प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ५/१५ pp. १९-२३
  • तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू “देखे”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू “देखे”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भविष्य “देखेकोले” तिनीहरूको विश्‍वास बलियो भयो
  • तिनीहरूले प्रतिज्ञाहरू पूरा भएको “देखे”
  • तिनले इनाममा आफ्नो नजर लगाएका थिए
  • परमेश्‍वरको राज्यले ल्याउने आशिष्‌बारे कल्पना गर्नुहोस्‌
  • आफ्नो आशाबारे किन कुराकानी गर्नुपर्छ?
  • “हामी दृष्टिले होइन तर विश्‍वासले हिंड़छौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “आफ्नो हृदयलाई स्थिर गराओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मोशाको विश्‍वास अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरका प्रतिज्ञाहरूमाथि विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ५/१५ pp. १९-२३
मानिसको आँखामा नयाँ संसारको चित्र

तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू “देखे”

“आफूलाई प्रतिज्ञा गरिएका कुराहरू तिनीहरूको जीवनकालमा पूरा नभए तापनि ती कुराहरूलाई टाढैबाट देखे।”—हिब्रू ११:१३.

के तपाईं बुझाउन सक्नुहुन्छ?

  • यहोवाले दिनुभएको कस्तो क्षमताले हाम्रो विश्‍वास बलियो बनाउँछ?

  • बाइबलमा बताइएका वफादार पुरुष अनि स्त्रीहरू आफूले पाउने इनामबारे कल्पना गर्थे भनेर कसरी थाह पाउँछौं?

  • अरूसित आफ्नो आशाबारे कुराकानी गर्दा कस्तो फाइदा हुन्छ?

१. पछि हुने कुराहरूबारे कल्पना गर्दा हामीलाई कस्तो लाभ हुन्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

हामी कहिल्यै नदेखेका कुराहरूको समेत मनमा चित्र कोर्न सक्छौं। यस्तो क्षमता हामीले यहोवाबाट पाएको उपहार हो। हामीसित यस्तो क्षमता भएकोले बुद्धिमानीपूर्वक योजना बनाउन अनि भविष्यमा हुने राम्रो कुराहरूमा ध्यान दिन सक्छौं। यहोवाले भविष्यमा हुने कुरा पहिल्यै देख्न सक्नुहुन्छ अनि आफ्नो वचनमार्फत हामीलाई ती कुराहरूबारे जानकारी दिनुहुन्छ। हुन त हामी ती कुराहरू अहिल्यै देख्न सक्दैनौं तर आफ्नो मनमा ती कुराहरूको चित्र भने कोर्न सक्छौं। आफूले पाएको यस्तो क्षमता चलायौं भने हाम्रो विश्‍वास बलियो हुन्छ।—२ कोरि. ४:१८.

२, ३. (क) पक्कै पूरा हुने कुराहरूबारे कल्पना गर्दा हामीलाई कस्तो फाइदा हुन्छ? (ख) यस लेखमा हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौं?

२ कहिलेकाहीं हामी हुनै नसक्ने कुराको समेत कल्पना गर्न पुग्छौं। जस्तै: एउटी सानी केटीले आफू पुलतीमाथि बसेर उडिरहेको कल्पना गर्न सक्छिन्‌। तर त्यो हुनै नसक्ने कुरा हो। अर्कोतर्फ हन्‍नाले आफ्नो कल्पना गर्ने क्षमता बेग्लै तरिकामा चलाइन्‌। तिनी आफ्नो छोरा शमूएललाई परमेश्‍वरको भवनमा लगेर छोड्‌ने कुराबारे कल्पना गरिरहन्थिन्‌। तर तिनले कुनै आधारैविना त्यस्तो कल्पना गरेकी थिइनन्‌। तिनले आफ्नो छोरालाई परमेश्‍वरको भवनमा सेवा गर्न पठाउने भाकल गरेकी थिइन्‌ र त्यसरी कल्पना गर्दा तिनले आफ्नो भाकल सम्झिरहन सकिन्‌। (१ शमू. १:२२) परमेश्‍वरको प्रतिज्ञाबारे कल्पना गर्छौं भने हामीले पक्कै पूरा हुने कुराबारे सोचिरहेका हुन्छौं।—२ पत्रु. १:१९-२१.

३ पुरातन समयका परमेश्‍वरका थुप्रै सेवकले पनि यहोवाको प्रतिज्ञाबारे आफ्नो मनमा चित्र बनाएका थिए। ती सेवकहरूले भविष्यमा पाइने आशिष्‌बारे त्यसरी कल्पना गर्दा कस्तो लाभ उठाएका थिए? परमेश्‍वरले भविष्यमा आज्ञाकारी मानिसहरूलाई दिनुहुने असल कुराहरूबारे सोच्दा हामीले पनि कस्तो लाभ उठाउन सक्छौं?

भविष्य “देखेकोले” तिनीहरूको विश्‍वास बलियो भयो

४. हाबिलले केको आधारमा भविष्यमा हुने कुराबारे कल्पना गरे?

४ यहोवाको पहिलो वफादार सेवक हाबिल थिए। के तिनले उहाँले प्रतिज्ञा गर्नुभएको कुरा “देखेका” थिए? अदनको बगैंचामा यहोवाले सर्पलाई भन्‍नुभएको यो कुरा हाबिललाई थाह थियो, “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्प. ३:१४, १५) त्यो प्रतिज्ञा कसरी पूरा हुन्छ भन्‍नेबारे थाह नभए तापनि हाबिलले त्यसमा गहिरिएर मनन गरेको हुनुपर्छ। कसैको ‘कुर्कुच्चो डसिनेछ’ र त्यसले गर्दा मानिसजाति फेरि आदम र हव्वाजस्तै त्रुटिरहित हुनेछन्‌ भन्‍ने कुरा तिनले बुझेको हुनुपर्छ। हाबिलले भविष्यमा हुने कुराबारे जे-जस्तो कल्पना गरेको भए तापनि तिनको विश्‍वास परमेश्‍वरको प्रतिज्ञामा आधारित थियो। त्यसैले यहोवाले तिनको भेटी स्वीकार्नुभयो।—उत्पत्ति ४:३-५; हिब्रू ११:४ पढ्‌नुहोस्‌।

५. भविष्यमा हुने कुराबारे कल्पना गर्दा हनोकले के गर्न सके?

५ हनोकलाई विचार गरौं। तिनी वरपरका मानिसहरू दुष्ट थिए र उनीहरू परमेश्‍वरको विरुद्धमा घिनलाग्दा कुराहरू बोल्थे। “यहोवा आफ्ना लाखौं-लाख पवित्र स्वर्गदूतहरूसित सबैलाई दण्ड दिन, दुष्टहरूलाई तिनीहरूका सबै दुष्ट कामहरूको दोषी ठहराउन अनि दुष्ट पापीहरूलाई उहाँविरुद्ध बोलेका सबै घिनलाग्दा कुराहरूको सजाय दिन” आउनुहुनेछ भनेर हनोकले भविष्यवाणी गरे। (यहू. १४, १५) परमेश्‍वरमा विश्‍वास गर्ने मानिस भएकोले हनोकले दुष्टता नभएको संसारबारे कल्पना गरेका हुन सक्छन्‌। त्यसैले तिनले मानिसहरूलाई यहोवाको सन्देश सुनाउन सके।—हिब्रू ११:५, ६ पढ्‌नुहोस्‌।

६. जलप्रलयपछि नूहले कस्तो समयबारे कल्पना गरे होलान्‌?

६ विश्‍वासैले गर्दा नूह जलप्रलयबाट बचे। (हिब्रू ११:७) जलप्रलयपछि विश्‍वासैले गर्दा तिनी परमेश्‍वरलाई पशु बलि चढाउन उत्प्रेरित भए। (उत्प. ८:२०) हाबिलले जस्तै तिनले पनि मानिसहरू पाप र मृत्युको बन्धनबाट छुटकारा पाउनेछन्‌ भन्‍ने कुरामा विश्‍वास गर्थे। जलप्रलयको केही समयपछि निम्रोद भन्‍ने व्यक्‍ति परमेश्‍वरको विरुद्धमा उठे। तर नूहको विश्‍वास भने ढलपल भएन र तिनले परमेश्‍वरमा आशा राख्न पनि छोडेनन्‌। (उत्प. १०:८-१२) मानिसजातिले निरङ्‌कुश शासन अनि पाप र मृत्युबाट छुटकारा पाउनेछ भन्‍ने कुरा सोचेर तिनी आनन्दित भएका हुन सक्छन्‌। के हामी पनि त्यो रमाइलो समयलाई “देख्न” सक्छौं? अवश्‍य! त्यो समय अहिले झनै नजिक छ।—रोमी ६:२३.

तिनीहरूले प्रतिज्ञाहरू पूरा भएको “देखे”

७. अब्राहाम, इसहाक र याकूबले कुन कुरा मनको आँखाले देख्न सके?

७ अब्राहाम, इसहाक र याकूबका सन्तानमार्फत सम्पूर्ण मानिसजातिले आशिष्‌ पाउनेछ भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको थियो। (उत्प. २२:१८; २६:४; २८:१४) ती कुलपिताहरूले त्यो उज्ज्वल भविष्य आफ्नो मनको आँखाले देखेको हुनुपर्छ। तिनीहरूका सन्तान धेरै हुनेथिए अनि उनीहरू परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको देशमा बसोबास गर्नेथिए। (उत्प. १५:५-७) हुन त त्यतिबेला तिनीहरू त्यो देशमा बसोबास गर्न थालिसकेका थिएनन्‌। तैपनि परमेश्‍वरका ती जनहरूले आफ्ना सन्तानहरू त्यहाँ बसोबास गरिरहेको कुरा मनको आँखाले “देख्न” सके। मानिसजातिले त्रुटिरहित जीवन गुमाएको समयदेखि नै यहोवाले आफ्ना वफादार सेवकहरू फेरि त्रुटिरहित हुनेछन्‌ भन्‍ने कुरामा उनीहरूलाई विश्‍वस्त पार्दै आउनुभएको छ।

८. आफ्नो विश्‍वास कामद्वारा देखाउन अब्राहामलाई केले मदत गऱ्‍यो?

८ परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको कुराबारे कल्पना गरेकोले अब्राहामले आफ्नो विश्‍वास कामद्वारा देखाउन सके। अब्राहाम र अन्य वफादार सेवकहरूले “आफूलाई प्रतिज्ञा गरिएका कुराहरू” आफ्नै जीवनकालमा पूरा भएको देख्न नपाए पनि “ती कुराहरूलाई टाढैबाट देखे र स्वागत गरे” भनी बाइबल बताउँछ। (हिब्रू ११:८-१३ पढ्‌नुहोस्‌) आफूले आशा गरेको कुरा पक्कै पूरा हुन्छ भनेर अब्राहामले थुप्रै प्रमाण पाइसकेका थिए। त्यसैले यहोवाको प्रतिज्ञा पूरा भएको तिनले आफ्नो मनको आँखाले देख्न सके।

९. परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरेकोले अब्राहामले के गर्न सके?

९ अब्राहाम यहोवाको प्रतिज्ञामा विश्‍वास गर्थे। त्यसैले उहाँको इच्छाअनुसार चल्ने तिनको सङ्‌कल्प अझ बलियो भयो। विश्‍वासैले गर्दा तिनले ऊर सहर छोडे अनि कनानका कुनै पनि सहरमा स्थायी रूपमा बसोबास गरेनन्‌। ती सहरहरूको जग पनि ऊर सहरको जस्तै कमजोर थियो किनभने त्यहाँका शासकहरू यहोवाका उपासक थिएनन्‌। (यहो. २४:२) अब्राहामले आफ्नो जीवन “साँचो जग भएको त्यस सहरको प्रतीक्षामा” बिताए “जुन सहरको निर्माता र रचनाकार परमेश्‍वर हुनुहुन्छ।” (हिब्रू ११:१०) अब्राहामले परमेश्‍वरको राज्य आएपछि पृथ्वीमा सधैंभरि बाँच्ने आशा राखेका थिए र त्यो कुरा तिनले आफ्नो विश्‍वासको आँखाले “देखे।” हाबिल, हनोक, नूह, अब्राहाम र तिनीहरूजस्तै परमेश्‍वरका अरू सेवकहरू पनि पुनर्जीवनमा विश्‍वास गर्थे र “साँचो जग भएको . . . सहर” अर्थात्‌ परमेश्‍वरको राज्यले शासन गर्दा यही पृथ्वीमा जीवन पाएको कल्पना गर्थे। यहोवाले ल्याउनुहुने त्यस्ता आशिष्‌हरूमा मन लगाएकाले तिनीहरूको विश्‍वास बलियो भयो।—हिब्रू ११:१५, १६ पढ्‌नुहोस्‌।

१०. यहोवाको प्रतिज्ञामा ध्यान केन्द्रित गर्दा साराले कस्तो लाभ उठाइन्‌?

१० अब्राहामकी श्रीमती सारालाई विचार गरौं। नब्बे वर्ष पुगिसक्दा पनि तिनको कुनै सन्तान भएन। तैपनि यहोवाले सन्तान दिनुहुनेछ भन्‍ने कुरामा तिनले आस गर्न छोडेकी थिइनन्‌। यहोवाको प्रतिज्ञाअनुसारै आफ्नो भावी सन्तानले आशिष्‌ पाएको कुरा तिनले विश्‍वासको आँखाले देखिन्‌। (हिब्रू ११:११, १२) तिनले यस्तो आशा गर्नुको कारण के थियो? यहोवाले तिनका श्रीमान्‌ अब्राहामलाई यसो भन्‍नुभएको थियो, “म त्यसलाई आशिष्‌ दिनेछु, र त्यसबाहेक त्यसबाट म तँलाई एउटा छोरो दिनेछु। म त्यसलाई आशिष्‌ दिनेछु र धेरै जातिहरूका आमा त्यो हुनेछ। जाति जातिहरूका राजाहरू त्यसबाट उत्पन्‍न हुनेछन्‌।” (उत्प. १७:१६) इसहाकको जन्म भएपछि यहोवाका अरू प्रतिज्ञाहरू पनि पूरा हुनेछन्‌ भनेर सारा अझ विश्‍वस्त हुन सकिन्‌। हामीसित पनि आफ्नो मनमा यहोवाले प्रतिज्ञा गर्नुभएका कुराहरूको चित्र कोर्न सक्ने क्षमता छ र यो हामीले यहोवाबाट पाएको विशेष उपहार हो। यहोवाका प्रतिज्ञाहरू अवश्‍य पूरा हुनेछन्‌।

तिनले इनाममा आफ्नो नजर लगाएका थिए

११, १२. यहोवालाई प्रेम गर्न मोशालाई केले मदत गऱ्‍यो?

११ यहोवामा बलियो विश्‍वास राखेको अर्को व्यक्‍ति मोशा थिए। तिनले यहोवाप्रति आफ्नो प्रेमलाई प्रगाढ बनाउन प्रयास गरे। मोशा मिश्रको राज घरानामा हुर्केबढेका थिए। त्यसैले तिनको मनमा शक्‍ति र धनसम्पत्तिको मोह जाग्न सक्थ्यो। तर तिनले आफ्नो आमाबुबाबाट यहोवाबारे सुनेका थिए र हिब्रूहरूलाई दासत्वबाट छुटाएर प्रतिज्ञा गरिएको देशमा लैजाने उहाँको उद्देश्‍यबारे पनि बुझेका थिए। (उत्प. १३:१४, १५; प्रस्थ. २:५-१०) यहोवाले आफ्ना जनहरूलाई दिनुहुने आशिष्‌मा मन लगाउँदा मोशाले कुन कुरालाई प्रेम गर्न सिक्ने थिए होलान्‌—मान र प्रतिष्ठालाई कि यहोवालाई?

१२ यसबारे बाइबल यसो भन्छ, “विश्‍वासैले गर्दा मोशाले आफू हुर्किएपछि मिश्रका राजाकी छोरीको छोरा कहलाइन इन्कार गरे अनि पापको क्षणिक सुखभोग गर्नभन्दा परमेश्‍वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे। किनभने तिनले मिश्रका धनसम्पत्तिलाई भन्दा ख्रीष्टको नाताले निन्दा सहनुलाई बढी मोलको ठाने। किनकि आफूले पाउने इनाममा तिनले आफ्नो नजर लगाएका थिए।”—हिब्रू ११:२४-२६.

१३. यहोवाको प्रतिज्ञाबारे गहिरिएर सोच्दा मोशाले कस्तो लाभ उठाए?

१३ यहोवाले इस्राएलीहरूसित गर्नुभएको प्रतिज्ञाबारे मोशाले गहिरिएर सोच्दा उहाँप्रति तिनको प्रेम र विश्‍वास बढ्यो। परमेश्‍वरका अरू सेवकहरूले जस्तै मोशाले पनि यहोवाले मानिसहरूलाई मृत्युबाट छुटकारा दिनुहुने समयबारे कल्पना गरेका हुन सक्छन्‌। (अय्यू. १४:१४, १५; हिब्रू ११:१७-१९) यसरी कल्पना गर्दा मोशा हिब्रूहरूको र सम्पूर्ण मानिसहरूको अवस्था राम्ररी बुझ्ने परमेश्‍वरलाई अझ प्रेम गर्न उत्प्रेरित भए। यस्तो विश्‍वास र प्रेमले तिनलाई जीवनभर यहोवाको सेवा गरिरहन मदत गऱ्‍यो। (व्यव. ६:४, ५) फिरऊनले मार्ने धम्की दिंदा समेत पनि मोशा डराएनन्‌। किनकि तिनी परमेश्‍वरलाई विश्‍वास गर्थे, उहाँलाई प्रेम गर्थे अनि तिनले आफ्नो मनमा उज्ज्वल भविष्यको चित्र कोरेका थिए।—प्रस्थ. १०:२८, २९.

परमेश्‍वरको राज्यले ल्याउने आशिष्‌बारे कल्पना गर्नुहोस्‌

१४. मानिसहरू भविष्यबारे कस्तो कल्पना गर्छन्‌?

१४ आज थुप्रै मानिस हुनै नसक्ने कुराको समेत कल्पना गर्छन्‌। तिनीहरू रातारात धनी हुने अनि आफ्ना सबै समस्या समाधान हुने कुराको कल्पना गर्छन्‌। तर बाइबलले बताएअनुसार मानिसको जीवन अहिले “केवल दु:ख”-ले भरिएको छ। (भज. ९०:१०) मानव सरकारले सबै समस्या समाधान गरिदिएको तिनीहरू कल्पना गर्छन्‌। तर बाइबलमा परमेश्‍वरको राज्यले मात्र हाम्रा सबै समस्या हटाउनेछ भन्‍ने कुरा बताइएको छ। (दानि. २:४४) धेरै मानिसहरूलाई परमेश्‍वरले यस दुष्ट रीतिरिवाजको अन्त गर्नुहुन्‍न जस्तो लाग्छ तर बाइबलले चाहिं फरक कुरा सिकाउँछ। (सप. १:१८; १ यूह. २:१५-१७) परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास नगर्ने मानिसहरूको कल्पना कल्पनामै सीमित रहन्छ, त्यो कहिल्यै पूरा हुँदैन।

एक जना वृद्ध ज्यावल समातेर भविष्यबारे कल्पना गर्दै

के तपाईं आफू नयाँ संसारमा भएको कल्पना गर्नुहुन्छ? (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. (क) ख्रीष्टियनहरूले आफूले पाएको आशाबारे कल्पना गर्दा कस्तो लाभ उठाउन सक्छन्‌? (ख) परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुँदा तपाईं के गर्न चाहनुहुन्छ?

१५ हामी ख्रीष्टियनहरूलाई आफूले पाएको आशाबारे कल्पना गर्न प्रोत्साहन दिइएको छ, चाहे त्यो आशा स्वर्ग जाने होस्‌ या पृथ्वीमै बस्ने। परमेश्‍वरका प्रतिज्ञाहरू पूरा भएको अनि त्यसबाट आनन्द उठाएको के तपाईं कल्पना गर्न सक्नुहुन्छ? परमेश्‍वरका सबै प्रतिज्ञाहरू पूरा हुँदा तपाईं के गर्न चाहनुहुन्छ भन्‍ने कुरामा चिन्तन मनन गर्नुभयो भने तपाईं पक्कै आनन्दित हुन सक्नुहुन्छ। तपाईं आफ्नो मनको आँखाले यही पृथ्वीमा अनन्त जीवन पाएको “देख्नुहुन्छ” होला। अब एकछिन कल्पना गर्नुहोस्‌ त। यो पृथ्वीलाई सुन्दर बगैंचा बनाउन तपाईं आफ्ना छिमेकीहरूसँगै काँधमा काँध मिलाएर काम गर्दै हुनुहुन्छ। तपाईंका ती छिमेकीहरूले पनि तपाईंले जस्तै यहोवालाई प्रेम गर्छन्‌। यति मात्र होइन, तपाईं आफै पनि निरोगी र बलियो हुनुहुन्छ; मनमा कुनै चिन्ता फिक्री नभएकोले तपाईंको अनुहार पनि हँसिलो देखिन्छ। पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउने काममा निरीक्षण गरिरहेकाहरू पनि तपाईंको साँच्चै ख्याल राख्छन्‌। त्यसैले तपाईं आनन्दित हुँदै काम गर्नुहुन्छ। नयाँ संसारमा तपाईंले गर्ने जुनसुकै कामले अरूलाई लाभ पुऱ्‍याउँछ अनि यहोवाको महिमा पनि गर्छ। त्यसैले तपाईं आफ्नो क्षमता र सीप खुसीसाथ प्रयोग गर्नुहुन्छ। त्यतिबेला पुनर्जीवित भएर आएकाहरूलाई यहोवाबारे सिकाउने काम पनि गर्नुहुन्छ। (यूह. १७:३; प्रेषि. २४:१५) यो कल्पनाको संसारको कुरा होइन। तपाईं नयाँ संसारबारे जे-जस्तो कल्पना गर्नुहुन्छ, त्यो साँच्चै पूरा हुनेछ किनभने ती प्रतिज्ञाहरू धर्मशास्त्रमा आधारित छन्‌।—यशै. ११:९; २५:८; ३३:२४; ३५:५-७; ६५:२२.

आफ्नो आशाबारे किन कुराकानी गर्नुपर्छ?

१६, १७. आफ्नो आशाबारे कुराकानी गर्दा हामी कस्तो लाभ उठाउन सक्छौं?

१६ नयाँ संसारमा आफूले गर्न चाहेको कामकुराबारे ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसित कुराकानी गर्दा हामीले आफ्नो मनमा कोरेको चित्र अझ स्पष्ट हुन्छ। हुन त नयाँ संसारमा हामी हरेकको अवस्था कस्तो हुन्छ भन्‍ने कुरा हामीलाई थाह छैन। तैपनि त्यसरी कुराकानी गर्दा हामीले परमेश्‍वरका प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌ भन्‍ने कुरामा आफ्नो विश्‍वास व्यक्‍त गरिरहेका हुन्छौं अनि एकअर्कालाई प्रोत्साहन दिइरहेका हुन्छौं। प्रेषित पावल रोमका भाइहरूलाई भेट्‌न जाँदा तिनीहरूले “एकअर्कालाई प्रोत्साहन” दिएका थिए। यस कठिन समयमा हामी पनि त्यसै गर्छौं।—रोमी १:११, १२.

एक जना जवान ज्यावल प्रयोग गरेर ढुङ्‌गाको पर्खाल बनाउँदै

१७ भविष्यमा हुने कुराबारे कल्पना गऱ्‍यौं भने चिन्ता फिक्रीले गर्दा हाम्रो मनमा आउने नकारात्मक सोचाइलाई काबूमा राख्न सक्नेछौं। प्रेषित पत्रुसको मनमा पनि एउटा कुराको चिन्ता थियो। तिनले येशूलाई यसो भनेका थिए, “हेर्नुहोस्‌! सबै कुरा छोडेर हामी तपाईंको पछि लागेका छौं। त्यसोभए हामीले के पाउनेछौं त?” येशूले पत्रुस र अरू चेलाहरूलाई तिनीहरूले पाएको आशाबारे कल्पना गर्न मदत गर्नुभयो। उहाँले यस्तो जवाफ दिनुभयो, “म तिमीहरूलाई साँचो-साँचो भन्छु, पुनःसृष्टिको बेला, जब मानिसको छोरा आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ, तब तिमीहरू जो मेरो पछि लागेका छौ, तिमीहरू पनि बाह्र सिंहासनमा बसेर इस्राएलका बाह्र कुलको इन्साफ गर्नेछौ। जसले मेरो नामको कारण घर वा दाजुभाइ वा दिदीबहिनी वा बुबा वा आमा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ, उसले कैयौं गुणा यी कुरा र अनन्त जीवन पाउनेछ।” (मत्ती १९:२७-२९) येशूको यो कुरा सुनेपछि पत्रुस र अरू चेलाहरूले परमेश्‍वरको राज्यमा आफूले खेल्ने भूमिकाबारे कल्पना गर्न सके, जुन राज्यले पृथ्वीमा शासन गर्नेथियो र आज्ञाकारी मानिसहरूमाथि आशिष्‌ बर्साउनेथियो।

१८. यहोवाका प्रतिज्ञाहरू पूरा भएको कल्पना गर्दा हामीले कस्तो लाभ उठाउन सक्छौं?

१८ यहोवाका प्रतिज्ञाहरू पूरा भएको कल्पना गर्दा उहाँका सेवकहरूले लाभ उठाएका छन्‌। उज्ज्वल भविष्यको कल्पना गर्न, विश्‍वास बलियो बनाउन र साँचो आशा राख्न हाबिलसित परमेश्‍वरको उद्देश्‍यबारे आवश्‍यक जानकारी थियो। अब्राहामले आफ्नो विश्‍वास कामबाट देखाए किनकि तिनले “सन्तान”-बारे गरिएको भविष्यवाणी पूरा भएको आफ्नो विश्‍वासको आँखाले “देखेका” थिए। (उत्प. ३:१५) मोशाले पनि “इनाममा . . . आफ्नो नजर लगाएका थिए।” त्यसैले तिनले आफ्नो विश्‍वास कामद्वारा देखाउन सके अनि यहोवालाई अझ धेरै प्रेम गर्न सके। (हिब्रू ११:२६) हामीले पनि यहोवाका प्रतिज्ञाहरू पूरा भएको कल्पना गऱ्‍यौं भने हाम्रो विश्‍वास अझ बलियो हुन्छ अनि उहाँलाई अझ धेरै प्रेम गर्न सक्छौं। कल्पना गर्न सक्ने यस्तो विशेष क्षमतालाई हामी कसरी अर्को तरिकामा पनि प्रयोग गर्न सक्छौं, यसपछिको लेखमा छलफल गरिनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने