आमाबाबु हो, तपाईंका छोराछोरीहरूलाई विशेष ध्यानको आवश्यकता छ
“तेरा छोरा-छोरीहरू तेरो टेबलको वरिपरि भद्राक्षका मुनाहरूजस्तै हुनेछन्।”—भजनसंग्रह १२८:३.
धेरै कुराहरूमा बच्चाहरू बोटबिरूवा जस्तै हुर्कन्छन् र बढ्छन्। तसर्थ, बाइबलले मानिसको स्वास्नीलाई “दाख दिने फल” र उसको छोराछोरीहरूलाई “[उनको] टेबलको वरिपरि भद्राक्षका मुनाहरूजस्तै” भन्नु कुनै आश्चर्यको कुरा होइन। (भजनसंग्रह १२८:३) विशेषगरि हावापानी र माटो अनुकूल नहुँदा कलिला बोटबिरूवाहरूको बाली हुर्काउनु सजिलो हुँदैन भनी एक जना किसानले तपाईंलाई भन्नेछ। त्यस्तैगरि, अहिलेको “आखिरी दिनमा” बच्चाहरू हुर्काएर सुशील, ईश्वरभीरू वयस्कहरू बनाउन एकदमै कठिन छ।—२ तिमोथी ३:१-५.
२ राम्रो बालीको कटनी गर्न किसानलाई उर्वरा जमीन, पारिलो घाम र पानी चाहिन्छ। खेती गर्नु र झारपात उखेल्नुको अलावा उसले कीटनाशक औषधिहरू छर्नुको साथ साथै अन्य सुरक्षात्मक कदमहरू उठाउनु पर्छ। कटनी नगरून्जेलसम्म बीच बीचमा अप्ठ्यारा परिस्थितिहरू आइपर्न सक्छन्। बाली बिग्रनु कस्तो दुःखको कुरा हो! यद्यपि, कडा मिहेनतपश्चात् राम्रो बाली कटनी गर्न पाउँदा खेताला कस्तो संतृप्त हुन सक्छ!—यशैया ६०:२०-२२; ६१:३.
३ सफल, फलदायी मानव जीवन निश्चय नै किसानको बालीभन्दा मूल्यवान हुन्छ। अतः, प्रशस्त बाली कटनी गर्नुभन्दा सफलतापूर्वक बच्चालाई हुर्काउन अझ बढी समय र प्रयास खाँचो पर्नु कुनै आश्चर्यको कुरा होइन। (व्यवस्था ११:१८-२१) जीवनको बगैंचामा रोपिएको सानो बच्चाले, प्रेमरूपी पानी तथा लालनपालन पाएमा र स्वस्थ सीमाहरू राखिदिएमा नैतिक मूल्यच्युत संसारमा पनि आध्यात्मिक तवरमा फस्टाउन सक्छ। तर दुर्व्यवहार अथवा थिचोमिचो गरियो भने बच्चा भित्रभित्रै ओइलाउनेछ र सम्भवतः आध्यात्मिक तवरमा मर्नेछ। (कलस्सी ३:२१; तुलना गर्नुहोस् यर्मिया २:२१; १२:२) निस्सन्देह, सबै बच्चाहरूलाई विशेष ध्यानको आवश्यकता छ!
बाल्यकालदेखि दैनिक ध्यानको खाँचो
४ नवजात शिशुहरूलाई आमाबाबुले झन्डै चौबिसै घण्टा ध्यान दिनुपर्छ। तर के बच्चालाई दिनहुँ शारीरिक अथवा भौतिक ध्यानको मात्र खाँचो हुन्छ र? परमेश्वरको सेवक तिमोथीलाई प्रेरित पावलले यसप्रकार लेखे: “तिमीले [शैशवकालदेखि] पवित्र लेखोटहरू जानेका छौ, जसले . . . मुक्तिको निम्ति तिमीलाई बुद्धिमान तुल्याउनसक्तछ।” (२ तिमोथी ३:१५) अतः तिमोथीले शैशवकालदेखि आमाबाबुबाट पाएको ध्यान आध्यात्मिक प्रकारको पनि थियो। तर शैशवकाल कहिले सुरु हुन्छ?
५ पावलले यहाँ चलाएको युनानी शब्द (ब्रेफोस) गर्भको बच्चालाई बुझाउन पनि प्रयोग हुन्छ। बप्तिस्मा दिने यूहन्नाकी आमा, इलिशिबाले आफ्नो नातेदार मरियमलाई यसो भनिन्: “तिम्रो सलाम मेरो कानमा पर्ने बित्तिकै बालक [ब्रेफोस] मेरो गर्भमा उफ्र्यो।” (लूका १:४४) तसर्थ, गर्भका बच्चाहरूलाई पनि शिशु भनिन्छ र तिनीहरूले गर्भबाहिरका गतिविधिहरूप्रति प्रतिक्रिया व्यक्त गर्न सक्छन् भनी बाइबलले देखाउँछ। आजकल गर्भावस्थामा शिशु स्याहार गर्न निकै प्रोत्साहन दिइन्छ। त्यसकारण के गर्भको बच्चाको आध्यात्मिक समृद्धिमा पनि ध्यान दिनु पर्दैन र?
६ यो हाम्रो निम्ति विचारणीय कुरा हो किनभने आफूले सुनेका कुराहरूबाट गर्भको बच्चा लाभान्वित अथवा अत्यन्तै हानिकारक ढङ्गमा प्रभावित हुन सक्छ। छक्कलाग्दो कुरा, रियाज गरिरहेको बेला एक सङ्गीत निर्देशकलाई थुप्रै तालहरू आफूले पहिले सुनिसकेको जस्तो आभास भयो, त्यसमा पनि विशेषगरि विणाको ताल। पेशेवर विणावादक, आफ्नी आमालाई ती सङ्गीतहरूको नाउँ बताउँदा, ऊ गर्भमा छँदा यी साङ्गीतिक संरचनाहरू नै तिनले अभ्यास गर्ने गरेकी थिइन् भनी आमाले भनिन्। त्यस्तैगरि, टिभिमा देखाइने लामो टेलिश्रृंखलाहरू जहिले पनि हेर्दा गर्भको बच्चामा नकारात्मक असर पर्न सक्छ। तसर्थ, एउटा चिकित्सा पत्रिकाले “गर्भमै छँदा टेलिश्रृंखलाको घातक नशा” बारे बतायो।
७ सकारात्मक उत्प्रेरणाका फाइदाहरू बुझेर शिशु जन्मिनुअघि नै थुप्रै आमाबाबुहरू बच्चाको निम्ति पढ्ने, कुरा गर्ने र गीत गाउने गर्छन्। तपाईं पनि त्यस्तै गर्न सक्नुहुन्छ। तपाईंको शिशुले शब्दहरू नबुझे तापनि तपाईंको कोमल स्वर र मायालु लयबाट सम्भवतः लाभ उठाउन सक्छ। जन्मपश्चात्, शायद तपाईंले सोच्नु भएकोभन्दा अगावै बच्चाले तपाईंका शब्दहरू बुझ्न सक्छ। जटिल भाषा सुनेर मात्र पनि दुइ तीन वर्षभित्रै बच्चाले त्यो भाषा बोल्न सिक्छ। बच्चाले बाइबलका सत्यको “शुद्ध भाषा” बोल्न पनि सिक्न सक्छ।—सपन्याह ३:९.
८ तिमोथीले ‘बाल्यकालदेखि पवित्र लेखोटहरू जान्थे’ भनी पावलले भन्नुको अर्थ के हो? प्राप्त प्रमाणहरूअनुसार तिमोथीले आफू बालक छँदादेखि नभई शैशवकालदेखि नै आध्यात्मिक प्रशिक्षण पाएको हुनुपर्छ। यो युनानी शब्द ब्रेफोस को अर्थअनुरूप छ जसले साधारणतया नवजात शिशुहरूलाई सङ्केत गर्छ। (लूका २:१२, १६; प्रेरित ७:१९) आफूलाई याद भएसम्म तिमोथीले आमा युनिस र बज्यै लोइसबाट आध्यात्मिक निर्देशनहरू पाएका थिए। (२ तिमोथी १:५) ‘जसरी हाँगा छाँट्टिन्छ, उसरी नै रूख बढ्छ’ भन्ने उखान पक्कै पनि तिमोथीमा लागू हुन्छ। तिनलाई ‘ठीक बाटोमा’ प्रशिक्षण दिइएको थियो र फलस्वरूप तिनी परमेश्वरको असल सेवक भए।—हितोपदेश २२:६; फिलिप्पी २:१९-२२.
चाहिएको विशेष ध्यान
९ बच्चाहरूको स्वभाव बोटबिरूवाहरूको जस्तै हुन्छ र प्रत्येकलाई बेग्लाबेग्लै ढङ्गमा स्याहार्नु पर्ने हुन्छ। बुद्धिमान आमाबाबुहरूले यी भिन्नताहरूको कदर गर्नेछन् र एक जना बच्चालाई अर्कोसित दाँज्ने छैनन्। (तुलना गर्नुहोस् गलाती ६:४) तपाईंका छोराछोरीहरू हुर्केर स्वस्थ वयस्कहरू हुने हो भने तपाईंले तिनीहरूका विशिष्ट व्यक्तिगत गुणहरू चिन्नुपर्छ। अनि राम्राहरूको खेती गर्दै नराम्रा जतिलाई उखेलेर फाल्नुपर्छ। तपाईंले बच्चामा एउटा कमजोरी अथवा भनौं बेइमानी, भौतिकवाद र स्वार्थप्रति गलत झुकाव देख्नुभयो भने के गर्नुहुनेछ? येशूले आफ्ना चेलाहरूको कमजोरीहरूलाई सच्याउनुभएझैं दयापूर्वक सच्याउनुहोस्। (मर्कूस ९:३३-३७) विशेषगरि, हरेक बच्चाको खूबी र असल गुणहरूको सराहना गर्नुहोस्।
१० बच्चाहरूलाई मुख्यतः चाहिने कुरा नै आमाबाबुको मायालु ध्यान हो। येशूले आफ्नो सेवकाईको अन्ततिर व्यस्त दिनहरूमा समेत स-साना केटाकेटीलाई त्यस्तो विशेष ध्यान दिन समय निकाल्नुभयो। (मर्कूस १०:१३-१६, ३२) आमाबाबु हो, त्यही उदाहरण अनुकरण गर्नुहोस्! आफ्ना छोराछोरीहरूसित उदारचित्तका साथ समय बिताउनुहोस्। अनि साँचो प्रेम प्रकट गर्न लाज नमान्नुहोस्। येशूले गर्नुभए जस्तै तिनीहरूलाई अङ्कमाल गर्नुहोस्। तिनीहरूलाई न्यानो, स्नेहपूर्ण अङ्कमाल र चुम्बन दिनुहोस्। सुशील जवान वयस्कहरूका आमाबाबुहरूले अरू आमाबाबुहरूलाई कस्तो सल्लाह दिनेछन् भनी सोध्दा प्रायः यस्ता जवाफहरू भेट्टिए: ‘असाध्यै माया गर्नुहोस्,’ ‘एकसाथ समय बिताउनुहोस्,’ ‘आपसी आदर विकास गर्नुहोस्,’ ‘गहिरो ध्यान दिएर तिनीहरूको कुरा सुन्नुहोस्,’ ‘भाषण दिनुको सट्टा डोऱ्याई दिनुहोस्,’ र ‘व्यवहारिक हुनुहोस्।’
११ त्यस्तो विशेष ध्यान दिनु आनन्दमय हुन सक्छ। एक सफल बाबुले यस्तो लेखे: “हाम्रा दुई छोराहरू सानो छँदा तिनीहरूलाई सुत्न तयार पार्नु, तिनीहरूको निम्ति पढिदिनु, ओछ्यानमा सुताउनु र तिनीहरूसित प्रार्थना गर्नु रमाइलो हुन्थ्यो।” त्यसरी एकसाथ समय बिताउँदा कुराकानी गर्ने मौका मिल्छ जुन आमाबाबु र बच्चा दुवैको निम्ति प्रोत्साहनदायी हुन सक्छ। (तुलना गर्नुहोस् रोमी १:११, १२) “वली” लाई परमेश्वरले आशिष दिऊन् भनी तीन वर्षीय बच्चाले प्रार्थना गरेको उनको आमाबाबुले सुने। त्यसपछिका रातहरूमा पनि उनले “वली” को निम्ति प्रार्थना गऱ्यो र त्यस बच्चाले त्यतिबेला मलावीमा सतावट भोगिरहेका भाइहरूको विषयमा भन्दैथिए भनी थाहा पाउँदा आमाबाबु निकै प्रोत्साहित भए। एउटी विवाहिताको भनाईअनुसार तिनी चार वर्षकी मात्र हुँदा, मेचमाथि चढेर आमाले धुनुभएका भाँडाहरू पुछुन्जेल शास्त्रपदहरू मुखस्त गर्न र राज्य गीतहरू गाउन आमाले तिनलाई मदत गर्नुहुन्थ्यो।’ तपाईंका कलिला बच्चाहरूसित त्यस्तै मूल्यवान कुराकानीहरूको आदानप्रदान गर्न सकिने अन्य अवसरहरू के तपाईं सम्झन सक्नुहुन्छ?
१२ बुद्धिमान आमाबाबुहरूले नियमित अध्ययन कार्यक्रमको प्रबन्ध मिलाउँछन्। तपाईंले औपचारिक प्रश्नोत्तर तरिका चलाउनु भए तापनि विशेषगरि साना केटाकेटीहरूको निम्ति उपयुक्त हुने गरि छाँटकाँट गरेर के अध्ययनलाई चाखलाग्दो बनाउन केही सहयोग पुऱ्याउन सक्नुहुन्छ? तपाईं बाइबल दृश्यका चित्रहरू कोर्न सक्नुहुन्छ, बाइबलका कथाहरू भन्न सक्नुहुन्छ अथवा आफ्नो बच्चालाई तयार गर्न अह्राउनुभएको विवरण सुन्न सक्नुहुन्छ। परमेश्वरको वचनलाई यथासम्भव रोचक बनाउनुहोस् जसले गर्दा तपाईंका छोराछोरीहरूले त्यसप्रति साँचो लालसा जगाउन सकोस्। (१ पत्रुस २:२, ३) एक जना पिताले यसो भने: ‘हाम्रा छोराछोरीहरू साना छँदा हामी तिनीहरू सङ्गसङ्गै बामे सर्थ्यौं र बाइबलका प्रख्यात पात्रहरूसित सम्बन्धित ऐतिहासिक घटनाहरूको अभिनय गर्थ्यौं। हाम्रा छोराछोरीहरूले ती असाध्यै मन पराउँथे।’
१३ अभ्यास कार्यक्रमहरूले पनि मूल्यवान कुराकानी आदानप्रदान गर्न मदत गर्छ किनभने त्यसले जीवनमा आइपर्ने वास्तविक परिस्थितिहरू सामना गर्न तिनीहरूलाई तयार बनाउँछ। नाजी यातनाको समयमा परमेश्वरप्रति वफादार रहेका कुसरो परिवारका ११ जना छोराछोरीमध्ये एउटीले आफ्नो आमाबाबुबारे यसो भनी: “बाइबलअनुसार कसरी चल्नु पर्ने हो र आफ्नो सुरक्षा कसरी गर्ने भनी उहाँहरूले हामीलाई देखाउनु हुन्थ्यो। (१ पत्रुस ३:१५) प्रश्नोत्तर गर्दै हामी प्रायजसो अभ्यास कार्यक्रमहरू सञ्चालन गर्थ्यौं।” तपाईंले पनि त्यस्तै गर्नु भए कसो होला? तपाईं आमा अथवा बाबुले घरधनीको अभिनय गरेर सेवकाईको निम्ति प्रस्तुतिहरू अभ्यास गर्न सक्नुहुन्छ। अथवा जीवनमा साँच्चै आइपर्ने प्रलोभनहरू अभ्यास कार्यक्रममा समावेश गर्न सक्नुहुन्छ। (हितोपदेश १:१०-१५) एउटी स्त्रीले यसरी वर्णन गरिन्: “कठिन परिस्थितिहरूमा तयार हुन अभ्यास गर्नाले बच्चाको योग्यता र हिम्मत बढाउन सक्छ। अभ्यास गर्दा तपाईंको छोरा या छोरीलाई एक जना साथीले चुरोट, पेय पदार्थ अथवा लागू पदार्थ दिइरहेको परिस्थिति समावेश गर्न सक्नुहुन्छ।” त्यस्ता परिस्थितिमा तपाईंको बच्चाले के गर्नेछ भनी बुझ्न यस्ता अभ्यास कार्यक्रमहरूले मदत गर्नेछ।
१४ तपाईंको बच्चासित यी शब्दका लेखकले जस्तै करूणामय ढङ्गमा छलफल गर्नुहोस्: “हे मेरो छोरो, मेरो अर्तीलाई नभूल्, तर मेरो आज्ञालाई तेरो हृदयमा जोगाइराख्। किनभने त्यसले तँलाई दीर्घायु र धेरै वर्ष र तँलाई उन्नति पनि दिन्छन्।” (हितोपदेश ३:१, २) उसले शान्ति, दीर्घायु र वास्तवमा भन्ने हो भने परमेश्वरको शान्तिमय नयाँ संसारमा अनन्त जीवन पाओस् भनेर तपाईंले आज्ञाकारिता माग गर्नुभएको हो भनी मायालुपूर्वक बुझाउनु भयो भने के यसले तपाईंको बच्चाको हृदय छुने छैन र? परमेश्वरको वचनबाट तर्क गर्नु हुँदा तपाईंको बच्चाको व्यक्तित्वलाई पनि ध्यानमा राख्नुहोस्। प्रार्थनापूर्वक त्यसो गर्नुहोस् र यहोवाले तपाईंका प्रयासहरूमा आशिष दिनुहुनेछ। बाइबलमा आधारित त्यस्ता मायालु अनि करूणामय छलफलहरूले असल परिणामहरू र दीर्घकालीन लाभहरू ल्याउन सक्छन्।—हितोपदेश २२:६.
१५ माथि उल्लिखित जस्ता छलफलहरू तपाईंको नियोजित अध्ययनहरूमा नभए तापनि अन्य विषयहरूद्वारा तपाईंको ध्यान भङ्ग हुन नदिनुहोस्। तपाईंको बच्चाले के भन्छ त्यसमा मात्र होइन तर आफ्नो विचार कसरी व्यक्त गर्छ त्यसलाई पनि ध्यान दिएर सुन्नुहोस्। एक विशेषज्ञले सल्लाह दिए: “तपाईंको बच्चालाई हेर्नुहोस्। उसलाई पूरा ध्यान दिनुहोस्। सुन्नु मात्र होइन तपाईंले उसका कुराहरू बुझ्नुपर्छ। यसप्रकारका थप यत्न गर्ने आमाबाबुहरूले तिनीहरूको छोराछोरीको जीवनमा ठूलो फरक पार्न सक्छ।” आजकल केटाकेटीहरूले स्कूल र अन्य ठाउँहरूमा गम्भीर समस्याहरू सामना गर्छन्। आमाबाबु हुनाले बच्चाहरूलाई कुरा नलुकाइकन बोल्न लगाउनुहोस् र परमेश्वरको दृष्टिकोणबाट कामकुराहरू हेर्न मदत दिनुहोस्। समस्या कसरी समाधान गर्ने भनी तपाईंलाई राम्ररी थाहा छैन भने शास्त्र अनि “विश्वासी र बुद्धिमान दास” द्वारा प्रबन्ध गरिएका प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्। (मत्ती २४:४५) जसरी हुन्छ समस्या सुल्झाउन आफ्ना छोराछोरीहरूलाई विशेष ध्यान दिनुहोस्।
एकसाथ बिताउनु हुने समयको कदर गर्नुहोस्
१६ आज जवान व्यक्तिहरूलाई पहिलेभन्दा बढी विशेष ध्यान दिनु आवश्यक छ किनभने हामी “आखिरी दिनमा” बाँचिरहेका छौं र यो “डरलाग्दो समय” हो। (२ तिमोथी ३:१-५; मत्ती २४:३-१४) आमाबाबु र छोराछोरी दुवैलाई ‘जीवन बचाउने’ साँचो बुद्धिले प्रदान गर्ने सुरक्षा चाहिन्छ। (उपदेशक ७:१२) ईश्वरीय बुद्धिमा बाइबलमा आधारित ज्ञानको सही प्रयोग समावेश भएको हुँदा बच्चाहरूले नियमित तवरमा परमेश्वरको वचनबाट प्रशिक्षण पाउनुपर्छ। तसर्थ, तपाईंका कलिला छोराछोरीहरूसित शास्त्रवचन अध्ययन गर्नुहोस्। यहोवाबारे तिनीहरूलाई बताउनुहोस्, उहाँका आवश्यकताहरू होशियारीपूर्वक बुझाउनुहोस् र उहाँका महान प्रतिज्ञाहरूको पूर्तिप्रति उत्कट लालसा जगाउनुहोस्। घरमा बस्दा बच्चाहरूसित हिंडडुल गर्दा र हरेक उपयुक्त अवसरहरूमा त्यस्ता कुराहरू गर्नुहोस्।—व्यवस्था ६:४-७.
१७ समान अवस्थामा सबै बोटबिरूवाहरू फस्टाउँदैनन् भनी किसानहरूलाई थाहा छ। बोटबिरूवालाई विशेष ध्यानको आवश्यकता हुन्छ। त्यस्तैगरि, प्रत्येक बच्चा भिन्न हुन्छ र विशेष ध्यान, निर्देशन तथा अनुशासनको खाँचो हुन्छ। उदाहरणको लागि, एक जना बच्चाको गलत मार्ग रोक्न आमा या बाबुको अप्रसन्न मुहार मात्र पनि पर्याप्त हुन्छ भने अर्को बच्चालाई कडा अनुशासनको आवश्यकता पर्न सक्छ। तर तपाईं त्यसप्रकारको शब्द अथवा कार्यद्वारा किन अप्रसन्न हुनुहुन्छ भनी तपाईंका सबै छोराछोरीहरूले बुझ्नुपर्छ र अनुशासनमा एकरूपता ल्याउन आमाबाबु दुवै सहमत हुनुपर्छ। (एफिसी ६:४) विशेषगरि मसीही आमाबाबुले शास्त्रअनुरूपको स्पष्ट डोऱ्याई दिनु महत्त्वपूर्ण छ।
१८ किसानले रोप्ने र खेती गर्ने काम ठीक समयमा गर्नुपर्छ। उसले ढिलासुस्ती अथवा बालीको बेवास्ता गऱ्यो भने फसल कम अथवा बाली नै नहुन सक्छ। तपाईंका कलिला छोराछोरीहरू पनि विशेष ध्यान दिनुपर्ने हुर्कंदै गरेका “बोटबिरूवाहरू” हुन्। तिनीहरूलाई अर्को महिना अथवा आउँदो सालमा होइन तर ध्यान दिनु पर्ने अहिले नै हो। परमेश्वरको वचनअनुसार आध्यात्मिक वृद्धि गराउने तथा आध्यात्मिक तवरमा ओइलाउने र मार्ने सांसारिक विचारहरू उखेल्ने अमूल्य अवसरहरू खेर जान नदिनुहोस्। तपाईंले आफ्ना छोराछोरीसित बिताउन सक्नुहुने घण्टा र दिनको कदर गर्नुहोस् किनकि यो समय छिट्टै बितेर जान्छ। यहोवाका विश्वासी सेवकहरू भएर आनन्दित जीवन बिताउन चाहिने ईश्वरीय गुणहरू आफ्ना सन्तानहरूमा खेती गराउन कडा मिहेनत गर्नुहोस्। (गलाती ५:२२, २३; कलस्सी ३:१२-१४) यो काम अरू कसैको होइन; तपाईंको हो र यसो गर्न परमेश्वरले तपाईंलाई मदत दिन सक्नुहुन्छ।
१९ तपाईंका छोराछोरीहरूलाई प्रचुर आध्यात्मिक सम्पदा दिनुहोस्। तिनीहरूसित परमेश्वरको वचन अध्ययन गर्नुहोस् र एकसाथ स्वस्थकर मनोरञ्जनको आनन्द उठाउनुहोस्। तपाईंका कलिला बच्चाहरूलाई मसीही सभाहरूमा लैजानुहोस् र राज्य-प्रचार कार्यमा आफू सङ्गै लग्नुहोस्। तपाईंका प्रिय सन्ततिहरूमा यहोवाको अनुमोदन प्राप्त हुने व्यक्तित्व विकास गर्नुहोस्। त्यसो गर्नुभयो भने, सम्भवतः तिनीहरूले भावी जीवनमा तपाईंलाई आनन्द दिनेछन्। निस्सन्देह, “असल मानिसको बाबु रमाउनेछन्, बुद्धिमानी छोरादेखि बाबु खुशी हुनेछ। तेरा आमा-बाबुलाई खुशी हुने केही कारण होस्, तँलाई जन्म दिने आमाले रमाहट गरोस्।”—हितोपदेश २३:२४, २५.
प्रशस्त आशिष
२० बच्चाहरू हुर्काउनु जटिल, दीर्घकालीन कार्य हो। राज्यका फलहरू फलाउने ईश्वरभीरू वयस्कहरू बनाउन ‘तपाईंका टेबल वरिपरिका भद्राक्षका मुनाहरू’ हुर्काउनुलाई २० वर्षे अभियान भनिएको छ। (भजनसंग्रह १२८:३; यूहन्ना १५:८) किशोरावस्थामा पुग्दा यो अभियान गाह्रो भएर आउँछ किनभने तिनीहरूमाथि आइपर्ने दबाबहरू बढ्छन् र अझ बढी प्रयास गर्नुपर्ने आमाबाबुले महसुस गर्छन्। तर सफलताको कुञ्जी भने उस्तै छ—ध्यान दिएर सुन्नु, न्यानो र समझदार हुनु। तिनीहरूको हितको निम्ति साँचो मायालु चासो देखाएर तपाईंले त्यस्तो ध्यान दिन तपाईंका स-साना छोराछोरीहरूलाई व्यक्तिगत ध्यानको आवश्यकता छ भन्ने कुरा नबिर्सनुहोस्। तिनीहरूलाई मदत दिन तपाईंले तिनीहरूलाई नभई नहुने समय, प्रेम र चासो अवश्य दिनुहोस्।
२१ यहोवाले तपाईंलाई सुम्पनुभएको अमूल्य फल हेरचाह गर्न तपाईंले गर्नुभएको प्रयासको परिणाम कुनै पनि किसानको प्रशस्त कटनीभन्दा सन्तोषप्रद हुनेछ। (भजनसंग्रह १२७:३-५) अतः आमाबाबु हो, तपाईंका छोराछोरीहरूलाई अनवरत विशेष ध्यान दिइरहनुहोस्। तिनीहरूकै भलाइ र स्वर्गमा हुनुहुने हाम्रो पिता, यहोवाको महिमाको निम्ति त्यसो गर्नुहोस्। (w94 5/15)
तपाईंले कसरी जवाफ दिनुहुनेछ?
▫ बोटबिरूवा र बच्चाहरू हुर्काउने कार्यलाई कसरी तुलना गर्न सकिन्छ?
▫ बाल्यकालदेखि दिनहुँ बच्चाहरूले कस्तो ध्यान पाउनु पर्छ?
▫ बच्चाहरूलाई कस्तो विशेष ध्यान चाहिन्छ र त्यो कसरी दिन सकिन्छ?
▫ तपाईंका छोराछोरीहरूलाई विशेष ध्यान दिनु किन खाँचो छ?
[अध्ययनका लागि प्रश्नहरू]
१. बोटबिरूवा र बच्चाहरू हुर्काउने कार्यलाई कसरी तुलना गर्न सकिन्छ?
२. राम्रो कटनी गर्न प्रायजसो के चाहिन्छ?
३. कुन अर्थमा बच्चाहरू बोटबिरूवाभन्दा महत्त्वपूर्ण छन् र बच्चाहरूले कस्तो ध्यान पाउनुपर्छ?
४. “बाल्यकालदेखि” बच्चाहरूलाई कस्तो प्रकारको ध्यान चाहिन्छ?
५, ६. (क) गर्भका बच्चाहरूबारे बाइबलले के भन्छ? (ख) आमाबाबुहरूले गर्भका बच्चाहरूको आध्यात्मिक चासोप्रति ध्यान दिनुपर्छ भनी कुन कुराले देखाउँछ?
७. (क) गर्भका बच्चाहरूको हितप्रति थुप्रै आमाबाबुहरूले कसरी ध्यान पुऱ्याएका छन्? (ख) बच्चाको कस्ता योग्यताहरू हुन्छन्?
८. (क) प्राप्त प्रमाणअनुसार तिमोथीलाई “बाल्यकालदेखि” पवित्र लेखोटहरू थाहा थियो भनी बाइबलले भन्नुको अर्थ के हो? (ख) तिमोथीको सन्दर्भमा कुन कुरा सत्य साबित भयो?
९. (क) आमाबाबुहरूले कुन कुरा गर्नु हुँदैन र किन? (ख) बच्चा हुर्कंदै जाँदा आमाबाबुले के गर्नुपर्छ र कुन उदाहरण पालन गर्नुपर्छ?
१०. बच्चाहरूलाई विशेषगरि कुन कुराको आवश्यकता हुन्छ र त्यो कसरी प्रदान गर्न सकिन्छ?
११. (क) आफ्ना बच्चाहरूलाई दिनुपर्ने विशेष ध्यानलाई आमाबाबुले कुन दृष्टिकोणले हेर्नुपर्छ? (ख) आफ्ना छोराछोरीहरूसित मूल्यवान कुराकानीको आनन्द आमाबाबुले कहिले उठाउन सक्छन्?
१२. मसीही आमाबाबुहरूले बुद्धिमानीपूर्वक आफ्ना छोराछोरीहरूलाई के प्रदान गर्नेछन् र कस्ता तरिकाहरू प्रयोग गर्न सकिन्छ?
१३. अभ्यास कार्यक्रमहरूको महत्त्व के हो र तपाईंले कस्ता विषयहरू पूर्वाभ्यास गर्न सक्नुहुन्छ?
१४. तपाईंका छोराछोरीहरूसित मायालु र करूणामय छलफल गर्नु किन यत्तिको महत्त्वपूर्ण छ?
१५. समस्याहरू समाधान गर्न आमाबाबुले बच्चाहरूलाई कसरी मदत दिन सक्छन्?
१६, १७. (क) आजकल मुख्यत: जवानहरूलाई विशेष ध्यान र निर्देशनको किन आवश्यकता छ? (ख) आमाबाबुहरूले अनुशासन दिंदा छोराछोरीहरूले कुन कुरा थाहा पाउनुपर्छ?
१८, १९. आफ्ना छोराछोरीहरूप्रति मसीही आमाबाबुको कस्तो जिम्मावारी छ र त्यो काम राम्ररी सम्पन्न गरेमा सम्भवतः कस्ता परिणामहरू हुन सक्छन्?
२०. किशोरकिशोरीहरूका सफल आमाबाबु हुने कुञ्जी के हो?
२१. छोराछोरीहरूलाई विशेष ध्यान दिनुको आशिष के हुन सक्छ?