प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 २/१ pp. ३०-३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • के नारीहरूले सिंगार गर्नै हुँदैन?
    ब्यूँझनुहोस्‌!—२००५
  • तपाईंको पहिरन र कोरीबाटी—के परमेश्‍वरले ख्याल गर्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • भद्र पहिरनले परमेश्‍वरप्रति श्रद्धा झल्काउँछ
    हाम्रो राज्य सेवकाई—२००३
  • चिटिक्क परेको रूपरङ
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 २/१ pp. ३०-३१

पाठकहरूका प्रश्‍नहरू

▪ एक जना मसीही स्त्रीले गहना लाउन अथवा गाजल, लाली, पाउडर जस्ता श्रृङ्‌गार-साधनको प्रयोग गर्न, केश रङ्‌ग्‌याउन अथवा यस्ता अन्य कुराहरूको अनुसरण गर्न उपयुक्‍त छ कि छैन?

बितेका समयमा र हाम्रा दिनहरूमा, बाइबलको अनुसरण गर्ने दाबी गर्ने केही व्यक्‍तिहरूले सिंगार सम्बन्धी कट्टर तर अति नै भिन्‍न दृष्टिकोणहरूको विकाश गरेका छन्‌।a

कुनै कुनै गिर्जाका महिलाहरू गहना र श्रृङ्‌गार-साधन्‌को प्रयोग पटक्कै गर्दैनन्‌। उदाहरणका लागि, दी ऐमिश पिपल [ऐमिश मानिसहरू] भन्‍ने पुस्तकमा दिएको रिपोर्ट अनुसार, “तिनीहरूले आफ्नो शारीरिक रूपलाई दबाएर राख्छन्‌ किनभने तिनीहरूको विचारमा, सांसारिक रूपरङ्‌गमा सक्रिय चासो लिने व्यक्‍ति खतरामा छ किनकि तिनले [त्यो] चासो शारीरिक भन्दा आध्यात्मिक कुराहरूमा केन्द्रित गर्नु पर्ने हो। कसै कसैले . . . शास्त्रबाट उद्धरण गर्ने गर्छन्‌।”

शास्त्रबाट त्यहाँ उद्धृत गरिएको पद १ शमूएल १६:७ थियो: “परमप्रभुले [यहोवाले, न्यु. व.] तिनलाई भन्‍नु भयो, ‘त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर। . . . मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले [यहोवाले, न्यु. व.] हृदय हेरीकन विचार गर्छन्‌।’” तथापि, त्यो पदले दाऊदका दाजु एलीआबको अल्गोपनालाई सङ्‌केत गर्दै थियो। विषयको सन्दर्भबाट स्पष्ट छ कि यहाँ परमेश्‍वरले सिंगारपटार अर्थात्‌ दाऊद र तिनका दाजु-भाइहरूले केश कोरेका थिए कि थिएनन्‌ अथवा तिनीहरूका वस्त्रमा बुट्टा भरिएको थियो कि थिएन भन्‍ने विषयमा चर्चा गुर्न भएको थिएन।—उत्पत्ति ३८:१८; २ शमूएल १४:२५, २६; लूका १५:२२.

यसले देखाउँछ कि मसीहीहरू प्रत्यक्ष रूपमा सादा हुनु पर्छ र तिनीहरूले कुनै प्रकारको श्रृङ्‌गार-साधन्‌ अथवा गहनाको प्रयोग गर्नु हुँदैन भन्‍ने विचार राख्ने व्यक्‍तिहरूले शास्त्रीय पदहरूलाई गलत ढङ्‌गमा प्रयोग गर्दै, समर्थन्‌ खोज्ने गर्छन्‌। वास्तवमा, सिंगारपटार बारे बाइबलमा विस्तृत छलफल गरिएको छैन; नता त्यहाँ कुनै कुनै श्रृङ्‌गार-साधन्‌हरूको प्रयोगको समर्थन गर्दै अरू प्रयोगहरूको चाहिं निषेध गरिएको छ। बरू, त्यहाँ मनासिब मार्ग-रेखाहरू दिइएका छन्‌। तिनीहरूमाथि अब ध्यान दिउँ र हेरौं, तिनीहरूको आज कसरी प्रयोग गर्न सकिन्छ।

प्रेरित पावलले यो ईश्‍वर-प्रेरित मार्ग-निर्देशन दिएका छन्‌: “त्यही किसिमले स्त्रीहरू साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्‌। कपाल सिंगारेर बाटेका, सुन, मोती र बहुमूल्य लुगाहरूले ता होइन।” (१ तिमोथी २:९) त्यस्तै गरी पत्रुसले लेखे: “तिमीहरूका सिंगार, कपाल बाट्‌ने, र सुनको गहना लाउने, अथवा किसिम किसिमको पोशाक लाउने, बाहिरी सिंगार न होस्‌, तर नम्र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस होस्‌, जो परमेश्‍वरको दृष्टिमा ठूलो मोलको हुन्छ।”—१ पत्रुस ३:३, ४.

यहाँ प्रयोग गरिएका “सिंगार” “साधा पहिरन” शब्दहरू युनानी शब्द को-समसका विभिन्‍न रूपहरू हुन्‌ र “कसमेटिक” शब्दको मूल पनि को-समस नै हो। “कसमेटिकको” अर्थ “[विशेषगरी] छालालाई सुन्दर तुल्याउनु” हो। यस प्रकार, यी पदहरूबाट हामीले सिंगार, गहना र स्त्री-जातिले गर्ने अन्य सजावटबारे उठेका प्रश्‍नहरूको उत्तर दिने मद्दत पाउन सक्छौं।

के पावल र पत्रुसको भनाइको अर्थ, मसीहीहरूले कपाल कोरीबाटी गर्नु, मोती र सुनको गहना लाउनु अथवा सिंगारपटार गर्नु हुँदैन थियो र? थिएन। तिनीहरूको भनाइको अर्थ त्यो थियो भनी दावा गरेमा ता मसीही बहिनीहरूले बाहिरी ‘पोशाक’ पनि लाउनु भएन। तर, पत्रुसले पुनः जीवित पारेकी तबीतालाई सबैले प्रेम गर्दथिए किनकि तिनले अरू बहिनीहरूका लागि “कोटहरू र लुगाहरू” बनाइ दिन्थिन्‌। (प्रेरित ९:३९) यसकारण, १ तिमोथी २:९ र १ पत्रुस्‌ ३:३, ४ को अर्थ बहिनीहरूले कपाल कोरीबाटी गर्नु, मोती, किसिम किसमका पोशाक इत्यादि लाउनु हुँदैन भनेको होइन। यसको सट्टा, स्त्री-जातिले कोरीबाटी र सिंगारपटार गर्दा, शिष्टता र एउटा सन्तुलित मनोस्थितिलाई विशेष ध्यान दिनु पर्छ भन्‍ने कुरामा पावलले जोर दिंदै थिए। विश्‍वास न गर्ने पतिहरू भएकी पत्नीहरूले आफ्ना पतिहरूलाई विश्‍वास गर्ने तुल्याउनका निम्ति, आफ्नो बाहिरी रूप अथवा सिंगारपटारलाई बढ़ी महत्व नदिएर, आफ्नो भित्री स्वभावलाई विशेष ध्यान दिनु उचित हुनेछ भनी पत्रुसले देखाए।

सोझो ढङ्‌गमा भन्‍ने हो भने, आफ्नो रूपरङ्‌गलाई अझ राम्रो पार्ने अथवा सिंगार गर्ने कुनै पनि प्रयास बाइबलमा निषेध गरिएको छैन। परमेश्‍वरका कुनै कुनै सेवकहरू, दुवै पुरुष र स्त्रीहरूले, गहनाको प्रयोग गर्द थिए। (उत्पत्ति ४१:४२; प्रस्थान ३२:२, ३; दानियल ५:२९) श्रृङ्‌गारका तेलहरू, अत्तर र मालिसहरू प्रयोग गर्दै सौन्दर्य बढ़ाउने एउटा विस्तृत प्रणाली पालन गर्न विश्‍वासी एस्तरले मञ्जुर गरेकी थिइन्‌। (एस्तर २:७, १२, १५; दानियल १:३-८ सँग तुलना गर्नु होस्‌) इस्राएललाई लाक्षणिक रूपमा चुरा, सिक्री, नत्था र कानमा लुर्कासाथ परमेश्‍वरले सुसज्जित गरी दिनु भयो भनेर उहाँले भन्‍नु भयो। यी सबै कुराहरूले गर्दा इस्राएल “अत्यन्तै सुन्दरी” भइन्‌।—इजकिएल १६:११-१३.

तथापि, इजकिएलको पुस्तकमा लेखिएको वर्णनबाट हामीले बाहिरी रूपमा ध्यान केन्द्रित गर्नु हुँदैन भन्‍ने शिक्षा पाउँदछौं। परमेश्‍वरले भन्‍नु भयो: “तर तैंले आफ्नो सौन्दर्यमा भरोसा राखिस्‌, र तेरो ख्यातिको कारण तैंले वेश्‍यावृति गर्नलागिस्‌, र तेरो वेश्‍यावृतिको पेशा बाटोमा हिंड्‌नेहरू जोसुकैसँग गर्नलागिस्‌।” (इजकिएल १६:१५; यशैया ३:१६, १९) यस प्रकार, बाहिरी रूपलाई बढ़ी महत्व दिनु हुँदैन भनेर पछिबाट पावल र पत्रुसले दिएका सल्लाहको औचित्यलाई इजकिएल १६:११-१५ मा उल्लेखित्‌ कुराले अझ बल दिन्छ। कुनै स्त्रीले सुनको गहना लाएर आफ्नो सिंगार गर्न चाहेमा, गहनाको मात्रा र ढाँचा, उत्ताउला अथवा आडम्बरपूर्ण वा देखावटी न भएर शिष्ट हुनु पर्दछ।—याकूब २:२.

एउटी मसीही स्त्रीले ओंठ अथवा गालामा लाली लाउने वा आँखामा गाजल र अरू श्रृँगार-साधन्‌ प्रयोग गर्ने विषयमा के भन्‍न सकिन्छ? इस्राएल र नजिकका इलाकाहरूमा, पुरातत्ववेत्ताहरूले यस प्रकारका श्रृँगारका सामानहरू साथै तिनीहरूका प्रयोगको निम्ति बनाइएका औजारहरू र ऐनाहरू फेला पारेकाछन्‌। हो, आज पाइने श्रृँगारका धेरै सामानहरू चलन-चल्तीमा आउनु भन्दा अघि नै, प्राचीन पूर्वीय स्त्रीहरूले श्रृँगारका सामानहरू प्रयोग गर्ने गर्द थिए। अय्यूबकी छोरी केरेन-हप्पूकको नाउँको अर्थ शायद “आँखामा लाउने गाजल राख्ने सिंग” अथवा आँखामा लाउने श्रृँगार-साधन्‌ राख्ने बट्टा थियो।—अय्यूब ४२:१३-१५.

इस्राएलमा पनि श्रृङ्‌गार-साधनहरूको प्रयोग हुन्थियो। तापनि, बाइबलमा उल्लेखित केही उदाहरणहरूबाट त्यसो गर्दा उत्ताउलो हुने खतरा देखिन्छ। इस्राएलकी महारानी भएकी वर्षौं पछि पनि, ईजेबेलले “आँखामा गाजल लाइन्‌ र कपाल बाटेर” बस्थिन्‌। (२ राजा ९:३०) पछि, इस्राएलले पनि मूर्तिपूजक राष्ट्रहरूबाट अनैतिकता पूर्ण ध्यान आकर्षित गर्न खोजेको कुराको वर्णन गर्दा, ‘तिनले सुनको गहना पहिरेर, गाजल लगाएर आँखा ठूलो पारेर आफूलाई सिंगारिएकी र सुन्दर पारेकी’ कुरा परमेश्‍वरले भन्‍नु भयो। (यर्मिया ४:३०; इजकिएल २३:४०) नकली उपायहरूको प्रयोग द्वारा, आफ्नो रूपलाई अझ सुन्दर तुल्याउनु गलत हो भनेर नता यी पदहरूमा न अरू कुनै पदहरूमा भनिएको छ। तापनि, ईजेबेलको घटनाबाट यो बुझ्दछौं, कि टाढ़ैबाट अथवा दरबार बाहिर देखिन्‌ येहू समेतले देख्ने गरी तिनले आँखाको वरिपरि अति नै धेरै गाजल लगाइन्‌। यसबाट के सिक्न सकिन्छ? उत्ताउलो ढङ्‌गमा अथवा धेरै मात्रामा श्रृङ्‌गार-साधन्‌हरूको प्रयोग न गर्नु होस्‌।b

जरुर पनि, गहना अथवा अन्य श्रृँगार-साधनको प्रयोग गर्ने कुनै पनि स्त्रीले आफ्नो ढाँचा अथवा मात्रा अनुचित छ भन्‍ने छैन। तापनि, यो एउटा कुरा निर्विवाद छ कि आफूलाई असुरक्षित महसूस गरेकी हुनाकारण अथवा विज्ञापनहरूबाट धेरै नै प्रभावित भएर, एक जना स्त्रीले अचाक्ली श्रृँगार गर्ने बानी बसाल्न सक्छिन्‌। आफ्नो रूपमा यसको असर देख्दा देख्दा, यो धेरै जसो मसीही स्त्रीहरूको “शिष्टता र सन्तुलित मनोस्थिति” अनुसार भएन भन्‍ने कुरा पनि महसुस गर्न तिनी असमर्थ हुन सक्छिन्‌।—याकूब १:२३, २४ हेर्नुहोस्‌.

हुन ता हो, व्यक्‍ति, व्यक्‍तिको रुचि फरक हुन्छ; केही स्त्रीहरूले श्रृँगार-साधन अथवा गहना थोरै मात्रामा प्रयोग गर्छिन्‌ भने कुनै स्त्रीहरूले यसको प्रयोगै न गर्लिन्‌ र कसैले चाहिं अलिकता बढ़ी मात्रामा प्रयोग गर्न सक्छिन्‌। यसकारण, बेग्लै मात्रामा गहना अथवा श्रृँगार-साधनको प्रयोग गर्ने व्यक्‍तिबारे कुनै प्रकारको निष्कर्षमा आउनु बुद्धिमानीको कुरा होइन। याद राख्नु पर्ने एउटा अर्को कुरा स्थानीय चलन पनि हो। कुनै कुनै ढाँचा एउटा अर्को मुलुकमा ग्रहणयोग्य छ (अथवा प्राचीन समयमा प्रचलित थियो) भन्दैमा, त्यो आज आ-आफ्नो स्थानीय वातारणमा पनि उचित हुनेछ भन्‍न मिल्दैन।

एउटी बुद्धिमानी स्त्रीले समय-समयमा आफ्नो श्रृँगार र कोरी-बाटी गर्ने ढङ्‌गको जाँच गर्दै आफूलाई इमान्दारीपूर्वक सोध्ने छिन्‌: ‘म बसेकी इलाकाका धेरै जसो मसीहीहरूले भन्दा बढ़ी मात्रामा श्रृँगार अथवा गहनाको मैले प्रयोग गर्दै छु कि? के मैले समाजमा प्रतिष्ठित मानिएका, आत्मरत व्यक्‍तिहरू अथवा चल-चित्रहरूमा कामगर्ने गम्किएका अभिनेता र अभिनेत्रीहरूको नमुनानुसार, कोरी-बाटी र श्रृँगार गर्ने गरेकी छु वा म मुख्यतः धेरै जसो १ तिमोथी २:९ र १ पत्रुस ३:३, ४ मा दिइएका सल्लाह अनुसार निर्देशित छु? हो, के मेरो कोरी-बाटी र श्रृँगार वास्तवमा शिष्ट र अरूहरूको विचार र भावनाहरूको वास्ता गर्ने प्रकारको छ?’—हितोपदेश ३१:३०.

मसीही पतिहरू हुने स्त्रीहरूले आ-आफ्ना पतिहरूबाट यस विषयमा सर-सल्लाह र राय माँग्न सक्छन्‌। साथै, इमान्दारीका साथ सोधेको खण्डमा, उपयोगी सर-सल्लाह अरू बहिनीहरूबाट पनि प्राप्त गर्न सकिन्छ। तर आफ्नो जस्तै रुचि भएकी साथीहरूलाई सोध्नुको सट्टा, सन्तुलित र बुद्धिमान भनी आदर गरिएकी दिदीहरूसँग सोधपूछ गर्नु अझ राम्रो होला। (१ राजा १२:६-८ सँग तुलना गर्नु होस्‌) बाइबल भन्छ कि “वृद्धाहरू [ले] . . . तरुणीहरूलाई . . . आत्मसंयमी, दयालु . . . बनाऊन्‌, कि परमेश्‍वरका वचनको निन्दा हुन नपाओस्‌।” (तितस २:२-५) कुनै पनि परिपक्व मसीहीले आफ्नो गहना अथवा श्रृँगारको उत्ताउलो प्रयोग द्वारा परमेश्‍वरको वचन अथवा जनहरूको “निन्दा” भएको चाहना गर्ने छैन।

बाइबलमा तामारबारे दिइएको वर्णनबाट देखिन्छ कि एक जना स्त्रीको पहिरनले तिनको विषयमा धेरै कुरा भन्‍न सक्‍तछ अथवा तिनको परिचय दिन सक्‍तछ। (उत्पत्ति ३८:१४, १५) एउटी मसीही स्त्रीको कोरी-बाटी अर्थात्‌ केशको रङ्‌ग (रङ्‌ग्‌याएको छ भने) अथवा तिनले प्रयोग गरेको गहना र श्रृँगारले के भनी रहेछ? के तिनीहरूले: परमेश्‍वरको यो एउटी सफा, शिष्ट र सन्तुलित सेविका हुन्‌ भनी रहेछन्‌?

हाम्रा सभाहरूमा उपस्थित्‌ भएर अथवा क्षेत्र-सेवकाईमा मसीहीहरूलाई देख्ने व्यक्‍तिमाथि राम्रो प्रभाव पर्नु आवश्‍यक छ। र अकसरगरी दर्शकहरू राम्रोसँग प्रभावित हुन्छन्‌ पनि। धेरै जसो मसीही स्त्रीहरूले तिनीहरू या त भद्दा अथवा ज्यादै सिंगारिएका छन्‌ भन्‍ने ठाउँ बाहिरका मानिसहरूलाई दिंदैनन्‌; यसको सट्टा, तिनीहरू “भक्‍ति गर्ने स्त्रीहरूलाई सुहाउँने गरी” आफ्नो कोरी-बाटी र सिंगार-पटार गर्ने गर्छन्‌।—१ तिमोथी २:१०. (w06/01/91)

[फुटनोटहरू]

a तेस्रो शताब्दीमा, टरटुलियनले दाबी गरे कि “आफ्नो छालामा औषधी घस्‌ने, गालामा लाली लाउने, गाजल लाएर आँखाहरू ठूलो पार्ने, [स्त्रीहरूले] परमेश्‍वरको विरुद्धमा पाप गर्दछन्‌।” केश रङ्‌ग्‌याउनेहरूको पनि तिनले आलोचना गरे। मत्ती ५:३६ मा उल्लेखित येशूका शब्दहरूलाई गलत ढङ्‌गमा प्रयोग गर्दै, टरटुलियनले दोषारोपण गरे: “तिनीहरूले प्रभुलाई पनि खण्डन गर्छन्‌! तिनीहरू भन्छन्‌ ‘लौ, हेर्नुहोस्‌! सेतो अथवा कालोको ठाउँमा, हामी [हाम्रो केश] पहेंलो पार्छौं।’” तिनले अझ एसो पनि भने: “बूढ़ो हुन लाज मान्‍नेहरू आफ्नो सेतो केशलाई कालो पार्ने कोशिश गरेको पनि तपाईंले पाउनु हुनेछ।” त्यो थियो टरटुलियनको व्यक्‍तिगत विचार। तर तिनले कुरा बङ्‌ग्‌याइ रहेका थिए, किनभने मानिसको श्रापित अवस्थाको कारण स्त्रीहरू हुन्‌ र ‘प्रथम पापको कलङ्‌कका’ लागि तिनीहरू ‘हव्वा झैं शोक र पश्‍चाताप गर्दै हिंड्‌नु’ पर्ने हो भन्‍ने विचारमा तिनको सम्पूर्ण तर्क आधारित थियो। बाइबलमा चाहिं यस्तो कुनै कुरा भनिएको छैन; परमेश्‍वरले मानिसको पापी अवस्थाका लागि आदमलाई दोषी ठहराउनु भयो।—रोमी ५:१२-१४; १ तिमोथी २:१३, १४.

b केही समय अघि मात्र, संयुक्‍त राष्ट्र अमेरीकाको समाचार माध्यमद्वारा एक जना टेली-वीजन प्रचारकबारे विशेष चर्चा हुँदा, तिनकी सह-अभिनेत्री पत्नीले पनि प्राय उतिकै ध्यान आकर्षित गरिन्‌। समाचारका रिर्पोटहरू अनुसार, “दुवै श्रृँगार-साधन्‌हरू र चल-चित्रहरू” पापपूर्ण हुन्‌ भनी विश्‍वास गर्दै तिनी हुर्केकी थिइन्‌, तापनि, पछि गएर तिनले आफ्नो विचारमा परिवर्तन ल्याइन्‌ र “मूर्ति जस्तो देखिने गरी बाक्लो किसिमले” र उत्ताउलो प्रकारको श्रृँगार अनुहारमा गर्न थालिन्‌।

[पृष्ठ ३१-मा भएका चित्रहरू]

मध्य-पूर्वमा गरिएका आविष्कारहरू: श्रृङ्‌गार-साधन्‌हरू राख्ने हात्तिदाँतको बाकस, ऐना, र सुन र रातो स्फटिकले बनेका मालाहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने