के त्यो साँच्चै चोरी हो त?
अबियोदन नाइजेरियाको ठूलो होटेलमा वरिष्ठ बेराको काम गर्थे। एक साँझ, भोज भवन बन्द गर्दा तिनले १,८२७ अमेरिकी डलर मूल्य बराबरको नगद भएको थैली भेट्टाए। तर तिनले आलेटाले नगरिकन त्यो पैसा बुझाइ दिए। पछि होटेलकै एक जना पाहुनाले त्यो पैसा दाबागरि फिर्ता लिई। अबियोदनलाई त्यस होटेल व्यवस्थापनले पदोन्नति गरिदिए र तिनलाई “वर्षको सर्वश्रेष्ठ कामदार” पुरस्कार पनि दिए। हराएको पैसा फिर्ता पाउनेले पनि तिनलाई इनाम दिई।
क्वालिटी नामक स्थानीय समाचार पत्रले अबियोदनलाई “असल सामरी” को संज्ञा दिंदै तिनको कथा छापे। उक्त पैसा आफै राख्न प्रलोभित भएको थियो कि भनेर क्वालिटी ले प्रश्न गर्दा अबियोदनले यस्तो जवाफ दिए: ‘म यहोवाको साक्षी हुँ। त्यसकारण अर्काको सामान मैले भेट्टाएँ भने म त्यसलाई फर्काइदिन्छु।’
अबियोदनको इमानदारी देखेर त्यस इलाकाका थुप्रै मानिसहरू छक्क परे। अबियोदनका सङ्गी साक्षीहरू खुशी भए तर अचम्भित भने भएनन्। संसारभरि यहोवाका साक्षीहरू आफ्ना उच्च सिद्धान्तहरूका लागि चिनिन्छन्। ती सिद्धान्तहरूमध्ये एउटा इमानदारी पनि हो; यो एउटा नियम हो अनि साँचो मसीही धर्मको अत्यावश्यक भाग।
यद्यपि, कहिलेकाहीं परिस्थितिवश इमानदारी र बेइमानीबीचको भिन्नता छुट्टयाउन कठिन हुनसक्छ। एक छिन यस घटनालाई विचार गर्नुहोस्। पश्चिम अफ्रिकामा यहोवाका साक्षीहरूको एउटा मण्डलीमा फेस्टस चन्दा र हिसाब किताबको रेखदेख गर्थे।a तिनलाई पैसाको साह्रै आवश्यकता परेको थियो। डाक्टरको भनाइअनुसार तिनकी पत्नीलाई यथाशीघ्र गम्भीर शल्य-चिकित्सा गर्नु जरुरी थियो। र अस्पतालले अग्रिम भुक्तानी स्वरूप आधी खर्च मागेको थियो।
तर फेस्टससँग पैसा थिएन। तिनले धेरै जनासित ऋण मागे तर कसैले दिएनन्। त्यतिबेला तिनलाई झट्ट आफ्नो निगरानीमा भएको पैसा याद आयो र तिनले यसरी तर्क गर्न थाले, ‘मेरी पत्नीलाई मृत्युको खतरा मोल्नदेखि बचाउन सक्दा सक्दै मेलै केही नगर्नु के सही कुरा हो? मण्डलीको पैसाबाट “सापट” लिए कसो होला? पछि अरूले मसँग लिएको ऋण बुझाएपछि म तिरी हाल्छु।’
अस्पतालको खर्च टार्न फेस्टसले अर्काको पैसा चलाए। के तिनको तर्क ठीक थियो? यस्तो आपत्कालीन परिस्थितिमा तिनले गरेको काम के न्यायसंगत थियो?
कसको पैसा?
यी प्रश्नहरूलाई केलाउनुअघि आउनुहोस् फेस्टसले लिएको पैसाको स्रोत अनि उद्देश्यसित सम्बन्धित केही बुँदाहरूलाई दोहोऱ्याऔं। यहोवाको शुद्ध उपासनालाई वृद्धि गर्न मण्डलीका सदस्यहरूले दिएका स्वैच्छिक चन्दाबाट कोष खडा गरिएको हुन्छ। (२ कोरिन्थी ९:७) त्यो कोष तलब दिन चलाइँदैन किनभने मण्डलीलाई गरेको सेवा वापत कसैलाई ज्याला दिइँदैन। बरु यसको विपरीत चन्दाको पैसा मुख्यतः सभा भवन वा प्रायः राज्य भवन प्राप्त गर्न अनि मर्मत-सम्भार गर्न प्रयोग गरिन्छ। यस्तो प्रबन्धद्वारा जवान, वृद्ध, गरीब, धनी सबै जना बाइबल निर्देशनको लागि एकत्रित हुने सुविधाजनक अनि आरामदायी स्थान उपलब्ध भएको हुन्छ।
उसोभए त्यो पैसा कसको हो त? सामूहिक रूपमा लिने हो भने त्यो पैसा मण्डलीको हो। चन्दाको पैसा कसरी खर्च गरिनु पर्छ भनेर कुनै सदस्यले निर्णय गर्दैन। प्राचीनहरूको समितिले मण्डलीको नियमित खर्च टार्छन् तर कुनै विशेष खर्च गर्नु परेमा प्राचीनहरूले अनुमतिका लागि पूरै मण्डली समक्ष त्यसलाई प्रस्तुत गर्छन्।
सापटी वा चोरी?
यथाशक्य चाँडो पैसा जहिको तहीं राख्ने आफ्नो योजनालाई फेस्टसले सापटीको दृष्टिकोणमा लिए। तथापि, वेब्सटर्स न्यु डिक्सनरी अफ सिनोनिम्स ले “अरूको सम्पत्ति गुपचुप वा उसको ज्ञान र स्वीकृतिविना लैजाने वा हटाउने” अर्थ बुझाउन अन्य शब्दहरू चलाउँछ। ती शब्दहरू हुन्, “चोरी” अनि “चोर।” फेस्टसले अनुमति वा अधिकारविना मण्डलीको पैसा लिए। अतः तिनी चोरीको दोषी थिए। तिनी चोर थिए।
निस्सन्देह, कुनै व्यक्ति कति निन्दनीय छ भन्ने कुरा चोरी गर्नुको मनोवृत्तिमा निर्भर गर्छ। येशू अनि उहाँका विश्वासी प्रेरितहरूको पैसा जिम्मामा लिने यहूदा इस्करयोतीको उदाहरणबाट हामी उक्त कुरा देख्न सक्छौं। बाइबल यसो भन्छ: “[यहूदा] चोर थियो, र पैसाको थैली बोक्ने भएर त्यसमा राखिएका चीज झिकेर लैजान्थ्यो।” (यूहन्ना १२:६) खराब हृदय अनि सुस्पष्ट लोभबाट प्रेरित भएर यहूदा झन् झन् खराब हुँदै गए। अन्तमा, परमेश्वरको पुत्रलाई ३० टुक्रा चाँदीमा धोखा दिन सक्ने स्थितिसम्म तिनी पतित भए।—मत्ती २६:१४-१६.
तथापि, फेस्टस आफ्नी रोगी पत्नीको चिन्ताबाट प्रेरित भएका थिए। के यसको अर्थ तिनी निर्दोष थिए? कदापि थिएनन्। त्यस्तै अर्को आपत्कालीन परिस्थितिमा गरिएको चोरीबारे बाइबलले के भन्छ एक छिन विचार गर्नुहोस्: “आफ्नो भोक मार्न चोरी गर्दा पनि के चोर घृणित हुँदैन र? औ त्यो पक्राउ पर्यो भने के त्यसले सात गुणा बढ़ी दिनु पर्दैन र? र त्यसको घरमा भएका सबै थोक त्यसले दिनु पर्दैन र?” (हितोपदेश ६:३०, ३१) अर्को शब्दमा भन्ने हो भने पक्राउ पर्दा त्यस चोरले व्यवस्थाले तोकेबमोजिम पूरा दण्ड भोग्नु पर्थ्यो। मोशाको व्यवस्थाअनुसार चोरले आफ्नो अपराधको क्षतिपूर्ति दिनुपर्थ्यो। अतः चोरीलाई प्रोत्साहन दिनु वा न्यायसंगत बनाउनुको सट्टा आपत्कालीन स्थितिमा समेत चोरी गर्नाले आर्थिक नोक्सानी, बदनामी अनि सबैभन्दा गम्भीर कुरा परमेश्वरको अनुमोदन गुम्न सकिन्छ भनेर बाइबलले चेताउनी दिन्छ।
यहोवाका साक्षीहरू भएकोले सबै साँचो मसीहीहरू र अझ विशेषगरि मण्डलीमा जिम्मेवार लिएकाहरू उदाहरणीय, “निष्कलङ्क” हुनुपर्छ। (१ तिमोथी ३:१०) अरूले ऋण बुझाउला भनी आशा गरेको पैसा फेस्टसले पाएनन्। फलतः आफूले लिएको पैसा तिनले फर्काउन सकेनन्। सबैको अगाडि तिनको काम उदाङ्ग भयो। त्यसपछि तिनलाई के भयो? तिनी पश्चात्तापी चोर नभइदिएको भए तिनलाई स्वच्छ मसीही मण्डलीबाटै बहिष्कार गरी सक्थ्यो होला। (१ पत्रुस ४:१५) तर तिनी आफूले गरेको कामदेखि दुःखी थिए र तिनले पश्चात्ताप गरे। यसर्थ, तिनी मण्डलीमा रहन सके तर आफ्नो सेवाका विशेषाधिकार भने तिनले गुमाउनु पऱ्यो।
परमेश्वरमाथि भरोसा गर्नु
यहोवाको सेवा गर्छु भनी दावी गर्ने व्यक्तिले चोरी गर्दा परमेश्वरको नाउँ अनि उहाँको नाउँ धारण गर्ने मानिसहरूमाथि कलङ्क आउँछ भनेर प्रेरित पावलले चेताउनी दिएका थिए। तिनले यसो भनेर लेखे: “के तिमी अर्कोलाई सिकाउनेले, आफूलाई पनि सिकाउँदैनौ? न चोर भनेर मानिसलाई तिमी प्रचार गर्नेले, के आफै चोर्छौ? . . . परमेश्वरको नाउँ तिमीहरूद्वारानै निन्दित भएको छ।”—रोमी २:२१, २४.
पुरातन कालका बुद्धिमान अगुरले पनि त्यस्तै भने। आफ्नो प्रार्थनामा तिनले ‘दरिद्रताको कारण चोरी गरेर परमेश्वरको नाउँमा कलङ्क लगाउन’ नपरोस् भनी बिन्ती गरे। (हितोपदेश ३०:९) तर एक छिन विचार गर्नुहोस्, गरीबीले धार्मिक व्यक्तिलाई समेत चोर्ने प्रलोभनमा पार्न सक्ने स्थिति ल्याउन सक्छ भनी त्यस बुद्धिमान व्यक्तिले मानि लिए। हो, आफ्ना जनका आवश्यकताहरूलाई पूरा गर्न सक्ने यहोवाको क्षमतामाथि कठोर परिस्थितिले मसीही विश्वासको जाँच गर्न सक्छ।
यद्यपि, “उहाँलाई खोज्नेहरूलाई [परमेश्वरले] प्रतिफल दिनुहुन्छ” भनेर गरीब लगायत यहोवाका सबै निष्ठावान साक्षीहरू विश्वस्त छन्। (हिब्रू ११:६) आफ्ना जनहरूका आवश्यकताहरू पूरा गर्न मदत दिनुभएर यहोवाले प्रतिफल दिनुहुन्छ भनेर तिनीहरूलाई थाहा छ। यही कुरालाई डाँडाको उपदेशमा येशूले यसो भन्नु हुँदै प्रष्ट पार्नुभयो: “के खाउँला? कि के पिऔंला? कि के पहिरौंला? भनेर फिक्री नगर, . . . किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।”—मत्ती ६:३१-३३.
उसोभए मसीही मण्डलीभित्र खाँचोमा परेका व्यक्तिहरूलाई परमेश्वरले कसरी मदत गर्नुहुन्छ? थुप्रै तरिकाहरू छन्। तीमध्ये एउटा हो, सङ्गी विश्वासीहरूद्वारा। परमेश्वरका जनहरूले एकअर्काप्रति साँचो प्रेम देखाउँछन्। बाइबलको यस सल्लाहलाई तिनीहरू गम्भीरतापूर्वक लिन्छन्: “संसारको सम्पत्ति हासिल गरेर पनि कसैले आफ्नो भाइलाई खाँचो परेको देखेर त्यसमाथि आफ्नो दया देखाउँदैन भनेता परमेश्वरको प्रेम त्यसमा कसरी रहन्छ? हे मेरा साना केटा-केटी हो, वचन र मुखले मात्र हामी प्रेम नगरौं, तर कामले साँचो प्रेम गरौं।”—१ यूहन्ना ३:१७, १८.
संसारभरि, ७३,००० भन्दा बढी मण्डलीहरूमा ४५ लाखभन्दा बढी यहोवाका साक्षीहरू परमेश्वरलाई उहाँको धार्मिक स्तरहरू बमोजिम सेवा गर्ने प्रयत्न गर्दैछन्। आफ्ना वफादार जनहरूलाई परमेश्वरले कहिल्यै त्याग्नु हुन्न भनेर तिनीहरूलाई थाहा छ। धेरै वर्षदेखि यहोवाको सेवा गर्दै आएकाहरूले राजा दाऊदले भनेका यी शब्दहरूसँग सहमती जनाउँछन्: “जवान थिएँ, र म अहिले बूढ़ो भएको छु। तैपनि धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ।”—भजनसंग्रह ३७:२५.
आफूलाई चोर्ने प्रलोभनमा पारेर सम्भवतः सदाका लागि परमेश्वरको अनुमोदन गुमाउनुभन्दा ती वचनहरू लेख्न प्रेरित गर्नुहुने परमेश्वरमाथि भरोसा राख्नु कति असल छ!—१ कोरिन्थी ६:९, १०. (w94 4/1)
[फुटनोट]
a नाउँ परिवर्तन गरिएको छ।