यहोवा तपाईंको वैवाहिक सम्बन्ध बलियो बनाउनुहुन्छ र जोगाउनुहुन्छ
“परमप्रभुले शहरको रक्षा नगर्नु भएता पाले व्यर्थैमा जागो रहन्छ।”—भज. १२७:१ख.
१, २. (क) चौबीस हजार इस्राएलीले किन इनाम गुमाए? (ख) त्यो घटना हाम्रो लागि किन चेतावनीमूलक छ?
प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा हजारौं इस्राएली पुरुषले ‘मोआबका छोरीहरूसँग व्यभिचार गरे।’ परिणामस्वरूप २४,००० जनालाई यहोवाले नाश गर्नुभयो। इस्राएलीहरूले लामो समयदेखि आशा गरिरहेको इनाम पाउनै लागेका थिए। तर अवैध यौनसम्बन्धमा फसेकोले तिनीहरूले त्यो इनाम गुमाए।—गन्ती २५:१-५, ९.
२ त्यो डरलाग्दो घटना ‘हामीहरूकै चेतावनीको निम्ति लेखिएको हो।’ (१ कोरि. १०:६-११) हामी “अन्तको दिन”-मा बाँचिरहेका छौं; हामी न्यायले बास गर्ने नयाँ संसारको सँघारमै छौं। (२ तिमो. ३:१; २ पत्रु. ३:१३) दुःखको कुरा, आज पनि यहोवाका केही सेवक होसियार नभएकोले अवैध यौनसम्बन्धमा फसेका छन्। तिनीहरूले आफ्नो कामको दुःखलाग्दो परिणाम भोग्दैछन्। तिनीहरूले पश्चात्ताप गरेनन् भने नयाँ संसारमा सधैंभरि बाँच्ने सुअवसर गुमाउनेछन्।
३. दम्पतीहरूलाई यहोवाको डोऱ्याइ र सुरक्षा किन चाहिन्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)
३ आज थुप्रै मानिस अवैध यौनसम्बन्धमा फसेका छन्। त्यसैले आफ्नो वैवाहिक सम्बन्ध जोगाउन दम्पतीहरूलाई यहोवाको डोऱ्याइ र सुरक्षा चाहिन्छ। (भजन १२७:१ पढ्नुहोस्) तिनीहरूले आफ्नो वैवाहिक सम्बन्ध जोगाउन के गर्नुपर्छ? तिनीहरूले आफ्नो हृदय सुरक्षित राख्नुपर्छ, यहोवासित नजिक हुनुपर्छ, नयाँ व्यक्तित्व धारण गर्नुपर्छ, खुलस्त कुराकानी गर्नुपर्छ र एकअर्कालाई दिनुपर्ने हक दिनुपर्छ। यी कुराहरूबारे यस लेखमा छलफल गर्नेछौं।
आफ्नो हृदय सुरक्षित राख्नुहोस्
४. केही ख्रीष्टियन कसरी अवैध यौनसम्बन्धमा फसेका छन्?
४ अवैध यौनसम्बन्ध राख्ने प्रलोभन आँखाबाट सुरु हुन्छ। येशूले यसो भन्नुभयो, “जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ।” (मत्ती ५:२७, २८; २ पत्रु. २:१४) केही ख्रीष्टियन कसरी अवैध यौनसम्बन्धमा फसेका छन्? तिनीहरूले कामवासना जगाउने किताब वा पत्रपत्रिका पढेका छन् अनि इन्टरनेटमा एकदमै छाडा कुराहरू हेरेका छन्। अरू कसै-कसैले भने चलचित्र, टेलिभिजन कार्यक्रम वा रङ्गमञ्चमा देखाइने अश्लील कुराहरू हेरेका छन्। कोही-कोहीचाहिं नाइट क्लब गएका छन्, छाडा नाच-गान हेरेका छन् अनि अरू कोहीचाहिं उत्तेजना जगाउने किसिमको मालिस गराउन मसाज केन्द्रमा गएका छन्। यस्ता कुराहरूले गर्दा केही ख्रीष्टियन अवैध यौनसम्बन्धमा फसेका छन्।
५. हृदय सुरक्षित राख्नु किन आवश्यक छ?
५ कोही-कोही आफ्नो जीवनसाथीसित भन्दा अरूसित नजिक हुन खोज्छन्। यसले गर्दा तिनीहरू अवैध यौनसम्बन्धमा फसेका छन्। अहिलेका मानिसहरू पटक्कै आत्मसंयम देखाउँदैनन्। तिनीहरू हर किसिमको अवैध यौनसम्बन्धलाई स्वीकार्य ठान्छन्। त्रुटिपूर्ण भएकोले हाम्रो हृदय छली छ। त्यसैले हाम्रो हृदयमा अरूप्रति सजिलै अनुचित भावना पलाउन सक्छ। (यर्मिया १७:९, १० पढ्नुहोस्) येशूले पनि यसो भन्नुभएको थियो, “दुष्ट विचार, हत्या, हर किसिमका यौन दुराचार . . . मनबाटै निस्कन्छ।”—मत्ती १५:१९.
६, ७. (क) मनमा अनुचित इच्छा पलायो भने के हुन्छ? (ख) के गरेमा अवैध यौनसम्बन्ध राख्नदेखि जोगिन सकिन्छ?
६ दुई जना व्यक्तिको मनमा एकअर्काप्रति अनुचित इच्छा पलाएपछि के हुन्छ? तिनीहरूले आफ्नो श्रीमान् वा श्रीमतीलाई मात्र बताउन मिल्ने कुराहरू पनि एकअर्कालाई बताउन थाल्छन्। तिनीहरू एकअर्कासित धेरै समय बिताउने बहाना खोज्न थाल्छन्। तिनीहरू एकअर्कालाई बारम्बार भेट्छन् र संयोगले भेटेको भान पार्छन्। तिनीहरू जति घनिष्ठ हुँदै जान्छन्, आफूलाई काबूमा राख्न त्यति नै गाह्रो हुन्छ। तिनीहरूलाई आफू गलत बाटोमा हिंडिरहेको छु भनेर थाह हुन्छ। तर एकअर्कासित धेरै नै नजिक भइसकेकोले छुट्टिन गाह्रो हुन्छ।—हितो. ७:२१, २२.
७ तिनीहरूले यहोवाको नैतिक स्तरलाई पूरै बिर्सन्छन्। अनुचित कुराकानी र मनमा जागेको अनुचित इच्छाले गर्दा तिनीहरूले एकअर्काको हात समाउने, चुम्बन गर्ने, सुमसुम्याउने र यौन इच्छा जगाउने तरिकाले माया देखाउने हदसम्म पुग्छन्, जुन कुराहरू श्रीमान्-श्रीमतीबीच मात्र सीमित हुनुपर्छ। अन्तमा, तिनीहरू ‘आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छन् र परीक्षामा पर्छन्। जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ।’ यस प्रसङ्गमा पाप भनेको अवैध यौनसम्बन्ध हो। (याकू. १:१४, १५) कस्तो दुःखलाग्दो परिणाम! यहोवाको मदत स्वीकारेर वैवाहिक सम्बन्धलाई कदर गर्न सिकेको भए तिनीहरू यस्तो दुःखलाग्दो अवस्थाबाट जोगिन सक्थे। तर वैवाहिक सम्बन्धलाई अझ धेरै कदर गर्न के गर्न सकिन्छ?
यहोवासित नजिक भइरहनुहोस्
८. यहोवासित नजिक भयौं भने अवैध यौनसम्बन्धमा फस्नदेखि कसरी जोगिन सक्छौं?
८ भजन ९७:१० पढ्नुहोस्। यहोवासित नजिक भयौं भने अवैध यौनसम्बन्धमा फस्नदेखि जोगिन सक्छौं। उहाँका मनमोहक गुणहरूबारे सिकेपछि हामी “प्यारा केटाकेटीहरूझैं परमेश्वरको देखासिकी गर्नेहरू” हुन सक्छौं र “प्रेमको बाटोमा” हिंडिरहन सक्छौं। परिणामस्वरूप, हामीले “अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपन”-लाई तिरस्कार गर्ने बल पाउँछौं। (एफि. ५:१-४) “अवैध यौनसम्बन्ध राख्ने अनि आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने मानिसहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ।” यो कुरा राम्ररी बुझेका दम्पतीहरूले एकअर्काप्रति वफादार रहन कोसिस गर्छन्।—हिब्रू १३:४.
९. (क) प्रलोभन आउँदा यूसुफ कसरी वफादार रहिरहन सके? (ख) यूसुफबाट हामी के सिक्न सक्छौं?
९ बेग्लै धर्म मान्ने सहकर्मीहरूसित काम पछि पनि समय बिताएकोले कोही-कोही समस्यामा फसेका छन्। कहिलेकाहीं काम गर्ने समयमा पनि प्रलोभन आउन सक्छ। यूसुफलाई विचार गरौं। तिनलाई पनि काम गर्ने ठाउँमा अवैध यौनसम्बन्ध राख्ने प्रलोभन आयो। मालिककी श्रीमतीले यूसुफमाथि आँखा गाडेकी थिइन्। दिनदिनै उनले यूसुफलाई यौनसम्बन्ध राख्ने दबाब दिन्थिन्। एक दिन उनले “यूसुफको लुगा समातेर भनिन्, ‘मसित सुत्।’” तर यूसुफ त्यहाँबाट भागे। तिनी कसरी वफादार रहिरहन सके? तिनी यहोवासित नजिक भइरहन दृढ थिए। हुन त तिनलाई कामबाट निकालियो र जेलमा हालियो। तर यहोवाले तिनलाई आशिष् दिनुभयो। (उत्प. ३९:१-१२; ४१:३८-४३) काम गर्ने ठाउँमा होऔं वा अन्त कतै, प्रलोभनमा पर्न सक्ने अवस्थाबाट हामी जोगिनुपर्छ।
नयाँ व्यक्तित्व धारण गर्नुहोस्
१०. नयाँ व्यक्तित्व धारण गर्दा वैवाहिक सम्बन्ध कसरी सुरक्षित हुन्छ?
१० “परमेश्वरको असल तथा सही स्तर अनि वफादारीको मागबमोजिम उहाँको इच्छाअनुसार सृष्टि भएको” नयाँ व्यक्तित्वले दम्पतीहरूलाई अवैध यौनसम्बन्धबाट अलग रहन मदत गर्छ। (एफि. ४:२४) नयाँ व्यक्तित्व धारण गरेकाहरूले शरीरका ती अङ्गहरूलाई ‘मार्छन्’, जसमा “अवैध यौनसम्बन्ध, अशुद्धपन, कामवासना, खराब इच्छा अनि लालच”-जस्ता कुइच्छाहरू उत्पन्न हुन्छन्। (कलस्सी ३:५, ६ पढ्नुहोस्) “मार” भन्ने शब्दले शारीरिक कुइच्छाविरुद्ध कडा सङ्घर्ष गर्नु भनी बुझाउँछ। जीवनसाथीबाहेक अरूसित यौनसम्बन्ध राख्ने इच्छा जगाउन सक्ने जुनसुकै कुराहरूबाट हामी अलग रहनेछौं। (अय्यू. ३१:१) यहोवाको इच्छाअनुसार चल्दा “जे कुरा दुष्ट छ, त्यसलाई घृणा” गर्न र ‘जे कुरा असल छ, त्यससित टाँसिरहन’ सिक्नेछौं।—रोमी १२:२, ९.
११. नयाँ व्यक्तित्वले सम्बन्ध कसरी बलियो पार्छ?
११ नयाँ व्यक्तित्व धारण गर्दा हामीले यहोवाका गुणहरूको देखासिकी गरिरहेका हुन्छौं। (कल. ३:१०) श्रीमान्-श्रीमतीले “कोमल करुणा, दया, विनम्रता, कोमलता र धीरज” देखाउँदा सम्बन्ध बलियो हुन्छ। यहोवाले पनि तिनीहरूलाई आशिष् दिनुहुन्छ। (कल. ३:१२) ‘ख्रीष्टको शान्तिले आफ्नो मनलाई नियन्त्रण’ गर्न दिंदा तिनीहरूको सम्बन्ध सुमधुर हुन्छ। (कल. ३:१५) तिनीहरू एकअर्कालाई “कोमल स्नेह” देखाउँछन् भने “एक-अर्काको आदर गर्नमा अगुवाइ” लिन तिनीहरूलाई सजिलो लाग्नेछ।—रोमी १२:१०.
१२. तपाईंको विचारमा वैवाहिक जीवन सुखी बनाउन कस्ता गुणहरू चाहिन्छ?
१२ वैवाहिक जीवन सुखी बनाउन केले मदत गऱ्यो भनेर सोध्दा सिडले यसो भने, “हामी एकअर्कालाई माया गर्छौं अनि एकअर्कासित कोमल व्यवहार पनि गर्छौं।” उनकी श्रीमती सोनिया यसो भन्छिन्, “वैवाहिक जीवनमा दया पनि नभई नहुने गुण हो। अनि नम्र हुन सधैं सजिलो नभए पनि प्रयास गरिरहनुपर्छ।”
खुलस्त कुराकानी गर्नुहोस्
१३. वैवाहिक सम्बन्ध बलियो बनाउन के चाहिन्छ? किन?
१३ वैवाहिक सम्बन्ध बलियो बनाउन एकअर्कासित कुराकानी गर्दा आदर देखाउनुपर्छ। केही मानिस कहिल्यै नचिनेको व्यक्तिसित आदरसाथ कुरा गर्छन् अनि घरमा पालेको जनावरलाई समेत माया गरेर बोलाउँछन्। तर आफ्नै श्रीमान् वा श्रीमतीसित कुरा गर्दा भने उनीहरूको बोलीमा पटक्कै आदर झल्किंदैन। श्रीमान्-श्रीमतीले “कटुता, रिसाउने, क्रोध गर्ने, चिच्याउने र दुर्वचन बोल्ने” बानी त्याग्नुपर्छ। नत्रता उनीहरूको सम्बन्ध बिस्तारै कमजोर हुन्छ। (एफि. ४:३१) घोचपेच गर्ने र एकअर्कालाई चोट पुऱ्याउने बोलीले वैवाहिक जीवनलाई बिगार्छ। अर्कोतर्फ, दम्पतीले एकअर्कासित दया, कोमलता र करुणा देखाउँदै कुराकानी गरेमा सम्बन्ध बलियो हुन्छ।—एफि. ४:३२.
१४. श्रीमान्-श्रीमतीले के गर्नु हुँदैन?
१४ बाइबल भन्छ, “चूप्प लाग्ने एउटा समय छ।” (उप. ३:७) तर ‘ढुङ्गो बोल्ला मान्छे बोल्दैन’ भनेझैं चाहिने बेला पनि नबोली बस्नु राम्रो होइन। जर्मनीकी एक बहिनी यसो भन्छिन्, “नबोली बस्दा जीवनसाथीलाई चोट पुग्छ। तनाव हुँदा शान्त रहन सजिलो त हुँदैन तर रिस पोखाइहाल्नु पनि राम्रो होइन। जीवनसाथीलाई चोट पुग्ने तरिकामा बोल्नुभयो वा केही गर्नुभयो भने समस्या झनै चर्कन्छ।” चुप लागेर बस्दैमा वा चिच्याउँदैमा समस्या समाधान हुँदैन। बरु जतिसक्दो छिटो मतभिन्नता सुल्झाउनुपर्छ। यसो गरेमा वैवाहिक सम्बन्ध बलियो हुन्छ।
१५. राम्रो कुराकानीले वैवाहिक सम्बन्ध कसरी बलियो बनाउँछ?
१५ मन खोलेर कुराकानी गरेमा वैवाहिक सम्बन्ध बलियो हुन्छ। हामी के भन्छौं, त्यो मात्र होइन; कुनै कुरा कसरी भन्छौं, त्यो पनि महत्त्वपूर्ण छ। त्यसैले असाध्यै गाह्रो हुँदा पनि दयालु बोली बोल्ने कोसिस गर्नुहोस्। बोल्ने तरिकामा र आफूले चलाउने शब्दहरूमा ध्यान दिनुहोस्। त्यसो गर्नुभयो भने तपाईंको श्रीमान् वा श्रीमतीलाई तपाईंको कुरा सुनूँ-सुनूँ लाग्नेछ। (कलस्सी ४:६ पढ्नुहोस्) श्रीमान्-श्रीमतीले ‘एकअर्काको उत्थान गर्ने’ तरिकामा कुराकानी गरेर वैवाहिक सम्बन्ध बलियो बनाउन सक्छन्। त्यसो गरेमा दुवैलाई “फाइदा” हुन्छ।—एफि. ४:२९.
श्रीमान्-श्रीमतीले ‘एकअर्काको उत्थान गर्ने’ तरिकामा कुराकानी गरेर वैवाहिक सम्बन्ध बलियो बनाउन सक्छन् (अनुच्छेद १५ हेर्नुहोस्)
एकअर्कालाई दिनुपर्ने हक दिनुहोस्
१६, १७. श्रीमान्-श्रीमतीले एकअर्काको भावनात्मक र यौन आवश्यकता किन पूरा गर्नुपर्छ?
१६ श्रीमान्-श्रीमतीले आफ्नो भन्दा जीवनसाथीको आवश्यकतालाई प्राथमिकता दिंदा वैवाहिक सम्बन्ध बलियो हुन्छ। (फिलि. २:३, ४) जीवनसाथीको भावनात्मक र यौन आवश्यकता पूरा गर्नुपर्छ।—१ कोरिन्थी ७:३, ४ पढ्नुहोस्।
१७ कोही-कोही आफ्नो जीवनसाथीलाई स्नेह व्यक्त गर्न वा तिनको यौन आवश्यकता पूरा गर्न चाहँदैनन्। केही पुरुषहरूको विचारमा आफ्नी श्रीमतीलाई कोमल स्नेह देखाउनु भनेको आफ्नो मान गुमाउनु हो। तर बाइबल भन्छ, “हे पतिहरू हो, आ-आफ्ना पत्नीको मनको कुरा राम्ररी बुझेर तिनीहरूसित जीवन बिताइरहो।” (१ पत्रु. ३:७) श्रीमतीलाई उनको हक दिनुको अर्थ उनको यौन आवश्यकता पूरा गरिदिनु मात्र होइन भन्ने कुरा श्रीमान्ले बुझ्नुपर्छ। यौनसम्बन्धको बेला मात्र होइन, अरू बेला पनि श्रीमान्ले माया र स्नेह व्यक्त गरेको श्रीमतीलाई मन पर्छ। यसो गर्दा तिनीहरूले एकअर्काको भावनात्मक र शारीरिक आवश्यकता पूरा गर्न सक्छन्।
१८. श्रीमान्-श्रीमतीले सम्बन्ध कसरी बलियो बनाउन सक्छन्?
१८ श्रीमान्-श्रीमती एकअर्काप्रति वफादार हुनै पर्छ। तर एकअर्कासित कोमल व्यवहार नगरेमा तिनीहरू अरू कसैसित नजिकिने खतरा हुन्छ। (हितो. ५:१८; उप. ९:९) त्यसैले दम्पतीहरूलाई बाइबल यसो भन्छ, “एक-अर्कालाई यस हकबाट [वैवाहिक हक] वञ्चित नगर। . . . त्यसो गर्नु परे तापनि आपसी समझदारीमा अनि समय तोकेर मात्र गर। . . . ताकि तिमीहरूको आत्मसंयमको कमीले गर्दा सैतानले तिमीहरूलाई प्रलोभनमा पार्न नपाओस्।” (१ कोरि. ७:५) “आत्मसंयमको कमीले गर्दा” तिनीहरूलाई सैतानले प्रलोभनमा पार्न सक्छ अनि तिनीहरू आफ्नो श्रीमान्-श्रीमतीबाहेक अरूसित यौनसम्बन्ध राख्ने हदसम्म पुग्न सक्छन्। कस्तो दुःखलाग्दो कुरा! श्रीमान्-श्रीमतीले एकअर्कालाई दिनुपर्ने हक दिंदा तिनीहरूले “आफ्नो होइन” आफ्नो जीवनसाथीको “फाइदा” खोजिरहेका हुन्छन्। तिनीहरू एकअर्कालाई दिनुपर्ने वैवाहिक हकलाई कर्तव्य मात्र ठान्दैनन्, बरु आपसमा गहिरो माया देखाउने अवसरको रूपमा लिन्छन्। यसो गरेमा वैवाहिक सम्बन्ध बलियो हुन्छ।—१ कोरि. १०:२४.
वैवाहिक सम्बन्ध जोगाउनुहोस्
१९. हामीले के गर्ने कोसिस गर्नुपर्छ र किन?
१९ हामी नयाँ संसारको सँघारमै छौं। अवैध यौनसम्बन्ध राखेकोले मोआबको बेसीमा २४,००० इस्राएलीले जीवन गुमाए। शरीरका अभिलाषाहरूमा लिप्त भयौं भने हामीले पनि जीवन गुमाउनेछौं। त्यो दुःखदायी घटनाबारे बताइसकेपछि बाइबल यस्तो चेतावनी दिन्छ, “जसले आफू खडा छु भनी सोच्छ, ऊ होसियार रहोस् नत्र त ऊ लड्नेछ।” (१ कोरि. १०:१२) त्यसैले स्वर्गका बुबा यहोवासित र आफ्नो जीवनसाथीसित वफादार भएर वैवाहिक सम्बन्ध बलियो बनाउनु एकदमै आवश्यक छ। (मत्ती १९:५, ६) यहोवाको “नजरसामु . . . बेदाग र निष्खोट रहिरहेको अनि शान्ति कायम गरिरहेको पाइन” पहिलाभन्दा अझ धेरै कोसिस गरौं।—२ पत्रु. ३:१३, १४.