प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ९/१ pp. २६-३१
  • धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरीय भक्‍ति के हो
  • ईश्‍वरीय भक्‍ति कसरी आर्जन गछौं?
  • घरमा ईश्‍वरीय भक्‍तिको अभ्यास गर्ने
  • ईश्‍वरीय भक्‍ति र सेवकाई
  • तपाईंको धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • बप्तिस्मा लिएको मसीही भयेर, इश्‍वरीय भक्‍तिको पिछा गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • येशूको ईश्‍वरीय भक्‍तिलाई उदाहरण मान्दै अनुसरण गर्नुहोस
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • ईश्‍वरीय भक्‍तिको पवित्र रहस्य सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ९/१ pp. २६-३१

धीरजमा ईश्‍वरीय भक्‍ति थप्नुहोस्‌

“तिमीहरूका विश्‍वासमा . . . धीरज, धीरजमा [ईश्‍वरीय न्यु व०] भक्‍ति . . . थप।” —२ पत्रुस १:५, ६.

१, २. (क) नाजी नियन्त्रणमा रहेका मुलुकहरूमा १९३०-को सुरुआत देखि यहोवाका साक्षीहरूलाई के भयो र किन? (ख) यस प्रकारको कठोर व्यवहार गर्दा यहोवाका जनहरू कतिको सफल भए त?

बिसौं शताब्दीको इतिहासमा त्यो एउटा अन्धकारमय समय थियो। नाजी नियन्त्रणमा रहेका मुलुकहरूमा १९३०-को प्रारम्भदेखि यहोवाका हजारौं साक्षीहरूलाई अन्यायपूर्वक गिरफ्तार गर्दै यातना शिविरमा हालियो। तर किन? किनभने तिनीहरूले तटस्थ बस्ने हिम्मत गरे र हिटलरको जय भन्‍नदेखि इन्कार गरे। यसो गरे वापत तिनीहरूमाथि कस्तो व्यवहार गरियो त? “हिटलरका सिपाहीहरूले बाइबल विद्यार्थीहरूमाथि [यहोवाका साक्षीहरू] जस्तो अचाक्ली क्रूरता अरू कुनै कैदी समूहमाथि गरेनन्‌। त्यो क्रूरता संसारको कुनै पनि शब्दले वर्णन गर्नै नसक्ने शारीरिक र मानसिक यातनाको एउटा लामो सिलसिला थियो।”—कार्ल विट्टीग, जमर्नीका भूतपूर्व सरकारी अफिसर।

२ ती साक्षीहरू कतिको सफल भए त? डा० क्रिस्टिन इ० किङ्‌गले आफ्नो पुस्तक, द नाजी स्टेट एण्ड द न्यु रिलिजियनस: फाइभ केस स्टडिज इन नन कनफर्मिटि-मा यसो भनिन्‌: “[अरू धार्मिक समूहहरूको तुलनामा] यहोवाका साक्षीहरूको विरुद्धमा सरकार असफल भए।” हो, सामूहिक रूपमा यहोवाका साक्षीहरू स्थिर भएर बसे, यद्यपि तिनीहरूमध्ये सयौंका निम्ति यसको अर्थ मृत्युसम्मै धीरजी भएर बस्नु थियो।

३. कठोर परीक्षाहरूलाई सहन यहोवाका साक्षीहरूलाई कुन कुराले मदत गरेको छ?

३ नाजी जर्मनीमा मात्र नभइ सारा संसारभरिमै यहोवाका साक्षीहरूलाई कुन कुराले त्यस्ता परीक्षाहरू सहन मदत गरेको छ? तिनीहरूको ईश्‍वरीय भक्‍तिको कारण स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई त्यस्ता कुराहरू सहन मदत गर्नुभएको छ। यस सम्बन्धमा प्रेरित पत्रुस भन्छन्‌, “भक्‍तहरूलाई परीक्षाबाट बचाउन र अभक्‍तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न [यहोवा न्यु व०] जान्‍नुहुन्छ।” (२ पत्रुस २:९) त्यसै पत्रको सुरुआतमा मसीहीहरूलाई पत्रुसले यस्तो सुझाव दिएका थिए: “तिमीहरूका विश्‍वासमा . . . धीरज, धीरजमा [ईश्‍वरीय न्यु व०] भक्‍ति . . . थप।” (२ पत्रुस १:५, ६) अतः धीरज र ईश्‍वरीय भक्‍तिको निकट सम्बन्ध छ। वास्तवमा भन्‍ने हो भने, अन्तसम्मै धीरजी हुन हामी ‘ईश्‍वरीय भक्‍तिको पछि लाग्नुपर्छ’ र त्यसलाई प्रकट गर्नुपर्छ। (१ तिमोथी ६:११) तर वास्तवमा ईश्‍वरीय भक्‍ति के हो?

ईश्‍वरीय भक्‍ति के हो

४, ५. ईश्‍वरीय भक्‍ति के हो?

४ “ईश्‍वरीय भक्‍ति”-को युनानी संज्ञालाई (युसेबिया) अक्षरशः “उचित श्रद्धा चढाउने” भनेर अनुवाद गर्न सकिन्छ।a (२ पत्रुस १:६, किङ्‌गडम इन्टरलिनियर) त्यसले परमेश्‍वरतर्फको न्यानो हृदयस्पर्शी अनुभूतिलाई देखाउँछ। डब्ल्यु० इ० भाइनअनुसार ईश्‍वरीय भक्‍तिको विशेषण युसिबस-को अक्षरशः अर्थ “उचित श्रद्धा भएको” हो र यसले “परमेश्‍वरको पवित्र निष्ठाले निर्देशित शक्‍तिलाई सङ्‌केत गर्छ जसको अभिव्यक्‍ति समर्पित क्रियाकलापमा पाइन्छ।”—२ पत्रुस २:९, इन्ट।

५ तसर्थ, “ईश्‍वरीय भक्‍ति” भन्‍ने अभिव्यक्‍तिले यहोवालाई चढाइने श्रद्धा वा भक्‍तिलाई सङ्‌केत गर्छ जसले उहाँलाई मनपर्ने कामहरू गर्न हामीलाई प्रेरित गर्छ। यो काम हामी कठिन से कठिन परीक्षाहरूको सामु पनि गर्छौ किनभने हामी हृदयदेखि परमेश्‍वरलाई प्रेम गर्छौं। यो यहोवासितको निष्ठावान र व्यक्‍तिगत स्नेह हो र हाम्रो जीवन पद्धतिबाट यी कुराहरू झल्किन्छ। “[ईश्‍वरीय न्यु व०] भक्‍ति र गम्भीरतामा हामीले शान्ति र चैनको जीवन बिताउन” पाओस्‌ भनेर साँचो मसीहीहरूलाई प्रार्थना गर्न आग्रह गरिएको छ। (१ तिमोथी २:१, २) कोशकार ए० पी० लो र इ० ए० नाइडाअनुसार “निकै भाषाहरूमा १ ति २.२ को [युसेबया]-लाई औचित्यका साथ ‘परमेश्‍वरले चाहे जस्तो गरी जीवन बिताउनु’ वा ‘परमेश्‍वरले बताउनु भएझैं गरी जीवन बिताउनु’ भनेर अनुवाद गर्न सकिन्छ।”

६. धीरज र ईश्‍वरीय भक्‍ति बीच के सम्बन्ध छ?

६ अब हामी धीरज र ईश्‍वरीय भक्‍ति बीचको सम्बन्धलाई राम्ररी बुझ्न सक्छौं। परमेश्‍वरले चाहनुभएझैं गरी—अर्थात्‌ ईश्‍वरीय भक्‍तिका साथ जीवन बिताएको हुँदा संसारले हामीलाई घृणा गर्दछ र यसले हाम्रो विश्‍वासमाथि निरन्तर परीक्षाहरू ल्याउँछ। (२ तिमोथी ३:१२) तर हाम्रो स्वर्गमा हुनुहुने पितासँगको व्यक्‍तिगत स्नेहको लागि नभइदिएको भए हामी त्यस्ता परीक्षाहरू सहन प्रेरित हुने थिएनौं। र यस्तो हृदयस्पर्शी भक्‍तिलाई यहोवा स्वीकार्नु पनि हुन्छ। अनेकन सतावटहरूको बावजूद पनि आफ्नो भक्‍तिको कारण उहाँलाई खुशी तुल्याउन कोशिश गर्ने व्यक्‍तिहरूलाई स्वर्गबाट नियाल्नु हुँदा यहोवालाई कस्तो अनुभव हुँदो हो, यसो कल्पना गर्नुहोस्‌। त्यसैले त आफ्ना “भक्‍तहरूलाई परीक्षाहरूबाट बचाउन” उहाँ प्रवृत हुनुभएकोमा कुनै आश्‍चर्य छैन।

७. ईश्‍वरीय भक्‍तिको खेती किन गर्नुपर्छ?

७ तथापि, हामी ईश्‍वरीय भक्‍ति लिएर जन्मदैनौं नता हाम्रो ईश्‍वरभीरू आमाबाबुबाट नै त्यसलाई स्वतः आर्जन गर्छौं। (उत्पत्ति ८:२१) हामीले त्यसको खेती गर्नुपर्छ। (१ तिमोथी ४:७, १०) हाम्रो धीरज र विश्‍वासमा हामीले ईश्‍वरीय भक्‍ति थप्नुपर्छ। र यसका लागि “प्रयत्न” गर्नुपर्छ भनेर पत्रुस भन्छन्‌। (२ पत्रुस १:५) त्यसोभए हामी ईश्‍वरीय भक्‍ति कसरी आर्जन गर्न सक्छौं त?

ईश्‍वरीय भक्‍ति कसरी आर्जन गछौं?

८. प्रेरित पत्रुसअनुसार, ईश्‍वरीय भक्‍ति आर्जन गर्ने कुञ्जी के हो?

८ प्रेरित पत्रुसले ईश्‍वरीय भक्‍ति आर्जन गर्ने कुञ्जी बताए। तिनले भने: “परमेश्‍वर र येशू हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्ति तिमीहरूमा वृद्धि हुँदै जाओस्‌। उहाँको ईश्‍वरीय शक्‍तिले जीवन र भक्‍तिसँग सम्बन्ध राख्ने, हामीलाई उहाँको आफ्नै महिमा र पुण्यले बोलाउने, उहाँको ज्ञानद्वारा हामीलाई यी सबै कुरा मञ्जूर गर्नुभएको छ।” (२ पत्रुस १:२, ३) अतः हाम्रो विश्‍वास र धीरजमा ईश्‍वरीय भक्‍ति थप्न हामी यहोवा परमेश्‍वर र येशू ख्रीष्टको सही अर्थात्‌ सम्पूर्ण ज्ञानमा बढ्‌दै जानुपर्छ।

९. परमेश्‍वर र ख्रीष्टको सही ज्ञान प्राप्त गर्नुमा उहाँहरू को हुनुहुन्छ भनेर जान्‍नु मात्रमा सीमित छैन भनेर देखाउन कुन उदाहरण दिन सकिन्छ?

९ तर परमेश्‍वर र ख्रीष्टको सही ज्ञान प्राप्त गर्नुको अर्थ के हो? स्पष्टतः उहाँहरू को हुनुहुन्छ भनेर जान्‍नु मात्र यसमा समावेश छैन। उदाहरणका लागि यसलाई विचार गर्नुहोस्‌: “तपाईंको ढोका छेउमै बस्ने छिमेकीलाई तपाईं चिन्‍नुहुन्छ होला र तिनको नाउँ समेत लिएर अभिवादन गर्नुहुन्छ होला। तर के तपाईं एक ठूलो धनराशि ऋण स्वरूप तिनलाई दिनुहुन्छ? तिनी कस्तो प्रकारको व्यक्‍ति हुन्‌ भनेर राम्रोसँग नचिनेसम्म तपाईं अवश्‍य त्यसो गर्नुहुन्‍न। (हितोपदेश ११:१५ सँग तुलना गर्नुहोस्‌।) त्यस्तै गरी यहोवा र येशूलाई सही ढङ्‌गमा वा पूरा जान्‍नुको अर्थ उहाँहरूको अस्तित्व छ भनेर विश्‍वास गर्नु र उहाँहरूको नाउँ जान्‍नुमा मात्र सीमित छैन। उहाँहरूको निम्ति मृत्युको मुखसम्म पनि धीरज धारण गर्न इच्छुक हुन, हामीले साँच्चै नै घनिष्ठतापूर्वक उहाँहरूलाई चिन्‍नुपर्छ। (यूहन्‍ना १७:३) तर यसमा के कुरा सम्मिलित छ?

१०. यहोवा र येशूको सही ज्ञान प्राप्त गर्नुमा कुन दुई कुराहरू समावेश छन्‌ र किन?

१० यहोवा र येशूको सही वा पूर्ण ज्ञान प्राप्त गर्नुमा दुई कुराहरू समावेश छन्‌: (१) उहाँहरूलाई व्यक्‍ति विशेषको रूपमा चिन्‍ने—अर्थात्‌ उहाँहरूको गुणहरू, अनुभूतिहरू र तरिकाहरूलाई चिन्‍ने—र (२) उहाँहरूको उदाहरणलाई अनुसरण गर्ने। ईश्‍वरीय भक्‍तिमा यहोवासँगको हृदयस्पर्शी, व्यक्‍तिगत स्नेह समावेश छ र त्यसलाई हाम्रो जीवन पद्धतिबाट प्रकट गरिन्छ। तसर्थ, सही ज्ञान प्राप्त गर्न व्यक्‍तिगत रूपमा यहोवालाई चिन्‍नुपर्छ र मानव शक्‍तिले भ्याएसम्म उहाँको इच्छा र तौर तरिकासँग पूर्णतः परिचित हुनुपर्छ। अतः जसको स्वरूपमा हामी बनिएका छौं अर्थात्‌ यहोवालाई साँच्चै नै चिन्‍न हामीले त्यसप्रकारको ज्ञानलाई चलाउनुपर्छ र उहाँ जस्तै हुने अथक प्रयत्न गर्नुपर्छ। (उत्पत्ति १:२६-२८; कलस्सी ३:१०) आफूले बोल्नु र गर्नुभएका कुराहरूमा येशूले एकदम पूर्णताकासाथ यहोवाको अनुकरण गर्नुभएको हुनाकारण, येशूलाई चिन्‍नु, ईश्‍वरीय भक्‍ति बढाउने एउटा अमूल्य मदत हो।—हिब्रू १:३.

११. (क) हामीले यहोवा र येशूको सही ज्ञान कसरी पाउन सक्छौं? (ख) आफूले पढेका कुराहरूमाथि मनन गर्नु किन महत्त्वपूर्ण छ?

११ यद्यपि, हामीले कसरी परमेश्‍वर र ख्रीष्टको सही ज्ञान प्राप्त गर्नसक्छौं? बाइबल र बाइबलमा आधारित प्रकाशनहरूलाई मेहनतकासाथ अध्ययन गरेर।b तथापि, हाम्रो व्यक्‍तिगत अध्ययनद्वारा हामी ईश्‍वरीय भक्‍ति आर्जन गर्न चाहन्छौं भने, आफूले पढेका कुराहरूमाथि मनन अर्थात्‌ चिन्तन वा विचार गर्न समय निकाल्नु अत्यावश्‍यक छ। (यहोशू १:८ सँग तुलना गर्नुहोस्‌।) यसो गर्नु किन महत्त्वपूर्ण छ? ईश्‍वरीय भक्‍ति भनेको परमेश्‍वरसितको न्यानो र हृदयस्पर्शी भावना हो भनेर नबिर्सनुहोस्‌। मनन गर्नुलाई शास्त्रमा बारम्बार लाक्षणिक हृदय—अर्थात्‌ भित्री मनुष्यत्वसित जोडिएको छ। (भजनसंग्रह १९:१४; ४९:३; हितोपदेश १५:२८) आफूले पढेका कुराहरूमाथि मूल्याङ्‌कन सहित मनन गर्नाले ती कुराहरू भित्री मनुष्यत्वसम्म पुग्दछ। यसप्रकार त्यसले हाम्रा अनुभूतिहरूलाई जगाउँछ, संवेदनाहरूलाई छुन्छ र हाम्रो विचारलाई प्रभाव पार्दछ। यसो भएपछि मात्र हाम्रो अध्ययनले परमेश्‍वरसँगको व्यक्‍तिगत स्नहेलाई बलियो बनाउन र चुनौतीपूर्ण परिस्थितिहरू वा कठिन परीक्षाहरूको सामु पनि परमेश्‍वरलाई मनपर्ने ढङ्‌गमा जीवन बिताउन हामीलाई प्रेरित गर्नसक्छ।

घरमा ईश्‍वरीय भक्‍तिको अभ्यास गर्ने

१२. (क) पावलअनुसार, एकजना मसीहीले कसरी घरमा ईश्‍वरीय भक्‍तिको अभ्यास गर्नसक्छ? (ख) साँचो मसीहीहरू किन वृद्ध आमाबाबुको हेरचाह गर्छन्‌?

१२ ईश्‍वरीय भक्‍तिलाई प्रथमतः घरमा अभ्यास गर्नुपर्छ। यस सम्बन्धमा प्रेरित पावल भन्छन्‌: “कुनै विधवाका छोरा-छोरी अथवा नाति-नातिनीहरू छन्‌ भने, पहिले तिनीहरूले आफ्नै परिवारमा दया देखाउन्‌ र आफ्ना माता-पितालाई प्रत्युपकारको साटो तिर्न सिकून्‌, किनकि यो परमेश्‍वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ।” (१ तिमोथी ५:४) वृद्ध आमाबाबुको रेखदेख गर्नु, पावलले भनेझैं ईश्‍वरीय भक्‍तिको अभिव्यक्‍ति हो। साँचो मसीहीहरू आफ्ना आमाबाबुको हेरविचार कर्तव्य पालनका लागि मात्र गर्दैनन्‌ तर तिनीहरूप्रति आफ्नो प्रेम भएको कारण गर्छन्‌। यसको अलावा, आफ्नो परिवारको हेरविचार गर्ने कुरामाथि यहोवाले दिनुभएको महत्त्वलाई तिनीहरू बुझ्दछन्‌। खाँचो परेका बेलामा आफ्नो आमाबाबुलाई मदत गर्न इन्कार गर्नु ‘मसीही विश्‍वासलाई इन्कार’ गरे बराबर हो भन्‍ने कुराप्रति तिनीहरू सजग छन्‌।—१ तिमोथी ५:८.

१३. घरमा ईश्‍वरीय भक्‍तिको अभ्यास गर्नु किन एउटा वास्तविक चुनौती हुनसक्छ तर आफ्नो आमाबाबुको हेरचाह गर्दा कस्तो सन्तुष्टि पाउन सकिन्छ?

१३ स्वभाविकतः घरमा ईश्‍वरीय भक्‍तिको अभ्यास गर्न सधैं सजिलो हुँदैन। परिवारका सदस्यहरू एक आपसबाट निकै टाढा बसेका हुनसक्छन्‌। बढीसकेका छोराछोरीहरू आफ्नै परिवार हुर्काइरहेका र आर्थिक अवस्था सुधार्न सङ्‌घर्ष गरिरहेका होलान्‌। एकजना आमा वा बाबुलाई जुन प्रकार वा मात्राको रेखदेख चाहिएको हुन्छ त्यसले रेखदेख गर्ने व्यक्‍तिको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यको माग गर्नसक्छ। यद्यपि, आफ्नो आमाबाबुको रेखदेख गर्नु ‘प्रत्युपकारको साटो तिर्नु’ मात्र नभइ “स्वर्ग र पृथ्वीमा हरेक परिवारको नाउँ”-का लागि जिम्मेदार व्यक्‍तिलाई समेत खुशी तुल्याउनु हो भनेर थाहा पाउनु साँचो सन्तुष्टि हुनसक्छ।—एफिसी ३:१४, १५.

१४, १५. आफ्नो बुबाप्रति बच्चाहरूले ईश्‍वरीय हेरचाह देखाएको एउटा उदाहरण दिनुहोस्‌।

१४ एउटा साँच्चै नै मर्मस्पर्शी उदाहरणलाई विचार गर्नुहोस्‌। इलिस र तिनका पाँच जना भाइ-बहिनीहरू घरमा आफ्नो बुबाको रेखदेख गर्ने कठिन कामको सामना गर्छन्‌। इलिस यसो भन्छिन्‌: “१९८६-मा मेरा बुबालाई रक्‍ताघात भएको थियो जसले गर्दा उहाँको पूरा शरीर पक्षघात भयो।” आफ्नो बुबाको आवश्‍यकता पूरा गरिदिन छ जना बच्चाहरू मिलिजुली भाग लिन्थे। नुहाइदिनेदेखि लिएर शय्याव्रण नहोस्‌ भनेर कोल्टे पल्टाइदिनेसम्म सबै कामहरू तिनीहरू गर्थे। “हामीहरू उहाँलाई किताब पढेर सुनाउँछौं, कुरा गर्छौं, गीत बजाउछौं। आफ्ना वरिपरि के भइरहेछ भनेर उहाँलाई थाहा छ वा छैन भन्‍ने कुरा हामीलाई थाहा नभए तापनि सबै कुराहरू उहाँलाई थाहा भएझैं गरी हामी व्यवहार गर्छौं।”

१५ किन ती बालबच्चाहरू आफ्ना बुबाको हेरचाह बुबाहरूले गरेझैं गर्छन्‌? एलिस भन्दै जान्छिन्‌: “१९६४-मा हाम्रो आमाको मृत्यु भएपछि, बुबा एक्लैले हामीहरूलाई हुर्काउनु भयो। त्यतिबेला हामीहरू ५ देखि १४ वर्षका थियौं। त्यतिबेला हाम्रो हेरचाह गर्न उहाँ सधैं तयार र इच्छुक हुनुहुन्थ्यो; अहिले हामीहरू उहाँको हेरचाह गर्न तत्पर र इच्छुक छौं।” स्पष्ट छ, त्यसप्रकारको हेरचाह गर्न सधैं सजिलो हुँदैन र समय समयमा बच्चाहरू निरूत्साहित हुन्छन्‌। “तर हाम्रो बुबाको अवस्था अल्पकालिक समस्या मात्र हो भनेर हामीलाई थाहा छ। चाँडै नै हाम्रो बुबाले फेरि राम्रो स्वस्थ पाउनुभएको र हाम्रा मुमासँग फेरि भेट्‌न पाएको हामी आशा गर्छौं,” इलिस आफ्नो कुरा यसरी बताउँछिन्‌। (यशैया ३३:२४; यूहन्‍ना ५:२८, २९) छोराछोरीहरूलाई आमाबाबुको आदर गर्ने आज्ञा दिनुहुने व्यक्‍तिको हृदयलाई निस्सन्देह, एकजना बुबाका लागि देखाएको त्यस्तो समर्पित हेरचाहले आनन्दित तुल्याउँछ!c—एफिसी ६:१, २.

ईश्‍वरीय भक्‍ति र सेवकाई

१६. हामी सेवकाईमा जे गर्छौं त्यसको मुख्य कारण के हुनुपर्छ?

१६ ‘मेरो पछि लागिरह’ भनेर येशूले दिनुभएको निमन्त्रणलाई स्वीकारेपछि हामी राज्यको सुसमाचार प्रचार गर्ने र चेला बनाउने ईश्‍वरीय कामको अधीनमा आउँछौं। (मत्ती १६:२४; २४:१४; २८:१९, २०) निस्सन्देह, सेवकाईमा भाग लिनु एकजना मसीहीले “आखिरी दिन”-मा निभाउनुपर्ने अभिभारा हो। (२ तिमोथी ३:१) तथापि, प्रचार गर्ने र सिकाउने हाम्रो मनसाय केवल कर्तव्य वा अभिभाराको अभिप्रायमा मात्र सीमित हुनुहुँदैन। हामीले सेवकाईमा जे गर्छौं र जति गर्छौं त्यसको मुख्य कारण यहोवाप्रतिको गहिरो प्रेम हुनुपर्छ। “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ” भनेर येशूले भन्‍नुभयो। (मत्ती १२:३४) हो, हाम्रो हृदय यहोवाप्रतिको प्रेमले भरिएको छ भने, उहाँको विषयमा अरूहरूलाई साक्षी दिन हामी प्रेरित हुन्छौं। हाम्रो मनसाय यहोवाप्रतिको प्रेम हो भने हाम्रो सेवकाई ईश्‍वरीय भक्‍तिको अर्थपूर्ण अभिव्यक्‍ति हुँदछ।

१७. हामी सेवकाईका लागि उचित मनसायको खेती कसरी गर्न सक्छौं?

१७ कसरी हामी सेवकाईको लागि उचित मनसायको खेती गर्नसक्छौं? उहाँलाई प्रेम गर्नुपर्ने तीन कारणहरूमाथि मूल्याङ्‌कन सहित मनन गर्नुहोस्‌, जुन कारणहरू यहोवाले हामीलाई दिनुभएको छ। (१) उहाँले हाम्रा निम्ति गरिदिनुभएका कुराहरूका लागि हामी यहोवालाई प्रेम गर्छौं। छुटकाराको बलिदानको प्रबन्ध गरेर उहाँले सबैभन्दा ठूलो प्रेमको प्रदर्शन गर्नुभयो। (मत्ती २०:२८; यूहन्‍ना १५:१३) (२) हाम्रा निम्ति अहिले गरिरहनुभएका कुराहरूका लागि हामी यहोवालाई प्रेम गर्दछौं। हाम्रा प्रार्थनाहरूको उत्तर दिनुहुने यहोवासित कुरा गर्न हामीसँग वाक्‌-स्वतन्त्रता छ। (भजनसंग्रह ६५:२; हिब्रू ४:१४-१६) जसै हामी राज्य सम्बन्धी कामलाई प्राथमिकता दिन्छौं जीवनका आवश्‍यकताहरूप्रति हामी सन्तुष्ट हुन्छौं। (मत्ती ६:२५-३३) हामी नियमित रूपमा आत्मिक आहार प्राप्त गर्दर्छौं जसले हामीमाथि आइपर्ने समस्याहरूको सामना गर्न मदत गर्छ। (मत्ती २४:४५) यसबाहेक एउटा विश्‍वव्यापी मसीही भ्रातृत्वको भाग हुन पाएका छौं जसले हामीलाई संसारबाट साँच्चै नै अलग्ग राख्दछ। (१ पत्रुस २:१७) (३) हाम्रो निम्ति भविष्यमा गरिदिनुहुने कामहरूका लागि पनि हामी यहोवालाई प्रेम गर्दछौं। उहाँको प्रेमको कारण हामीसित ‘त्यो साँच्चै जीवन’—अर्थात्‌ भविष्यमा अनन्त जीवनको पक्का आशा छ। (१ तिमोथी ६:१२, १९) हाम्रो लागि यहोवाले गर्नुभएको प्रेमलाई ध्यान दिएर हेर्दा निश्‍चय नै उहाँ र उहाँका उद्देश्‍यहरूबारे अरूहरूलाई सुनाउने काममा जोशकासाथ भाग लिन हाम्रो हृदय उत्प्रेरित हुनेछ! अरूहरूले हामीलाई सेवकाईमा के गर्ने र कति गर्ने भनेर भन्‍नु पर्ने छैन। आफूले यथासक्य गर्न हाम्रो हृदयले उत्प्रेरित गर्नेछ।

१८, १९. सेवकाईमा भाग लिन एकजना बहिनीले कस्तो बाधालाई पार गरिन्‌?

१८ ईश्‍वरीय भक्‍तिद्वारा उत्प्रेरित हृदय, चुनौतीपूर्ण परिस्थितिहरूमा पनि बोल्न तत्पर हुनेछ। (यर्मिया २०:९ सँग तुलना गर्नुहोस्‌।) असाध्यै लज्जालु स्वभाव भएकी एकजना विवाहित स्त्री, स्टेलाको उदाहरणबाट यो कुरा देख्न सकिन्छ। सुरुमा बाइबल अध्ययनको थालनी गर्दा, ‘म कहिल्यै घर-घर जान सक्दिनँ!’ भनेर तिनले सोचेकी थिइ। तिनी भन्छिन्‌: “म सधैं चूप लागेर बस्थें। कुराकानी थाल्न म कहिल्यै अघि सर्न सक्दिन थिएँ।” अध्ययन गर्दै जाँदा यहोवाप्रतिको प्रेम पनि बढ्‌दै गयो र उहाँबारे अरूहरूसित कुरा गर्ने तीव्र इच्छा तिनमा जाग्यो। तिनी भन्छिन्‌: “आफ्नो बाइबल प्रशिक्षकलाई मैले यसो भनेकी थिएँ, ‘मलाई एकदम कुरा गर्न मन लाग्छ तर म कुरै गर्न सक्दिनँ र यसले गर्दा मलाई साँच्चै दिक्क लागिरहेछ।’ उनले भनेको कुरालाई म कहिल्यै बिर्सिन्‍न: ‘स्टेला, तिमी कुरा गर्न चाहन्छौ, त्यसैमा तिमी कृतज्ञ हौ।’”

१९ चाँडै नै स्टेलाले आफ्नो छिमेकीलाई साक्षी दिन थालिन्‌। पछि तिनले एउटा स्मरणीय कदम उठाइन्‌—प्रथम पटक घर-घरको सेवकाईमा तिनले भाग लिइन्‌। (प्रेरित २०:२०, २१) त्यस कुरालाई सम्झना गर्दै तिनी भन्छिन्‌: “आफ्नो प्रस्तुतिहरू मैले लेखेर लगेको थिएँ। तैपनि, मलाई यति डर लागेको थियो कि आफ्नो हातैमा भएको नोटलाई समेत हेर्न सकिनँ!” अहिले, ३५ वर्ष बितिसक्दा पनि स्टेला लज्जालु स्वभावकी नै छिन्‌। तरै पनि तिनी क्षेत्र सेवकाईमा जान मन पराउँछिन्‌ र त्यसमा सक्रिय भएर भाग लिन्छिन्‌।

२०. सतावट वा कैदले समेत यहोवाका साक्षीहरूका मुखलाई बन्द गर्न सक्दैन भन्‍ने कुरालाई कुन उदाहरणले देखाउँछ?

२० सतावटहरू आइपर्दा अथवा थुनामा पर्दा पनि यहोवाका समर्पित साक्षीहरूको मुख बन्द गर्न सकिंदैन। जर्मनीका अन्स्ट र हिल्डगार्ट जेलिगरको उदाहरणलाई विचार गर्नुहोस्‌। आफ्नो विश्‍वासको कारण तिनीहरू दुवैजनाले नाजी यातना शिविर र साम्यवादी कैदहरूमा जम्माजम्मी ४० वर्ष बिताए। कैदमा हुँदा पनि तिनीहरूले साक्षी दिन बन्द गरेनन्‌। हिल्डगार्ट याद गर्छिन्‌: “एकजना महिला गार्डको भनाइअनुसार मैले दिनभरि बाइबलका कुरा गरेकी हुनाले जेल अधिकारीहरूले मलाई खतरनाक भनेर छुट्ट्याए। त्यसकारण मलाई जेलको छिंडीमा राखिदिए।” पछि ती दुवैजनालाई मुक्‍त गरिसकेपछि, भाइ र बहिनी जेलिगरले मसीही सेवकाईमा आफ्नो पूर्ण समय बिताए। आफ्नो अन्तिम साससम्मै तिनीहरू दुवैजना विश्‍वासी भएर सेवा गरे। भाइ जेलिगरको १९८५ र उनकी पत्नीको १९९२-मा मृत्यु भयो।

२१. हाम्रो धीरजमा ईश्‍वरीय भक्‍ति थप्न हामीले के गर्नुपर्छ?

२१ परमेश्‍वरको वचनलाई परिश्रमपूर्वक अध्ययन गऱ्‍यौं, सिकेका कुराहरूलाई मूल्याङ्‌कन गर्दै मनन गऱ्‍यौं भने हामी यहोवा परमेश्‍वर र येशू ख्रीष्टको सही ज्ञानमा बढ्‌दै जानेछौं। फलस्वरूप, त्यस अमूल्य गुण अर्थात्‌ ईश्‍वरीय भक्‍तिलाई हामी पूरा मात्रामा आर्जन गर्नेछौं। मसीहीहरूको हैसियतमा हामीमाथि आउने अनेकन परीक्षाहरूलाई ईश्‍वरीय भक्‍ति बिना सहनु असम्भव छ। अतः ‘हाम्रो विश्‍वासमा धीरज र धीरजमा ईश्‍वरीय भक्‍ति थप्न’ प्रेरित पत्रुसले दिएको सल्लाहलाई हामी पालन गरौं।—२ पत्रुस १:५, ६. (w93 9/15)

[फुटनोटहरू]

a युसेबिया-को सम्बन्धमा विलियम बार्कले यसो भन्छन्‌: “यस शब्दको [मूल] भाग सेब-को अर्थ श्रद्धा वा उपासना हुन्छ। युनानी शब्द यु-ले उचित भन्‍ने अर्थ जनाउँछ; तसर्थ युसेबिया भनेको उचित र उपयुक्‍त ढङ्‌गमा दिइएको उपासना र श्रद्धा हो।”—न्यु टेस्टामेन्ट वर्ड्‌स।

b परमेश्‍वरको वचनसम्बन्धी हाम्रो ज्ञानलाई बढाउन कसरी अध्ययन गर्ने भन्‍ने विषयको छलफलका लागि अगस्त १, १९९३-को प्रहरीधरहरा हेर्नुहोस्‌।

c वृद्ध व्यक्‍तिहरूतर्फ ईश्‍वरीय भक्‍तिको अभ्यास कसरी गर्ने भन्‍ने विषयमा पूर्ण छलफलका लागि डिसेम्बर १, १९८७-को अंग्रेजी द वाचटावर-को पृष्ठ १३-१८ हेर्नुहोस्‌।

तपाईं के जवाफ दिनुहुन्छ?

▫ ईश्‍वरीय भक्‍ति के हो?

▫ धीरज र ईश्‍वरीय भक्‍ति बीच के सम्बन्ध छ?

▫ ईश्‍वरीय भक्‍ति आर्जन गर्ने कुञ्जी के हो?

▫ कसरी एकजना मसीहीले घरमा ईश्‍वरीय भक्‍ति अभ्यास गर्नसक्छ?

▫ हामीले सेवकाईमा जे गर्छौं त्यसको मुख्य कारण के हुनुपर्छ?

[पृष्ठ ३०-मा भएको चित्र]

राभेन्सब्रकको नाजी यातना शिविरमा कैदी भएका साक्षीहरूले धीरज र ईश्‍वरीय भक्‍तिको प्रदर्शन गरे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने