प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १/१५ pp. २९-३१
  • हनोक—विरोधको बावजूद निडर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हनोक—विरोधको बावजूद निडर
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हनोक र विश्‍वव्यापी विवाद
  • परमेश्‍वरले हनोकलाई उठाइलानुभयो—कसरी?
  • भविष्यवाणीको पूर्ति
  • हनोक अभक्‍त संसारमा परमेश्‍वरसित हिंडे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “तिनले परमेश्‍वरलाई खुसी पारेका थिए”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • अहिलेको सङ्‌कटमय घडीमा परमेश्‍वरसित हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • साहसी मान्छे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १/१५ pp. २९-३१

हनोक—विरोधको बावजूद निडर

एक असल मानिसको लागि त्यतिबेला जति खराब समय कहिल्यै भएको थिएन। पृथ्वीभरि ईश्‍वरहीन मानिसहरू छ्यासछ्यासती थिए। मानिसजातिको नैतिक स्तर दिनप्रति दिन खस्किंदै गइरहेको थियो। त्यस परिस्थितिबारे यस्तो वर्णन गर्न धेरै बेर लागेन: “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूको हृदयको विचार जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।”—उत्पत्ति ६:५.

आदमको वंशावलीमा हनोक सातौं पुस्तामा पर्छन्‌। तिनी अरूभन्दा बेग्लै हुन डराउँदैनन्‌ थिए। जस्तोसुकै परिणाम भोग्नु परे तापनि तिनी धार्मिकताको लागि दृढ रहे। हनोकको सन्देश सुनेर अभक्‍त पापीहरू यति चिढिए कि तिनको हत्या गर्ने षड्यन्त्र रचे। र यसबाट तिनलाई यहोवाले मात्रै बचाउन सक्नुहुन्थ्यो।—यहूदा १४, १५.

हनोक र विश्‍वव्यापी विवाद

हनोक जन्मिनुभन्दा धेरैअघि नै विश्‍वव्यापी सार्वभौमिकताबारे प्रश्‍न उठाइएको थियो। के परमेश्‍वरसित शासन गर्ने अधिकार छ? वास्तवमा शैतानको भनाइअनुसार उहाँसित त्यस्तो अधिकार छैन। त्यसले परमेश्‍वरको निर्देशनबिना नै बौद्धिक प्राणीहरूको भलो हुने दाबी गऱ्‍यो। त्यसले धुर्त्याइँसाथ मानिसहरूलाई आफ्नो पक्षमा राख्ने कोसिस गरेर आफ्नो कुरालाई साँचो साबित गर्न खोज्यो। शैतानको पक्ष लिने कुख्यात व्यक्‍तिहरू आदम, तिनकी पत्नी हव्वा र तिनीहरूका जेठो छोरा कयिन हुन्‌ र तिनीहरूले परमेश्‍वरको शासनको साटो आफ्नै शासन रोजे। प्रथम मानव दम्पतीले परमेश्‍वरले निषेध गर्नुभएको फल खायो भने कयिनले आफ्नो धर्मी भाइ हाबिलको जानाजानी हत्या गऱ्‍यो।—उत्पत्ति ३:४-६; ४:८.

यहोवाको पक्षमा खडा हुन हाबिल डराएनन्‌। हाबिलको निष्ठाले साँचो उपासनालाई बढायो। यसकारण कयिनले हाबिलको हत्या गरेर आफ्नो रीस पोखाउँदा शैतान पक्कै पनि हर्षित भयो। त्यसबेलादेखि शैतानले मानिसहरूलाई तर्साउन “मृत्युको डर[लाई]” हतियारको रूपमा चलाएको छ। साँचो उपासना गर्ने झुकाउ भएका मानिसहरूको मनमा त्यसले त्यस्तै भय उत्पन्‍न गराउन चाहन्छ।—हिब्रू २:१४, १५; यूहन्‍ना ८:४४; १ यूहन्‍ना ३:१२.

यहोवाको सार्वभौमिकतालाई कसैले पनि समर्थन गर्नेछैन भन्‍ने शैतानको दाबी हनोक जन्मेको समयतिर त सही भएजस्तै देखिन्थ्यो। हाबिल मरिसकेका थिए र तिनले बसालेको विश्‍वासी उदाहरणलाई कसैले पनि पछ्याएको थिएन। तैपनि, हनोकले आफूलाई अरूभन्दा भिन्‍नै प्रमाणित गरे। तिनीसित दृढ विश्‍वास थियो किनभने तिनलाई अदनको बगैंचामा भएका घटनाहरू राम्ररी थाह थियो।a प्रतिज्ञा गरिएको सन्तानले शैतान र त्यसका युक्‍तिहरूलाई नाश गर्नेछ भन्‍ने यहोवाको भविष्यवाणी थाह पाएर हनोक कत्ति दंग परे होलान्‌!—उत्पत्ति ३:१५.

दियाबलको प्रभावमा परेर हाबिलको हत्या भएको थियो र यो घटना इतिहासमा नै कुख्यात छ। यो थाह पाएर पनि हनोक डराएनन्‌ किनभने तिनीसित दृढ आशा थियो। बरु, जीवनभर धार्मिकताको मार्ग अपनाएर तिनी यहोवासँगसँगै हिंडिरहे। आफूखुशी गर्ने संसारको झुकाउलाई त्यागेर तिनले आफूलाई त्यसको प्रभावबाट अलग राखे।—उत्पत्ति ५:२३, २४.

यसबाहेक, दियाबलका दुष्ट कार्यहरू सफल हुनेछैनन्‌ भनी हनोकले निडरतासाथ घोषणा गरे। परमेश्‍वरको पवित्र आत्मा वा सक्रिय शक्‍तिको मदतद्वारा हनोकले दुष्टहरूबारे यस्तो भविष्यवाणी गरे: “हेर परमप्रभु आफ्ना हजारौं पवित्र जनहरूका साथमा सबैको इन्साफ गर्नालाई, र सबै अधर्मीहरूमाथि तिनीहरूले अधर्मसँग गरेका तिनीहरूका सबै अधर्मी कामहरूका विषयमा, र अधर्मी पापीहरूले उहाँका विरुद्धमा बोलेका सबै कठोर कुराहरूको दोष प्रकट गर्नालाई आउनुभयो।”—यहूदा १४, १५.

हनोकले निडरतापूर्वक परमेश्‍वरको सन्देश घोषणा गरेको हुँदा प्रेरित पावलले हिब्रू मसीहीहरूलाई लेख्दा तिनलाई पनि “गवाहीका मेघ[हरूमध्ये]” समावेश गरे। ती गवाहीका मेघहरूले विश्‍वासअनुसार कार्य गरेर उत्कृष्ट नमुना बसालेका थिए।b (हिब्रू ११:५; १२:१) विश्‍वासअनुसार हिंड्‌ने हनोकले ३०० भन्दा बढी वर्षसम्म आफ्नो निष्ठा कायम राखे। (उत्पत्ति ५:२२) स्वर्ग र पृथ्वीमा परमेश्‍वरका शत्रुहरू हनोकको विश्‍वास देखेर कत्ति चिढिए होलान्‌! हनोकको नमीठो भविष्यवाणी सुनेर शैतान झनै चिढियो तर यहोवाले तिनलाई जोगाउनुभयो।

परमेश्‍वरले हनोकलाई उठाइलानुभयो—कसरी?

यहोवाले न त शैतान न त्यसका पार्थिव सेवकहरूकै हातबाट हनोकको मृत्यु हुन दिनुभयो। बरु, प्रेरित विवरण यसो भन्छ: “परमेश्‍वरले तिनलाई उठाइलानुभयो।” (उत्पत्ति ५:२४) प्रेरित पावल यस विषयमा यसो भन्छन्‌: “विश्‍वासैबाट हनोक[को] मृत्यु नभएरै [“अन्त कतै लगियो,” NW], र परमेश्‍वरले [“अन्त कतै लग्नुभएको,” NW] हुनाले तिनी फेला परेनन्‌। किनभने उन[“लाई अन्त कतै लग्नु,” NW] भन्दा अघाड़ि उनले परमेश्‍वरलाई रिझाएका थिए भन्‍ने उनको गवाही भएको थियो।”—हिब्रू ११:५.

हनोकको “मृत्यु नभएरै” कसरी “अन्त कतै लगियो?” वा आर. ए. नोक्सको अनुवादमा भनिएझैं “मर्नै नपरीकन” हनोक कसरी लगिए? बिरामी हुनै नपरी वा तिनका शत्रुहरूको हातबाट मृत्युको पीडा महसुसै गर्न नपरी परमेश्‍वरले हनोकलाई जोगाउनुभयो र तिनको जीवनलाई शान्तिमय ढंगमा अन्त गर्नुभयो। हो, यहोवाले हनोकको जीवन ३६५ वर्षको उमेरमै अन्त गर्नुभयो। तिनका दौंतरीहरूको तुलनामा यो अल्पायु थियो।

हनोकले “परमेश्‍वरलाई रिझाएका थिए भन्‍ने . . . गवाही” कसरी दिइयो? तिनीसित के प्रमाण थियो? मसीही मण्डलीले आनन्द उठाउने भावी आध्यात्मिक प्रमोदवनको दर्शन पाउँदा प्रेरित पावललाई “अन्त कतै” [ NW] लगिएको जस्तै सम्भवतः परमेश्‍वरले हनोकलाई क्षणभरको लागि लट्ठ पार्नुभयो होला। (२ कोरिन्थी १२:३, ४) हनोकले परमेश्‍वरलाई खुशी तुल्याइरहेका थिए भन्‍ने प्रमाणमा तिनलाई भावी पार्थिव प्रमोदवनको झलक दिएको हुनसक्छ जहाँ सबै जीवित प्राणीहरूले परमेश्‍वरको सार्वभौमिकतालाई समर्थन गर्नेछन्‌। सम्भवतः हनोकले यस आनन्दमय दर्शन देखिरहेको बेला परमेश्‍वरले तिनलाई पुनरुत्थानको समय नभएसम्म मृत्युको गहिरो निद्रामा पार्नुभयो। ‘आजसम्म कसैलाई मोशाको चिहान थाह’ छैन, त्यसरी नै यहोवाले हनोकको शरीरलाई पनि अन्त कतै लैजानुभएको हुनसक्छ।—हिब्रू ११:५; व्यवस्था ३४:५, ६; यहूदा ९.

भविष्यवाणीको पूर्ति

आज यहोवाका साक्षीहरू हनोकको भविष्यवाणीको महत्त्वबारे घोषणा गर्छन्‌। परमेश्‍वरले निकट भविष्यमा ईश्‍वरहीन संसारलाई नाश गर्नुहुँदा यो कसरी पूरा हुनेछ भनी तिनीहरू धर्मशास्त्रबाट देखाउँछन्‌। (२ थिस्सलोनिकी १:६-१०) यहोवाका साक्षीहरूले सुनाउने यो सन्देश मानिसहरूलाई मन परेको छैन किनभने तिनीहरूको सन्देश संसारको विचारधारा तथा लक्ष्यसित पटक्कै मिल्दैन। तिनीहरू आफूले सामना गर्नुपरेको सतावट देखेर छक्क पर्दैनन्‌ किनभने येशूले आफ्ना अनुयायीहरूलाई यस्तो चेताउनी दिनुभयो: “मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ।”—मत्ती १०:२२; यूहन्‍ना १७:१४.

तथापि, हनोकजस्तै वर्तमान समयका मसीहीहरू पनि शत्रुहरूको हातबाट बचाइनेछन्‌ भनेर विश्‍वस्त छन्‌। प्रेरित पत्रुसले यसो लेखे: “भक्‍तहरूलाई परीक्षाबाट बचाउन र अभक्‍तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न प्रभु जान्‍नुहुन्छ।” (२ पत्रुस २:९) परमेश्‍वरले कुनै समस्या वा कठिन परिस्थिति हटाउन उपयुक्‍त ठान्‍नु होला। अहिले कुनै सतावटहरू सामना गर्नुपरेको छैन होला। सतावट भोग्नै परे तापनि आफ्ना जनहरूले परीक्षाहरू सहनसकोस्‌ भनी उहाँले “उम्कने बाटो पनि दिनुहुन्छ।” यहोवाले आवश्‍यक परेमा “असामान्य शक्‍ति[समेत]” दिनुहुन्छ।—१ कोरिन्थी १०:१३; २ कोरिन्थी ४:७, NW.

यहोवा “उहाँलाई खोज्नेहरूलाई प्रतिफल” दिनुहुन्छ। त्यसैले आफ्ना विश्‍वासी सेवकहरूलाई अनन्त जीवनको आशिष्‌ पनि दिनुहुन्छ। (हिब्रू ११:६) यसको अर्थ तिनीहरूमध्ये अधिकांशले पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउनेछन्‌। अतः, हनोकजस्तै हामी पनि निडरतासाथ परमेश्‍वरको सन्देश घोषणा गरौं। विरोधको बावजूद हामी विश्‍वासपूर्वक यसो गरिरहन अघि बढौं।

[फुटनोटहरू]

a हनोक जन्मिंदा आदम ६२२ वर्षका थिए। आदमको मृत्युपछि पनि हनोक झन्डै ५७ वर्ष बाँचे। तसर्थ, तिनीहरूलाई एकअर्काको जीवनमा भएका घटनाहरूबारे केही हदसम्म थाह थियो।

b युनानी शब्द मार्टियस-लाई हिब्रू १२:१ मा “गवाही” भनी अनुवाद गरिएको छ। भुयस्ट वर्ड स्टडिज फ्रम द ग्रीक न्यु टेस्टामेन्ट-अनुसार (अंग्रेजी) यस शब्दले “आफूले देखेको वा सुनेको वा अरू कसै गरी थाह पाएको कुराबारे गवाही दिने वा गवाही दिनसक्ने व्यक्‍तिलाई” बुझाउँछ। निजेल टर्नरद्वारा लिखित मसीही शब्दहरू-अनुसार (अंग्रेजी) त्यस शब्दको अर्थले त्यस्तो व्यक्‍तिलाई बुझाउँछ जसले “आफ्नो व्यक्‍तिगत अनुभव . . . र सत्य तथा विचारधाराहरूबारे दृढ विश्‍वासको आधारमा कुनै कुरा बताउँछ।”

[पृष्ठ ३०-मा भएको पेटी]

परमेश्‍वरको नाउँ अपवित्र पारियो

हनोक जन्मनुभन्दा लगभग चार शताब्दीअघि आदमको नाति एनोश जन्मे। उत्पत्ति ४:२६ यसो भन्छ: “त्यस समयदेखि मानिसले परमप्रभुको नाउँको पुकार गर्न शुरू गरे।” केही हिब्रू भाषाविद्‌हरूअनुसार यो पद, परमेश्‍वरको नाउँ “अपवित्र ढंगमा” पुकार्न थालियो वा त्यस नाउँलाई “अपवित्र गरियो” हुनुपर्ने हो भन्छन्‌। त्यो समयबारे जेरूशलेम टार्गम यसो भन्छ: “त्यस पुस्तादेखि मानिसहरूले मूर्तिहरू बनाउने गल्ती गरे र वचनमा पाइने प्रभुको नाउँ चलाएर आफ्नो मूर्तिहरूको नाउँ राखे।”

एनोशको समयमा यहोवाको नाउँको व्यापक दुरुपयोग भयो। या मानिसहरूले ईश्‍वरीय नाउँ आफ्नो निम्ति चलाएको हुनसक्छ वा उपासनामा यहोवा परमेश्‍वरसामु पुग्न ती नाउँ भएकैहरू मार्फत जानुपर्छ भन्‍ने दाबी गरेको हुनसक्छ। वा तिनीहरूले ईश्‍वरीय नाउँ आफ्ना मूर्तिहरूलाई राखेका हुनसक्छन्‌। जे होस्‌, शैतान अर्थात्‌ दियाबलले मानवजातिलाई मूर्तिपूजाको पासोमा नराम्रोसित फसाएको थियो। हनोक जन्मँदा त साँचो उपासना गर्नेहरू फाटफुट मात्र देखिन्थे। हनोकजस्तै सत्यअनुरूप जीवन बिताउने र त्यसको प्रचार गर्नेहरूलाई मानिसहरू मन पराउँदैनन्‌ थिए र तिनीहरू सतावटको तारो बन्थे।—मत्ती ५:११, १२ तुलना गर्नुहोस्‌।

[पृष्ठ ३१-मा भएको पेटी]

के हनोक स्वर्ग गए?

“विश्‍वासबाटै हनोक[को] मृत्यु नभएरै [“अन्त कतै लगिए,” Nw]।” हिब्रू ११:५ को यस भागलाई अनुवाद गर्दा केही बाइबल अनुवादहरूले हनोक वास्तवमा मरेनन्‌ भन्‍ने अर्थ बुझाएको पाइन्छ। उदाहरणका लागि जेम्स मोफ्याटद्वारा लिखित अ न्यु ट्रान्सलेशन अफ द बाइबल यसो भन्छ: “विश्‍वासी भएकोले हनोक स्वर्गमा लगिए र तिनी मर्नै परेन।”

तथापि, हनोकको समयभन्दा लगभग ३,००० वर्षपछि येशूले यसो भन्‍नुभयो: “स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लिगएको छैन।” (यूहन्‍ना ३:१३) येशूले उक्‍त कुरा भन्‍नुहुँदा उहाँ स्वयं पनि स्वर्गमा उक्लिनुभएको थिएन।—लूका ७:२८ तुलना गर्नुहोस्‌।

प्रेरित पावलअनुसार मेघका गवाहीहरूमध्ये हनोकलगायत अन्य थुप्रै साक्षीहरू ‘सबै मरे’ र “यिनीहरू सबैले, तिनीहरूका विश्‍वासैद्वारा आफ्ना गवाही पाएका थिए, तापनि प्रतिज्ञाको कुराचाहिं पाएनन्‌।” (हिब्रू ११:१३, ३९) किन? किनभने हनोकलगायत सबै मानवहरूले आदमबाट वंशानुगत पाप पाएका छन्‌। (भजन ५१:५; रोमी ५:१२) मुक्‍ति पाउने एक मात्र माध्यम ख्रीष्ट येशूको छुडौतीको बलिदान हो। (प्रेरित ४:१२; १ यूहन्‍ना २:१, २) हनोकको समयमा छुडौतीको मोल तिरिसकेको थिएन। तसर्थ, हनोक स्वर्गमा गएनन्‌ तर यसै पृथ्वीमा पुनरुत्थान हुने आशामा मृत्युको निद्रामा परेका छन्‌।—यूहन्‍ना ५:२८, २९.

[पृष्ठ २९-मा भएको चित्रको स्रोत]

Reproduced from Illustrirte Pracht - Bibel/Heilige Schrift des Alten und Neuen Testaments, nach der deutschen Uebersetzung D. Martin Luther’s

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने