हामी सबैले किन परमेश्वरको प्रशंसा गर्नुपर्छ?
हल्लेलूयाह! चर्च धाउने मसीहीजगत्का अधिकांश मानिसहरू यस शब्दसित चिरपरिचित छन्। कसै कसैले तिनीहरूको आइतबारे सभामा ठूल-ठूलो स्वरले उक्त शब्द उच्चारण गर्छन्। तर कति जनालाई यस शब्दको वास्तविक अर्थ थाह छ? वास्तवमा यो “याहको प्रशंसा गर्” अभिव्यक्तिको हिब्रू रूपान्तर हो। यो सृष्टिकर्ता जसको नाउँ यहोवा हो, उहाँको जोडदार आनन्दमय जयजयकार हो।a
“हल्लेलूयाह” भन्ने शब्द बाइबलमा बारम्बार प्रयोग गरिएको छ। किन? किनभने परमेश्वरको प्रशंसा गर्ने थुप्रै कारणहरू छन्। याह (यहोवा) यस विशाल पृथ्वीको सृष्टिकर्ता हुनुका साथै उहाँले हामीलाई सँभाल्नुहुन्छ। (भजन १४७:४, ५; १४८:३-६) पृथ्वीमा प्राणीहरूको जीवन सम्भव बनाउन परमेश्वरले प्राणी र तिनीहरू वरपरको वातावरणलाई सन्तुलित गर्नुभएको छ। (भजन १४७:८, ९; १४८:७-१०) अनि उहाँ मानिसजातिमा विशेष चासो लिनुहुन्छ। हामीले उहाँको इच्छाअनुरूप गऱ्यौं भने, हामीलाई अहिले आशिष् तथा सहारा दिनुहुन्छ भने भविष्यमा उत्तम जीवनको निश्चित आशा दिनुहुन्छ। (भजन १४८:११-१४) याहले (यहोवा) नै यी शब्दहरू लेख्न प्रेरित गर्नुभयो: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।”—भजन ३७:२९.
यसकारण यो आग्रह सबैको लागि हो: “हल्लेलूयाह!” “याहको प्रशंसा गर्।” (भजन १०४:३५, NW, पादटिप्पणी) तर दुःखको कुरा, सबै जना यस आग्रह स्वीकार्न चाहँदैनन्। आज मानिसहरूले कष्ट भोगिरहेका छन्। थुप्रै मानिसहरू भोका, बिरामी वा शोषित छन्। थुप्रै मानिसहरू लागू अथवा मद्य पदार्थको दुर्व्यसनमा लागेकाले वा तिनीहरूको अनैतिक चालचलन वा विद्रोहको कारण दुःखमा परेका छन्। त्यस्ता व्यक्तिहरूले पनि परमेश्वरको प्रशंसा गर्नुपर्ने के कुनै कारण छ र?
‘यहोवाले मात्रै मलाई आशा दिन सक्नुहुन्छ’
हो, छ। यहोवाले उहाँलाई चिन्न, उहाँको इच्छा गर्न सिक्न र आशिष्हरूको आनन्द उठाउन सबैलाई आग्रह गर्नुहुन्छ, जसले गर्दा मानिसहरू उहाँको प्रशंसा गर्न चाहन्छन्। अनि धेरैले स्वीकार्छन् पनि। उदाहरणका लागि, ग्वाटेमालाकी अड्रियानालाई लिनुहोस्। सात वर्षकी हुँदा अड्रियानाकी आमा मरिन्। त्यसको केही समयपछि तिनको पिताले पनि घर छोडेर हिंडे। तिनी दश वर्षको उमेरदेखि नै आत्मनिर्भर हुन थालिन्। तिनकी आमाले तिनलाई परमेश्वर र चर्चको सेवा गर्नू भनेकीले अड्रियानाले विभिन्न क्याथोलिक समूहहरूसित संगत गर्न थालिन् तर १२ वर्षकी हुँदा तिनीहरूदेखि वाक्क भएर सडकछाप गुन्डाहरूसित संगत गर्न थालिन्। तिनले धूम्रपान, लागू पदार्थ सेवन गर्नुका साथै चोर्न पनि थालिन्। त्यस्ती केटीले परमेश्वरको प्रशंसा गर्न चाहने के कुनै कारण छ र?
अड्रियानाकी दिदीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन् तर अड्रियाना तिनको खिल्ली उडाउँथिन्। त्यति नै बेला तिनीहरूका सानीआमा मरिन्। सानीआमाको अन्त्येष्टिमा अड्रियानालाई विभिन्न प्रश्नहरूले पिरोल्यो। तिनकी सानीआमा कहाँ गइन्? स्वर्गमा? वा अग्निमय नरकमा? यी प्रश्नहरूले तिनी एकदमै विचलित भइन् र अड्रियाना आफ्नी दिदीले सिकाएअनुसार परमेश्वरको नाउँ, यहोवा प्रयोग गरेर मदतको निम्ति प्रार्थना गर्न चिहानको चर्चमा गइन्।
चाँडै तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न र मसीही सभाहरू धाउन थालिन्। यसले गर्दा तिनले जीवनलाई पूर्णतया नयाँ दृष्टिकोणले हेर्न सकिन् र निडरतासाथ गुन्डाहरूसितको संगत पनि छाडिन्। अहिले २५, २६ वर्ष जति पुगेकी अड्रियाना भन्छिन्: “यहोवाप्रतिको प्रेमले गर्दा मात्रै मैले आफ्नो कुलत छोड्न सकें। यहोवाको महान् कृपाले गर्दा उहाँले मलाई अनन्त जीवनको आशा दिन सक्नुभयो।” अड्रियानाले बाल्यावस्थामा निकै दुःख भोग्नु परे तापनि तिनीसित परमेश्वरको प्रशंसा गर्ने ठोस कारणहरू छन्।
अब युक्रेनबाट प्राप्त अर्को झनै निराशाजनक परिस्थितिबारे कुरा गरौं। एक जना मानिसले मृत्युदण्ड पाएका छन्। के तिनले आफैले आफैलाई दया देखाइरहेका छन्? निराश भएका छन्? पटक्कै छैनन्। तिनी त्यसको ठीक विपरीत महसुस गर्छन्। यहोवाका साक्षीहरूले हालै तिनीसित भेटेकाले यहोवाबारे केही ज्ञान प्राप्त गरे अनि तिनले साक्षीहरूलाई आफ्नी आमालाई पनि भेट्न आग्रह गरे। साक्षीहरूले आफ्नो आग्रह पूरा गरिदिएको कुरा सुनेर अहिले तिनी साक्षीहरूलाई यसरी लेख्छन्: “मेरी आमालाई भेट्नुभएकोमा साधुवाद। गत वर्ष मैले पाएको सबैभन्दा आनन्दमय समाचार त्यही नै थियो।”
आफू र आफूले प्रचार गरेका कैदीहरूबारे कुरा गर्दै तिनी लेख्छन्: “अहिले हामी परमेश्वरमाथि विश्वास राख्छौं र विश्वासअनुरूप कार्य गर्ने कोसिस गर्छौं।” तिनी आफ्नो चिठी यसरी टुंग्याउँछन्: “प्रेम के हो भन्नेबारे र विश्वास प्राप्त गर्न हामीलाई मदत दिनुभएकोमा धन्यवाद। मृत्युदण्ड पाइनँ भने म पनि तपाईंहरूलाई सहयोग गर्नेछु। धन्न, तपाईंहरू जस्तो मानिसहरू पनि हुनुहुँदोरहेछ र अरूलाई परमेश्वरप्रति प्रेम तथा विश्वास गर्न मदत दिइरहनुभएको छ।” यस मानिसले आफ्नो मृत्युदण्ड खारेज गरी पाऊँ भनी अपील गरेका छन्। तर तिनले मृत्युदण्ड नै पाए पनि वा झ्यालखानामा धेरै वर्ष बिताउनु परे तापनि तिनीसित स्पष्टतया परमेश्वरको प्रशंसा गर्ने कारणहरू छन्।
‘म अन्धी छु, तैपनि देख्नसक्छु’
अब, अकस्मात् आफ्नो दृष्टि गुमाउनु परेको सलसलाउँदी केटीलाई विचार गर्नुहोस्। अर्जेन्टिनाकी ग्लोरियालाई ठीक त्यस्तै भयो। ग्लोरिया १९ वर्षकी हुँदा अपर्झट दृष्टि गुमाइन् र फेरि कहिल्यै देख्न नसक्ने भइन्। उनन्तीस वर्षकी हुँदा एक जना मानिसको रखौटी भइन् र चाँडै गर्भवती पनि भइन्। अब तिनलाई आफ्नो जीवन केही अर्थपूर्ण भएझैं लाग्न थाल्यो। तर आफ्नो बच्चाको मृत्यु हुँदा भने तिनले यस्ता प्रश्नहरू सोध्न थालिन्: ‘मलाई नै यो सबै किन भएको? मैले के गरेकी छु र? के परमेश्वर साँच्चै हुनुहुन्छ?’
त्यसैबेला दुइ साक्षीहरू तिनको ढोकामा पुगे। तिनले बाइबल अध्ययन गर्न थालिन् र नयाँ संसारमा अन्धाहरूले फेरि देख्नसक्ने प्रतिज्ञाबारे सिकिन्। (यशैया ३५:५) ग्लोरियाको निम्ति कस्तो अद्भुत प्रत्याशा! अझ विशेषगरि आफ्नो पति कानुनी तवरमा विवाहित हुन राजी हुँदा तिनी औधी खुशी भइन्। अनि तिनको पति दुर्घटनामा परे र चलहल गर्न नसक्ने भएकोले ह्वीलचेरमा बस्नुपऱ्यो। आज यस अन्धी स्त्रीले हातमुख जोड्न पनि निकै परिश्रम गर्नुपर्छ। यसबाहेक तिनी सबै घरायसी काम गर्नुका साथै आफ्नो पतिको हेरचाह गर्छिन्। तैपनि ग्लोरिया यहोवाको प्रशंसा गर्छिन्! आफ्नो मसीही भाइबहिनीहरूको मदतद्वारा तिनी ब्रेल बाइबल अध्ययन गर्छिन् र राज्यभवनमा हुने मसीही सभाहरूबाट अत्यन्तै प्रोत्साहित हुन्छिन्। तिनी भन्छिन्: “म यो कुरा शब्दहरूमा व्यक्त गर्न सक्दिनँ। म अन्धी छु, तैपनि देख्नसक्छु।”
परमेश्वरको प्रशंसा गर्दा कहिलेकाहीं मानिसहरूले सतावट भोग्छन्। क्रोएसियाकी एक स्त्री परमेश्वरबारे सिक्न पाउँदा खुशी भइन् तर पतिले तिनको नयाँ विश्वासको विरोध गर्न थाले र तिनीहरूको एक वर्षीया छोरी पनि पतिले आफैसित लगेर त्यस स्त्रीलाई छोडि दिए। पति र परिवारले त्यागिएर, घर र जागिरबिना अलपत्र पर्दा अनि आफ्नो छोरीसमेत पनि नहुँदा तिनी सुरुमा त एकदमै विचलित भइन्। तिनले आफ्नी हुर्कंदै गरेको छोरीलाई कहिलेकाहीं मात्र भेट्न पाउँथिन्, तैपनि परमेश्वरप्रतिको प्रेमले तिनलाई सँभाल्यो। यस स्त्रीले “बहुमूल्य मोती” भेटाएकी थिइन् र यसलाई कुनै हालतमा गुमाउने थिइनन्। (मत्ती १३:४५, ४६) त्यस्तो कठिन परिस्थितिमा तिनले आफ्नो आनन्द कसरी कायम राख्न सकिन्? तिनी भन्छिन्: “आनन्द परमेश्वरको आत्माको फल हो। बाहिरी मौसम जस्तोसुकै भए तापनि हरितगृहमा बिरुवा हुर्कन सकेझैं बाहिरी समस्याहरूका बावजूद आनन्द कायम राख्न सकिन्छ।”
फिनल्याण्डमा छ वर्षीय मार्किसलाई उपचारै गर्न नसकिने मांसपेशीको रोग लागेको पत्ता लाग्यो। चाँडै तिनी ह्वीलचेरमा बस्न बाध्य भए। केही वर्षपछि तिनकी आमाले तिनलाई बिरामीहरूलाई निको पार्नसक्ने दाबी गर्दै आएका असाध्यै नाउँ चलेको पेन्तिकोस्टलकहाँ लगिन्। तर कुनै चमत्कारपूर्ण ढंगमा तिनको रोग निको भएन। त्यसैले मार्किसको परमेश्वरप्रतिको चासो हरायो र विज्ञान तथा अन्य विषयहरू लिएर पढ्न थाले। अनि झन्डै पाँच वर्षअघि मार्किस बस्ने घरमा एक युवक र तिनको साथमा ह्वीलचेरमा बसेर एक स्त्री आइन्। तिनीहरू यहोवाका साक्षीहरू थिए। मार्किस नास्तिक भइसकेका थिए तैपनि धर्मबारे कुरा गर्न कुनै आपत्ति नभएकोले तिनीहरूलाई भित्र बोलाए।
पछि तिनलाई भेट्न एक विवाहित दम्पती आयो र बाइबल अध्ययन सुरु भयो। अन्ततः, बाइबल सत्यले मार्किसको विचारधारामा परिवर्तन ल्यायो र तिनले आफ्नो शारीरिक अस्वस्थताको बावजूद परमेश्वरको प्रशंसा गर्ने कारण छ भनी बुझे। तिनले यसो भने: “म ज्यादै खुशी छु किनभने मैले सत्य र यहोवाबाट संचालित संगठन भेट्टाएको छु। अब मेरो जीवन लक्ष्यविहीन छैन, बरु अर्थपूर्ण छ। अर्को एउटा हराएको भेडा भेट्टिएको छ र ऊ यहोवाको बगाललाई पटक्कै छोड्न चाहँदैन!”—मत्ती १०:६ तुलना गर्नुहोस्।
सबैले “याहको प्रशंसा” गरून्
आज मानवहरूको परिस्थिति जस्तोसुकै भए तापनि परमेश्वरको प्रशंसा गर्ने कारण छ भनी देखाउन यी अनुभवहरू त केही उदाहरणहरू मात्र हुन्। प्रेरित पावलले यसरी वर्णन गरे, ईश्वरीय “भक्तिचाहिं अहिले भइरहेको र पछि हुनेसमेत जीवनको प्रतिज्ञा भएका सबै कुराको निम्ति उपयोगी हुन्छ।” (१ तिमोथी ४:८) हामीले परमेश्वरको इच्छाअनुरूप गऱ्यौं भने उहाँले “अहिले . . . जीवनको प्रतिज्ञा” पूरा गर्नुहुनेछ। तर पक्कै पनि उहाँले यस रीतिरिवाजमा गरिबलाई धनी वा बिरामीलाई स्वस्थ त बनाउनुहुने छैन। तर उहाँको सेवा गर्नेहरूको परिस्थिति जस्तोसुकै भए तापनि आनन्द र सन्तुष्टि प्राप्त गर्न तिनीहरूलाई आफ्नो आत्मा दिनुहुन्छ। हो, ‘अहिलेको जीवनमा’ समेत बिरामी, शोषित तथा गरिबहरूले परमेश्वरको प्रशंसा गर्ने कारण पाउनसक्छन्।
तर “पछि हुने” जीवनबारे नि? भनौं भने, यसको विचारले मात्रै पनि जोडतोडसाथ परमेश्वरको प्रशंसा गर्न हामीलाई प्रेरित गर्नुपर्ने हो! यी कुराहरू हुने समयबारे सोच्दा मात्रै पनि हामी कत्ति रोमाञ्चित हुन्छौं, जब गरिबी हुनेछैन, जब “बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें’ ” र जब यहोवा परमेश्वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका” हुनेछन्। (यशैया ३३:२४; प्रकाश २१:३, ४; भजन ७२:१६) परमेश्वरका यी प्रतिज्ञाहरूप्रति तपाईं कस्तो दृष्टिकोण राख्नुहुन्छ?
एल साल्भाडोरमा एक युवकले यस्तै कुराहरूमध्ये केही बताएको एउटा बाइबलीय पर्चा स्वीकारे। पर्चा दिने साक्षीलाई तिनले यसो भने: “हेर्नुहोस्, यो पर्चामा लेखेको कुरा त हुनै सक्दैन।” थुप्रैले त्यस्तै प्रतिक्रिया देखाउँछन्। यद्यपि, पृथ्वीको प्राकृतिक चक्र सञ्चालन गर्नुहुने र गरिब तथा बिरामीलाई समेत आनन्द प्राप्त गर्न मदत दिनुहुने यो सारा संसारको सृष्टिकर्ताको प्रतिज्ञा हो। उहाँले भन्नुभएका कुराहरूमा हामी विश्वास गर्नसक्छौं। माथि उल्लिखित युवकले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरे र यही नै सत्य हो भनी थाह पाए। तपाईंले बाइबल अध्ययन थाल्नुभएको छैन भने हामी तपाईंलाई बाइबल अध्ययन सुरु गरिहाल्न प्रोत्साहन दिन्छौं। अनि, यस दुष्ट रीतिरिवाजको विनाशपछि नयाँ संसारमा सबै सृष्टिले एकै स्वरमा “हल्लेलूयाह”! “याहको प्रशंसा गर्”! भन्दा तपाईं पनि त्यहाँ हुनसकोस्।—भजन ११२:१; १३५:१
[फुटनोट]
a बाइबलमा कहिलेकाहीं “यहोवा” नाउँलाई छोट्ट्याएर “याह” गरिन्छ।
[पृष्ठ ५-मा भएको चित्र]
सबै सृष्टिले एकै स्वरमा “हल्लेलूयाह”! भनी प्रशंसा गर्दा तपाईं पनि त्यहाँ हुनसकोस्