डेड्सीका पाण्डुलिपिहरू अपूर्व धनराशि
वादी कुमरानको फेदीमा, डेड्सीको उत्तरदक्षिण तिर, केही प्राचीन खण्डहरहरू पाइन्छन्। धेरै समय अघि देखिन् कुनै रोमी किल्लाका अवशेषहरू मानिएका हुनाकारण, तिनीहरूलाई पुरात्वज्ञहरूले कुनै विशेष ध्यान दिएका थिएनन्। तर १९४७ मा यशैयाको डेड्सीका पाण्डुलिपिहरू फेला परे पछि, त्यस ठाउँबारे पुनः विचार गरिन थालियो।
चाँड़ै नै, ती भवनहरू यहूदीहरूको एउटा धार्मिक समूहका भवनहरू रहेछन् भनी विद्वानहरूले थाह पाए। र त्यस समूहका मानिसहरूले ती पाण्डुलिपिहरूलाई नजिकका अग्ला-अग्ला चट्टानहरूमा लुकाएका थिए भन्ने अनुमान तुरुन्त लगाइयो। तर केही समय पछि गरिएका आविष्कारहरू द्वारा यो अनुमान शंकास्पद हुन गयो।
एउटा अपूर्व आविष्कार
फेला पारि सकिएका पाण्डुलिपिहरूको मूल्य बारे बेन्रीन जाति सतर्क भइ सकेका थिए। यसकारण, एक जना बूढ़ा मानिसले तिनी जवान छँदा एउटा घायते परेवाको खेदो गर्दै लैजाँदा त्यो एउटा चट्टानको प्वाल भित्र पसेर हराएको र त्यहाँ भित्र त्यस मानिसले केही भाँड़ा-कुँड़ा र एउटा प्राचीन दियो फेला पारेको कुरा १९५२ मा पुनः सम्झना गरेर भने पछि, एउटा नया खोजी शुरू भयो।
ती बूढ़ा मानिसले त्यहाँका भिरालो चट्टानहरूको माझमा त्यस विशेष गुफाको प्रवेशलाई अझ पनि चिन्न सक्त थिए। मानिसहरूले खोपेर बनाएको त्यो एउटा गुफा रहेछ जसलाई आज गुफा नम्बर ४ भनिन्छ। त्यहाँ ती बेन्रीनले भुईं भन्दा करीब एक मीटर मनि, पाण्डुलिपिहरूका केही टुक्राहरू फेला पारे। ती कुनै पनि टुक्राहरू घ्याम्पाहरूमा हालिएका थिएनन् जसले गर्दा ती धेरै जसो नराम्रोसँग सडेर, कालो, साथै सजिलैगरी झुरा-झुरा हुने भएका थिए। समयमा, करीब ४०० विभिन्न पाण्डुलिपिहरूको प्रतिनिधित्व गर्ने, केही ४०,००० टुक्राहरू त्यहाँबाट फेला पार्न सकियो। एस्थर बाहेक, हिब्रू शास्त्रका, जम्मै पुस्तकहरू सय भन्दा बढ़ी बाइबलका ती पाण्डुलिपिहरूमा सम्मिलित थिए। गुफा नम्बर ४ बाट प्राप्त गरिएका धेरै जसो पाण्डुलिपिहरू आजसम्म प्रकाशित भएका छैनन्।
त्यहाँ फेला परेका महत्त्वपूर्ण पाण्डुलिपिहरू मध्ये एउटा त एकै मुठ्ठामा नक्कल गरिएको शमूएलका पुस्तकहरू थिए। सम्भवतः ५७ खानाहरू मध्येबाट बचेर रहेका ४७ खानाहरूमा लेखिएको यसको हिब्रू मूल-पाठ, युनानी सेप्टुआगिन्ट अनुवादका अनुवादकहरूले प्रयोग गरेका मूल पाठसँग धेरै नै मिल्दछ। यहाँ सा. यु. पू. प्रथम शताब्दी तिर युनानी भाषामा लेखिएको सेप्टुआगिन्टका टुक्राहरू पनि फेला परेका छन् जसमा लेवी र गन्तीका पुस्तकहरूका केही भागहरू छन्। लेवी पुस्तकको पाण्डुलिपिमा, परमेश्वरको हिब्रू नाउँका लागि, युनानी काइरिजोस् अर्थात् “प्रभु”aको सट्टामा IAO अक्षरहरू प्रयोग गरिएको छ।
यो हिब्रू मूल-पाठमा, व्यवस्थाविवरणको पुस्तकको एउटा टुक्रामा, सेप्टुआगिन्ट पाइने, अध्याय ३२:४३ देख्न सकिन्छ, र यो पदको उद्धरण हिब्रू १:६ मा गरिएको छ: “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई पुजून् [दण्डवत् गरून्, न्यु.व.]।” हिब्रू पाण्डुलिपिहरूमा यो वाक्य प्रथम पटक यहाँ देखा परेको हो र यी हिब्रू पाण्डुलिपिहरूमा नै युनानी अनुवाद आधारित रहेछ भन्ने कुरा यसबाट बोध हुँदछ। यस प्रकार, मसीही युनानी शास्त्रमा धेरै पटक उद्धृत गरिएको सेप्टुआगिन्टको मूल-पाठ बारे विद्वानहरूले एउटा नया अन्तर्दृष्टि प्राप्त गरेका छन्।
प्रस्थान पुस्तकको एउटा मुठ्ठा सा. यु. पू. तेस्रो शताब्दीको तेस्रो भागको हो, शमूएलको एक मुठ्ठा पनि त्यही शताब्दीको अन्त तिरको हुनु पर्छ र यर्मियाको एउटा मुठ्ठा चाँहि सा. यु. पू. २२५ र १७५ देखिन्को हो भनी पत्ता लगाइएको छ। कुन कुन पाण्डुलिपिहरू कुन कुन समयका हुन् भनी निश्चित गर्दा अति नै काम लाग्ने लेखनशैली र हिब्रू र आरामी अक्षरहरूमा आएका परिवर्तनहरू ठम्याउन, सा. यु. पू. तेस्रो देखिन् प्रथम शताब्दीसम्म प्रशस्त सामग्रीहरू फेला परेका छन्।
गुफा नम्बर ११ को आश्चर्यमय आविष्कार
अन्ततोगत्वा, स्थानीय बेन्रीन र पुरातत्वज्ञहरूले कुमरानको चारैतिरको सम्पूर्ण इलाकाको राम्रोसँग छानबीन गरे। तापनि, १९५६ मा एक दिन, केही बेन्रीन मानिसहरूले गुफा नम्बर १ को उत्तर तिरका भिरालो चट्टानहरूका कुना-काप्चाहरूबाट चमेराहरू निस्किरहेका देखे। तिनीहरू त्यहाँ माथि चढ़े र एउटा अर्को गुफा फेला पारे जसको प्रवेश द्वार ढाकिएको थियो। माथिबाट खसेका दुई टन ढुङ्गाहरू हटाए पछि मात्र गुफाको प्रवेश द्वार देखा पऱ्यो। त्यहाँ भित्र पाइएका कुराहरू आश्चर्यमय थिए—दुईवटा पूरा पाण्डुलिपिहरू र अरू पाँच पाण्डुलिपिहरूका धेरै जसो भाग त्यहाँ थिए।
त्यहाँको सबैभन्दा महत्त्वपूर्ण आविष्कार भजनसंग्रहको एउटा सुन्दर मुठ्ठा थियो। चर्मपत्रको मोटाइ अनुसार त्यो बाख्राको भन्दा बाछाको छालाबाट बनिएको हो जस्तो देखिन्छ। त्यस्का पाँचवटा पाताहरू, चारवटा अलग अलग पार्न सकिने पानाहरू र चार साना-साना भागहरू गरेर त्यस्को लम्बाइ जम्मा-जम्मी १६ फीट [४ मीटर] भन्दा बढ़ी छ। यो मुठ्ठाको माथिल्लो भाग राम्रोसँग संरक्षित भएतापनि, यस्को तल्लो भाग धेरै जसो गलिसकेको छ। यो मुठ्ठा सा. यु. प्रथम शताब्दीको प्रथम भाग तिरको हो भनी थाह गरिएको छ र यसमा ४१ वटा भजनहरूका केही भागहरू पाइन्छन्। टेट्राग्रेमेटन [चारवटा हिब्रू अक्षरहरूमा लेखिएको ईश्वरको नाउँ] यसमा १०५ पटक प्राचीन हिब्रू अक्षरहरूमा लेखिएको हुनाकारण, त्यो मूल-पाठको चार-कुने हिब्रू लिपिको माझमा यो नाउँ प्रष्टसँग देखिन्छ।
लेवीको पुस्तकको एउटा अर्को पाण्डुलिपि सम्पूर्णतया प्राचीन हिब्रू लेखनशैलीमा छ तर यस्को कारण आजसम्म प्रष्टगरी बुझ्न सकिएको छैन। सा. यु. पू. सातवाँ शताब्दीको अन्तमा यहूदीहरू बेबिलनमा निर्वासन हुँदा, प्रचलनमा रहेको लेखनशैली प्रयोग गरिएर लेखिएको सबैभन्दा लामो अस्तित्वमा रहेको दस्तावेज यही नै हो।
एउटा टारगमको प्रतिलिपि अथवा अय्यूबको पुस्तकको एउटा आरामी शब्दान्तर अनुवाद पनि फेला पऱ्यो। लेखिएर राखिएका सबै भन्दा प्रारम्भिक टारगमहरू मध्येको यो एउटा हो। विभिन्न गुफाहरूमा बाइबलका अन्य पुस्तकहरूको विषयमा गरिएका टिप्पणीहरू पनि पाइयो। ती गुफाहरूमा यी मुठ्ठाहरू यति राम्रोसँग लुकाएर कसरी राख्न सकियो?
माथि उल्लेख गरिए झैं, केही त कुमरानका बासिन्दाहरूले लुकाएका हुनु पर्दछ। तर प्राप्त प्रमाण अनुसार, सा. यू. ६८, अर्थात् दुई वर्ष पश्चात् यरूशलेमको आखिरी पटक नाश हुनु भन्दा अघि, रोमीहरूले यहूदियामा आक्रमण गर्दा, भागिरहेका यहूदीहरूले नै धेरै जसो पाण्डुलिपिहरू त्यहाँ राखेको जस्तो देखिन्छ। ती बहुमूल्य पाण्डुलिपिहरूका लागि, यहूदियाको उजाड़-स्थान अथवा कुमरानका नजिकका गुफाहरू बाहेक धेरै मील उत्तर तर्फ, यरीहोको वरिपरि र दक्षिण पट्टि मसाडा, स्वभाविक्तः सुरक्षित ठाउँहरू थिए। ती पाण्डुलिपिहरूका संरक्षणका लागि हामी कति कृतज्ञ छौं! यहोवाको प्रेरित वचन अपरिवर्तनीय छ भन्ने कुराको तिनीहरूले थप प्रमाण दिन्छन्। साँच्चै नै, “हाम्रा परमप्रभुका वचन सधैंभरि अटल रहनेछ।”—यशैया ४०:८. (w04/15/91)
[फुटनोट]
a रेफरेन्स बाइबल हेर्नुहोस्, एपेन्डीक्स 1C (5) र लेवी ३:१२ को पाद टिप्पणी हेर्नुहोस् जहाँ यस पाण्डुलिपिलाई 4Q LXX Lev/b. भनेर सङ्केत गरिएको छ।
[पृष्ठ ३१-मा भएको पेटी]
के अरू पनि चाँड़ै नै आउनेवाला छ?
धेरै दशक अघि आविष्कार भएको भएता पनि, डेडसी स्क्रोलका धेरै जसो टुक्राहरू प्रकाशित भएका छैनन्। डिसेम्बर २३, १९९० को न्यु यर्क टाइम्सले घोर अप्रसन्नता व्यक्त गर्दै लेखेको थियो: “आफ्ना साथीहरूबाट टाढ़ा रहने र गुट-बन्दी गर्ने विद्वानहरूको जमातले आफूसँग भएका सामग्रीलाई प्रकाशित गर्न इन्कार गरेर तिनीहरू सित रहेका फोटो सरहको नकललाई समेत कब्जामा पारेका छन्।” तथापि, यो पत्रिका अनुसार, हालसालैमा, त्यस सम्पादकीय समूहमा परिवर्तन गरिएको छ र “ती मुठ्ठाहरूको वरिपरिका गुट-बन्दी हटाउने . . . र संसारले इतिहासको एउटा असाधारण युगको विषयमा अझ बढ़ी जानकारी पाउने” यो एउटा कदम हुन सक्छ।