अनुसन्धान गर्ने तरिका
राजा सुलेमानले “आफ्नो मनमा विचार गरे, अनि धेरै उखानहरू यथोचित क्रममा राखे। . . . ठीक-ठीक शब्दहरू खोजेर निकाले।” किन? किनभने तिनी “सत्य” “शब्दहरू” लेख्न चाहन्थे। (उप. १२:९, १०; NRV) लूकाले पनि ख्रीष्टको जीवनमा भएका घटना क्रमबद्ध रूपमा बताउन “सुरुदेखिका सबै घटना ठीक-ठीक पत्ता लगाए।” (लूका १:३) परमेश्वरका यी सेवकहरूले अनुसन्धान गरे।
अनुसन्धान गर्नु भनेको के हो? कुनै खास विषयमा होसियारीसाथ खोजी गर्नु। व्यक्तिगत अध्ययनमा जस्तै अनुसन्धान गर्दा पनि पढ्नुपर्छ र पढेको कुरा प्रयोग गर्नुपर्छ। अनुसन्धान गर्दा मानिसहरूलाई सोधपुछ गर्नुपर्ने पनि हुन्छ।
कहिले-कहिले अनुसन्धान गर्नुपर्छ? केही उदाहरण विचार गर्नुहोस्। व्यक्तिगत अध्ययन गर्दा वा बाइबल पढ्दा तपाईंको मनमा थुप्रै महत्त्वपूर्ण प्रश्न उठ्लान्। तपाईंले साक्षी दिएको व्यक्तिले सोधेको प्रश्नको जवाफ खोजेरै दिन चाहनुहोला। तपाईंले भाषण दिने जिम्मेवारी पाउनुभएको होला।
भाषण दिने जिम्मेवारीलाई नै लिनुहोस्। तपाईंलाई आफ्नो विषय सामान्य जस्तो लाग्ला। उक्त विषयलाई कसरी स्थानीय तवरमा लागू गर्न सक्नुहुन्छ? अनुसन्धान गरेर त्यसको गुणस्तर बढाउनुहोस्। एउटा-दुइटा तथ्याङ्क थप्दा वा तपाईंको विषयसित र श्रोताको जीवनसित मेल खाने एउटा उदाहरण समावेश गर्दा सामान्य विषय पनि जानकारीमूलक र उत्प्रेरणा दिने खालको हुन्छ। तपाईंको विषय संसारभरका पाठकहरूका लागि प्रकाशित गरिएको होला। तर तपाईंले त्यसलाई व्याख्या गर्नुपर्ने हुन्छ, उदाहरणसहित बताउनुपर्ने हुन्छ र कुनै मण्डलीलाई वा कुनै व्यक्तिलाई ती बुँदा कसरी लागू हुन्छन्, त्यो बताउनुपर्ने हुन्छ। त्यसो भए अनुसन्धान कसरी थाल्ने?
अनुसन्धान गर्न हतारिनुअघि आफ्ना श्रोतालाई विचार गर्नुहोस्। तिनीहरूलाई के-कति थाह छ र अब कति जानकारी दिनुपर्ने हो, निधो गर्नुहोस्। व्याख्या गर्नुपर्ने हो कि? विश्वस्त पार्नुपर्ने हो कि? खण्डन गर्नुपर्ने हो कि? वा उत्प्रेरित गर्नुपर्ने हो? व्याख्या गर्नु भनेको कुनै पनि बुँदा स्पष्ट पार्न थप जानकारी दिनु हो। आधारभूत बुँदा बुझे तापनि भनिएको कुरा कहिले वा कसरी गर्ने त्यसबारे बेलीबिस्तार लगाउनुपर्ने हुन्छ। विश्वस्त पार्नु भनेको कुनै कुराको कारण प्रमाणसहित प्रस्तुत गर्नु हो। खण्डन गर्न कुनै पनि विषयको पक्ष-विपक्ष दुवैबारे विस्तृत जानकारी हुनुका साथै प्रस्तुत गरिएको प्रमाणलाई होसियारीसाथ केलाउनुपर्छ। हामी जित्नलाई होइन तथ्यहरू प्रस्तुत गर्न नम्रतासाथ खण्डन गर्छौं। उत्प्रेरित गर्न हृदय छुनुपर्छ। त्यसको अर्थ आफ्ना श्रोतालाई जुरमुऱ्याउनु र छलफल गरिएको कुराअनुसार गर्ने इच्छा जगाइदिनु हो। गाह्रोसाह्रो अवस्थामा समेत त्यस्तो कदम चालेकाहरूको वास्तविक उदाहरण बताउँदा त्यसले श्रोताहरूको हृदय छुन सक्छ।
अब अनुसन्धान गर्न थाले भयो त? अहँ, भएको छैन। तपाईंलाई कति जानकारी चाहिन्छ, विचार गर्नुहोस्। समयलाई पनि ध्यान दिनुहोस्। अरूलाई जानकारी दिन लाग्नुभएको छ भने त्यसको लागि कति समय दिइएको छ? पाँच मिनेट? तीस मिनेट? के सभामा जस्तै समय तोकिएको छ? अथवा बाइबल अध्ययन वा गोठालो भेटमा जस्तै समय तोकिएको छैन कि?
अनुसन्धान गर्न तपाईंसित के-कस्ता सामग्री छन्? तपाईंसित जे-जति उपलब्ध छ त्योभन्दा धेरै सामग्री राज्यभवनको पुस्तकालयमा छ कि? लामो समयदेखि यहोवाको सेवा गरेका भाइबहिनीले उनीहरूसँग भएको अनुसन्धान गर्ने सामग्री तपाईंलाई पनि प्रयोग गर्न दिन्छन् कि? तपाईंको इलाकामा सार्वजनिक पुस्तकालय छ भने आवश्यक जानकारी त्यहाँ पाउन सक्नुहुन्छ।
अनुसन्धान गर्ने मुख्य किताब बाइबल प्रयोग गर्नुहोस्
कुनै पदको अर्थबारे अनुसन्धान गर्दै हुनुहुन्छ भने सुरुमा बाइबलमा नै खोज्नुहोस्।
सन्दर्भ जाँच्नुहोस्। आफैलाई सोध्नुहोस्: ‘यो पदको कुरा वास्तवमा कसलाई भनिएको थियो? उक्त भनाइ किन भनियो वा सम्बन्धित व्यक्तिहरूको मनोवृत्तिबारे तलमाथिका पदले के जानकारी दिन्छ?’ यस्तो विवरणले अक्सर हामीलाई पद बुझ्न मदत गर्छ र उक्त विवरण प्रयोग गर्दा तपाईंको भाषण जीवन्त हुन्छ।
उदाहरणको लागि हृदय छुन र जीवनमा प्रभाव पार्ने परमेश्वरको वचनको शक्तिबारे बताउन अक्सर हिब्रू ४:१२ उद्धरण गरिन्छ। सन्दर्भलाई विचार गर्दा परमेश्वरको वचनको शक्ति अझ राम्ररी बुझ्न सक्छौं। यहोवा परमेश्वरले अब्राहामलाई दिन्छु भनेर प्रतिज्ञा गरेको देशमा प्रवेश गर्नुअघि इस्राएलीहरूले उजाडस्थानमा ४० वर्षसम्म गरेको अनुभवबारे उक्त पदको सन्दर्भले बताउँछ। (हिब्रू ३:७–४:१३) “परमेश्वरको वचन” अर्थात् अब्राहामसित गरिएको करारबमोजिम इस्राएलीहरूलाई विश्राम दिने प्रतिज्ञा खेर गएको थिएन; त्यो जीवित थियो र त्यो पूरा हुनै लागेको थियो। यस प्रतिज्ञामाथि इस्राएलीहरू पूर्णतया विश्वास गर्न सक्थे। तर यहोवाले तिनीहरूलाई मिश्रबाट डोऱ्याउँदै सीनै पर्वतसम्म पुऱ्याउँदा र त्यसपछि प्रतिज्ञा गरिएको मुलुकतर्फ लैजाँदा तिनीहरूले यहोवामाथि विश्वास नगरेको कुरा बारम्बार देखाए। यहोवाले आफ्नो वचन पूरा गर्ने तरिकाप्रति तिनीहरूले देखाएको प्रतिक्रियाले तिनीहरूको हृदयको अवस्था प्रकट गऱ्यो। त्यसैगरि आज परमेश्वरको वचनमा लेखिएको उहाँको प्रतिज्ञाप्रति मानिसहरूले देखाउने प्रतिक्रियाले तिनीहरूको हृदयको अवस्था प्रकट गर्छ।
सन्दर्भ बुझ्न दिइएका थप पद हेर्नुहोस्। कुनै-कुनै बाइबलमा सन्दर्भ बुझ्न थप पद (क्रस रिफरेन्स) दिइएको हुन्छ। तपाईंको बाइबलमा पनि छ? छ भने यस्ता पदले पनि मदत दिन सक्छन्। यसको राम्रो उदाहरण पवित्र बाइबल—नयाँ संसार अनुवाद हो। यसबाहेक नयाँ संशोधित संस्करण-मा पनि केही थप पद दिइएका छन्। नयाँ संशोधित संस्करण-को पहिलो पत्रुस ३:६ लाई यसको उदाहरणको रूपमा लिन सक्छौं। उक्त पदमा सारालाई ख्रीष्टियन पत्नीहरूले अनुकरण गर्नुपर्ने नमुनाको रूपमा प्रस्तुत गरिएको छ। साथै उत्पत्ति १८:१२ लाई थप पदको रूपमा दिएको छ र यसले १ पत्रुस ३:६ लाई अझै पुष्टि गरेको छ। किनकि उत्पत्ति १८:१२ मा साराले अब्राहामलाई “मनमनै” मेरा पति भनेर सम्बोधन गरेको कुरा उल्लेख छ। त्यसैले तिनी हृदयदेखि नै अब्राहामको अधीनमा रहन्थिन् भनेर स्पष्ट हुन्छ। यसबाहेक थप पदले यस्तो विस्तृत जानकारी मात्र होइन, बाइबल भविष्यवाणीहरूको पूर्तिबारे र इस्राएलीहरूसित यहोवाले बाँधेको करारबारे पनि थप जानकारी दिन्छ। त्यसो भन्दैमा थप पदले सधैं यस्तो थप जानकारी दिने गर्दैन। कहिलेकाहीं थप पदमा उस्तै-उस्तै विवरण, जीवनसम्बन्धी विवरण वा भौगोलिक विवरणसम्बन्धी जानकारी पनि दिइएको हुन्छ।
बाइबल अनुक्रमणिकामा खोज्नुहोस्। बाइबल अनुक्रमणिकामा (कन्कोर्डेन्स्) प्रयोग गरिएका शब्दहरू वर्णानुक्रमअनुसार राखिएको हुन्छ। अनुसन्धान गरिरहेको विषयसित सम्बन्धित पदहरू खोज्न यसले तपाईंलाई मदत गर्छ। ती पदहरू खोज्दा अन्य मदतकारी जानकारी पनि सिक्न सक्नुहुन्छ। परमेश्वरको वचनमा भएको सत्यको “नमुना”-को प्रमाण पनि पाउन सक्नुहुन्छ। (२ तिमो. १:१३) नयाँ संसार अनुवाद-मा “बाइबलका शब्दहरूको सूची” दिइएको छ। बृहत् अनुक्रमणिका (अङ्ग्रेजी) निकै विस्तृत छ। यो किताब तपाईंले बुझ्ने भाषामा उपलब्ध छ भने बाइबलका मुख्य-मुख्य शब्द खोज्न तपाईंलाई सजिलो हुनेछ।
अनुसन्धान गर्न उपलब्ध अरू सामग्री प्रयोग गर्न सिक्नुहोस्
अनुसन्धान गर्न “विश्वासी र बुद्धिमान् दास”-ले उपलब्ध गराएको केही सामग्री यस किताबको पृष्ठ ३३ को पेटीमा उल्लेख गरिएको छ। (मत्ती २४:४५-४७) तपाईंले खास जानकारी पत्ता लगाउन सकोस् भनेर यी सामग्रीमध्ये प्रायजसोमा विषयसूची दिइएको छ भने कतिपयमा शब्दसूची दिइएको छ। हरेक वर्षको अन्तमा प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकामा वर्षभरिका लेखहरूको विषयसूची दिइएको हुन्छ।
यस्ता बाइबलआधारित प्रकाशनहरूमा के-कस्ता जानकारी दिइएका छन्, त्यो थाह छ भने छिटो-छिटो अनुसन्धान गर्न सकिन्छ। मानौं तपाईं बाइबल सिद्धान्त प्रयोग गर्नेबारे वा भविष्यवाणी, बाइबल शिक्षा, ख्रीष्टियन आचरण आदिबारे बुझ्न चाहनुहुन्छ। प्रहरीधरहरा-मा तपाईंले खोजेकै जानकारी पाउन सक्नुहुन्छ। ब्यूँझनुहोस्!-मा अहिले भइरहेका घटना, भोगिरहेका समस्या, धर्म, विज्ञान अनि विभिन्न ठाउँका मानिसबारे छलफल गरिएको हुन्छ। सुसमाचारको चारै पुस्तकका घटना विवरणलाई ऐतिहासिक क्रमअनुसार सबैभन्दा महान् पुरुष किताबमा प्रस्तुत गरिएको छ। प्रकाश—त्यसको चरमोत्कर्ष निकट!, दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्! जस्ता किताबहरूमा ती बाइबल पुस्तकहरूको पद-पद छलफल गरिएको छ। प्रचारमा अक्सर सोधिने बाइबलआधारित प्रश्नको चित्तबुझ्दो जवाफ धर्मशास्त्रबाट तर्क गर्ने (अङ्ग्रेजी) किताबमा पाउन सक्नुहुन्छ। अन्य धर्म, त्यसको शिक्षा र इतिहासबारे स्पष्ट जानकारी मानवजातिद्वारा परमेश्वरको खोज (अङ्ग्रेजी) किताबमा पाइन्छ। यहोवाका साक्षीहरूको आधुनिक इतिहासबारे विस्तृत जानकारी यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू (अङ्ग्रेजी) किताबमा दिइएको छ भने केही जानकारी यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? पुस्तिकामा हेर्न सक्नुहुन्छ। सुसमाचार प्रचार गर्ने सन्दर्भमा संसारभरिको विस्तृत विवरणबारे हालसालैको यहोवाका साक्षीहरूको वार्षिक पुस्तक (अङ्ग्रेजी) वा फेब्रुअरी महिनाको हाम्रो राज्य सेवा-मा हेर्नुहोस्। धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्ग्रेजी) बाइबलसम्बन्धी ठूलो शब्दकोश नै हो र यसमा थुप्रै मानचित्र पनि छन्। बाइबलसित सम्बन्धित मानिस, ठाउँ, वस्तु, भाषा वा ऐतिहासिक घटनाबारे थप बुझ्न चाहनुहुन्छ भने यो किताब बहुमूल्य साबित हुन्छ।
यहोवाका साक्षीहरूको प्रकाशन सूची: अहिले यो प्रकाशन २० भन्दा धेरै भाषामा प्रकाशित भइसक्यो। यसले हाम्रा प्रकाशनमा भएका विभिन्न विषयबारे थुप्रै जानकारी खोज्न मदत गर्छ। यहोवाका साक्षीहरूको प्रकाशन सूचीलाई विषयसूची र पदसूची गरी दुई भागमा विभाजन गरिएको छ। विषयसूचीअन्तर्गत दिइएका विषयमा तपाईंले अनुसन्धान गर्न चाहेको विषयसित सम्बन्धित शब्द भेट्टाउन सक्नुहुन्छ। पदसूचीअन्तर्गत दिइएका पदहरूमा तपाईंले अझै राम्ररी बुझ्न चाहेको पद भेट्टाउन सक्नुहुन्छ। वर्षभरि छापिएका लेख वा पदको सूची यो प्रकाशनमा दिइएको हुन्छ। यहोवाका साक्षीहरूको प्रकाशन सूची तपाईंले बुझ्ने भाषामा उपलब्ध छ भने तपाईंले बुझ्न चाहेको पद वा विषयबारे त्यसमा खोज्नुहोस्। त्यसमा प्रयोग गरिएका प्रकाशनहरू चिन्ने संक्षिप्त नाम सुरुका पृष्ठमा नै दिइएको हुन्छ र त्यसैबाट कुनचाहिं प्रकाशन उल्लेख गरिएको हो, थाह पाउन सक्नुहुन्छ। (जस्तै:- w९९ ३/१ १५ को अर्थ प्रहरीधरहरा, १९९९ मार्च १ पृष्ठ १५ हो।) “क्षेत्र सेवाका अनुभवहरू” र “यहोवाका साक्षीहरूको जीवनी” जस्ता मुख्य शीर्षकअन्तर्गत भएका जानकारी मण्डलीको लागि उत्थानदायी प्रस्तुति तयार गर्न मदतकारी साबित हुन्छ।
अनुसन्धान गर्दा निकै रमाइलो हुने भएकोले अरू विषयतिर पनि आँखा दौडन सक्छ। त्यसैले होसियार हुनुहोस्! नत्र त कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं हुन्छ। दायाँबायाँ नलागी जुन विषयमा अनुसन्धान गरिरहनुभएको हो त्यसमै मात्र ध्यान लगाउनुहोस्। यहोवाका साक्षीहरूको प्रकाशन सूचीमा कुनै निश्चित प्रकाशनबारे सङ्केत दिइएको छ भने उक्त प्रकाशनको उल्लिखित पृष्ठ पल्टाउनुहोस्। त्यसपछि उपशीर्षक र अनुच्छेदको सुरुको वाक्यलाई आधार मानेर आवश्यक जानकारी खोज्नुहोस्। तपाईं कुनै बाइबल पदको अर्थ खोज्दै हुनुहुन्छ भने यहोवाका साक्षीहरूको प्रकाशन सूचीमा दिइएको प्रकाशनको पृष्ठ पल्टाएर सबैभन्दा पहिला उक्त पद खोज्नुहोस्। त्यसपछि त्यो पद वरपरका वाक्य जाँच्नुहोस्।
सीडी रोममा उपलब्ध यहोवाका साक्षीहरूको पुस्तकालय: यदि तपाईं कम्प्युटर चलाउन सक्नुहुन्छ भने सीडी रोममा उपलब्ध पुस्तकालय प्रयोग गर्न सक्नुहुन्छ। त्यसमा हाम्रा प्रकाशनहरूको भण्डारै छ। यो पुस्तकालयमा कुनै पनि शब्द, शब्दहरूको समूह वा कुनै पनि पद सजिलै खोज्न सकिन्छ। त्यसको सदुपयोग गर्नुहोस्। तर तपाईंको भाषामा छैन भने पनि तपाईंले बुझ्ने भाषामा उपलब्ध यो पुस्तकालयबाट भरपूर फाइदा उठाउन सक्नुहुन्छ।
अरू ईश्वरतान्त्रिक पुस्तकालय
तिमोथीलाई लेखेको दोस्रो पत्रमा पावलले तिनलाई “मुठाहरू, विशेष गरी चर्मपत्रहरू” रोममा ल्याइदिनू भने। (२ तिमो. ४:१३) पावल त्यस्ता लेखोटलाई अनमोल ठान्थे र आफूसँगै राख्थे। तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ। मण्डलीमा छलफल गरिसकेपछि पनि प्रहरीधरहरा, ब्यूँझनुहोस्! र हाम्रो राज्य सेवा जोगाएर राख्ने गर्नुभएको छ? छ भने तपाईंले जम्मा गरेका हाम्रा अन्य प्रकाशनबाट अनुसन्धान गरेझैं यी प्रकाशनबाट पनि अनुसन्धान गर्न सक्नुहुन्छ। धेरैजसो राज्यभवनमा हाम्रो सङ्गठनका प्रकाशनको पुस्तकालय हुन्छ। मण्डलीका सबै सदस्यले राज्यभवनमा नै यी प्रकाशन पढेर लाभ उठाउन सक्छन्।
व्यक्तिगत फाइल बनाउनुहोस्
अरूसित कुरा गर्न वा अरूलाई सिकाउन प्रयोग गर्न सकिने चाखलाग्दो कुरा खोज्नुहोस्। प्रचारमा प्रयोग गर्न सकिने खबर, तथ्याङ्क वा उदाहरण पत्रपत्रिकामा भेट्टाउनुभयो भने त्यस्तो जानकारी बटुल्नुहोस्। पत्रपत्रिकाको नाम, मिति र सकिन्छ भने लेखक वा प्रकाशकको नाम पनि लेख्नुहोस्। अरूलाई बाइबल सत्य व्याख्या गर्न मदत गर्ने तर्क र उदाहरण सभामा प्रस्तुत गरिएका छन् भने ती पनि टिप्नुहोस्। तपाईंलाई एकदमै राम्रो उदाहरण थाह छ तर त्यसलाई प्रयोग गर्ने मौका पाउनुभएको छैन कि? त्यो उदाहरण लेख्नुहोस् र फाइल गर्नुहोस्। ईश्वरतान्त्रिक सेवा स्कूलमा भाग लिएको केही समयमा तपाईंले थुप्रै प्रस्तुति प्रयोग गरिसक्नुभएको हुनेछ। आफ्नो प्रस्तुतिका टिपोटहरू नफाल्नुहोस्; जोगाएर राख्नुहोस्। तपाईंले गरेको अनुसन्धान पछि काम लाग्न सक्छ।
मानिसहरूसित कुरा गर्नुहोस्
मानिसहरूसित थुप्रै विषयमा जानकारी हुन्छ। प्राप्त प्रमाणअनुसार लूकाले प्रत्यक्षदर्शीलाई सोधेर नै थुप्रै विवरण सङ्कलन गरेर सुसमाचारको पुस्तक लेखे। (लूका १:१-४) तपाईंले मेहनत गरेर अनुसन्धान गरिरहेको विषयबारे सँगी ख्रीष्टियनले प्रस्ट पारिदिन सक्छन्। एफिसी ४:८, ११-१६ अनुसार ख्रीष्टले “वरदानको रूपमा पुरुषहरू” प्रयोग गरेर “परमेश्वरको छोराको सही ज्ञानको विषयमा” बढ्दै जान हामीलाई मदत गर्नुहुन्छ। वर्षौंदेखि परमेश्वरको सेवा गरिरहेकाहरूलाई सोध्दा पनि खोजिरहेकै जानकारी पाउन सकिन्छ। कुराकानी गर्दा अरूको सोचाइ बुझ्न सकिन्छ र यसले पनि हामीलाई आफ्नो प्रस्तुति उपयोगी बनाउन मदत दिन सक्छ।
प्राप्त जानकारी केलाउनुहोस्
गहुँ काटिसकेपछि अन्न र भुस छुट्ट्याउनुपर्छ। त्यसैगरि अनुसन्धान गरेर प्राप्त जानकारीलाई पनि केलाउनुपर्छ। प्राप्त जानकारी प्रयोग गर्नुअघि आवश्यक र अनावश्यक जानकारी छुट्ट्याउनुहोस्।
प्राप्त जानकारी प्रयोग गर्दै हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्: ‘मैले प्रयोग गर्न खोजेको बुँदा मेरो प्रस्तुतिमा साँच्चै सुहाउँछ? अथवा जानकारी रोचक भए पनि त्यसले मुख्य विषयबाट श्रोताको ध्यान अन्तै मोडिदिने हो कि?’ यदि तपाईं भर्खरको कुनै घटना वा परिवर्तन भइरहने विज्ञान र औषधीका क्षेत्रका कुनै जानकारी प्रयोग गर्ने विचारमा हुनुहुन्छ भने त्यो सबैभन्दा नयाँ जानकारी हो कि होइन पक्का गर्नुहोस्। हाम्रै पुराना प्रकाशनमा भएका कुनै बुँदा पनि छाँटकाँट गरिएका हुन सक्छन्। त्यसैले उक्त विषयमा सबैभन्दा ताजा जानकारी के हो, त्यो पनि खोज्नुहोस्।
बाहिरका अन्य स्रोतबाट जानकारी जम्मा गर्नुभएको छ भने तपाईं होसियार हुनै पर्छ। परमेश्वरको वचन सत्य हो भनेर कहिल्यै नबिर्सनुहोस्। (यूह. १७:१७) परमेश्वरको उद्देश्य पूरा गर्ने सम्बन्धमा येशूको महत्त्वपूर्ण भूमिका छ। त्यसैले कलस्सी २:३ यसो भन्छ: “उहाँमै बुद्धि अनि ज्ञानका सारा खजाना होसियारीसाथ छिपाइएको छ।” यही कुरा मनमा राख्दै अनुसन्धान गरेर पाएको नतिजा केलाउनुहोस्। अन्य स्रोतबाट पाएका जानकारी प्रयोग गर्नुअघि आफैलाई सोध्नुहोस्: ‘यो जानकारीमा बढाइचढाइ गरिएको छ? अन्दाजमै भनिएको कुरा पो हो कि? पछिसम्मको कुरा विचार गरिएको छ कि छैन? स्वार्थ पूरा गर्न वा व्यापार बढाउन मात्र लेखिएको हो? कुनै आधिकारिक स्रोतले उक्त जानकारीलाई पुष्टि गरेको छ? सबैभन्दा महत्त्वपूर्ण कुरा उक्त जानकारी बाइबल सत्यसित मेल खान्छ?’
हितोपदेश २:१-५ ले हामीलाई ज्ञान, समझशक्ति र विवेकलाई ‘चाँदीझैं खोजिरहन र गाडधनझैं खनिरहन’ प्रोत्साहन दिएको छ। उक्त पदमा खटिनुपर्ने र इनाम पाइने दुवै कुरा बताइएको छ। अनुसन्धान गर्न निकै मेहनत गर्नुपर्छ तर अनुसन्धान गर्दा कुनै पनि विषयमा परमेश्वरको विचार थाह पाउन, गलत धारणा सुधार्न र सत्यलाई बलियोगरि पक्रन मदत मिल्छ। यसले तपाईंको प्रस्तुतिलाई गहकिलो र जीवन्त बनाउने भएकोले आफ्नो विषय प्रस्तुत गर्दा तपाईंलाई आनन्द लाग्छ भने श्रोतालाई पनि रमाइलो हुन्छ।