प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 सेप्टेम्बर pp. ३-७
  • आत्मसंयम विकास गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आत्मसंयम विकास गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ
  • परमेश्‍वरका सेवकहरूका राम्रा अनि नराम्रा उदाहरणहरू
  • तपाईंले गर्न सक्ने व्यावहारिक कुराहरू
  • इनाम जित्न, आत्मसंयमी हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तपाईंको ज्ञानमा आत्मसंयम थप्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आत्मसंयम—यहोवाको अनुमोदन पाउन अत्यावश्‍यक गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • तपाईंमा प्रशस्तगरी आत्मसंयम होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 सेप्टेम्बर pp. ३-७
यूसुफ पोतीफरकी पत्नीदेखि भाग्दै

आत्मसंयम विकास गर्नुहोस्‌

“पवित्र शक्‍तिको फल . . . आत्मसंयम हो।”—गला. ५:२२, २३.

गीत: ८३, ५२

हामीले के सिक्यौं?

  • सैतानले विद्रोह गर्दा यहोवाले देखाउनुभएको प्रतिक्रियाबाट के सिक्न सक्छौं?

  • आत्मसंयम देखाउने सन्दर्भमा राम्रो अनि नराम्रो उदाहरण बसालेका बाइबलका केही व्यक्‍तिबारे बताउनुहोस्‌।

  • बाइबल अध्ययनले आत्मसंयम विकास गर्न कसरी मदत गर्छ?

१, २. (क) आत्मसंयम नहुँदा कस्तो नतिजा हुन सक्छ? (ख) अहिले आत्मसंयमबारे छलफल गर्नु किन उपयुक्‍त छ?

आत्मसंयम पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। त्यसैले यो गुण विकास गर्न यहोवा हामीलाई मदत गर्न सक्नुहुन्छ। (गला. ५:२२, २३) आत्मसंयम देखाउने सन्दर्भमा यहोवा उत्कृष्ट उदाहरण हुनुहुन्छ। तर हामी त्रुटिपूर्ण भएकोले आत्मसंयम देखाउन कहिलेकाहीं गाह्रो हुन सक्छ। आत्मसंयम नभएकोले गर्दा अहिले मानिसहरूले थुप्रै समस्या भोगिरहेका छन्‌। आत्मसंयमको कमीले गर्दा काम गर्ने ठाउँमा वा स्कुलमा आलेटाले गर्ने र काम राम्ररी पूरा नगर्ने बानी बस्न सक्छ। आत्मसंयमको कमीले गर्दा यस्ता नराम्रा कुरा हुन सक्छन्‌: जथाभाबी बोल्ने, मात्तिनेगरि पिउने, मारपिट गर्ने, सम्बन्धविच्छेद गर्ने, अनावश्‍यक ऋण लिने, दुर्व्यसनमा फस्ने, जेल सजाय भोग्ने, भावनात्मक पीडा भोग्ने, यौनजन्य रोग लाग्ने, नचाहँदा नचाहँदै गर्भ बस्ने आदि।—भज. ३४:११-१४.

२ स्पष्ट छ, आत्मसंयमको कमी भएका मानिसहरू आफै पनि समस्या भोग्छन्‌ र अरूको लागि पनि समस्याको कारण बन्छन्‌। अहिले मानिसहरूसित आत्मसंयम झन्‌-झन्‌ कम हुँदै गइरहेको छ। सन्‌ १९४० को दशकमा गरिएको अध्ययन अनि हालै गरिएको अध्ययन तुलना गरेर हेर्दा मानिसहरूसित पहिलेभन्दा आत्मसंयम झनै कम भएको पाइयो। यस्तो देख्दा हामी अचम्म मान्दैनौं किनभने ‘अन्तको दिनमा मानिसहरू असंयमित हुनेछन्‌’ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो।—२ तिमो. ३:१-३.

३. हामीले किन आत्मसंयम विकास गर्नुपर्छ?

३ हामीले किन आत्मसंयम विकास गर्नुपर्छ? यसको दुइटा महत्त्वपूर्ण कारण विचार गरौं। पहिलो, आफ्नो भावनालाई काबूमा राख्न सक्ने मानिसहरूले जीवनमा गम्भीर समस्याहरू भोगेको त्यति देखिंदैन। तिनीहरू भावनात्मक रूपमा बलिया हुन्छन्‌ र अरूसित राम्रो सम्बन्ध गाँस्न सक्छन्‌। तिनीहरू झडङ्‌ङ रिसाउने, चिन्तित भइहाल्ने अनि निराश हुने गर्दैनन्‌। दोस्रो, यहोवाको अनुमोदन नगुमाउन प्रलोभनहरूको प्रतिरोध गर्नु अनि अनुचित इच्छाहरूलाई काबूमा राख्नु अत्यन्तै जरुरी छ। त्यसो गर्न नसक्दा आदम र हव्वाले कस्तो दुःखद परिणाम भोगे, हामीलाई थाहै छ। (उत्प. ३:६) आत्मसंयम देखाउन नसक्दा आज थुप्रै मानिसले त्यस्तै दुःखद नतिजा भोगिरहेका छन्‌।

४. आत्मसंयम देखाउन सङ्‌घर्ष गरिरहेकाहरूले कुन कुरा थाह पाउँदा बल पाउन सक्छन्‌?

४ त्रुटिपूर्ण भएकोले हामी आत्मसंयम देखाउनदेखि चुक्न सक्छौं। तर आफ्ना सेवकहरूले गरिरहेको कोसिस यहोवा राम्ररी बुझ्नुहुन्छ र हाम्रा गलत झुकावलाई नियन्त्रणमा राख्न मदत गर्न चाहनुहुन्छ। (१ राजा ८:४६-५०) उहाँ हाम्रो मायालु साथी हुनुहुन्छ। त्यसैले आत्मसंयम देखाउन सङ्‌घर्ष गरिरहेकाहरूलाई मदत गर्न उहाँ खुसी हुनुहुन्छ। आउनुहोस्‌, आत्मसंयम देखाउने सन्दर्भमा यहोवाले कस्तो उत्कृष्ट उदाहरण बसाल्नुभएको छ, विचार गरौं। अनि बाइबलका केही राम्रा र नराम्रा उदाहरण पनि विचार गरौं। साथै आत्मसंयम विकास गर्न मदत गर्ने केही व्यावहारिक सुझावबारे पनि चर्चा गरौं।

यहोवाले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ

५, ६. आत्मसंयम देखाउने सन्दर्भमा यहोवाले कस्तो उदाहरण बसाल्नुभएको छ?

५ यहोवाका सबै काम सिद्ध छन्‌ अर्थात्‌ उहाँको काममा कुनै खोट छैन। त्यसैले आत्मसंयम देखाउने सन्दर्भमा उहाँ कहिल्यै चुक्नुहुन्‍न। (व्यव. ३२:४) हुन त हामी त्रुटिपूर्ण छौं तर उहाँले बसाल्नुभएको उदाहरण मनन गऱ्‍यौं भने उहाँको अझ राम्ररी अनुकरण गर्न सक्नेछौं। आत्मसंयम देखाउने सन्दर्भमा उहाँले कसरी उत्कृष्ट उदाहरण बसाल्नुभएको छ? उहाँले आत्मसंयम देखाउनुभएको केही उदाहरण के-के हुन्‌?

६ सैतानले घोर विद्रोह गर्दा यहोवाले कसरी आत्मसंयम देखाउनुभयो, विचार गर्नुहोस्‌। सैतानको त्यस्तो दुस्साहस देख्दा यहोवाप्रति वफादार स्वर्गदूतहरूको मनमा पक्कै रिस र घृणा जाग्यो होला। सैतानले गर्दा भोग्नुपरेका समस्याहरू देख्दा तपाईंलाई पनि त्यस्तै लाग्छ होला। तर यहोवाले आवेगमा आएर कदम चाल्नुभएन। उहाँले सोचविचार गरेर उचित कदम चाल्नुभयो। उहाँले रिस पोखाउन हतार गर्नुभएको छैन अनि सैतानको विद्रोहलाई उचित तरिकामा सँभाल्दै आउनुभएको छ। (प्रस्थ. ३४:६; अय्यू. २:२-६) किन? किनभने यहोवा “कोही पनि नाश नहोस्‌, बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।” त्यसैले उहाँले अहिलेसम्म धैर्य गर्दै आउनुभएको छ।—२ पत्रु. ३:९.

७. यहोवाको उदाहरणबाट कस्तो पाठ सिक्न सक्छौं?

७ यहोवाको उदाहरण विचार गर्दा हामीले हतारमा निर्णय गर्नु हुँदैन अनि सोचविचार गरेर मात्र बोल्नुपर्छ वा कदम चाल्नुपर्छ भन्‍ने पाठ सिक्छौं। त्यसैले कुनै महत्त्वपूर्ण निर्णय गर्नुपर्दा हतार नगर्नुहोस्‌ बरु समय लगाएर राम्ररी सोचविचार गर्नुहोस्‌। सही कुरा बोल्न वा सही तरिकामा व्यवहार गर्नको लागि यहोवासित बुद्धि माग्नुहोस्‌। (भज. १४१:३) रिस उठेको वा चित्त दुखेको बेला आवेगमा आएर निर्णय गर्ने सम्भावना बढी हुन्छ। बोल्न नहुने कुरा बोलेकोले वा गर्न नहुने कुरा गरेकोले हामीमध्ये धेरैजसो पछुताएका छौं होला।—हितो. १४:२९; १५:२८; १९:२.

परमेश्‍वरका सेवकहरूका राम्रा अनि नराम्रा उदाहरणहरू

८. (क) आत्मसंयम देखाएका व्यक्‍तिहरूको राम्रो उदाहरण कहाँ पाउँछौं? (ख) पोतीफरकी पत्नीले जबरजस्ती गर्न खोज्दा यूसुफ किन भागे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

८ आफ्नो भावनालाई काबूमा राख्नुको महत्त्वबारे बुझ्न बाइबलमा पाइने कस्ता उदाहरणहरूले मदत गर्छ? परीक्षामा पर्दा आत्मसंयम देखाएका बाइबल पात्रहरू तपाईं सम्झनुहुन्छ होला। तीमध्ये एक जना याकूबका छोरा यूसुफ हुन्‌। तिनी फिरऊनका अङ्‌ग-रक्षकहरूका कप्तान पोतीफरको घरमा काम गर्थे। तिनी “सुन्दर र हेर्नमा राम्रा थिए।” पोतीफरकी पत्नीले यूसुफमाथि आँखा गाड्‌न थालिन्‌। उनी यूसुफलाई आफूसित सुत्न फकाइरहन्थिन्‌। यसरी बारम्बार प्रलोभन देखाइँदा यूसुफले कसरी त्यसको प्रतिकार गर्न सके? त्यस्तो प्रलोभनमा फसेको खण्डमा नतिजा कस्तो हुनेछ भनेर तिनले समय लगाएर विचार गरेको हुनुपर्छ। पोतीफरकी पत्नीले जबरजस्ती गर्न लागेपछि यूसुफ त्यहाँबाट भागे। तिनले यसो भने: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?”—उत्प. ३९:६, ९; हितोपदेश १:१०, NRV पढ्‌नुहोस्‌।

९. प्रलोभन आइपर्दा त्यसको प्रतिरोध गर्न तपाईं कस्तो तयारी गर्न सक्नुहुन्छ?

९ यूसुफको उदाहरणबाट कस्तो पाठ सिक्न सक्छौं? यहोवाको कुनै नियम उल्लङ्‌घन गर्ने प्रलोभनमा पर्दा हामी पनि भाग्नुपर्ने हुन सक्छ। यहोवाको साक्षी हुनुभन्दा अघि कोही-कोही धेरै खाने अनि पिउने, धूम्रपान गर्ने, लागूपदार्थ सेवन गर्ने, अवैध यौनसम्बन्ध राख्नेजस्ता खराब काम गर्थे। तर बप्तिस्मापछि पनि तिनीहरूलाई कहिलेकाहीं पहिलेकै खराब काम गर्न सकसकी लाग्न सक्छ। तपाईंलाई पनि यहोवाको कुनै नियम उल्लङ्‌घन गर्ने प्रलोभन आउँदा आफ्ना भावनाहरूलाई काबूमा राखेन भने यहोवासितको सम्बन्धमा कस्तो पर्ला भनेर पहिल्यै सोचविचार गर्नुहोस्‌। आफू कस्तो अवस्थामा प्रलोभनमा पर्न सक्छु अनि कसरी त्यसको प्रतिरोध गर्ने भनेर पहिल्यै विचार गर्नुहोस्‌। यसो गर्दा खराब कुराको प्रतिरोध गर्ने तपाईंको आत्मबल बढ्‌नेछ। (भज. २६:४, ५; हितो. २२:३) प्रलोभनमा पर्दा त्यसको प्रतिरोध गर्नको लागि बुद्धि र आत्मसंयम देखाउन यहोवासित मदत माग्नुहोस्‌।

१०, ११. (क) युवाहरूले स्कुलमा कस्तो प्रलोभनको सामना गर्दै छन्‌? (ख) गलत आचरणमा फस्ने प्रलोभनको प्रतिरोध गर्न युवाहरूलाई केले मदत गर्छ?

१० आज मण्डलीका थुप्रै युवा यूसुफको जस्तै प्रलोभनको सामना गर्दै छन्‌। किम बहिनीको अनुभव विचार गर्नुहोस्‌। तिनको कक्षाका साथीहरूको लागि यौनसम्बन्ध राख्नु सामान्य कुरा थियो। तिनीहरू सप्ताहन्तपछि स्कुलमा आउँदा ‘मैले अस्ति फलानो-फलानोसित यौनसम्बन्ध राखें’ भनेर फुइँ लगाउँथे। तर किम बहिनीसित साथीहरूलाई सुनाउने त्यस्तो केही कुरा थिएन। आफू अरूभन्दा फरक भएकोले तिनी कहिलेकाहीं “एक्लो र आफूलाई कसैले साथी बनाउन नचाहेको” महसुस गर्थिन्‌। डेटिङ नगर्ने भएकोले साथीहरू तिनलाई मूर्ख ठान्थे। तर किमले त्यस्तो अडान लिनु वास्तवमा बुद्धिमानी थियो। युवावस्थामा यौनइच्छा प्रबल हुन्छ भनेर तिनलाई थाह थियो। (२ तिमो. २:२२) ‘तिमी अझै पनि भर्जिन नै छ्यौ’ भनेर साथीहरू तिनलाई अक्सर सोध्ने गर्थे। यस्तो बेला तिनी आफूले यौनसम्बन्ध नराख्नुको कारण बताउने मौका पाउँथिन्‌। यौनसम्बन्ध राख्ने दबाबको प्रतिरोध गर्न कटिबद्ध युवाहरूको हामी मनैदेखि प्रशंसा गर्छौं। यस्ता युवाहरू देख्दा यहोवा पनि खुसी हुनुहुन्छ।

११ अवैध यौनसम्बन्ध राख्ने प्रलोभन आउँदा आफ्नो भावनालाई काबूमा राख्न नसकेका थुप्रै व्यक्‍तिको नराम्रो उदाहरण बाइबलमा पाइन्छ। आत्मसंयम नदेखाउँदा हुन सक्ने नतिजाबारे पनि बाइबलमा लेखिएको छ। किम बहिनीजस्तै सङ्‌घर्ष गरिरहेकाहरूले हितोपदेश अध्याय ७ मा बताइएको मूर्ख केटाको उदाहरणबाट राम्रो पाठ सिक्न सक्छन्‌। साथै अम्नोनले गरेको कुकर्म र त्यसले ल्याएको घातक नतिजाबारे पनि विचार गर्नुहोस्‌। (२ शमू. १३:१, २, १०-१५, २८-३२) आमाबुबाले पारिवारिक उपासनाको दौडान बाइबलका यी उदाहरणहरू प्रयोग गर्न सक्छन्‌। यी उदाहरणहरू प्रयोग गरेर छोराछोरीलाई अवैध यौनसम्बन्ध राख्ने प्रलोभन आउँदा आत्मसंयम देखाउने अनि बुद्धिमानी कदम चाल्नेबारे सिकाउन सक्छन्‌।

१२. (क) दाइहरूसित कुरा गर्दा यूसुफले कसरी आफ्नो भावनालाई वशमा राखे? (ख) कस्ता परिस्थितिहरूमा हामीले आफ्नो भावनालाई वशमा राख्नुपर्छ?

१२ यूसुफले आत्मसंयम देखाएको अर्को विवरण पनि बाइबलमा पाइन्छ। एक चोटि तिनका दाइहरू मिश्रमा खानेकुरा किन्‍न आएका थिए। दाइहरूको मनको कुरा बुझ्न तिनले आफ्नो परिचय लुकाए। तिनले आफ्नो भावनालाई वशमा राख्दै दाइहरूसित कुरा गरे। तर आफ्नो मनलाई थाम्नै नसकेपछि तिनी एकान्तमा गएर रोए। (उत्प. ४३:३०, ३१; ४५:१) कुनै भाइबहिनी वा नजिकको मान्छेको बोली-व्यवहारले गर्दा हाम्रो चित्त दुखेको हुन सक्छ। त्यस्तो बेला यूसुफले जस्तै आत्मसंयम देखायौं भने आवेगमा आएर कुनै गलत कदम चाल्नदेखि जोगिनेछौं। (हितो. १६:३२; १७:२७) अथवा बहिष्कार भएको नातेदारसित अनावश्‍यक रूपमा सम्पर्क नराख्न पनि हामीले आत्मसंयम देखाउनुपर्ने हुन सक्छ। हुन त यस्ता परिस्थितिहरूमा आत्मसंयम देखाउन सजिलो हुँदैन। तर यहोवाको अनुकरण गरिरहेका छौं अनि उहाँको सल्लाहअनुसार चलिरहेका छौं भनेर बुझ्यौं भने हामीलाई आत्मसंयम देखाउन सजिलो हुनेछ।

१३. राजा दाऊदबाट कस्ता पाठ सिक्न सक्छौं?

१३ आत्मसंयम देखाउने सन्दर्भमा राजा दाऊदको उदाहरण पनि उल्लेखनीय छ। हुन त दाऊदसित निकै अख्तियार थियो तर शाऊल अनि शिमीले रिस उठाउँदा तिनले त्यसको दुरुपयोग गरेनन्‌। (१ शमू. २६:९-११; २ शमू. १६:५-१०) तर यसको मतलब तिनले सधैं आत्मसंयम देखाए भन्‍ने पनि होइन। किनभने तिनले बेतशेबासित अवैध यौनसम्बन्ध राखेका थिए। अनि नाबालको लोभी व्यवहारबारे थाह पाउँदा झडङ्‌ङ रिसाएका थिए। (१ शमू. २५:१०-१३; २ शमू. ११:२-४) तैपनि हामी दाऊदबाट महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौं। पहिलो, परमेश्‍वरका जनहरूमाझ निरीक्षकको रूपमा सेवा गर्नेहरू आफ्नो अख्तियारको दुरुपयोग नगरी आत्मसंयम देखाउन अझ बढी सजग हुनुपर्छ। दोस्रो, हामीमध्ये कसैले पनि ‘म प्रलोभनमा कहिल्यै फस्दिनँ’ भनेर आफूमा बढ्‌तै भरोसा राख्नु हुँदैन।—१ कोरि. १०:१२.

तपाईंले गर्न सक्ने व्यावहारिक कुराहरू

१४. एक जना भाइको अनुभव बताउनुहोस्‌। तिनको जस्तै अवस्थामा पर्दा हामी पनि किन शान्त रहनुपर्छ?

१४ आत्मसंयम विकास गर्न तपाईं के गर्न सक्नुहुन्छ? लुइगी भाइको अनुभव विचार गर्नुहोस्‌। एक चोटिको कुरा हो, तिनको गाडीलाई अर्को गाडीले पछाडिबाट हानेछ। गल्ती आफ्नो भए पनि ती चालकले उल्टै लुइगीसित निहुँ खोज्न अनि झगडा गर्न थाले। शान्त रहन सकूँ भनेर लुइगीले यहोवालाई प्रार्थना गरे। तिनले ती चालकलाई शान्त गराउन खोजे तर केही सीप लागेन। लुइगीले पछि क्षतिपूर्ति पाउनको लागि उनको गाडी नम्बर टिपे। ती चालक कराउँदै थिए तर लुइगीले उनीसित भनाभन गरेनन्‌। त्यसको एक हप्तापछि लुइगी एक जना महिलालाई पुनःभेट गर्न गए; ती महिला त त्यस चालकको श्रीमती पो रहेछिन्‌! लुइगीको राम्रो व्यवहार देखेर उनी साह्रै लज्जित भए अनि लुइगीसित माफी मागे। लुइगीले छिट्टै क्षतिपूर्ति पाउन सकून्‌ भनेर ती चालकले बिमा कम्पनीसित कुरा गरिदिन्छु पनि भने। अनि त्यतिबेला भएको बाइबल सम्बन्धी कुराकानी उनलाई रमाइलो लाग्यो। यस्तो राम्रो नतिजा विचार गर्दा लुइगीले दुर्घटना हुँदा आफू शान्त रहनु कत्ति महत्त्वपूर्ण थियो भनेर बुझ्न सके। साथै त्यतिबेला आफूले पनि रिस पोखाएको भए नतिजा कत्ति नराम्रो हुने थियो भनेर पनि बुझे।—२ कोरिन्थी ६:३, ४ पढ्‌नुहोस्‌।

गाली गर्ने व्यक्‍तिप्रति एक जना साक्षीले देखाएको प्रतिक्रियाको आधारमा तिनलाई पछि प्रचारकार्यमा राम्रो या नराम्रो व्यवहार गरिन्छ

हाम्रो प्रतिक्रियाले प्रचारकार्यमा राम्रो या नराम्रो असर पार्न सक्छ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१५, १६. आत्मसंयम विकास गर्न तपाईं र तपाईंको परिवारलाई बाइबल अध्ययनले कसरी मदत गर्छ?

१५ हामीले लगनशील भई नियमित रूपमा बाइबल अध्ययन गऱ्‍यौं भने आत्मसंयम विकास गर्न सक्नेछौं। यहोवाले यहोशूलाई के भन्‍नुभएको थियो, याद गर्नुहोस्‌: “व्यवस्थाको यो पुस्तक तेरो ओंठबाट नहटोस्‌, तर त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू, र मात्र तेरा सबै मार्गहरूमा उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌।” (यहो. १:८) बाइबल अध्ययनले तपाईंलाई आत्मसंयम विकास गर्न कसरी मदत गर्छ?

१६ आत्मसंयम देखाउँदा र नदेखाउँदा नतिजा कस्तो हुन्छ भनी बुझ्न मदत गर्ने थुप्रै उदाहरण बाइबलमा छन्‌ भनेर हामीले थाह पायौं। ती सबै विवरण यहोवाले हाम्रै फाइदाको लागि लेख्न लगाउनुभयो। (रोमी १५:४) त्यसैले ती विवरण पढ्‌नु, त्यसमा मनन गर्नु अनि त्यसबारे अध्ययन गर्नु राम्रो हो। त्यसबाट सिकेको कुरा आफू अनि आफ्नो परिवारलाई कसरी लागू हुन्छ, विचार गर्नुहोस्‌। अनि सिकेको कुरा व्यवहारमा उतार्न सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌। कुनै-कुनै अवस्थामा आफूलाई आत्मसंयम देखाउन गाह्रो लागेको याद गर्नुभयो भने त्यो स्विकार्नुहोस्‌। त्यसबारे प्रार्थना गर्नुहोस्‌ अनि त्यस्तो अवस्थामा कसरी आत्मसंयम देखाउने भनेर बुझ्न कोसिस गर्नुहोस्‌। (याकू. १:५) हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्नुभयो भने तपाईंले यस विषयमा व्यावहारिक सल्लाह पक्कै पाउनुहुनेछ।

१७. आत्मसंयम विकास गर्न आमाबुबाले छोराछोरीलाई कसरी मदत गर्न सक्छन्‌?

१७ आत्मसंयम विकास गर्न तपाईं छोराछोरीलाई कसरी मदत गर्न सक्नुहुन्छ? साना छोराछोरीमा यो गुण जन्मजात आउँदैन भनेर आमाबुबालाई थाह छ। छोराछोरीले अरू गुणजस्तै यो गुण पनि विकास गर्न सिक्नुपर्छ। त्यसको लागि आमाबुबा आफैले राम्रो उदाहरण बसालेर छोराछोरीलाई सिकाउनुपर्छ। (एफि. ६:४) छोराछोरीलाई आफ्नो भावना काबूमा राख्न गाह्रो भएको याद गर्नुभयो भने तपाईं आमाबुबाले कस्तो उदाहरण बसाल्दै हुनुहुन्छ भनेर विचार गर्नुहोस्‌। प्रचारकार्यमा नियमित रूपमा भाग लिंदा, सभामा उपस्थित हुँदा अनि पारिवारिक उपासना गर्दा त्यसले छोराछोरीमा राम्रो प्रभाव पार्छ भन्‍ने कुरालाई हल्कासित नलिनुहोस्‌। छोराछोरीले जिद्दी गरे भन्दैमा उनीहरूको एक-एक माग पूरा गर्नै पर्छ भन्‍ने छैन। यहोवाले आदम अनि हव्वाको लागि सीमा तोक्नुभएको थियो। त्यसले तिनीहरूलाई यहोवाको अख्तियारको आदर गर्न मदत गर्ने थियो। त्यसैगरि, आमाबुबाले अनुशासन दिंदा अनि राम्रो उदाहरण बसाल्दा छोराछोरीले आत्मसंयम विकास गर्न मदत पाउँछन्‌। छोराछोरीलाई सिकाउन सक्ने थुप्रै अनमोल कुरामध्ये एउटा परमेश्‍वरको अख्तियारको कदर गर्नु अनि उहाँका स्तरहरूलाई आदर गर्नु हो।—हितोपदेश १:५, ७, ८ पढ्‌नुहोस्‌।

१८. साथी-सङ्‌गत छान्‍ने सन्दर्भमा हामी किन होसियार हुनुपर्छ?

१८ हामी आमाबुबा होऔं वा नहोऔं, सङ्‌गत छान्‍ने सन्दर्भमा हामी सबै जना होसियार हुनै पर्छ। राम्रा लक्ष्य हासिल गर्न अनि समस्यामा पर्नदेखि जोगिन मदत गर्ने व्यक्‍तिलाई आफ्नो साथी बनाउनुहोस्‌। (हितो. १३:२०) यहोवालाई प्रेम गर्ने साथीहरूसित सङ्‌गत गर्दा तपाईंमा राम्रो प्रभाव पर्नेछ। अनि तिनीहरूले जस्तै आत्मसंयम देखाउन मदत पाउनुहुनेछ। साथै तपाईंको असल आचरणले तिनीहरूमा पनि राम्रो प्रभाव पर्नेछ। आत्मसंयम देखाउँदा तपाईंले हरेक दिन यहोवाको अनुमोदन पाउन, आनन्दित हुन अनि आफूले माया गर्ने व्यक्‍तिहरूसित राम्रो सम्बन्ध कायम गर्न मदत पाउनुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने