अध्याय ४०
सही जानकारी दिनुहोस्
कुनै ख्रीष्टियनले कसरी गलत जानकारी प्रस्तुत गर्न सक्छन्? सायद तिनले कतै सुनेको कुरालाई वास्तविक हो कि होइन भनेर पक्का नगरीकन त्यो जानकारी प्रस्तुत गरेका हुन सक्छन्। अथवा स्रोतमा बताइएको कुरालाई गलत तरिकामा बुझेकोले थपथाप गरेका हुन सक्छन्। स-सानो कुरा पनि सही छ कि छैन पक्का गरेर बताएका छौं भने श्रोतालाई हाम्रो सन्देशको अझै महत्त्वपूर्ण पक्षहरूको यथार्थताबारे विश्वस्त हुन मदत मिल्छ।
प्रचारमा: ‘मैले अझ धेरै सिक्न बाँकी छ’ भन्ने सोचेर कोही-कोही प्रचारमा कुरा सुरु गर्न डराउँछन्। तर बाइबलको आधारभूत ज्ञान थाह छ भने मात्र पनि प्रभावकारी साक्षी दिन सकिंदो रहेछ भन्ने कुरा तिनीहरूले छिट्टै थाह पाउनेछन्। तर प्रभावकारी साक्षी दिन कसरी सम्भव छ? एउटा प्रमुख तरिका हो, तयारी गरेर।
प्रचारमा जानुअघि आफूले छलफल गर्ने विषय राम्ररी थाह पाउनुहोस्। तपाईंको कुरा सुन्ने व्यक्तिले के-कस्ता प्रश्न सोध्न सक्छन्, विचार गर्नुहोस्। त्यस्ता प्रश्नको बाइबलआधारित चित्तबुझ्दो जवाफ खोज्नुहोस्। यसो गर्नुभयो भने ढुक्कसँग सही जवाफ दिन सक्नुहुनेछ। के तपाईं बाइबल अध्ययन सञ्चालन गर्न जाँदै हुनुहुन्छ? त्यसो हो भने अध्ययन गर्ने विषयवस्तु ध्यान दिएर पुनरावलोकन गर्नुहोस्। छापिएको प्रश्नको जवाफको धर्मशास्त्रीय आधार तपाईंले बुझेको हुनुपर्छ।
घरधनीले अथवा सहकर्मीले सोधेको प्रश्नको जवाफ तपाईंले तुरुन्तै दिन सक्नुभएन भने के गर्ने? तथ्य कुराबारे पक्का हुनुहुन्न भने अनुमानको भरमा जवाफ दिने सकसकी हटाउनुहोस्। “जवाफ दिनुअघि धर्मीहरू सोच्दछन्” भनी बाइबल बताउँछ। (हितो. १५:२८) धर्मशास्त्रबाट तर्क गर्ने (अङ्ग्रेजी) किताब अथवा “चर्चाका लागि बाइबल विषयहरू”-बाट पनि आवश्यक मदत पाउन सक्नुहुन्छ। तर प्रचारमा जाँदा यी प्रकाशन लैजानुभएको छैन भने ‘पछि अनुसन्धान गरेर बताउँछु’ भन्नुहोस्। ती व्यक्तिले सही मनसायले प्रश्न सोधेका हुन् भने सही जवाफ पाउन तिनी कुर्न राजी हुनेछन्। तपाईंको नम्रता देखेर तिनी झनै प्रभावित हुन सक्छन्।
परमेश्वरको वचन ठीकसित प्रयोग गर्न जान्न प्रचारकार्यमा अनुभवी प्रकाशकहरूसँग काम गर्नुहोस्। तिनीहरू कुन पद प्रयोग गर्छन् अनि त्यसबाट कसरी तर्क प्रस्तुत गर्छन्, हेर्नुहोस्। यस सम्बन्धमा तिनीहरूले दिएको जुनसुकै सल्लाह/सुझाव नम्र भएर स्वीकार्नुहोस्। जोसिला चेला अपोल्लसले अरूको मदत स्वीकार्दा लाभ उठाए। लूकाले अपोल्लसलाई “बोल्नमा सिपालु,” “धर्मशास्त्रमा पोख्त” र “पवित्र शक्तिले भरिएर” “येशूको विषयमा ठीक-ठीक कुरा बोल्ने” व्यक्ति भनेर चिनाए। तैपनि तिनले केही कुरा बुझ्न बाँकी नै थियो। जब प्रिस्किला र अक्वीलाले यो कुरा याद गरे तब तिनलाई “आफूकहाँ लगे र परमेश्वरको मार्गबारे अझ सही तरिकामा तिनलाई व्याख्या गरिदिए।”—प्रेषि. १८:२४-२८.
“विश्वासयोग्य वचनलाई दह्रोसित पक्रिराख्ने हुनुपर्छ।” “सत्यको खम्बा अनि जग”-को रूपमा मण्डलीको कदर गर्छौं भने सभामा आफ्नो भाग प्रस्तुत गर्दा पनि यो कुरा देखाउँछौं। (१ तिमो. ३:१५) सत्यको समर्थन गर्ने हो भने हामीले भाषणमा प्रयोग गर्न लागेको पदको भाव बुझेको हुनै पर्छ। उक्त पद लेखिनुको प्रसङ्ग र उद्देश्य याद गर्नुहोस्।
तपाईं सभामा जुन जानकारी पेस गर्नुहुन्छ, श्रोताले त्यो जानकारी अरूलाई बताउन सक्छन्। हो, “हामी सबै जना धेरै चोटि चुक्छौं।” (याकू. ३:२) तर तपाईंले तथ्य कुरा मात्र बोल्ने बानी बसाल्नुभयो भने फाइदाजनक हुन्छ। ईश्वरतान्त्रिक सेवा स्कूलमा भाग लिने थुप्रै भाइ पछि एल्डर नियुक्त हुन्छन्। यसरी थप जिम्मेवारी सुम्पिइएका भाइहरूबाट “साबिकभन्दा बढी नै माग” गरिन्छ। (लूका १२:४८) कुनै एल्डरले लापरवाह भएर गलत सल्लाह दिएकोले मण्डलीका कोही-कोही गम्भीर समस्यामा परे भने ती एल्डरले यहोवाको क्रोधको सामना गर्नुपर्नेछ। (मत्ती १२:३६, ३७) त्यसकारण एल्डरको रूपमा सेवा गर्न योग्य भाइ “आफ्नो शिक्षणकलाको सन्दर्भमा विश्वासयोग्य वचनलाई दह्रोसित पक्रिराख्ने” व्यक्ति भनेर चिनिनुपर्छ।—ती. १:९
तपाईंको तर्क बाइबलभरि पाइने “साँचो शिक्षाको नमुना”-सित मेल खाएको छ कि छैन भन्ने सन्दर्भमा होसियार हुनुहोस्। (२ तिमो. १:१३) तर आत्तिनु भने पर्दैन। सायद तपाईंले पूरै बाइबल पढिसिध्याउनुभएको छैन होला तर पढ्न भने नछोड्नुहोस्। यसरी बाइबल पढ्दै गर्दा तपाईंले अरूलाई सिकाउँदा प्रस्तुत गर्न चाहेको जानकारी ठीक छ कि छैन, त्यो पनि केलाउन नबिर्सनुहोस्। यसो गर्न तपाईंलाई यसपछि दिइएका सुझावले मदत गर्नेछ।
सुरुमा आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘मैले बाइबलबाट पहिला सिकेको कुरासित यो जानकारी कसरी मेल खान्छ? के यसले मेरो श्रोताको ध्यान यहोवातर्फ खिच्छ अथवा संसारको बुद्धिलाई महिमा दिएर त्यसैअनुसार चल्न पो उत्प्रेरित गर्छ?’ येशूले भन्नुभयो: “तपाईंको वचन सत्य हो।” (यूह. १७:१७; व्यव. १३:१-५; १ कोरि. १:१९-२१) त्यसपछि विश्वासी र बुद्धिमान् दास वर्गले प्रबन्ध गरिदिएका अध्ययन सामग्रीहरूको पूरापूर सदुपयोग गर्नुहोस्। यसले तपाईंलाई धर्मशास्त्रमा दिइएका कुराहरू सही तरिकाले बुझ्न मात्र होइन; सन्तुलित र व्यावहारिक तरिकामा त्यसलाई लागू गर्न पनि मदत गर्नेछ। तपाईंले “साँचो शिक्षाको नमुना”-मा आधारित भएर भाषण दिनुभएको छ अनि धर्मशास्त्रको व्याख्या गर्दा र त्यसको उपयोगिता बताउँदा यहोवाले प्रबन्ध गरेको माध्यममा भर पर्नुभएको छ भने तपाईंको भनाइ सही हुनेछ।
जानकारी सही छ कि छैन जाँच्नुहोस्। कुनै बुँदा उदाहरण दिएर बुझाउन अनि त्यसको उपयोगिताबारे बताउन हालसालैका घटनाहरू, कसैको भनाइ अनि अनुभव बताउनु मदतकारी हुन सक्छ। तर ती कुरा सत्य हुन् भनेर तपाईं कसरी पक्का हुन सक्नुहुन्छ? एउटा तरिका हो, भरपर्दो स्रोतबाट त्यस्ता जानकारीहरू लिनु। ती जानकारीहरू नयाँ हुन् कि होइनन् पक्का गर्नुहोस्। तथ्याङ्कहरू पुराना हुँदै जान्छन्; वैज्ञानिकहरूले पत्ता लगाएका कुराहरू छिटो-छिटो पुराना भइसक्छन्। मानिसहरूले इतिहास र पुराना भाषाबारे जति-जति बुझ्दै जान्छन्, पुरानो जानकारीमा त्यत्ति नै छाँटकाँट गर्नुपर्ने हुन्छ। अखबार, टेलिभिजन, रेडियो, इमेल वा इन्टरनेटबाट प्राप्त जानकारीहरू प्रयोग गर्दै हुनुहुन्छ भने निकै होसियार हुनुपर्छ। हितोपदेश १४:१५ यस्तो सल्लाह दिन्छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्यकतालाई बुझ्छ।” आफैलाई सोध्नुहोस्: ‘के यो स्रोत भरपर्दो छ? यो जानकारी सही छ भनेर अन्य स्रोतबाट पक्का गर्न सकिन्छ कि?’ यदि तपाईंलाई शङ्का लाग्छ भने त्यो जानकारी प्रयोग गर्दै नगर्नुहोस्।
स्रोतहरू भरपर्दा छन् कि छैनन् भनेर पक्का गर्नुका साथै त्यसलाई कसरी प्रस्तुत गर्नुहुन्छ, त्यसबारे पनि विचार पुऱ्याउनुहोस्। तपाईंले प्रयोग गर्ने उद्धरण वा तथ्याङ्क तपाईंले लिएको स्रोतको प्रसङ्गसित मेल खान्छ कि खाँदैन, पक्का गर्नुहोस्। आफूले भन्ने बुँदालाई जोड दिन “केही मानिस”-लाई “प्रायजसो मानिस” अथवा “धेरै मानिस”-लाई “प्रत्येक मानिस” वा “कहिलेकाहीं”-लाई “सधैं” भन्नदेखि होसियार हुनुहोस्। सङ्ख्या, कुनै कुराको हद र गम्भीरताबारे बढाइचढाइ भन्नुभयो भने तपाईंले भन्ने कुरा कत्तिको भरपर्दो र सही छ, त्यसमाथि नै प्रश्नचिन्ह खडा हुन सक्छ।
सधैं सही कुरा बोल्नुहुन्छ भने तपाईं सही कुराको कदर गर्ने व्यक्तिको रूपमा चिनिनुहुनेछ। यसले गर्दा यहोवाका साक्षीहरूबारे अरूमा राम्रो छाप पर्न सक्छ। अझै महत्त्वपूर्ण कुरा त, यसले “सत्य परमेश्वर” यहोवाको महिमा गर्छ।—भज. ३१:५.