के तपाईंले सन्तुलित आध्यात्मिक आहार खाइरहनुभएको छ?
“सन्तुलित भोजन मानिसको सबैभन्दा आधारभूत आवश्यकता हो। . . . प्रशस्त खाना खाएनौं भने हामी मर्छौं।”—खाद्यान्न र पोषण (अंग्रेजी)।
“मानिसको सबैभन्दा आधारभूत आवश्यकताबाट” वञ्चित पुरुष, स्त्री तथा बच्चाहरूको हाड र छाला मात्र बाँकी रहेको शरीरले माथि उल्लिखित सत्यलाई सजीव ढंगमा चित्रित गर्छ। अरूले चाहिं केही हदसम्म पौष्टिक आहार पाउन त पाउँछन् तर अझै कुपोषित छन्। तर, जो मानिसहरूले पोषणयुक्त आहार खानसक्छन् तिनीहरू पौष्टिक पदार्थ थोरै मात्रामा मात्र भएको बजारी खानामा नै चित्त बुझाउँछन्। स्वास्थ्यकर खाना खाने (अंग्रेजी) पुस्तक यसो भन्छ: “यसो हेर्दा मानिसले माल पाएर पनि चाल नपाएको कुरा चाहिं खानेकुरा नै जस्तो देखिन्छ।”
परमेश्वरको वचन बाइबलमा पाइने सत्य अर्थात् आध्यात्मिक आहारबारे पनि त्यस्तै भन्न सकिन्छ। कोही मानिसहरूले आधारभूत आध्यात्मिक आहारसमेत पाएका छैनन्। तिनीहरू आध्यात्मिक तवरमा भोका छन्। अरू चाहिं आध्यात्मिक आहार पाएर पनि त्यसको सदुपयोग गर्दैनन्। तपाईं नि? के तपाईंले व्यक्तिगत तवरमा सन्तुलित आध्यात्मिक आहार खाइरहनुभएको छ? वा आफूलाई आध्यात्मिक आहारबाट वञ्चित गराउनुभएको छ? यस विषयमा हामी इमानदार हुनु महत्त्वपूर्ण छ किनभने हामीलाई शारीरिक भोजनभन्दा पनि बढी आध्यात्मिक भोजन चाहिन्छ।—मत्ती ४:४.
आध्यात्मिक वृद्धिको लागि भोजन
सन्तुलित भोजनको महत्त्वबारे छलफल गरिएको पाठ्यपुस्तक खाद्यान्न र पोषण-ले प्रशस्त खानुपर्ने तीन असल कारणहरू दिन्छ। प्रथमतः, “हुर्कन र शरीरका कोशिकाहरूको क्षतिपूर्ति गर्न” हामीलाई खाना चाहिन्छ। तपाईंको शरीरमा प्रत्येक दिन एक खर्ब कोशिकाहरू टुटफुट भइरहेका हुन्छन् र त्यसको क्षतिपूर्ति गर्नुपर्छ भनेर के तपाईंलाई थाह थियो? उचित तरिकामा हुर्कन, बढ्न र शरीरको पालनपोषण गर्न पौष्टिक आहार चाहिन्छ।
आध्यात्मिक तवरमा पनि त्यस्तै हो। उदाहरणका लागि, प्रेरित पावलले एफिससका मण्डलीलाई “पूरा पाको मानिस” हुन प्रशस्त पौष्टिक आध्यात्मिक आहार लिन जोड दिए। (एफिसी ४:११-१३) हामीले प्रशस्त पोषणयुक्त आध्यात्मिक आहार लियौं भने हामी आफ्नो हेरचाह गर्न नसक्ने र सबै किसिमका खतराहरूबाट सजिलै शिकार हुने कमजोर बच्चाजस्तो हुनेछैनौं। (एफिसी ४:१४) बरु, हामी विश्वासको लागि जस्तो पनि संघर्ष गर्नसक्ने बलियो वयस्क हुनेछौं किनभने “विश्वासका वचनहरूले पुष्टेइँ पाएका” हुनेछौं।—१ तिमोथी ४:६.
तपाईंबारे के भन्न सकिन्छ नि? के तपाईं आध्यात्मिक तवरमा परिपक्व हुनुहुन्छ? वा तपाईं अझै निस्सहाय, अरूमाथि पूर्णतया भर पर्नुपर्ने र मसीही जिम्मेवारीहरू लिन असक्षम अर्थात् आध्यात्मिक बच्चा नै हुनुहुन्छ? एउटा कुरा स्पष्ट छ, हामीमध्ये थोरैले मात्र आध्यात्मिक तवरमा बच्चै छौं भनी स्वीकार्छौं होला तर त्यसबारे निष्कपटतासाथ आफ्नो जाँच गर्नु बेस हुनेछ। प्रथम शताब्दीका केही अभिषिक्त मसीहीहरू त्यस्तै थिए। तिनीहरू परमेश्वरको वचनले के सिकाउँछ बताउन सक्षम र इच्छुक “शिक्षक” हुनुपर्ने भए तापनि तिनीहरूको अवस्था कस्तो थियो भनी प्रेरित पावलले यसो लेखे: “अझै तिमीहरूलाई कसैले परमेश्वरका वचनको शुरूका शिक्षाहरू सिकाइदिनु परेको छ। तिमीहरूलाई खँदिलो खानेकुराको होइन, तर अझै दूधैको दरकार पर्नेजस्ता तिमीहरू भएका छौ।” तपाईं आध्यात्मिक तवरमा हुर्कन चाहनुहुन्छ भने पोष लाग्ने खँदिलो आहारको लागि भोक जगाउनुहोस्। आध्यात्मिक तवरमा बच्चाको जस्तै खानेकुरामै तृप्त नहुनुहोस्!—हिब्रू ५:१२.
यस वैरभावी संसारमा हामीले दिनहुँ सामना गर्ने अनेकन् परीक्षाहरूले हामीलाई कमजोर तुल्याउँछ। त्यसैले यसको क्षतिपूर्ति गर्न हामीलाई खँदिलो आध्यात्मिक आहार चाहिन्छ। यसले हाम्रो आध्यात्मिक बललाई कमजोर तुल्याउनसक्छ। तर परमेश्वरले हाम्रो बल नवीकरण गर्न सक्नुहुन्छ। पावलले यसो भने: “हामी हरेस खाँदैनौं, तर हाम्रो बाहिरी मनुष्यत्व नाश भइरहेको हुन्छ, तापनि हाम्रो भित्री मनुष्यत्वचाहिं दिनदिनै नयाँ हुँदै आएको हुन्छ।” (२ कोरिन्थी ४:१६) हामी कसरी “दिनदिनै नयाँ हुँदै” जान्छौं? परमेश्वरको वचनबाट भोजन लिने एउटा तरिका त नियमित तवरमा धर्मशास्त्र र त्यसमा आधारित साहित्यहरूको व्यक्तिगत तथा सामूहिक अध्ययन गरेर हो।
आध्यात्मिक शक्तिको लागि भोजन
“ताप र शक्ति निकाल्न” पनि खाना चाहिन्छ। हाम्रो शरीर सुचारु रूपले चल्न खानाले शक्ति दिन्छ। हामीले राम्ररी खाना खाएनौं भने ताकत पाउँदैनौं। हाम्रो भोजनमा आइरनको कमी भयो भने थकाइ लाग्छ, फूर्ति हुँदैन। आध्यात्मिक क्रियाकलापको सन्दर्भमा पनि के तपाईंलाई कहिलेकाहीं त्यस्तै लाग्छ? मसीही भएको नाताले पूरा गर्नुपर्ने दायित्वहरू हुन्छन्, के तपाईंलाई त्यो पूरा गर्न गाह्रो लाग्छ? येशू ख्रीष्टका अनुयायीहरू भनी दाबी गर्ने कोही कोही भलाइ गर्न थकित हुन्छन् र मसीही कार्यहरू गर्न ताकतै हुँदैन। (याकूब २:१७, २६) तपाईंको अवस्था पनि यस्तै छ भने केही हदसम्म तपाईंको आध्यात्मिक भोजन लिने तरिकामा उन्नति गरेर वा अझ धेरै आध्यात्मिक आहार लिएर यसको उपचार गर्न सकिन्छ।—यशैया ४०:२९-३१; गलाती ६:९.
भ्रममा परेर आध्यात्मिक आहार लिने खराब बानी नबसाल्नुहोस्। शताब्दीयौंको दौडान शैतानले मानिसहरूलाई बाइबल पढ्नु पर्दैन र यथार्थ ज्ञान पनि लिनु खाँचो छैन भनी झुक्काएको छ। सेनाहरूले शत्रुहरूको शहरलाई परास्त गर्न अतिक्रमण गर्दा चलाउने उही पुरानो चाल त्यसले चल्छ। त्यो हो, खानाको हाहाकार मच्चाएर शत्रुको शरणमा पर्न बाध्य गराउनु। तर त्यसले आफ्नो चाललाई अलि अगाडि बढाएको छ। प्रचुर मात्रामा स्वास्थ्यकर आध्यात्मिक आहार वरपर बसे तापनि त्यसले आफ्नो “घेरामा” हालेकाहरूलाई खान पर्दैन भनी झुक्काउँछ। त्यसैकारण त थुप्रै मानिसहरू त्यसको शिकार बन्न पुग्छन्!—एफिसी ६:१०-१८.
आध्यात्मिक तन्दुरुस्तीको लागि भोजन
खाद्यान्न र पोषण पुस्तकअनुसार हामीले खाना खानुपर्ने तेस्रो कारण “शरीरलाई सुचारु रूपले चलाउन . . . र रोगबाट जोगाउन” हो। सन्तुलित भोजनका फाइदाहरू हाम्रो शरीरमा तुरुन्तै देखिंदैन। पोषणयुक्त भोजन खाएपछि हामी प्रायः यस्तो सोच्ने गर्दैनौं, ‘ओहो, यो खानाले त मेरो मुटुलाई (वा मृगौला वा माशंपेशी इत्यादिलाई) असाध्यै फाइदा गऱ्यो।’ तर लामो समयसम्म खाना नखाई बस्नुभयो भने तपाईंको शरीरलाई कस्तो प्रभाव पार्छ प्रष्टै देखिन्छ। परिणाम कस्तो हुन्छ? औषधीसम्बन्धी पुस्तक लेख्ने एक व्यक्तिले यसो भने: “कुपोषणको सामान्य असर हानिकारक हुन्छ: मोटोघाटो हुन नसक्ने, सानातिना रोगहरू विरुद्ध पनि लड्न नसक्नु र जोस जाँगर नहुने हुन्छ।” पुरातन इस्राएललाई पनि केही समयको लागि यस्तै प्रकारको आध्यात्मिक अस्वस्थताले पिरोलेको थियो। अगमवक्ता यशैयाले तिनीहरूलाई यसो भने: “सारा शिर दुःखेको छ, र सारा हृदय हैरान भएको छ। शिरदेखि पैतालासम्मै चोट नभएको कहीं छैन।”—यशैया १:५, ६.
पोषिलो आध्यात्मिक आहारले हामीलाई आध्यात्मिक कमजोरीको प्रतिरोध गर्न र आध्यात्मिक तवरमा संक्रमित हुनदेखि बचाउँछ। परमेश्वरबाट आउने ज्ञान लियौं भने आध्यात्मिक तवरमा स्वस्थ रहनसक्छौं। सन्तुलित आध्यात्मिक आहार लिने सन्दर्भमा आफ्ना पुर्खाहरूले गरेका गल्ती थाह पाएर पनि सन्तुलित आध्यात्मिक आहार लिनुपर्छ भनेर ती मानिसहरू चेतेनन् भनी येशू ख्रीष्टले भन्नुभयो। उहाँले सिकाइरहनुभएको सत्य स्वीकार्न तिनीहरूले पनि इन्कार गरे। परिणाम कस्तो भयो? येशूले भन्नुभयो: “यी मानिसहरूको मन भद्दा भएको छ, औ तिनीहरूका कान सुन्नमा ढीला भएका छन्, र तिनीहरूले आफ्ना आँखा चिम्लेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, मतर्फ फर्कनेथिए। र म तिनीहरूलाई निको पार्नेथिएँ।” (मत्ती १३:१५) अधिकांश मानिसहरूले परमेश्वरको वचनमा पाइने निवारण गर्ने शक्तिबाट कहिल्यै लाभ उठाएनन्। तिनीहरू आध्यात्मिक तवरमा बिरामी नै रहे। केही अभिषिक्त मसीहीहरूसमेत “कमजोरी र रोगी” भए। (१ कोरिन्थी ११:३०) परमेश्वरले प्रबन्ध गर्नुभएको आध्यात्मिक आहारलाई हामी कहिल्यै हेलचक्य्राइँ नगरौं।—भजन १०७:२०.
आध्यात्मिक प्रदूषण
आध्यात्मिक तवरमा भोका रहने खतराबाहेक हामी होशियार हुनुपर्ने अर्को एउटा खतरा पनि छ। त्यो हो, तपाईंले लिइरहनुभएको आहार नै प्रदूषित हुनसक्छ। जीवाणु वा विष भएको खाना खाँदा हामीलाई तुरुन्तै असर पार्ने जस्तै खतरनाक पैशाचिक विचारहरूले भरिपूर्ण शिक्षा लियौं भने हामीलाई संक्रमण गर्नसक्छ। (कलस्सी २:८) विष भएको खाना सधैं सजिलै छुट्याउन सकिंदैन। एक विशेषज्ञ यसो भन्छन्: “खाना कहिलेकाहीं स्वास्थ्यकर नै देखिन्छ तर त्यसमा रोग फैलाउने जीवाणुहरू हुनसक्छन्।” अतः, यो कुरा मनमा राख्दै हाम्रो लाक्षणिक भोजनको स्रोत केलाउनु बेस हुनेछ। जस्तै गैरशास्त्रीय शिक्षा वा दर्शनहरूले भरिएका धर्मत्यागी लेखोटहरू। केही खाद्य उत्पादकहरूले आफ्नो उत्पादनमा राखिएका कुराहरूबाट ग्राहकहरूलाई ठग्न गलत लेबलहरू पनि राख्छन्। सबैभन्दा खप्पिस ठग शैतानले पनि त्यस्तै नगर्ला भन्ने छैन। अतः, यस्तो लाक्षणिक भोजन भरपर्दो स्रोतबाट आएको हो कि होइन, जाँच्नुहोस्। यसो गर्नुभयो भने तपाईं “विश्वासमा पक्का” हुन सक्नुहुनेछ।—तीतस १:९, १३.
सत्रौं शताब्दीका प्रचारक थोमस आदम्स्ले आफ्नो समयका मानिसहरूबारे यसो भने: “मानिसहरूले आफ्नो खुट्टामा आफै बन्चरो हाने।” अर्को शब्दमा भन्ने हो भने, तिनीहरूले खाएको खानाले तिनीहरूकै मृत्यु निम्त्यायो। तपाईंले खाने आध्यात्मिक आहारले तपाईंलाई मृत्युमा नपुऱ्याओस्। पोषिलो आध्यात्मिक आहारको स्रोत खोज्नुहोस्। “जे खानेकुरो होइन त्यसको निम्ति किन पैसा खर्च गर्छौ?” यो प्रश्न यहोवा परमेश्वरले उहाँका जन हौं भनी दाबी गर्ने झूटा शिक्षक तथा अगमवक्ताहरूलाई गर्नुभयो। “ध्यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्यही तिमीहरू खाऊ, र स्वादिष्ट थोकहरू खाएर तिमीहरू सन्तुष्ट होऊ। कान थाप, र मकहाँ आऊ। सुन, र तिमीहरू जिउनेछौ।”—यशैया ५५:२, ३; तुलना गर्नुहोस् यर्मिया २:८, १३.
प्रशस्त आध्यात्मिक आहार
पोषणयुक्त आध्यात्मिक आहारको कमी त पक्कै छैन। येशू ख्रीष्टले भविष्यवाणी गर्नुभएझैं उहाँले विश्वासी र बुद्धिमान् दासको प्रबन्ध गर्नुभएको छ अनि तिनीहरू इच्छा गर्ने जतिलाई “ठीक ठीक समयमा खान” दिन व्यस्त छन्। (मत्ती २४:४५) भविष्यवक्ता यशैया मार्फत यहोवाले यस्तो प्रतिज्ञा गर्नुभयो: “हेर, मेरा दासहरूले खानेछन्, तर तिमीहरू भने भोकाउनेछौ। . . . मेरा दासहरू हृदयमा आनन्द भएकाले गाउनेछन्।” वास्तवमा खान चाहनेहरूलाई उहाँले एउटा ठूलो भोजकै प्रतिज्ञा गर्नुभएको छ। “सेनाहरूका परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा मीठा थोकहरू—छिप्पिएको मद्य, असल असल स्वादिष्ट थोकहरू, एकदमै छिप्पिएको छानेको मद्यको भोज लाउनुहुनेछ।”—यशैया २५:६; ६५:१३, १४.
तर, यस कुराको विचार गर्नुहोस्: भोजमा सरिक भएर पनि हामी भोकै मर्नसक्छौं! जताततै खाना भए तापनि भोक जागेन भने असाध्यै कुपोषित हुने सम्भावना हुन्छ। हितोपदेश २६:१५ ले यसको शाब्दिक वर्णन यसरी गर्छ: “अल्छेले आफ्नो हात थालमा डुबाउँछ, तर मुखसम्म लान पनि त्यसले अल्छी गर्छ।” कस्तो दुःखदायी परिस्थिति! त्यसरी नै हामी पनि परमेश्वरको वचनको व्यक्तिगत अध्ययन र आध्यात्मिक आहार लिन मदत गर्न प्रकाशित गरिएका बाइबल साहित्यहरू पढ्न अल्छी हुनसक्छौं। वा मसीही मण्डलीका सभाहरूको लागि तयारी गर्न वा भाग लिन हामी पनि एकदमै थकित हुनसक्छौं।
खाना खाने असल बानी
अतः, सन्तुलित आध्यात्मिक आहार खाने बानी बसाल्न हामीसित प्रशस्त कारण छन्। तर, वास्तविकता चाहिं के हो भने, कति जना त खाऊँ कि नखाऊँ गरी किचकिच गर्छन् र कोही चाहिं केही नखाई भोकै बस्छन्। पछि गएर जीवनमा कुनै न कुनै रोग नलागेसम्म सन्तुलित भोजनको महत्त्व नै नबुझेका मानिसहरूजस्तै हुनसक्छन्। सन्तुलित खाना खानु जीवनको लागि महत्त्वपूर्ण भए तापनि हेलचक्य्राइँ गर्नुको कारण स्वास्थ्यकर खाना खाने-ले यसरी दिन्छ: “समस्या के हो भने [जथाभावी जे पायो त्यही खाना खाए तापनि] स्वास्थ्यमा तुरुन्तै हानि गर्दैन। जथाभावी बाटो काट्दा जस्तो यसको नतिजा तुरुन्तै देखिंदैन। बरु, शरीरमा बिस्तारै बिगारहरू हुन थाल्छ, सरुवा रोगहरू चाँडै लाग्ने, हड्डी कमजोर हुने, घाउ निको हुन र रोग लागेमा स्वस्थ हुन धेरै समय लाग्ने हुनसक्छ।”
अति नै भएमा आनोरक्सिया नर्भोसाबाट पीडित युवतीहरूजस्तै हुनसक्छौं। त्यस रोगबाट पीडित स्त्रीको शरीर झन् झनै बिग्रंदै गए तापनि त्यस स्त्रीले मलाई अलिकति खाना भए पुग्छ, मलाई केही भएको छैन भन्ठान्छिन्। अन्तमा गएर तिनमा खाना खाने रुचि पटक्कै हुँदैन। औषधीसम्बन्धी पुस्तक “यो एकदमै खतरनाक अवस्था हो” भन्छ। किन? “यस्तो बिरामीहरू भोकको कारण कमै मर्ने गर्छन् तर तिनी असाध्यै कुपोषित हुन्छिन् र सानोतिनो रोगले पनि समातिहाल्छ।”
एक मसीही बहिनीले यसरी स्वीकारिन्: “वर्षौंदेखि मलाई नियमित तवरमा सभाको लागि तयारी गर्नु र व्यक्तिगत अध्ययनको महत्त्वबारे थाह थियो तर मैले कहिल्यै केही पाइला चालिनँ।” आफ्नो हालत कस्तो नराम्रो भएको छ, त्यो बुझेपछि मात्रै तिनले आफ्ना बानीहरू सुधारिन् अनि तिनी परमेश्वरको वचनको असल विद्यार्थी भइन्।
त्यसकारण प्रेरित प्रत्रुसको सल्लाहलाई हृदयंगम गर्नुहोस्। “नयाँ जन्मेका बालकहरूजस्तै” होओ र “छलरहितको आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू मुक्तिको निम्ति बढ़दै जाओ।” (१ पत्रुस २:२) हो, परमेश्वरको ज्ञानले हाम्रो मन अनि हृदय भर्न “तृष्णा” जगाउनुहोस्। आध्यात्मिक तवरमा हुर्किसकेकाहरूले पनि यो तृष्णा जगाइरहनुपर्छ। आध्यात्मिक आहारलाई ‘माल पाएर पनि चाल नपाएको’ जस्तो नगर्नुहोस्। प्रशस्त आध्यात्मिक आहार खानुहोस् र परमेश्वरको वचन बाइबलमा पाइने “पक्का कुराहरू[बाट]” पूर्णतया लाभ उठाउनुहोस्।—२ तिमोथी १:१३, १४.
[पृष्ठ २८-मा भएको चित्र]
तपाईंको भोजनलाई अझ स्वास्थ्यकर बनाउनु परेको छ कि?