प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bt chap. २१ pp. १६५-१७२
  • “सबै मानिसको रगतबाट म निर्दोष छु”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सबै मानिसको रगतबाट म निर्दोष छु”
  • परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “तिनी म्यासिडोनियाको यात्रामा निस्के” (प्रेषित २०:१, २)
  • “तिनीविरुद्ध षड्‌यन्त्र रचे” (प्रेषित २०:३, ४)
  • “उनीहरूले धेरै सान्त्वना पाए” (प्रेषित २०:५-१२)
  • “जनसमक्ष र घरघरमा” (प्रेषित २०:१३-२४)
  • “आफ्नो विषयमा होसियार हुनुहोस्‌ र पूरै बगालको हेरचाह गर्नुहोस्‌” (प्रेषित २०:२५-३८)
  • निर्भयतासाथ यहोवाको राज्यको घोषणा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “चुपचाप नबस बरु बोलिरह”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • “राम्ररी साक्षी दिए”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • यहोवाको वचन प्रबल हुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
bt chap. २१ pp. १६५-१७२

अध्याय २१

“सबै मानिसको रगतबाट म निर्दोष छु”

साक्षीकार्यमा पावलको जोस र एल्डरहरूलाई तिनको सल्लाह

प्रेषित २०:१-३८ मा आधारित

१-३. (क) युटाइकसको मृत्युको रात के भइरहेको थियो, बताउनुहोस्‌। (ख) पावलले के गरे? यस घटनाबाट हामी पावलबारे कुन कुरा बुझ्न सक्छौँ?

पावल त्रोआसमा एउटा घरको माथिल्लो तलामा छन्‌। कोठामा मानिसहरू खचाखच छन्‌। त्यहाँका भाइबहिनीसित बिताउने तिनको यो अन्तिम साँझ भएकोले तिनी धेरै बेर कुरा गर्छन्‌। मध्यरात भइसकेको छ। कोठामा थुप्रै दियो बलिरहेका छन्‌। कोठा झनै गर्मी भएको छ र सायद धुवाँले पनि भरिएको छ। एउटा झ्यालमा युटाइकस नाम गरेका ठिटा बसिरहेका थिए। पावलले कुरा गरिरहेको बेलामा युटाइकस भुसुक्कै निदाएर तीन तलामाथिको झ्यालबाट खस्छन्‌!

२ युटाइकसलाई हेर्न मानिसहरू दौडिन्छन्‌। सायद तिनीहरूमध्ये लुका सबैभन्दा छिटो तल पुग्छन्‌ किनकि तिनी एक वैद्य हुन्‌। दुःखको कुरा, युटाइकस ‘मर्छन्‌।’ (प्रेषि. २०:९) तर एउटा चमत्कार हुन्छ। पावल तल ओर्लेर उनीमाथि लम्पसार पर्छन्‌ र भीडलाई यसो भन्छन्‌: “शान्त होओ किनकि ऊ जिउँदै छ।” पावल युटाइकसलाई फेरि जीवित पार्छन्‌!—प्रेषि. २०:१०.

३ यस घटनाले परमेश्‍वरको पवित्र शक्‍ति कत्तिको शक्‍तिशाली छ भनेर प्रमाण दिन्छ। युटाइकस पावलको कारणले मरेका त होइनन्‌। तैपनि त्यस ठिटोको मृत्युले गर्दा त्यो अन्तिम कुराकानीको महत्त्वपूर्ण अवसर खलबलिएको वा कसैलाई ठेस पुगेको पावल चाहँदैन थिए। युटाइकसलाई फेरि जीवित पारेर पावलले मण्डलीलाई सान्त्वना दिए र साक्षीकार्यमा लागिरहन जोसले भरिदिए। स्पष्ट छ, मानिसहरूको जीवन बचाउनुलाई पावल आफ्नो जिम्मेवारी ठान्थे। यसबाट हामीलाई तिनले भनेको यो कुरा सम्झना आउँछ: “सबै मानिसको रगतबाट म निर्दोष छु।” (प्रेषि. २०:२६) यस विषयमा पावलको उदाहरणले हामीलाई कसरी मदत गर्छ, अब हामी विचार गरौँ।

“तिनी म्यासिडोनियाको यात्रामा निस्के” (प्रेषित २०:१, २)

४. पावलले कस्तो कठिन परिस्थिति भोगेका थिए?

४ अघिल्लो लेखमा पनि छलफल गरिएझैँ पावलले कठिन परिस्थितिहरू भोगेका थिए। एफिससमा साक्षी दिँदा त्यहाँ खैलाबैला मच्चिएको थियो। अर्तिमिसको मूर्ति बनाएर जीविका चलाइरहेका कारिगरहरूले हुलदङ्‌गा मच्चाएका थिए। प्रेषित २०:१ मा यसो भनिएको छ: “हुलदङ्‌गा थामिएपछि पावलले चेलाहरूलाई बोलाएर प्रोत्साहन दिए अनि उनीहरूसित बिदाबारी गरेपछि तिनी म्यासिडोनियाको यात्रामा निस्के।”

५, ६. (क) पावल म्यासिडोनियामा कति समय बसेका हुन सक्छन्‌? त्यहाँ तिनले के गरे? (ख) ख्रिष्टियनहरूप्रति पावलको मनोवृत्ति कस्तो थियो?

५ म्यासिडोनिया जाँदै गर्दा पावल त्रोआसमा रोकिए र त्यहाँ केही समय बिताए। कोरिन्थमा पठाइएका तितसलाई पावलले त्यहाँ भेट्‌ने आशा गरेका थिए। (२ कोरि. २:१२, १३) तर जब तितस नआउने कुरा स्पष्ट भयो, तब पावल म्यासिडोनिया गए। तिनले “चेलाहरूसित धेरै कुरा गरेर उनीहरूलाई प्रोत्साहन” दिँदै त्यहाँ झन्डै छ महिना बिताएको हुनुपर्छ।a (प्रेषि. २०:२) तितसले पावललाई अन्ततः म्यासिडोनियामा भेटे। पावलले कोरिन्थीहरूलाई लेखेको पहिलो पत्रलाई तिनीहरूले सहर्ष स्विकारेको राम्रो खबर उनले ल्याएका थिए। (२ कोरि. ७:५-७) यसले गर्दा पावल तिनीहरूलाई अर्को पत्र लेख्न उत्प्रेरित भए। त्यस पत्रलाई अहिले २ कोरिन्थी भनिन्छ।

६ एफिसस र म्यासिडोनियाका भाइहरूसितको पावलको भेटबारे बताउन लुकाले “प्रोत्साहन” शब्द चलाउनु उल्लेखनीय छ। फरिसीहरू मानिसहरूलाई तुच्छ ठान्थे। तर पावल भने ख्रिष्टियनहरूलाई आफ्नो सहकर्मी ठान्थे। ख्रिष्टियनहरूप्रति पावल कत्ति सकारात्मक! (युह. ७:४७-४९; १ कोरि. ३:९) भाइबहिनीलाई कडा सल्लाह दिनुपर्दा समेत तिनले कसैलाई होच्याएनन्‌।—२ कोरि. २:४.

७. आज ख्रिष्टियन निरीक्षकहरूले कसरी पावलको उदाहरण अनुकरण गर्न सक्छन्‌?

७ आज मण्डलीका एल्डर र क्षेत्रीय निरीक्षकहरूले पावलको उदाहरण अनुकरण गर्न सक्दो प्रयास गर्छन्‌। तिनीहरू कसैलाई न्यायिक सुधार दिँदा समेत उनलाई आध्यात्मिक रूपमा बलियो हुन मदत गर्ने लक्ष्य राख्छन्‌। निरीक्षकहरूले अरूको निन्दा गर्नुको सट्टा समानुभूति देखाउँदै प्रोत्साहन दिने कोसिस गर्छन्‌। एक जना अनुभवी क्षेत्रीय निरीक्षकले यसो भने: “हाम्रा सबैजसो भाइबहिनीहरू जे सही छ, त्यही गर्न चाहन्छन्‌। तर जीवनमा आइपरेका समस्याहरूले गर्दा तिनीहरूलाई निराशा र डरले छोपेको हुन सक्छ अनि निस्सहाय महसुस गरिरहेका हुन सक्छन्‌।” त्यस्ता भाइबहिनीको लागि निरीक्षकहरू बलको स्रोत हुन सक्छन्‌।—हिब्रू १२:१२, १३.

पावलले म्यासिडोनियामा लेखेका पत्रहरू

कोरिन्थीहरूलाई लेखेको दोस्रो पत्रमा पावलले आफू म्यासिडोनिया पुग्दा कोरिन्थका भाइहरूको चिन्ता लागेको कुरा बताए। तर तितसले कोरिन्थबाट राम्रो खबर ल्याए र पावलले सान्त्वना पाए। इस्वी संवत्‌ ५५ तिर पावलले कोरिन्थीहरूलाई दोस्रो पत्र लेखे। त्यस पत्रबाट तिनी अझै म्यासिडोनियामै थिए भनेर हामी बुझ्न सक्छौँ। (२ कोरि. ७:५-७; ९:२-४) यस समयमा पावलले यहुदियाका भाइहरूको लागि दान जम्मा गर्नेबारे पनि सोचिरहेका थिए। (२ कोरि. ८:१८-२१) “झूटा प्रेषितहरू अनि छली काम गर्ने मानिसहरू” कोरिन्थमा देखिन थालेकोले पनि तिनी चिन्तित थिए।—२ कोरि. ११:५, १३, १४.

पावलले तितसलाई पनि म्यासिडोनियाबाटै पत्र लेखेका हुन सक्छन्‌। रोममा पहिलो चोटि कैदमा परेर छुटेपछि इस्वी संवत्‌ ६१ देखि ६४ को बीचमा पावल क्रेट टापु गए। तिनले तितसलाई त्यहाँ सुधार्नुपर्ने कुराहरू सुधार्न र मण्डलीमा एल्डरहरू नियुक्‍त गर्न त्यहीँ छोडे। (ति. १:५) ‘निकोपोलिसमा मलाई भेट्‌नू’ भनेर पावलले तितसलाई बताए। प्राचीन समयको भूमध्यसागरको इलाका वरिपरि यस्तै नामका सहरहरू थुप्रै थिए। तर पावलले तिनलाई ग्रीसको उत्तरपश्‍चिममा रहेको निकोपोलिसमा भेट्‌न भनिरहेका थिए। तितसलाई पत्र लेख्दा पावल निकोपोलिस वरिपरि नै थिए होलान्‌।—ति. ३:१२.

पावलले तिमोथिलाई यसै समयमा अर्थात्‌ इस्वी संवत्‌ ६१ देखि ६४ को बीचमा पहिलो पत्र लेखे। यस समयको दौडान तिनी दुई चोटि रोमको कैदमा परे। यस पत्रको सुरुमा पावल आफू म्यासिडोनियातर्फ जान लागेको तर तिमोथिलाई चाहिँ तिनले एफिससमै बस्न अनुरोध गरेको कुरा उल्लेख गरिएको पाउँछौँ। (१ तिमो. १:३) पावलले म्यासिडोनियाबाट नै तिमोथिलाई पत्र लेखे जस्तो देखिन्छ। यस पत्रमा पावलले तिमोथिलाई एक जना बुबाले झैँ सल्लाह र प्रोत्साहन दिएका छन्‌ साथै मण्डलीमा पछ्याउनुपर्ने केही प्रक्रियाबारे निर्देशन पनि दिएका छन्‌।

“तिनीविरुद्ध षड्‌यन्त्र रचे” (प्रेषित २०:३, ४)

८, ९. (क) सिरिया जाने पावलको योजनामा कस्तो अवरोध आयो? (ख) यहुदीहरूले पावलविरुद्ध द्वेषभाव राख्नुको कारण के हुन सक्छ?

८ पावल म्यासिडोनियाबाट कोरिन्थतिर लागे।b त्यहाँ तीन महिना बिताएपछि तिनी सिनक्रिया जान चाहन्थे अनि त्यहाँबाट जहाज चढेर सिरिया जाने तिनको योजना थियो। सिरियाबाट तिनी यरुसलेम जान सक्थे र खाँचोमा परेका भाइहरूलाई आफूसँग ल्याएको दान दिन सक्थे।c (प्रेषि. २४:१७; रोमी १५:२५, २६) प्रेषित २०:३ यसो भन्छ: “यहुदीहरूले तिनीविरुद्ध षड्‌यन्त्र रचे।” त्यसकारण पावलको यात्राको योजना अचानक परिवर्तन भयो।

९ यहुदीहरूले पावलप्रति द्वेषभाव राख्नु अचम्मलाग्दो कुरा थिएन किनभने तिनीहरू पावललाई धर्मत्यागी सम्झन्थे। पावलको कुरा सुनेर कोरिन्थको सभाघरका प्रतिष्ठित व्यक्‍ति क्रिस्पसले येसुमा विश्‍वास गरेका थिए। (प्रेषि. १८:७, ८; १ कोरि. १:१४) अर्को एक पटक कोरिन्थका यहुदीहरूले अखैयाका राज्यपाल गल्लियोकहाँ गएर पावलविरुद्ध आरोप लगाएका थिए। तर गल्लियोले ती सबै आरोप निराधार छन्‌ भनेर बताए। यसले गर्दा पावलका शत्रुहरू झनै चिढिएका थिए। (प्रेषि. १८:१२-१७) कोरिन्थका यहुदीहरूले पावल नजिकैको सिनक्रियाबाट जहाज चढेर जाँदै छन्‌ भनेर सुनेका वा अनुमान लगाएका हुन सक्छन्‌। त्यसैले तिनीहरूले पावललाई त्यहीँ सिद्ध्याउने षड्यन्त्र रचे। पावलले के गरे?

१०. पावल सिनक्रिया नगएकोले तिनलाई काँतर भन्‍न मिल्छ? बताउनुहोस्‌।

१० आफ्नो र आफूलाई सुम्पिएको चन्दाको सुरक्षाको लागि पावल सिनक्रिया नगई फेरि म्यासिडोनिया नै फर्किए। पैदल यात्राको चाहिँ छुट्टै खतराहरू थिए। बाटोमा चोरहरू ढुकिरहेका हुन्थे। पाटी-पौवासमेत सुरक्षित हुँदैनथे। तैपनि सिनक्रिया गएर खतरा मोल्नुको सट्टा पावलले हिँड्‌दै जानु बेस सम्झे। धन्‍न तिनी एक्लै यात्रा गरिरहेका थिएनन्‌। तिनीसँग अरिस्तार्खस, गायस, सोपाटर, तिमोथि, त्रोफिमस र टाइकिकस पनि थिए।—प्रेषि. २०:३, ४.

११. आज ख्रिष्टियनहरूले कसरी आफ्नो सुरक्षा गर्छन्‌? यस सन्दर्भमा येसुले कस्तो उदाहरण बसाल्नुभयो?

११ पावलजस्तै आज पनि ख्रिष्टियनहरू साक्षीकार्यमा भाग लिँदा आफ्नो सुरक्षाको लागि सजग हुन्छन्‌। कुनै-कुनै इलाकामा तिनीहरू एक्लै जानुको सट्टा समूहमा वा कम्तीमा पनि दुई जनासँगै जान्छन्‌। सतावट आउँदा नि? ख्रिष्टियनहरूले सतावट त पक्कै आउँछ भनेर बुझेका छन्‌। (युह. १५:२०; २ तिमो. ३:१२) तैपनि तिनीहरू अनावश्‍यक रूपमा खतरा मोल्दैनन्‌। येसुको उदाहरण विचार गर्नुहोस्‌। एकचोटि यरुसलेममा विरोधीहरूले उहाँलाई हिर्काउन ढुङ्‌गा टिप्न थाल्दा “उहाँ लुक्नुभयो र मन्दिरबाट बाहिर निस्कनुभयो।” (युह. ८:५९) पछि यहुदीहरूले उहाँलाई मार्ने षड्‌यन्त्र रच्न थाल्दा “येसु यहुदीहरूमाझ खुल्लमखुल्ला हिँड्‌नुभएन बरु त्यो ठाउँ छोडेर उहाँ निर्जनभूमिनजिकै पर्ने इलाकामा” जानुभयो। (युह. ११:५४) परमेश्‍वरले आफूलाई सुम्पनुभएको जिम्मेवारीसित नबाझिएसम्म उहाँले आफ्नो सुरक्षाको लागि व्यावहारिक कदम चाल्नुभयो। ख्रिष्टियनहरू पनि आज त्यसै गर्छन्‌।—मत्ति १०:१६.

पावल चन्दा पुऱ्‍याइदिन्छन्‌

इस्वी संवत्‌ ३३ पेन्तिकोसपछिका वर्षहरूमा यरुसलेमका ख्रिष्टियनहरूले अनेक दुःख झेल्नुपऱ्‍यो। जस्तै: अनिकाल, सतावट र लुटपाट। तिनीहरूमध्ये कोही-कोही खाँचोमा परेका थिए। (प्रेषि. ११:२७–१२:१; हिब्रू १०:३२-३४) तसर्थ इस्वी संवत्‌ ४९ तिर यरुसलेमका एल्डरहरूले पावललाई अन्यजातिकाहरूलाई सुसमाचार सुनाउने काममा ध्यान दिन निर्देशन दिँदा “गरिब भाइहरूको ख्याल गर्नू” पनि भने। मण्डलीहरूले सहयोगस्वरूप पठाएका चन्दाको राम्ररी व्यवस्थापन गरेर तिनी स्वयम्‌ले पनि त्यो काम गरे।—गला. २:१०.

इस्वी संवत्‌ ५५ मा पावलले कोरिन्थका ख्रिष्टियनहरूलाई यसो भने: “गलातियाका मण्डलीहरूलाई मैले जे निर्देशन दिएँ, तिमीहरू पनि त्यहीबमोजिम गर्न सक्छौ। हरेक हप्ताको पहिलो दिन तिमीहरू सबैले आ-आफ्नो औकातअनुसार केही छुट्ट्याएर राख्नू ताकि म आउँदा चन्दा सङ्‌कलन गर्न नपरोस्‌। अनि तिमीहरूले आफ्ना पत्रहरूमा ज-जसलाई सिफारिस गरेका छौ, म त्यहाँ आएपछि तिनीहरूलाई नै तिमीहरूले राजीखुसीले दिएको चन्दा दिएर यरुसलेम पठाउँला।” (१ कोरि. १६:१-३) त्यसको केही समयपछि प्रेरणा पाएर पावलले कोरिन्थीहरूलाई दोस्रो पत्र लेख्दा दान तयार राख्न आग्रह गरे र म्यासिडोनियाकाहरूले पनि दिँदै छन्‌ भनेर तिनले उल्लेख गरे।—२ कोरि. ८:१–९:१५.

यसरी इस्वी संवत्‌ ५६ मा विभिन्‍न मण्डलीका प्रतिनिधिहरूले पावललाई भेटेर तिनीहरूले सङ्‌कलन गरेको चन्दा दिए। सँगै यात्रा गरिरहेका नौ जना पुरुषले पावललाई सुरक्षा दिनुका साथै तिनलाई दानबाट प्राप्त रकम हिनामिना गरेको आरोप लाग्नदेखि पनि जोगाए। (२ कोरि. ८:२०) पावल यरुसलेम जानुको मुख्य उद्देश्‍य त्यो दान पुऱ्‍याउनु थियो। (रोमी १५:२५, २६) पावलले पछि राज्यपाल फेलिक्सलाई यसो भने: “मेरो आफ्नै जातिका मानिसहरूलाई दान दिन र भेटी चढाउन धेरै वर्षपछि म आएँ।”—प्रेषि. २४:१७.

“उनीहरूले धेरै सान्त्वना पाए” (प्रेषित २०:५-१२)

१२, १३. (क) युटाइकस फेरि जीवित भएपछि मण्डलीमा कस्तो प्रभाव परेको हुन सक्छ? (ख) मृत्युको कारण आफ्ना प्रियजन गुमाएकाहरूले बाइबलको कुन आशाबाट सान्त्वना पाउन सक्छन्‌?

१२ पावल र तिनका सहयात्रीहरूले म्यासिडोनिया हुँदै यात्रा गरे। त्यहाँबाट तिनीहरू फरक-फरक बाटो लागेजस्तो देखिन्छ। पछि तिनीहरू सबैको त्रोआसमा भेट भयो।d विवरण यसो भन्छ: “हामी . . . पाँच दिनमा . . . त्रोआस पुग्यौँ।”e (प्रेषि. २०:६) यस अध्यायको सुरुमा हामीले चर्चा गरेको ठिटो युटाइकसलाई पावलले यहीँ फेरि जीवित गरेका थिए। आफ्ना साथी युटाइकस फेरि जीवित भएको देख्दा भाइहरू कत्ति खुसी भए होलान्‌! विवरणले बताएझैँ “उनीहरूले धेरै सान्त्वना पाए।”—प्रेषि. २०:१२.

१३ निश्‍चय पनि आज त्यस्तो चमत्कार हुँदैन। तैपनि आफ्ना प्रियजन गुमाएका व्यक्‍तिहरूले फेरि जीवित हुनेबारे बाइबलले दिने आशाबाट “धेरै सान्त्वना” पाउँछन्‌। (युह. ५:२८, २९) नबिर्सनुहोस्‌, युटाइकस त्रुटिपूर्ण भएकोले तिनी फेरि मरे। (रोमी ६:२३) तर परमेश्‍वरको नयाँ संसारमा फेरि जीवित हुनेहरूले सधैँभरि बाँच्ने आशा पाउनेछन्‌। यसबाहेक स्वर्गमा येसुसित शासन गर्न ब्युँताइनेहरू अमर हुनेछन्‌। (१ कोरि. १५:५१-५३) अभिषिक्‍त ख्रिष्टियन होऊन्‌ वा “अरू भेडा,” यसबाट सबैले “धेरै सान्त्वना” पाउन सक्छन्‌।—युह. १०:१६.

“जनसमक्ष र घरघरमा” (प्रेषित २०:१३-२४)

१४. एफिससका एल्डरहरूलाई मिलेटसमा भेटेपछि पावलले के भने?

१४ पावल र तिनका सहयात्रीहरू त्रोआसबाट अस्सोस पुगे। त्यसपछि मितिलेने, चिओस, सामोस र मिलेटस गए। पावल पेन्तिकोसको चाडको लागि समयमै यरुसलेम पुग्न चाहन्थे। यरुसलेम पुग्न हतार भएकोले तिनले यसपालि फर्कँदा एफिससमा नरोकीकन जाने जहाज चढ्‌नुको कारण हामी बुझ्न सक्छौँ। तर पावल एफिससका एल्डरहरूसित कुरा गर्न चाहन्थे। त्यसैले तिनले एल्डरहरूलाई मिलेटसमा भेटौँ भनेर खबर पठाए। (प्रेषि. २०:१३-१७) तिनीहरू त्यहाँ आइपुगेपछि पावलले यसो भने: “तपाईँहरूलाई थाहै छ, एसिया प्रान्तमा पाइला टेकेको दिनदेखि मैले तपाईँहरूमाझ कस्तो जीवन बिताएँ, मैले ज्यादै नम्रतासाथ प्रभुको सेवा गरेँ अनि यहुदीहरूको षड्‌यन्त्रले गर्दा धेरै आँसु बगाएँ अनि परीक्षाहरू सहेँ। साथै तपाईँहरूको लाभ हुने कुरा बताउन म पछि हटिनँ न त तपाईँहरूलाई जनसमक्ष र घरघरमा सिकाउन नै पछि हटेँ। तर मैले यहुदी र ग्रीक दुवैलाई पश्‍चात्ताप गरेर परमेश्‍वरतर्फ फर्कने र हाम्रा प्रभु येसुमा विश्‍वास गर्ने विषयमा राम्ररी साक्षी दिएँ।”—प्रेषि. २०:१८-२१.

१५. घरघरमा गएर साक्षी दिँदा के-कस्ता फाइदा हुन्छन्‌?

१५ आज मानिसहरूलाई सुसमाचार सुनाउन हामी विभिन्‍न तरिका चलाउँछौँ। पावलजस्तै हामी पनि मानिसहरू जहाँ-जहाँ भेटिन्छन्‌, त्यहाँ-त्यहाँ साक्षी दिन सक्दो प्रयास गर्छौँ। जस्तै: बस बिसौनी, व्यस्त सडक र बजारमा। तैपनि यहोवाका साक्षीहरूले सुसमाचार सुनाउने मुख्य तरिका त घरघरको साक्षीकार्य नै हो। किन? एउटा कारण हो, घरघरमा साक्षी दिन जाँदा मानिसहरूले नियमित रूपमा परमेश्‍वरको राज्यको सुसमाचार सुन्‍ने मौका पाउँछन्‌। यसबाट परमेश्‍वर पक्षपाती हुनुहुन्‍न भनेर स्पष्ट हुन्छ। साथै इमानदार मानिसहरूले ठीक समयमा मदत पाउन सक्छन्‌। सुसमाचार सुनाउनेहरूले पनि साक्षीकार्यमै लागिरहन र आफ्नो विश्‍वास बलियो बनाउन मदत पाउँछन्‌। वास्तवमा “जनसमक्ष र घरघरमा” जोसिलो भई साक्षी दिनु नै आजका साँचो ख्रिष्टियनहरूको चिनारी हो।

१६, १७. पावल साहसी थिए भनेर हामी किन भन्‍न सक्छौँ? आज ख्रिष्टियनहरू कसरी तिनको उदाहरणको अनुकरण गर्छन्‌?

१६ यरुसलेममा आफूमाथि के-कस्ता खतरा आइपर्ने हो, त्यो आफूलाई थाह नभएको कुरा पावलले एफिससका एल्डरहरूलाई बताए। तिनले यसो भने: “तैपनि म आफ्नो जीवनलाई कुनै महत्त्वको ठान्दिनँ बरु मेरो इच्छा यही छ कि मैले आफ्नो दौड र प्रभु येसुबाट पाएको सेवा पूरा गर्न सकूँ अर्थात्‌, परमेश्‍वरको असीम अनुग्रहको सुसमाचारको विस्तृत साक्षी दिन सकूँ।” (प्रेषि. २०:२४) चाहे स्वास्थ्य बिग्रोस्‌ वा भीषण सतावट आओस्‌, पावल हरेक परिस्थितिमा साहसका साथ आफ्नो जिम्मेवारी पूरा गर्न कटिबद्ध थिए।

१७ त्यसैगरि आज पनि ख्रिष्टियनहरूले अनेकन्‌ गाह्रा परिस्थितिको सामना गर्नुपर्छ। कसै-कसैले सरकारी प्रतिबन्ध र सतावटको सामना गरिरहेका छन्‌ भने अरू कतिपय कमजोर बनाउँदै लैजाने शारीरिक वा भावनात्मक रोगसित साहसका साथ लड्‌दै छन्‌। केटाकेटी र युवाहरूले स्कुलमा साथीहरूको दबाबको सामना गर्नुपर्छ। यहोवाका साक्षीहरू जस्तोसुकै परिस्थितिमा भए पनि पावलजस्तै अटल छन्‌। तिनीहरू “सुसमाचारको विस्तृत साक्षी” दिन कटिबद्ध छन्‌।

“आफ्नो विषयमा होसियार हुनुहोस्‌ र पूरै बगालको हेरचाह गर्नुहोस्‌” (प्रेषित २०:२५-३८)

१८. पावलले कसरी आफूलाई सबै मानिसहरूको रगतबाट निर्दोष साबित गरे? एफिससका एल्डरहरूले कसरी तिनको अनुकरण गर्न सक्थे?

१८ त्यसपछि पावलले आफ्नो उदाहरण दिँदै एफिससका एल्डरहरूलाई स्पष्ट सल्लाह दिए। सुरुमा तिनले तिनीहरूसितको यो भेट नै अन्तिम होला भनेर बताए। त्यसपछि तिनले यसो भने: “सबै मानिसको रगतबाट म निर्दोष छु भन्‍ने कुराको आज तपाईँहरू साक्षी हुनुहुन्छ किनकि तपाईँहरूलाई परमेश्‍वरको उद्देश्‍यबारे सबै कुरा बताउनदेखि म पछि हटेको छैनँ।” पावलको उदाहरण अनुकरण गर्दै एफिससका एल्डरहरू कसरी सबै मानिसहरूको रगतबाट निर्दोष रहन सक्थे? पावलले तिनीहरूलाई यसो भने: “तपाईँहरू आफ्नो विषयमा होसियार हुनुहोस्‌ र पूरै बगालको हेरचाह गर्नुहोस्‌ किनकि परमेश्‍वरले आफ्नै छोराको रगतद्वारा किन्‍नुभएको मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्न पवित्र शक्‍तिले तपाईँहरूलाई यस बगालमा निरीक्षक नियुक्‍त गरेको छ।” (प्रेषि. २०:२६-२८) “अत्याचारी ब्वाँसाहरू” बगालमा घुस्नेछन्‌ र “टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्‍ने मानिसहरू” उठ्‌नेछन्‌ भनेर पावलले सतर्क गराए। एल्डरहरूले के गर्नुपर्ने थियो? पावलले यसो भने: “जागा बस्नुहोस्‌ अनि तीन-तीन वर्षसम्म दिनरात आँसु बगाएर तपाईँहरू हरेकलाई मैले कसरी सम्झाइबुझाइ गरेँ, त्यो नबिर्सनुहोस्‌।”—प्रेषि. २०:२९-३१.

१९. प्रथम शताब्दीको अन्तसम्ममा कस्तो धर्मत्याग सुरु भयो? त्यसपछिका शताब्दीहरूमा के भयो?

१९ “अत्याचारी ब्वाँसाहरू” प्रथम शताब्दीको अन्तसम्ममा देखा पर्न थालिसकेका थिए। इस्वी संवत्‌ ९८ तिर प्रेषित युहन्‍नाले यस्तो लेखे: “अहिले पनि धेरै जना ख्रिष्ट-विरोधी देखा परेका छन्‌; . . . तिनीहरू हामीबाट निस्केर गए तर तिनीहरू हामीजस्ता थिएनन्‌ किनकि तिनीहरू हामीजस्ता भएका भए तिनीहरू हामीसितै रहने थिए।” (१ युह. २:१८, १९) तेस्रो शताब्दीसम्ममा त धर्मत्यागको कारण चर्चमा पादरी वर्गको सुरुवात भइसकेको थियो। त्यसपछि चौथो शताब्दीमा सम्राट्‌ कन्स्टेन्टाइनले भ्रष्ट भइसकेको “ख्रिष्टियन धर्मलाई” आधिकारिक मान्यता दिए। मूर्तिपूजासित सम्बन्धित रीतिथितिहरू अँगाल्दै त्यसलाई “ख्रिष्टियन” चलनको नाम दिएर धर्मगुरुहरूले साँच्चै “टेढोमेढो कुरा” गरे। त्यस्तो धर्मत्यागका असरहरू आज पनि चर्चको शिक्षा र चलनहरूमा स्पष्टै देखिन्छ।

२०, २१. पावलले कसरी आत्मत्यागी मनोभाव देखाए? आज ख्रिष्टियन एल्डरहरू पनि कसरी त्यसै गर्छन्‌?

२० पावल ती निरीक्षकहरूजस्ता थिएनन्‌, जसले आफ्नो स्वार्थ पूरा गर्न मण्डलीलाई प्रयोग गरे। बरु तिनले मण्डलीको लागि बोझ नबन्‍न पेटपालाको काम गरे। तिनले भाइबहिनीलाई मदत गर्न जति प्रयास गरे, त्यो आफ्नो स्वार्थको लागि थिएन। पावलले एफिससका एल्डरहरूलाई आत्मत्यागी मनोभाव देखाउन आग्रह गरे। तिनले यसो भने: “तपाईँहरूले पनि यसरी नै मेहनत गरेर कमजोरहरूलाई मदत गर्नुपर्छ अनि ‘लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ’ भनेर प्रभु येसु आफैले भन्‍नुभएको वचन सधैँ सम्झनुपर्छ।”—प्रेषि. २०:३५.

२१ पावलजस्तै आज पनि ख्रिष्टियन एल्डरहरू आत्मत्यागी छन्‌। आफ्ना मानिसहरूलाई जुकाले जस्तै चुस्ने चर्चका पादरीहरूजस्तो नभई एल्डरहरूले “मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्न” आफूलाई सुम्पिएको जिम्मेवारी निःस्वार्थ भई पूरा गर्छन्‌। घमन्ड र स्वार्थी इच्छाहरूको लागि ख्रिष्टियन मण्डलीमा कुनै ठाउँ छैन। ‘आफ्नै मान खोज्नेहरू’ पछि गएर असफल हुनेछन्‌। (हितो. २५:२७) अहङ्‌कारले निन्दाबाहेक अरू के ल्याउँछ र?—हितो. ११:२.

पावल र तिनका सहयात्रीहरू जहाजभित्र पस्दै छन्‌। एफिससका एल्डरहरू पावललाई अङ्‌गालो हालेर रुन्छन्‌ र बिदाबारी गर्छन्‌।

“उनीहरूमाझ निकै रुवाबासी भयो।”​—प्रेषित २०:३७

२२. पावल एफिससका एल्डरहरूका लागि प्यारो हुनुको कारण के थियो?

२२ भाइहरूलाई साँचो माया गर्ने भएकोले पावल सबैको प्यारो थिए। वास्तवमा तिनी बिदा हुँदा “उनीहरूमाझ निकै रुवाबासी भयो अनि उनीहरूले पावललाई अङ्‌गालो हालेर चुम्बन गरे।” (प्रेषि. २०:३७, ३८) ख्रिष्टियनहरू पावलले जस्तै बगालको लागि निःस्वार्थ भई आफ्नो समय, बल र भौतिक कुराहरू दिने एल्डरहरूलाई आदर र माया गर्छन्‌। पावलको उत्कृष्ट अनुभव केलाएर हेरेपछि तिनले “सबै मानिसको रगतबाट म निर्दोष छु” भनेर बताउँदा तिनले धाक लगाइरहेका थिएनन्‌ अनि बढाइचढाइ पनि गरिरहेका थिएनन्‌ भन्‍ने कुरामा के तपाईँ सहमत हुनुहुन्‍न र?—प्रेषि. २०:२६.

a “पावलले म्यासिडोनियामा लेखेका पत्रहरू” शीर्षकको पेटी हेर्नुहोस्‌।

b कोरिन्थ गएकै बेला पावलले रोमीहरूलाई पत्र लेखेका हुन सक्छन्‌।

c पृष्ठ १६९ मा भएको “पावल चन्दा पुऱ्‍याइदिन्छन्‌” शीर्षकको पेटी हेर्नुहोस्‌।

d प्रेषित २०:५, ६ मा लुकाले आफूलाई समावेश गर्दै लेखेका छन्‌। यसबाट पावल र लुकाको फिलिप्पीमा फेरि भेट भयो भन्‍न सकिन्छ। लुका केही समय फिलिप्पीमै बसेका थिए।—प्रेषि. १६:१०-१७, ४०.

e फिलिप्पीदेखि त्रोआससम्म जान पाँच दिन लागेको थियो। पहिला तिनीहरूले यो दूरी दुई दिनमै पार गरेका थिए। यसपालि भने हावा बेसरी चलेकोले पाँच दिन लागेको हुन सक्छ।—प्रेषि. १६:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने