प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ १/८ pp. २६-२७
  • खेलकुदहरूमा प्रतिस्पर्धा गर्नु के गलत हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खेलकुदहरूमा प्रतिस्पर्धा गर्नु के गलत हो?
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • खेलहरूको इतिहास
  • जब प्रतिस्पर्धा अचाक्ली हुन्छ
  • सन्तुलित दृष्टिकोण
  • खेलकुदबारे मैले के थाह पाउनुपर्छ?
    युवाहरू सोध्छन्‌
  • के मैले खेलकुद टोलीमा भाग लिनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९६
  • परमेश्‍वरको भक्‍ति र शारीरिक तालिम
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
ब्यूँझनुहोस्‌!—१९९६
g९६ १/८ pp. २६-२७

बाइबलको दृष्टिकोण

खेलकुदहरूमा प्रतिस्पर्धा गर्नु के गलत हो?

घमाइलो दिन दुइ वृद्धहरू पार्कमा चेकर खेलिरहेका छन्‌। नजीकै केटाकेटीहरू चिच्याउँदै लखेटालखेट गर्दैछन्‌। अलि पर जवान मानिसहरू बास्केटबल खेल्न मस्त छन्‌। हो, हामी वरपर दिनहुँ जवान तथा वृद्धहरू खेल्न रुचाउँछन्‌। खेलहरूमा भाग लिंदा अधिकांश मानिसहरू सकेसम्म राम्रो खेल प्रदर्शन गर्न चाहन्छन्‌। तपाईं पनि चाहनुहुन्छ होला।

तर के यसप्रकारको मित्रैलो प्रतिस्पर्धा गलत हुनसक्छ? गलाती ५:२६ मा प्रेरित पावलले दिएको सल्लाह धेरैजसोलाई थाह छ। तिनले भने, मसीहीहरूले “एउटाले अर्कोसित पाखुरा सुर्काउने” गर्नु हुँदैन। त्यसो भए, मनोरञ्जनात्मक खेलहरूमा प्रतिस्पर्धा गर्नु मसीहीहरूको लागि अनुचित हो?

भनौं भने, होइन। किन? यस प्रश्‍नको उत्तर पाउनअघि खेलहरूको इतिहासलाई सरसरती हेरौं।

खेलहरूको इतिहास

खेलहरूमा भाग लिने चलनको सुरुआत पुरातन समयमा भएको थियो। र परमेश्‍वरका जनहरूलगायत मानव इतिहासभरि खेलहरू खेलिंदै आएको छ। बाइबलमा “बल” शब्द समेत पाइन्छ। यहोवा परमेश्‍वरले दुष्टहरूलाई दोषी ठहऱ्‍याउनुभएको कुरालाई यशैया २२:१८ मा यसरी बताइएको छ: “उहाँले (तिनीहरूलाई) बलजस्तै कस्सेर बेह्रनुहुनेछ।” [न्युव] गल्फ बल, बास्केट बलजस्ता केही आधुनिक बलहरू अझै पनि कसेर बनाइएका हुन्छन्‌। किङ जेम्स्‌ बाइबलमा यो पद यसरी अनुवाद गरिएको छ: “उहाँले तिनीहरूलाई बलजस्तै फ्याँकिदिनुहुनेछ।” त्यतिबेला मानिसहरूले बल खेल्ने गरेको भए मात्र यी पदहरूमा लेखिएको कुरा अहिले सान्दर्भिक हुनसक्छ।

यसबाहेक कुलपिता याकूबले स्वर्गदूतसित कुस्ती खेलेको पनि बाइबलमा उल्लिखित छ। विवरणअनुसार यो भीषण कुस्ती घण्टौंसम्म चलेकोले याकूब एक कुशल कुस्तीबाज थिए जस्तो देखिन्छ। (उत्पत्ति ३२:२४-२६) चाखलाग्दो कुरा, केही विद्वानहरूअनुसार याकूबलाई कुस्तीसम्बन्धी नियमहरू थाह थियो भनेर यो विवरणले देखाउँछ। इस्राएलीहरू धनुवाण पनि चलाउँथे। यसमा पनि कुशल हुन अभ्यास गर्नु खाँचो छ। (१ शमूएल २०:२०; विलाप ३:१२) पुरातन समयका मानिसहरू दौडका लागि भरमग्दूर अभ्यास गर्थे र तालिम लिन्थे।—२ शमूएल १८:२३-२७; १ इतिहास १२:८.

त्यतिबेला गाउँखाने कथाजस्ता दिमाग खियाउनुपर्ने खेलहरू प्रचलित हुनुका साथै तिनलाई निकै महत्त्व दिइन्थ्यो भन्‍ने प्रमाण पनि पाइन्छ। शिमशोनले पलिश्‍तीहरूलाई सोधेको गाउँखाने कथा चाहिं यसको सबैभन्दा उल्लेखनीय उदाहरण होला।—न्यायकर्त्ता १४:१२-१८.

मसीही युनानी धर्मशास्त्रमा खेलहरूलाई कहिलेकाहीं मसीही जीवनको उपमाको रूपमा प्रयोग गरिएको छ। उदाहरणका लागि, खेलाडीले दिनरात कठोर अभ्यास गर्नुपर्छ र यसको अर्थ मसीही आत्मसंयमी र धीरजी हुनुपर्छ भनेर पावलले १ कोरिन्थी ९:२४, २५ मा संकेत गरे। यसको साथै यहोवाका अधिकांश सृष्टिमा खेल पनि एक अभिन्‍न अंगको रूपमा रहेको स्पष्ट देखिन्छ। किनभने मानिस र जनावर दुवैले खेल्ने समय निकाल्छन्‌।—अय्यूब ४०:२०; जकरिया ८:५; तुलना गर्नुहोस्‌ हिब्रू १२:१.

जब प्रतिस्पर्धा अचाक्ली हुन्छ

त्यसो भए, सँगीमसीहीहरूले “एउटाले अर्कोसित पाखुरा सुर्काउने” गर्नु हुँदैन भन्दा प्रेरित पावल के भन्‍न खोज्दैथिए? (गलाती ५:२६) जवाफ त्यही पदको प्रसंगमा दिइएको छ। यो वाक्यपछि पावल तिनीहरूलाई “डाह गर्ने” नहोऊ भन्छन्‌। यस वाक्यांशलाई अन्य बाइबल अनुवादमा “घमण्डी,” “सेखी गर्ने,” “निरर्थक महिमा खोज्ने” नहोऊ भनिएको छ। पावलको समयमा खेलाडीहरूले यश र महिमा पाउने लालसा गर्थे।

आज पनि निरर्थक महिमा खोज्ने यस संसारमा अधिकांश खेलाडीहरू घमण्डले फुल्दै आफू र आफ्नो दक्षताप्रति मानिसहरूको ध्यानाकर्षण गर्छन्‌। कोही कोही त अरूलाई होच्याउने पनि गर्छन्‌। छेंड हान्‍नु, दोष लगाउनु, अपशब्द बोल्नु वा केही खेलाडीहरूअनुसार “खसालेर कुरा गर्नु” दिन प्रति दिन साधारण भइरहेका छन्‌। यसरी “पाखुरा सुर्काउने” गर्नाले गलाती ५:२६ को अन्तमा पावलले भनेझैं अहंकारी हुन केही बेर लाग्दैन।

यस्ता असन्तुलित प्रतिस्पर्धाले झगडा र मारकाटसमेत हुनसक्छ। शाऊल र दाऊदका मानिसहरूको जम्काभेट हुँदा अबनेर र योआबले “जवान मानिसहरू आएर [तिनीहरूको] सामने एक एक गरी लड़ोस्‌” भन्‍ने सम्झौता गरेको कुरालाई ध्यान दिनुहोस्‌। (२ शमूएल २:१४-३२) यसको अर्थ त्यहाँ कुस्ती खेललाई प्रतिस्पर्धात्मक रूपमा संकेत गरिएको हुनसक्छ। प्रतिस्पर्धा जस्तोसुकै होस्‌, त्यो तुरुन्तै घमासान युद्धमा परिणत भयो।

सन्तुलित दृष्टिकोण

मनोरञ्जनात्मक खेलहरू निराश गराउने खालको नभई स्फूर्तिदायी हुनुपर्छ। परमेश्‍वर र सहमानवले खेलकुदप्रतिको हाम्रो कौशलताको आधारमा हामीलाई बहुमूल्य ठान्दैनन्‌। यसलाई मनमा राख्दै खेलकुदलाई त्यसको आफ्नै ठाउँमा राख्यौं भने खेलहरू स्फूर्तिदायी हुन्छन्‌।

हाम्रो शारीरिक तथा मानसिक क्षमताको कारण आफैलाई सर्वश्रेष्ठ ठानेर गमक्क गम्किनु बुद्धिमानी होइन। तसर्थ, आफूप्रति ध्यानाकर्षण गराउने अनुचित सांसारिक मनोवृत्ति झल्काएर अरूलाई डाही तुल्याउनदेखि टाढै बसौं। किनकि प्रेमले सेखी गर्दैन। (१ कोरिन्थी १३:४; १ पत्रुस २:१) उत्साही र उत्तेजित हुनु वा टोली मित्रहरूलाई बधाई दिनु तार्किक भए तापनि हामी भावनामा बहँदै अनियन्त्रित र देखावटी हुन चाहँदैनौं।

खेलहरूमा प्रदर्शन गरिएको कौशलताको आधारमा हामीले मानिसहरूलाई कहिल्यै तौलनु हुँदैन। त्यसैगरि खेलकुदसम्बन्धी हाम्रो कौशलतामा कमी छ भने आफैलाई तुच्छ सम्झनु हुँदैन। यसको अर्थ खेलमा अंक नटिप्नु भनेको हो? त्यसो त होइन। तर हामीले के बिर्सनु हुँदैन भने, कुनै पनि खेल मानिसभन्दा महत्त्वपूर्ण हुँदैन र मानिसको साँचो मूल्य उसको खेलमा आधारित हुने पनि होइन। टोली गठन गरेर खेलिने खेलमा कुनै कुनै टोलीले प्रायः खेलाडीहरू अदलबदल गरिरहन्छ। यसो गर्दा सधैं एउटै टोलीले जित्दैन।

मसीहीहरूले अर्को के पनि सम्झनुपर्छ भने, बाइबलमा आक्कलझुक्कल मात्र खेलबारे उल्लेख गरिएको छ। बाइबलमा खेलको उल्लेख भयो भन्दैमा सबै खेललाई बाइबलले पूर्णतया समर्थन गर्छ भन्‍ने निष्कर्षमा पुग्नु गलत हुनेछ। (१ कोरिन्थी ९:२६ लाई भजन ११:५ सित तुलना गर्नुहोस्‌।) साथै पावलले यसो भने: “शारीरिक साधन थोरैको निम्ति उपयोगी हुन्छ, तर भक्‍तिचाहिं अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा भएका सबै कुराको निम्ति उपयोगी हुन्छ।”—१ तिमोथी ४:८.

अतः खेलहरूलाई त्यसको सही ठाउँमा राख्यौं भने ती मनोरञ्जक र स्फूर्तिदायी हुन्छन्‌। बाइबलले सबै प्रकारको प्रतिस्पर्धालाई होइन तर सेखी, प्रतिस्पर्धी हुने, लोभ, ईर्ष्या वा हिंसात्मक प्रतिस्पर्धाहरूलाई तिरस्कार गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने