तपाईं कसको टेबलमा खाँदै हुनुहुन्छ?
“तिमीहरूले प्रभुको [यहोवा, न्यु व.] टेबल र भूत-प्रेतहरूको टेबल दुवैबाट खानसक्तैनौ।” —१ कोरिन्थी १०:२१.
प्रेरित पावलका उक्त शब्दहरूबाट मानिसजाति समक्ष दुई लाक्षणिक टेबलहरू राखिएका रहेछन् भन्ने बुझिन्छ। टेबलमा राखिएका प्रतीकात्मक भोजनको प्रकारले प्रत्येक टेबलको परिचय दिन्छ र हामी सबैले एक वा अर्को टेबलबाट खाइरहेका छौं। तथापि, परमेश्वरलाई प्रसन्न पार्न चाहन्छौं भने हामीले उहाँको टेबलबाट खाँदै प्रेतहरूको टेबलबाट पनि चुबुरचुबुर खान सक्दैनौं। प्रेरित पावलले यस्तो चेतावनी दिए: “अन्यजातिहरू जो बलि चढ़ाउँछन् परमेश्वरलाई होइन, तर भूत-प्रेतहरूलाई चढ़ाउँछन्, औ तिमीहरू भूत-प्रेतहरूसित सह-भागी होओ भन्ने म इच्छा गर्दिनँ। तिमीहरूले प्रभुको [यहोवा, न्यु व.] कचौरा र भूत-प्रेतहरूको कचौरा दुवैबाट पिउनसक्तैनौं। तिमीहरूले प्रभुको [यहोवा, न्यु व.] टेबल र भूत-प्रेतहरूको टेबल दुवैबाट खानसक्तैनौ।”—१ कोरिन्थी १०:२०, २१.
२ पावलका यी शब्दहरूले यहोवाको व्यवस्थाअनुसार पुरातन इस्राएलीहरूले चढाउने मेलबलिको सम्झना गराउँछ। परमेश्वरको वेदीलाई टेबल भनिन्थ्यो र बलि चढाउन पशु लिएर आउनेहरूको यहोवा र पूजाहारीहरूसँग मेल भएको मानिन्थ्यो। तर कसरी? प्रथमतः यहोवाले त्यस बलिदानमा भाग लिनुहुन्थ्यो किनकि उहाँको वेदीमाथि रगत छर्किइन्थ्यो र वेदीमुनिको आगोले बोसोलाई जलाउँथ्यो। दोस्रो, बलि चढाउन पोलिएको पशुको दाँया फिला र छातीको मासु खाएर पूजाहारीहरूले (र तिनका परिवारले) त्यसमा भाग लिन्थे। अनि तेस्रो, बचेको भाग खाएर बलि चढाउने व्यक्तिले त्यसमा भाग लिन्थे। (लेवी ७:११-३६) आज, यहोवाको टेबलबाट खानुको अर्थ येशू र उहाँका प्रेरितहरूले उदाहरणद्वारा देखाएझैं यहोवाले चाहनुहुने प्रकारको उपासना चढाउनु हो। त्यसो गर्न यहोवाले आफ्नो वचन अनि सङ्गठनद्वारा प्रबन्ध गर्नुहुने आध्यात्मिक भोजन खानु अनिवार्य छ। यहोवासित उहाँको टेबलमा विशेष मेलको आनन्द उठाउने इस्राएलीहरूलाई प्रेतहरूको टेबलमा बलि चढाउनदेखि निषेध गरिएको थियो। आत्मिक इस्राएल र तिनीहरूका मित्र, “अरू भेड़ा” पनि त्यही ईश्वरीय बन्देजको अधीनमा छन्।—यूहन्ना १०:१६.
३ हाम्रो दिनमा कुनै व्यक्ति कसरी प्रेतहरूको टेबलमा खाए वापत दोषी हुनसक्छ? यहोवाको विरूद्धमा भएका जुनसुकै कुराहरूको प्रवर्धन गरेर। यहोवादेखि विमुख पार्न अनि बहकाउन रचिएका सबै पैशाचिक अफवाहहरू प्रेतहरूको टेबलमा समावेश छन्। आफ्नो मन अनि हृदयलाई त्यस्तो विषले भर्न चाहने व्यक्ति को होला र? आज अधिकांश मानिसहरूले युद्ध अनि धनका देवताहरूलाई चढाउने बलिमा भाग लिन साँचो मसीहीहरू अस्वीकार गर्छन्।—मत्ती ६:२४.
“भूत-प्रेतहरूको टेबल” बाट अलग बस्ने
४ हामी सबैले सामना गर्नुपर्ने प्रश्न के हो भने, म कसको टेबलबाट खाँदैछु? हामीले एक न अर्को टेबल- बाट खानै पर्छ भन्ने तथ्यलाई नकार्न सक्दैनौं। (मत्ती १२:३० तुलना गर्नुहोस्।) हामी जानाजानी प्रेतहरूको टेबलबाट खान चाहदैन्नौं। त्यसो गर्नु एक मात्र सत्य अनि जीवित परमेश्वर यहोवाको अनुमोदन गुमाउनु हुनेछ। अर्कोतर्फ यहोवाको टेबलबाट मात्र खाँदा हामीले आनन्दले भरपूर अनन्त जीवन पाउनेछौं! (यूहन्ना १७:३) खाएअनुसार जीउ लाग्छ भन्ने एउटा भनाइ छ। अतः राम्रो शारीरिक तथा मानसिक स्वास्थ्य कायम गर्न चाहनेले आफ्नो भोजनमा ध्यान दिनु पर्ने हुन्छ। प्रचुर मात्रामा चिल्लो पदार्थ अनि पौष्टिक तत्त्व कम भएको आहारलाई राशायनिक तत्त्वहरू थपेर स्वादिलो बनाए तापनि त्यसले हाम्रो शारीरिक स्वास्थ्यलाई दीर्घकालीन लाभ पुऱ्याउँदैन। त्यस्तैगरि पैशाचिक विचार मिसाएर स्वादिलो पारिएको यस संसारका अफवाहहरू पौष्टिक तत्त्व कम भएका लाक्षणिक आहारहरू हुन् जसले हाम्रो मनलाई भ्रष्ट पार्छ।
५ आखिरी दिनमा मानिसहरू “भूतात्माहरूका सिद्धान्ततिर” बहकने छन् भनेर प्रेरित पावलले अगमवाणी गरेका थिए। (१ तिमोथी ४:१) त्यस्ता पैशाचिक शिक्षा झूटा धार्मिक विश्वासहरूमा मात्र सीमित नभई अन्य उपायहरूद्वारा पनि सर्वत्र फैलिएका छन्। उदाहरणको लागि, हामी र हाम्रा बालबच्चाहरूले कस्ता पुस्तक तथा पत्रिकाहरू पढ्ने गरेका छौं, कस्ता टेलिभिजन कार्यक्रमहरू र कस्ता नाटकहरू अनि चलचित्रहरू हेर्ने गरेका छौं भनेर केलाएर जाँच्नु आवश्यक छ। (हितोपदेश १४:१५) मनोरञ्जनको लागि काल्पनिक कथा साहित्यहरू पढ्ने गर्छौं भने, के त्यो अनर्थक हिंसा, अवैध यौन वा जादू-टोनाले भरिएको छ? ज्ञान आर्जनका लागि सामान्य ज्ञानका पुस्तकहरू पढ्ने गर्छौं भने के त्यसले त्यस्ता तत्वज्ञान वा जीवनपद्धतिको प्रतिपादन गर्छ जो “ख्रीष्टअनुसारको होइन?” (कलस्सी २:८) के त्यसमा खोक्रो प्रत्याशाहरू प्रस्तुत गरिएका छन् अथवा के त्यसले सांसारिक सामाजिक आन्दोलनलाई समर्थन गर्छ? के त्यसले धेरै धनी हुने सङ्कल्पलाई प्रोत्साहित गर्छ? (१ तिमोथी ६:९) के त्यो फूट उत्पन्न गर्ने ख्रीष्ट विरोधी शिक्षाहरूलाई चलाकीसाथ प्रस्तुत गर्ने किसिमको प्रकाशन हो? यदि प्रत्युत्तर सकारात्मक छ र त्यस्ता सामग्रीलाई पढ्न वा हेर्न बन्द गर्दैनौं भने हामी भूत-प्रेतहरूको टेबलबाट खाने जोखिममा पर्छौं। प्रबुद्ध अनि सर्वमान्य देखिने सांसारिक तत्त्वज्ञानहरूको प्रवर्धन गर्ने लाखौं प्रकाशनहरू आज उपलब्ध छन्। (उपदेशक १२:१२) तर वास्तवमा तीमध्ये एउटै अफवाह नौलो छैन; न ता शैतानले हव्वालाई धूर्ततापूर्वक भनेका कुराहरूले पुऱ्याएभन्दा बढी हित र सुधार नै त्यसले गर्छ।—२ कोरिन्थी ११:३.
६ त्यसोभए, शैतानले पौष्टिक तत्त्व कम भएको पैशाचिक आहार चाख्ने निमन्त्रणा दिंदा हामीले कस्तो प्रत्युत्तर दिनुपर्ने हो त? ठीक येशूले गर्नुभएझैं। शैतानले ढुङ्गालाई रोटी बनाउने प्रलोभनमा पार्दा उहाँले यस्तो जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस भोजनले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।’” दण्डवत् गरेजस्तो मात्र गरेमा “जगत्का सबै राज्य र तिनको गौरव” दिनेछु भनी शैतानले प्रस्ताव राख्दा येशूले यस्तो प्रत्युत्तर दिनुभयो: “ए शैतान, हटी जा! किनभने यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, औ उहाँको मात्र सेवा गर्नू।’”—मत्ती ४:३, ४, ८-१०.
७ यहोवाको टेबल र उहाँका पैशाचिक शत्रुहरूको टेबललाई कहिल्यै मिलाप गराउन सकिंदैन! तर कोशिश भने नगरिएको होइन। अगमवक्ता एलियाको समयका पुरातन इस्राएलीहरूलाई सम्झनुहोस्। मानिसहरूले यहोवाको उपासना गर्छौं भनी दाबी त गर्थे तर बाल जस्ता अन्य भगवानहरूले सम्पन्नता ल्याउँछ भन्ने तिनीहरूको विश्वास थियो। यी मानिसहरूलाई एलियाले यसो भने: “तिमीहरू कतिन्जेल दुई भिन्न विचारहरूमा लरखराइरहन्छौं? यहोवा नै साँचो परमेश्वर हो भने उहाँलाई पछ्याऊ; तर बाल परमेश्वर हो भने त्यसलाई पछ्याऊ।” स्पष्ट छ, इस्राएलीहरू “कहिले यता कहिले उता टेकेर” लरखराइरहेका थिए। (१ राजा १८:२१; द जेरूशलेम बाइबल) एलियाले बालका पूजाहारीहरूलाई आफ्नो देवताको ईश्वरत्व प्रमाणित गर्न ललकारे। वेदीमाथि राखिएको बलिलाई स्वर्गबाट आगो बर्षाएर भष्म पार्न सक्ने परमेश्वर नै साँचो परमेश्वर साबित हुनेथियो। लाख प्रयत्नको बावजूद बाल पूजाहारीहरू सफल भएनन्। तर एलियाले सिर्फ यसो भनेर प्रार्थना गरे: “हे परमप्रभु मलाई जवाफ दिनुहोस्, र यी मानिसहरूले जानून् कि तपाईं परमप्रभुनै [यहोवा, न्यु व.] साँचो परमेश्वर हुनुहुन्छ।” यसो भन्नेबित्तिकै पानीले निथ्रुक्क भिजेको पशुबलिलाई स्वर्गबाट यहोवाले पठाउनु भएको आगोले भष्म पाऱ्यो। यहोवाको ईश्वरत्वको विश्वसनीय प्रदर्शनबाट उत्तेजित भएर ती मानिसहरूले एलियाले भनेको माने र बालका सम्पूर्ण ४५० पूजाहारीहरूलाई मारे। (१ राजा १८:२४-४०) अतः यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर आज हामीले मानिलिनुपर्छ र उहाँको टेबलबाट मात्र खाने गरिरहेका छैनौं भने त्यसो गरिहाल्ने दृढ सङ्कल्प गर्नुपर्छ।
‘विश्वासी दास’ ले यहोवाको टेबलमा भोजन पस्कन्छ
८ आफ्नो उपस्थितिको दौडान “विश्वासी र बुद्धिमान दास” ले चेलाहरूलाई आध्यात्मिक भोजन प्रबन्ध गर्नेछ भनेर प्रभु येशू ख्रीष्टले अगमवाणी गर्नुभएको थियो: “धन्य हो त्यो नोकर, जसलाई त्यसको मालिकले आएर त्यसै गरिरहेको भेट्टाउनेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्त गर्नेछ।” (मत्ती २४:४५-४७) कुनै व्यक्ति विशेष नभई समर्पित, अभिषिक्त मसीहीहरूको वर्ग सो दास प्रमाणित भएको छ। शेष अभिषिक्त जन तथा ठूलो भीड दुवैका लागि यो वर्गले यहोवाको टेबलमा सर्वोत्तम आध्यात्मिक भोजन पस्केको छ। यहोवा परमेश्वरको सार्वभौमिकता अनि आफ्नो पवित्र नाउँलाई उच्च पार्न चलाउनु हुने राज्यको पक्षमा अहिले ४० लाखभन्दा बढी सङ्ख्या पुगेको “ठूलो भीड़” शेष अभिषिक्त जनहरूसँगै खडा भएका छन्।—प्रकाश ७:९-१७.
९ यहोवाका सबै साक्षीहरूका लागि आध्यात्मिक पोषणको प्रबन्ध गर्न यो विश्वासी दास वर्गले वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीको प्रयोग गर्दै आएको छ। मसीहीजगत अनि यस रीतिरिवाजका बाँकि मानिसहरू जीवनदायी आध्यात्मिक भोजनको कमीले गर्दा भोकाएका छन् भने यहोवाका जनहरू चाहिं भोज खाइरहेका छन्। (आमोस ८:११) यो यशैया २५:६ मा उल्लिखित भविष्यवाणीको पूर्ति हो: “सेनाहरूका परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा मीठा थोकहरू—छिप्पिएको मद्य, असल असल स्वादिष्ट थोकहरू, एकदमै छिप्पिएको छानेको मद्यको भोज लाउनुहुनेछ।” पद ७ र ८ अनुसार यो भोज सधैंभरि चल्नेछ। यहोवाको दृश्य सङ्गठनमा हुने सबैलाई कस्तो आशिष्! र भविष्यका दिनहरूका लागि साँच्चै नै त्यो कस्तो आशिष् भइरहनेछ!
प्रेतहरूको टेबलमा भएका विषाक्त भोजनदेखि होशियार
१० प्रेतहरूको टेबलमा भएको भोजन विषाक्त छ। उदाहरणको लागि, दुष्ट दास वर्ग तथा धर्मत्यागीहरूले बाँड्ने भोजनलाई विचार गर्नुहोस्। त्यसले पोषित वा वृद्धि गराउँदैन; त्यो स्वस्थकर छैन र हुन पनि सक्दैन किनभने धर्मत्यागीहरूले यहोवाको टेबलबाट खान बन्द गरिसकेका हुन्छन्। फलतः तिनीहरूले नयाँ व्यक्तित्व धारण गर्न खेती गरेका सबै कुराहरू हराइसकेका हुन्छन्। तिनीहरूलाई प्रेरित गर्ने पवित्र आत्मा नभई तेजाबी तितोपना हो। तिनीहरूलाई एउटै लक्ष्य अर्थात् येशूले भन्नुभएझैं आफ्ना पूर्व सहदासहरूलाई पिट्ने सनक चढेको छ।—मत्ती २४:४८, ४९.
११ उदाहरणको लागि, सन् १९०९ मा वाच टावर सोसाइटीका तत्कालिन अध्यक्ष सी. टी. रसलले यहोवाको टेबलबाट विमुख भएर आफ्ना पूर्व सहदासहरूलाई दुर्व्यवहार गर्नेहरूबारे लेखे। अक्टोबर १, १९०९ अङ्कको द वाच टावर ले यसो भन्यो: “सोसाइटी र त्यसका कार्यदेखि अलग हुनेहरूले विश्वास अनि आत्माको फल वृद्धि गर्न अरूलाई प्रोत्साहन दिनु, आफै उन्नति गर्नु त कता हो कता झन् विपरीत काम पो गर्छन्। कुनैबेला जुन कुराको तिनीहरू सेवा गर्थे अहिले अरूको ध्यानाकर्षण गर्दै त्यसैलाई हानि पुऱ्याउने कोशिश गर्छन्। तिनीहरू बिस्तारै आफै हराएर जान्छन् र हानि पुऱ्याउँछन् त केवल आफूलाई अनि त्यस्तै कलही मनोवृत्ति हुनेहरूलाई। . . . अरू टेबलहरूमा पनि त्यस्तै असल वा राम्रो भोजन पाउन सक्छु अथवा आफैले असल वा राम्रो भोजनको प्रबन्ध गर्न सक्छु भनी कसैले सोच्छन् भने—तिनीहरू आफ्नो बाटो लागून्। . . . तर आफूलाई चित्तबुझ्ने भोजन र ज्योति प्राप्त गर्न जहाँसुकै जान सक्छन् भनेर हामी राजी हुँदाहुँदै पनि, छक्कलाग्दो कुरा हाम्रा विरोधीहरू अर्कै बाटोमा पो लाग्छन्। संसारका मानिसहरूले जस्तो पुरुषार्थ देखाएर ‘मैले चाहेको कुरा भेट्टाएँ, त्यसकारण यहाँलाई नमस्कार!’ भन्नु त कता हो कता उल्टा संसारका मानिसहरूले समेत देखाउला भनी आशै नगरेका रीस, द्वेष, घृणा, कलह, ‘शरीर तथा दियाबलको काम’ पो प्रकट गर्छन्। तिनीहरू पागलपन, शैतानी हाइड्रोफोबियाले [रेबिज] ग्रस्त भए जस्ता छन्। तिनीहरूमध्ये कसै कसैले हामीलाई प्रहार गरेर उल्टो हामीले प्रहार गऱ्यौं भनी आरोप लगाउँछन्। तिनीहरू घृणित झूटो बयानहरू लेख्न, बक्न र घटिया काम गर्न नैतिकताबाट समेत तल खस्कन तयार छन्।”
१२ हो, धर्मत्यागीहरू विकृत, अर्ध-सत्य अनि पूरै झूटको भरमा साहित्य प्रकाशित गर्छन्। बेखबर भएर बसेकाहरूलाई हात पार्न तिनीहरू साक्षीहरूको सम्मेलनमा समेत ढुकेर बस्छन्। तसर्थ, कौतूहलतावश त्यस्ता लेखहरू पढ्नु अथवा तिनीहरूका दुर्व्यवहारपूर्ण भाषण सुन्नु खतरनाक हुनसक्छ! व्यक्तिगत तवरमा हामीलाई ती कुरा जोखिमपूर्ण नलाग्ला तर खतरा भने टल्दैन। किन? एउटा कारण, कुनै कुनै धर्मत्यागी साहित्यहरूले “मीठा मीठा बोली” र “बनावटी कुराहरू” द्वारा झूटलाई प्रस्तुत गर्छ। (रोमी १६:१७, १८; २ पत्रुस २:३) आखिरमा प्रेतहरूको टेबलबाट तपाईं अरू के नै आशा गर्न सक्नुहुन्छ र? सम्भवतः धर्मत्यागीहरूले तथ्य कुराहरू पनि प्रस्तुत गर्लान् तर प्रायः त्यस्ता कुराहरू अरूलाई यहोवाको टेबलबाट अलग पार्ने लक्ष्य राखेर विषयवस्तुको सन्दर्भ बाहिरबाट लिइएका हुन्छन्। तिनीहरूका सबै लेखहरूले केवल आलोचना र खण्डन गर्छन्! त्यसमा कुनै लाभदायी कुरा हुँदैन।
१३ येशूले भन्नुभयो: “तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।” (मत्ती ७:१६) त्यसोभए आज ती धर्मत्यागीहरू र तिनीहरूका प्रकाशनहरूको फल के हुन्? चार वटा कुराहरूले तिनीहरूको अफवाहलाई चिह्नित गर्छ। (१) चातुर्य। एफिसी ४:१४ अनुसार तिनीहरू “गलत उपाय निकाल्न धूर्त हुन्छन्।” [न्यु व.] (२) घमण्डी बुद्धि। (३) प्रेमको अभाव। (४) विभिन्न रूपको बेमानी। प्रेतहरूको टेबलमा पाइने भोजनमा हुने कुराहरू यी नै हुन् र त्यस्ता कुराहरू यहोवाका जनहरूको विश्वासलाई धरमराउन रचिएका हुन्छन्।
१४ यसको अर्को पक्ष पनि छ। धर्मत्यागीहरू कहाँ फर्केका छन्? धेरैजसो मसीहीजगतको अन्धकार तथा सबै मसीहीहरू स्वर्ग जान्छन् भन्ने जस्ता सिद्धान्तहरूतर्फ पुनःप्रवेश गरेका छन्। यसबाहेक, रगत, तटस्थता र परमेश्वरको राज्य प्रचार गर्नु पर्ने आवश्यकताको पक्षमा तिनीहरूमध्ये धेरैले अटल शास्त्रीय अडान लिन छाडेका छन्। यद्यपि, हामी महान बेबिलोनको अन्धकारबाट उम्किसकेका छौं र फेरि कहिल्यै त्यहाँ फर्कन चाहँदैनौं। (प्रकाश १८:२, ४) यहोवाको टेबललाई त्याग्ने, हामीलाई “स्वस्थकर कुराहरू” सिकाउने मदतगारहरूलाई वाक् पिटाई गर्ने त्यस्ता व्यक्तिहरूको अफवाहलाई हामी यहोवाका वफादार सेवकहरूले चियो चासो गर्न किन नै चाहन्छौं र?—२ तिमोथी १:१३.
१५ धर्मत्यागीहरूले लगाउने अभियोगहरूप्रति केही व्यक्तिहरू जिज्ञासु होलान्। तर हामीले व्यवस्था १२:३०, ३१ मा दिइएको सल्लाहलाई हृदयङ्गम गर्नुपर्छ। प्रतिज्ञा गरिएको देशबाट मूर्तिपूजक वासीहरूलाई लघारेर पठाइसकेपछि तिनीहरूको कुन कुरादेखि बच्नु पर्छ भनेर उक्त पदमा यहोवाले मोशामार्फत् इस्राएलीहरूलाई चेतावनी दिनुभयो। “तब होशियार! तिनीहरू नाश भएपछि तिनीहरूको चाल चलनमा तिमीहरू नफँस्नू, र ‘यी जातिहरूले आफ्नो देवताको पूजा गरेझैं हामी पनि गर्छौं’ भन्दै तिनीहरूका देवताहरूका विषयमा चासो नलिनू। तिमीहरूले आफ्ना परमेश्वरको निम्ति चाहिं तिनीहरूले झैं नगर्नू।” हो, मानव कौतूहलताले कहाँसम्म पुऱ्याउन सक्छ भनेर यहोवा परमेश्वरलाई थाहा छ। हव्वालाई र लूतको पत्नीलाई पनि सम्झनुहोस्! (लूका १७:३२; १ तिमोथी २:१४) धर्मत्यागीहरूले के भन्दैछन् वा के गर्दैछन् भनेर हामी कहिल्यै आफ्नो कान नथापौं। बरु, मानिसहरूको उन्नति गर्न र वफादार भएर यहोवाको टेबलबाट खान व्यस्त होऔं!
यहोवाको टेबल मात्र रहिरहनेछ
१६ छिट्टै, महासङ्कष्ट सुरु हुनेछ र तुरुन्तै “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँ” को चरमसीमामा पुग्नेछ। (प्रकाश १६:१४, १६) वर्तमान रीतिरिवाज र संसारका राष्ट्रले खाने लाक्षणिक टेबललाई यहोवाले नष्ट गर्नु भएपछि त्यो पराकाष्ठामा पुग्नेछ। शैतान अर्थात् दियाबलका सबै अदृश्य सङ्गठनहरूका साथै त्यसका प्रेतहरूको जमातलाई पनि यहोवाले समाप्त गर्नुहुनेछ। शैतानको आध्यात्मिक टेबल अर्थात् प्रेतहरूको टेबलबाट खान बन्द नगर्नेहरूलाई साँच्चिकै भोजमा उपस्थित हुन बाध्य गराइनेछ। तर अहँ, निम्तालुको रूपमा होइन तर मुख्य भोजनको रूपमा, अर्थात् तिनीहरूको विनाश हुनेछ।—हेर्नुहोस्, इजकिएल ३९:४; प्रकाश १९:१७, १८.
१७ यहोवाको टेबल मात्र रहिरहनेछ। मूल्याङ्कनले भरिएर त्यस टेबलमा खानेजति बचाइनेछन् र सधैंभरि त्यसबाट खाने सुअवसर पाउनेछन्। कुनै प्रकारको अनिकालले फेरि कहिल्यै तिनीहरूलाई धम्काउने छैन। (भजनसंग्रह ६७:६; ७२:१६) सिद्ध शरीर लिएर प्रमोदवनमा तिनीहरूले यहोवा परमेश्वरको सेवा गर्नेछन्! अन्तमा प्रकाश २१:४ का भावोत्तेजक शब्दहरू भव्यताकासाथ पूरा हुनेछन्: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” विरोधको अन्त भइसकेको हुँदा, उद्धार पाएर पार्थिव प्रमोदवन अधिकार गर्नेहरूमाथि अन्तहीन ईश्वरीय अनुमोदन प्रवाहित भएपछि यहोवा परमेश्वरको सार्वभौमसत्ता सदा-सदाको लागि सर्वव्याप्त हुनेछ। आउनुहोस्, यो इनाम प्राप्त गर्न हामी सबै जना सर्वोत्तम आध्यात्मिक भोजनले भरिभराउ भएको यहोवाको टेबलबाट मात्र खान कटिबद्ध हौं! (w94 7/1)
तपाईं कसरी जवाफ दिनुहुन्छ?
▫ पैशाचिक शिक्षाहरूबाट बहकिनदेखि हामी कसरी बच्नसक्छौं?
▫ हामी किन यहोवा अनि प्रेतहरू दुवैको टेबलबाट सफलतापूर्वक खान सक्दैनौं?
▫ धर्मत्यागीहरूले कस्तो भोजन बाँड्छन्?
▫ धर्मत्यागीहरूको अभियोगहरूप्रति कौतूहल हुनु किन खतरनाक छ?
▫ धर्मत्यागीहरूका फलहरू के के हुन्?
[अध्ययनका लागि प्रश्नहरू]
१. हाम्रा अघि कस्ता टेबलहरू राखिएका छन् र त्यस सम्बन्धमा प्रेरित पावलले कस्तो चेतावनी दिए?
२. (क) पुरातन इस्राएलको समयमा यहोवाको कुन टेबल थियो र क-कसले मेलबलिमा भाग लिन्थे? (ख) आज यहोवाको टेबलबाट खानुको अर्थ के हो?
३. हाम्रो समयमा कुनै व्यक्ति प्रेतहरूको टेबलबाट खाए वापत कसरी दोषी हुनसक्छ?
४. हामी सबैले कुन प्रश्नको सामना गर्नु परेको छ र हामी किन जानाजानी प्रेतहरूको टेबलबाट खान चाहदैन्नौं?
५. पैशाचिक शिक्षाहरू लिनदेखि आज हामी कसरी बच्न सक्छौं?
६. शैतानले पौष्टिक तत्त्व कम भएको पैशाचिक आहार खाने निमन्त्रणा दिंदा हामीले वास्तवमा कस्तो प्रत्युत्तर दिनुपर्ने हो?
७. यहोवा र प्रेतहरू दुवैको टेबलबाट सफलतापूर्वक खान सक्छौं भनेर सोचिरहेका छौं भने हामीले किन आफैलाई धोका दिइरहेका हुन्छौं?
८. आफ्नो उपस्थितिको दौडान चेलाहरूलाई आध्यात्मिक भोजन खुवाउन कुन दास चलाउनेछु भनेर येशूले अगमवाणी गर्नुभयो र त्यो दासको चिनारी के हो?
९. यहोवाका साक्षीहरूका निम्ति आध्यात्मिक भोजनको प्रबन्ध गर्न दास वर्गले कुन माध्यम चलाइरहेको छ र तिनीहरूले खाने आध्यात्मिक भोजलाई भविष्यसूचक रूपमा कसरी वर्णन गरिएको छ?
१०. (क) दुष्ट दासले कस्तो प्रकारको खाना बाँड्दैछ र तिनीहरूको मनोवृत्ति कस्तो छ? (ख) दुष्ट दासले आफ्ना पूर्व सहदासहरूसित कस्तो व्यवहार गर्छ?
११. एक व्यक्तिको आध्यात्मिक छनौटको सम्बन्धमा सी. टी. रसलले के लेखे र यहोवाको टेबल त्याग्नेहरूबारे तिनले कसरी व्याख्या गरे?
१२. (क) धर्मत्यागीहरूले कसरी आफ्ना सहदासहरूलाई पिट्छन्? (ख) कौतूहलतावश धर्मत्यागीहरूको लेखहरू पढ्नु किन खतरनाक छ?
१३, १४. धर्मत्यागीहरू र तिनीहरूका अफवाहहरूका फलहरू के के हुन्?
१५. धर्मत्यागीहरूले लगाउने अभियोगहरू सुन्दा हामीलाई बाइबलका कुन सिद्धान्तहरूले बुद्धिमान मार्ग लिने मदत दिन्छ?
१६. (क) शैतान, त्यसका प्रेतहरू र संसारका राष्ट्रहरूले खाने लाक्षणिक टेबललाई छिट्टै के हुनेछ? (ख) प्रेतहरूको टेबलबाट खान बन्द नगर्ने सबै मानिसहरूलाई के हुनेछ?
१७. यहोवाको टेबलबाट मात्र खानेहरूले कस्ता आशिष्हरू पाउँछन्?
[पृष्ठ ९-मा भएको चित्र]
यहोवाको टेबल सर्वोत्तम आध्यात्मिक भोजनले भरिभराउ छ