प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 जून pp. १८-२२
  • “परमप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परमप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा ‘एउटै परमेश्‍वर’ हुनुहुन्छ
  • यहोवाको मात्र सेवा गर्नुहोस्‌
  • ख्रीष्टियन एकता कायम राख्नुहोस्‌
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवातर्फ को-को छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • “तिनीहरूले कस्तो घोर दुष्ट र घिनलाग्दा काम गरिरहेका छन्‌, हेर”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • यहोवाको मात्र उपासना गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 जून pp. १८-२२
इस्राएलीहरूसित कुरा गर्दै गरेका मोशा

“परमप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ”

“हे इस्राएली हो सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ!”—व्यव. ६:४.

गीत: १३८, ११२

के तपाईं बुझाउन सक्नुहुन्छ?

  • यहोवा हाम्रा “परमेश्‍वर एउटै” हुनुहुन्छ भन्‍नुको अर्थ के हो?

  • हामी “एउटै” परमेश्‍वर यहोवाको उपासना गर्छौं भनेर कसरी देखाउन सक्छौं?

  • शान्ति र एकता कायम राख्न हामी के गर्न सक्छौं?

१, २. (क) व्यवस्था ६:४ मा पाइने शब्दहरू धेरैजसोलाई थाह हुनुको कारण के हो? (ख) मोशाले ती शब्दहरू किन भनेका थिए?

यहूदीहरूले धेरै वर्ष पहिलेदेखि व्यवस्था ६:४ का शब्दहरूलाई प्रार्थनाको रूपमा चलाउँदै आएका छन्‌। तिनीहरूले हरेक साँझ-बिहान यो प्रार्थना गर्छन्‌। यस प्रार्थनालाई ‘शेमा’ भनिन्छ; हिब्रू भाषामा यस पदको पहिलो शब्द नै ‘शेमा’ भन्‍ने शब्दबाट सुरु भएको छ। यो प्रार्थनाद्वारा यहूदीहरूले अरूलाई नभई यहोवालाई मात्र भक्‍ति गरेको कुरा देखाउँछन्‌।

२ ती शब्दहरू मोशाले ईसापूर्व १४७३ मा मोआबको बेंसीमा भेला भएका इस्राएलीहरूलाई दिएको अन्तिम भाषणको अंश थियो। त्यतिबेला इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न यर्दन नदी तर्नै लागेका थिए। (व्यव. ६:१) विगत ४० वर्षदेखि तिनीहरूलाई डोऱ्‍याउँदै आएका मोशा तिनीहरूले आउन लागेका चुनौतीहरू साहसी भई सामना गरेको चाहन्थे। तिनीहरूले यहोवामा भरोसा राख्नुका साथै उहाँको मात्रै उपासना गर्नुपर्थ्यो। मोशाका ती अन्तिम शब्दहरूले तिनीहरूमाथि गहिरो प्रभाव पाऱ्‍यो। इस्राएलीहरूलाई यहोवाले दिनुभएको दस आज्ञा र नियमहरूबारे बताइसकेपछि मोशाले व्यवस्था ६:४, ५ मा पाइने जोडदार शब्दहरू उल्लेख गरे। (पढ्‌नुहोस्‌)

३. यस लेखमा हामी कस्ता प्रश्‍नहरू छलफल गर्नेछौं?

३ त्यस ठाउँमा भेला भएका इस्राएलीहरूलाई यहोवा “एउटै परमेश्‍वर” हुनुहुन्छ भनेर थाह थिएन र? अवश्‍य थाह थियो अनि तिनीहरू एकमात्र परमेश्‍वरको उपासना पनि गर्थे; हो, तिनीहरू आफ्नो पुर्खा अब्राहाम, इसहाक अनि याकूबका परमेश्‍वरको उपासना गर्थे। त्यसोभए मोशाले यहोवा “एउटै” परमेश्‍वर हुनुहुन्छ भन्‍नुको मतलब के थियो? व्यवस्था ६:५ मा ‘तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्‍तिले प्रेम गर’ भनी बताइएको कुरासँग यहोवा एउटै हुनुहुन्छ भन्‍ने कुराको के सम्बन्ध छ? व्यवस्था ६:४, ५ मा बताइएका कुराहरूले हाम्रो लागि कस्तो अर्थ राख्छ?

यहोवा ‘एउटै परमेश्‍वर’ हुनुहुन्छ

४, ५. (क) यहोवा “एउटै” हुनुहुन्छ भन्‍नुको अर्थ के हो? (ख) अरू देवीदेवताभन्दा यहोवा कसरी फरक हुनुहुन्छ?

४ अतुलनीय परमेश्‍वर। हिब्रू अनि अरू थुप्रै भाषामा “एउटै” भन्‍ने शब्दले केवल सङ्‌ख्यालाई मात्र बुझाउँदैन। यसले एकमात्र वा अतुलनीय भन्‍ने अर्थ पनि दिन्छ। मोशाले त्रिएकसम्बन्धी झूटो धार्मिक शिक्षाको खण्डन गर्नको लागि यो शब्द चलाएको जस्तो देखिंदैन। यहोवा सारा ब्रह्‍माण्डका सृष्टिकर्ता, सर्वोच्च परमेश्‍वर हुनुहुन्छ। उहाँ वास्तविक र साँचो परमेश्‍वर हुनुहुन्छ; उहाँजस्तो अरू कोही ईश्‍वर छैन। (२ शमू. ७:२२) त्यसैले कुरा स्पष्ट छ, मोशाले इस्राएलीहरूलाई यहोवाको मात्र उपासना गर्नुपर्छ भनी सम्झाउँदै थिए। ती इस्राएलीहरूले आफू वरपरका मानिसहरूले जस्तो थरी-थरीका देवी-देवताहरूको उपासना गर्नुहुँदैनथ्यो। तिनीहरूले उपासना गर्ने कुनै-कुनै झूटा देवताहरूले प्रकृतिका केही खास कुरामाथि अधिकार गर्छन्‌ भन्‍ने विश्‍वास गरिन्थ्यो। त्यसबाहेक नानाथरीका अरू देवताहरू पनि थिए।

५ उदाहरणका लागि, मिश्रीहरू सूर्यदेव ‘रा,’ आकाशकी देवी ‘नट,’ पृथ्वीको देवता ‘गेब,’ नील नदीको देवता ‘हेपे’ र अरू थुप्रै शुद्ध जनावरलाई पुज्थे। यहोवा परमेश्‍वरले दस विपत्तिद्वारा यीमध्ये थुप्रै देवीदेवताको धज्जी उडाउनुभयो। कनानीहरू बाल देवतालाई मुख्य देवताको रूपमा पुज्थे। तिनीहरू यो देवतालाई प्रजनन शक्‍तिको देवताको रूपमा मात्र नभई आकाश, वर्षा, आँधीको देवताको रूपमा पनि पुज्थे। विभिन्‍न ठाउँमा बाल देवतालाई संरक्षक देवीको रूपमा पनि पुज्ने गरिन्थ्यो। (गन्ती २५:३) तर ती इस्राएलीहरूले भने यहोवा नै साँचो परमेश्‍वर अर्थात्‌ “एउटै” परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा मनमा राख्नुपर्थ्यो।—व्यव. ४:३५, ३९.

६, ७. “एउटै” भन्‍ने शब्दको अर्को अर्थ के हो? यहोवाले आफू “एउटै” परमेश्‍वर भएको कसरी प्रमाणित गर्नुभयो?

६ कहिल्यै परिवर्तन नहुने परमेश्‍वर। “एउटै” भन्‍ने शब्दले एकतालाई, एउटै उद्देश्‍य हुनुलाई र त्यसैअनुसार कामकुरा गर्नुलाई सङ्‌केत गर्छ। यहोवा कुरा फेरिराख्ने अनि भरोसा नै गर्न नसकिने परमेश्‍वर हुनुहुन्‍न। बरु उहाँ भरपर्दो, परिवर्तन नहुने, वचनबद्ध र साँचो परमेश्‍वर हुनुहुन्छ। जस्तै: उहाँले अब्राहामलाई तिनका सन्तानहरूले प्रतिज्ञा गरिएको देश अधिकार गर्नेछन्‌ भनेर वचन दिनुभएको थियो र आफ्नो त्यो वचन पूरा गर्न उहाँले शक्‍तिशाली कामहरू समेत गर्नुभयो; चार सय तीस वर्ष बित्यो तैपनि उहाँले आफ्नो वचन पूरा गरेरै छाड्‌नुभयो।—उत्प. १२:१, २, ७; प्रस्थ. १२:४०, ४१.

७ सयौं वर्षपछि यहोवाले इस्राएलीहरूलाई आफ्नो साक्षीको रूपमा रोज्नुहुँदा यसो भन्‍नुभयो: “म उही हुँ भनी बुझ्न सक। मेरो अघि कोही परमेश्‍वर थिएन, नता मेरो पछि कोही हुनेछ।” परिवर्तन नहुने आफ्नो उद्देश्‍यलाई जोड दिंदै यहोवाले थप यसो भन्‍नुभयो: “अबदेखि उसो पनि म उही नै हुँ।” (यशै. ४३:१०, १३; ४४:६; ४८:१२) कहिल्यै परिवर्तन नहुने अनि वचनबद्ध परमेश्‍वर यहोवाको सेवा गर्न पाउनु इस्राएलीहरूको लागि मात्र होइन हाम्रो लागि पनि ठूलो सुअवसर हो।—मला. ३:६; याकू. १:१७.

८, ९. (क) यहोवा आफ्ना उपासकहरूबाट के चाहनुहुन्छ? (ख) मोशाले भनेका कुराहरूलाई येशूले कसरी जोड दिनुभयो?

८ हो, मोशाले इस्राएलीहरूलाई यहोवा कहिल्यै परिवर्तन हुनुहुन्‍न र तिनीहरूको सधैं ख्याल राख्नुहुन्छ भन्‍ने कुरा सम्झाए। यही कारण इस्राएलीहरूले यहोवालाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्‍तिले प्रेम गर्नुका साथै उहाँको मात्र सेवा गर्नु जायज देखिन्छ। जवानहरूले समेत परमेश्‍वरप्रति यस्तो भक्‍ति देखाउनुपर्थ्यो किनभने इस्राएली आमाबाबुलाई हरेक अवसरमा आफ्ना छोराछोरीहरूलाई सिकाउने आज्ञा दिइएको थियो।—व्यव. ६:६-९.

९ यहोवाको इच्छा अनि उहाँको उद्देश्‍य कहिल्यै परिवर्तन नहुने भएकोले कुरा स्पष्ट छ अहिले हाम्रो समयमा उहाँले आफ्ना सेवकहरूबाट चाहनुहुने कुरा पनि परिवर्तन भएको छैन। उहाँले हाम्रो उपासना स्वीकारेको चाहन्छौं भने हामीले पनि उहाँको मात्रै सेवा गर्नुपर्छ अनि सारा मनले, सारा दिमागले र सारा बलले उहाँलाई प्रेम गर्नुपर्छ। पछि एक जना व्यक्‍तिले प्रश्‍न सोध्दा येशूले यही कुरालाई जोड दिनुभयो। (मर्कूस १२:२८-३१ पढ्‌नुहोस्‌) त्यसकारण ‘यहोवा हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ’ भनी राम्ररी बुझेको कुरा व्यवहारद्वारा कसरी देखाउन सक्छौं, विचार गरौं।

यहोवाको मात्र सेवा गर्नुहोस्‌

१०, ११. (क) यहोवालाई मात्र उपासना गरेको कुरा कसरी देखाउन सक्छौं? (ख) हिब्रू युवाहरूले बेबिलोनमा छँदा यहोवाको मात्र उपासना गरेको कुरा कसरी देखाए?

१० यहोवा हाम्रो एउटै परमेश्‍वर हुनुहुन्छ भनी देखाउन हामीले उहाँको मात्र सेवा गर्नुपर्छ। यसको मतलब उहाँलाई मात्र दिनुपर्ने उपासना हामीले अरू कुनै देवीदेवतालाई दिन वा बाँड्‌न मिल्दैन र अरू धर्मको विचार अनि प्रचलनहरूबाट बिटुलो हुनुहुँदैन। यहोवा एउटै हुनुहुन्छ भन्‍नुको अर्थ उहाँ अरू देवतामध्ये एउटा हुनुहुन्छ र तिनीहरूमध्ये उच्च र सबैभन्दा शक्‍तिशाली हुनुहुन्छ भन्‍न खोजिएको होइन। हामीले उपासना गर्नुपर्ने परमेश्‍वर उहाँबाहेक अरू कोही छैन।—प्रकाश ४:११ पढ्‌नुहोस्‌।

११ दानियलको पुस्तकमा हिब्रू युवाहरू दानियल, हनन्याह, मीशाएल र अजर्याहबारे उल्लेख गरेको पाउँछौ। तिनीहरूले व्यवस्थाअनुसार अशुद्ध मासु खान इन्कार गरेर अनि नबूकदनेसर राजाले बनाएका मूर्तिलाई नढोगेर यहोवालाई मात्र उपासना गरेको कुरा देखाए। कुन कुरालाई प्राथमिकता दिनुपर्ने हो तिनीहरूलाई राम्रोसँग थाह थियो। साथै तिनीहरू कुनै पनि हालतमा आफ्नो उपासनालाई बिटुलो पार्न चाहँदैनथे।—दानि. २:१–३:३०.

१२. यहोवाको मात्र उपासना गर्न हामी कस्ता कुराहरूदेखि सचेत रहनुपर्छ?

१२ यहोवाको मात्र उपासना गर्न हामीले आफ्नो जीवनमा उहाँलाई मात्र दिनुपर्ने स्थान अरू कुनै कुरालाई नदिन वा नबाँड्‌न सचेत हुनुपर्छ। यसमा कस्ता कुराहरू समावेश छन्‌? आफ्ना जनहरूलाई दस आज्ञा दिनुहुँदा उहाँले आफूबाहेक अरू कुनै देवीदेवताको उपासना गर्नु वा मूर्तिपूजासँग सम्बन्धित कुनै पनि कामकुरामा भाग लिनु हुँदैन भनेर स्पष्ट पार्नुभयो। (व्यव. ५:६-१०) अहिले मूर्तिपूजाका रूपहरू विभिन्‍न किसिमका छन्‌, कुनै-कुनै कुरा त मूर्तिपूजामा पर्छ कि पर्दैन सजिलै ठम्याउन समेत सक्दैनौं। तर यहोवाले हामीबाट माग गर्नुहुने कुरा परिवर्तन भएको छैन किनभने उहाँ अहिले पनि “एउटै” परमेश्‍वर हुनुहुन्छ। अब यसले हाम्रो लागि कस्तो अर्थ राख्छ, विचार गरौं।

१३. यहोवाको मात्र उपासना गर्नदेखि हामीलाई कस्ता कुराहरूले रोक्न सक्छ?

१३ यहोवाको मात्र उपासना गर्नदेखि हामीलाई कस्ता कुराहरूले रोक्न सक्छ, त्यसबारे कलस्सी ३:५ मा कडा सल्लाह दिइएको पाउँछौं। (पढ्‌नुहोस्‌) याद गर्नुहोस्‌, यस पदमा लालचलाई मूर्तिपूजा गर्नु सरह हो भनिएको छ। किनभने धनसम्पत्ति वा सुखसयल पाउने चाहना प्रबल हुँदा त्यसले हाम्रो जीवनलाई पूरै नियन्त्रण गर्न सक्छ र ती कुराहरू नै हाम्रो ईश्‍वर बन्‍न पुग्छ। पूरै पदलाई विचार गर्ने हो भने त्यहाँ चर्चा गरिएका अन्य पापपूर्ण कामहरू कुनै न कुनै तरिकामा लोभसँग जोडिएको छ, अनि लोभ भनेकै मूर्तिपूजा हो। यस्ता कुराहरूप्रतिको लालच मनमा बढ्‌न दियौं भने यहोवालाई दिनुपर्ने स्थान सजिलै अरू नै कुरालाई दिन पुग्छौं। के यस्ता कुराहरूलाई आफूमाथि प्रभुत्व जमाउन दिएर “एउटै” परमेश्‍वर यहोवाबाट टाढिन चाहन्छौं र? अहँ, कदापि चाहँदैनौं।

१४. प्रेषित यूहन्‍नाले कस्तो चेतावनी दिए?

१४ प्रेषित यूहन्‍नाले पनि यही कुरालाई जोड दिए। तिनले संसारका कुराहरू जस्तै: “शरीरको अभिलाषा, आँखाको अभिलाषा र तडकभडक” जस्ता कुराहरूलाई प्रेम गर्नेहरू ‘बुबाबाटका होइनन्‌’ भनेर बताए। (१ यूह. २:१५, १६) यसको मतलब हामीले यस संसारको मनोरञ्जन, साथी सङ्‌गत अनि पहिरन र कोरीबाटीको सन्दर्भमा कतै संसारबाट प्रभावित भएका छौं कि भनेर बारम्बार आफ्नो हृदय जाँच्नुपर्छ। संसारका कुराहरूलाई प्रेम गर्नुमा उच्च शिक्षा हासिल गरेर “ठूला कुराहरू” प्राप्त गर्न खोज्नु पनि समावेश छ। (यर्मि. ४५:४, ५) अहिले हामी नयाँ संसारको सँघारमै बाँचिरहेका छौं। त्यसकारण मोशाले भनेका जोडदार शब्दहरू मनमा राख्नु धेरै महत्त्वपूर्ण छ। हामीले ‘यहोवा हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ’ भन्‍ने कुरा राम्ररी बुझ्यौं भने परमेश्‍वरलाई ग्रहणयोग्य पवित्र सेवा चढाउँदै उहाँको मात्र सेवा गरिरहन अथक प्रयास गर्नेछौं।—हिब्रू १२:२८, २९.

ख्रीष्टियन एकता कायम राख्नुहोस्‌

१५. पावलले परमेश्‍वर यहोवा “एउटै” हुनुहुन्छ भनेर ख्रीष्टियनहरूलाई याद दिलाउनुको कारण के थियो?

१५ यहोवा “एउटै” हुनुहुन्छ भन्‍ने शब्दले एकतालाई अनि एउटै उद्देश्‍य हुनुलाई बुझाउने भएकोले उहाँका उपासकको हैसियतमा हामीले पनि यो गुण देखाउनुपर्छ। प्रथम शताब्दीको ख्रीष्टियन मण्डली यहूदी, ग्रीक, रोमी र अरू विभिन्‍न राष्ट्रका मानिसहरू मिलेर बनेको थियो। तिनीहरूको पृष्ठभूमि, रहनसहन, भावनात्मक बनोट फरक-फरक थियो। यी कुराहरूले गर्दा तिनीहरूमध्ये कसै-कसैलाई उपासना गर्ने नयाँ तरिका स्वीकार्न र आफ्नो पुरानो तौर-तरिका पूरै त्याग्न गाह्रो भइरहेको थियो। त्यसैले प्रेषित पावलले तिनीहरूलाई परमेश्‍वर एउटै हुनुहुन्छ भनी याद दिलाउनु एकदमै उपयुक्‍त थियो।—१ कोरिन्थी ८:५, ६ पढ्‌नुहोस्‌।

१६, १७. (क) अहिले हाम्रो समयमा कुन भविष्यवाणी पूरा भइरहेको छ र नतिजा कस्तो भएको छ? (ख) कस्ता कुराहरूले गर्दा हाम्रो एकता भङ्‌ग हुन सक्छ?

१६ अहिले हाम्रो समयका ख्रीष्टियन मण्डलीबारे के भन्‍न सकिन्छ? “पछिल्ला दिनमा” यहोवाको उपासना गर्न सारा संसारबाट मानिसहरू उहाँको भवनतर्फ ओइरिएर आउनेछन्‌ भनी भविष्यवक्‍ता यशैयाले भनेका थिए। अनि तिनीहरूले यसो भन्‍ने थिए: “[यहोवाले] हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड्‌नेछौं।” (यशै. २:२, ३) अहिले हाम्रै आँखा अगाडि यी भविष्यवाणीहरू पूरा भइरहेको देख्न पाउँदा कत्ति खुसी छौं! अहिले ख्रीष्टियन मण्डली विभिन्‍न जातजातिका, विभिन्‍न संस्कृतिका र भाषाभाषिका मानिसहरू मिलेर बनेको छ अनि तिनीहरूले यहोवाको प्रशंसा गरिरहेका छन्‌। यस्तो विविधताको कारण विचार पुऱ्‍याउनुपर्ने कुराहरू पनि थुप्रै हुन सक्छ।

विभिन्‍न जातजाति र संस्कृतिका मानिसहरू सँगै बसेर खाँदै र रमाउँदै

के तपाईं मण्डलीको एकतालाई बलियो बनाउन आफ्नो तर्फबाट सक्दो गर्दै हुनुहुन्छ? (अनुच्छेद १६-१९ हेर्नुहोस्‌)

१७ उदाहरणका लागि, एकदमै भिन्‍नै संस्कृतिबाट आएका दाजुभाइ दिदीबहिनीलाई तपाईं कुन नजरले हेर्नुहुन्छ? तिनीहरूको भाषा, भेषभूषा, आनीबानी, खानपान सायद तपाईंलाई एकदमै नौलो लाग्न सक्छ। त्यसोभए के तपाईं तिनीहरूदेखि टाढिएर आफूसँग मिल्नेसँग मात्र सङ्‌गत गर्नुहुन्छ? अथवा मण्डलीमा, क्षेत्रमा वा शाखामा नियुक्‍त भएका निरीक्षक तपाईंभन्दा कम उमेरका वा अर्कै जात, संस्कृतिका हुन्‌ भने तपाईं के गर्नुहुन्छ? के तपाईं यस्ता कुराहरूले गर्दा यहोवाका सेवकहरूमाझ छाएको शान्ति र एकता भङ्‌ग हुन दिनुहुन्छ?

१८, १९. (क) एफिसी ४:१-३ मा हामी कस्तो सल्लाह पाउँछौं? (ख) मण्डलीलाई एकताबद्ध बनाइराख्न हामी के गर्न सक्छौं?

१८ माथि बताइएजस्तै कुराहरूको पासोमा नपर्न हामी के गर्न सक्छौं? विभिन्‍न जातजातिले भरिएका समृद्ध सहर एफिससका ख्रीष्टियनहरूलाई पावलले दिएको व्यावहारिक सल्लाह विचार गर्नुहोस्‌। (एफिसी ४:१-३ पढ्‌नुहोस्‌) तिनले सुरुमा विनम्र, कोमल, धीरज र प्रेमजस्ता गुणहरूबारे उल्लेख गरे। यी गुणहरू घरलाई थाम्ने खम्बासित तुलना गर्न सकिन्छ। घरलाई बलियो र दुरुस्त राख्न बलियो खम्बा चाहिन्छ, साथै नियमित रूपमा मर्मतसम्भार पनि गर्नुपर्छ, नत्र बिस्तारै घर बिग्रँदै जान्छ। त्यसैले पावलले एफिससका ख्रीष्टियनहरूलाई “एकतामा रहन उत्कट प्रयास गरिरहो” भनी प्रोत्साहन दिए।

१९ मण्डलीमा एकता कायम राख्ने जिम्मेवारी हामी प्रत्येकको हो भनेर स्वीकार्नुपर्छ। हामी के गर्न सक्छौं? हामीले सबैभन्दा पहिला पावलले उल्लेख गरेको विनम्र, कोमल, धीरज र प्रेमजस्ता गुणहरू खेती गर्नुपर्छ र त्यसलाई व्यवहारमा पनि देखाउनुपर्छ। त्यसपछि ‘शान्तिको बन्धन’-लाई अझ कसिलो बनाउन कडा प्रयास गर्नुपर्छ। हामीले ‘मर्मतसम्भार’ अर्थात्‌ सुधार गर्नुपर्ने कुनै सानो क्षेत्र देख्यौं भने पनि कदम चालिहाल्नुपर्छ। यसो गर्दा हामीबीच छाएको अनमोल शान्ति र एकता बिग्रन पाउँदैन।

२०. ‘यहोवा हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ’ भनी बुझेको कुरा हामी कसरी देखाउन सक्छौं?

२० ‘यहोवा हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ।’ कस्तो गहन शब्द! यस सम्झौटोले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा र त्यहाँ पुगिसकेपछि आइपरेका चुनौतीहरू सामना गर्न बलियो बनायो। यी कुराहरू मनमा राख्दा यसले हामीलाई आउनै लागेको महासङ्‌कष्टको सामना गर्न र त्यसपछि नयाँ संसारमा पनि योगदान पुऱ्‍याउन मदत गर्नेछ। त्यसकारण आउनुहोस्‌, सारा ज्यानले यहोवालाई प्रेम गरेर, सेवा गरेर अनि मण्डलीको भ्रातृत्व र एकतालाई कायम राख्न कडा प्रयास गरेर उहाँको मात्र सेवा गर्छौं भन्‍ने कुरा देखाइरहौं। यदि हामीले निरन्तर यसो गरिरहेमा येशूले भेडाखाले मानिसहरूका लागि भन्‍नुभएको प्रतिज्ञा पूरा भएको देख्न पाउनेछौं: “आओ, मेरो बुबाको आशिष्‌ पाएकाहरू हो, संसारको प्रारम्भदेखि तिमीहरूका लागि तयार पारिएको राज्य अधिकार गर।”—मत्ती २५:३४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने