किन आफ्नो वचन पूरा गर्नुपर्छ?
“एकदमै कम मात्र प्रतिज्ञा गर्ने मानिसलाई भोट खसाल्नुहोस्। त्यसो गर्नुभयो भने पछि त्यति निराश हुनु पर्नेछैन” भनी राष्ट्रपतिका सल्लाहकार बर्नाड बारुकले (हाल मरिसके) बताए। वर्तमान संसारमा वाचा तोड्नको निम्ति नै वाचा गरिन्छ जस्तो देखिन्छ। ती वाचाहरू चाहे विवाहवाचा, व्यापारिक मञ्जुरनामा वा बच्चाहरूसित बढी समय बिताउने प्रतिज्ञा नै किन नहोस्। “वचनका पक्का” भन्ने परम्परागत उक्तिलाई व्यापक रूपमा अवहेलना गरिन्छ।
निस्सन्देह कतिपय मानिसले आफ्नो वचन पूरा गर्ने विचारै गर्दैनन्। अरू कतिले चाहिं आफूले पूरा गर्न सक्ने हो कि नसक्ने हो, विचारै नगरी वाचा गर्छन् वा कतिचाहिं भनेको कुरा पूरा नगर्ने सजिलो बाटो रोज्छन्।
हो, अप्रत्याशित परिस्थितिहरू आइपर्दा आफ्नो वचन पूरा गर्न गाह्रो हुनसक्छ। तर के वचन तोड्दा साँच्चै केही हानि हुन्छ र? के तपाईंले आफ्नो वचनलाई गम्भीरतापूर्वक लिनुपर्छ? यस विषयलाई किन गम्भीरतापूर्वक लिनुपर्छ भन्ने सन्दर्भमा हामीले यहोवा परमेश्वरको उदाहरणलाई छोटकरीमा केलाएर मदत पाउनसक्छौं।
यहोवा आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ
हामी यस्तो परमेश्वरको उपासना गर्छौं जसको नाउँ नै उहाँका प्रतिज्ञाहरूसित जोडिएको छ। बाइबल समयमा अक्सर मानिसको नाउँले नै व्यक्तिको परिचय दिन्थ्यो। यहोवाको नाउँबारे पनि त्यस्तै भन्न सकिन्छ। उहाँको नाउँको अर्थ हो, “उहाँले गराउनुहुन्छ।” तसर्थ यो ईश्वरीय नाउँबाट परमेश्वरले आफ्ना प्रतिज्ञाहरू तथा उद्देश्य पूरा गर्नुहुन्छ भन्ने स्पष्ट हुन्छ।
यहोवाले आफ्नो नाउँको अर्थबमोजिम नै पुरातन राष्ट्र इस्राएलसित गर्नुभएको प्रत्येक प्रतिज्ञा पूरा गर्नुभयो। ती प्रतिज्ञाहरूको सन्दर्भमा राजा सुलेमानले यसो भने: “आफ्नो प्रजा इस्राएललाई आफूले प्रतिज्ञा गर्नुभएबमोजिम विश्राम दिनुहुने परमप्रभु धन्यका होऊन्। आफ्नो दास मोशाद्वारा गर्नुभएका प्रतिज्ञाहरूमध्येको एउटै प्रतिज्ञा पनि विफल भएको छैन।”—१ राजा ८:५६.
यहोवा भरोसायोग्य हुनुभएको कारण प्रेरित पावलले यस्तो तर्क गर्नसके: “परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा आफूभन्दा ठूलो अरू कुनैको नाउँमा शपथ हाल्न नपाएर आफ्नै नाउँमा . . . शपथ हाल्नुभयो।” (हिब्रू ६:१३) हो, यहोवाको नाउँ अनि व्यक्तित्वबाट नै स्पष्ट हुन्छ कि उहाँ आफूले ठूलो मोल चुकाउनु परे तापनि आफ्ना प्रतिज्ञाहरू पूरा गर्नदेखि पछि हट्नु हुन्न। (रोमी ८:३२) यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भन्ने तथ्य नै हाम्रो जीवन वा प्राणको निम्ति सबैभन्दा भरपर्दो आधार हुनसक्छ।—हिब्रू ६:१९.
यहोवाका प्रतिज्ञाहरू र हाम्रो भविष्य
हाम्रो आशा, विश्वास र जीवन नै यहोवाका प्रतिज्ञाहरू पूरा हुनुमा निर्भर छन्। हामी कुन आशालाई मूल्यवान् ठान्छौं? “[परमेश्वरको] प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बोटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्ने” कुरामा विश्वास गर्न पनि धर्मशास्त्रले हामीलाई आधार दिन्छ। (प्रेरित २४:१५) अनि हाम्रो जीवन यति मात्रै होइन भनी पक्का हुनसक्छौं। निस्सन्देह प्रेरित यूहन्नाले “हामीलाई गर्नुभएको प्रतिज्ञा” “अनन्त जीवन” नै थियो। (१ यूहन्ना २:२५) तर यहोवाको वचनमा पाइने प्रतिज्ञाहरू भविष्यमा हुने कुराहरू मात्र नभई हाम्रो वर्तमान जीवनमा पनि महत्त्वपूर्ण छ।
भजनहारले यसरी स्तुति गाए: “उहाँमा पुकारा गर्ने सबैका नजीक परमप्रभु हुनुहुन्छ, . . . उहाँले तिनीहरूको पुकारा पनि सुन्नुहुनेछ।” (भजन १४५:१८, १९) ‘दुर्बलहरूलाई बल दिने, र शक्तिहीनको शक्ति बढाइदिने’ आश्वासन दिने कुरा पनि उहाँले बताउनुभएको छ। (यशैया ४०:२९) अनि परमेश्वरले ‘मानिसको शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन तर सहनसकोस् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ’ भन्ने कुरा थाह पाउनु कत्ति सान्त्वनादायी छ! (१ कोरिन्थी १०:१३) हामीले व्यक्तिगत रूपमा यी प्रतिज्ञाहरू पूरा भएको अनुभव गरेका छौं भने यहोवामाथि पूर्णतया भरोसा राख्नसक्छौं भनी विश्वस्त हुनसक्छौं। यहोवाले गर्नुहुने र पूरा गर्नुहुने प्रतिज्ञाहरूलाई विचार गर्दा हामीले उहाँसमक्ष गरेका आफ्नो प्रतिज्ञाबारे कस्तो दृष्टिकोण राख्नुपर्छ?
परमेश्वरसितको हाम्रो वाचा पूरा गर्ने
हामीले परमेश्वरसित गर्नसक्ने सबैभन्दा महत्त्वपूर्ण वाचा निस्सन्देह उहाँप्रतिको समर्पण हो। यो कदम चालेर हामी सधैंभरि परमेश्वरको सेवा गर्न इच्छुक छौं भनी प्रदर्शित गरिरहेका हुनेछौं। परमेश्वरका आज्ञाहरू कडा नभए तापनि हामी यस दुष्ट रीतिरिवाजमा बाँचुञ्जेल सधैं उहाँको इच्छाअनुरूप गर्न सजिलो नहुनसक्छ। (२ तिमोथी ३:१२; १ यूहन्ना ५:३) तर हामीले एक चोटि ‘हाम्रो हात हलोमा हालेर’ यहोवाका समर्पित सेवकहरू तथा उहाँको पुत्र येशू ख्रीष्टका चेलाहरू भएपछि हामीले कहिल्यै यस संसारका कुराहरूलाई फर्केर हेर्नु हुँदैन।—लूका ९:६२.
यहोवालाई प्रार्थना गर्दा हामी आफ्ना कमजोरीहरू हटाउने, मसीही गुणहरू विकास गर्ने वा ईश्वरतान्त्रिक गतिविधिका केही पक्ष वृद्धि गर्ने वाचा बाँध्न उत्प्रेरित हौंला। यी वाचाहरू साँच्चै पूरा गर्न हामीलाई कुन कुराले मदत गर्नेछ?—उपदेशक ५:२-५ तुलना गर्नुहोस्।
निष्कपट प्रतिज्ञा हाम्रो भित्री हृदय तथा मनबाट निस्कन्छ। तसर्थ हाम्रो वाचा अझ बलियो बनाउन यहोवालाई हृदय खोलेर कुनै कुरा नलुकाई प्रार्थना मार्फत आफ्नो डर, इच्छा तथा कमजोरीहरू बताऔं। आफ्नो वाचाबारे प्रार्थना गर्दा त्यो नतोड्न झनै कटिबद्ध हुन मदत पाउनेछौं। हामीले परमेश्वरसित गरेको वाचालाई ऋणको रूपमा लिनसक्छौं। ऋण धेरै छ भने हामीले एकैचोटि एक मुष्ट तिर्न सक्दैनौं। त्यस्तै गरी हामीले परमेश्वरसित गरेका थुप्रै प्रतिज्ञाहरू पूरा गर्न समय लाग्नेछ। तर नियमित तवरमा हामीले उहाँको निम्ति सक्दो गर्दा हामी आफ्नो वचन पूरा गर्न इच्छुक छौं भनी प्रदर्शित गरिरहेका हुनेछौं र उहाँले हामीलाई त्यसैअनुरूप आशिष् दिनुहुनेछ।
हामीले आफ्नो वचनलाई गम्भीरतापूर्वक लिन्छौं भनी तीबारे बारम्बार या दिनहुँ प्रार्थना गरेर देखाउनसक्छौं। यसबाट हामीले आफ्नो स्वर्गमा हुनुहुने पितालाई हामी निष्कपट छौं भनेर देखाइरहेका हुनेछौं। हामीले तिर्नुपर्ने ऋणबारे दिनदिनै सम्झिरहेका हुनेछौं। यस सन्दर्भमा दाऊदले हाम्रो निम्ति असल उदाहरण बसालेका छन् भजनमा तिनले यहोवासित यस्तो बिन्ती गरे: “मेरो क्रन्दन सुन्नुहोस् हे परमेश्वर, मेरो प्रार्थनामा ध्यान लगाउनुहोस्। . . . यसैले दिनहुँ मेरा भाकलहरू पूरा गर्नलाई म तपाईंको नाउँको सदा सर्वदा प्रशंसा गर्नेछु।”—भजन ६१:१, ८.
वचन नतोड्दा हामीप्रति भरोसा बढ्छ
परमेश्वरसित गरिएको प्रतिज्ञालाई हल्कासित लिनु हुँदैन भने हामीले सँगी मसीहीहरूसित गरेको वचनलाई पनि हल्कासित लिन सक्दैनौं। हामीले यहोवासित एक प्रकारको व्यवहार र भाइहरूसित अर्कै प्रकारको व्यवहार गर्नु हुँदैन। (१ यूहन्ना ४:२० तुलना गर्नुहोस्।) येशूले डाँडाको उपदेशमा यसो भन्नुभयो: “तिमीहरूको वचन चाहिं, ‘हो भने, हो’ ‘होइन भने, होइन’ होस्।” (मत्ती ५:३७) ‘विश्वासका घरानातर्फ भलाइको काम गर्ने’ एउटा तरिका सधैं सत्य वचन बोलेर हो। (गलाती ६:१०) हामीले आफ्नो हरेक वचन पूरा गर्दा मानिसहरूको हामीप्रति भरोसा बढ्छ।
वाचा बाँध्दा पैसाको मामिला पनि समावेश छ भने झनै समस्या हुनसक्छ। ऋण तिर्ने, कुनै सेवा पुऱ्याउने वा व्यवसायिक मन्जुरीनामा पूरा गर्ने जे सुकै होस्, मसीहीले आफ्नो वचन पूरा गर्नुपर्छ। यसो गर्दा परमेश्वर प्रसन्न हुनुहुनेछ र भाइहरू “आपसमा एकतामा भएर” बस्न अत्यावश्यक तत्त्व, आपसी भरोसा पनि बढ्छ।—भजन १३३:१.
तथापि, सम्झौताहरूअनुसार गर्न असक्षम हुँदा अक्सर मण्डलीको साथै यसमा विथोलित व्यक्तिविशेषलाई हानि पुऱ्याउनसक्छ। एक परिभ्रमण निरीक्षकले यस्तो टिप्पणी गरे: “अर्को पक्षले व्यापारिक सम्झौता पूरा नगरेको ठान्नुजस्ता व्यापारिक मतभेद अक्सर सार्वजनिक हुन आउँछ। फलस्वरूप भाइहरूमा फाटो हुन्छ अनि राज्यभवनको वातावरण नै तनाउपूर्ण हुन्छ।” हामीले गर्ने सम्झौताहरूबारे होसियारीसाथ विचार गर्नु र ती सबै लिखित रूपमा राख्नु अत्यन्तै महत्त्वपूर्ण छ!a
महँगो चीजको बेचबिखन वा कसैलाई कतै लगानी गर्ने सल्लाह दिनुअघि र अझ विशेष गरी त्यस्तो लेनदेनबाट आफूलाई व्यक्तिगत रूपमा फाइदा हुन्छ भने अझ होसियार हुनुपर्छ। त्यस्तै गरी, केही चीजहरू वा स्वास्थ्यसम्बन्धी सामग्रीहरू असाध्यै राम्रो छ भनी बढाइचढाइ गर्न वा लगानी गर्दा फाइदा हुन्छ भनी भए नभएको गफ नलगाउन होसियार हुनुपर्छ। केही खतराहरू समावेश छन् भने स्पष्टसित बताउन सँगी मसीहीहरूप्रति प्रेमले उत्प्रेरित हुनुपर्छ। (रोमी १२:१०) थुप्रै भाइहरू व्यापारमा कम अनुभवी भएको हुँदा तिनीहरूले हाम्रो सल्लाह पत्याउँछन् किनभने हाम्रो विश्वास एउटै छ। यस्तो आपसी भरोसालाई धोका दिनु कत्ति दुःखदायी हुनेछ!
मसीहीहरूको हैसियतमा हामीले व्यापारमा बेइमान गर्ने वा अरूको वैध अधिकारलाई बेवास्ता गर्ने गर्नु हुँदैन। (एफिसी २:२, ३; हिब्रू १३:१८) ‘यहोवाको बासस्थानमा’ उहाँको अनुग्रह पाउन हामी भरोसायोग्य हुनुपर्छ। ‘आफ्नो हानि हुँदा पनि किरिया खाएर हामी कुरा बद्लदैनौं।’—भजन १५:१, ४.
इस्राएलका न्यायकर्ता यिप्तहले परमेश्वरले अम्मोनीहरूमाथि विजय हासिल गराइदिनुभयो भने युद्धपछि होमबलिको रूपमा तिनलाई तिनको घरबाट भेट्न आउने पहिलो व्यक्ति दिने वाचा बाँधे। घरबाट निस्कने पहिलो व्यक्ति यिप्तहको एक मात्र सन्तान परिन्। तर तिनले आफ्नो वाचा तोडेनन्। आफ्नी छोरीको पूर्ण सहमतिमा तिनले यहोवाको मन्दिरमा तिनलाई सेविकाको रूपमा चढाए। यो बलि निश्चय पनि थुप्रै पक्षबाट पीडादायी भएको हुनुपर्छ।—न्यायकर्त्ता ११:३०-४०.
विशेष गरी मण्डलीका निरीक्षकहरूले आफ्ना सम्झौताहरू पालन गर्नु महत्त्वपूर्ण छ। पहिलो तिमोथी ३:२ अनुसार निरीक्षक “निर्दोष” हुनुपर्छ। निर्दोष अर्थ बुझाउने युनानी शब्दले “दोषी ठहऱ्याउन नमिल्ने, कलंकरहित र निन्दारहित” भन्ने बुझाउँछ। यसले “त्यस मानिसको असल नाउँ मात्र भएको होइन तर तिनी त्यसको योग्य पनि छन् भनी संकेत गर्छ।” (युनानी नयाँ नियमको लागि भाषीय आधार) निरीक्षक, निर्दोष हुनुपर्ने भएकोले तिनका वाचाहरू पत्याउन सक्ने हुनुपर्छ।
हाम्रो वचन पूरा गर्ने अन्य तरिका
हामीले मसीही भाइबहिनीबाहेक अन्य मानिसहरूसित गरेको वचनप्रति कस्तो विचार राख्नुपर्छ? येशूले यसो भन्नुभयो: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।” (मत्ती ५:१६) आफ्नो वचन पूरा गर्नुलाई गम्भीरतापूर्वक लिन्छौं भनेर देखाउँदा हामीले मसीही सन्देशप्रति पनि अरूलाई आकर्षित गरिरहेका हुनेछौं। संसारभरि इमानदारितामा ह्रास आए तापनि अधिकांश मानिसहरूले अझै निष्ठालाई मान्यता दिन्छन्। परमेश्वर र छिमेकीप्रतिको प्रेम प्रदर्शित गर्ने र धार्मिकताका प्रेमीहरूलाई आकर्षित गर्ने एउटा तरिका आफ्नो वचन पूरा गरेर हो।—मत्ती २२:३६-३९; रोमी १५:२.
यहोवाका साक्षीहरूले १९९८ सेवा वर्षको दौडान परमेश्वरको राज्यबारे जनसमक्ष घोषणा गर्न एक अरबभन्दा बढी घण्टा बिताए। (मत्ती २४:१४) हामीले व्यापारिक लेनदेन वा अन्य मामिलाहरूमा आफ्नो वचन नराखेको कारण कतिपय मानिसहरूले हाम्रो सुसमाचारप्रति कुनै चासो देखाएनन् होला। हामी सत्यको परमेश्वरको प्रतिनिधित्त्व गर्छौं, त्यसैले मानिसहरू हामी इमानदार भएको आशा गर्नु जायजै हो। हामी विश्वासयोग्य र इमानदार भएर “परमेश्वर हाम्रा उद्धारकर्त्ताको सिद्धान्तको शोभा” बढाउँछौं।—तीतस २:१०.
हाम्रो सेवकाईमा राज्य सन्देशप्रति चासो देखाएकाहरू कहाँ पुनःभेटको निम्ति गएर पनि हामीले आफ्नो वचन राख्नसक्छौं। फेरि आउने छु भनेका छौं भने हामी जानुपर्छ। ‘मानिसलाई औकात भएसम्म दया देखाउने’ एउटा तरिका फेरि आउँछु भनेको ठाउँमा गएर हो। (हितोपदेश ३:२७) यस विषयमा एउटी बहिनीले यसो भनिन्: “फेरि आउँछु भनेर गएका कतिपय साक्षीहरू आउँदै आएनन् भनेर मैले कतिपय जिज्ञासु व्यक्तिहरूले गुनासो गरेको सुनेको छु। हो, त्यहाँ पुनः जाँदा घरधनी नभएको वा कारणवश पुनः जान नसकिरहेको हुनसक्छ। तर कसैले मेरोबारे त्यसो भनेको म चाहँदिनँ। त्यसैले मानिसहरूलाई फेरि घरमा भेट्न म सक्दो प्रयास गर्छु। मैले कसैलाई आउँछु भनेर गइनँ भने यहोवा र सम्पूर्ण भाइहरूको नै बदनाम हुन्छ जस्तो लाग्छ।”
कुनै कुनै अवसरमा हामीले भेटेको घरधनीलाई वास्तवमा चासो छैन जस्तो लागेर पुनः नजाऔं जस्तो लागेको हुनसक्छ। सोही बहिनी यसो भन्छिन्: “म अर्को व्यक्तिको कत्तिको चासो छ भनी अड्कल काट्ने गर्दिनँ। मेरो आफ्नै अनुभवले प्रायः पहिला लागेको कुरा अक्सर गलत हुन्छ भनी बुझेकी छु। हरेक व्यक्ति सम्भावित भाइ वा बहिनी ठानेर म सकारात्मक हुने कोसिस गर्छु।”
मसीही सेवकाई तथा अन्य कतिपय इलाकाहरूमा हामीले आफ्नो वाचालाई गम्भीरतापूर्वक लिन्छौं भनी देखाउनुपर्छ। हो, कतिपय कुराहरू भन्नु जत्तिको गर्नु सजिलो छैन। एक बुद्धिमान् पुरुषले यसो भने: “धेरै मानिसहरू भक्त हुँ भनी प्रचार गरिहिंड़छन्, तर भरपर्दो मानिस कहाँ पाउनसकिन्छ र?” (हितोपदेश २०:६) दृढ अठोटले हामी विश्वासयोग्य र वचनको पक्का हुनसक्छौं।
परमेश्वरबाट प्रचुर आशिष्हरू
जानाजानी झूटो वचन दिनु बैंकमा पैसा नभए पनि चेक काट्नु सरह हुन्छ। तर आफ्नो वचन राख्दा प्रशस्त इनाम तथा आशिष्हरू पाउनसक्छौं! भरोसायोग्य हुँदा पाइने एउटा आशिष्, सफा अन्तस्करण हो। (प्रेरित २४:१६ तुलना गर्नुहोस्।) ग्लानिका भावनाहरूले घोचिरहनुको सट्टा हामीले सन्तुष्ट र शान्त महसुस गर्नसक्छौं। यसबाहेक आफ्नो वचन राख्दा हामीले मण्डलीको एकतामा योगदान पुऱ्याइरहेका हुनेछौं जुन आपसी भरोसामा आधारित हुन्छ। हाम्रो “सत्य वचन[ले]” हामीलाई परमेश्वरको सेवकको रूपमा सिफारिस गरिरहेको हुन्छ।—२ कोरिन्थी ६:३, ४, ७.
यहोवा आफ्नो वचनको पक्का हुनुहुन्छ र उहाँ “झूट बोल्ने जिब्रो” घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६, १७) हाम्रो स्वर्गमा हुनुहुने पिताको अनुसरण गर्दा हामी उहाँसित घनिष्ठ भइरहेका हुनेछौं। अतः आफ्नो वचन नतोड्न हामीसित पर्याप्त कारण छ।
[फुटनोट]
a फेब्रुअरी ८, १९८३ अंकको (अंग्रेजी) झनुहोस्!-को पृष्ठ १३-१५ मा “लिखित रूपमा राख्ने” लेख हेर्नुहोस्।
[पृष्ठ १०-मा भएका चित्रहरू]
आफ्नो प्रतिज्ञा पूरा गर्नु पीडादायी भए तापनि यिप्तहले पूरा गरे
[पृष्ठ ११-मा भएका चित्रहरू]
फेरि आउँछु भन्नुभएको छ भने राम्रोसित तयारी गरेर अवश्य जानुहोस्