प्रेम र सुकर्ममा उत्तेजित गराउनुहोस्—कसरी?
“प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। . . . दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन् बढ्ता गरेर अर्ती [प्रोत्साहन, न्युव] दिंदै गरौं।”—हिब्रू १०:२४, २५.
१, २. (क) प्रथम शताब्दीका मसीहीहरूले एकसाथ भेला भएर सान्त्वना र प्रोत्साहन प्राप्त गर्नु किन महत्त्वपूर्ण थियो? (ख) पावलको कुन चाहिं सल्लाहले एकसाथ भेला हुने आवश्यकता उल्लेख गऱ्यो?
चारैतिर ढोका ढ्याम्मढुम्म बन्द गरेर लुकीछिपी तिनीहरू एकसाथ भेला भएका थिए। बाहिर चारैतिर खतरा मडारिरहेको थियो। तिनीहरूका नेता, येशूलाई भर्खर मात्र सारा जनसमक्ष प्राणदण्ड दिइएको थियो र आफ्ना अनुयायीहरूको पनि त्यस्तै हविगत हुनेछ भनेर उहाँले चेताउनी दिनुभएको थियो। (यूहन्ना १५:२०; २०:१९) तर आफ्नो प्रिय येशूको विषयमा खासखुस गर्दा सबै जना सँगै भएकोले तिनीहरूले सुरक्षित महसुस गरे होलान्।
२ समय बित्दै जाँदा मसीहीहरूले हर प्रकारका परीक्षा र सतावटहरू सहे। ती प्रथम चेलाहरूले जस्तै तिनीहरूले पनि एकसाथ भेला भएर सान्त्वना र प्रोत्साहन प्राप्त गरे। त्यसैकारण प्रेरित पावलले हिब्रू १०:२४, २५ मा यो लेखे: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछाडौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन् बढ़ता गरेर अर्ती [प्रोत्साहन, न्युव] दिंदै गरौं।”
३. हिब्रू १०:२४, २५ मसीहीहरूलाई एकसाथ भेला हुन दिइएको आज्ञा मात्र थिएन भनेर तपाईं किन भन्नुहुन्छ?
३ ती शब्दहरू एकसाथ भेला हुन नछाड्न दिइएको आज्ञा मात्र होइनन्। हाम्रा सबै मसीही सभाहरू र अझ भन्ने हो भने आपसी संगतिको आनन्द उठाउन मसीहीहरू भेला हुने जुनसुकै अवसरहरूका लागि ती शब्दहरूले ईश्वरप्रेरित स्तर प्रदान गर्छ। यहोवाको दिन नजीक आइरहेको आज हामीले झन् झन् स्पष्टसँग देखिरहेका छौं। त्यसमाथि यस दुष्ट रीतिरिवाजका दबाब अनि खतराहरू पनि बढिरहेका छन्। अतः हाम्रा सभाहरू सुरक्षित आश्रयस्थल र सबैका निम्ति बल र प्रोत्साहनको स्रोत हुनु आवश्यक छ। हामी कसरी यो कुरा निश्चित गर्नसक्छौं? त्यसोभए आउनुहोस्, यी तीन प्रश्नहरूद्वारा हामी पावलका शब्दहरूलाई राम्ररी केलाएर हेरौं: “एउटाले अर्कोको विचार राख्ने गरौं” भनेको के हो? ‘एउटाले अर्कोलाई प्रेम र सुकर्ममा उत्तेजित’ गराउनुको अर्थ के हो? अन्तिम प्रश्न, यी कठिन समयहरूमा हामी कसरी ‘एउटाले अर्कोलाई प्रोत्साहन’ दिनसक्छौं?
“एउटाले अर्कोको विचार राख्ने गरौं”
४. ‘एउटाले अर्कोको विचार राख्नु’ को अर्थ के हो?
४ “एउटाले अर्कोको विचार राख्ने गरौं” भनी पावलले मसीहीहरूलाई आग्रह गर्दा युनानी क्रिया कातानो चलाएका थिए, जुन शब्द “देख्नु” भन्ने सामान्य शब्दको विस्तृत रूप हो। द थियोलोजिकल डिक्सनरी अफ द न्यु टेस्टामेन्ट-अनुसार (नयाँ नियमको धर्मविज्ञानी शब्दकोश) त्यसको अर्थ “कुनै वस्तुमाथि आफ्नो पूरै मन केन्द्रित गर्नु हो।” तर डब्ल्यू. इ. भाइनअनुसार त्यसको अर्थ “पूर्णतया बुझ्नु, राम्ररी विचार गर्नु” पनि हुनसक्छ। अतः “एउटाले अर्कोको विचार राख्ने” गर्दा मसीहीहरूले सतही तवरमा मात्र नभई आफ्नो सम्पूर्ण मानसिक क्षमता प्रयोग गरेर भित्रसम्मै बुझ्ने कोसिस गर्छन्।—हिब्रू ३:१ तुलना गर्नुहोस्।
५. कुनै व्यक्तिको कुन कुन पक्षहरू सजिलै देख्न सकिंदैन र यसलाई हामीले किन विचार गर्नुपर्छ?
५ कसैको रूप, काम वा व्यक्तित्वलाई सतही तवरमा हेर्दैमा तिनको वास्तविकता थाह हुँदैन भनेर नभुल्नुहोस्। (१ शमूएल १६:७) सौम्य मुहारपछाडि प्रायः गहिरा अनुभूतिहरू अथवा रमाइलो हाँस्य मिजास लुकेको हुन्छ। त्यसमाथि मानिसहरूको भिन्दा भिन्दै पृष्ठभूमि हुन्छ। कसै कसैले आफ्नो जीवनमा साह्रै तीता अनुभवहरू भोग्नु परेको हुनसक्छ; अरूले भने हामीले कल्पनासमेत गर्न नसक्ने परिस्थितिहरू अहिलै नै भोगिरहेका छन्। हाम्रा भाइ-बहिनीहरूको कुनै व्यवहारले गर्दा चिढिरहेको बेला उनीहरूको पृष्ठभूमि वा परिस्थितिबारे अझ राम्ररी बुझ्दा कति चोटि त हाम्रो रिस नै मरेको छ।—हितोपदेश १९:११.
६. एकअर्कालाई राम्ररी चिन्ने केही तरिकाहरू के के हुन् र यसका कस्ता राम्रा नतिजाहरू हुनसक्छन्?
६ तर त्यसो भन्दैमा अनुमतिबिना अरूको व्यक्तिगत मामिलामा चियोचासो गर्नुपर्छ भनेको अवश्य होइन। (१ थिस्सलोनिकी ४:११) तथापि, हामीले एकअर्काप्रति व्यक्तिगत चासो भने अवश्य देखाउनसक्छौं। त्यसका लागि राज्य भवनहरूमा अभिवादन गरेर मात्र पुग्दैन। आफूलाई कोसँग राम्ररी परिचित हुन मन परेको छ, त्यसलाई छुटाएर सभाअगाडि वा पछाडि केही मिनेट कुरा गरे कसो होला? अझ एक दुइ जना मित्रहरूलाई हल्का जलपानका लागि घरमा बोलाएर “अतिथि-सत्कार” कायम गरे झनै बेस। (रोमी १२:१३) चासो देखाउनुहोस्। सुन्नुहोस्। कसरी यहोवालाई चिन्न र प्रेम गर्न पुगे भनेर सोद्धा मात्र पनि अरूबारे धेरै जान्न सकिन्छ। यद्यपि, घर-घरको सेवकाईमा सँगै काम गर्नुभयो भने तपाईंले त्योभन्दा धेरै कुरा जान्नुहुन्छ। यसप्रकार एकअर्काको विचार गर्दा त्यसले हामीलाई साँचो भ्रातृ प्रेम वा समानुभूति बढाउन मदत गर्नेछ।—फिलिप्पी २:४; १ पत्रुस ३:८.
‘एउटाले अर्कोलाई उत्तेजित गरौं’
७. (क) येशूको शिक्षाले मानिसहरूमाथि कस्तो असर पाऱ्यो? (ख) कुन कुराले उहाँको शिक्षालाई साह्रै प्रभावशाली बनायो?
७ जब हामी एकअर्काको विचार गर्छौं, तब असल काम गर्न एकअर्कालाई उत्तेजित गराउन वा आग्रह गर्न राम्ररी तयार हुन्छौं। यस सम्बन्धमा विशेषगरि मसीही प्राचीनहरूले ठूलो भूमिका खेल्छन्। येशूले जनसमक्ष बोल्दै हिंड्नु भएको समयबारे हामी यस्तो लेखिएको पाउँछौं: “भीड़ उहाँका शिक्षाले छक्क परे।” (मत्ती ७:२८) अर्को घटनामा उहाँलाई गिरफ्तार गर्न पठाइएका केही सिपाहीहरू यसो भन्दै खाली हात फर्के: “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन।” (यूहन्ना ७:४६) कुन कुराले येशूको शिक्षालाई प्रभावशाली बनायो? उहाँले आफूलाई साह्रै भावुक देखाउनु भएकोले हो? होइन; येशू गरिमासाथ बोल्नुहुन्थ्यो। यद्यपि, उहाँले सधैं आफ्ना स्रोताहरूको हृदयसम्म पुग्ने कोसिस गर्नुहुन्थ्यो। उहाँले मानिसहरूको विचार गर्नुहुन्थ्यो, त्यसैकारण तिनीहरूलाई कसरी उत्प्रेरित गर्ने भनेर उहाँलाई थाह थियो। दैनिक जीवनका वास्तविकताहरू झल्काउने ज्वलन्त तर साधारण उदाहरणहरू उहाँले चलाउनुहुन्थ्यो। (मत्ती १३:३४) त्यस्तैगरि हाम्रा सभाहरूमा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी पाउनेहरूले अरूलाई उत्प्रेरित गराउने न्यानो, उत्साही प्रस्तुतिहरू चलाएर येशूको उदाहरण अनुकरण गर्नुपर्छ। येशूले जस्तै हामीले पनि हाम्रा स्रोताहरूलाई सुहाउने र तिनीहरूको हृदयमा पुग्न सक्ने उदाहरणहरू खोज्नसक्छौं।
८. येशूले कसरी उदाहरणद्वारा उत्तेजित गर्नुभयो र यस सम्बन्धमा हामीले उहाँको अनुकरण कसरी गर्नसक्छौं?
८ परमेश्वरको सेवामा हामी सबैले एकअर्कालाई उदाहरणद्वारा उत्तेजित गर्नसक्छौं। येशूले आफ्ना स्रोताहरूलाई अवश्य उत्तेजित गर्नुभयो। उहाँले मसीही सेवकाईलाई प्रेम गर्नुहुन्थ्यो र त्यसलाई उच्च पार्नुभयो। उहाँको निम्ति त्यो भोजनसरह छ भनेर उहाँले भन्नुभयो। (यूहन्ना ४:३४; रोमी ११:१३) यस्तो उत्साह संक्रामक हुनसक्छ। आफ्नो सेवकाईबाट पाएको आनन्दलाई के तपाईं पनि त्यस्तैगरि देखाउन सक्नुहुन्छ? घमण्डी भाव नझल्किनेगरि होशियारीपूर्वक मण्डलीका अन्य व्यक्तिहरूसँग आफ्ना राम्रा अनुभवहरू बाँड्नुहोस्। आफूसँग काम गर्न अरूलाई निमन्त्रणा दिनुहुँदा हाम्रो महान् सृष्टिकर्ता, यहोवाबारे अरूसँग कुरा गरेर साँचो आनन्द प्राप्त गर्न तिनलाई मदत दिन सकिन्छ कि भनेर विचार गर्नुहोस्।—हितोपदेश २५:२५.
९. (क) अरूलाई उत्तेजित गर्ने कुन कुन तरिकाहरूदेखि हामी अलग बस्न रुचाउनुपर्छ र किन? (ख) यहोवाको सेवामा आफूलाई समर्पण गर्न कुन कुराले हामीलाई उत्प्रेरित गर्नुपर्छ?
९ यद्यपि, अरूलाई गलत ढंगमा उत्तेजित गर्नदेखि सतर्क हुनुहोस्। उदाहरणको लागि, तिनीहरूले धेरै काम गर्न सकेका छैनन् भनी हामीले अनजानमा दोषी महसुस गराइरहेका हुनसक्छौं। मसीही क्रियाकलापहरूमा अरूले भन्दा बढी भाग लिने व्यक्तिहरूसँग अप्रिय ढंगमा तुलना गरेर अथवा कठोर स्तरहरू निर्धारण गर्दै त्यसअनुरूप नचल्नेहरूको निन्दा गरेर हामीले अनजानमा तिनीहरूलाई लज्जित तुल्याउनसक्छौं। उपरोक्त कुराहरूमध्ये कुनैले केही व्यक्तिहरूलाई एकछिन जुरमुरिन उत्प्रेरित गर्ला तर पावलले ‘दोषी महसुस गर्न र सुकर्ममा उत्तेजित गर’ भनेर लेखेका थिएनन्। होइन, हामीले अवश्य प्रेम गर्न उत्तेजित गर्नुपर्छ, त्यसपछि राम्रो मनोवृत्तिले गरिएका असल कामहरू स्वतः आउँछन्। आफूबाट आशा गरेबमोजिम पूरा गर्न नसक्दा मण्डलीका अरू व्यक्तिहरूले के सोच्लान् भन्ने डरले कोही पनि उत्प्रेरित हुनु नपर्ने हो।—२ कोरिन्थी ९:६, ७ तुलना गर्नुहोस्।
१०. अरूको विश्वासमाथि हामीले प्रभुत्व जमाउनु मिल्दैन भनेर हामीले किन सम्झिनुपर्छ?
१० एकअर्कालाई उत्तेजित गर्नुको अर्थ एउटाले अर्कोलाई नियन्त्रण गर्नु होइन। आफूले पाएको ईश्वर-प्रदत्त अख्तियारको बावजूद प्रेरित पावलले कोरिन्थीको मण्डलीलाई विनम्रतापूर्वक यसो भनेर स्मरण गराए: “तिमीहरूका विश्वासमा हाम्रो प्रभुत्व भएको होइन।” (२ कोरिन्थी १:२४) यहोवाको सेवामा कसले कति गर्नुपर्छ भनी निर्धारण गर्ने वा व्यक्तिगत मामिलाहरूमा अरूको अन्तस्करणमाथि प्रभुत्व जमाउने काम हाम्रो होइन भनी तिनले जस्तै विनम्रतापूर्वक मानि लियौं भने “ज्यादै धर्मी,” आनन्दविहीन, कठोर, नकारात्मक वा नियमपरायण व्यक्ति हुनदेखि हामी अलग बस्नेछौं। (उपदेशक ७:१६) त्यस्ता गुनहरूले अरूलाई उत्तेजित नभई शोषण गर्छ।
११. पुरातन इस्राएलको समयमा पवित्रस्थानको निर्माण गर्दा कुन कुराले मानिसहरूलाई चन्दा दिन उत्प्रेरित गऱ्यो र हाम्रो समयमा त्यो कुरा कसरी सत्य साबित हुनसक्छ?
११ पुरातन इस्राएलमा पवित्रस्थानको निर्माणका लागि चन्दा दिन मानिसहरूले जुन मनोभाव देखाएका थिए, त्यही मनोभावले यहोवालाई आफ्नो सेवा चढाउन हामी सबै कामहरू गर्न चाहन्छौं। प्रस्थान ३५:२१ मा हामी यस्तो लेखिएको पाउँछौं: “औ जस जसका हृदय प्रेरणाले भऱ्यो, र हरेक जसको मन इच्छुक भयो, तिनीहरूले . . . परमप्रभुको लागि भेटी ल्याए।” तिनीहरू बाहिरबाट होइन तर भित्री मनदेखि उत्प्रेरित भएका थिए। वास्तवमा “मनले उचालिने जति सबैले” भेटी ल्याए भनेर हिब्रू भाषामा अक्षरसः लेखिएको हामी पाउँछौं। (तेर्सो अक्षर हाम्रो) अतः जुनसुकै बेला होस्, हामी सबै एकसाथ हुँदा एकअर्काको हृदयलाई उचाल्ने प्रयत्न गरौं। बाँकि काम यहोवाको आत्माले गर्नेछ।
‘एउटाले अर्कोलाई प्रोत्साहित गरौं’
१२. (क) “प्रोत्साहन” भनी अनुवाद गरिएको युनानी शब्दका केही अर्थहरू के के हुन्? (ख) अय्यूबका तीन मित्रहरू कसरी तिनलाई प्रोत्साहन दिन असफल भए? (ग) एकअर्काको न्याय गर्नदेखि किन हामी टाढा बस्नुपर्छ?
१२ ‘एउटाले अर्कोलाई प्रोत्साहित गरौं’ भनी पावलले लेख्दा युनानी शब्द, पाराकालिओ-को एउटा रूप चलाएका थिए जसको अर्थ ‘बलियो बनाउनु, सान्त्वना दिनु’ पनि हुनसक्छ। शोकसन्तप्तहरूलाई सान्त्वना दिने भनेर अय्यूबको वर्णन गर्दा ग्रीक सेप्टुआजिन्ट संस्करणले अय्यूब २९:२५ मा सोही शब्द चलाएको थियो। हाँस्यास्पद कुरा, अय्यूबले कठोर परीक्षाको सामना गर्नुपर्दा भने तिनलाई प्रोत्साहन दिने कोही थिएन। तिनका तीन “सान्त्वनादाताहरू” दोष लगाउन र भाषण छाँट्न यति व्यस्त थिए, अय्यूबलाई बुझ्न अथवा तिनलाई महसुस गर्न तिनीहरूले फुर्सतै पाएनन्। वास्तवमा त्यत्रो लामो भाषण छाँट्दा तिनीहरूले अय्यूबको नाउँ एक चोटिसमेत लिएनन्। (अय्यूब ३३:१, ३१ तुलना गर्नुहोस्।) स्पष्ट छ, तिनीहरूले अय्यूबलाई व्यक्तिको रूपमा भन्दा समस्याको रूपमा हेरे। अनि अय्यूबले हतोत्साही भएर यसो किन नभनोस्: “यदि तपाईंहरू र मैले आफ्नो स्थान साटासाट गरेको भएता!” (अय्यूब १६:४) त्यस्तैगरि आज कसैलाई प्रोत्साहन दिन चाहनुहुन्छ भने, सर्वप्रथम समानुभूति देखाउनुहोस्! तिनको न्याय गर्न नथाल्नुहोस्। रोमी १४:४ ले भनेझैं “अर्काको दासलाई दोष लगाउने तिमी को हौ? त्यो ता आफ्नै मालिकको निम्ति खड़ा हुन्छ . . . किनभने त्यसका मालिकको त्यसलाई खड़ा गराउने शक्ति छ।”
१३, १४. (क) हाम्रा भाइ-बहिनीहरूलाई सान्त्वना दिन हामीले कुन आधारभूत कुराप्रति तिनीहरूलाई विश्वस्त गराउनुपर्छ? (ख) दानियलले कसरी स्वर्गदूतद्वारा बल पाए?
१३ पाराकालिओ र त्यससँग सम्बन्धित संज्ञालाई २ थिस्सलोनिकी २:१६, १७ मा “सान्त्वना” भनेर पनि अनुवाद गरिएको छ: “अब हाम्रा प्रभु येशू ख्रीष्ट आफैले, औ हामीलाई प्रेम गर्नुहुने र अनुग्रहबाट अनन्त शान्ति र उत्तम आशा दिनुहुने परमेश्वर हाम्रा पिताले तिमीहरूका हृदयलाई सान्त्वना दिऊन्, र सबै उत्तम काम र वचनमा स्थिर गराऊन्।” स्मरण रहोस्, हाम्रो हृदयले सान्त्वना पाउने कुरालाई पावल यहाँ यहोवाले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने आधारभूत सत्यसित जोड्छन्। अतः उपरोक्त महत्त्वपूर्ण सत्यलाई जोड दिएर हामी पनि एकअर्कालाई प्रोत्साहन वा सान्त्वना दिनसक्छौं।
१४ एक पटक डरलाग्दो दर्शन देखेपछि अगमवक्ता दानियल यति विचलित भए, तिनले यसो भने: “म ता मानिसको पुतलाजस्तै भएँ, औ ममा केही बलै रहेन।” त्यसपछि यहोवाले स्वर्गदूत पठाउनुभयो जसले दानियललाई तिनी परमेश्वरको नजरमा “अति प्रिय” छन् भनी निकै पटक सम्झाए। नतिजा? दानियलले स्वर्गदूतलाई यसो भने: “तपाइँलेनै मलाई बल दिनुभयो।”—दानियल १०:८, ११, १९.
१५. प्राचीन तथा परिभ्रमण निरीक्षकहरूले कसरी सराहनालाई सुधारसित सन्तुलित गर्नुपर्छ?
१५ यहाँ हामीले अरूलाई प्रोत्साहित गर्ने अर्को तरिका थाह पायौं। त्यो हो, अरूको सराहना गर्नुहोस्! तुरुन्तै आलोचनात्मक, रूखो मनोभाव देखाउनु सजिलो छ। हो, विशेषगरि प्राचीनहरू तथा परिभ्रमण निरीक्षकहरूले कहिलेकाहीं अरूको सुधार गर्नुपर्ने हुन्छ। तर अरूको न्याय गर्ने मनोवृत्तिको लागि नभई न्यानो हृदयले दिने सान्त्वनाको लागि तिनीहरूले नाउँ कमाएका छन् भने बेस हुनेछ।
१६. (क) निराश व्यक्तिहरूलाई प्रोत्साहन दिंदा किन यहोवाको सेवामा अझ धेरै गर्नू भनेर मात्र पुग्दैन? (ख) एलिया निराश हुँदा यहोवाले तिनलाई कसरी मदत दिनुभयो?
१६ विशेषगरि निराश व्यक्तिहरूलाई प्रोत्साहनको खाँचो हुन्छ र सँगी मसीहीहरूको हैसियतमा र खासगरि प्राचीनहरू हौं भने तिनीहरूका निम्ति मदतको स्रोत भइदिएको यहोवा हामीबाट आशा गर्नुहुन्छ। (हितोपदेश २१:१३) त्यसोभए हामी के गर्नसक्छौं? यहोवाको सेवामा अझ धेरै गर्नुहोस् भनेर मात्र त अवश्य पुग्दैन होला। किन? किनकि त्यसो गऱ्यौं भने पर्याप्त नगरेकोले तिनीहरू निराश भएका हुन् भन्ने अर्थ लाग्न सक्छ। र वास्तवमा कारण प्रायः त्यस्तो हुँदैन। एक पटक अगमवक्ता एलिया यति निराश भए, तिनी मर्न चाहन्थे; यद्यपि, यहोवाको सेवामा अति व्यस्त भएको बेलामा तिनले त्यस्तो महसुस गरेका थिए। यहोवाले तिनीसँग कस्तो व्यवहार गर्नुभयो? व्यवहारिक मदत प्रदान गर्न उहाँले एक स्वर्गदूतलाई पठाउनुभयो। एलियाले यहोवालाई आफ्नो मनको बह पोखे र आफ्ना मृत पुर्खाहरूले जस्तै महसुस गर्दैछु, आफ्नो सबै काम व्यर्थ भए र साह्रै एक्लो भएँ भनेर तिनले यहोवालाई बताए। यहोवाले तिनको कुरा सुन्नुभयो र आफ्नो शक्तिको अद्भुत प्रदर्शन गरेर सान्त्वना प्रदान गर्नुभयो। तिनी अवश्य एक्लो छैनन् र तिनले सुरु गरेको काम पूरा हुनेछ भनेर उहाँले तिनलाई आश्वासन दिनुभयो। यहोवाले तिनलाई एउटा साथी दिन्छु भनेर पनि वचन दिनुभयो, जसलाई तिनले प्रशिक्षण दिनुपर्थ्यो र त्यो व्यक्ति अन्ततः तिनको उत्तराधिकारी हुनेथिए।—१ राजा १९:१-२१.
१७. आफैसित अचाक्ली कठोर व्यवहार गर्ने व्यक्तिहरूलाई प्राचीनहरूले कसरी प्रोत्साहित गर्नुपर्छ?
१७ कस्तो प्रोत्साहनजनक कुरा! आउनुहोस्, हाम्रा माझ भावनात्मक तवरमा पिल्सिएका व्यक्तिहरूलाई त्यस्तैगरि प्रोत्साहन दिने गरौं। तिनीहरूको कुरा सुनिदिएर बुझ्ने कोसिस गर्नुहोस्! (याकूब १:१९) तिनीहरूका व्यक्तिगत आवश्यकताहरू पूरा गर्न सक्ने शास्त्रीय सान्त्वना दिनुहोस्। (हितोपदेश २५:११; १ थिस्सलोनिकी ५:१४) आफूप्रति साह्रै आलोचनात्मक दृष्टिकोण राख्नेहरूलाई प्रोत्साहित गर्न प्राचीनहरूले शास्त्रीय प्रमाणहरू देखाउँदै यहोवाले तिनीहरूलाई प्रेम गर्नुको साथै मूल्यवान ठान्नुहुन्छ भनेर बताउन सक्छन्।a आफूलाई निकम्मा सम्झने व्यक्तिहरूलाई प्रोत्साहन दिन छुटकाराको मोलको छलफल गर्नु प्रभावशाली उपाय हुनसक्छ। बितेका समयमा गरेको पापको कारण कुनै व्यक्ति शोकित हुन सक्छ। तर तिनले साँच्चै नै पश्चात्ताप गरेर त्यस्ता कामहरूदेखि पूर्णतया अलग बसेको छ भने छुटकाराको मोलले तिनलाई शुद्ध पारिसकेको छ भनेर देखाउनु राम्रो हुनसक्छ।—यशैया १:१८.
१८. बलात्कारजस्ता अरूको कुकर्मको शिकार हुने व्यक्तिहरूलाई प्रोत्साहित गर्न छुटकाराको मोलसम्बन्धी शिक्षालाई कसरी चलाउनु पर्छ?
१८ उपरोक्त शिक्षालाई सही ढंगमा सिकाउन प्राचीनले प्रत्येक परिस्थितिमाथि अवश्य ध्यान दिनेछ। एकछिन यस उदाहरणलाई विचार गर्नुहोस्: मोशाको व्यवस्थाअनुसार सबै किसिमका पापहरूको प्रायश्चितका लागि पशु बलिहरू चढाउनु पर्थ्यो र त्यसले ख्रीष्टले दिनुभएको छुटकाराको बलिदानलाई पूर्वसंकेत गर्थ्यो। (लेवी ४:२७, २८) यद्यपि, बलात्कारको शिकार हुने व्यक्तिले त्यस्तो बलि चढाउनुपर्छ भन्ने कुनै आवश्यकता थिएन। “त्यस केटीलाई चाँहि केही नगर्नू” भनेर व्यवस्थाले तिनीहरूलाई बताएको थियो। (व्यवस्था २२:२५-२७) त्यस्तैगरि आज एउटी बहिनीलाई कसैले आक्रमण गरेर बलात्कार गऱ्यो र तिनले आफूलाई कलंकित र निकम्मा सम्झिन् भने त्यस पापबाट शुद्ध हुन तिनलाई छुटकाराको मोलको आवश्यकता छ भनेर जोड दिनु के उपयुक्त होला? अवश्य हुँदैन। अरूले बलात्कार गर्दा तिनले पाप गरेकी थिइनन्। पाप गर्ने त त्यो बलात्कारी हो र त्यसलाई शुद्धीकरणको आवश्यकता छ। तथापि, कसैले गरेको पापको कारण तिनी परमेश्वरको नजरमा अशुद्ध भएकी छैनन् बरु तिनी यहोवाका लागि मूल्यवान छिन् र उहाँको प्रेम प्राप्त गरी नै रहनेछिन् भन्ने कुराको प्रमाणस्वरूप छुटकाराको मोल प्रबन्ध गर्नुभएर यहोवा र ख्रीष्टले देखाउनुभएको प्रेमलाई चलाउन सकिन्छ।—मर्कूस ७:१८-२३ तुलना गर्नुहोस्; १ यूहन्ना ४:१६.
१९. हाम्रा भाइ-बहिनीहरूसितको सबै संगति प्रोत्साहनजनक हुनेछ भनेर हामीले किन अपेक्षा गर्नु हुँदैन तर हामीले कस्तो दृढ निर्णय गर्नुपर्छ?
१९ हो, कुनै व्यक्तिले आफ्नो जीवनमा जस्तोसुकै परिस्थितिको सामना गरिरहेको होस्, वा कष्टप्रद परिस्थितिहरूले गर्दा तिनको अतीत जतिसुकै अन्धकारमय नै किन नहोस्, यहोवाका जनहरूको मण्डलीमा तिनले प्रोत्साहन पाउन सक्नुपर्ने हो। र एकसाथ भेला हुँदा हामी सबैले सधैं एकअर्काको विचार गर्ने, एकअर्कालाई उत्तेजित गर्ने र प्रोत्साहित गर्ने प्रयत्न गऱ्यौं भने त्यो व्यक्ति अवश्य प्रोत्साहित हुनेछ। यद्यपि, हामी सबै असिद्ध भएकोले कहिलेकाहीं त्यसो गर्नदेखि चुक्नसक्छौं। अघिपछि अनजानमा हामीले एकअर्कालाई निरुत्साहित र चोटसमेत पुऱ्याउँछौं। तर अरूको गल्तीहरूमा ध्यान केन्द्रित गर्ने कोसिस नगर्नुहोस्। अरूको गल्तीमाथि ध्यान केन्द्रित गरेर बस्नुभयो भने तपाईं मण्डलीप्रति बढ्तै आलोचनात्मक हुन सक्ने डर हुन्छ र तपाईं त्यस पासोमा समेत फँस्न सक्नुहुन्छ, जसबाट बचोस् भनेर पावल हामीलाई मदत गर्न उत्सुक थिए। त्यो हो, एकसाथ भेला हुन छाड्ने खतरा। त्यस्तो कहिल्यै नहोस्! यो थोत्रो रीतिरिवाज झन् झन् खतरापूर्ण र दमनकारी हुँदैजानेछ। त्यसकारण आउनुहोस्, सभाहरूमा हाम्रो संगतिलाई अझ उत्थानदायी बनाउन आफूले सक्ने जति गर्न हामी सबै कटिबद्ध होऔं। यहोवाको दिन झन् झन् नजीक आइरहेको देखेकै हुँदा हामी अझ पक्का होऔं!
[फुटनोट]
a त्यस्ता व्यक्तिहरूसँग प्रहरीधरहरा र ब्युँझनुहोस्!-का लेखहरू छलफल गर्नु प्राचीनहरूलाई बेस लाग्न सक्छ। उदाहरणका लागि, “के तपाईं अनुग्रहबाट लाभ उठाउनुहुन्छ?” र “निराशालाई जित्नु”—द वाचटावर, फेब्रुअरी १५ र मार्च १, १९९०.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ यी आखिरी दिनहरूमा हाम्रा सभा तथा संगति प्रोत्साहनजनक हुनु किन अत्यावश्यक छ?
◻ एउटाले अर्कोको विचार राख्नुको अर्थ के हो?
◻ एउटाले अर्कोलाई उत्तेजित गर्नुको अर्थ के हो?
◻ एउटाले अर्कोलाई प्रोत्साहन दिने सम्बन्धमा कुन कुरा सम्मिलित छ?
◻ निराश र निरुत्साहित भएका व्यक्तिहरूलाई कसरी प्रोत्साहन दिन सकिन्छ?
[पृष्ठ १६-मा भएको चित्र]
आतिथ्यले हामीलाई एक आपसमा राम्ररी परिचित हुन मदत गर्छ
[पृष्ठ १८-मा भएको चित्र]
एलिया निराश हुँदा यहोवाले दयापूर्वक तिनलाई सान्त्वना दिनुभयो