प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ८/१५ pp. २०-२४
  • दियाबलका पासोहरूदेखि होसियार!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दियाबलका पासोहरूदेखि होसियार!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बेलगाम बोलीको आगो निभाउनुहोस्‌
  • डर र दबाबको पासोमा नपर्नुहोस्‌
  • अचाक्ली दोषी महसुस गर्ने पासोदेखि जोगिनुहोस्‌
  • सैतानका युक्‍तिहरूबारे हामी अनजान छैनौं
  • तपाईँ सैतानका पासोहरूबाट उम्कन सक्नुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • येशूले जस्तै “शैतानको विरोध” गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • ‘शैतानको विरोध गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • शैतानको विरोध गर र त्यो भाग्नेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ८/१५ pp. २०-२४

दियाबलका पासोहरूदेखि होसियार!

‘दियाबलको पासोबाट उम्केर आऊ।’ —२ तिमो. २:२६.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

तपाईंमा अरूको बढ्‌तै आलोचना गर्ने झुकाव छ भने आफूलाई कसरी केलाउनुपर्छ?

डर र दबाबको पासोमा नपर्न पिलातस र पत्रुसको उदाहरणबाट तपाईं कस्तो पाठ सिक्न सक्नुहुन्छ?

अचाक्ली दोषी महसुस गर्नदेखि तपाईं कसरी जोगिन सक्नुहुन्छ?

१, २. दियाबलका कुन-कुन पासोबारे यस लेखमा छलफल गर्नेछौं?

दियाबलले यहोवाका सेवकहरूलाई आफ्नो पासोमा फसाउन खोज्छ। शिकारीले अक्सर आफूले समातेको जनावरलाई मार्छ तर दियाबलले भने शिकारलाई जिउँदै पक्रेर आफ्नो कठपुतली बनाउन चाहन्छ।—२ तिमोथी २:२४-२६ पढ्‌नुहोस्‌।

२ जनावरलाई जिउँदै पक्रन शिकारीले विभिन्‍न किसिमको पासो थाप्छ। उसले कहिलेकाहीं सुर्केनी थाप्छ। अनि अरू बेला भने जनावरले पत्तै नपाउने खालको पासो थाप्छ। दियाबलले पनि परमेश्‍वरका सेवकहरूलाई फसाउन यस्तै प्रकारका पासोहरू थाप्छ। सैतानको पासोमा नफस्ने हो भने त्यसले कहाँ-कहाँ पासो बिछ्याएको छ भनेर चेतावनी दिइँदा हामी होसियार हुनुपर्छ र त्यसबाट जोगिन कदम चाल्नुपर्छ। मानिसलाई फसाउन दियाबलले प्रयोग गर्ने तीनवटा पासोदेखि हामी कसरी जोगिन सक्छौं भनेर यस लेखमा छलफल गर्नेछौं। ती पासो हुन्‌: (१) बेलगाम बोली, (२) डर र दबाब अनि (३) अचाक्ली दोषी महसुस गर्नु। यसपछिको लेखमा सैतानले बिछ्याउने अर्को दुईवटा पासोबारे छलफल गर्नेछौं।

बेलगाम बोलीको आगो निभाउनुहोस्‌

३, ४. जिब्रोलाई काबूमा राख्न नसक्दा परिणाम कस्तो हुन सक्छ? एउटा उदाहरण बताउनुहोस्‌।

३ जङ्‌गलमा जनावरहरू सुरक्षित हुन्छन्‌। शिकारीले जङ्‌गलको कुनै भागमा आगो लगाइदिंदा जनावरहरू तर्सिएर भाग्न खोज्छन्‌। प्रतीकात्मक अर्थमा दियाबलले ख्रीष्टियन मण्डलीमा आगो लगाउन खोज्छ। यसो गर्न त्यो सफल भएमा मण्डलीका सदस्यहरू तर्सिएर मण्डलीको सुरक्षा घेरा तोडेर बाहिर निस्कन्छन्‌ र सीधै त्यसको फन्दामा पर्छन्‌। हामी कसरी चालै नपाई त्यसलाई साथ दिन अनि त्यसको पासोमा फस्न सक्छौं?

४ चेला याकूबले जिब्रोलाई आगोसित तुलना गरे। (याकूब ३:६-८ पढ्‌नुहोस्‌) जिब्रोलाई काबूमा राख्न सकेनौं भने प्रतीकात्मक अर्थमा मण्डलीमा डढेलो लाग्न सक्छ। कसरी यस्तो हुन सक्छ? यो दृश्‍य कल्पना गर्नुहोस्‌: एक जना बहिनी नियमित अग्रगामीको रूपमा नियुक्‍त भएको कुरा सभामा घोषणा गरिन्छ। सभापछि दुई जना प्रकाशक उक्‍त घोषणाबारे कुरा गर्न थाल्छन्‌। एक जनाले त्यस बहिनी नियमित अग्रगामी नियुक्‍त भएकोमा खुसी व्यक्‍त गर्छिन्‌। तर अर्की बहिनीले भने त्यस अग्रगामीको मनसायमा शङ्‌का गर्छिन्‌ र तिनले केवल मण्डलीमा चुरीफुरी देखाउन खोजेकी मात्र हुन्‌ भन्‍ने अर्थ लगाउँछिन्‌। यी दुई जनामध्ये तपाईं कसलाई आफ्नो साथी बनाउन चाहनुहुन्छ? यी दुईमध्ये कसको बोलीले मण्डलीमा डढेलो लगाउन सक्छ, जवाफ स्पष्ट छ।

५. बेलगाम बोलीको आगोलाई निभाउन आफूलाई कसरी केलाउनुपर्छ?

५ बेलगाम बोलीको आगो हामी कसरी निभाउन सक्छौं? येशूले भन्‍नुभयो: “मनमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।” (मत्ती १२:३४) त्यसैले पहिलो कदम हो, आफ्नो मनमा के छ, त्यो केलाउनु। अरूलाई चोट पुग्ने बोली बोल्नदेखि हामीले आफूलाई रोक्नुपर्छ। यस्तो भावना मनमा आउनेबित्तिकै त्यसलाई हटाइहाल्नुपर्छ। उदाहरणको लागि, कुनै भाइ मण्डलीमा थप जिम्मेवारी पाउन अघि बढिरहेका छन्‌ भनी सुन्दा के तिनी यहोवालाई खुसी पार्न त्यसो गर्दैछन्‌ भनेर सोच्छौं? वा तिनी स्वार्थी चाहनाले गर्दा त्यसरी अघि बढ्‌न खोजेका हुन्‌ भनेर पो सोच्छौं कि? यदि हामीमा अरूप्रति शङ्‌का गर्ने झुकाव छ भने परमेश्‍वरको वफादार सेवक अय्यूबको मनसायमाथि दियाबलले शङ्‌का गरेको कुरा सम्झनु बेस हो। (अय्यू. १:९-११) भाइबहिनीप्रति शङ्‌का गर्नुको सट्टा आफ्नो मनसायलाई विचार गर्नुपर्छ। के त्यस्तो सोचाइ राख्नुको जायज कारण छ? वा यस अन्तको दिनमा व्याप्त अनुचित मनोभावले पो हामीलाई असर गरेको हो कि?—२ तिमो. ३:१-४.

६, ७. (क) अरूको आलोचना गर्नुपछाडि के-कस्ता कारण हुन सक्छन्‌? (ख) अरूले गाली गर्दा हामीले के गर्नुपर्छ?

६ हामीले अरूको आलोचना गर्नुपछाडि अरू कारण पनि हुन सक्छन्‌। एउटा कारण, हामी आफ्नो उपलब्धिबारे अरूले थाह पाएको चाहन्छौं होला। यसले गर्दा अरूलाई तुच्छ ठानेर आफूलाई उचाल्ने प्रयास गरिरहेका हुन सक्छौं। अथवा गर्नुपर्ने काम नगरेकोमा बहाना बनाउन खोजिरहेका हुन सक्छौं। चाहे घमन्ड, ईर्ष्या वा आत्मविश्‍वासको कमीले गर्दा होस्‌, अरूको आलोचना गर्दा परिणाम हानिकारक हुन्छ।

७ कहिलेकाहीं हामीलाई अरूको आलोचना गर्नुपछाडि जायज कारण छ जस्तो लाग्न सक्छ। सायद हामी उसको बेलगाम बोलीको शिकार भएका छौं। तर त्यसो भएकै छ भने पनि जस्तालाई तस्तै गर्नु उचित होइन। यसो गर्दा आगोमा घिउ थपिन्छ अनि परमेश्‍वरको होइन, दियाबलको इच्छा पूरा हुन्छ। (२ तिमो. २:२६) यससम्बन्धमा हामीले येशूको उदाहरण अनुकरण गर्नुपर्छ। उहाँलाई गाली गर्दा “उहाँले गाली फर्काउनुभएन।” बरु “उचित ढङ्‌गमा न्याय गर्न सक्नुहुनेको हातमा आफूलाई सुम्पनुभयो।” (१ पत्रु. २:२१-२३) यहोवाले आफ्नै तरिकामा र आफ्नै समयमा मामिला सँभाल्नुहुनेछ भन्‍ने कुरामा येशू विश्‍वस्त हुनुहुन्थ्यो। हामीले पनि परमेश्‍वरमाथि यस्तै भरोसा राख्नुपर्छ। अरूको उत्थान हुने बोली बोल्दा हामीले मण्डलीमा ‘शान्ति र एकता’ कायम राख्न मदत पुऱ्‍याइरहेका हुन्छौं।—एफिसी ४:१-३ पढ्‌नुहोस्‌।

डर र दबाबको पासोमा नपर्नुहोस्‌

८, ९. पिलातसले येशूलाई किन मृत्युदण्डको लागि सुम्पे?

८ पासोमा परेको जनावर आफूले चाहे जसरी चलहल गर्न सक्दैन। त्यसैगरि, डर र दबाबको पासोमा पर्ने व्यक्‍तिले पनि केही हदसम्म आफ्नो स्वतन्त्रता गुमाउँछ। (हितोपदेश २९:२५ पढ्‌नुहोस्‌) आउनुहोस्‌, डर र दबाबको पासोमा परेका दुई व्यक्‍तिको उदाहरण अनि तिनीहरूबाट सिक्न सक्ने पाठ विचार गरौं।

९ रोमी राज्यपाल पन्तियस पिलातसलाई येशू निर्दोष हुनुहुन्छ भनी थाह थियो, त्यसैले तिनले उहाँलाई कुनै हानि गर्न चाहेनन्‌। येशूले “मृत्युदण्ड पाउने योग्य केही काम . . . गरेको छैन” भनेर पिलातसले भने। तैपनि पिलातसले येशूलाई मृत्युदण्डको लागि सुम्पे। किन? किनकि तिनी भीडको दबाबमा परे। (लूका २३:१५, २१-२५) “यदि तपाईंले यस मानिसलाई मुक्‍त गर्नुभयो भने तपाईं सम्राट्‌को मित्र होइन” भन्दै कराएर त्यस भीडले आफ्नो इच्छा पूरा गर्न खोज्यो। (यूह. १९:१२) ख्रीष्टको पक्ष लिएमा आफ्नो ओहदा गुम्ला वा जीवन गुमाउनु पर्ला भनेर पिलातस डराएका हुन सक्छन्‌। त्यसैले तिनले दबाबको प्रतिरोध गर्न सकेनन्‌ र दियाबलको इच्छा पूरा गरे।

१०. पत्रुसले किन ख्रीष्टलाई इन्कार गरे?

१० येशूका घनिष्ठ मित्रमध्ये प्रेषित पत्रुस एक थिए। येशू नै मसीह हुनुहुन्छ भनेर तिनले मानिसहरूसामु घोषणा गरेका थिए। (मत्ती १६:१६) अरू चेलाले येशूले भन्‍नुभएको कुराको अर्थ नबुझेर उहाँलाई छोडेर जाँदा पत्रुस भने उहाँप्रति वफादार रहेका थिए। (यूह. ६:६६-६९) अनि शत्रुहरू येशूलाई गिरफ्तार गर्न आउँदा पत्रुसले आफ्नो मालिकलाई बचाउन तरबार प्रहार गरेका थिए। (यूह. १८:१०, ११) तर पछि पत्रुस मानिसहरूसित डराए अनि येशू ख्रीष्टलाई चिनेकै छैन भन्‍न पुगे। यी प्रेषित केही समयको लागि मानिसको डरको पासोमा परे अनि तिनले सही कदम चाल्ने साहस गर्न सकेनन्‌।—मत्ती २६:७४, ७५.

११. हामीले कस्तो दबाबको प्रतिरोध गर्नुपर्ने हुन सक्छ?

११ परमेश्‍वरलाई अप्रसन्‍न पार्ने काम गर्न मानिसहरूले हामीलाई दबाब दिन सक्छन्‌। तर हामी ख्रीष्टियनहरूले त्यसको प्रतिरोध गर्नुपर्छ। काम गर्ने ठाउँको मालिक वा अरूले हामीलाई बेइमान हुन वा अवैध यौनसम्बन्ध राख्न दबाब दिन सक्छन्‌। विद्यार्थीहरूलाई चाहिं साथीहरूले जाँचमा चिट चोर्ने, अश्‍लील सामाग्री हेर्ने, चुरोट खाने, लागूपदार्थ सेवन गर्ने, रक्सीको दुरुपयोग गर्ने वा अवैध यौनसम्बन्ध राख्ने दबाब दिन सक्छन्‌। त्यसोभए मानिसको डर र दबाबमा परेर यहोवालाई अप्रसन्‍न पार्ने काम नगर्न हामीलाई केले मदत गर्न सक्छ?

१२. पिलातस र पत्रुसबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१२ पिलातस र पत्रुसको उदाहरणबाट के सिक्न सक्छौं, विचार गरौं। पिलातसलाई ख्रीष्टबारे त्यति धेरै थाह थिएन। तैपनि तिनलाई येशू निर्दोष हुनुहुन्छ र उहाँ साधारण मान्छे हुनुहुन्‍न भनी थाह थियो। तर पिलातससित नम्रता र साँचो परमेश्‍वरप्रतिको प्रेम थिएन। दियाबलले सजिलै तिनलाई पासोमा पारेर आफ्नो कठपुतली बनायो। पत्रुससित भने सही ज्ञानका साथै परमेश्‍वरप्रतिको प्रेम पनि थियो। तैपनि तिनी कहिलेकाहीं नम्रता देखाउन चुके, डर र दबाबको पासोमा परे। येशू गिरफ्तार हुनुअघि पत्रुसले यसरी फूर्ति लगाएका थिए: “अरू सबैले ठेस खाए पनि म भने ठेस खानेछैन।” (मर्कू. १४:२९) पत्रुसले पनि भजनरचयिताले जस्तै परमेश्‍वरमा भरोसा राखेका भए तिनी परीक्षाको लागि तयार हुन सक्थे। ती भजनरचयिताले यस्तो गाए: “परमप्रभु मतर्फ हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ र?” (भज. ११८:६) पृथ्वीमा आफ्नो जीवनको अन्तिम रात येशूले पत्रुस र अन्य दुई प्रेषितलाई गेत्समनीको बगैंचामा लैजानुभयो। येशूले तिनीहरूलाई जागा रहनू भन्‍नुभएको थियो तर तिनीहरू निदाए। येशूले तिनीहरूलाई ब्युँझाउनुभयो र यसो भन्‍नुभयो: “परीक्षामा नपर्न तिमीहरू जागा रहो र प्रार्थना गरिरहो।” (मर्कू. १४:३८) तर पत्रुस फेरि पनि निदाए र पछि मानिसको डर र दबाबको पासोमा परे।

१३. नराम्रो काम गर्ने दबाबको हामी कसरी प्रतिरोध गर्न सक्छौं?

१३ पिलातस र पत्रुसको उदाहरणबाट हामी अर्को महत्त्वपूर्ण पाठ पनि सिक्न सक्छौं। त्यो हो, मानिसहरूबाट आउने दबाबको प्रतिरोध गर्न सही ज्ञान, नम्रता, परमेश्‍वरप्रति प्रेम हुनुका साथै मानिसको होइन, यहोवाको डर हुनु आवश्‍यक छ। हाम्रो विश्‍वास सही ज्ञानमा आधारित छ भने आफूले विश्‍वास गर्ने कुराबारे साहसी भई बोल्न सक्छौं। यसले हामीलाई दबाबको प्रतिरोध गर्न र मानिसको डरलाई जित्न मदत गर्नेछ। हामी आफ्नै बलमा भर पर्नु हुँदैन। बरु दबाबको प्रतिरोध गर्न परमेश्‍वरको मदत चाहिन्छ भन्‍ने कुरालाई नम्र भई स्वीकार्नुपर्छ। यहोवाको पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुपर्छ। परमेश्‍वरप्रतिको प्रेमले गर्दा उहाँको स्तरअनुरूप चल्न अनि उहाँको नामको बदनाम हुने काम नगर्न उत्प्रेरित हुनुपर्छ। साथै, दबाबको प्रतिरोध कसरी गर्ने भनेर पहिल्यै तयारी गर्नुपर्छ। उदाहरणको लागि, साथीहरूले कुनै नराम्रो काम गर्ने दबाब दिंदा त्यसको प्रतिरोध गर्न छोराछोरीलाई मदत दिनको लागि आमाबाबुले उनीहरूसित बसेर पहिल्यै तयारी गर्नुका साथै प्रार्थना गर्नु आवश्‍यक छ।—२ कोरि. १३:७.a

अचाक्ली दोषी महसुस गर्ने पासोदेखि जोगिनुहोस्‌

१४. विगतमा गरेको गल्तीबारे हामी कस्तो निष्कर्षमा पुगेको दियाबल चाहन्छ?

१४ कहिलेकाहीं शिकारीले जनावरलाई पासोमा पार्न जनावर अक्सर हिंड्‌ने बाटोमाथि गह्रौं मुढा वा ढुङ्‌गा झुन्ड्याउँछ। अनि निस्सहाय जनावरले डोरीलाई टेक्दा माथि झुन्ड्याएर राखिएको मुढा वा ढुङ्‌गा खसेर जनावरलाई थिच्छ। अचाक्ली दोषी महसुस गर्नुलाई पनि त्यसरी नै थिच्ने गह्रौं मुढा वा ढुङ्‌गासित तुलना गर्न सकिन्छ। विगतमा गरेको गल्तीबारे सोच्दा हामीले “ज्यादै चोट पाएको” महसुस गर्न सक्छौं। (भजन ३८:३-५, ८ पढ्‌नुहोस्‌) हामी यहोवाको क्षमा पाउन लायकका छैनौं र उहाँले तोक्नुभएका आवश्‍यकताहरू पूरा गर्न सक्दैनौं भन्‍ने निष्कर्षमा पुगेको सैतान चाहन्छ।

१५, १६. अचाक्ली दोषी महसुस गर्ने पासोमा पर्नदेखि तपाईं कसरी जोगिन सक्नुहुन्छ?

१५ थिच्ने पासोदेखि तपाईं कसरी जोगिन सक्नुहुन्छ? कुनै गम्भीर गल्ती गर्नुभएको छ भने यहोवासितको सम्बन्ध सुधार्न कदम चालिहाल्नुहोस्‌। एल्डरहरूलाई भेट्‌नुहोस्‌ र उनीहरूसित मदत माग्नुहोस्‌। (याकू. ५:१४-१६) गल्ती सच्याउन जे-जसो गर्नुपर्छ, गर्नुहोस्‌। (२ कोरि. ७:११) अनुशासन पाउँदा निराश नहुनुहोस्‌। अनुशासन भनेको यहोवा तपाईंलाई प्रेम गर्नुहुन्छ भन्‍ने प्रमाण हो। (हिब्रू १२:६) पहिलेकै गल्ती गर्नतर्फ डोऱ्‍याउने कदम नचाल्न दृढ सङ्‌कल्प गर्नुहोस्‌ र त्यस सङ्‌कल्पअनुरूप काम पनि गर्नुहोस्‌। पश्‍चात्ताप गरेर फर्केपछि येशू ख्रीष्टको फिरौतीको बलिदानको आधारमा आफ्नो गल्तीको क्षमा पाउन सक्नुहुन्छ भनी विश्‍वस्त हुनुहोस्‌।—१ यूह. ४:९, १४.

१६ कोही-कोही मानिस आफूले क्षमा पाइसकेको गल्तीलाई सम्झेर दोषी महसुस गरिरहन्छन्‌। यदि तपाईंको अवस्था पनि यस्तै छ भने पत्रुस र अरू प्रेषितहरूले येशूलाई साथ चाहिएको बेला उहाँलाई छोडेर गएको घटना सम्झनुहोस्‌। यसरी छोडेर गए पनि यहोवाले पत्रुस र अरू प्रेषितलाई क्षमा दिनुभयो। साथै घोर अनैतिकतामा मुछिएकोले कोरिन्थ मण्डलीबाट बहिष्कार भएको व्यक्‍ति पछि पश्‍चात्ताप गरेर फर्कंदा यहोवाले उसलाई क्षमा दिनुभयो। (१ कोरि. ५:१-५; २ कोरि. २:६-८) गम्भीर गल्ती गरेका तर पश्‍चात्ताप गरेर फर्केकोले परमेश्‍वरबाट क्षमा पाएका थुप्रै व्यक्‍तिबारे बाइबलमा बताइएको छ।—२ इति. ३३:२, १०-१३; १ कोरि. ६:९-११.

१७. फिरौतीको बलिदानले हाम्रो लागि के गर्न सक्छ?

१७ साँच्चै पश्‍चात्ताप गर्नुभयो र यहोवाले कृपा देखाउनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नुभयो भने विगतमा तपाईंले गर्नुभएका गल्तीहरूलाई उहाँले क्षमा दिनुहुनेछ र बिर्सनुहुनेछ। तपाईंको गल्ती येशूको फिरौतीको बलिदानले समेत क्षमा दिन नसक्ने खालको छ भनेर कहिल्यै नसोच्नुहोस्‌। यस्तो सोच्नु भनेको सैतानको कुनै पासोमा पर्नुसरह हो। तपाईंले यस्तो सोचाइ राखेको दियाबल चाहन्छ तर पश्‍चात्ताप गर्नेहरूले फिरौतीको बलिदानको आधारमा क्षमा पाउन सक्छन्‌। (हितो. २४:१६) फिरौतीको बलिदानप्रतिको विश्‍वासले तपाईंलाई अचाक्ली दोषी महसुस गर्ने बोझ हटाउन मदत गर्नुका साथै सारा मन, ज्यान र दिमागले परमेश्‍वरको सेवा गर्न बल प्रदान गर्छ।—मत्ती २२:३७.

सैतानका युक्‍तिहरूबारे हामी अनजान छैनौं

१८. दियाबलका पासोहरूदेखि हामी कसरी जोगिन सक्छौं?

१८ सैतानको मुख्य चासो भनेको हामीलाई त्यसको पासोमा पार्नु हो। हामीलाई पासोमा पार्न कुन तरिका अपनाउने, त्यो त्यसको मुख्य चासोको विषय होइन। सैतानका युक्‍तिहरूबारे हामी अनजान छैनौं। त्यसैले त्यसको पासोमा पर्नदेखि जोगिन सक्छौं। (२ कोरि. २:१०, ११) परीक्षाहरूसित डट्‌न बुद्धिको लागि प्रार्थना गऱ्‍यौं भने हामी दियाबलको पासोमा पर्नेछैनौं। याकूबले लेखे: “यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌ र उसलाई त्यो दिइनेछ, किनकि उहाँले नझर्कीकन सबैलाई उदारचित्तले दिनुहुन्छ।” (याकू. १:५) नियमित रूपमा व्यक्‍तिगत अध्ययन गरेर अनि बाइबल सिद्धान्तअनुरूप जीवन बिताएर हामी आफ्नो प्रार्थनाअनुसार चल्नु आवश्‍यक छ। विश्‍वासी र बुद्धिमान्‌ दासले प्रबन्ध गरेको बाइबलआधारित प्रकाशनहरूले दियाबलका पासोहरूबारे सजग गराउनुका साथै त्यसबाट जोगिने तरिका पनि सिकाउँछ।

१९, २०. खराब कुरालाई हामीले किन घृणा गर्नुपर्छ?

१९ प्रार्थना र बाइबल अध्ययनले हामीमा असल कुराप्रतिको प्रेम जगाउँछ। तर हामीले खराब कुरालाई घृणा गर्न सिक्नु पनि उत्तिकै आवश्‍यक छ। (भज. ९७:१०) स्वार्थी चाहना पूरा गर्दा आइपर्ने नतिजाबारे विचार गऱ्‍यौं भने हामी ती कुराहरू गर्नदेखि जोगिन सक्छौं। (याकू. १:१४, १५) खराब कुरालाई घृणा गर्न र असल कुरालाई साँच्चै प्रेम गर्न सिक्यौं भने सैतानले पासोमा राखेको चारा हामीलाई आकर्षक होइन, घिनलाग्दो लाग्नेछ।

२० सैतानले हामीलाई पासोमा नपारोस्‌ भनेर परमेश्‍वरले मदत गर्नुभएकोमा हामी उहाँप्रति कत्ति आभारी छौं! उहाँले आफ्नो पवित्र शक्‍ति, आफ्नो वचन र आफ्नो सङ्‌गठनको मदतद्वारा हामीलाई “त्यस दुष्टबाट” छुटाउनुहुन्छ। (मत्ती ६:१३) परमेश्‍वरका सेवकहरूलाई पासोमा पार्न दियाबलले प्रयोग गर्ने थप दुईवटा पासोदेखि हामी कसरी जोगिन सक्छौं? यसबारे यसपछिको लेखमा छलफल गर्नेछौं।

[फुटनोट]

a आमाबाबुले आफ्ना छोराछोरीसित युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड २ (अङ्‌ग्रेजी) को पृष्ठ १३२-१३३ मा पाइने “साथीहरूको दबाब सामना गर्न योजना” भन्‍ने भाग सँगै छलफल गर्न सक्छन्‌। यसलाई साँझको पारिवारिक उपासनामा पनि छलफल गर्न सकिन्छ।

[पृष्ठ २१-मा भएको चित्र]

बेलगाम बोलीले मण्डलीमा डढेलोरूपी समस्या निम्त्याउन सक्छ

[पृष्ठ २४-मा भएको चित्र]

अचाक्ली दोषी महसुस गर्ने बोझ तपाईं बिसाउन सक्नुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने