प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ५/१ pp. १८-२२
  • “सबै विवाह चाहिं आदरणीय होस्‌।”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सबै विवाह चाहिं आदरणीय होस्‌।”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बदलिंदो विचारधारा
  • मसीही मण्डलीमाथि असर
  • लोभिएर परीक्षामा पर्नु
  • प्रतिरोधको कुञ्जी
  • सबैले सामना गर्नुपर्ने परीक्षाहरू
  • वर्तमान संसारमा विवाह सफल हुन सक्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवा तपाईंको वैवाहिक सम्बन्ध बलियो बनाउनुहुन्छ र जोगाउनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • ‘विवाह आदरणीय होस्‌’
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • विवाह टुट्‌नै लागेको छ भने
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ५/१ pp. १८-२२

“सबै विवाह चाहिं आदरणीय होस्‌।”

“सबै विवाह चाहिं आदरणीय होस्‌, ओछ्यान नबिटुलिओस्‌।”—हिब्रू १३:४

१. सफल विवाहबारे मानिसहरूले के कस्ता कुरा सिकेका छन्‌?

स जिलैसित छुटानाम गर्नु मिल्ने आजको युगमा पनि लाखौं मानिसहरूले स्थायी वैवाहिक सम्बन्धको आनन्द उठाइरहेछन्‌। व्यक्‍तित्व र संस्कारका भिन्‍नताहरूको बावजूद, तिनीहरूले सफलताको कुञ्जी भेट्टाएका छन्‌। यसप्रकारका विवाहहरू यहोवाका साक्षीहरूको माझमा देख्न सकिन्छ। हुनःत, यी दम्पतीहरूमध्ये धेरैजसोले आफ्नो वैवाहिक जीवनमा दुःख-सुख दुवै झेलेको र एक​अर्काको विरुद्धमा केही गुनासोहरू पनि भएको कुरा स्वीकार्ने छन्‌। तापनि, वैवाहिक जीवनमा आउने सानुतिनु आँधीबेह्रीलाई पार गर्दै तिनीहरूले आफ्नो विवाहको जहाजलाई ठीक मार्गमा हिंडाँउन सिकेका छन्‌। यसमा तिनीहरूलाई मदत दिने केही कुराहरू के हुन्‌?—कलस्सी ३:१३.

२. (क) विवाहलाई बल दिने केही सकारात्मक तत्वहरू के हुन्‌? (ख) विवाहलाई बिगार्न सक्ने केही तत्वहरू के हुन्‌? (पाना २०-मा दिएको बाकस हेर्नुहोस्‌)

२ सुखी र स्थायी मसीही वैवाहिक जीवन बिताएकाहरूले गरेको टिप्पणीबाट धेरै कुरा बुझ्न सकिन्छ। विवाह गरेर १६ वर्ष बिताइ सकेका एकजना पतिले यसो भने: “समस्या उठ्‌दा, हामीले जहिले पनि एकअर्काको विचारलाई सुनी दिने प्रयास गरेका छौं।” यस टिप्पणीमा खुल्लमखुल्ला गरिने कुराकानीलाई महत्त्व दिएको छ र धेरै विवाहहरूलाई स्थायित्व दिने यो एउटा अत्यावश्‍यक विषय हो। विवाह गरेर ३१ वर्ष बिताइसकेकी एउटी पत्नीले यसो भनिन्‌: “एकअर्काको हात समात्नु र अन्य रमाइलो कुराहरू गरेर आफ्नो प्रेमलाई सधैं ताजा राख्नु हाम्रो जीवनमा सधैं एउटा प्राथमिकता रहेको छ।” र कुराकानीको यो एउटा अर्को पक्ष हो। विवाह गरेर ४० वर्ष बिताइसकेको अर्को दम्पतीले चाहिं एउटा मस्त स्वभाव कायम राख्नु, आफ्नो र एकअर्काका गल्तीहरूलाई हाँसेर उडाउन सक्नुमाथि जोड दिए। एकअर्काको राम्रो-नराम्रो दुवै पक्ष देखेपछि पनि एकअर्काप्रति वफादार प्रेम दर्साउन सक्नु एउटा अर्को मदतकारी कुरा हो भनी तिनीहरूले भने। आफ्ना गल्तीहरूलाई स्वीकार्न र क्षमा माग्न राजी हुने विषयबारे पनि पतिले चर्चा गरे। मेल-मिलाप गर्ने भाव जहाँ हुन्छ, त्यहाँ विवाहलाई अन्त्य गर्नेभन्दा छाँटकाँट ल्याउने युक्‍ति अपनाइन्छ।—फिलिप्पी २:१-४; ४:५, किङ्‌गडम इन्टरलिन्यर.

बदलिंदो विचारधारा

३, ४. वैवाहिक इमान्दारी सम्बन्धी विचारधारामा के कस्ता परिवर्तन भएका छन्‌? के तपाईं केही उदाहरणहरू दिन सक्नुहुन्छ?

३ बितेका केही दशकहरूमा वैवाहिक इमान्दारी सम्बन्धी विचारधारामा संसारभरि निकै नै परिवर्तन आएको छ। व्यभिचार जस्तो खराब कुरा पनि कुनै कुनै विवाहित व्यक्‍तिहरूको नजरमा एउटा आधुनिक प्रेमसम्बन्ध मात्र हुन गएको छ। विशेषगरी, आफ्नो पति वा पत्नीलाई यस प्रेमसम्बन्धको जानकारी छ र तिनले त्यसलाई स्वीकार्छन्‌ भने यो कुनै गलत कार्य होइन भनी तिनीहरू ठान्छन्‌।

४ यस स्थितिबारे एकजना मसीही निरीक्षकले यो टिप्पणी गरे: “एउटा नैतिक स्तरअनुसार जीवन बिताउने प्रयास गर्नु नै संसारले छाडी सक्यो। नैतिक शुद्धता पुरानो फेसन भइ सक्यो।” राजनीति, खेलकुद र मनोरञ्जनको संसारमा ख्यातिप्राप्त व्यक्‍तिहरूले खुल्लमखुल्ला बाइबलका नैतिक स्तरहरूको अवहेलना गर्छन्‌। तापनि, फेरि ती व्यक्‍तिहरूको नै जयजयकार गरिन्छ। जुनसुकै गलत वा भ्रष्ट कार्य गर्दा अलिकता पनि लाज मान्‍नु पर्दैन। समाजका माथिल्लो श्रेणीका व्यक्‍तिहरू बीच नैतिक शुद्धता र निष्ठालाई बिरलै महत्त्व दिने गरिन्छ। यसकारण, जे जे बराज्यू, सो सो नाति भन्दै जनसाधारणले त्यही गण्यमान्य भनौंदाहरूको उदाहरण अनुकरण गर्छन्‌। जुन कुराहरूको परमेश्‍वर भर्त्सना गर्नुहुन्छ, त्यही कुराहरूलाई तिनीहरू समर्थन गर्छन्‌। पावलले वर्णन गरे झैं: “[तिनीहरूले] निर्दयी भएर लालचसाथ सारा अशुद्ध काम गर्नाको निम्ति आफैलाई कामोद्दीपनामा सुम्पिदिए।”—एफिसी ४:१९; हितोपदेश १७:१५; रोमी १:२४-२८; १ कोरिन्थी ५:११.

५. (क) व्यभिचारबारे परमेश्‍वरको अडान के हो? (ख) बाइबलमा “करनी” शब्दले कुनकुन कुरालाई समावेश गर्छ?

५ परमेश्‍वरका सिद्धान्तहरू बदलिएका छैनन्‌। उहाँको नजरमा विवाह नगरीकन सहवास गर्नु करनी हो। वैवाहिक बेइमानी अझ पनि व्यभिचार हो।a प्रेरित पावलले स्पष्टगरी यसो भने: “अधर्मीहरू परमेश्‍वरको राज्यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाह छैन? न ठगियौ। व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरूषगामीहरू . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैन। औ तिमीहरूमा कोही कोही यस्तै थिए, तर प्रभु येशू ख्रीष्टको नाउँमा, र हाम्रा परमेश्‍वरका आत्माले तिमीहरू पखालिएका, पवित्र भएका र धर्मी ठहरिएका छौ।”—१ कोरिन्थी ६:९-११.

६. पहिलो कोरिन्थी ६:९-११-मा उल्लिखित पावलका शब्दहरूमा हामी के प्रोत्साहन पाउन सक्छौं?

६ त्यस पदमा पाइने एउटा प्रोत्साहनयुक्‍त कुरा पावलको यो अभिव्यक्‍ति हो: “औ तिमीहरू कोही कोही यस्तै थिए, तर तिमीहरू . . . पखालिएका छौ।” हो, बितेको समयमा संसारका “अन्यजातिहरूको इच्छानुसार” चल्ने धेरै जना अब होसमा आएका छन्‌ र ख्रीष्ट र उहाँको बलिदानलाई स्वीकारेर तिनीहरू पखालिएका छन्‌। परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन तिनीहरूले नैतिक जीवन बिताउन रोजेका छन्‌ र यसको परिणामस्वरूप तिनीहरू पहिलेभन्दा धेरै नै आनन्दित छन्‌।—१ पत्रुस ४:३, ४.

७. “अनैतिकताको” परिभाषाबारे के विवाद छ र बाइबलको दृष्टिकोण चाहिं के हो?

७ अर्कोतिर भने नैतिकताबारे संसारको परिभाषा यति अस्पष्ट छ कि त्यो परमेश्‍वरको दृष्टिकोणसित मिल्दैमिल्दैन। एउटा शब्दकोषअनुसार “अनैतिक”-को परिभाषा “चलि​आएको नैतिकताको विपरीत” हो। तर अविवाहित व्यक्‍तिहरू तथा आफ्नो पति वा पत्नी बाहेक अरू नै सित राखिने यौनिक सम्बन्ध र समसमागमीलाई स्वीकार गर्ने आज “चलिएको नैतिकता” बाइबलको दृष्टिकोणमा अनैतिकता हो। हो, बाइबलको दृष्टिमा अनैतिकता परमेश्‍वरको नैतिक नियमको घोर उल्लङ्‌घन हो।—प्रस्थान २०:१४, १७; १ कोरिन्थी ६:१८.

मसीही मण्डलीमाथि असर

८. अनैतिकताको असर मसीही मण्डलीभित्र हुनेहरूमाथि पनि कसरी पर्न सक्छ?

८ आज अनैतिकता यति व्यापक छ कि त्यसले मसीही मण्डलीभित्र हुनेहरूमाथि पनि दबाव ल्याउन सक्छ। तिनीहरूमाथि त्यसले जताततै फैलिएको अश्‍लील टेलभिजन कार्यक्रमहरू, भिडिओ र अनुचित कामवासना जगाउने पुस्तकहरूद्वारा प्रभाव पार्न सक्छ। हुनःत मसीहीहरूको एउटा सानो भागमाथि मात्र यसको असर परेको छ। तापनि एकजना मसीहीलाई नसुहाउँदो प्रकारको आचरण अपनाउने र पश्‍चाताप पनि नगर्ने जति जना यहोवाका साक्षीहरूमध्येबाट बहिष्कृत हुन्छन्‌, तिनीहरूमध्ये धेरै जनाले कुनै नकुनै प्रकारको यौनसम्बन्धी अनैतिकतामा भाग लिएका हुन्छन्‌। तर यहाँ राम्रो कुरा के हो भने, यसप्रकार बहिष्कृत भएका धेरैजसो व्यक्‍तिहरूले अन्ततोगत्वा आफ्ना गलतीहरू स्वीकार्छन्‌, एउटा शुद्ध जीवनशैली सुरु गर्छन्‌ र केही समयपछि मण्डलीमा पुनःस्थापित हुन्छन्‌।—लूका १५:११-३२-सित तुलना गर्नुहोस्‌।

९. होसियारीसाथ नबस्नेहरूलाई शैतानले कसरी खेलाउँछ?

९ शैतान निःसन्देह एउटा गर्जने सिंह झैं होसियारीसाथ नबस्नेहरूलाई निल्न घुमी रहेछ। प्रत्येक साल त्यसका धूर्तकार्यहरू अर्थात्‌ “युक्‍तिहरू”-को जालमा होसियारीसाथ नबस्ने मसीहीहरू फँसी रहेका छन्‌। त्यसको संसारको झुकाव सधैं स्वार्थी, विलासी र छाडा छ। त्यसले शरीरको अभिलाषाहरूको पूर्तिलाई ज्यादै महत्त्व दिन्छ। त्यसले संयमलाई तिरस्कार गर्दछ।—एफिसी २:१, २; ६:११, १२, फुटनोट; १ पत्रुस ५:८.

१०. कसकसले परीक्षाको सामना गर्नुपर्छ र किन?

१० अनैतिक कार्य गर्ने परीक्षा मण्डलीमा कसकसले सामना गर्न सक्छन्‌? प्रायः धेरैजसो मसीहीहरूले। चाहे तिनीहरू स्थानीय मण्डलीका प्राचीनहरू, परिभ्रमण निरीक्षकहरू, बेथलमा कामगर्नेहरू, महिनामा धेरै समय प्रचार कार्यमा बिताउने अग्रगामीहरू, परिवार हुर्काउनमा व्यस्त रहने आमा-बाबुहरू अथवा साथी-सङ्‌गीहरूको दबावको सामना गर्ने जवान मानिसहरू नै किन नहोऊन्‌। शारीरिक परीक्षा सबैलाई पर्न सक्छ। यौनिक आकर्षण थाहै नपाईकन जाग्न सक्छ। अतः पावलले यसप्रकार लेखे: “यसकारण म खडा छु भन्‍ने जसले विचार गर्दछ, त्यो होशियार रहोस्‌, नत्रता त्यो लड्‌छ। मानिसले [र स्वास्नीमानिसले] सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ।” यो एउटा दुःखलाग्दो कुरा हो, तर विशेष जिम्मेवारी उठाएर बसेका केही मसीहीहरू पनि स्वयं अनैतिकताको जालमा फँसेका छन्‌।—१ कोरिन्थी १०:१२, १३.

लोभिएर परीक्षामा पर्नु

११-१३. के कस्ता परिस्थितिहरूले कसैकसैलाई अनैतिकतातर्फ लगेको छ?

११ कस्ता-कस्ता परीक्षाहरू र परिस्थितिहरूवश केही व्यक्‍तिहरू करनी र व्यभिचार गर्ने मूर्खतापूर्ण बाटोतर्फ लागेका छन्‌? ती धेरै छन्‌, जटिल छन्‌ र देश अथवा संस्कृतिअनुसार भिन्‍न पनि हुन सक्छन्‌। तथापि, केही यस्ता आधारभूत परिस्थितिहरू छन्‌ जो धेरै देशहरूमा देखा पर्दछन्‌। उदाहरणका लागि, कसैकसैले यस्ता भोजहरू आयोजित गरेका छन्‌ जहाँ मद्य पेयहरू प्रशस्त मात्रामा उपलब्ध हुन्छन्‌। कसैकसैले चाहिं उताउलो सांसारिक सङ्‌गीत र कामवासना जगाउने प्रकारको नाच रुचाएका छन्‌। अफ्रिकाका कुनै कुनै इलाकाहरूमा चाहिं विश्‍वासमा नभएका धनसम्पन्‍न मानिसहरू छन्‌ जसले रखौटेहरू राख्ने गर्छन्‌; एउटी रखौटे हुनमा अनैतिकता समावेश भए तापनि यसमा पाइने आर्थिक सुरक्षाको लोभमा फँसेर केही आइमाईहरूले उपपत्नी हुनु नै रुचाएका छन्‌। साथै केही मसीही पतिहरू चाहिं आफ्नो परिवारलाई घरैमा छाडेर खानीहरू अथवा कुनै अन्य ठाउँमा काम गर्न तथा जीविका चलाउन गएका छन्‌। यस्तो हुँदा विभिन्‍न ढङ्‌गमा र हदसम्म तिनीहरूको इमान्दारी र वफादारीको जाँच भएको छ। सायद तिनीहरू घरमै बसेको भए यस्तो हुने थिएन।

१२ विकसित देशहरूमा चाहिं केही मानिसहरूले एकजना विपरीत लिङ्‌गको व्यक्‍तिसित एउटा अर्को मानिस उपस्थित नभएको बेलामा अक्सर समय बिताउने गरेका छन्‌। उदाहरणका लागि, मोटर​भित्रको एकान्तमा एकजनासित मात्र बसेर मोटर हाँक्नु सिक्ने गर्छन्‌। यसो गर्दागर्दा तिनीहरू शैतानको जालमा फँसेका छन्‌।b गोठाला काम गर्न हिंडेका प्राचीनहरू पनि यसबारे सतर्क हुनुपर्छ। कुनै बहिनीलाई सम्झाउँदा तिनीहरू ती बहिनीसित एकान्तमा बस्नु उचित होइन। कुराकानी अचानक एउटा भावुक मोडमा पुग्न सक्छ र दुवैलाई अप्ठ्यारो लाग्ने परिस्थिति खडा हुन सक्छ।—मर्कूस ६:७; प्रेरित १५:४०-सङ्‌ग तुलना गर्नुहोस्‌.

१३ उक्‍त परिस्थितिहरूमा केही मसीहीहरूले लापरवाही गरेका छन्‌ र अनैतिक कार्यहरू गर्न पुगेका छन्‌। प्रथम शताब्दीमा झैं, तिनीहरूले आफूलाई ‘लोभिएर परीक्षामा पर्न’ दिंदै पाप गर्न पुगेका छन्‌।—याकूब १:१४, १५; १ कोरिन्थी ५:१; गलाती ५:१९-२१.

१४. व्यभिचारको पछाडि हुने एउटा तत्त्व स्वार्थ हो भन्‍नु किन मिल्छ?

१४ बहिष्कृत भएकाहरूको परिस्थिति राम्ररी जाँचेर हेर्दा सबै अनैतिक कार्यहरूको पछाडि केही आधारभूत्‌ तत्वहरू देखिन्छन्‌। एउटा त स्वार्थ हो, कुनै नकुनै रूपमा। हामी यसो किन भन्छौं? किनभने व्यभिचारले कुनै नकुनै निर्दोष व्यक्‍ति अथवा व्यक्‍तिहरूलाई चोट पुग्छ। यसरी चोट खाने व्यक्‍ति सम्भवतः पति वा पत्नी हुन सक्छन्‌। छोरा-छोरीहरू छन्‌ भने तिनीहरूलाई पनि निश्‍चय नै चोट पुग्नेछ। व्यभिचारको कारण छुटानाम गर्दा सबैभन्दा बढी दुःख पाउने नै छोरा-छोरी हुन्छ। तर व्यभिचार गर्ने व्यक्‍तिले चाहिं आफ्नै आनन्द र सुविधाबारे मात्र सोचेको हुन्छन्‌। यसो गर्नु स्वार्थी हुनु हो।—फिलिप्पी २:१-४.

१५. के कारणहरूले गर्दा व्यभिचार गर्न सकिन्छ?

१५ व्यभिचार प्रायः अपर्झट कुनै कमजोरीको कारण हुने गलती होइन। बरु केही समयदेखि बिस्तारै, थाहै नपाउने गरी आफ्नो वैवाहिक सम्बन्ध बिग्रँदै गएको हुन्छ। सायद पति-पत्नीबीचको कुराकानी पनि भावशून्य भइ सकेको हुन सक्छ। एकअर्कालाई ढाडस दिन छाडी सकेको हुनु सक्छ। एउटाले अर्कोको मूल्याङ्‌कन नगरेको पनि धेरै भइसकेको होला। केही समयदेखि एकअर्काको यौनिक ईच्छाहरूलाई पूरा नगरेको हुनु सक्छ। तर व्यभिचार हुँदा मुख्यतः परमेश्‍वरसँगको सम्बन्ध बिग्रदै गइसकेको हुन्छ। यहोवा हाम्रा सबै सोचविचार र कामकुरा जान्‍नु हुने परमेश्‍वर हुनुहुन्छ भन्‍ने तथ्य धमिलो हुँदै गएको हुन्छ। व्यभिचार गर्नेको हृदयमा “परमेश्‍वर” सम्भवतः एउटा शब्द मात्र अथवा आफ्नो दैनिक जीवनसित केही सम्बन्धै नभएको एकजना अस्पष्ट व्यक्‍ति भइ सक्नु भएको होलान्‌। यस्तो हुँदा परमेश्‍वरको विरुद्धमा पाप गर्न सजिलो हुन्छ।—भजनसंग्रह ५१:३, ४; १ कोरिन्थी ७:३-५; हिब्रू ४:१३; ११:२७.

प्रतिरोधको कुञ्जी

१६. एकजना मसीही बेइमान हुने परीक्षामा पर्दा उसले त्यसको कसरी प्रतिरोध गर्न सक्छ?

१६ वैवाहिक बेइमानीको मार्गतिर लैजाने परीक्षा कुनै मसीहीको सामने आइपरेमा तिनले कुन कुन कुरालाई ध्यान दिनुपर्छ? सर्वप्रथम, बाइबलका सिद्धान्तहरूमा ठोस आधार भएको मसीही प्रेमको अर्थमाथि विचार गर्नु आवश्‍यक हुन्छ। शारीरिक अथवा कामुक प्रेमको भावावेशमा परेर हामी कहिले पनि स्वार्थको भीरबाट हामफाल्दै अरूलाई कष्ट दिनुहुँदैन। बरु हामीले परिस्थितिलाई यहोवाको दृष्टिकोणबाट हेर्नुपर्छ। त्यसबाट मण्डली र यहोवाको नाउँमाथि आउने अपमानबारे सोच्नु पर्छ। (भजनसंग्रह १०१:३) यस मामिलामा ख्रीष्टको विचारधारा अपनाएर सोही बमोजिम काम गऱ्‍यौं भने हामी गलती गर्नदेखि बाँच्न सक्छौं। याद राख्नुहोस्‌, ख्रीष्टको जस्तो निस्वार्थ प्रेम कहिले टल्दैन।—हितोपदेश ६:३२, ३३; मत्ती २२:३७-४०; १ कोरिन्थी १३:५, ८.

१७. हामीसङ्‌ग विश्‍वासिलोपनाका कुनकुन लाभदायक उदाहरणहरू छन्‌?

१७ प्रतिरोध गर्न सकिने एउटा कुञ्जी आफ्नो विश्‍वास र भविष्यको आशालाई बलियो पार्नु हो। यसको अर्थ येशू मसीहसमेत प्राचीन समयका अन्य निष्ठावान पुरुष र स्त्रीहरूले छाडेका विशिष्ट उदाहरणहरूलाई मनमा सधैं राख्नु हो। पावलले यसो भनेर लेखे: “यसैकारण हामी पनि, यतिका गवाहीका मेघले घेरिएका हुनाले, हर किसिमको टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई पन्छाएर हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौडौं। औ विश्‍वासका कर्त्ता र सिद्ध तुल्यानुहुने येशूलाई हेरौं। जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रुसको शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ। किनभने पापीहरूबाट उहाँको विरूद्धमा भएको यतिका विवादहरू सहनुहुनेलाई विचार गर, औ मन शिथिल भई तिमीहरू थाकेर नजाओ।” (हिब्रू १२:१-३) आफ्नो विवाहको जहाजलाई डुबाइ दिनुको सट्टा त्यसलाई बचाउने उद्देश्‍य राखेर एकजना बुद्धिमान व्यक्‍तिले त्यसको मरम्मत गर्ने तरिकाहरूबारे सोच्ने छन्‌। यसप्रकार धोका र छलको जालबाट बाँच्न सकिन्छ।—अय्यूब २४:१५.

१८. (क) व्यभिचारको वर्णन गर्दा विश्‍वासघात जस्तो शब्द प्रयोग गर्नु किन अनुचित होइन? (ख) आफ्नो वाचालाई पूरा गर्ने सम्बन्धमा परमेश्‍वरको दृष्टिकोण के हो?

१८ अनैतिकतालाई धोका अर्थात्‌ विश्‍वासघात भन्‍नु के अनुचित हो र? विश्‍वासघातको अर्थ कसैले आफूप्रति गरेको विश्‍वास वा राखेको आस्थाको हत्या गर्नु हो। र निश्‍चय पनि सुखमा, दुःखमा, हर अवस्थामा माया गर्ने र हेरविचार गर्ने वचन वैवाहिक वाचामा समावेश हुन्छ। त्यसमा एउटा यस्तो कुरा समावेश हुन्छ जुन आज धेरैको विचारमा वर्तमान तवरतरिकासित मिल्दैन। त्यो हो वैवाहिक वाचा बाँध्दा आफूले दिएको वचन। त्यो वचनलाई तोडनु आफ्नो पति वा पत्नीसित विश्‍वासघात गर्नु हो। वाचाहरू बारे परमेश्‍वरको दृष्टिकोण बाइबलमा स्पष्टसित दिइएको छ: “परमेश्‍वरमा भाकल गर्दा त्यो पूरा गर्न ढिलो नगर्‌, किनभने मूर्खसँग उहाँ प्रसन्‍न हुनुहुन्‍न। जे भाकल गर्दछस्‌ त्यो पूरा गर्‌।”—उपदेशक ५:४.

१९. कुन घटनाको ठीक विपरीत, एकजना साक्षीको पतन हुँदा शैतानले खुसियाली मनाउँछ?

१९ यसमा कुनै शङ्‌का हुनु भएन। एक जना पापीले मुक्‍ति पाउँदा जसरी स्वर्गमा ठूलो आनन्द हुन्छ त्यसरी नै यहोवाका एकजना साक्षीले आफ्नो निष्ठा कायम नराख्दा पृथ्वीमा शैतानको दृश्‍य र अदृश्‍य, दुवै फौजहरूबीच खुसियाली मनाइन्छ।—लूका १५:७; प्रकाश १२:१२.

सबैले सामना गर्नुपर्ने परीक्षाहरू

२०. हामीले परीक्षाको प्रतिरोध कसरी गर्न सक्छौं? (२ पत्रुस २:९, १०)

२० के कुनै कुनै बेला अनैतिकतामाथि विजयी हुनु असम्भव हुन्छ र? के शैतान र हाम्रो शरीर यति बलिया छन्‌ कि तिनको सामने मसीहीहरूले आफ्नो निष्ठा कायम राख्नै सक्‍तैनन्‌? पावलले यी शब्दहरूमा प्रोत्साहन दिन्छन्‌: “तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।” आजको संसारमा हामी परीक्षाहरूदेखि सम्पूर्णतया उम्कन सक्‍तैनौं। तापनि परमेश्‍वरलाई प्रार्थना गऱ्‍यौं भने हामी जुनसुकै परीक्षाको सामना गर्न र धीरज धर्न सक्नेछौं।—१ कोरिन्थी १०:१३.

२१. हाम्रो आउँदो लेखमा कुन कुन प्रश्‍नको उत्तर पाइनेछ?

२१ परीक्षाहरूको सामने धैर्य धारण गरेर विजयी हुनका लागि हामीलाई परमेश्‍वरले के मदत दिनुहुन्छ? हाम्रो विवाह, परिवार, साथै यहोवाको र मण्डलीको नाउँ बचाउनका लागि हामीलाई व्यक्‍तिगत रूपमा के चाहिन्छ? यी प्रश्‍नहरूको विचार हाम्रो आउँदो लेखमा गरिनेछ। (w93 2/15)

के तपाईंलाई याद छ?

▫ विवाहलाई बलियो पार्न मदत दिने केही तत्वहरू के हुन्‌?

▫ नैतिकताबारे संसारको दृष्टिकोणलाई किन अपनाउनु हुँदैन?

▫ अनैतिकतातर्फ लैजान सक्ने केही परीक्षाहरू र परिस्थितिहरू के हुन्‌?

▫ सफलतापूर्वक पापको प्रतिरोध गर्ने कुञ्जी के हो?

▫ परीक्षाहरू आइपर्दा परमेश्‍वरले कसरी मदत दिनुहुन्छ?

[फुटनोटहरू]

a “मत्ती ५:३२ र १९:९-मा प्रयोग गरिए अनुसार, ‘करनी’ शब्दले साधारणतया वैवाहिक सम्बन्ध बाहिर राखिने हरप्रकारको अनुचित वा गैर-कानुनी यौनिक सम्बन्धलाई सङ्‌केत गर्छ। ती पदहरूमा प्रयोग गरिएको युनानी शब्द पोरनिया-मा कमसेकम एकजना मानिसको जननेन्द्रियहरूको अति नै अनैतिक प्रयोग सम्मिलित हुन्छ; साथै, त्यस अनैतिक कार्यमा अर्को एकजना पुरुष, स्त्री वा जनावर समेत समावेश भएको हुनसक्थ्यो।” (द वचटावर, मार्च १५, १९८३, पाना ३०) व्यभिचार: “कुनै विवाहित व्यक्‍ति र कानुनन्‌ तिनको पति वा पत्नी बाहेक कुनै अर्कै व्यक्‍तिसित स्वेच्छासाथ गरिएको यौनिक सम्भोग।”—दी अमेरीकन्‌ हेरिटेज डिक्सनेरी अफ दी इङ्‌ग्लिस लेङ्‌गवेज.

b एकजना भाइले एउटी बहिनीलाई मोटरमा कतै पुऱ्‍याउनु उचित हुने परिस्थितिहरू निश्‍चय नै हुनेछन्‌। यस्तो परिस्थितिहरूको गलत अर्थ लाउनु ठीक होइन।

[पृष्ठ ८-मा भएको पेटी]

स्थायी वैवाहिक सम्बन्धहरूमा सामान्यतः पाइने तत्वहरू

▫ बाइबलका सिद्धान्तहरूमा दृढतासाथ अडिग रहनु

▫ दुवै पति र पत्नीको यहोवासित बलियो सम्बन्ध हुनु

▫ पतिले आफ्नी पत्नीका भावनाहरू र विचारहरूलाई कदर गर्छ

▫ दिन-दिनै राम्ररी कुराकानी गर्नु

▫ एकअर्कालाई खुसी पार्ने कोसिस गर्नु

▫ मस्त स्वभाव राख्नु; आफूले गरेका गलतीहरूलाई हाँसेर उडाउन सक्नु

▫ खुलामनले आफ्ना गलतीहरूलाई स्वीकार्नु; खुलामनले क्षमा गर्न सक्नु

▫ आफ्नो प्रेमलाई ताजा राख्नु

▫ छोरा-छोरीलाई हुर्काउने र अनुशासन दिने काम गर्दा एकमतको हुनु

▫ यहोवासित नियमित तवरमा सङ्‌गैबसेर प्रार्थना गर्नु

विवाहलाई बिगार्ने नकारात्मक तत्वहरू

▫ स्वार्थ र जिद्दी

▫ सङ्‌गसङ्‌गै मिलेर कामकुरा नगर्ने

▫ आपसमा खुलामनले कुराकानी नगर्ने

▫ पति-पत्नीबीच आवश्‍यक छल-फलको अभाव

▫ रूपैया-पैसाको अव्यवस्थित सञ्चालन

▫ आफ्नो वा सौतेनी छोरा-छोरीहरूसित व्यवहार गर्दा बेग्ला-बेग्लै स्तरको प्रयोग

▫ अबेरसम्म काम गर्ने अथवा अन्य कामकुराहरूलाई पूरा गर्दै परिवारको हेलचक्राइँ गर्ने पति

▫ परिवारको आध्यात्मिक आवश्‍यकताहरूको हेरविचार गर्न नसक्नु

[पृष्ठ ८-मा भएको चित्र]

विवाहलाई आदरणीय राख्दा स्थायी आनन्द पाउन सकिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने