प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ११/१५ pp. १५-२०
  • “शरण-नगर[मा]” बस्नुहोस्‌ र बाँच्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “शरण-नगर[मा]” बस्नुहोस्‌ र बाँच्नुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के हामी साँच्चै रक्‍तदोषी छौं?
  • येशूका महत्त्वपूर्ण भूमिकाहरू
  • आजको शरण-नगर
  • शरण-नगरबाट छुटकारा
  • हाम्रो लागि मूल्यवान्‌ पाठहरू
  • शरण-नगरहरू —परमेश्‍वरको दयालु प्रबन्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • के तपाईं यहोवामा शरण लिंदै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “यहोवाको नाममा शरण लिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवामा शरण लिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ११/१५ pp. १५-२०

“शरण-नगर[मा]” बस्नुहोस्‌ र बाँच्नुहोस्‌!

“प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यो शहरभित्र रहनुपर्नेथियो।” —गन्ती ३५:२८.

१. रगतको प्रतिशोधी को हुनुहुन्छ र उहाँले चाँडै कस्तो कदम चाल्नुहुनेछ?

यहोवाद्वारा नियुक्‍त प्रतिशोधी, येशू ख्रीष्टले प्रहार गर्नै लाग्नुभएको छ। आफ्नो स्वर्गदूतीय दलसहित यस प्रतिशोधीले चाँडै अपश्‍चात्तापी रक्‍तदोषीहरूमाथि न्याय गर्नुहुनेछ। हो, सन्‍निकट “महा संकष्ट[को]” दौडान येशूले परमेश्‍वरको न्याय कार्यान्वयनकर्ताको भूमिका निर्वाह गर्नुहुनेछ। (मत्ती २४:२१, २२; यशैया २६:२१) त्यसपछि मानवजातिले रक्‍तदोषका परिणामहरू भोग्नेछन्‌।

२. शरणको एक मात्र साँचो ठाउँ कुन हो र कस्ता प्रश्‍नहरूको जवाफ चाहिन्छ?

२ सुरक्षाको मार्ग, शरणको लागि प्रतिरूपक शहरतर्फ जीवन बचाउन भाग्नु हो! त्यस शहरमा प्रवेश पायो भने त्यो शरणार्थी त्यहीं रहनुपर्थ्यो। किनभने त्यो शरण पाइने एक मात्र साँचो ठाउँ हो। तर तपाईं सोच्नु होला, ‘हामीमध्ये धेरैले कसैको हत्या गरेका छैनौं। अतः हामी कसरी रक्‍तदोषी हुनसक्छौं र? येशू, रगतको प्रतिशोधी किन हुनुहुन्छ? आधुनिक समयको शरण-नगर के हो? के त्यहाँबाट कोही सुरक्षापूर्वक निस्कनसक्छ?’

के हामी साँच्चै रक्‍तदोषी छौं?

३. मोशाको व्यवस्थाको कुन पक्षले हामीलाई पृथ्वीका करोडौं मानिसहरू रक्‍तदोषी छन्‌ भनेर बुझ्न मदत दिनेछ?

३ पृथ्वीका करोडौं मानिसहरू रक्‍तदोषी छन्‌ भनेर बुझ्न मोशाको व्यवस्थाको एक पक्षले मदत दिनेछ। परमेश्‍वरले इस्राएलीहरूलाई रक्‍तपातको सामूहिक दोषी ठहराउनुभयो। यदि कसैको हत्या भएको पाइयो र तिनको हत्यारा पत्ता लागेन भने न्यायकर्ताहरूले वरपरका शहरहरूसम्मको दूरी नापेर सबैभन्दा नजीकको शहर पत्ता लगाउनुपर्थ्यो। त्यस रक्‍तदोषीलाई दोषमुक्‍त पार्न शहरका बूढा-प्रधानहरूले काममा नलगाएकी कोरलीलाई नजोतिएको र बिउ नछरेको पाखाको कुनै खोलानेर त्यसको घाँटी भाँचिदिनुपर्थ्यो। यो लेवी पूजाहारीहरूसमक्ष गरिन्थ्यो जसलाई ‘हरेक झै-झगडा मिलाइदिने कामको लागि यहोवाले तिनीहरूलाई छान्‍नुभएको थियो।’ शहरका बूढा-प्रधानहरूले कोरलीमाथि आफ्नो हात धोएर यसो भन्थे: “यो हत्या हाम्रो हातले गरेको होइन, औ हाम्रा आँखाले पनि देखेको होइन। यसैकारण हे परमप्रभु, तपाईंले उद्धार गर्नुभएका तपाईंको प्रजा इस्राएललाई क्षमा गर्नुहोस्‌, र आफ्नो प्रजा इस्राएलमाथि यो निर्दोषको हत्याको दोष नलागोस्‌।” (व्यवस्था २१:१-९) इस्राएलको भूमि रगतले दूषित वा त्यहाँका मानिसहरू सामूहिक तवरमा रक्‍तदोषी भएको यहोवा परमेश्‍वर चाहनुहुन्‍न थियो।

४. महान्‌ बेबिलोनको रक्‍तदोषको कस्तो इतिहास छ?

४ हो, सामूहिक रक्‍तदोष भन्‍ने कुरा पनि हुन्छ। झूटो धर्मको विश्‍वसाम्राज्य, महान्‌ बेबिलोनमाथि थोपरेको अचाक्ली रक्‍तदोषलाई विचार गर्नुहोस्‌। तिनी यहोवाका सेवकहरूको रगतले मात्तिएकी छिन्‌! (प्रकाश १७:५, ६; १८:२४) मसीहीजगतका धर्महरूले शान्तिको राजकुमारलाई पछ्याउने दाबी त गर्छन्‌ तर तिनीहरू युद्ध, धार्मिक इन्क्वीजीशन, धर्मको नाउँमा गरिने युद्धहरूले गर्दा परमेश्‍वरसमक्ष रक्‍तदोषी भएका छन्‌। (यशैया ९:६; यर्मिया २:३४) वास्तवमा भन्‍ने हो भने, त्यो यस शताब्दीका दुइ विश्‍वयुद्धहरूमा करोडौं मानिसहरूको मृत्युको रक्‍तदोषी छ। तसर्थ, मानव युद्धहरूमा भाग लिने झूटो धर्मका अनुयायीहरूलगायत त्यसका समर्थक तथा सहभागीहरू परमेश्‍वरसमक्ष रक्‍तदोषी छन्‌।

५. केही मानिसहरू इस्राएलका अनजानमा हत्या गर्ने हत्याराजस्तै कसरी भएका छन्‌?

५ केही मानिसहरूले जानाजानी वा लापरवाहीको कारण मानव हत्या गरेका छन्‌। अरूले भने सामूहिक हत्यामा भाग लिएका छन्‌। शायद यसो गर्नु परमेश्‍वरकै इच्छा हो भनेर धार्मिक नेताहरूले तिनीहरूलाई विश्‍वस्त गराएको हुनसक्छ। अरूले परमेश्‍वरका सेवकहरूलाई सताएका वा मारेका छन्‌। हामीले त्यस्ता कार्यहरू गरेका छैनौं भने पनि त्यस मानव मृत्युको लागि हामी सामूहिक तवरमा जिम्मेवार छौं किनभने हामीलाई परमेश्‍वरको व्यवस्था र उहाँको इच्छा थाह थिएन। हामी अनजानमा हत्या गर्ने हत्याराजस्तै हौं ‘जसले दुश्‍मनी नभई कसैलाई मारिहाल्यो।’ (व्यवस्था १९:४) त्यस्ता व्यक्‍तिहरूले परमेश्‍वरको दया खोजेर शरणको प्रतिरूपक शहरमा भाग्नुपर्ने हो। नत्रभने रगतको प्रतिशोधीसित तिनीहरूको घातक मुठभेड हुनेछ।

येशूका महत्त्वपूर्ण भूमिकाहरू

६. येशूलाई किन मानवजातिको निकटतम नातेदार भन्‍न सकिन्छ?

६ इस्राएलमा रगतको प्रतिशोधी मृतकको निकटम नातेदार हुन्थ्यो। पृथ्वीमा मारिएकाहरू सबै र विशेषगरि यहोवाका सेवकहरूको रगतको बदला लिन वर्तमान समयको प्रतिशोधी सारा मानवजातिको नातेदार हुनुपऱ्‍यो। त्यो भूमिका येशू ख्रीष्टले पूरा गर्नुभएको छ। उहाँ सिद्ध मानवको रूपमा जन्मिनुभयो। येशूले छुडौतीको बलिदानस्वरूप आफ्नो निष्पाप जीवन बलिदान चढाउनुभयो र पापी आदमका मरणशील सन्तानहरूको खातिर पुनरुत्थानपश्‍चात्‌ स्वर्गमा परमेश्‍वरलाई त्यसको मोल तिर्नुभयो। यसप्रकार ख्रीष्ट, मानवजातिलाई छुटकारा दिने व्यक्‍ति हुनुभयो। उहाँ हाम्रो निकटम नातेदार अर्थात्‌ रगतको आधिकारिक प्रतिशोधी हुनुहुन्छ। (रोमी ५:१२; ६:२३; हिब्रू १०:१२) येशूलाई आफ्ना अभिषिक्‍त अनुयायीहरूको भाइ भनेर चिनाइन्छ। (मत्ती २५:४०, ४५; हिब्रू २:११-१७) उहाँको बलिदानको उपयोग गर्नेहरूका लागि उहाँ स्वर्गीय राजाको हैसियतमा “सनातनका पिता” हुनुहुन्छ। तिनीहरू पार्थिव प्रजाहरूको हैसियतमा सधैंभरि बाँच्नेछन्‌। (यशैया ९:६, ७) अतः रगतको प्रति- शोधीको हैसियतमा यहोवाले मानवजातिको निकटतम नातेदारलाई सही नियुक्‍ति गर्नुभएको छ।

७. प्रधानपूजाहारीको हैसियतमा येशूले मानिसहरूको निम्ति के गर्नुहुन्छ?

७ येशू निष्पाप, परीक्षित, सहानुभूतिशील प्रधानपूजाहारी पनि हुनुहुन्छ। (हिब्रू ४:१५) यसैको आधारमा उहाँले मानवजातिको लागि पापको प्रायश्‍चितरूपी बलिदान प्रयोग गर्नुहुन्छ। शरण-नगरहरू “इस्राएलीहरू, परदेशीहरू र तिनीहरूका बीचमा प्रवास गर्नेहरूका निम्ति” स्थापना गरिएका थिए। (गन्ती ३५:१५) अतः प्रधानपूजाहारीले सर्वप्रथम आफ्नो बलिदानको उपयोग आफ्ना अभिषिक्‍त अनुयायीहरू अर्थात्‌ “इस्राएलीहरू[माथि]” लागू गर्नुभयो। अहिले यो प्रबन्ध प्रतिरूपक शरण-नगरका “परदेशीहरू र तिनीहरूका बीचमा प्रवास गर्नेहरूका निम्ति” लागू गरिंदैछ। येशू ख्रीष्टका यी “अरू भेड़ा[ले]” पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्छन्‌।—यूहन्‍ना १०:१६; भजन ३७:२९, ३४.

आजको शरण-नगर

८. प्रतिरूपक शरण-नगर के हो?

८ आज प्रतिरूपक शरण-नगर के हो? यो लेवी शरण-नगरहरू र इस्राएलको प्रधानपूजाहारीको घर, हेब्रोनजस्तो कुनै भौगोलिक स्थान होइन। रगतको पवित्रतासम्बन्धी उहाँको आज्ञा भंग गरेकोले मृत्युबाट जोगिनको लागि परमेश्‍वरको प्रबन्ध नै आजको शरण-नगर हो। (उत्पत्ति ९:६) जानाजानी वा अनजानमा होस्‌, उहाँको त्यो आज्ञा भंग गर्ने हरेक व्यक्‍तिले परमेश्‍वरसित क्षमा माग्नुपर्छ र प्रधानपूजाहारी, येशू ख्रीष्टको रगतमाथि विश्‍वासको आधारमा पापबाट छुटकारा खोज्नुपर्छ। स्वर्गीय आशा भएका अभिषिक्‍त मसीहीहरू र पार्थिव आशा भएको “ठूलो भीड़[ले]” पाप प्रायश्‍चितको लागि येशूको बलिदानबाट लाभ उठाएकोले तिनीहरू प्रतिरूपक शरण-नगरमा छन्‌।—प्रकाश ७:९, १४; १ यूहन्‍ना १:७; २:१, २.

९. टार्ससको शावलले रगतसम्बन्धी परमेश्‍वरको आज्ञा कसरी भंग गरे तर तिनले कसरी परिवर्तित मनोवृत्ति देखाए?

९ प्रेरित पावल मसीही हुनुअघि तिनले रगतसम्बन्धी आज्ञा भंग गरेका थिए। टार्ससको शावलको हैसियतमा तिनले येशूका अनुयायीहरूलाई सताए र तिनीहरूको हत्या गर्ने अनुमतिसमेत दिए। पावलले यसो भने, “तापनि मैले यो अनजान र अविश्‍वासमा गरेको हुनाले म कृपा-पात्र भएँ।” (१ तिमोथी १:१३; प्रेरित ९:१-१९) शावलको पश्‍चात्तापी मनोवृत्ति थियो र त्यसलाई पछि तिनले विश्‍वासका कार्यहरूद्वारा प्रमाणित गरे। तर प्रतिरूपक शरण-नगरमा प्रवेश गर्न छुडौतीको बलिदानमा विश्‍वास गरेर मात्र पर्याप्त हुँदैन।

१०. असल अन्तस्करण प्राप्त गर्नु कसरी सम्भव छ र त्यो कायम राख्न के गर्नुपर्छ?

१० अनजानमा हत्या गर्ने हत्याराले रक्‍तपातको सन्दर्भमा परमेश्‍वरसमक्ष असल अन्तस्करण भएको प्रमाणित गर्न सके मात्र इस्राएलका शरण-नगरहरूमा बस्नसक्थे। असल अन्तस्करण पाउन हामीले येशूको बलिदानमा विश्‍वास राख्नुपर्छ, पश्‍चात्ताप गर्नुपर्छ र आफ्नो मार्ग परिवर्तन गर्नुपर्छ। प्रार्थनामा ख्रीष्टद्वारा परमेश्‍वरलाई समर्पण अनि त्यसलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिएर हामीले असल अन्तस्करणको निवेदन गर्नु खाँचो छ। (१ पत्रुस ३:२०, २१) यस असल अन्तस्करणले हामीलाई यहोवासित स्वच्छ सम्बन्ध राख्न मदत दिन्छ। असल अन्तस्करण कायम गर्ने एक मात्र तरिका परमेश्‍वरका आवश्‍यकताहरूअनुरूप गर्नु र प्रतिरूपक शरण-नगरमा हामीलाई अह्राइएको काम पूरा गर्नु हो। पुरातन शरण-नगरका शरणार्थीहरूले समेत व्यवस्था पालन गर्नुपर्थ्यो र आफूलाई सुम्पिएको कार्य पूरा गर्नुपर्थ्यो। आज यहोवाका जनहरूको प्रमुख कार्य, राज्यको समाचार घोषणा गर्नु हो। (मत्ती २४:१४; २८:१९, २०) त्यो कार्य गर्दा हामी आधुनिक समयको शरण-नगरको उपयोगी बासिन्दा हुन मदत पाउनेछौं।

११. आजको शरण-नगरमा सुरक्षापूर्वक रहन हामी के गर्नदेखि अलग बस्नुपर्छ?

११ आजको शरण-नगर छोड्‌नु भनेको विनाशसित मुखामुख हुनु हो। किनभने रगतको प्रतिशोधीले चाँडै सबै रक्‍तदोषीहरूमाथि न्याय गर्नुहुनेछ। यस सुरक्षात्मक शहरबाहिर वा यसको सिमानाको खतरनाक क्षेत्रमा डुली हिंड्‌ने समय होइन। हामीले प्रधानपूजाहारीले गर्नुभएको पाप प्रायश्‍चितको बलिदानमा विश्‍वास गुमायौं भने हामी प्रतिरूपक शरण-नगरबाहिर हुनेछौं। (हिब्रू २:१; ६:४-६) हामीले सांसारिक तौरतरिकाहरू अपनायौं, यहोवाको संगठनसित घनिष्ठ भएनौं वा स्वर्गमा हुनुहुने पिताको धार्मिक स्तरहरूबाट तर्कियौं भने पनि हामी सुरक्षित हुनेछैनौं।—१ कोरिन्थी ४:४.

शरण-नगरबाट छुटकारा

१२. पहिलेका रक्‍तदोषीहरू प्रतिरूपक शरण-नगरमा कतिञ्जेल बस्नुपर्छ?

१२ इस्राएलमा अनजानमा हत्या गर्ने हत्यारा “प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल” शरण-नगरमा बस्नुपर्थ्यो। (गन्ती ३५:२८) अतः पहिलेका रक्‍तदोषीहरू प्रतिरूपक शरण-नगरमा कतिञ्जेल बस्नुपर्छ? जबसम्म तिनीहरूलाई प्रधानपूजाहारी, येशू ख्रीष्टका सेवाहरू चाहिन्छ। पावलले यसो भने: “उहाँद्वारा परमेश्‍वरको नजीक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्नसक्नुहुन्छ।” (हिब्रू ७:२५) जबसम्म पापको कुनै कलंक र पहिलेको रक्‍तदोष रहन्छ, प्रधानपूजाहारीका सेवाहरू चाहिन्छ जसद्वारा असिद्ध मानवहरू परमेश्‍वरसमक्ष धर्मी हुनसक्छन्‌।

१३. वर्तमान समयका “इस्राएलीहरू” को हुन्‌ र तिनीहरू कतिञ्जेल “शरण-नगर[मा]” बस्नुपर्छ?

१३ नबिर्सनुहोस्‌, पुरातन शरण-नगरहरू “इस्राएलीहरू,” परदेशीहरू र प्रवासीहरूको निम्ति बनाइएका थिए। “इस्राएलीहरू” आत्मिक इस्राएलीहरू हुन्‌। (गलाती ६:१६) तिनीहरू पृथ्वीमा बाँचूञ्जेल त्यस प्रतिरूपक शरण-नगरमा बस्नुपर्छ। किन? किनभने तिनीहरू अझै असिद्ध छन्‌ र स्वर्गीय प्रधानपूजाहारीको प्रायश्‍चितको मोल चाहिन्छ। तर जब यी अभिषिक्‍त मसीहीहरू मर्छन्‌ र स्वर्गीय जीवनको लागि आत्मामा बिउँताइन्छन्‌, तब तिनीहरूलाई प्रधानपूजाहारीको प्रायश्‍चितको मोल चाहिंदैन। त्यसपर्यन्त तिनीहरूले सधैंको लागि देह त्याग गरेर रक्‍तदोषबाट मुक्‍त हुनेछन्‌। यी पुनरुत्थान भएका अभिषिक्‍त जनहरूको प्रायश्‍चित र सुरक्षाको लागि प्रधानपूजाहारी मर्नुभएको हुनेछ।

१४. स्वर्गीय प्रत्याशा भएका जनहरू अहिले शरण-नगरमा बस्न आवश्‍यक हुनुको अर्को कारण के हो?

१४ “ख्रीष्टसित साझे-हकवाला” हुनेहरूको मानव स्वभावले गर्दा नै तिनीहरू नमरूञ्जेल त्यस प्रतिरूपक शरण-नगरमा विश्‍वासीपूर्वक बस्छन्‌। तिनीहरूले मरेपछि सदाको लागि आफ्नो मानव जीवन बलिदान गर्नेछन्‌। (रोमी ८:१७; प्रकाश २:१०) येशूको बलिदान मानवहरूमाथि मात्र लागू हुन्छ। यसर्थ, स्वर्गमा अनन्तसम्म बस्न “ईश्‍वरीय स्वभावको सम्भागी” हुन यिनीहरू आत्मिक प्राणीको रूपमा पुनरुत्थान भएपछि प्रधानपूजाहारी आत्मिक इस्राएलको लागि मर्नुहुन्छ।—२ पत्रुस १:४.

१५. आधुनिक समयका ‘परदेशीहरू’ तथा ‘प्रवासीहरू’ को हुन्‌ र प्रधानपूजाहारीले तिनीहरूको लागि के गर्नुहुनेछ?

१५ आधुनिक समयका ‘परदेशीहरू’ र ‘प्रवासीहरूले’ प्रतिरूपक शरण-नगर छोड्‌न सक्षम हुन प्रधानपूजाहारी कहिले “मर्नुहुनेछ?” ठूलो भीडका यी सदस्यहरू महासंकष्टको तुरुन्तैपश्‍चात्‌ शरण-नगरबाट निस्कन सक्दैनन्‌। किन? किनभने तिनीहरू अझै पनि असिद्ध, पापी हुनेछन्‌ र प्रधानपूजाहारीको सुरक्षा चाहिनेछ। उहाँको हजार वर्षीय शासनको दौडान उहाँले प्रबन्ध गर्नुभएको प्रायश्‍चितसम्बन्धी सेवा र पौरोहित्यको उपयोग गरेर तिनीहरूले मानव सिद्धता प्राप्त गर्नेछन्‌। त्यसपछि येशूले तिनीहरू परमेश्‍वरलाई सुम्पनुहुनेछ र अलिक समयको लागि छोडिएको शैतान तथा त्यसका दूतहरूद्वारा निष्ठाको अन्तिम तथा निर्णायक जाँच हुनेछ। तिनीहरू यो जाँचमा ईश्‍वरीय अनुमोदनका साथ उत्तीर्ण भएको हुँदा यहोवाले तिनीहरूलाई पार्थिव प्रमोदवनमा अनन्त जीवन प्रदान गर्नुहुनेछ।—१ कोरिन्थी १५:२८; प्रकाश २०:७-१०.a

१६. महासंकष्टबाट बच्नेहरूलाई कुन बेला प्रधानपूजाहारीको प्रायश्‍चितका सेवाहरू आवश्‍यक पर्नेछैन?

१६ अतः, महासंकष्टबाट बच्नेहरूले ख्रीष्टको हजार वर्षीय राज्य शासनको अन्तसम्म त्यस प्रतिरूपक शरण-नगरमा बसेर असल अन्तस्करण कायम गर्नुपर्नेछ। तब सिद्ध मानवहरूको हैसियतमा तिनीहरूलाई त्यस उप्रान्त प्रधानपूजाहारीको प्रायश्‍चितको मोल र उहाँको सुरक्षा खाँचो पर्नेछैन। त्यसपछि प्रधानपूजाहारीको हैसियतमा येशू तिनीहरूको लागि मर्नुहुनेछ किनभने उहाँको बलिदानको रगतले शुद्धीकरण गर्नु पर्नेछैन। त्यतिबेला तिनीहरूले प्रतिरूपक शरण-नगर छोड्‌नेछन्‌।

१७. ख्रीष्टको हजार वर्षीय शासनको दौडान पुनरुत्थान हुनेहरू किन प्रतिरूपक शरण-नगरमा प्रवेश गरेर त्यहीं बस्नु पर्नेछैन?

१७ येशूको हजार वर्षीय शासनको दौडान पुनरुत्थान हुनेहरू पनि के प्रतिरूपक शरण-नगरमा प्रवेश गरेर प्रधानपूजाहारीको मृत्यु नहोऊञ्जेल त्यहाँ बस्नुपर्छ? पर्दैन किनभने मृत्युमा तिनीहरूले आफ्नो पापको ज्याला तिरिसके। (रोमी ६:७; हिब्रू ९:२७) तापनि प्रधानपूजाहारीले तिनीहरूलाई सिद्धता प्राप्त गर्न मदत गर्नुहुनेछ। सहस्र वर्षीय राज्यपछि तिनीहरू जाँचमा सफल भएमा परमेश्‍वरले तिनीहरूलाई पनि धर्मी घोषित गर्नुको साथै पृथ्वीमा अनन्त जीवनको ग्यारेन्टी दिनुहुनेछ। निस्सन्देह, परमेश्‍वरका आवश्‍यकताहरू पूरा गर्न असफल हुँदा प्रतिकूल न्याय भोग्नुपर्नेछ र निष्ठापालकहरूको हैसियतमा त्यस अन्तिम जाँचमा असफल हुने जो सुकै मानिसमाथि विनाश आइपर्नेछ।

१८. येशूको राजत्व र पौरोहित्यको सन्दर्भमा मानवजातिको निम्ति सधैंभरि कुन कुरा रहिरहनेछ?

१८ इस्राएली प्रधानपूजाहारीहरू अन्ततः मरे। तर येशू “सदाको निम्ति मल्कीसदेकको दर्जाअनुसारको प्रधान पूजाहारी” हुनुभएको छ। (हिब्रू ६:१९, २०; ७:३) अतः मध्यस्थकर्ताको हैसियतमा प्रधानपूजाहारीको भूमिका अन्त हुनुको अर्थ येशूको जीवनकै अन्त होइन। राजा तथा प्रधानपूजाहारीको हैसियतमा उहाँको सेवा मानवजातिको निम्ति सधैंको लागि रहिरहनेछ र यी सेवाहरूका लागि मानिसहरू सदासर्वदै उहाँप्रति ऋणी हुनेछन्‌। यसबाहेक, येशूले यहोवाको शुद्ध उपासना गर्न अनन्तसम्म अग्रभूमिका निर्वाह गर्नुहुनेछ।—फिलिप्पी २:५-११.

हाम्रो लागि मूल्यवान्‌ पाठहरू

१९. शरण-नगरहरूको प्रबन्धबाट प्रेम र घृणासम्बन्धी कस्तो पाठ सिक्न सकिन्छ?

१९ हामीले शरण-नगरहरूको प्रबन्धबाट थुप्रै पाठहरू सिक्नसक्छौं। उदाहरणको लागि, हिंसात्मक घृणा राखेर कसैको हत्या गर्ने हत्यारा शरण-नगरमा बस्न पाउँदैनथ्यो। (गन्ती ३५:२०, २१) अतः प्रतिरूपक शरण-नगरको कुनै पनि निवासीले आफ्नो भाइप्रति घृणा जगाउने कुरै उठ्‌दैनथियो। प्रेरित यूहन्‍नाले यसप्रकार लेखे: “आफ्नो भाइसँग दुश्‍मनी गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारामा अनन्त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ।” त्यसैकारण हामी सबै “एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाटको हो।”—१ यूहन्‍ना ३:१५; ४:७.

२०. रगतको प्रतिशोधीबाट बच्न प्रतिरूपक शरण-नगरमा बस्नेहरूले के गर्नुपर्छ?

२० अनजानमा हत्या गर्ने हत्यारा रगतको प्रतिशोधीबाट बच्न शरण-नगरभित्र बस्नुपर्थ्यो र त्यसको सीमाबाहिर डुल्नु हुँदैनथियो। आजको प्रतिरूपक शरण-नगरका निवासीहरू नि? रगतको महाप्रतिशोधीबाट बच्न तिनीहरूले शहर छाड्‌नै हुँदैन। निस्सन्देह, सीमाको छेऊछाउमा डुल्ने प्रलोभनहरूबाट तिनीहरू जोगिनुपर्छ। आफ्नो हृदयमा शैतानको संसारप्रति प्रेमलाई बढ्‌न नदिन तिनीहरू होशियार हुनुपर्छ। यसो गर्न प्रार्थना र प्रयासको खाँचो पर्नसक्छ तर यसैमा तिनीहरूको जीवन निर्भर छ।—१ यूहन्‍ना २:१५-१७; ५:१९.

२१. आज शरण-नगरमा बस्नेहरूले कस्तो इनामदायी काम गरिरहेका छन्‌?

२१ अनजानमा हत्या गर्ने हत्याराहरू पुरातन शरण-नगरहरूका उत्पादनशील कामदारहरू हुनुपर्थ्यो। त्यस्तैगरि, अभिषिक्‍त “इस्राएलीहरू[ले]” फसलका कामदार र राज्य उद्‌घोषकहरूको हैसियतमा राम्रो उदाहरण बसालेका छन्‌। (मत्ती ९:३७, ३८; मर्कूस १३:१०) आजको शरण-नगरका ‘परदेशी’ र ‘प्रवासीहरूको’ हैसियतमा पार्थिव आशा भएका मसीहीहरूले पृथ्वीमा अझै बाँकी शेष अभिषिक्‍त जनहरूसित यस जीवनदायी कार्यमा भाग लिने सुअवसर पाएका छन्‌। अनि यो साँच्चै इनामदायी कार्य हो! प्रतिरूपक शरण-नगरमा विश्‍वासीपूर्वक काम गर्नेहरूले रगतको प्रतिशोधीको हातबाट अनन्त मृत्यु भोग्नेछैन। बरु, तिनीहरूले परमेश्‍वरको महान्‌ प्रधानपूजाहारीको सेवाबाट अनन्त लाभहरू उठाउनेछन्‌। के तपाईं त्यस शरण-नगरमा रहेर सधैंभरि बाँच्नुहुनेछ?

[फुटनोटहरू]

a डिसेम्बर १५, १९९१, द वाचटावर-को पृष्ठ १२, अनुच्छेद १५, १६ हेर्नुहोस्‌।

तपाईंले कसरी जवाफ दिनुहुनेछ?

◻ पृथ्वीका करोडौं मानिसहरूलाई किन रक्‍तदोषी भन्‍न सकिन्छ?

◻ येशू ख्रीष्टले मानवजातिको लागि कुन कुन भूमिका निर्वाह गर्नुहुन्छ?

◻ प्रतिरूपक शरण-नगर के हो र त्यसमा कसरी प्रवेश गर्न सकिन्छ?

◻ प्रतिरूपक शरण-नगरबाट मानिसहरू कहिले मुक्‍त हुनेछन्‌?

◻ शरण-नगरहरूको प्रबन्धबाट हामी कस्ता मूल्यवान्‌ पाठहरू सिक्नसक्छौं?

[पृष्ठ १६-मा भएको चित्र]

येशू ख्रीष्टले निर्वाह गर्नुहुने महत्त्वपूर्ण भूमिकाहरू के तपाईंलाई थाह छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने