प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 २/१५ pp. २८-३०
  • वेदी उपासनामा यसको के महत्त्व छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वेदी उपासनामा यसको के महत्त्व छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इस्राएलमा साँचो उपासना र वेदी
  • “सच्चा बासस्थान” र लाक्षणिक वेदी
  • मसीहीजगत्‌मा वेदीको प्रयोग
  • वासस्थानका वेदीहरू र साँचो उपासनामा तिनको भूमिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • यहोवाको आध्यात्मिक मन्दिरमा उपासना गर्ने सुअवसरको मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • “सब जातिहरूका निम्ति प्रार्थनाको घर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवाको महान्‌ आध्यात्मिक मन्दिर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 २/१५ pp. २८-३०

वेदी उपासनामा यसको के महत्त्व छ?

के तपाईं वेदीलाई आफ्नो उपासनाको महत्त्वपूर्ण भाग ठान्‍नुहुन्छ? मसीहीजगत्‌का चर्च धाउने थुप्रै मानिसहरूका लागि वेदी नै उपासनाको केन्द्रबिन्दु लाग्न सक्छ। उपासनामा वेदीको प्रयोगबारे बाइबल के भन्छ भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ?

बाइबलमा उल्लेख गरिएको सबैभन्दा पहिलो वेदी जलप्रलयपछि जहाजबाट निस्केर पशु बलि चढाउन लाग्दा नूहले बनाएका थिए।a—उत्पत्ति ८:२०.

बाबेलमा भाषा खलबलिएपछि मानिसजाति पृथ्वीको सम्पूर्ण भागमा फैलिए। (उत्पत्ति ११:१-९) उपासना गर्नुपर्छ भन्‍ने जन्मजात झुकावले गर्दा तिनीहरूले अन्धाधुन्ध ‘छामेर’ आफूले चिन्दै नचिनेका परमेश्‍वरसित घनिष्ठ हुने प्रयास गरिरहे। (प्रेरित १७:२७; रोमी २:१४, १५) नूहको दिनदेखि यसो थुप्रै मानिसहरूले आ-आफ्ना देवताहरूका नाउँमा वेदी बनाएका छन्‌। विभिन्‍न धर्म तथा जातका मानिसहरूले झूटा उपासनाको लागि वेदीको प्रयोग गरेका छन्‌। साँचो परमेश्‍वरबाट टाढिएका कसै-कसैले मानिसहरू र बच्चाहरूलाई बलि दिने जस्ता घिनलाग्दा प्रचलनमा समेत वेदी प्रयोग गर्न थाले। इस्राएलका केही राजाहरूले यहोवालाई त्यागेपछि बाल जस्ता झूटो धर्मका देवताहरूका लागि वेदीहरू बनाए। (१ राजा १६:२९-३२) उसोभए साँचो उपासनामा वेदीहरूको प्रयोग कसरी हुन्थ्यो?

इस्राएलमा साँचो उपासना र वेदी

नूहपछि अन्य विश्‍वासी मानिसहरूले साँचो परमेश्‍वर यहोवाको उपासना गर्न वेदी बनाए। अब्राहामले शेकेम, बेतेल नजिकै, हेब्रोन अनि इसहाकको सट्टा परमेश्‍वरले नै प्रबन्ध गर्नुभएको भेडा बलि चढाउन मोरियाह पर्वतमा पनि वेदी बनाए। पछि इसहाक, याकूब र मोशाले पनि आफैले राजीखुसीसाथ परमेश्‍वरको उपासना गर्न वेदीहरू बनाए।—उत्पत्ति १२:६-८; १३:३, १८; २२:९-१३; २६:२३-२५; ३३:१८-२०; ३५:१, ३, ७; प्रस्थान १७:१५, १६; २४:४-८.

परमेश्‍वरले इस्राएलीहरूलाई व्यवस्था दिनुहुँदा “भेट हुने पाल” पनि भनिने यताउता लैजान मिल्ने एउटा पवित्रस्थान बनाउन आज्ञा दिनुभयो र यही नै तिनीहरू परमेश्‍वरसामु जाने प्रबन्धको मुख्य केन्द्रबिन्दु थियो। (प्रस्थान ३९:३२, ४०) त्यस पवित्रस्थान वा पालमा दुइटा वेदीहरू थिए। पशु बलि चढाउन सुनले ढाकेर बबुल काठबाट बनाइएको होमबलि चढाउने वेदी मूल ढोकाबाहिर राखिन्थ्यो। (प्रस्थान २७:१-८; ३९:३९; ४०:६, २९) बबुल काठबाटै बनेको र सुनले मोहोरेको धूपवेदीचाहिं पवित्रस्थानभित्र महा-पवित्रस्थानलाई छेक्ने पर्दाअघि राखिन्थ्यो। (प्रस्थान ३०:१-६; ३९:३८; ४०:५, २६, २७) बिहान र बेलुकी गरेर विशेष प्रकारको धूप दुईपल्ट बालिन्थ्यो। (प्रस्थान ३०:७-९) राजा सुलेमानले निर्माण गरेको स्थायी मन्दिर पनि दुईवटा वेदी भएको पवित्रस्थान जस्तै थियो।

“सच्चा बासस्थान” र लाक्षणिक वेदी

यहोवाले इस्राएललाई व्यवस्था दिनुहुँदा आफ्ना जनहरूको जीवनलाई नियन्त्रण गर्ने र बलिदान तथा प्रार्थनामार्फत आफूसित नजिक हुने विधिविधानहरू मात्र दिनुभएको थिएन। प्रेरित पावलका अनुसार यसका थुप्रै प्रबन्धहरू “नकल,” “दृष्टान्त” वा “स्वर्गमा भएका कुराहरूको . . . छाया” मात्र थिए। (हिब्रू ८:३-५; ९:९; १०:१; कलस्सी २:१७) अर्को शब्दमा भन्‍ने हो भने व्यवस्थाले इस्राएलीहरूलाई ख्रीष्टतर्फ डोऱ्‍याउने मात्र नभई येशू ख्रीष्टमार्फत परमेश्‍वरका उद्देश्‍यहरू कसरी पूरा हुनेछन्‌ भन्‍ने कुराको पूर्वझलक दिएको थियो। (गलाती ३:२४) हो, व्यवस्थाका थुप्रै पक्षको भविष्यसूचक महत्त्व थियो। उदाहरणका लागि, निस्तार चाडको थुमा, जसको रगत इस्राएलीहरूको उद्धारको चिह्नको रूपमा प्रयोग गरिन्थ्यो, त्यसले येशू ख्रीष्टको पूर्वचित्रण गर्थ्यो। उहाँ “संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा” हुनुहुन्छ जसको रगत हामीलाई पापबाट मुक्‍त गर्न बगाइयो।—यूहन्‍ना १:२९; एफिसी १:७.

पवित्रस्थान र मन्दिरको सेवासित सम्बन्धित थुप्रै कुराहरूले आध्यात्मिक कुराहरूको चित्रण गर्थ्यो। (हिब्रू ८:५; ९:२३) वास्तवमा, पावल “मानिसले होइन, तर परमप्रभुले खडा गर्नुभएको पवित्रस्थान[बारे]” लेख्छन्‌। तिनी थप यस्तो लेख्छन्‌: “ख्रीष्ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पूजाहारी भएर आउनुभयो, उहाँ अझ महान्‌ र सिद्ध पवित्र वासस्थानद्वारा जानुभयो, जो हातले बनेको होइन, अर्थात्‌ यस सृष्टिको अंग होइन।” (हिब्रू ८:२; ९:११, नयाँ संशोधित संस्करण।) “अझ महान्‌ र सिद्ध पवित्र वासस्थान” यहोवाको विशाल आध्यात्मिक मन्दिरको प्रबन्ध थियो। धर्मशास्त्रहरूमा प्रयोग गरिएको लेखन शैलीले येशू ख्रीष्टको मुक्‍तिको बलिदानको आधारमा मानिसहरू यहोवाको नजिक जान सक्ने प्रबन्ध नै त्यो महान्‌ आध्यात्मिक मन्दिर थियो भनेर देखाउँछ।—हिब्रू ९:२-१०, २३-२८.

परमेश्‍वरको वचनबाट व्यवस्थाका केही प्रबन्धहरू तथा स्तरहरूका अझ ठूला, अर्थपूर्ण अनि आध्यात्मिक यथार्थताहरू सिकेपछि बाइबल प्रेरणाद्वारा लेखिएको हो भन्‍ने कुरामाथि झन्‌ विश्‍वास बढाउँछ। यसले धर्मशास्त्रमा प्रकट गरिएका उत्कृष्ट ईश्‍वरीय बुद्धिप्रति पनि मूल्यांकन बढाउँछ।—रोमी ११:३३; २ तिमोथी ३:१६.

होमबलि चढाउने वेदीको पनि भविष्यसूचक महत्त्व छ। यसले परमेश्‍वरको “इच्छा” वा येशूको सिद्ध शरीरलाई बलिदानस्वरूप ग्रहण गर्ने चाहनालाई संकेत गर्छ जस्तो देखिन्छ।—हिब्रू १०:१-१०.

पछि हिब्रूको पुस्तकमा पावलले यस्तो चाखलाग्दो टिप्पणी गरे: “हाम्रो एउटा वेदी छ, जसबाट खानालाई मण्डपको सेवा गर्नेहरूलाई अधिकार छैन।” (हिब्रू १३:१०) तिनी कस्तो वेदीलाई सम्बोधन गर्दै थिए?

थुप्रै क्याथोलिक अनुवादकहरू हिब्रू १३:१० मा उल्लेख गरिएको त्यो वेदी युखारीस्ट अर्थात्‌ “धार्मिक विधिमा” प्रयोग गरिने वेदी हो जसले मासको दौडान ख्रीष्टको बलिदान नवीकरण गर्छ भन्‍ने दाबी गर्छन्‌। तर त्यसको प्रसंगलाई विचार गर्ने हो भने पावलले लाक्षणिक वेदीबारे चर्चा गरेको देखिन्छ। यस पदमा प्रयोग गरिएको “वेदी” लाक्षणिक अर्थमै उल्लेख गरिएको हो भनी केही शास्त्रविद्‌हरू बताउँछन्‌। ज्युजेप्पे बोन्सिरभेन नामक एक जना जेसुइटको विचारमा “यो कुरा [हिब्रूहरूका लागि लेखिएको] पत्रहरूको सम्पूर्ण लाक्षणिक कुराहरूसित मेल खान्छ।” तिनी यस्तो टिप्पणी गर्छन्‌: “मसीही भाषामा ‘वेदी’ भन्‍ने शब्दलाई सुरु सुरुमा आध्यात्मिक अर्थमा प्रयोग गरिन्थ्यो। पछि, इरानियस र विशेष गरी टर्टुलियन अनि सेन्ट साइप्रियनको समयदेखि मात्र यसलाई युखारिस्ट र तोकेरै भन्‍नुपर्दा युखारिस्टसम्बन्धी टेबुललाई संकेत गर्न थालियो।”

एउटा क्याथोलिक पत्रिकाले “कन्स्टान्टिनियन युगमा” “चर्चहरूको निर्माण” हुनथालेदेखि वेदीको प्रयोगमा वृद्धि हुन थाल्यो भनी उल्लेख गऱ्‍यो। रिभिस्टा डाइ आर्कियोलोजिया क्रिस्टियना-ले (मसीही पुरातत्त्व पुनरावलोकन) अझ यसो भन्यो: “प्रथम दुई शताब्दीहरूमा उपासनाको लागि कस्तो ठाउँ प्रयोग गरिन्थ्यो भनेर कसैले पनि भन्‍न सक्दैन तर धार्मिक उपासनाको लागि व्यक्‍तिगत घरका कोठाहरूमा भेला हुन्थे . . . अनि ती कोठाहरू पनि उपासना विधि सिद्धिएपछि तुरुन्तै कोठाकै रूपमा प्रयोग हुन्थे।”

मसीहीजगत्‌मा वेदीको प्रयोग

क्याथोलिक पत्रिका ला सिभिल्टा क्याटोलिका यसो भन्छ, “वेदी चर्चका भवनहरूको मात्र होइन तर जीवित चर्चको पनि केन्द्र बिन्दु हो।” तथापि, येशू ख्रीष्टले कुनै पनि त्यस्तो प्रकारको धार्मिक उत्सवको स्थापना गर्नुभएन जसमा वेदीको प्रयोग गर्नुपर्थ्यो। न त उहाँले आफ्ना चेलाहरूलाई वेदीको प्रयोग गरेर कुनै उत्सव मनाउने आज्ञा नै दिनुभयो। येशूले मत्ती ५:२३, २४ मा र अन्य ठाउँहरूमा वेदीले त्यसबेला यहूदीहरूमाझ व्याप्त धार्मिक प्रचलनहरूलाई जनाउँथ्यो तर उहाँले आफ्ना चेलाहरूले पनि वेदीको प्रयोग गरेर परमेश्‍वरको उपासना गर्नुपर्छ भन्‍ने संकेत गर्नुभएन।

अमेरिकी इतिहासकार जर्ज फुट मुरेले (१८५१-१९३१) लेखे: “मसीही उपासनाको मुख्य विशेषता सधैं एउटै थियो तर जस्टिनले बताएझैं पछि दोस्रो शताब्दीको बीचतिर सामान्य प्रकारका उत्सवहरूलाई समेत भव्य उपासना शैलीहरूमा परिणत गरियो।” क्याथोलिक प्रचलनहरू तथा धार्मिक पर्वहरू असंख्य हुनुका साथै जटिल भएकोले क्याथोलिक धर्मपीठहरूमा धार्मिक पर्वहरूको अध्ययनका विषयको रूपमा छलफल गर्न पनि कठिन थियो। मुरे अझ यसो भन्छन्‌: “सबै प्रचलनहरूलाई भव्यतासाथ मनाउने झुकाव पुरानो नियमको प्रभावमा परेर मसीही पादरीहरूलाई परमेश्‍वरले स्थापना गर्नुभएको धार्मिक व्यवस्थाको उत्तराधिकारी मान्‍न थालेपछि झनै बढ्‌न थाल्यो। उच्च पूजाहारीको भव्य पहिरन, अन्य पूजाहारीहरूले उत्सवहरूमा लगाउने लुगा, औपचारीक कार्यक्रमहरू, लेवी गायकहरूका लयबद्ध भजनहरू, बलिरहेका धुपौरोहरूको सुगन्ध चारैतिर फैलिरहेको कुराहरूलाई हेर्दा ती धार्मिक उपासनाको लागि परमेश्‍वरले दिनुभएको नमुनाजस्तै देखिन्थ्यो। यसले गर्दा चर्चले पनि पुरातन समयका गैरमसीही धार्मिक तडकभडकहरूलाई नै उछिने।”

विभिन्‍न चर्चका थुप्रै रीतिथितिहरू, उत्सवहरू, पहिरनहरू सुसमाचारका पुस्तकहरूमा पाइने मसीही शिक्षाहरूअनुरूप नभई यहूदी तथा अन्य झूटा धर्महरूका प्रचलनहरू र रीतिथितिहरूमा आधारित छन्‌ भन्‍ने कुरा थाह पाउँदा तपाईं छक्क पर्नुहोला। क्याथोलिक धर्ममा “यहूदी धर्म र केही मात्रामा झूटा धर्मबाट प्रभावित भएर वेदीको प्रयोग गर्न थालिएको हो,” भनेर इन्साइक्लोपीडिया क्याटोलिका बताउँछ। धर्मको प्रतिवाद गर्ने सा.यु. तेस्रो शताब्दीका मिनुसियस फेलिक्सले मसीहीहरूको ‘न मन्दिर न त वेदी नै थिए’ भनेर लेखे। रिलिजियोनी ए मिटी (धर्म र मिथ्या) नामक बृहत्‌ ज्ञान शब्दकोशले पनि त्यसैसित मिल्दोजुल्दो कुरा यसरी बताउँछ: “प्रारम्भिक मसीहीहरूले आफूलाई यहूदी धर्म र झूटो धर्मबाट भिन्‍न छौं भन्‍ने कुरा देखाउन वेदीको प्रयोग गर्न इन्कार गरे।”

मसीही धर्म दैनिक जीवन, हरेक मुलुकमा प्रयोग हुने र स्वीकार्य हुने सिद्धान्तहरूमा आधारित भएकोले पृथ्वीमा कुनै पवित्र शहर, वेदीहरू भएका भौतिक मन्दिर अथवा मानव पूजाहारीहरूको विशेष पदवी झल्किने भिन्‍नै प्रकारका लुगा लगाउनु आवश्‍यकता परेन। येशूले भन्‍नुभयो, “बेला आउँदैछ, जब तिमीहरू नता यस डाँडामा, न यरूशलेममा, पितालाई पुज्नेछौ। . . . साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्‌।” (यूहन्‍ना ४:२१, २३) जटिल रीतिथितिहरू तथा वेदीको प्रयोग गरेर थुप्रै चर्चहरूले येशूले साँचो परमेश्‍वरलाई उपासना गर्ने तरिकाबारे भन्‍नुभएको कुरालाई बेवास्ता गर्छन्‌।

[फुटनोट]

a सुरुमा कयिन र हाबिलले पनि वेदीकै प्रयोग गरेर बलि चढाएका हुन सक्छन्‌।—उत्पत्ति ४:३, ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने