प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ९/१५ pp. ३-७
  • गरिब भएर पनि धनी—यो कसरी हुनसक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गरिब भएर पनि धनी—यो कसरी हुनसक्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पुरातन समयका विश्‍वासी जनहरू
  • इमानदार भइरहने
  • नैराश्‍यको बादल हटाउने
  • प्रार्थनाको शक्‍ति
  • बाइबल अध्ययनको महत्त्व
  • अनन्त जीवनको लागि छोराछोरीलाई प्रशिक्षण दिने
  • दिने मनोवृत्ति
  • मेहनती हुने
  • यहोवाले आफ्ना जनहरूलाई सँभाल्नुहुन्छ
  • सुदिन फर्किंदैछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • चाँडै, कोही गरिब हुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • गरिबी मुक्‍त संसार नजिकै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • येशूको उदाहरण पछ्याउनुहोस्‌ र गरिबहरूलाई चासो देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ९/१५ pp. ३-७

गरिब भएर पनि धनी—यो कसरी हुनसक्छ?

शताब्दीयौंअघि एक बुद्धिमान्‌ मानिसले गरिब हुन नपरोस्‌ भनेर प्रार्थना गरे। त्यसरी बिन्तीभाउ किन बिसाएको? किनभने, गरिब भइहालेमा परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई छताछुल्ल पार्नसक्ने मनोवृत्ति तथा कार्यहरू हुने हुन्‌ कि भनी तिनी डराए। यो कुरा तिनकै यी शब्दहरूबाट प्रस्ट हुन्छ: “मलाई चाहिंदो भोजन मात्र जुटाइ दिनुहोस्‌। . . . यदि म दरिद्र भएँ भने, म चोर्न लागूँला, र परमेश्‍वरको नाउँमा कलंक लगाउँला।”—हितोपदेश ३०:८, ९.

के यसको अर्थ गरिब व्यक्‍तिले वफादार भई परमेश्‍वरलाई सेवा चढाउन सक्दैनन्‌? यसो कदापि होइन! इतिहास साक्षी छ, परमेश्‍वरका थुप्रै जनहरूले गरिबीको चोट सहनु परे तापनि निष्ठा कायम गरेका छन्‌। बदलामा यहोवाले आफूमाथि भरोसा गर्नेहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूका निम्ति चाँजोपाँजो मिलाई दिनुहुन्छ।

पुरातन समयका विश्‍वासी जनहरू

प्रेरित पावलले पनि भौतिक खाँचोको तीतो अनुभव नगरेका होइनन्‌। (२ कोरिन्थी ६:३, ४) तिनले मसीही समयअघिका विश्‍वासी साक्षीहरूको ‘मेघबारे’ पनि बताए। तिनीहरूमध्ये कतिले “भेडा र बाख्राका छालाहरू लगाए, गरिबी भई क्लेश र दुःख पाए र . . . मरूभूमि, पहाडहरू, गुफाहरू र पृथ्वीका ओढारहरूहुँदो घुमिहिंड्‌नुपऱ्‍यो।”—हिब्रू ११:३७, ३८; १२:१.

यी विश्‍वासी जनहरूमध्ये भविष्यवक्‍ता एलिया पनि थिए। साढे तीन वर्षसम्म खडेरी पर्दा यहोवाले तिनलाई खानेकुरा जुटाई नै रहनुभयो। प्रथमतः परमेश्‍वरले ती भविष्यवक्‍ताको लागि रोटी र मासु ल्याइदिन कागहरूलाई खटाउनुभयो। (१ राजा १७:२-६) पछि, यहोवाले चमत्कारद्वारा पीठो र तेलको प्रबन्ध गर्नुभयो र त्यसैबाट एक विधवीले एलियाको निम्ति खानेकुरा बनाइरहिन्‌। (१ राजा १७:८-१६) खानेकुरा रूखोसूखो भए तापनि ती भविष्यवक्‍ता, विधवा स्त्री र तिनको छोराको ज्यान बच्यो।

त्यस्तैगरि, यहोवाले विश्‍वासी भविष्यवक्‍ता यर्मियालाई आर्थिक कठिनाइको समयमा सँभाल्नुभयो। बेबिलोनीहरूले यरूशलेमलाई घेरा हाल्दा अरू मानिसले चाहिं “जोखी जोखीकन चिन्तित भई” रोटी खानुपऱ्‍यो तर यर्मियाले भने हातमुख जोर्न पाए। (इजकिएल ४:१६) अन्ततः, शहरमा यति बिघ्न अनिकाल पऱ्‍यो, भनेर साध्यै छैन! कतिपय आइमाईहरूले आफ्नै बच्चाको मासु खाए। (विलाप २:२०) छाती फुकाएर प्रचार गरेको कारण यर्मिया थुनामा परे। त्यस्तो बेलामा समेत यहोवाले तिनलाई “शहरका जम्मै रोटी नसकूञ्जेलसम्म” दिनहुँ “एउटा एउटा रोटी” दिइरहनुभयो।—यर्मिया ३७:२१.

एलियाले जस्तै यर्मियाले पनि खानेकुरा छेलोखेलो खान पाएनन्‌। यरूशलेममा रोटी सिद्धिएपछि यर्मियाले के वा कसरी खाए, त्यसबारे धर्मशास्त्रले हामीलाई बताएको छैन। यद्यपि, यहोवाले तिनलाई सँभाल्नुभयो र अनिकालको त्यस डरलाग्दो घडीमा पनि तिनले एक मुठी सास जोगाउन सके भनेर हामीलाई थाह छ।

गरिबीले पाइला नटेकेको ठाउँ आज संसारमा छँदैछैन। संयुक्‍त राष्ट्रको भनाइअनुसार, गरिबीको सबैभन्दा धेरै जगजगी अफ्रिकामा मच्चिएको पाइएको छ। सन्‌ १९९६ मा प्रकाशित संयुक्‍त राष्ट्रको प्रेस वक्‍तव्य यस्तो थियो: “कम्तीमा आधा जति अफ्रिकीहरू गरिबीले पिल्सिएका छन्‌।” आर्थिक स्थिति झन्‌ झन्‌ खराब हुँदै गए तापनि बढ्‌दो संख्यामा अफ्रिकीहरूले आफ्नो जीवनमा बाइबल सिद्धान्तहरू पालन गरिरहेका छन्‌ र तिनीहरूले वफादार भई परमेश्‍वरलाई सेवा चढाइरहेका छन्‌। उहाँले सँभाल्नुहुनेछ भन्‍ने कुरामा तिनीहरूलाई रत्तिभर शंका छैन। आउनुहोस्‌, हाम्रो संकटग्रस्त संसारको एक कुनाबाट प्राप्त केही उदाहरणहरू विचार गरौं।

इमानदार भइरहने

माइकलa नाइजेरियामा बस्छन्‌। तिनी किसान हुन्‌ र तिनले ६ जना छोराछोरीको पालनपोषण गर्नुपर्छ। तिनी भन्छन्‌, “आफ्नो परिवारको देखभाल गर्न फुट्टीकौडी नहुँदा इमानदारीको पगरी गुँथ्नु गाह्रै पर्दो रहेछ। तथापि, बेइमान हुनु मन लाग्दा म एफिसी ४:२८ का कुराहरू सम्झन्छु: ‘चोर्नेले फेरि नचोरोस्‌, बरु त्यसले परिश्रम गरोस्‌, र जे असल छ, सो आफ्नै हातले गरोस्‌।’ त्यसैकारण, प्रलोभनमा पर्दा म आफूलाई सोध्छु, ‘के यो मेरो पसिनाको मोल हो त?’ ”

माइकल अझ भन्छन्‌, “उदाहरणका लागि, एक दिन लखरलखर हिंडिरहेको थिएँ कि मेरै छेउबाट हुइँकिंदै गएको मोटरसाइकलबाट फ्यात्त ब्याग खसेको देखें। रोक्नै नपाई त्यो मोटरसाइकल आँखाबाट ओझेल भइहाल्यो। ब्याग टिपेर हेरें, टन्‍नै पैसा थियो! ब्यागभित्रको परिचयपत्र हेरेर त्यसको मालिक फेला पारें अनि त्यो ब्याग फिर्ता दिएँ।”

नैराश्‍यको बादल हटाउने

उत्तर अफ्रिकाका एक व्यक्‍तिले भने: “गरिब हुनु भनेको गहिरो खाडलमा पर्नु [जस्तै] हो, जहाँबाट माथि हेर्दा उज्यालो र मानिसहरू यताउता हिंडिरहेका त देख्न सकिन्छ तर त्यहाँबाट नता मदत माग्न सकिन्छ न निक्लने भऱ्‍यांग नै पाउन सकिन्छ।” अतः, गरिबीले गर्दा जीवनमा निराशा र खिन्‍नता छाउनु स्वाभाविकै हो! परमेश्‍वरका जनहरूले समेत अरूको धनसम्पत्ति देख्लान्‌ र निष्ठा कायम गर्नु बेकार रहेछ भनेर सोच्न थाल्लान्‌। (भजन ७३:२-१३ तुलना गर्नुहोस्‌।) यस्ता विचारहरू कसरी हटाउने?

पश्‍चिम अफ्रिकाका पीटरले १९ वर्षसम्म सरकारी सेवा गरेपछि अवकाश पाए। अहिले तिनी जे जति भत्ता पाउँछन्‌, त्यसैबाट जीवन धान्छन्‌। पीटर बताउँछन्‌, “नैराश्‍यको आँसु पिउनुपर्दा बाइबल र वाच टावर सोसाइटीका प्रकाशनहरूमा पढेका कुराहरू सम्झने गर्छु। यो पुरानो रीतिरिवाज दुइ दिनको त हो, त्यसपछि हामी उत्तम रीतिरिवाजमा चाँडै प्रवेश गर्नेछौं।

“त्यसबाहेक, म १ पत्रुस ५:९ बारे पनि सोच्ने गर्छु: ‘तिमीहरू आफ्नो विश्‍वासमा दह्रो भएर यस संसारमा भएका तिमीहरूका दाज्यु-भाइहरूले पनि यही कष्ट भोगिरहेका छन्‌ भन्‍ने जानेर त्यसको [शैतानको] विरोध गर।’ त्यसैकारण, त कठिनाइहरू भोग्ने म मात्र होइन रहेछु। यसरी आफूलाई झकझकाउँदा हतोत्साहित र निराश पार्ने विचारहरू मनबाट फुत्त निकाल्ने मदत पाउँछु।”

पीटर अझ भन्छन्‌, “त्यसबाहेक, येशूले पृथ्वीमा हुनुहुँदा थुप्रै चमत्कारहरू गर्नुभए तापनि कसैलाई धनी बनाउनुभएन। त्यसोभए, उहाँले मलाई धनी बनाओस्‌ भनेर मैले किन आशा गर्ने?”

प्रार्थनाको शक्‍ति

नकारात्मक विचारलाई त्याग्ने अर्को तरिका प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुनु हो। सन्‌ १९६० मा मेरी यहोवाकी साक्षी बनेपछि परिवारको आँखाको कसिंगर भइन्‌। अहिलेसम्म तिनी अविवाहित र ५० वसन्त पार गरिसकेकी छिन्‌। साथै कमजोर छिन्‌ र तिनीसित भौतिक सम्पत्ति छैन भने पनि हुन्छ। तैपनि, मसीही सेवकाईमा तिनी जोशिलो छिन्‌।

मेरी बताउँछिन्‌: “निराश हुँदा यहोवालाई प्रार्थना गर्छु। उहाँले जत्तिको मदत अरू कसैले गर्न सक्दैन भनेर मलाई थाह छ। यहोवामा भरोसा राख्दा उहाँले मदत दिनुहुन्छ भनेर मैले अनुभव गरेकी छु। भजन ३७:२५ मा लिपिबद्ध राजा दाऊदका यी शब्दहरू म सधैं मनमा सम्झने गर्छु: ‘जवान थिएँ, र म अहिले बूढो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।’

“प्रहरीधरहरा-मा दिइएका बूढाबूढी भइसकेका आध्यात्मिक भाइबहिनीहरूका अनुभवबाट पनि म हौसला पाउँछु। यहोवा परमेश्‍वरले तिनीहरूलाई मदत दिनुभयो। त्यसोभए, उहाँले मलाई पनि मदत गर्नुहुनेछ भनेर मलाई थाह छ। फुफु [कन्दमूलबाट बनाएको खानेकुरा] बेच्ने मेरो पेशामा उहाँले आशिष्‌ दिनुहुन्छ र दैनिक खाँचोहरू टार्नसक्छु। कहिलेकाहीं एक पैसा पनि नभएकोले के गर्ने हो भनेर सोचमा डुबिरहेको हुन्छु, ठीक त्यति नै बेला यहोवाले मलाई मदत गर्न कुनै न कुनै व्यक्‍ति पठाउनुहुन्छ र तिनी मकहाँ आएर ‘बहिनी, कृपया यो लिनुहोस्‌’ भन्दै उपहारस्वरूप पैसा थमाइदिन्छन्‌। यहोवाले मलाई कहिल्यै निराश बनाउनुभएको छैन।”

बाइबल अध्ययनको महत्त्व

यहोवाका साक्षीहरू गरिब हुन्‌ या धनी, परमेश्‍वरको वचन, बाइबल अध्ययन गर्नुलाई महत्त्वपूर्ण ठान्छन्‌। साठी वर्षीय जोन अग्रगामी (पूर्ण-समय राज्य प्रचारक) र मण्डलीमा सेवकाई सेवकको हैसियतमा सेवारत छन्‌। तिनी बस्ने दुइतल्ले थोत्रो घरमा १३ परिवार बस्छन्‌। पहिलो तल्लाको मटानमा काठले बारेर तिनको कोठा बनाइएको छ। त्यहाँ दुइटा पुरानो मेच तथा एउटा टेबल छ र त्यस टेबलभरि बाइबल अध्ययन सहायक पुस्तकहरू छन्‌। तिनी गुन्द्री बिछ्याएर सुत्छन्‌।

जोनले पाउरोटी बेचेर दिनमा लगभग एक अमेरिकी डलर कमाउँथे। तर गहुँको आयातमा प्रतिबन्ध लागेपछि तिनको जीविकोपार्जन गर्ने माध्यम पनि ठप्प भयो। तिनी भन्छन्‌: “जीवन धान्‍नु मलाई साह्रै धौधौ परेको छ तर अग्रगामी गर्न भने छाड्‌दिनँ। यहोवाले नै मलाई सँभाल्नुहुन्छ। म जे काम पनि गर्छु अनि मण्डलीका भाइहरू निकै मदतकारी भए तापनि मदत वा खानेकुराको लागि कुनै मानिसमाथि भर पर्दिनँ। भाइहरूले मलाई जागिर खोज्न मदत दिन्छन्‌ र कहिलेकाहीं पैसा पनि दिन्छन्‌।

“म बाइबल र वाच टावर सोसाइटीका प्रकाशनहरू पढ्‌न समय निकाल्छु। म घरमा बिहान सबेरै चकमन्‍न भएको बेला अध्ययन गर्छु र बत्ती आएको राती पनि पढ्‌ने गर्छु। मलाई थाह छ, मैले व्यक्‍तिगत अध्ययन गरिरहनुपर्छ।”

अनन्त जीवनको लागि छोराछोरीलाई प्रशिक्षण दिने

दानियल एक विधुर हुन्‌ र तिनका छ जना छोराछोरी छन्‌। सन्‌ १९८५ मा तिनले २५ वर्षदेखि गर्दै आएको जागिरबाट हात धुनुपऱ्‍यो। तर तिनले स्टोरकिपरको अर्को काम पाए। तिनी भन्छन्‌, “परिवारको आर्थिक स्थिति भनेर साध्यै छैन। अहिले हामी दिनमा एक छाक मात्र खान्छौं। एक पटक हामीले तीन दिनसम्म मुखमा पानीबाहेक केही हालेनौं। बाँच्ने सहारा त्यही एउटा थियो।”

दानियल मण्डलीका प्राचीन हुन्‌। तिनी भन्छन्‌, “मसीही सभाहरू नियमित धाउँछु र ईश्‍वरतान्त्रिक जिम्मेवारीहरूमा तल्लीन भइरहन्छु। राज्यभवनको काममा जहिले पनि भाग लिने निधो गर्छु। अनि परिस्थिति कठिन हुँदा पत्रुसले येशूलाई भनेका शब्दहरू सम्झन्छु, जुन यूहन्‍ना ६:६८ मा लिपिबद्ध छन्‌: ‘हे प्रभु, हामी कसकहाँ जाऔं?’ यहोवाको सेवा गर्न छाडेर कसकहाँ जाऊँ? रोमी ८:३५-३९ मा लिपिबद्ध पावलका शब्दहरूले पनि मलाई ढलपल नभई बस्न मदत दिन्छन्‌ किनभने परमेश्‍वर र ख्रीष्टको प्रेमबाट हामीलाई कुनै कुराले अलग्याउन सक्दैन भनेर त्यहाँ देखाइएको छ। यही मनोवृत्ति म मेरा छोराछोरीको हृदयमा रोप्न चाहन्छु। यहोवालाई कहिल्यै त्याग्नु हुँदैन भनेर म तिनीहरूलाई बारम्बार भनिरहन्छु।” दानियलको जोश र नियमित पारिवारिक बाइबल अध्ययनले तिनका छोराछोरीको मनमा सकारात्मक प्रभाव पारेको छ।

दिने मनोवृत्ति

कसैले यसो पनि सोच्लान्‌, असाध्यै गरिबीले थिचिएकाहरूले राज्य गतिविधिलाई अघि बढाउनमा वित्तीय योगदान दिन सक्दैनन्‌। तर यो साँचो होइन। (लूका २१:१-४ तुलना गर्नुहोस्‌।) घानाका कतिपय साक्षीहरूको मुख्य पेशा नै खेतीपाती हो र तिनीहरूले परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई गति दिन आफ्नो जमीनको केही अंश छुट्याउँछन्‌। त्यस अंशको उब्जनीबाट बेचेर आएको सबै पैसा यहोवाका साक्षीहरूको स्थानीय राज्यभवनमा चन्दा दिनुलगायत राज्यसम्बन्धी अन्य गतिविधिमा खर्च गर्छन्‌।

जोन मध्य अफ्रिकामा बस्छिन्‌ र तिनी अग्रगामी हुन्‌। पक्षाघात भएको पति र अरू चार जनाको देखभाल गर्न तिनी पाउरोटी बेच्छिन्‌। तिनी धाउने मण्डलीको राज्यभवनमा मेचको दरकार पर्दा जोनको परिवारले घरमा भएको सबै पैसा चन्दा दिने निर्णय गऱ्‍यो। त्यसो गर्दा तिनीहरूसित एक पैसा पनि रहेन। तथापि, भोलिपल्ट चिताउँदै नचिताएको घटना भयो। कहिले लगेको ऋण तिर्न एक व्यक्‍ति आए र सो तिरे। त्यो पैसाको त तिनीहरूले माया मारिसकेका थिए!

जोन खुशी छिन्‌ र पैसाको लागि अनावश्‍यक फिक्री गर्दिनन्‌। “गुज्रनुपरेको परिस्थितिबारे म यहोवालाई प्रार्थनामा बताउँछु र त्यसपछि क्षेत्र सेवकाईमा जान्छु। यस रीतिरिवाजमा सबै कुरा राम्रै होला भन्‍ने आशा राख्न सक्दैनौं भनेर हामीलाई थाह छ। यद्यपि, यहोवाले हाम्रो खाँचोहरू टार्नुहुनेछ भनेर बुझेका छौं।”

मेहनती हुने

एकअर्कालाई प्रेम गर्छन्‌ भनेर यहोवाका साक्षीहरू चिरपरिचित छन्‌। (यूहन्‍ना १३:३५) हुनेखानेहरूले खाँचोमा परेका आफ्ना सँगी मसीहीहरूलाई मदत दिन्छन्‌। अक्सर यो मदत उपहार वा रोजगारको रूपमा आउँछ।

कंगोमा बस्ने मार्क, कोरले ग्रस्त छन्‌। तिनका हातखुट्टाका औंलाहरू कोरले खाइसकेका छन्‌। तसर्थ, तिनी बैसाखीको भरमा हिंड्‌छन्‌। मार्कले यहोवाको सेवा गर्ने निर्णय गरेपछि जीवनमा ठूलठूला परिवर्तन गर्न थाले। अघिझैं मागी हिंड्‌नुको साटो आफैमा भर पर्न थाले। तिनले काँचो इँटा पनि बनाएर बेचे।

शारीरिक असमर्थताको बावजूद मार्कले मेहनतकासाथ काम गरिरहे। अन्तमा तिनले एक टुक्रा जमीन किने र साधारण घर बनाए। अहिले मार्क मण्डलीका प्राचीन हुन्‌ र तिनी बस्ने शहरका हरेकले तिनको खुबै कदर गर्छन्‌। हिजोआज तिनी खाँचोमा परेका अरूलाई सहयोग गर्छन्‌।

हो, कतिपय ठाउँमा जागिर पाउनै मुश्‍किल छ। मध्य अफ्रिकास्थित वाच टावर सोसाइटीका शाखा कार्यालयहरूमध्ये एउटामा सेवारत एक मसीही प्राचीनले यसो लेखे: “थुप्रै भाइहरूको यहाँ जागिर छैन। कतिले आफै काम निकाल्ने कोसिस गर्छन्‌ तर त्यो सजिलो छैन। आफूले जे नै गरे पनि पीडा भोग्नै पर्ने भएकोले अग्रगामी सेवा गरेर भौतिक सुखसुविधाहरूप्रति आँखा चिम्लने विचार थुप्रैले गरेका छन्‌। त्यसो गर्दा तिनीहरूमध्ये थुप्रैले तलबै नपाउने वा कम तलब पाउने जागिरबाट भन्दा प्रशस्तगरि आशिष्‌ पाएको अनुभव गरेका छन्‌।”

यहोवाले आफ्ना जनहरूलाई सँभाल्नुहुन्छ

येशू ख्रीष्टले आफैबारे यसो भन्‍नुभयो: “फ्याउराहरूका प्वाल छन्‌, र आकाशका चरा-चुरुङ्‌गीहरूका गुँड, तर मानिसको पुत्रको ता शिर राख्ने ठाउँ पनि छैन।” (लूका ९:५८) त्यसरी नै प्रेरित पावलले पनि लेखे: “यही बेलासम्म पनि हामी भोका र प्यासा दुवै छौं, औ नांगा छौं, र मुक्का खाँदैछौं र घरद्वार रहितका छौं।”—१ कोरिन्थी ४:११.

येशूले सेवकाईमा पूर्णतया लाग्न सीमित आर्थिक साधनहरूको परिधिभित्र रहेर जीवन बिताउन रोज्नुभयो र पावलले पनि त्यसै गरे। वर्तमान समयका थुप्रै मसीहीहरू गरिबै भएर बाँच्नु परेका छन्‌, तिनीहरूसित अर्को उपाय नै छैन। तैपनि, तिनीहरूले बाइबलका सिद्धान्तहरू जीवनमा उतार्छन्‌ र जोशिलो भई परमेश्‍वरको सेवा गर्छन्‌। तिनीहरूले येशूको निम्न आश्‍वासन सत्य साबित भएको अनुभव गर्दा यहोवाले तिनीहरूलाई असाध्यै माया गर्नुहुन्छ भनेर तिनीहरूलाई थाह हुन्छ: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै [भौतिक कुराहरू] थोक तिमीहरूलाई थपिनेछन्‌।” (मत्ती ६:२५-३३) त्यसबाहेक, परमेश्‍वरका यी गरिब सेवकहरूले ‘परमप्रभुको आशिष्‌ले धनी बनाउँछ’ भन्‍ने कुराको प्रमाण पाएका छन्‌।—हितोपदेश १०:२२.

[फुटनोट]

a यस लेखमा खास नाउँहरू प्रयोग गरिएका छैनन्‌।

[पृष्ठ ६-मा भएको पेटी]

“वचन पालन गर्ने” को हुन्‌?

छयान्‍नब्बे प्रतिशत अमेरिकीहरू “परमेश्‍वरमा अथवा सर्वलौकिक आत्मामा विश्‍वास गर्छन्‌” भनेर सन्‌ १९९४, गलअप सर्वेक्षणबाट थाह भयो। “अन्य राष्ट्रहरूको तुलनामा अमेरिकामा प्रत्येक व्यक्‍तिको लागि धेरैवटा चर्च रहेको” पनि यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट बताउँछ। यति भक्‍तालु देखिए तापनि “यी अमेरिकीहरूलाई आफू के विश्‍वास गर्छन्‌ र किन गर्छन्‌, त्यो थाह नहुनु तीतो सत्य भएको छ,” अनुभवी तथ्यांक संकलक जर्ज गलअप, जुनियर भन्छन्‌।

धेरै मानिसहरूको धार्मिक आस्था र कामबीच ठूलो भिन्‍नता छ भनेर पनि त्यो तथ्यांकले औंल्याएको छ। उदाहरणका लागि, “मुलुकका अपराध दर धेरै हुने केही ठाउँहरूमध्ये कट्टर धार्मिक विश्‍वास भएका इलाकाहरू पनि परेको समाजशास्त्री­हरूले औंल्याए,” भनी जेफ्रि शेलेर भन्छन्‌।

यो छक्क पर्नुपर्ने कुरा होइन। किन? किनकि प्रथम शताब्दीमा प्रेरित पावलले सँगी मसीहीहरूलाई “परमेश्‍वरलाई चिनेका छन्‌ भनी . . . टोप[ल्ने] तर . . . आफ्ना कामबाट भने उहाँलाई इन्कार [गर्नेहरूसित]“ जोगिनू भनेर चेताउनी दिएका थिए। (तीतस १:१६) यसको अतिरिक्‍त, पावलले जवान तिमोथीलाई “आखिरी दिनमा” “भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने[हरू] हुनेछन्‌” भनेका थिए।—२ तिमोथी ३:१, ५.

तथापि, “गएर सबै देशका जातिहरूलाई चेला बनाओ,” भनेर येशू ख्रीष्टले दिनुभएको आदेश साँचो मसीहीहरू पूरापूर पालन गर्छन्‌। (मत्ती २८:१९) यसप्रकार, तिनीहरू “सुन्‍ने मात्र होइन,” “वचन पालन गर्ने” भएका छन्‌।—याकूब १:२२.

[पृष्ठ ७-मा भएको चित्र]

संसारभरि मानिसहरू बाइबल अध्ययनलाई महत्त्वपूर्ण ठान्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने