प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ५/१५ pp. १५-२०
  • मसीही युगमा ईश्‍वरतान्त्रिक प्रशासन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मसीही युगमा ईश्‍वरतान्त्रिक प्रशासन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • क्रियाशील परिचालक निकाय
  • आधुनिक समयमा प्रशासन
  • परमेश्‍वरको इस्राएललाई सहयोग
  • ‘पछि आउने पुस्ता’
  • के तपाईंले “सत्यका आत्मा” पाउनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • आज परमेश्‍वरका जनहरूलाई कसले डोऱ्‍याउँदै छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • पुनस्थापित “देश[मा]” मिलिजुली बस्ने निवासीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • सञ्चालक-समिति सँग आज सहयोग गर्न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ५/१५ pp. १५-२०

मसीही युगमा ईश्‍वरतान्त्रिक प्रशासन

“उहाँको अभिप्रायअनुसार, . . . चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा ख्रीष्टमा गाभ्नालाई समयको पूर्णताको प्रबन्धको निम्ति।” —एफिसी १:९, १०.

१, २. (क) “स्वर्गका” कुराहरू जम्मा गर्ने काम सा.यु. ३३ देखि कसरी सुरु भयो? (ख) सन्‌ १९१४ देखि अभिषिक्‍त मसीहीहरूले मोशा र एलियाको जस्तै मनोभाव कसरी देखाएका छन्‌?

यी “स्वर्गका” कुराहरू सा.यु. ३३ देखि जम्मा हुन सुरु भयो जब “परमेश्‍वरका इस्राएल” जन्मियो। (गलाती ६:१६; यशैया ४३:१०; १ पत्रुस २:९, १०) शैतानले रोपेको धर्मत्यागी “सामा” हलक्क बढेर साँचो मसीहीहरूभन्दा (येशूले भन्‍नुभएको “गहुँ”) धेरै भएपछि सा.यु. प्रथम शताब्दीपछि यो जम्मा गर्ने काम बिस्तारै कम हुन थाल्यो। तर “जगत्‌को अन्त” नजीकै आएपछि परमेश्‍वरको इस्राएल पुनः देखा पऱ्‍यो र सन्‌ १९१९ मा येशूको सारा सम्पत्तिको जिम्मा सुम्पियो।a—मत्ती १३:२४-३०, ३६-४३; २४:४५-४७; दानियल १२:४.

२ प्रथम विश्‍वयुद्धतिर अभिषिक्‍त मसीहीहरूले मोशा र एलियाले जस्तै शक्‍तिशाली कार्यहरू गरे।b (प्रकाश ११:५, ६) एलियाको जस्तै साहस लिएर तिनीहरूले यस वैरी संसारमा सन्‌ १९१९ देखि सुसमाचार प्रचार गरिरहेका छन्‌। (मत्ती २४:९-१४) अनि मोशाले पुरातन मिश्रमाथि परमेश्‍वरका विपत्तिहरू ल्याएझैं १९२२ देखि तिनीहरूले मानवजातिमाथि यहोवाको न्याय सुनाइरहेका छन्‌। (प्रकाश १५:१; १६:२-१७) यी अभिषिक्‍त मसीहीहरूका शेष जनहरू नै अहिले यहोवाका साक्षीहरूको नयाँ विश्‍व समाजको केन्द्रबिन्दु हुन्‌।

क्रियाशील परिचालक निकाय

३. पुरातन मसीही मण्डली सुव्यवस्थित थियो भनी कुन घटनाहरूले देखाउँछन्‌?

३ मसीही मण्डलीको सुरुदेखि नै येशूका अभिषिक्‍त चेलाहरू व्यवस्थित थिए। चेलाहरूको संख्या वृद्धि भएपछि स्थानीय मण्डलीहरू स्थापित भए र प्राचीनहरूको नियुक्‍ति भयो। (तीतस १:५) सा.यु. ३३ पछि १२ प्रेरितहरू नै आधिकारिक केन्द्रीय परिचालक निकाय भयो। फलस्वरूप तिनीहरूले साक्षीकार्यमा निर्भयतापूर्वक नेतृत्व लिए। (प्रेरित ४:३३, ३५, ३७; ५:१८, २९) तिनीहरूले खाँचोमा परेकाहरूलाई खाना बाँड्‌ने चाँजोपाँजो मिलाए अनि सामरियाका जिज्ञासुहरूको देखभाल गर्न पत्रुस र यूहन्‍नालाई त्यहाँ पठाए। (प्रेरित ६:१-६; ८:६-८, १४-१७) पहिले येशूका चेलाहरूलाई सताउने व्यक्‍ति अहिले उहाँकै चेला भइसकेका छन्‌ भनी पुष्टि गर्न बर्णाबासले पावललाई त्यहाँ लगे। (प्रेरित ९:२७; गलाती १:१८, १९) अनि पत्रुसले कर्नीलियस र तिनको घरानालाई प्रचार गरिसकेपछि यरूशलेम फर्केर प्रेरितहरू तथा अन्य यहूदी भाइहरूलाई यस सन्दर्भमा पवित्र आत्माले डोऱ्‍याएको कुरा बताए।—प्रेरित ११:१-१८.

४. पत्रुसलाई मार्ने कस्तो प्रयास गरियो तर तिनको ज्यान कसरी जोगियो?

४ त्यसपछि परिचालक निकायमाथि घोर आक्रमण हुन थाल्यो। पत्रुस थुनामा परे र स्वर्गदूतले गर्दा मात्रै उनको ज्यान जोगियो। (प्रेरित १२:३-११) यी १२ प्रेरितहरूमध्येबाट नभई अर्कै व्यक्‍तिले यरूशलेममा यस प्रतिष्ठित ओहदा पाएको यो पहिलो घटना थियो। पत्रुस थुनाबाट छुटेपछि तिनले मर्कूस कुलनाउँ भएको यूहन्‍नाका आमाको घरमा भेला भएको समूहलाई यसो भने: “यी कुराको समाचार याकूब [येशूका सौतेनी भाइ] र अरू भाइहरूलाई दिनू।”—प्रेरित १२:१७.

५. याकूब शहीद भएपछि परिचालक निकायको संरचना कसरी हेरफेर गरियो?

५ यसअघि, विश्‍वासघाती प्रेरित, यहूदा इस्करयोतीले आत्महत्या गरेपछि प्रेरितको हैसियतमा “त्यसको पदाधिकार” एक जना त्यस्तो व्यक्‍तिलाई दिनुपर्ने खाँचो देखियो जो येशूको सेवकाईको दौडान उहाँसँगसँगै हिंडेका र उहाँको मृत्यु अनि पुनरुत्थान देखेका थिए। तथापि, यूहन्‍नाको भाइ याकूब मारिएपछि प्रेरितहरूको १२ संख्या पूर्ति गर्न कोही पनि नियुक्‍त गरिएन। (प्रेरित १:२०-२६; १२:१, २) बरु, परिचालक निकायको संख्या बढाइएको थियो भनी धर्मशास्त्रले संकेत गर्छ। मोशाको व्यवस्था येशूलाई स्वीकार्ने अन्यजातिहरूले पालन गर्नुपर्छ कि पर्दैन भन्‍ने विवाद हुँदा त्यो निर्णय गर्ने जिम्मा “यरूशलेमका प्रेरितहरू र धर्म-गुरुहरू[लाई]” सुम्पियो। (प्रेरित १५:२, ६, २०, २२, २३; १६:४) यी “धर्म-गुरुहरू” अहिले परिचालक निकायमा किन समावेश भए? बाइबलले त्यसको जवाफ दिंदैन तर त्यसो गर्नु फाइदा थियो भनेर प्रष्टै हुन्छ। याकूबको मृत्यु र पत्रुस थुनामा पर्नु जस्ता घटनाहरूले अन्य प्रेरितहरू पनि कुनै दिन मारिन वा थुनामा पर्नसक्ने कुरा प्रष्ट पारिसकेको थियो। त्यस्तो सम्भाव्य परिस्थितिलाई ध्यानमा राख्दै परिचालक निकायका कार्यविधिहरूमा अनुभवी दक्ष प्राचीनहरू भए व्यवस्थित ढंगमा निरीक्षण गरिरहन सम्भव हुनेथियो।

६. परिचालक निकायका प्रारम्भिक सदस्यहरू यरूशलेममा नभए तापनि यो कसरी सक्रिय नै भइरह्‍यो?

६ पावल सा.यु. ५६ तिर यरूशलेम पुग्दा तिनले याकूबलाई भेटे र बाइबलको विवरणअनुसार “त्यहाँ सारा धर्म-गुरुहरू उपस्थित थिए।” (प्रेरित २१:१८) यो सभामा प्रेरितहरूको उपस्थितिबारे किन उल्लेखै गरिएन? बाइबलले यसको पनि जवाफ दिएको छैन। तर इतिहासकार युसिबियसले पछि बताएअनुसार सा.यु. ६६ भन्दा केही समयअघि “बाँकी रहेका प्रेरितहरू आफ्नो हत्या हुनसक्ने षड्यन्त्रको डरैडरमा बाँचिरहेका थिए। यसैकारण तिनीहरू यहूदियाबाट खेदिए। तर सन्देश प्रचार गर्न ख्रीष्टको शक्‍ति पाएर तिनीहरूले हरेक मुलुकको यात्रा गरे।” (युसिबियस, पुस्तक ३, V, v. २) हो, युसिबियसका शब्दहरू प्रेरित वचनको भाग होइन तर बाइबलको विवरणसित मेल खान्छ। उदाहरणका लागि, सा.यु. ६२ तिर पत्रुस यरूशलेमभन्दा निकै टाढा बेबिलोन पुगिसकेका थिए। (१ पत्रुस ५:१३) तथापि, सा.यु. ५६ देखि सम्भवतः सा.यु. ६६ सम्म परिचालक निकाय यरूशलेममा अझै क्रियाशील थियो।

आधुनिक समयमा प्रशासन

७. प्रथम शताब्दी र आज वर्तमान समयको परिचालक निकायबीच के उल्लेखनीय भिन्‍नता छ?

७ सा.यु. ३३ देखि यरूशलेमको विनाश नहोउञ्जेल परिचालक निकायका सदस्यहरू यहूदी मसीहीहरू मात्रै थिए। सा.यु. ५६ मा पावल यरूशलेममा आउँदा त्यहाँका थुप्रै यहूदी मसीहीहरूले “हाम्रा प्रभु येशू ख्रीष्टको विश्‍वास” गरे तापनि अझै “[मोशाको] व्यवस्थामा खुरन्धार” लागिरहेको पाए।c (याकूब २:१; प्रेरित २१:२०-२५) त्यस्ता यहूदीहरूलाई परिचालक निकायको सदस्यमा अन्यजाति सम्मिलित हुनु कल्पनै गर्न गाह्रो भएको हुनसक्छ। यद्यपि, आधुनिक समयमा यस परिचालक निकायको संरचनामा हेरफेर भएको छ। आज, यस निकायमा एक जना पनि यहूदी छैन तर अभिषिक्‍त गैरइस्राएली मसीहीहरू मात्र छन्‌ र तिनीहरूले गरिरहेको निरीक्षणलाई यहोवाले प्रशस्त आशिष्‌ दिनुभएको छ।—एफिसी २:११-१५.

८, ९. वर्तमान समयको परिचालक निकायमा के कस्ता परिवर्तनहरू भएका छन्‌?

८ सन्‌ १८८४ मा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनिया स्थापना भएदेखि १९७२ सम्म यहोवाको संगठनका सम्पूर्ण क्रियाकलाप अध्यक्षले नै सँभाल्थे। र परिचालक निकायका सदस्यहरू नै सोसाइटीको सञ्चालक समिति हुन्थ्यो। ती वर्षहरूमा पाएका आशिष्‌ले यहोवालाई त्यो प्रबन्ध स्वीकार्य थियो भनी प्रमाणित हुन्छ। सन्‌ १९७२ देखि १९७५ तिर परिचालक निकायका सदस्य संख्या बढाएर १८ पुऱ्‍याइयो। यस विस्तारित निकायलाई अझ बढी अख्तियार सुम्पिंदा यो प्रबन्ध झन्डै झन्डै प्रथम शताब्दीको जस्तै भयो। यसमध्ये केही सदस्यहरू वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनियाका सञ्चालकहरू पनि थिए।

९ सन्‌ १९७५ यता यी १८ जनामध्ये थुप्रैले आफ्नो पार्थिव जीवन पूरा गरिसके। तिनीहरूले संसारलाई जितेका छन्‌ र ‘पितासँग येशूको सिंहासनमा बसिसकेका छन्‌।’ (प्रकाश ३:२१) यसबाहेक अन्य कारणहरूले गर्दा अहिले परिचालक निकायमा जम्मा दश जना सदस्यहरू छन्‌ र यसमा १९९४ मा थपिएको एक जना सदस्य पनि समावेश छ। धेरै जना निकै पाको उमेरका भइसके। तथापि, यी अभिषिक्‍त भाइहरूलाई गहन जिम्मेवारीहरू पूरा गर्न आवश्‍यक सहयोग दिइएको छ। तर कहाँबाट? यहोवाका जनहरूको आधुनिक गतिविधिलाई सरसरती केलाउँदा त्यस प्रश्‍नको जवाफ पाउँछौं।

परमेश्‍वरको इस्राएललाई सहयोग

१०. यी आखिरी दिनमा अभिषिक्‍त जनहरूसँगसँगै क-कसले उहाँको सेवा गरिरहेका छन्‌ र यसको भविष्यवाणी कसरी गरिएको थियो?

१० सन्‌ १८८४ तिर परमेश्‍वरको इस्राएलसित सम्बन्धित सबै जना अभिषिक्‍त मसीहीहरू थिए। तथापि, बिस्तारै अर्को समूह देखा पर्न थाल्यो र १९३५ मा यस समूहलाई प्रकाश अध्याय ७ मा वर्णन गरिएको “ठूलो भीड” भनी चिनाइयो। पार्थिव आशा भएका यिनीहरूले “पृथ्वीका” कुराहरूको चित्रण गर्छन्‌ जसलाई ख्रीष्टसित गाँभ्ने यहोवाको उद्देश्‍य छ। (एफिसी १:१०) यिनीहरू येशूले भेडाको बगालको उखानमा भन्‍नुभएको “अरू भेडा” हुन्‌। (यूहन्‍ना १०:१६) सन्‌ १९३५ देखि यहोवाको संगठनमा अरू भेडा जम्मा गरिंदैछ। तिनीहरू ‘बादलझैं र ढुकुरझैं आफ्ना झ्यालमा उडेर’ आएका छन्‌। (यशैया ६०:८) एकातिर ठूलो भीडको संख्यामा वृद्धि र अर्कोतिर मृत्युको कारण अभिषिक्‍त शेष जनहरूको संख्या कम हुँदै गइरहेको छ। यसकारण मसीही गतिविधिहरूमा ठूलो भीडका दक्ष पुरुषहरूले ठूलो भूमिका निर्वाह गर्दै आएका छन्‌। कुन कुन तरिकामा?

११. सुरुमा अभिषिक्‍त मसीहीहरूले मात्र पाएका कस्ता सुअवसरहरू अहिले अरू भेडालाई पनि दिइएको छ?

११ यहोवाको सर्वश्रेष्ठताबारे चारैतिर घोषणा गर्नु पहिलेदेखि परमेश्‍वरको “पवित्र जाति[को]” विशेष दायित्वहरूमध्ये एक थियो। पावलले यसलाई मन्दिरमा चढाइने बलिदान भनी वर्णन गरे। अनि येशूले “राजकीय पूजाहारीगिरी” हुनेहरूलाई प्रचार गर्ने तथा सिकाउने आज्ञा दिनुभयो। (प्रस्थान १९:५, ६; १ पत्रुस २:४, ९; मत्ती २४:१४; २८:१९, २०; हिब्रू १३:१५, १६) तैपनि, अगस्त १, १९३२ को प्रहरीधरहरा-ले (अंग्रेजी) यस कार्यमा भाग लिन विशेषगरि योनादाबवर्गलाई प्रोत्साहन दियो। निस्सन्देह, अरू भीडका थुप्रैले त्यो काम गर्न थालिसकेका थिए। आज, “दिन-रात [परमेश्‍वरको] मन्दिरमा उहाँको सेवा” गर्न ठूलो भीडले अधिकांश प्रचार कार्य गरिरहेका छन्‌। (प्रकाश ७:१५) त्यसरी नै, यहोवाका जनहरूको आधुनिक इतिहासको प्रारम्भतिर मण्डलीका प्राचीनहरू नै अभिषिक्‍त मसीहीहरू अर्थात्‌ येशू ख्रीष्टको दाहिने बाहुलीका “ताराहरू” थिए। (प्रकाश १:१६, २०) तर मे १, १९३७ को प्रहरीधरहरा-ले अरू भेडामध्येका दक्ष व्यक्‍तिहरू कम्पनी सेवकको (मण्डलीको अध्यक्ष) हैसियतमा सेवा गर्नसक्छन्‌ भनी घोषणा गऱ्‍यो। अभिषिक्‍त पुरुषहरू उपलब्ध भए तापनि तिनीहरूले यो जिम्मेवारी पूरा गर्न नभ्याएमा अरू भेडालाई चलाउन सकिन्छ भनेर प्रष्ट पारियो। आज, मण्डलीका प्रायजसो सबै प्राचीनहरू अरू भेडाका हुन्‌।

१२. अरू भेडाका दक्ष व्यक्‍तिहरूले पाएको गहन संगठनात्मक जिम्मेवारीहरूको धर्मशास्त्रीय आधारहरू के छन्‌?

१२ के यस्ता गहन जिम्मेवारीहरू अरू भेडालाई दिनु गलत हो? होइन किनभने पहिले पनि यस्तै भएको थियो। पुरातन इस्राएलका केही गैरइस्राएलीहरूले (प्रवासी वा विदेशीहरू) महत्त्वपूर्ण ओहदा सँभालेका थिए। (२ शमूएल २३:३७, ३९; यर्मिया ३८:७-९) बाबेलको निर्वासनबाट फर्केपछि दक्ष नेथिनिमहरूलाई (मन्दिरका गैरइस्राएली सेवकहरू) मन्दिरका विशेष सुअवसरहरू दिइयो जुन पहिले लेवीहरूले मात्रै पाउँथे। (एज्रा ८:१५-२०; नहेम्याह ७:६०) साथै, येशूको रूप परिवर्तन हुँदा सँगै देखिएका मोशाले मिद्यानी यित्रोको सल्लाह स्वीकारे। पछि, इस्राएलीहरूलाई उजाडस्थानमा डोऱ्‍याउन मोशाले यित्रोको छोरा होबाबको मदत लिए।—प्रस्थान १८:५, १७-२४; गन्ती १०:२९.

१३. नम्रतापूर्वक अरू भेडालाई जिम्मेवारी बाँड्‌ने सन्दर्भमा अभिषिक्‍त जनहरूले कसको असल मनोभाव अनुकरण गरिरहेका छन्‌?

१३ मोशालाई आफू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाउनेछैनन्‌ भनी थाह थियो। अतः उजाडस्थानमा ४० वर्ष बिताइसकेपछि यहोवाले एक जना उत्तराधिकारीको प्रबन्ध गरिदिऊन्‌ भनी तिनले प्रार्थना गरे। (गन्ती २७:१५-१७) यहोवाले सबै मानिसहरू सामु यहोशूलाई हाजिर गराउन अह्राउनुभयो र मोशाले त्यसै गरे। यद्यपि, यतिखेर मोशा शारीरिक तवरमा त्यत्ति अस्वस्थ भइसकेका थिएनन्‌ र इस्राएलको सेवा गरिरहेकै थिए। (व्यवस्था ३:२८; ३४:५-७, ९) त्यस्तै नम्र मनोभाव राखेर अभिषिक्‍त जनहरूले अरू भेडाका दक्ष पुरुषहरूलाई थप सुअवसरहरू प्रदान गरिरहेका छन्‌।

१४. कुन कुन भविष्यवाणीहरूले अरू भेडाको बढ्‌दो संगठनात्मक भूमिकाबारे संकेत गर्छन्‌?

१४ संगठनमा ठूलो भीडले पाएको थप जिम्मेवारीहरू पनि भविष्यवाणीको अर्को विषय हो। गैरइस्राएली पलिश्‍तीहरू “यहूदामा . . . कुलपति जस्तै” हुनेछ भनी जकरियाले भविष्यवाणी गरेका थिए। (जकरिया ९:६, ७) कुलपतिहरू जनजातिका मूलीहरू थिए। अतः जकरियाले के भन्‍न खोजिरहेका थिए भने, इस्राएलका भूतपूर्व शत्रुहरूले साँचो उपासना ग्रहण गर्नेछन्‌ र प्रतिज्ञा गरिएको देशमा जनजातिका मूलीहरूजस्तै हुनेछन्‌। यसबाहेक, परमेश्‍वरको इस्राएललाई सम्बोधन गर्दै यहोवाले यसो भन्‍नुभयो: “परदेशीहरू खड़ा हुनेछन्‌, र उभी उभी तेरा भेड़ा–बाख्राहरूलाई चराउनेछन्‌, र विदेशीहरू तेरा हलो जोत्ने र दाखबारीका माली हुनेछन्‌। तर तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ। मानिसहरूले तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवक भन्‍नेछन्‌।” (यशैया ६१:५, ६) यहाँ उल्लेख गरिएका “परदेशीहरू” र “विदेशीहरू” अरू भेडा हुन्‌। बूढो हुँदै गइरहेका अभिषिक्‍त जनहरू आफ्नो पार्थिव जीवनको शेषपछि स्वर्गमा “परमप्रभुका पूजाहारी” हुनेछन्‌ र “परमेश्‍वरका सेवक[को]” हैसियतमा यहोवाको वैभवशाली सिंहासन वरपर बस्नेछन्‌। अतः आफ्नो पार्थिव जीवन समापन हुन अगावै यी अभिषिक्‍त जनहरूले आफ्नो जिम्मेवारी यी विदेशीहरूलाई सुम्पँदैछन्‌।—१ कोरिन्थी १५:५०-५७; प्रकाश ४:४, ९-११; ५:९, १०.

‘पछि आउने पुस्ता’

१५. यस अन्तको समयमा मसीहीहरूको कुन समूह “बूढो” भइसकेको छ र ‘पछि आउने पुस्ताले’ कसलाई देखाउँछ?

१५ अभिषिक्‍त शेष जनहरू ठूलो भीडलाई थप जिम्मेवारीहरू वहन गर्ने प्रशिक्षण दिन उत्सुक छन्‌। भजन ७१:१८ यसो भन्छ: “हे परमेश्‍वर, म बूढ़ो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्‌। जबसम्म म अर्को पुस्तामा र पछि आउने हरेकलाई तपाईंको सामर्थ्य र शक्‍तिको घोषणा गरिसक्‍तिनँ।” यस पदमा टिप्पणी गर्दै डिसेम्बर १५, १९४८ को प्रहरीधरहरा-ले (अंग्रेजी) अभिषिक्‍त मसीही मण्डली साँच्चै बूढो भइसक्यो भनी औंल्यायो। यसले अझै भन्यो, अभिषिक्‍त जनहरू “बाइबलको भविष्यवाणीअनुसारै नयाँ पुस्ता हेर्न” उत्सुकतापूर्वक पर्खिरहेका छन्‌। यहाँ विशेषगरि कसलाई संकेत गरिएको छ? त्यही प्रहरीधरहरा-ले यसो भन्यो: “येशूले तिनीहरूलाई ‘अरू भेडा’ भन्‍नुभयो।” ‘पछि आउने पुस्ताले’ स्वर्गको राज्य प्रशासनअन्तर्गत यस पृथ्वीमा बाँच्ने मानिसहरूलाई बुझाउँछ।

१६. ‘पछि आउने पुस्ताले’ कस्ता आशिष्‌हरू उत्सुकतापूर्वक पर्खन्छ?

१६ सबै अभिषिक्‍त मसीहीहरूले यस ‘पछि आउने पुस्तालाई’ छोडेर येशू ख्रीष्टसँगै कहिले महिमित हुनेछन्‌ भनी बाइबलले किटेरै बताएको छैन। तर यो समय नजीकै छ भनी यी अभिषिक्‍त जनहरू विश्‍वस्त छन्‌। “जगत्‌को अन्त[बारे]” येशूका भविष्यवाणीमा बताइएका घटनाहरू सन्‌ १९१४ देखि पूरा भइरहेका छन्‌ र त्यसले संसारको विनाश नजीकै छ भनी देखाउँछ। (दानियल १२:४; मत्ती २४:३-१४; मर्कूस १३:४-२०; लूका २१:७-२४) चाँडै, यहोवाले प्रबन्ध गर्नुहुने नयाँ संसारमा यस ‘पछि आउने पुस्ताले’ ‘जगत्‌को उत्पत्तिदेखि तिनीहरूका निम्ति तयार गरिएको राज्य [पृथ्वी] अधिकार गर्नेछन्‌।’ (मत्ती २५:३४) प्रमोदवनको पुनर्स्थापना तथा चिहानबाट बिउँतने लाखौं मृत जनहरूलाई स्वागत गर्न तिनीहरू उत्सुक छन्‌। (प्रकाश २०:१३) यी पुनरुत्थान हुनेहरूलाई स्वागत गर्न के त्यहाँ अभिषिक्‍त जनहरू हुनेछन्‌? सन्‌ १९२५ तिर प्रहरीधरहरा-को (अंग्रेजी) मे १ अंकले यसो भन्यो: “हामी आफ्नै मनगढन्ते कुराहरूको आधारमा परमेश्‍वरले यसो गर्नुहुनेछ, त्यसो गर्नुहुनेछैन भन्‍न सक्दैनौं। . . . [तर] हामी यो निष्कर्षमा भने पुग्नसक्छौं, चर्चका [अभिषिक्‍त मसीहीहरू] सदस्यहरू पुरातन आदरणीय व्यक्‍तिहरूभन्दा [मसीहीपूर्व विश्‍वासी साक्षीहरू] पहिले पुनरुत्थान भएर महिमित हुनेछन्‌।” पुनरुत्थान हुनेहरूलाई स्वागत गर्न केही अभिषिक्‍त जनहरूको खाँचो पर्नेछ कि छैन भन्‍ने छलफललाई अघि बढाउँदै सेप्टेम्बर १, १९८९ प्रहरीधरहरा-ले (अंग्रेजी) “खाँचो पर्नेछैन” भन्‍ने जवाफ दिएको थियो।d

१७. सामूहिक तवरमा अभिषिक्‍त जनहरूले सिंहासनारूढ राजा, येशू ख्रीष्टसित कस्ता अद्‌भुत सुअवसरहरू पाउनेछन्‌?

१७ हो, हरेक अभिषिक्‍त मसीहीलाई व्यक्‍तिविशेषको हैसियतमा के हुनेछ, हामीलाई थाह छैन। तर येशूको रूप परिवर्तन हुँदा मोशा र एलियाको उपस्थितिले “हरेक मानिसलाई उसको [काम]अनुसार प्रतिफल दिन” आउनुहुँदा पुनरुत्थान भएका अभिषिक्‍त मसीहीहरू येशूसँगै हुनेछन्‌ भन्‍ने संकेत गर्छ र त्यतिबेला उहाँले न्याय सुनाउनुको साथै साँच्चै न्याय पनि गर्नुहुनेछ। यसबाहेक, ‘विजयी’ हुने अभिषिक्‍त मसीहीहरूले येशूसँगसँगै आरमागेडोनमा “फलामको डण्डाले” राष्ट्रहरूमाथि न्याय गर्नेछन्‌ भन्‍ने येशूको प्रतिज्ञालाई पनि हामीले बिर्सेका छैनौं। येशू महिमामा आउनुहुँदा तिनीहरू “इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै” बस्नेछन्‌। येशूसँगै मिलेर तिनीहरूले ‘शैतानलाई चाँडै खुट्टामुनि कुल्चनेछन्‌।’—मत्ती १६:२७–१७:९; १९:२८; प्रकाश २:२६, २७; १६:१४, १६; रोमी १६:२०; उत्पत्ति ३:१५; भजन २:९; २ थिस्सलोनिकी १:९, १०.

१८. (क) ‘स्वर्गका सबै कुरा ख्रीष्टसित गाभ्ने’ सन्दर्भमा परिस्थिति कस्तो छ? (ख) ‘पृथ्वीका कुराहरू ख्रीष्टसित गाभ्ने’ सन्दर्भमा हामी के भन्‍नसक्छौं?

१८ कामकुराको चाँजोपाँजोलाई ध्यानमा राख्दै यहोवाले “सबै कुरा ख्रीष्टमा गाभ्दै” हुनुहुन्छ। जहाँसम्म “स्वर्गका” कुराहरू जम्मा गर्ने कुरा छ, उहाँको उद्देश्‍य पूरा हुनै लागेको छ। “थुमाको विवाहको” लागि स्वर्गमा येशू र १,४४,००० को मिलन हुने समय नजीकै छ। यसर्थ, “पृथ्वीका” थोकहरू प्रतिनिधित्व गर्ने, अरू भेडाका पाको तथा धेरैअघिदेखि परमेश्‍वरको सेवा गर्दै आएका भाइहरूले अभिषिक्‍त जनहरूलाई टेवा पुऱ्‍याउन गहन जिम्मेवारीहरू स्वीकारिरहेका छन्‌। हामी साँच्चै रोमाञ्चकारी समयमा बाँचिरहेका छौं! यहोवाका उद्देश्‍यहरू पूरा भइरहेको हेर्न पाउनु कत्ति उत्साहवर्धक छ! (एफिसी १:९, १०; ३:१०-१२; प्रकाश १४:१; १९:७, ९) दुवै समूह एकसाथ मिलेर राजा, येशू ख्रीष्टको नेतृत्वमा “एकै गोठालाको” अधीनमा “एकै बगाल” भएर सार्वभौम सत्ताधारी, यहोवा परमेश्‍वरको महिमा गर्न पाउँदा यस ठूलो भीड अत्यन्तै हर्षित छ!—यूहन्‍ना १०:१६; फिलिप्पी २:९-११.

[फुटनोटहरू]

a प्रहरीधरहरा (अंग्रेजी) अगस्त १, १९८१, पृष्ठ १६-२६ हेर्नुहोस्‌।

b उदाहरणका लागि, सन्‌ १९१४ देखि “फोटो-ड्रामा अफ क्रिएशन” नामक चार भागको सृष्टिसम्बन्धी चलचित्र पश्‍चिमी संसारभरि देखाइएको थियो र त्यो हेर्न मानिसहरूको घुइँचो लागेको थियो।

c केही यहूदी मसीहीहरू मोशाको व्यवस्थामा खुरन्धार लाग्नुका केही सम्भाव्य कारणहरूको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित धर्मशास्त्रमा अन्तरदृष्टि (अंग्रेजी) खण्ड २, पृष्ठ ११६३-४ हेर्नुहोस्‌।

d प्रहरीधरहरा (अंग्रेजी) अगस्त १५, १९९०, पृष्ठ ३०-१; डिसेम्बर १५, १९९०, पृष्ठ ३० हेर्नुहोस्‌।

के तपाईं बताउन सक्नुहुन्छ?

◻ प्रथम शताब्दीमा परमेश्‍वरको संगठन कसरी अघि बढ्यो?

◻ यहोवाका साक्षीहरूको आधुनिक इतिहासमा परिचालक निकायमा के कस्ता परिवर्तनहरू भए?

◻ कुन कुन शास्त्रपदहरूले यहोवाको संगठनका अरू भेडालाई अख्तियार दिने आधार प्रदान गर्छ?

◻ ख्रीष्टसित “स्वर्गका” र “पृथ्वीका” कुराहरू कसरी गाभिएका छन्‌?

[पृष्ठ १६-मा भएको चित्र]

परिचालक निकायका प्रारम्भिक सदस्यहरू यरूशलेममा नभए तापनि उक्‍त निकाय सक्रिय नै थियो

[पृष्ठ १८-मा भएको चित्र]

पाको अभिषिक्‍त मसीहीहरू यहोवाका जनहरूका निम्ति आशिष्‌ साबित भएका छन्‌

सी. टी. रसल १८८४-१९१६

जे. एफ. रदरफोर्ड १९१६-४२

एन. एच. नोर १९४२-७७

एफ. डब्ल्यु. फ्रान्ज १९७७-९२

एम. जी. हेन्शेल १९९२-

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने