प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 अगस्त pp. २०-२४
  • आध्यात्मिक उन्‍नति गर्न सक्नुहुन्छ कि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आध्यात्मिक उन्‍नति गर्न सक्नुहुन्छ कि?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आध्यात्मिक उन्‍नति गर्नु भनेको के हो?
  • थप आध्यात्मिक उन्‍नति गर्न मेहनत गर्नुहोस्‌
  • लत्तो नछाड्‌नुहोस्‌
  • प्रचारकार्यमा उन्‍नति गर्नुहोस्‌
  • आध्यात्मिक उन्‍नति गरेर परमेश्‍वरको महिमा गर्नुहोस्‌
  • किशोरकिशोरी हो, बप्तिस्मापछि पनि प्रगति गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • थप प्रगति तर्फ सकारात्मक गतिविधि
    हाम्रो राज्य सेवकाई—१९९२
  • तपाईँ कसरी आध्यात्मिक लक्ष्यहरू राख्न र ती हासिल गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • आध्यात्मिक प्रगति गरिरहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 अगस्त pp. २०-२४
तीन जना साक्षी बहिनी टेलिफोनबाट साक्षी दिंदै अनि अर्को एक जना महिला सुन्दै

आध्यात्मिक उन्‍नति गर्न सक्नुहुन्छ कि?

“पवित्र लेखोटहरू पढ्‌ने अनि अर्ती दिने र सिकाउने काममा लागिरह।”—१ तिमो. ४:१३.

गीत: ४५, ७०

हामीले के सिक्यौं?

  • आध्यात्मिक उन्‍नति गर्न तपाईं के गर्न सक्नुहुन्छ?

  • तपाईं नथाकीकन कसरी आध्यात्मिक उन्‍नति गरिरहन सक्नुहुन्छ?

  • अझ प्रभावकारी तरिकामा प्रचार गर्न तपाईं कस्ता छाँटकाँट गर्न सक्नुहुन्छ?

१, २. (क) अन्तको समयमा यशैया ६०:२२ कसरी पूरा भइरहेको छ? (ख)  अहिले यहोवाको सङ्‌गठनमा कस्तो आवश्‍यकता बढेको छ?

“थोरैचाहिं हजार हुनेछ, र तुच्छचाहिं एउटा सामर्थी जाति हुनेछ।” (यशै. ६०:२२) यशैयाले गरेको यो भविष्यवाणी अहिले अन्तको दिनमा पूरा भइरहेको छ। हामी किन त्यसो भन्‍न सक्छौं? सेवा वर्ष २०१५ मा ८२ लाख २० हजार १०५ प्रकाशकहरूले सक्रिय हुँदै प्रचारकार्यमा भाग लिए। यसै भविष्यवाणीको अन्तिम भागमा भनेको कुराले हामी प्रत्येक ख्रीष्टियनलाई असर गर्छ, जहाँ हाम्रो मायालु बुबा यहोवाले यसो भन्‍नुभएको छ: “म, परमप्रभुले, त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु।” गाडीमा बस्ने यात्रुहरूले गाडीको गति बढेको महसुस गरेजस्तै अहिले हामीले पनि चेला बनाउने काम तीव्र गतिमा अघि बढेको महसुस गरिरहेका छौं। यस्तो वृद्धिप्रति हामी कस्तो प्रतिक्रिया देखाउँछौं? के हामीले प्रचारमा जोसिलो भई आफ्नो तर्फबाट सक्दो गरिरहेका छौं? हाम्रा धेरै दाजुभाइ दिदीबहिनीहरूले सहायक तथा नियमित अग्रगामीको रूपमा सेवा गर्न अघि बढिरहेका छन्‌। साथै आवश्‍यकता धेरै भएको ठाउँमा गएर सेवा गर्न अथवा ईश्‍वरतान्त्रिक गतिविधिको विभिन्‍न पक्षमा भाग लिन धेरै जना अग्रसर भएको देखेर के हाम्रो मन छुँदैन र?

२ साक्षीहरूमाझ भएको यस्तो वृद्धिले गर्दा हामीलाई दाजुभाइहरूको अझ धेरै आवश्‍यकता परेको छ। हरेक वर्ष लगभग २ हजार मण्डलीहरू थपिरहेका छन्‌। यदि प्रत्येक नयाँ मण्डलीमा ५ जना एल्डरहरूले सेवा गर्ने हो भने हरेक वर्ष १० हजार जना सहायक सेवकहरू एल्डरको लागि योग्य हुनु पर्ने हुन्छ। कुरा स्पष्ट छ, त्यो आवश्‍यकता पूरा गर्न हजारौं भाइहरूले सहायक सेवक हुन चाहिने योग्यता हासिल गर्नुपर्छ। जेहोस्‌ हामी भाइ हौं वा बहिनी, “प्रभुको काममा सधैं व्यस्त” भइरहनुपर्छ।—१ कोरि. १५:५८.

आध्यात्मिक उन्‍नति गर्नु भनेको के हो?

३, ४. आध्यात्मिक उन्‍नति गर्नु भनेको के हो?

३ १ तिमोथी ३:१ पढ्‌नुहोस्‌। “अघि बढ्‌नु” भनी अनुवाद गरिएको ग्रीक शब्दले टाढा भएको कुरा लिन तन्किनुलाई बुझाउँछ। यो शब्द चलाएर पावलले आध्यात्मिक उन्‍नति गर्न अथक प्रयास चाहिन्छ भनेर जोड दिइरहेका थिए। कल्पना गर्नुहोस्‌, एक जना भाइ मण्डलीमा थप जिम्मेवारी पाउन अघि बढ्‌न चाहन्छन्‌। सबैभन्दा पहिला, तिनी सहायक सेवकको योग्यता हासिल गर्न कडा मेहनत गर्छन्‌। समयको दौडान तिनले ती योग्यता हासिल गर्छन्‌ र सहायक सेवकको रूपमा नियुक्‍त हुन्छन्‌। अब तिनी एल्डरको रूपमा सेवा गर्नेबारे सोच्छन्‌ र त्यसको लागि आवश्‍यक योग्यता हासिल गर्न कडा मेहनत गर्छन्‌। यी दुवै अवस्थामा जिम्मेवारी सम्हाल्न सक्ने योग्यता हासिल गर्न तिनले कडा मेहनत गर्नुपऱ्‍यो।

४ त्यसैगरि, अग्रगामी सेवा, बेथेल सेवा वा राज्यभवन निर्माण गर्ने लक्ष्य राखेका दाजुभाइ दिदीबहिनीहरूले आफूले राखेको लक्ष्य हासिल गर्नको लागि तन्किनु अर्थात्‌ प्रयास गर्नुपर्छ। साँचो उपासनामा उन्‍नति गर्न परमेश्‍वरको वचनले हामी सबैलाई कसरी प्रोत्साहन दिन्छ? अब हामी यस प्रश्‍नबारे छलफल गर्नेछौं।

थप आध्यात्मिक उन्‍नति गर्न मेहनत गर्नुहोस्‌

५. जवानहरूले यहोवाको सेवामा आफ्नो बल कसरी लगाउन सक्छन्‌?

५ जवानहरूले आफूसँग भएको बल प्रयोग गरेर यहोवाको सेवामा अझ धेरै योगदान दिन सक्छन्‌। (हितोपदेश २०:२९ पढ्‌नुहोस्‌) बेथेल सेवा गर्ने केही जवान दाजुभाइहरूले बाइबल र बाइबल आधारित साहित्यहरू छाप्ने र बाइन्डिङ गर्ने काम गर्छन्‌। अरू थुप्रै जवानहरूले भने राज्यभवन निर्माण वा मर्मत सम्भार गर्ने काममा भाग लिन्छन्‌। प्राकृतिक प्रकोप आइपर्दा जवानहरूले राहत कार्यमा खटिएका दक्ष दाजुभाइ दिदीबहिनीहरूको समूहसित काँधमा काँध मिलाएर काम गर्छन्‌। साथै थुप्रै जवान अग्रगामीहरूले स्वदेशी वा विदेशी मुलुकका मानिसहरूलाई सुसमाचार प्रचार गरिरहेका छन्‌।

६-८. (क) एक जवान भाइले यहोवाको सेवाप्रतिको आफ्नो दृष्टिकोण कसरी परिवर्तन गरे अनि नतिजा कस्तो भयो? (ख) यहोवा “भलो हुनुहुन्छ” भनेर हामी कसरी भन्‍न सक्छौं?

६ तपाईं मनैदेखि यहोवाको सेवा गर्न चाहनुहुन्छ होला। तर तपाईंलाई पनि आरोनलाई जस्तै महसुस भएको छ कि? तिनी ख्रीष्टियन परिवारमै हुर्केका थिए। तर तिनी यसो भन्छन्‌: “प्रचार र सभा भनेपछि मलाई दिक्क लाग्थ्यो।” तिनी आनन्दित भएर यहोवाको सेवा गर्न चाहन्थे, तर त्यसो गर्न सकिरहेका थिएनन्‌। त्यसपछि तिनले के गरे?

७ आरोनले बाइबल पढ्‌न, सभाको तयारी गर्न, टिप्पणी गर्नका लागि राम्रो आध्यात्मिक तालिका बनाए र त्यसैअनुसार चले। विशेषगरि तिनले यहोवालाई दिनहुँ प्रार्थना गर्ने बानी बसाले। यसरी यहोवासित तिनको सम्बन्ध बलियो हुँदै गयो र आध्यात्मिक उन्‍नति गर्न सके। त्यसबेलादेखि तिनले अग्रगामी सेवा गर्ने, प्राकृतिक प्रकोपको बेला अरू दाजुभाइ दिदीबहिनीसँग राहत कार्यमा भाग लिने र विदेशी भूमिमा गएर प्रचार गर्ने जस्ता सेवाको विभिन्‍न पक्षमा भाग लिएर आनन्द उठाएका छन्‌। अहिले तिनी बेथेलमा छन्‌ र एल्डरको रूपमा मण्डलीमा पनि सेवा गरिरहेका छन्‌। आफूले चालेका कदमबारे तिनी यसो भन्छन्‌: “मैले यहोवालाई पारख गरेर हेरें अनि उहाँ भलो हुनुहुन्छ भनेर थाह पाएँ। यहोवाले दिनुभएको आशिष्‌प्रति म आभारी छु। यसैले उहाँको सेवामा अझ धेरै गर्न उत्प्रेरित भएको छु र थप आशिष्‌हरू पनि पाइरहेको छु।”

८ भजनहारले यसरी गाए: “जसजसले परमप्रभुको खोजी गर्दछन्‌, तिनीहरूलाई कुनै उत्तम कुराको खाँचो पर्नेछैन।” (भजन ३४:८-१० पढ्‌नुहोस्‌) हो, जोसिलो भई यहोवाको सेवा गर्नेहरूलाई उहाँले कहिल्यै निराश तुल्याउनुहुन्‍न। हामीले तनमनले यहोवाको सेवा गर्दा उहाँ ‘कस्तो भलो हुनुहुन्छ भनेर जाँचेर’ हेरिरहेका हुन्छौं। अनि यसरी पूरा तनमनले यहोवाको सेवा गर्दा पाइने आनन्द अरू कुनै कुराले दिन सक्दैन।

लत्तो नछाड्‌नुहोस्‌

९, १०. हामीले “पर्खने मनोवृत्ति” देखाउनु किन आवश्‍यक छ?

९ तपाईंले राखेको लक्ष्य हासिल गर्न अघि बढ्‌नुहुँदा “पर्खने मनोवृत्ति” विकास गर्नुहोस्‌। (मीका ७:७) कहिलेकाहीं हामीले राखेको लक्ष्य हासिल गर्न वा हाम्रो परिस्थिति परिवर्तन भएर राम्रो हुन निकै समय पर्खनुपर्ने हुन सक्छ। यसरी पर्खनुपऱ्‍यो भन्दैमा यहोवाले हाम्रो ख्याल राख्नु हुन्‍न भन्‍ने निष्कर्षमा नपुग्नुहोस्‌। यहोवा सधैं आफ्ना वफादार सेवकहरूलाई मदत गर्नुहुन्छ। परमेश्‍वरले अब्राहामलाई सन्तान दिने प्रतिज्ञा गर्नुभयो, तर तिनले त्यसको लागि विश्‍वास र धैर्य देखाउनु परेको थियो। (हिब्रू ६:१२-१५) इसहाकको निम्ति अब्राहामले वर्षौंसम्म पर्खनु परे तापनि तिनले हरेस खाएनन्‌। तिनको पर्खाइ व्यर्थ गएन किनभने यहोवाले तिनलाई सन्तान दिनुभयो।—उत्प. १५:३, ४; २१:५.

१० पर्खनु त्यति सजिलो छैन। (हितो. १३:१२) यदि हामी आफ्नो समस्यामा मात्र अचाक्ली घोरिरह्‍यौं भने झनै निराश हुनेछौं। त्यसैले आफूसित भएको समयको सदुपयोग गरेर आध्यात्मिक गुण खेती गर्नु बुद्धिमानी हुनेछ। कसरी त्यसो गर्न सक्छौं? तीन वटा तरिका विचार गर्नुहोस्‌।

११. हामीले कस्ता आध्यात्मिक गुणहरू विकास गर्नुपर्छ र त्यो किन महत्त्वपूर्ण छ?

११ आध्यात्मिक गुणहरू विकास गर्नुहोस्‌। हामीले परमेश्‍वरको वचन पढ्यौं र मनन गऱ्‍यौं भने ज्ञान, बुद्धि, अन्तर्दृष्टि, सही न्याय गर्ने, सोच्ने क्षमता अनि सुझबुझ जस्ता गुणहरू विकास गर्न सक्छौं। यहोवाको उपासनामा नेतृत्व लिनेहरूले यी गुणहरू झल्काउनै पर्छ। (हितो. १:१-४; ती. १:७-९) बाइबल आधारित प्रकाशनहरू पढ्यौं भने विभिन्‍न विषयमा परमेश्‍वरको सोचाइ बुझ्न सक्नेछौं। हामीले मनोरञ्जन, पहिरन तथा कोरीबाटी, पैसा प्रयोग गर्ने तरिका अनि अरूसित मिलेर बस्ने सन्दर्भमा दिनहुँ निर्णय गर्नुपर्ने हुन्छ। यस्ता विषयमा बाइबलबाट सिकेका कुराहरू लागू गर्दा यहोवालाई खुसी बनाउने तरिकामा निर्णय गर्न सक्छौं।

१२. मण्डलीका दाजुभाइ दिदीबहिनीले आफू भरोसायोग्य भएको कुरा कसरी देखाउन सक्छन्‌?

१२ आफूलाई भरोसायोग्य साबित गर्नुहोस्‌। हामी भाइ हौं वा बहिनी, आफूलाई सुम्पेको कुनै पनि जिम्मेवारी पूरा गर्न हामीले सक्दो प्रयास गर्नुपर्छ। राज्यपालको हैसियतमा नहेम्याहले परमेश्‍वरको जनहरूलाई कामको जिम्मा दिनुपरेको थियो। तिनले कस्तो व्यक्‍तिलाई छाने? तिनले परमेश्‍वरको डर मान्‍ने, भरोसायोग्य, अनि विश्‍वासी मानिसहरूलाई छाने। (नहे. ७:२; १३:१२, १३) आज पनि “भण्डारेहरूमा खोजिने कुरा के हो भने, उनीहरू विश्‍वासयोग्य हुनुपर्छ।” (१ कोरि. ४:२) तपाईंले गर्नुभएको असल काम कहिल्यै लुक्दैन।—१ तिमोथी ५:२५ पढ्‌नुहोस्‌।

१३. अरूले तपाईंसित अन्यायपूर्ण व्यवहार गर्दा कसरी यूसुफको अनुकरण गर्न सक्नुहुन्छ?

१३ आफूलाई यहोवाद्वारा खारिन दिनुहोस्‌। यदि अरूले तपाईंलाई अन्यायपूर्ण व्यवहार गरेमा तपाईं के गर्नुहुन्छ? सायद तपाईं तुरुन्तै समस्या सुल्झाउन खोज्नुहुन्छ होला। तर कहिलेकाहीं त्यसरी आफ्नो बचाउमा स्पष्टीकरण दिन खोज्दा समस्या झनै चर्किन सक्छ। यूसुफका दाइहरूले तिनलाई अन्यायपूर्ण व्यवहार गरे तापनि तिनले मनमा रिस पालेनन्‌। तिनलाई झूटो आरोप लगाइयो र तिनले जेल सजाय समेत भोग्नुपऱ्‍यो। तर त्यस्तो कठिन समयमा तिनले यहोवाको डोऱ्‍याइ खोजे। परिणाम कस्तो भयो? “परमप्रभुको वचनले उनलाई खाऱ्‍यो”। (भज. १०५:१९ TBS) ती कठिन अवस्था पार गरेपछि तिनी एउटा विशेष जिम्मेवारीको लागि योग्य भए। (उत्प. ४१:३७-४४; ४५:४-८) तपाईंले जीवनमा यस्तै कठिनाइहरू सामना गर्नुपर्दा प्रार्थना गरेर यहोवासित बल र बुद्धि माग्नुहोस्‌, नम्र र कोमल व्यवहार गर्नुहोस्‌, यहोवाले अवश्‍य तपाईंलाई मदत गर्नुहुनेछ।—१ पत्रुस ५:१० पढ्‌नुहोस्‌।

प्रचारकार्यमा उन्‍नति गर्नुहोस्‌

१४, १५. (क) हामीले कसरी सिकाइरहेका छौं, त्यसमा किन “होसियार” हुनुपर्छ? (ख) परिस्थितिअनुसार प्रचार गर्ने तरिका किन छाँटकाँट गर्नुपर्छ? (शीर्षकमाथिको तस्बिर र “नयाँ तरिकामा प्रचार गर्ने कि?” भन्‍ने पेटी हेर्नुहोस्‌)

१४ प्रेषित पावलले तिमोथीलाई यस्तो सुझाव दिए: “तिमी मानिसहरूसामु पवित्र लेखोटहरू पढ्‌ने अनि अर्ती दिने र सिकाउने काममा लागिरह। आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैं होसियार होऊ।” (१ तिमो. ४:१३, १६) हुन त तिमोथी अनुभवी प्रचारक भइसकेका थिए। तैपनि परमेश्‍वरको वचनबाट प्रभावकारी तरिकामा सिकाउन तिनी “होसियार” हुनुपर्थ्यो। किनभने मानिसहरूको अवस्था फरक-फरक हुने भएकोले मानिसहरूको मनसम्म पुग्नेगरि सिकाउन तिनले आफ्नो प्रस्तुतिमा छाँटकाँट गर्नुपर्थ्यो। हामीले पनि ठीक त्यस्तै गर्नुपर्छ।

१५ घर-घर प्रचार गर्दा हिजोआज मानिसहरू अक्सर घरमा भेटिंदैनन्‌। हाम्रो इलाकामा भएका कुनै-कुनै अपार्टमेन्ट अथवा हाउजिङ इलाकामा प्रवेश निषेध गरिएको हुन्छ। यदि तपाईंको इलाकामा पनि अवस्था यस्तै छ भने प्रचार गर्ने नयाँ तरिका अपनाउन सक्नुहुन्छ कि?

१६. सार्वजनिक साक्षीकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ?

१६ सार्वजनिक साक्षीकार्य सुसमाचार फैलाउने एउटा असाध्यै राम्रो तरिका हो। यो तरिका असाध्यै प्रभावकारी साबित भएको छ र हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनीहरूले यसबाट राम्रा नतिजा हासिल गरेका छन्‌। तिनीहरू रेल स्टेसन, बस पार्क, बजार-बजार र मानिसहरू भेटिने यस्तै विभिन्‍न सार्वजनिक इलाकामा गएर प्रचार गर्न समय मिलाउँछन्‌। विवेकी हुँदै प्रकाशकले हालै समाचारमा आएको कुनै विषयमा कुरा उठाएर, घरधनीको बच्चाहरूको प्रशंसा गरेर, अथवा तिनको कामबारे कुनै प्रश्‍न सोधेर कुरा सुरु गर्न सक्छन्‌। कुराकानी अघि बढाउँदै प्रकाशकले घरधनीको चासोअनुसार मिल्ने कुनै शास्त्रपदबाट छलफल गर्न सक्छन्‌। यसरी कुरा गर्दा बाइबलबाट अझ धेरै कुरा गर्ने बाटो खुल्न सक्छ।

१७, १८. (क) तपाईं कसरी ढुक्क भई सार्वजनिक साक्षीकार्यमा भाग लिन सक्नुहुन्छ? (ख) प्रचारकार्यमा भाग लिंदा तपाईं कसरी दाऊदको मनोभाव झल्काउन सक्नुहुन्छ?

१७ के तपाईंलाई सार्वजनिक साक्षीकार्यमा भाग लिन अप्ठ्यारो लाग्छ? त्यसो हो भने हरेस नखानुहोस्‌। न्यु योर्क सहरमा बस्ने अग्रगामी एडिलाई सार्वजनिक ठाउँमा मानिसहरूसित कुराकानी गर्न अप्ठ्यारो लाग्थ्यो। तर पछि तिनले विश्‍वस्त भई प्रचार गर्न सके। तिनलाई कुन कुराले मदत गऱ्‍यो? तिनी भन्छन्‌: “मानिसहरूले अक्सर सोध्ने गरेका प्रश्‍नहरू र तिनीहरूले व्यक्‍त गर्ने धारणाहरूबारे पारिवारिक उपासनामा म र मेरी श्रीमती अनुसन्धान गर्ने गर्छौं। अनि हामी अरू दाजुभाइ दिदीबहिनीहरूसित पनि सुझाव माग्ने गर्छौं।” अहिले तिनलाई अप्ठ्यारो लाग्दैन बरु उत्सुक हुँदै सार्वजनिक साक्षीकार्यमा भाग लिने दिनको प्रतीक्षा गर्छन्‌।

१८ समय बित्दै जाँदा तपाईंको सिकाउने तरिका अझ तिखारिनेछ र ढुक्क भई प्रचार गर्न सक्नुहुनेछ। यसरी तपाईंको आध्यात्मिक उन्‍नति सबैसामु प्रकट हुनेछ। (१ तिमोथी ४:१५ पढ्‌नुहोस्‌) अनि तपाईं पनि दाऊदले जस्तै ठूलो स्वरमा मायालु बुबा यहोवाको यसरी प्रशंसा गर्न उत्प्रेरित हुनुहुनेछ: “हर बखत म परमप्रभुलाई धन्यको भन्‍नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। परमप्रभुमा नै मेरो आत्माले घमन्ड गर्नेछ, नम्रहरू यो सुनेर खुसी हुनेछन्‌।” (भज. ३४:१, २) तपाईं लगनशील भई प्रचारकार्यमा लाग्दा अरू मानिसहरूले पनि सत्य सिक्ने मौका पाउनेछन्‌। अनि ती नम्र मानिसहरू पनि तपाईंसँगै साँचो उपासनामा भाग लिएको देख्न पाउनु कत्ति हर्षको कुरा!

आध्यात्मिक उन्‍नति गरेर परमेश्‍वरको महिमा गर्नुहोस्‌

१९. जस्तोसुकै गाह्रो अवस्था भए पनि यहोवाका वफादार साक्षीहरू किन खुसी हुन सक्छन्‌?

१९ दाऊदले यसरी यहोवाको प्रशंसा गाए: “तपाईंका सारा कार्यले तपाईंलाई धन्यवाद दिनेछन्‌, हे परमप्रभु, तपाईंका भक्‍त जनहरूले तपाईंलाई धन्यको भन्‍नेछन्‌, तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्‌ र तपाईंको शक्‍तिको कुरा गर्नेछन्‌। उहाँका शक्‍तिशाली कार्यहरू र उहाँका राज्यको शाही महिमा मानिसहरूका सन्तानलाई जनाउनेछन्‌।” (भज. १४५:१०-१२) दाऊदका यी शब्दहरूले यहोवाका सबै वफादार सेवकहरूको भावना व्यक्‍त गर्छ। तर रोगबिमार वा ढल्कँदो उमेरको कारण प्रचारकार्यमा चाहे जत्ति गर्न सक्नुभएको छैन भने नि? तपाईंले आफूलाई हेरविचार गर्नेहरू वा अरू कसैलाई प्रचार गर्न सकेजति कोसिस गर्दै हुनुहुन्छ होला, तपाईंको यस्तो प्रयासले यहोवाको महिमा गर्छ भन्‍ने कुरा सधैं मनमा राख्नुहोस्‌। विश्‍वासको खातिर जेल पर्नुभएको छ भने पनि परिस्थितिले दिएसम्म प्रचार गर्नुहुँदा त्यसले यहोवाको हृदयलाई आनन्दित तुल्याउँछ भनेर नबिर्सनुहोस्‌। (हितो. २७:११) साथै तपाईंको परिवारका सदस्यहरू साक्षी होइनन्‌ भने पनि तपाईंले यहोवाको सेवा गर्न अथक प्रयास गर्दा उहाँ खुसी हुनुहुन्छ। (१ पत्रु. ३:१-४) हो, गाह्रो अवस्थामा पनि तपाईं यहोवाको प्रशंसा गर्न र आध्यात्मिक उन्‍नति गर्न सक्नुहुन्छ।

२०, २१. यहोवाको सङ्‌गठनमा तपाईंलाई धेरै जिम्मेवारी सुम्पेको छ भने तपाईं कसरी अरूको लागि आशिष्‌ साबित हुन सक्नुहुन्छ?

२० तपाईंले निरन्तर आध्यात्मिक उन्‍नति गर्नुभयो भने यहोवाले निश्‍चय आशिष्‌ दिनुहुनेछ। आफ्नो तालिका वा जीवनशैलीमा थोरै छाँटकाँट गर्नुभयो भने प्रचारकार्यमा अझ धेरै भाग लिएर धेरै मानिसहरूलाई भविष्यको आशा बताउन सक्नुहुनेछ। साथै तपाईंले आध्यात्मिक उन्‍नति गर्दा अनि आत्मत्यागी मनोभाव देखाउँदा यसले हाम्रा दाजुभाइ दिदीबहिनीलाई धेरै लाभ पुऱ्‍याउनेछ। मण्डलीमा तपाईंले देखाउनुभएको नम्र मनोभावले गर्दा यहोवालाई माया गर्ने दाजुभाइ दिदीबहिनीहरूले तपाईंलाई माया, कदर, समर्थन गर्नेछन्‌।

२१ वर्षौंदेखि यहोवाको सेवा गरिरहेका होऔं वा भर्खरै साक्षी भएका होऔं हामी प्रत्येकले यहोवाको सेवामा उन्‍नति गर्न सक्छौं। तर परिपक्व ख्रीष्टियनहरूले नयाँहरूलाई आध्यात्मिक उन्‍नति गर्न कसरी मदत गर्न सक्छन्‌? त्यस विषयमा हामी अर्को लेखमा छलफल गर्नेछौं।

नयाँ तरिकामा प्रचार गर्ने कि?

भेनेजुएलामा बस्ने भेनेसिया नामकी बहिनीले यसो भनिन्‌: “फोनबाट साक्षी दिने कुरा त सोच्न पनि सक्दिनथें।” तर पछि तिनले चिनेजानेको एक जना दिदीलाई फोन गरिन्‌ र छोटकरीमा साक्षी दिइन्‌। ती दिदी बाइबलको कुरा बुझ्न राजी भइन्‌ र भेनेसियाले तिनीसित बाइबल अध्ययन सुरु गरिन्‌। पछि ती दिदीले बप्तिस्मा गरिन्‌। अहिले भेनेसिया भन्छिन्‌: “फोनबाट साक्षी दिनु पनि राम्रै रहेछ!”

लाइबेरियामा बस्ने पिटरले स्कुल जाँदा प्रायजसो हाम्रा प्रकाशनहरू पनि लाने गर्थे। कक्षाका साथीहरूले युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ? भन्‍ने पर्चा देखेपछि तिनीहरूलाई पनि त्यो पर्चा ल्याइदिन अनुरोध गरे। पिटरले ती साथीहरूसित त्यस पर्चाबाट कुराकानी गरे र सोधे: “तिमीहरू आफ्नो जीवनमा के गर्न चाहन्छौ?” एक जना साथीले भने: “म परमेश्‍वरको सेवा गर्न चाहन्छु।” त्यसपछि पिटरले तिनीसित बाइबल अध्ययन सुरु गरे।

स्वास्थ्य समस्याको कारण पोल्याण्डमा बस्ने दम्पतीले पत्रमार्फत साक्षी दिन थाले। पछि एक जना मान्छेले तिनीहरूलाई यस्तो जवाफ पठाए: “तपाईंहरूको पत्रले मेरो मनको घाउमा मलहम लगाएको छ। किनभने तीन वर्षअघि मेरी श्रीमतीको मृत्यु भयो; एक वर्षअघि मात्र दुर्घटनामा परेर मेरो छोरा बित्यो।” ती दम्पतीबाट पत्र पाएको निकै समयपछि एउटी महिलाले यस्तो जवाफ पठाइन्‌: “तपाईंहरूको पत्रले गर्दा सत्य कुरा बुझ्न सकें। माफ गर्नुहोला, दुई वर्षपछि पत्र लेख्दै छु। तर थाह छ! अहिले म तपाईंहरूकी ख्रीष्टियन बहिनी भइसकें।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने