीको शिर येसुमा भर पर्छ।c (१ कोरि. ११:३) कसरी? सन्‌ १९७४ देखि परिचालक निकायको सदस्यको रूपमा सेवा थालेका अनि मार्च, २००६ मा आफ्नो पार्थिव जीवन पूरा नहोउन्जेल यस निकायमा सेवा गरेका भाइ अल्बर्ट डि. श्रोडरले यसो भन्‍नुभयो: “परिचालक निकायको सभा बुधबार बस्ने गर्छ। प्रार्थना गरेर र यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइ मागेर सभा सुरु गरिन्छ। त्यहाँ छलफल गरिने सबै विषय र निर्णय गरिने सबै कुराहरू परमेश्‍वरको वचन बाइबलमा आधारित होस्‌ भनेर हरप्रयास गरिन्छ।” त्यसैगरि लामो समय परिचालक निकायको सदस्यको रूपमा सेवा गरेर मार्च, २००३ मा पार्थिव जीवन पूरा गरेका भाइ मिल्टन जि. हेन्सेलले गिलियड स्कुलको १०१ औँ कक्षाको दीक्षान्त समारोहमा एउटा महत्त्वपूर्ण प्रश्‍न उठाउनुभयो: “कुनै महत्त्वपूर्ण निर्णय गर्नुअघि परमेश्‍वरको वचन बाइबलमा खोजतलास गर्ने पृथ्वीमा अर्को कुनचाहिँ सङ्‌गठन छ?” जवाफ स्पष्ट छ।

‘केही भाइलाई रोजेर पठाए’ (प्रेषित १५:२२-२९)

११. परिचालक निकायको निर्णय कसरी सबै मण्डलीमा पुऱ्‍याइयो?

११ यरुसलेममा भएको परिचालक निकाय खतनाको विवादको विषयमा सर्वसम्मत निर्णयमा पुगेको थियो। तर मण्डलीका भाइबहिनीहरूलाई एकतामा बाँध्न त्यो निर्णय स्पष्ट, सकारात्मक अनि प्रोत्साहनदायी ढङ्‌गमा मण्डलीहरूमा पुऱ्‍याइनुपर्थ्यो। कसरी पुऱ्‍याउँदा सबैभन्दा राम्रो हुने थियो? विवरण यसो भन्छ: “प्रेषितहरू र एल्डरहरूले अनि सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही भाइलाई रोजेर पावल र बर्णाबाससित एन्टिओक पठाउने निर्णय गरे; तिनीहरूले भाइहरूमाझ अगुवाइ लिइरहेका बर्साबास भनिने यहुदा र सिलासलाई पठाए।” साथै एन्टिओक, सिरिया र सिलिसियाका सबै मण्डलीलाई पढेर सुनाउनको लागि एउटा पत्र तयार पारियो र ती भाइहरूको हातमा पठाइयो।—प्रेषि. १५:२२-२६.

१२, १३. (क) यहुदा र सिलासलाई पठाउँदा र (ख) परिचालक निकायबाट पत्र पठाउँदा नतिजा कस्तो भयो?

१२ “भाइहरूमाझ अगुवाइ लिइरहेका” यहुदा र सिलास परिचालक निकायको प्रतिनिधिको रूपमा जान पूर्णतया योग्य थिए। चार जना भाइहरूको प्रतिनिधि मण्डलले सुनाउने सन्देशले खतनासम्बन्धी प्रश्‍नको जवाफ दिने मात्र थिएन बरु परिचालक निकायको नयाँ निर्देशन पनि स्पष्ट पार्ने थियो। ‘रोजेर पठाइएका’ भाइहरूको उपस्थितिले यरुसलेमका यहुदी ख्रिष्टियनहरू र अरू मण्डलीमा भएका अन्यजातिका ख्रिष्टियनहरूबीच घनिष्ठ सम्बन्ध गाँस्न मदत गर्ने थियो। त्यसरी प्रतिनिधिहरू पठाउनु साँच्चै बुद्धिमानी र दयालु प्रबन्ध थियो। यसले परमेश्‍वरका जनहरूमा शान्ति र एकता बढायो भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

आज परिचालक निकायको संरचना

प्रथम शताब्दीका ख्रिष्टियनहरूजस्तै आज पनि यहोवाका साक्षीहरूको परिचालक निकाय समर्पित र यहोवाको पवित्र शक्‍तिद्वारा अभिषिक्‍त व्यक्‍तिहरू मिलेर बनेको छ। परिचालक निकायको सभा हरेक हप्ता हुने गर्छ। परिचालक निकायका सदस्यहरू निम्न छ वटा समितिमा सेवा गर्न खटाइएका हुन्छन्‌। प्रत्येक समितिको आ-आफ्नै कार्यक्षेत्र छ।

  • प्रकाशन समिति। यसले बाइबलआधारित प्रकाशनहरूको छपाइ, प्रकाशन र ढुवानीसम्बन्धी कामको सुपरिवेक्षण गर्छ। यसले छापाखाना र यहोवाका साक्षीहरूको कानुनी संस्थाको स्वामित्वमा रहेको सरसम्पत्तिको हेरचाह गर्छ। यसले शाखा कार्यालयका भवनहरू, सभाभवनहरू र सम्मेलन भवनहरू बनाउने कामको पनि निरीक्षण गर्छ। यसले अनुदानबाट प्राप्त रकमको प्रयोगको पनि सुपरिवेक्षण गर्छ।

  • लेखन समिति। यसले मण्डलीहरूको लागि र सर्वसाधारणको लागि आध्यात्मिक भोजन तयार पार्ने कामको रेखदेख गर्छ। यसले बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ दिन्छ, संसारभरि भइरहेको अनुवाद कार्यको रेखदेख गर्छ अनि नाटकको लिपि र भाषणको रूपरेखाजस्ता सामग्रीहरूलाई स्वीकृति दिन्छ।

  • शिक्षण समिति। यसले सम्मेलन, अधिवेशन र सभाका कार्यक्रमहरू तयार पार्छ। साथै श्रव्य र दृश्‍य (अडियो र भिडियो) सामग्रीहरू पनि तयार पार्छ। यसले गिलियड स्कुल, अग्रगामी सेवा स्कुल र अन्य स्कुलहरूको लागि पाठ्यक्रम तयार पार्छ। साथै शाखा कार्यालयमा सेवा गरिरहेका स्वयंसेवकहरूको लागि आध्यात्मिक कार्यक्रमहरू तयार पार्छ।

  • संयोजन समिति। यस समितिले कानुनी मामिला हेर्छ र आवश्‍यकताअनुसार सञ्चार माध्यमलाई हाम्रो विश्‍वासबारे सही जानकारी दिने काम गर्छ। यसले प्रकोप, सतावटलगायत अन्य आपत्‌कालीन परिस्थितिले यहोवाका साक्षीहरूलाई असर गरेको बेला आवश्‍यक मदत दिने कामको संयोजन पनि गर्छ।

  • सदस्य समिति। यसले संसारभर रहेका यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्ने बेथेल परिवारका सदस्यहरूको आध्यात्मिक र भौतिक आवश्‍यकताको हेरविचार गर्छ। यसले शाखा कार्यालयमा सेवा गर्न थप नयाँ सदस्यहरूलाई बोलाउने कामको सुपरिवेक्षण पनि गर्छ।

  • सेवा समिति। यसले साक्षीकार्यका साथै मण्डलीका एल्डरहरू, क्षेत्रीय निरीक्षकहरू र पूर्ण-समय सेवकहरूसँग सम्बन्धित कामको रेखदेख गर्छ। यसले मण्डलीहरू र शाखाहरूलाई बलियो अनि स्थिर बनाउने लक्ष्यका साथ गिलियड स्कुलमा सहभागी हुन विद्यार्थीहरूलाई निम्तो दिन्छ र कहाँ सेवा गर्ने भनेर खटाउने पनि गर्छ।

परिचालक निकाय परमेश्‍वरको पवित्र शक्‍तिको निर्देशनमा भर पर्छ। यसका सदस्यहरू आफूलाई यहोवाका जनहरूको नेता ठान्दैनन्‌। बरु पृथ्वीमा भएका अरू अभिषिक्‍त जनहरूजस्तै यिनीहरू पनि “पाठो [येसु ख्रिष्ट] जताजता जान्छन्‌, त्यतैत्यतै तिनको पछि लागिरहन्छन्‌।”—प्रका. १४:४.

१३ परिचालक निकायले पठाएको पत्रले खतनाको विवादको जवाफ मात्र दिएन बरु परमेश्‍वरको अनुमोदन र आशिष्‌ पाउन के गर्नुपर्छ भनेर अन्यजातिका ख्रिष्टियनहरूलाई सुस्पष्ट निर्देशन पनि दियो। पत्रको मुख्य भागमा यसो भनिएको थियो: “पवित्र शक्‍ति र हामीलाई यी आवश्‍यक कुराहरूबाहेक अरू थप बोझ तपाईँहरूलाई नबोकाउन उचित लाग्यो: मूर्तिलाई बलि चढाइएका थोकहरू, रगत, गला अँठ्‌याएर मारिएको जनावरको मासु र अवैध यौनसम्बन्धबाट सधैँ अलग रहनुहोस्‌। यी कुराहरूबाट अलग रहन होसियार हुनुभयो भने तपाईँहरूको कल्याण हुनेछ। तपाईँहरूको भलो होस्‌!”—प्रेषि. १५:२८, २९.

१४. आजको विभाजित संसारमा पनि यहोवाका जनहरूबीच किन एकता कायम हुन सकेको छ?

१४ आज पनि संसारभरि १ लाखभन्दा धेरै मण्डलीमा भएका ८० लाखभन्दा धेरै यहोवाका साक्षीमाझ विश्‍वास र काममा एकरूपता छ। गोलमाल मच्चिरहेको र आपसमा फूट गराउने मनोवृत्ति फैलिरहेको यस संसारमा यस्तो एकता कसरी सम्भव भएको छ? ख्रिष्टियन मण्डलीको शिर येसुले “विश्‍वासी र बुद्धिमान्‌ दास” अर्थात्‌ परिचालक निकायमार्फत स्पष्ट र तोकेरै निर्देशन दिनुहुन्छ। त्यसले गर्दा यस्तो एकता सम्भव भएको हो। (मत्ति २४:४५-४७) परिचालक निकायले दिएको निर्देशन विश्‍वभरिका भाइबहिनीले सहर्ष स्विकारेकोले पनि यस्तो एकता सम्भव भएको हो।

“त्यसबाट पाएको प्रोत्साहनले गर्दा रमाए” (प्रेषित १५:३०-३५)

१५, १६. खतनाको विवादको नतिजा कस्तो भयो? त्यस्तो नतिजा निस्कनुको कारण के हो?

१५ यरुसलेमबाट एन्टिओक पुगेपछि प्रतिनिधिको रूपमा गएका भाइहरूले “थुप्रै चेलालाई भेला गरेर त्यो पत्र बुझाए” भनी प्रेषितको पुस्तकमा बताइएको छ। परिचालक निकायको निर्देशन सुनिसकेपछि त्यहाँका भाइबहिनीहरूले कस्तो प्रतिक्रिया देखाए? “त्यो पत्र पढेपछि चेलाहरू त्यसबाट पाएको प्रोत्साहनले गर्दा रमाए।” (प्रेषि. १५:३०, ३१) त्यसबाहेक यहुदा र सिलासले “धेरै भाषण दिएर भाइहरूलाई प्रोत्साहन दिनुका साथै सुदृढ पारे।” पावल, बर्णाबास र अरूलाई जस्तै यी दुई भाइहरूलाई पनि “भविष्यवक्‍ता” भन्‍न सकिन्छ किनकि भविष्यवक्‍ता भनेको परमेश्‍वरको उद्देश्‍य अरूलाई बताउने र घोषणा गर्ने मानिस हो।—प्रेषि. १३:१; १५:३२; प्रस्थ. ७:१, २.

१६ खतनाको विवाद सुल्झाउन गरिएका सबै प्रबन्धमा यहोवाको आशिष्‌ थियो भनेर प्रस्ट देखिन्छ। त्यस्तो राम्रो नतिजा निस्कनुको मुख्य कारण के हो? निश्‍चय पनि परमेश्‍वरको वचन बाइबल र पवित्र शक्‍तिको डोऱ्‍याइको आधारमा परिचालक निकायले ठीक समयमा अनि सुस्पष्ट ढङ्‌गमा दिएको निर्देशन नै हो। साथै निर्णय सुनाउन मण्डलीहरूमा प्रतिनिधिहरू पठाउने मायालु प्रबन्धले सुनमा सुगन्ध थप्यो।

१७. पावल, बर्णाबास, यहुदा र सिलासको उदाहरण आज क्षेत्रीय निरीक्षकहरूले कसरी अनुकरण गरिरहेका छन्‌?

१७ त्यस्तै नमुना पछ्याएर आज परिचालक निकायले पनि संसारभरिका भाइबहिनीहरूलाई ठीक समयमा निर्देशन दिने गर्छ। कुनै विषयमा निर्णय भएपछि मण्डलीहरूमा त्यसबारे सीधै र प्रस्ट तरिकामा बताइन्छ। त्यसो गर्ने एउटा तरिका क्षेत्रीय निरीक्षकहरूको भ्रमण हो। यी आत्मत्यागी भाइहरू एकपछि अर्को गर्दै मण्डलीहरूको भ्रमण गर्छन्‌ अनि परिचालक निकायको तर्फबाट प्रस्ट निर्देशन र मायालु प्रोत्साहन दिन्छन्‌। पावल र बर्णाबासले जस्तै यिनीहरूले पनि “अरू धेरै जनासित मिलेर यहोवा परमेश्‍वरको वचनको सुसमाचार प्रचार” गर्न धेरै समय बिताउँछन्‌। (प्रेषि. १५:३५) यहुदा र सिलासले जस्तै यिनीहरू पनि ‘धेरै भाषण दिएर भाइहरूलाई प्रोत्साहन दिनुका साथै सुदृढ पार्छन्‌।’

१८. यहोवाका सेवकहरू उहाँबाट आशिष्‌ पाइरहने कुरामा कसरी निर्धक्क हुन सक्छन्‌?

१८ मण्डलीहरूमा नि? अहिलेको विभाजित संसारमा मण्डलीहरूमा शान्ति र एकता कायम राख्न कसरी सम्भव भएको छ? चेला याकुबले पछि लेखेको यो कुरा याद गर्नुहोस्‌: “माथिबाट आउने बुद्धि पाउने मानिस सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, व्यावहारिक . . . हुन्छ। यसबाहेक जसले शान्ति कायम गर्छ, उसको लागि शान्तिपूर्ण अवस्थामा धार्मिकताको फल रोपिन्छ।” (याकु. ३:१७, १८) यी शब्दहरू लेख्दा याकुबले यरुसलेममा भएको सभाबारे सोचिरहेका थिए कि थिएनन्‌ भनेर त हामीलाई थाह छैन। तर प्रेषित १५ अध्यायबाट के प्रस्ट हुन्छ भने जहाँ एकता र आपसी सहयोग हुन्छ, त्यहाँ यहोवाको आशिष्‌ हुन्छ।

१९, २०. (क) एन्टिओकको मण्डलीमा शान्ति र एकता छाएको कुरा कसरी प्रस्टै देखियो? (ख) पावल र बर्णाबासले अब के गर्न सक्थे?

१९ त्यस्तो शान्ति र एकता एन्टिओकको मण्डलीमा अब प्रस्टै देखिन थाल्यो। एन्टिओकका भाइहरूले यरुसलेमका भाइहरूको विरोध गरेनन्‌ बरु यहुदा र सिलासको भ्रमणको कदर गरे। विवरण यसो भन्छ: “यसरी भाइहरूसित केही समय बिताइसकेपछि बिदाबारी गरेर तिनीहरू [यहुदा र सिलास] यरुसलेम फर्के।”d (प्रेषि. १५:३३) यी दुई जनाको यात्राको वृत्तान्त सुनिसकेपछि यरुसलेमका भाइहरू पनि पक्कै खुसी भए भन्‍न सक्छौँ। यहोवाको असीम अनुग्रहको कारणले तिनीहरूको उद्देश्‍य सफल भयो।

२० एन्टिओकमै बसेका पावल र बर्णाबासले जोडतोडका साथ नेतृत्व लिँदै अब साक्षीकार्यमै आफ्नो सम्पूर्ण ध्यान लगाउन सक्थे। अहिले पनि क्षेत्रीय निरीक्षकहरूले मण्डलीमा भ्रमण गर्दा यसै गरिरहेका छन्‌। (प्रेषि. १३:२, ३) यहोवाका जनहरूको लागि कत्ति ठूलो आशिष्‌! यी दुई जोसिला प्रचारकलाई यहोवाले अझै कसरी प्रयोग गर्नुभयो र आशिष्‌ दिनुभयो? अर्को अध्यायमा हामी यसबारे छलफल गर्नेछौँ।

आमा र छोरी अधिवेशनमा “युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ” किताबको खण्ड २ हेर्दै छन्‌।

अहिलेका ख्रिष्टियनहरू परिचालक निकाय र यसका प्रतिनिधिहरूमार्फत आएको आध्यात्मिक प्रबन्धबाट लाभ उठाउँछन्‌

याकुब—“प्रभुको भाइ”

युसुफ र मरियमका छोराहरू र येसुका भाइहरूमध्ये याकुबको नाम सबैभन्दा पहिले उल्लेख गरिएको छ। (मत्ति १३:५४, ५५) त्यसकारण याकुब मरियमको माहिलो छोरा हुनुपर्छ। याकुब येसुसँगै हुर्के र उहाँको साक्षीकार्यलाई नजिकबाट देखे। तिनलाई येसुका “शक्‍तिशाली कामहरू”-बारे पनि थाह थियो। तिनले ती आफ्नै आँखाले देखेका हुन सक्छन्‌ वा अरूबाट सुनेका हुन सक्छन्‌। आफ्नो दाइ येसुको सेवाको दौडान याकुब र तिनका भाइहरू “वास्तवमा . . . उहाँमाथि विश्‍वास गर्दैनथे।” (युह. ७:५) याकुबले पनि येसुको बारेमा अरू नातेदारले जस्तै सोचेका हुन सक्छन्‌। तिनीहरूले येसुबारे यसो भनेका थिए: “उसको दिमाग खुस्केको छ।”—मर्कु. ३:२१.

याकुब मुठाबाट पढ्‌दै

येसु मृत्युबाट फेरि जीवित हुनुभएपछि याकुबको सोचाइ परिवर्तन भयो। हुनत ग्रीक धर्मशास्त्रमा अरू तीन जना याकुबबारे पनि बताइएको छ तर फेरि जीवित भएर चेलाहरूसामु देखा परेको ४० दिनको अवधिमा येसुले भेट्‌नुभएको याकुबचाहिँ उहाँका भाइ नै थिए। (१ कोरि. १५:७) यस्तो अनुभवले गर्दा तिनी आफ्नो दाइको साँचो चिनारीबारे सही निष्कर्षमा पुगेको हुनुपर्छ। कुरा जे भए पनि येसु स्वर्ग जानुभएको १० दिन नपुग्दै याकुब, तिनकी आमा र तिनका भाइहरू माथिल्लो तलाको कोठामा प्रार्थनाको लागि प्रेषितहरूसँगै भेला भएका थिए।—प्रेषि. १:१३, १४.

समय बित्दै जाँदा याकुब यरुसलेमको मण्डलीमा आदरणीय व्यक्‍तिको रूपमा चिनिन थाले। तिनी उक्‍त मण्डलीमा प्रेषित अर्थात्‌ “पठाइएको जन”-को रूपमा परिचित थिए जस्तो देखिन्छ। (गला. १:१८, १९) प्रेषित पत्रुस चमत्कारपूर्ण ढङ्‌गमा झ्यालखानाबाट छुटेपछि तिनले चेलाहरूलाई यसो भने: “यो कुरा याकुब र अरू भाइहरूलाई खबर गर।” (प्रेषि. १२:१२, १७) यसबाट याकुबले ख्रिष्टियन मण्डलीमा महत्त्वपूर्ण भूमिका खेलिरहेका थिए भन्‍ने कुरा प्रस्ट हुन्छ। खतनाको विवाद यरुसलेममा भएका “प्रेषितहरू र एल्डरहरू”-सामु ल्याइँदा याकुबले त्यस छलफलमा नेतृत्व लिएका थिए जस्तो देखिन्छ। (प्रेषि. १५:६-२१) प्रेषित पावलले पनि याकुब, केफास (पत्रुस) र प्रेषित युहन्‍नालाई यरुसलेमको “मण्डलीका खम्बाहरू” भनेर सम्बोधन गरे। (गला. २:९) वर्षौँपछि पावल आफ्नो तेस्रो मिसनरी यात्रा सकेर यरुसलेम फर्के अनि याकुबलाई आफ्नो सेवाको कामबारे बेलीबिस्तार लगाए। “त्यहाँ अरू सबै एल्डर पनि भेला भएका थिए।”—प्रेषि. २१:१७-१९.

पावलले “प्रभुको भाइ” भनेका यिनै याकुबले बाइबलको एउटा किताब वा पत्र लेखे। त्यो पत्र तिनकै नामबाट चिनिन्छ। (गला. १:१९) त्यस पत्रमा तिनले आफूलाई प्रेषित वा येसुको भाइको रूपमा नभई नम्र हुँदै “परमेश्‍वरको र प्रभु येसु ख्रिष्टको दास”-को रूपमा चिनाएका छन्‌। (याकु. १:१) येसुजस्तै याकुब पनि प्रकृति र मानव स्वभावबारे गहिरो चासो लिन्थे भनेर तिनको पत्रबाट बुझिन्छ। परमेश्‍वरले प्रकट गर्नुभएको सत्य बुझाउन तिनले प्रकृतिमा भएका कुराहरूलाई उदाहरणको रूपमा चलाएका छन्‌। जस्तै: बतासले उचाल्दै-पछार्दै गरेको समुद्रको छाल, ताराहरू, चर्को घाम, ओइलाइहाल्ने फूल, डढेलो र घरपालुवा जनावर। (याकु. १:६, ११, १७; ३:५, ७) तिनले परमेश्‍वरबाट प्रेरणा पाएर मानिसहरूको सोचाइ र व्यवहारबारे लेखे। याकुबको किताबमा पाइने बुद्धिका कुराहरू र सल्लाहहरूले हामीलाई अरूसित सुमधुर सम्बन्ध कायम राख्न मदत गर्छ।—याकु. १:१९, २०; ३:२, ८-१८.

पावलले १ कोरिन्थी ९:५ मा बताएअनुसार याकुब विवाहित थिए। याकुबको मृत्यु कहिले र कस्तो अवस्थामा भयो भनेर बाइबलले केही पनि बताएको छैन। तर यहुदी इतिहासकार जोसेफसअनुसार इस्वी संवत्‌ ६२ तिर रोमी राज्यपाल पोर्सिअस फेस्तसको मृत्यु भएको केही समयपछि र तिनका उत्तराधिकारी अल्बिनस राज्यपाल हुनुअघि प्रधानपुजारी अनानसले (हननिया) “यहुदी न्यायपरिषद्‌का न्यायाधीशहरूलाई बोलाए र तिनीहरूसामु ख्रिष्ट भनेर चिनिने येसुका भाइ याकुब र अरू केही मानिसहरूलाई पुर्पक्षको लागि उभ्याए।” ती इतिहासकारले बताएअनुसार अनानसले “तिनीहरूलाई व्यवस्थाविरुद्ध पाप गरेको अभियोग लगाए र ढुङ्‌गाले हान्‍ने आदेश दिए।”

a पृष्ठ ११२ मा भएको “याकुब—‘प्रभुको भाइ’” शीर्षकको पेटी हेर्नुहोस्‌।

b याकुबले मोसाका लेखोटहरूबाट उल्लेख गरे किनभने ती लेखोटहरूमा मोसाको व्यवस्थाका नियमहरू मात्र नभई परमेश्‍वरले व्यवस्था दिनुअघि आफ्ना जनहरूसित गर्नुभएको व्यवहार र उहाँको इच्छाबारे पनि बताइएको छ। जस्तै: उत्पत्तिको पुस्तकबाट रगत, अवैध यौनसम्बन्ध र मूर्तिपूजाजस्ता कुराबारे परमेश्‍वरको दृष्टिकोण प्रस्टै बुझ्न सकिन्छ। (उत्प. ९:३, ४; २०:२-९; ३५:२, ४) त्यसकारण चाहे यहुदी होऊन्‌ वा अन्यजाति, यहोवा परमेश्‍वरले दिनुभएको सिद्धान्त सबैलाई लागू हुन्छ।

c पृष्ठ ११० मा भएको “आज परिचालक निकायको संरचना” शीर्षकको पेटी हेर्नुहोस्‌।

d केही बाइबल अनुवादहरूमा पद ३४ मा सिलासलाई त्यहाँ बस्न मन लाग्यो भनेर थपिएको छ। (पवित्र बाइबल—संशोधित संस्करण) तर ती शब्दहरू बाइबलका पुराना लेखोटमा पाइँदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने