राज्य प्रचारकहरूका रिपोर्ट
“सुसमाचारकको काम गर”
सुसमाचारकको अर्थ के हो? यो युनानी शब्द युआग्गेलिस्टस-बाट अनुवाद गरिएको शब्द हो, जुन “सुसमाचार” अर्थ लाग्ने युआग्गेलिअन शब्दसित सम्बन्धित छ। तसर्थ, सुसमाचारकको अर्थ सुसमाचारको प्रचारक वा सन्देशवाहक हो।
सबै साँचो मसीहीहरू सुसमाचारक हुन्। किनभने तिनीहरूले परमेश्वरको राज्यबारे सुसमाचार घोषणा गर्छन्। त्यसैकारण प्रेरित पावलले तिमोथीलाई “प्रचारकको [सुसमाचारक, न्युव] काम गर” भनेर सल्लाह दिए। तिमोथीले यसलाई गम्भीरतापूर्वक लिनुपर्थ्यो। पावलले तिनलाई ‘सबै कुरामा सचेत हुन’ अनि ‘सेवाको काम पूरा गर्न’ आग्रह गरे।—२ तिमोथी ४:५.
सुसमाचारकको हैसियतमा हामीले पनि आफ्नो सेवकाईलाई गम्भीरतापूर्वक लिनुका साथै ‘सचेत हुनुपर्छ।’ अर्को शब्दमा भन्ने हो भने, मौका पाउने बित्तिकै सुसमाचार सुनाउन हामी सजग हुनुपर्छ। यहोवाका साक्षीहरूले अनौपचारिक साक्षी दिएको हुँदा थुप्रै मानिसहरूले यहोवा तथा उहाँका प्रतिज्ञाहरू थाह पाएका छन्। बारबाडोस निवासी सेमोरलाई त्यस्तै भएको थियो।
सेमोर सरकारी विद्यालयमा पढाउँथे। त्यही स्कूलमा यहोवाका एक जना साक्षीले शिक्षकको रूपमा आंशिक जागीर खाएका थिए। तिनी सतर्क सुसमाचारक चार्ल्स थिए। तिनी पूर्ण-समय सेवक वा अग्रगामी थिए र मौका पाउने बित्तिकै अरूलाई सुसमाचार सुनाइहाल्थे। चार्ल्सले अनौपचारिक साक्षी दिएको हुँदा सेमोरले पहिलो पटक राज्य समाचार सुन्न पाए।
चाँडै सेमोरले पनि अरूसित यथासम्भव बाइबल सच्चाइ बाँड्ने निर्णय गरे। अतः स्कूलमा अझ विशेषगरि आफ्ना विद्यार्थीहरूसित अनौपचारिक छलफल गर्न थाले। केही मुलुकहरूमा सरकारी विद्यालयमा धर्मबारे कुरा गर्न नपाउने नियम भए तापनि सेमोरलाई धार्मिक अनि नैतिक मूल्य तथा मान्यता सिकाउन खटाइएको थियो। तर सेमोरले त्यस्ता मूल्य तथा मान्यताप्रति पहिले राख्ने गरेको दृष्टिकोणलाई त्यागेर नयाँ, बाइबलीय दृष्टिकोण राख्न थालिसकेका थिए। अतः दिउँसो खाजा खाने छुट्टीमा मौका छोपेर तिनले कक्षाकोठामा आफ्ना विद्यार्थीहरूलाई नयाँ संसार अनि अनन्त जीवनका प्रत्याशाबारे सिकाउन थाले।
केटाकेटीहरूले कस्तो प्रतिक्रिया देखाए? धेरैले यहोवाको राज्यको सुसमाचारप्रति साँचो चासो देखाए। समयको दौडान सेमोरले आफ्ना १३ जना विद्यार्थीहरूसित बाइबल अध्ययन सञ्चालन गर्न थाले। असाध्यै चासो भएकोले तिनीहरूले हप्ताको दुइ पटक अध्ययन गर्ने प्रबन्ध मिलाए। अन्ततः यिनीहरूमध्ये धेरैले यहोवाका साक्षीहरूको स्थानीय राज्य भवनमा मसीही सभाहरू धाउन थाले। अहिलेसम्म नौ जनाले यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा प्राप्त साक्षीहरू भइसकेका छन्। सेमोर चाहिं अहिले आफ्नो सेवकाईको काम पूर्णतया पूरा गर्दैछन्। बारबाडोसका साक्षीहरूको मण्डलीहरूमध्ये एउटामा तिनी प्राचीन तथा नियमित अग्रगामी भएर सेवा गर्दैछन्।
अनौपचारिक साक्षीद्वारा पनि कसरी सारा संसारभरि यहोवाका साक्षीहरूले ‘सुसमाचारकको काम गर्दैछन्’ भन्ने उदाहरणहरूमध्ये यो एउटा मात्र हो। यहोवाका साक्षीहरूले बाइबलको कलस्सी ४:५, ६ मा लेखिएको सल्लाह पालन गर्छन्। त्यहाँ यसो भनिएको छ: “समयको अवसर विचार गरेर बाहिर रहेकाहरूतर्फ पनि बुद्धिमानीसाथ चल। हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्नालाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्।”