प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 सेप्टेम्बर pp. २६-३०
  • “तिमीलाई नासोको रूपमा जे सुम्पिइएको छ, त्यसलाई सँभालेर राख”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीलाई नासोको रूपमा जे सुम्पिइएको छ, त्यसलाई सँभालेर राख”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीलाई बहुमूल्य सत्यहरू सुम्पिइएको छ
  • तपाईँलाई जे दिइएको छ, त्यसलाई दह्रोसित पक्रिराख्नुहोस्‌
  • हामी कसरी सत्यलाई दह्रोसित पक्रिराख्न सक्छौँ?
  • जोसिलो भई आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • नियुक्‍त पुरुषहरू हो, तिमोथीबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • आफ्नो प्रगति प्रकट गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • जवान हो—परमेश्‍वरको आदर हुने लक्ष्यहरूको पछि लाग्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 सेप्टेम्बर pp. २६-३०

अध्ययन लेख ४०

“तिमीलाई नासोको रूपमा जे सुम्पिइएको छ, त्यसलाई सँभालेर राख”

“हे तिमोथि, तिमीलाई नासोको रूपमा जे सुम्पिइएको छ, त्यसलाई सँभालेर राख।”—१ तिमो. ६:२०.

गीत २९ हाम्रो नाउँअनुसार जिऔँ

परिचयa

१-२. पहिलो तिमोथि ६:२० अनुसार तिमोथिलाई के सुम्पिइएको थियो?

हामी अक्सर हाम्रा बहुमूल्य कुराहरू सुरक्षित होस्‌ भनेर भरपर्दो व्यक्‍तिको जिम्मामा सुम्पन्छौँ। उदाहरणको लागि, हामी आफ्नो पैसा बैङ्‌कमा राख्छौँ। यसो गर्दा हामी आफ्नो पैसा सुरक्षित रहन्छ अनि त्यो हराउँदैन वा कसैले चोर्दैन भन्‍ने आशा गर्छौँ। त्यसैले आफूलाई बहुमूल्य लाग्ने कुनै चिज अरूलाई सुम्पनुको अर्थ के हो, त्यो हामीलाई राम्ररी थाह छ।

२ पहिलो तिमोथि ६:२० पढ्‌नुहोस्‌। प्रेषित पावलले तिमोथिलाई तिनले असाध्यै बहुमूल्य कुरा अर्थात्‌ मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍यबारे सही ज्ञान पाएका छन्‌ भनेर सम्झाए। तिमोथिलाई ‘वचन प्रचार गर्ने’ र ‘प्रचारकको काम गर्ने’ सुअवसर पनि सुम्पिइएको थियो। (२ तिमो. ४:२, ५) तिमोथिलाई नासोको रूपमा सुम्पिइएको कुरा सँभालेर राख्न पावलले तिनलाई सल्लाह दिए। तिमोथिलाई जस्तै हामीलाई पनि केही बहुमूल्य कुरा सुम्पिइएको छ। ती के हुन्‌? अनि यहोवाले हामीलाई दिनुभएको त्यो धन हामीले किन सुरक्षित राख्नुपर्छ?

हामीलाई बहुमूल्य सत्यहरू सुम्पिइएको छ

३-४. बाइबल सत्यहरू बहुमूल्य हुनुका केही कारण के हुन्‌?

३ यहोवाले आफ्नो वचन बाइबलमा पाइने बहुमूल्य सत्यहरूबारे सही ज्ञान दिनुभएर हामीलाई अनुग्रह देखाउनुभएको छ। बाइबल सत्यहरू बहुमूल्य छन्‌ किनकि ती सत्यहरूले हामीलाई यहोवासित राम्रो सम्बन्ध गाँस्न अनि जीवनमा साँचो आनन्द पाउन के गर्नुपर्छ भनेर बुझ्न मदत गर्छ। ती सत्यहरूलाई स्विकारेर त्यसअनुसार जीवन बितायौँ भने हामी झूटा शिक्षाहरू र अनैतिक कुराहरूको दासत्वबाट मुक्‍त हुन्छौँ।—१ कोरि. ६:९-११.

४ परमेश्‍वरको वचनमा पाइने सत्यहरू बहुमूल्य हुनुको अर्को कारण भनेको यहोवाले ती सत्यहरू “उचित मनसाय” भएका नम्र मानिसहरूलाई मात्र प्रकट गर्नुहुन्छ। (प्रेषि. १३:४८) यी नम्र मानिसहरू यहोवाले हामीलाई बाइबलको सत्य बाँड्‌न प्रयोग गरिरहनुभएको एक मात्र माध्यमलाई स्विकार्छन्‌। (मत्ति ११:२५; २४:४५) हामी ती सत्यहरू आफ्नै भरमा सिक्न सक्दैनौँ र ती सत्यहरूजत्तिको बहुमूल्य कुरा अरू कुनै छैन।—हितो. ३:१३, १५.

५. यहोवाले हामीलाई अरू के सुम्पनुभएको छ?

५ यहोवा र उहाँका उद्देश्‍यहरूबारे सत्य कुरा अरूलाई सिकाउने सुअवसर पनि उहाँले हामीलाई सुम्पनुभएको छ। (मत्ति २४:१४) हामीले प्रचार गर्ने सन्देश अमूल्य छ किनकि यसले मानिसहरूलाई यहोवाको परिवारको भाग हुन र अनन्त जीवन पाउन मदत गर्छ। (१ तिमो. ४:१६) चाहे हामीले प्रचारकार्यमा धेरै भाग लिइरहेका होऔँ वा थोरै, अहिले भइरहेको सबैभन्दा महत्त्वपूर्ण काममा सघाइरहेका छौँ। (१ तिमो. २:३, ४) परमेश्‍वरको सहकर्मी हुन पाउनु हाम्रो लागि कत्ति ठूलो सम्मान!—१ कोरि. ३:९.

तपाईँलाई जे दिइएको छ, त्यसलाई दह्रोसित पक्रिराख्नुहोस्‌

प्रथम शताब्दीमा एक भाइ मण्डलीको सभामा तिमोथिलाई चुनौती दिँदै छन्‌। त्यहाँ उपस्थित केही अचम्म मान्दै हेरिरहेका छन्‌ अनि अरू भने खिसी गर्दै छन्‌।

अरू सत्यबाट तर्केर गए तापनि तिमोथि भने सत्यमा अडिग रहनुपर्थ्यो (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. होसियार नरहँदा केही ख्रिष्टियनलाई के भयो?

६ तिमोथिको समयका केही ख्रिष्टियनले परमेश्‍वरको सहकर्मी भएर काम गर्ने सुअवसरको कदर गर्न सकेनन्‌। डेमसले यस संसारको प्रेममा फसेर पावलसँगै सेवा गर्ने सुअवसरलाई लत्याए। (२ तिमो. ४:१०) पावलले जस्तै खेदो भोग्नुपर्ने हो कि भन्‍ने डरले गर्दा फाइगेलस र हर्मोजेनसले पनि प्रचार गर्न छोडे जस्तो देखिन्छ। (२ तिमो. १:१५) त्यसैगरि हाइमेनियस, अलेक्जेन्डर र फिलेतसले धर्मत्यागीहरूको बहकाउमा परेर सत्यलाई त्यागे। (१ तिमो. १:१९, २०; २ तिमो. २:१६-१८) यी सबै जना पहिला आध्यात्मिक रूपमा बलिया थिए जस्तो देखिन्छ तर आफूले पाएको ठूलो सुअवसर तिनीहरूलाई बहुमूल्य लाग्न छोड्यो।

७. सैतानले हामीविरुद्ध कस्ता चालहरू चल्छ?

७ यहोवाले हामीलाई सुम्पनुभएको धन हामीले लत्याओस्‌ भनेर सैतानले कस्तो प्रयास गर्छ? सैतानका केही चालहरू विचार गर्नुहोस्‌। सत्यलाई दह्रोसित पक्रिराख्न हामीलाई बाधा पुगोस्‌ भनेर सैतानले मनोरञ्जन र सञ्चार माध्यममार्फत आफ्नो मूल्यमान्यता, सोचाइ र आनीबानीलाई बढावा दिन्छ। हामीले प्रचार गर्न छोडोस्‌ भनेर त्यसले साथीभाइको दबाब वा खेदो प्रयोग गर्छ। अनि हामीले सत्य त्यागोस्‌ भनेर त्यसले हामीलाई ‘सत्यसित मेल नखाने’ धर्मत्यागीहरूको “ज्ञान” सुन्‍ने प्रलोभनमा पार्न खोज्छ।—१ तिमो. ६:२०, २१.

८. डानियल भाइको अनुभवबाट तपाईँले के सिक्नुभयो?

८ हामी होसियार भएनौँ भने सत्य हाम्रो हातबाट बिस्तारै फुत्कन सक्छ। डानियलb भाइको अनुभव विचार गर्नुहोस्‌। तिनलाई भिडियो गेम खेल्न खुबै मन पर्थ्यो। तिनी भन्छन्‌: “मैले १० वर्षको उमेरदेखि नै भिडियो गेम खेल्न थालेँ। सुरु-सुरुमा त म त्यत्ति हानि नहुने किसिमका गेमहरू खेल्थेँ। तर मैले बिस्तारै हिंसात्मक र भूतप्रेतसित सम्बन्धित गेमहरू खेल्न थालेँ।” पछिपछि त तिनले दिनकै १५ घण्टासम्म भिडियो गेम खेल्न थाले। डानियल भन्छन्‌: “मैले खेल्ने गेमहरूले र त्यसमा बिताइरहेको समयले मलाई यहोवादेखि टाढा लैजाँदै छ भन्‍ने कुरा मलाई राम्ररी थाह थियो। तर मलाई गेम खेल्ने यत्ति नराम्रो लत लागिसकेको थियो कि बाइबलका सिद्धान्तहरू मलाई लागू हुँदैन जस्तो लाग्न थाल्यो।” त्यसैले मनोरञ्जन छान्‍ने सन्दर्भमा होसियार भएनौँ भने सत्यलाई दह्रोसित पक्रिराख्न सक्नेछैनौँ। अनि यहोवाले हामीलाई दिनुभएका बहुमूल्य कुराहरू हाम्रो हातबाट फुत्कनेछ।

हामी कसरी सत्यलाई दह्रोसित पक्रिराख्न सक्छौँ?

९. पहिलो तिमोथि १:१८, १९ मा पावलले तिमोथिलाई कोसित तुलना गरे?

९ पहिलो तिमोथि १:१८, १९ पढ्‌नुहोस्‌। पावलले तिमोथिलाई सिपाहीसित तुलना गर्दै “असल लडाइँ लड्‌दै जाऊ” भनी सल्लाह दिए। त्यो लडाइँ साँच्चैको नभई आध्यात्मिक लडाइँ हो। ख्रिष्टियनहरू कुन अर्थमा लडाइँ लडिरहेका सिपाहीजस्तै हुन्‌? ख्रिष्टको सिपाही हुन हामीमा कस्ता गुणहरू हुनुपर्छ? पावलले चलाएको उदाहरणबाट सिक्न सकिने पाँच वटा पाठ विचार गरौँ। यसबाट हामी सत्यलाई दह्रोसित पक्रिराख्न मदत पाउँछौँ।

१०. परमेश्‍वरको भक्‍ति गर्नु भनेको के हो? हामीले किन परमेश्‍वरको भक्‍ति गर्नुपर्छ?

१० परमेश्‍वरको भक्‍ति गर्नुहोस्‌। एक जना असल सिपाही वफादार हुन्छ। आफूले माया गर्ने कुनै मानिस वा आफूले मोल गर्ने कुनै चिजको सुरक्षा गर्न ऊ डटेर लड्‌छ। पावलले तिमोथिलाई परमेश्‍वरको भक्‍ति गर्न प्रोत्साहन दिए। (१ तिमो. ४:७) परमेश्‍वरको भक्‍ति गर्नु भनेको उहाँप्रति वफादार रहिरहनु हो। परमेश्‍वरप्रतिको हाम्रो प्रेम र भक्‍ति जत्ति गहिरो भयो, सत्यलाई दह्रोसित पक्रिराख्ने हाम्रो इच्छा पनि त्यत्ति नै बलियो हुन्छ।—१ तिमो. ४:८-१०; ६:६.

चित्रहरूको सङ्‌गालो: १. थकित दम्पती बैठक कोठाको सोफामा बसिरहेका छन्‌। पति काममा लगाउने लुगामै छन्‌ अनि पत्नीचाहिँ लुगा पट्याउँदै छिन्‌। २. त्यहीँ साँझ उक्‍त दम्पती मण्डलीको सभापछि अरू भाइबहिनीसित खुसी हुँदै कुराकानी गरिरहेका छन्‌।

दिनभरि काममा व्यस्त भएपछि सभामा उपस्थित हुन हामीले निकै जोर गर्नुपर्ने हुन सक्छ। तर त्यसो गरेकोमा हामीले पक्कै आशिष्‌ पाउनेछौँ! (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. हामीलाई किन आत्मअनुशासन चाहिन्छ?

११ आत्मअनुशासन विकास गर्नुहोस्‌। लडाइँको लागि सधैँ तयार रहन सिपाहीले आफैलाई अनुशासनमा राख्नुपर्छ। तिमोथि आध्यात्मिक रूपमा बलिया थिए। किनकि तिनी पावलको सल्लाह पालन गर्दै कुइच्छाहरूदेखि भागे, असल गुणहरू विकास गरे अनि सङ्‌गी विश्‍वासीहरूसित सङ्‌गत गरे। (२ तिमो. २:२२) त्यसो गर्न आत्मअनुशासन चाहिन्थ्यो। शरीरका कुइच्छाहरूलाई जित्न हामीमा आत्मअनुशासन हुनुपर्छ। (रोमी ७:२१-२५) पुरानो व्यक्‍तित्वलाई फुकालेर फ्याँक्न र नयाँ व्यक्‍तित्व धारण गर्न पनि हामीलाई आत्मअनुशासन चाहिन्छ। (एफि. ४:२२, २४) अनि दिनभरि काम गरेर थकित भइसकेपछि सभामा उपस्थित हुन हामीले निकै जोर गर्नुपर्ने हुन सक्छ।—हिब्रू १०:२४, २५.

१२. बाइबल चलाउन हामी कसरी सिपालु हुन सक्छौँ?

१२ सिपाहीले आफ्नो हतियार चलाउन अभ्यास गर्नुपर्छ। हतियार चलाउन सिपालु हुन उसले नियमित रूपमा अभ्यास गर्नुपर्छ। त्यसैगरि हामी पनि परमेश्‍वरको वचन चलाउन सिपालु हुनुपर्छ। (२ तिमो. २:१५) तीमध्ये केही सीप हामी सभाबाट सिक्न सक्छौँ। तर बाइबलको सत्य साँच्चै बहुमूल्य छ भनेर अरूलाई विश्‍वस्त बनाउन हामीले व्यक्‍तिगत बाइबल अध्ययन गर्ने राम्रो तालिका बनाउनुपर्छ र त्यसअनुसार चल्नुपर्छ। आफ्नो विश्‍वास बलियो बनाउन हामीले परमेश्‍वरको वचन प्रयोग गर्नुपर्छ। यसको लागि बाइबल पढ्‌नु मात्र पर्याप्त छैन। बरु आफूले पढेको कुरामा मनन गर्नुपर्छ अनि हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुपर्छ। यसो गऱ्‍यौँ भने बाइबलका कुराहरू अझ राम्ररी बुझेर लागू गर्न सक्छौँ। (१ तिमो. ४:१३-१५) त्यसपछि हामीले परमेश्‍वरको वचन प्रयोग गरेर अरूलाई सिकाउन सक्नेछौँ। अरूलाई सिकाउँदा बाइबल पढेर सुनाउनु मात्र पर्याप्त छैन। बरु उनीहरूलाई बाइबलका कुराहरू अझ राम्ररी बुझ्न र ती लागू गर्न मदत गर्नुपर्छ। नियमित रूपमा व्यक्‍तिगत बाइबल अध्ययन गऱ्‍यौँ भने अरूलाई सिकाउँदा परमेश्‍वरको प्रेरित वचन प्रयोग गर्न हामी अझ सिपालु हुनेछौँ।—२ तिमो. ३:१६, १७.

१३. हिब्रू ५:१४ अनुसार हामीले किन सोच्ने-बुझ्ने क्षमता चलाउनुपर्छ?

१३ सोच्ने-बुझ्ने क्षमता चलाउनुहोस्‌। सिपाही सधैँ होसियार रहनुपर्छ अनि खतरा आएको देखेपछि तुरुन्तै कदम चाल्नुपर्छ। हामी पनि आफूलाई हानि गर्न सक्ने कुराहरूदेखि होसियार हुनुपर्छ र खतरा आएको देख्यौँ भने तुरुन्तै कदम चाल्नुपर्छ। (हितो. २२:३; हिब्रू ५:१४ पढ्‌नुहोस्‌) जस्तै: कोसित सङ्‌गत गर्ने र कस्तो मनोरञ्जन गर्ने भनेर छनौट गर्दा हामी होसियार हुनुपर्छ। टेलिभिजन कार्यक्रम र फिल्महरूमा अनैतिक कुराहरू खुलमखुला देखाइन्छ। त्यस्ता अनैतिक कुराहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ र त्यसले अवश्‍य हानि पुऱ्‍याउँछ। परमेश्‍वरप्रतिको हाम्रो प्रेमलाई बिस्तारै कमजोर बनाउँदै लैजाने यस्ता मनोरञ्जनहरूबाट हामी अलग्गै बस्छौँ।—एफि. ५:५, ६.

१४. सोच्ने-बुझ्ने क्षमता चलाउँदा डानियलले कस्तो मदत पाए?

१४ अगाडि उल्लेख गरिएका डानियलले हिंसात्मक र भूतप्रेतसित सम्बन्धित भिडियो गेम खेल्नु हानिकारक हो भनेर बुझ्न थाले। यस्तो बानी हटाउन मदत गर्ने सामग्रीहरूको लागि तिनले वाचटावर लाइब्रेरी-मा अनुसन्धान गरे। यसो गर्दा कस्तो फाइदा भयो? तिनले अनुचित भिडियो गेमहरू खेल्न छोडिदिए। आफूले सबस्क्राइब गरेका सबै अनलाइन गेमहरू तिनले हटाए अनि अरू मानिसहरूसँग गेम खेल्न छोडिदिए। डानियल भन्छन्‌: “भिडियो गेम खेल्नुको साटो म विभिन्‍न काममा व्यस्त हुन थालेँ र मण्डलीका साथीहरूसित समय बिताउन थालेँ।” डानियल अहिले अग्रगामी र एल्डरको रूपमा सेवा गर्दै छन्‌।

१५. झूटा अफवाहहरू सुन्‍नु किन खतरनाक छ?

१५ तिमोथिले जस्तै हामीले पनि धर्मत्यागीहरूले फैलाएका झूटा जानकारीहरू सुन्‍नु खतरनाक हुन सक्छ भनेर बुझ्नुपर्छ। (१ तिमो. ४:१, ७; २ तिमो. २:१६) जस्तै: तिनीहरूले हाम्रा भाइबहिनीको विषयमा गलत हल्ला फैलाउन सक्छन्‌ वा यहोवाको सङ्‌गठनबारे हाम्रो मनमा शङ्‌का उब्जाउन सक्छन्‌। यस्ता कुराहरूले हाम्रो विश्‍वासलाई कमजोर बनाउँछ। हामीले यस्ता अफवाहहरू पत्याउनु हुँदैन। किन? किनकि यस्ता अफवाहहरू “भ्रष्ट दिमाग भएका र सत्यबाट तर्किएका मानिसहरू”-ले फैलाएका हुन्‌ र तिनीहरूको उद्देश्‍य भनेको हामीलाई ‘वादविवाद र बहस गर्न’ लगाउनु हो। (१ तिमो. ६:४, ५) हामीले तिनीहरूको झूट पत्याएको र भाइबहिनीलाई शङ्‌काको नजरले हेरेको तिनीहरू चाहन्छन्‌।

१६. हामी कस्ता कुराहरूमा अलमलिनु हुँदैन?

१६ अलमल्याउने कुराहरूदेखि अलग्गै बस्नुहोस्‌। तिमोथि “ख्रिष्ट येसुको सुयोग्य सिपाही” थिए। त्यसैले तिनी संसारमा करिअर बनाउने वा भौतिक कुराहरू थुपार्ने लक्ष्य राखेर अलमलिनुको साटो सेवाको काममा एकाग्र भई लाग्नुपर्थ्यो। (२ तिमो. २:३, ४) तिमोथि भौतिक कुराहरू हासिल गर्नतर्फ लागेनन्‌ र हामी पनि त्यस्ता कुराहरूमा अलमलिनु हुँदैन। “धनसम्पत्तिको भ्रामक शक्‍ति”-ले यहोवाप्रतिको हाम्रो प्रेमलाई, परमेश्‍वरको वचनप्रतिको हाम्रो कृतज्ञतालाई र परमेश्‍वरबारे अरूलाई बताउने हाम्रो इच्छालाई निसासिदिन सक्छ। (मत्ति १३:२२) त्यसैले हामीले आफ्नो जीवन सरल बनाउनुपर्छ अनि आफ्नो पूरै समय र शक्‍ति लगाएर परमेश्‍वरको ‘राज्यलाई पहिलो स्थान दिइरहनुपर्छ।’—मत्ति ६:२२-२५, ३३.

१७-१८. आध्यात्मिक हानिबाट जोगिन हामी के गर्न सक्छौँ?

१७ तुरुन्तै कदम चाल्न तयार हुनुहोस्‌। खतरा आइपर्दा कस्तो कदम चाल्ने भनेर सिपाहीले पहिल्यै योजना बनाउनुपर्छ। यहोवाले हामीलाई सुम्पनुभएको बहुमूल्य कुराहरूलाई सुरक्षित राख्न हामीले खतरा देख्नेबित्तिकै कदम चालिहाल्नुपर्छ। त्यसो गर्न हामीलाई केले मदत गर्छ? खतरा आइपर्दा कस्तो कदम चाल्ने भनेर हामीले पहिल्यै योजना बनाउनुपर्छ।

१८ उदाहरणको लागि, कुनै कार्यक्रममा उपस्थित हुँदा श्रोताहरूलाई कार्यक्रम सुरु हुनुअघि नै बाहिर निस्कने ढोका कहाँ छ भनेर हेर्न भनिन्छ। किन? कुनै आपत्‌कालीन अवस्था आइपर्दा तुरुन्तै हलबाट बाहिर निस्कन सकियोस्‌ भनेर। त्यसैगरि हामीले पनि इन्टरनेट चलाउँदा वा कुनै फिल्म वा टिभी कार्यक्रम हेर्दा अचानक कुनै अनैतिक दृश्‍य, अचाक्ली हिंसा भएको दृश्‍य वा धर्मत्यागीहरूले तयार पारेका सामग्रीहरू देख्यौँ भने कुन “ढोका”-बाट निस्कने भनेर पहिल्यै अभ्यास गर्नुपर्छ। कस्तो अवस्था आइपर्न सक्छ भनेर पहिल्यै तयारी गरेका छौँ भने आध्यात्मिक हानिबाट जोगिन र यहोवाको नजरमा शुद्ध रहिरहन तुरुन्तै कदम चाल्न सक्नेछौँ।—भज. १०१:३; १ तिमो. ४:१२.

१९. यहोवाले दिनुभएका बहुमूल्य कुराहरूलाई सुरक्षित राख्यौँ भने हामीले कस्ता आशिष्‌हरू पाउनेछौँ?

१९ यहोवाले हामीलाई दिनुभएका बहुमूल्य कुराहरू अर्थात्‌ अनमोल आध्यात्मिक सत्यहरू र ती सत्यहरूबारे अरूलाई सिकाउने सुअवसरलाई हामीले सँभालेर राख्नुपर्छ। यसो गऱ्‍यौँ भने हामीले सफा अन्तस्करण राख्न, अर्थपूर्ण जीवन बिताउन अनि अरूलाई यहोवाबारे सिक्न मदत गर्दा पाइने आनन्द अनुभव गर्न सक्नेछौँ। यहोवाको मदत पाएर हामी उहाँले सुम्पनुभएका बहुमूल्य कुराहरू सँभालेर राख्न सक्नेछौँ।—१ तिमो. ६:१२, १९.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामीलाई कस्ता बहुमूल्य कुराहरू सुम्पिइएको छ?

  • सत्यलाई दह्रोसित पक्रिराख्न हामीलाई बाधा पुगोस्‌ भनेर सैतानले के गर्छ?

  • हामी कसरी सत्यलाई दह्रोसित पक्रिराख्न सक्छौँ?

गीत १२७ म कस्तो मानिस बनूँ?

a हामीले सत्य थाह पाउने र त्यो अरूलाई बताउने ठूलो सुअवसर पाएका छौँ। यस लेखले त्यस सुअवसरलाई दह्रोसित पक्रिराख्न र त्यसलाई कहिल्यै नगुमाउन हामीलाई मदत गर्नेछ।

b नाम परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने