तीतस—“तिमीहरूतर्फका सह-कर्मी”
प्रथम शताब्दीको मसीही मण्डलीमा कहिलेकाहीं समस्याहरू उत्पन्न हुन्थे। अनि यिनीहरूको समाधान गर्नुपर्थ्यो र त्यसो गर्न आँट र आज्ञाकारीताको आवश्यकता पर्थ्यो। यस्ता थुप्रै चुनौतीहरू सफलतासाथ सामना गर्नेहरू मध्ये एक तीतस थिए। प्रेरित पावलका सहकर्मी तीतसले अरूलाई यहोवाको तौरतरिकाअनुसार काम गर्न मदत दिने कोसिस गरे। त्यसैले तीतस ‘तिनीहरूतर्फका सह-कर्मी’ थिए भनी पावलले कोरिन्थका मसीहीहरूलाई लेखे।—२ कोरिन्थी ८:२३.
तीतस को थिए? समस्याहरू समाधान गर्न तिनले कस्तो भूमिका निभाए? अनि तिनको चालचलनमा ध्यान दिएर हामीले कसरी लाभ उठाउनसक्छौं?
खतना सम्बन्धी विवाद
तीतस खतना नभएका ग्रीक थिए। (गलाती २:३)a पावलले तिनलाई “सर्वसाधरण विश्वासको अनुसार मेरो खास छोरो तीतस” भनी सम्बोधन गरेको हुनाले तिनी प्रेरित पावलका आध्यात्मिक छोरा हुनसक्छन्। (तीतस १:४; तुलना गर्नुहोस् १ तिमोथी १:२) सिरियाको एन्टिओकबाट सा.यु. ४९ मा खतनाबारे छलफल गर्न पावल, वर्णावास र अरूसित तिनी पनि यरूशलेम गएका थिए।—प्रेरित १५:१, २; गलाती २:१.
खतना नगरिएका अन्यजातिहरूको धर्म परिवर्तन नै यरूशलेममा हुनलागेको बहसको विषय भएकोले, खतना गरिएको होस् वा नहोस् यहूदी अनि गैरयहूदीहरूले परमेश्वरको अनुग्रह पाउनसक्छन् भनेर देखाउन तीतसलाई पनि सँगै लगिएको थियो पनि भनिन्छ। यरूशलेम मण्डलीका केही मसीहीहरू जो अघि फरिसीहरू थिए, तिनीहरू अन्यजातिहरूले धर्म परिवर्तनपछि खतना गर्नु र व्यवस्था पालन गर्नु अत्यावश्यक छ भनी विवाद गर्न थाले। तर यो तर्कको विरोध गरियो। तीतस र अन्यजातिहरूलाई खतना लिन बाध्य पार्नु भनेको मुक्ति यहोवाको अनुग्रह र येशूमाथिको विश्वासमा नभई व्यवस्थाका कामहरूमा निर्भर छ भनी विश्वास दिलाउन खोजेको जस्तो हुनेथियो। साथै अन्यजाति अथवा अरू राष्ट्रका मानिसहरूले परमेश्वरको पवित्र आत्मा पाएको प्रमाण अस्वीकारगरेको पनि हुनेथियो।—प्रेरित १५:५-१२.
कोरिन्थमा खटिए
खतनाको विवादको छिनोफानो भइसकेपछि पावल र बर्णाबासलाई राष्ट्रहरूलाई प्रचार गर्ने पूर्ण अधिकार दिइयो यी दुवैले प्रचार गर्नुकासाथै गरीबहरूलाई ध्यानमा राख्ने प्रयत्न पनि गरे। (गलाती २:९, १०) वास्तवमा, छ वर्षपछि प्रेरित लेखोटमा तीतसको नाउँ पुनः उल्लेख हुँदा तिनी पावलको प्रतिनिधित्व गर्दै कोरिन्थको मण्डलीमा पवित्रजनहरूका लागि अनुदान संकलन गर्दै थिए। यद्यपि, तिनले यो काम गरिरहँदा आफूलाई अर्कै तनावयुक्त परिस्थितिमा पाए।
पावलले कोरिन्थीहरूलाई लेखेको पहिलो पत्र हेर्दा तिनीहरूलाई पहिलेनै “व्यभिचारीहरूको सङ्गत नगर्नू” भनी लेखेका थिए भन्ने कुरा स्पष्ट हुन्छ। अपश्चात्तापी व्यभिचारीहरूलाई आफ्नो माझबाट हटाउन तिनीहरूलाई सल्लाह दिनुपरेको थियो। हो, पावलले “धेरै आँसु बगाउँदै” जोडदार पत्र लेखे। (१ कोरिन्थी ५:९-१३; २ कोरिन्थी २:४) त्यसैबेला तीतसलाई यहूदाका खाँचोमा परेका यहूदी मसीहीहरूको लागि चन्दा बटुल्न कोरिन्थ पठाइयो। सायद तिनलाई कोरिन्थहरूको प्रतिक्रिया बुझ्न पठाइएको पनि हुनसक्छ।—२ कोरिन्थी ८:१-६.
कोरिन्थका मसीहीहरूले पावलको सल्लाहप्रति कस्तो प्रतिक्रिया देखाउने थिए त? यो थाह पाउन व्याकुल भएका पावलले तिनलाई सकेसम्म चाँडै रिपोर्ट ल्याउने निर्देशन दिएर एफिससबाट एजियन समुद्री मार्गबाट कोरिन्थमा पठाएको हुनसक्छ। यदि त्यो यात्रा जाडो यामको लागि (नोभेम्बरको मध्यतिर) समुद्रीयात्रा ठप्प हुन अघि नै पूरा भएको भए तिनी त्रोआसबाट जहाजमा वा हेलेसपोन्ट भएर लामो स्थलयात्रा गर्नसक्थे। एफिससमा चाँदीका शिल्पकारीहरूले फैलाएको दंगाको कारण सायद पावलले योजनाअनुसार भेट्न मिलाएको त्रोआस भन्ने ठाउँमा समय अगावै आइपुगे होलान्। त्रोआसमा व्याकुल हुँदै पर्खेपछि पावलले तीतस समुद्री मार्गबाट आउनेछैनन् भन्ने विचार गरे। अतः पावलले बाटोमै भेट्ने आशाले पैदल यात्रा गरे। युरोपियन भूमिमा पुगेपछि तिनले भिया इगनेशियाको बाटो समात्नसक्थे। अन्ततः तिनले मेसिडोनियामा तीतसलाई भेटे। कोरिन्थको सुसमाचार पाएर पावलको मन हल्का भयो र तिनी असल समाचार सुन्न पाएकोमा आनन्दित भए। कोरिन्थको मण्डलीले प्रेरितको सल्लाहप्रति सकारात्मक प्रतिक्रिया देखाएका रहेछन्।—२ कोरिन्थी २:१२, १३; ७:५-७.
पावल आफ्ना प्रतिनिधिले अनुभव गर्नसक्ने स्वागतको सम्बन्धमा चिन्तित भए पनि तीतसलाई आफ्नो जिम्मेवारी पूरा गर्न परमेश्वरले मदत गर्नुभयो। तिनलाई “डर र कम्पसाथ” स्वागत गरियो। (२ कोरिन्थी ७:८-१५) टिप्पणीकार डब्लु. डी. थोमस भन्छन्: “पावलको हप्कीलाई, अलिकति पनि हल्का नबनाई [तीतसले] कोरिन्थहरूलाई तिनीहरूको आध्यात्मिक भलाइलाई नै मनमा राखेर पावलले त्यसो भनेका थिए भनी कुशलता र चलाखीपूर्वक सम्झाए।” यस प्रक्रियामा कोरिन्थका मसीहीहरूको आज्ञाकारी भावना र सकारात्मक परिवर्तन देखेर तीतसलाई माया लाग्यो। तिनीहरूको प्रशंसनीय चाल तिनको लागि प्रोत्साहनको स्रोत साबित भयो।
तीतसको कोरिन्थ यात्राको अर्को पक्ष अर्थात् यहूदियाको पवित्रजनहरूका लागि अनुदान संकलन गर्ने बारे के भन्न सकिन्छ? दोस्रो कोरिन्थीको पुस्तकमा पाइने जानकारीबाट तिनी त्यसमा पनि काम गर्दैथे भन्ने अनुमान गर्न सकिन्छ। यो पत्र सा.यु. ५५ को अन्ततिर तीतस र पावल भेट्ने बित्तिकै मेसिडोनियामा लेखिएको हुनसक्छ। अनुदान संकलन गर्ने काम सुरु गर्ने तीतसलाई त्यो काम पूरा गर्न नाम उल्लेख नगरिएका दुई सहयोगीहरूसहित पुनः पठाइएको छ भनी पावलले लेखे। कोरिन्थहरूप्रति असाध्यै चासोलिने तीतस त्यहाँ जान अति इच्छुक थिए। कोरिन्थमा फर्कंदा तीतसले दोस्रो पत्र पनि साथै लगेका हुनुपर्छ।—२ कोरिन्थी ८:६, १७, १८, २२.
तीतस कुशल व्यवस्थापक थिए। साथै तिनी कठिन परिस्थितिहरूमा पनि संवेदनशील कार्यभारहरू सुम्पन सकिने भरपर्दा थिए। तिनी साहसी, परिपक्व अनि दृढ़ थिए। “मुख्य प्रेरितहरू[ले]” उत्पन्न गरेका दीर्घकालीन चुनौतीहरूको सामना गर्न तीतस सक्षम छन् भन्ने कुरा पावलले मानिलिए। (२ कोरिन्थी ११:५) तिनी अर्को चोटि धर्मशास्त्रमा देखा पर्दा यस कुरालाई प्रमाणित गर्दै अर्को चुनौतीपूर्ण कार्यभार सम्हाल्दै थिए।
क्रेट टापुमा
सा.यु. ६१ र ६४ को मध्यतिर पावलले त्यसबेला भूमध्य सागरको क्रेट टापुमा सेवा गरिरहेका तीतसलाई चिठी लेखे। पावलले तिनलाई “चाहिंदो कुराहरूको सुधार ग[र्न]” र “हरेक शहरमा धर्म-गुरुहरू नियुक्त गर्न” त्यहीं छाडेका थिए। साधारणतया, क्रेटहरू “झूटा, दुष्ट पशुहरू र अल्छी घिचुवाहरू” भनेर चिनिन्थे। त्यसैले यहाँपनि तिनी आँटिलो र दृढ़ हुनुपर्थ्यो। (तीतस १:५, १०-१२) यस टापुमा मसीही धर्मको भविष्य नै सपार्नुपर्ने भएकोले यो निकै गहन दायित्व थियो। प्रेरणा पाएर पावलले सम्भाव्य निरीक्षकहरूमा हुनुपर्ने गुणहरू के के हुन तोकेर तिनलाई निर्देशन दिंदै मदत गरे। ती योग्यताहरू अहिले पनि मसीही प्राचीनहरू नियुक्त गर्दा ध्यानमा राखिन्छन्।
तीतसले क्रेट कहिले छाडे भनेर धर्मशास्त्रले बताउँदैन। पावलले त्यहाँ अनिश्चितकालीन यात्रामा जान लागेका जीनस र अपोल्लसको आवश्यकताहरू पूरा गर्न अह्राउँदासम्म पनि त्यहीं भएकोले तिनी लामो समयसम्म त्यहाँ थिए भन्न सकिन्छ। तर तिनी धेरै समय त्यहाँ बस्ने थिएनन्। पावलले त्यहाँ अर्त्तिमास अथवा टाइकिकसलाई पठाउने र तीतसलाई निकोपोलिस, सायद ग्रीसको उत्तरपश्चिममा अवस्थित प्रमुख शहरमा, भेट्ने योजना बनाउँदै थिए।—तीतस ३:१२, १३.
बाइबलमा तीतसको अन्तिम संक्षिप्त जानकारीबाट पावलले तिनलाई करिब सा.यु. ६५ तिर अर्को जिम्मेवारीमा खटाए भनेर थाह पाउनसक्छौं। जसले गर्दा तिनी वर्तमान क्रोयसियाको आड्रियाटिक समुद्रको पूर्वी इलाकाको दालमेतियामा पुगे। (२ तिमोथी ४:१०) तिनी त्यहाँ गएको कारण उल्लेख गरेको त छैन तर मण्डलीको मामिला व्यवस्थित गर्न र प्रचारको गतिविधिमा जुट्न पठाइएका हुनसक्छन् पनि भनिन्छ। यदि त्यसो हो भने, तिनले क्रेटमा सेवा गरेजस्तै क्षमताको प्रयोग गरेका हुनसक्छन्।
तीतस जस्ता परिपक्व मसीही निरीक्षकहरू पाएर हामी साह्रै कृतज्ञ छौं! तिनीहरूमा भएको शास्त्रीय आधारभूत सिद्धान्तहरूको सही ज्ञान अनि त्यसको साहसी प्रयोगले मण्डलीको आध्यात्मिकताको सुरक्षा गर्न मदत गर्छ। हामीले पनि तिनीहरूको अनुकरण गरेर हाम्रा सह-विश्वासीहरूको आध्यात्मिक चासोलाई बढाउँदै आफूलाई तीतसजस्तै साबित गरौं।—हिब्रू १३:७.
[फुटनोट]
a गलाती २:३ ले तीतसलाई ग्रीक (हेललेन) भनी वर्णन गर्छ। यसको अर्थ तिनी युनानी कुलका हुनसक्छन्। तथापि, भाषा र संस्कृति चाहिं युनानी नै भएका गैरयुनानीहरूलाई बुझाउन युनानी लेखकहरू बहुवचन (हेलेनेश) प्रयोग गर्छन् भन्ने दाबी गरिएको छ। यस अर्थमा पनि तिनी ग्रीक हुनसक्छन्।
[पृष्ठ ३१-मा भएको चित्र]
कोरिन्थका मसीहीहरू र अन्य स्थानका लागि पनि तीतस साहसी सह-कर्मी थिए