प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ७/१ pp. ८-१३
  • “सब जातिहरूका निम्ति प्रार्थनाको घर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सब जातिहरूका निम्ति प्रार्थनाको घर”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • महापवित्रस्थान
  • पवित्रस्थान
  • चोक
  • प्रायश्‍चितको दिन
  • पहिलो र दोस्रो मन्दिर
  • परमेश्‍वरले आफ्नो पार्थिव भवनलाई सधैंको लागि त्याग्नुहुन्छ
  • यहोवाको आध्यात्मिक मन्दिरमा उपासना गर्ने सुअवसरको मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • यहोवाको महान्‌ आध्यात्मिक मन्दिर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • “धन-सम्पत्तिहरू[ले]” यहोवाको भवन परिपूर्ण भइरहेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ७/१ pp. ८-१३

“सब जातिहरूका निम्ति प्रार्थनाको घर”

“के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ?’”—मर्कूस ११:१७.

१. सुरुमा आदम र हव्वाले परमेश्‍वरसित कस्तो सम्बन्धको आनन्द उठाएका थिए?

आदम र हव्वाको सृष्टि भएपछि तिनीहरूले स्वर्गमा हुनुहुने आफ्नो पितासित घनिष्ठ सम्बन्धको आनन्द उठाए। यहोवाले तिनीहरूसित सञ्चार कायम गर्नुभयो र मानवजातिको लागि आफ्नो अद्‌भुत उद्देश्‍य बताउनुभयो। निस्सन्देह, तिनीहरू यहोवाको अद्‌भुत सृष्टि कार्यको लागि उहाँलाई प्रशंसा गर्न उत्प्रेरित हुनुपर्थ्यो। आदम र हव्वाले भावी मानव परिवारको आमाबाबुको भूमिका निर्वाह गर्न निर्देशन चाहिएमा आफ्नो प्रमोदवनरूपी घरको कुनै पनि ठाउँबाट परमेश्‍वरसित सम्पर्क राख्नसक्थे। तिनीहरूको लागि मन्दिरमा सेवा गर्ने पूजाहारीको खाँचो पर्दैनथियो।—उत्पत्ति १:२८.

२. आदम र हव्वाले पाप गरेपछि कस्तो परिवर्तन आयो?

२ तर एक विद्रोही स्वर्गदूतले हव्वालाई “परमेश्‍वरजस्तै हुनेछौ” भन्दै लोभ्याएर परमेश्‍वरको सार्वभौमिकतालाई त्याग्न लगाएपछि परिस्थिति बदलियो। परमेश्‍वरको सार्वभौमिकतालाई त्यागेमा जीवनस्तर अझ सुध्रन्छ भनेर त्यसले हव्वालाई लोभ्यायो। हव्वाले शैतानको झूटो कुरा पत्याइन्‌ र परमेश्‍वरले निषेध गर्नुभएको रूखको फल खाइन्‌। त्यसपछि शैतानले हव्वाको पतिलाई प्रलोभित गर्न हव्वालाई प्रयोग गऱ्‍यो। दुःखको कुरा, आदमले पत्नीसँगको सम्बन्धलाई परमेश्‍वरसितको सम्बन्धभन्दा महत्त्वपूर्ण ठान्दै आफ्नी पापी पत्नीको कुरा सुने। (उत्पत्ति ३:४-७) परिणामस्वरूप, आदम र हव्वाले शैतानलाई आफ्नो ईश्‍वरको रूपमा रोजे।—२ कोरिन्थी ४:४ तुलना गर्नुहोस्‌।

३. आदम र हव्वाको विद्रोहले ल्याएका खराब परिणामहरू के हुन्‌?

३ त्यसो गरेर प्रथम मानव दम्पतीले परमेश्‍वरसितको आफ्नो बहुमूल्य सम्बन्धलाई मात्र होइन तर पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने प्रत्याशालाई समेत गुमाए। (उत्पत्ति २:१६, १७) अन्ततः तिनीहरूको पापी शरीर मृत्यु नहोऊञ्जेल खराब हुँदै गए। तिनीहरूको सन्तानमा पनि यो पापी अवस्था वंशानुगत रूपमा फैलियो। बाइबल बताउँछ, “त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो।”—रोमी ५:१२.

४. परमेश्‍वरले पापी मानिसजातिलाई कस्तो आशा प्रदान गर्नुभयो?

४ पापी मानिसजातिलाई तिनीहरूको पवित्र सृष्टिकर्तासित पुनः मिलाप गराउन केही कुराको आवश्‍यकता परेको थियो। परमेश्‍वरले आदम र हव्वालाई दण्ड दिनुहुँदा “सन्तान[को]” प्रतिज्ञा गर्नुभएर तिनीहरूको भावी सन्तानलाई आशा प्रदान गर्नुभयो। त्यस सन्तानले मानिसजातिलाई शैतानको विद्रोहका असरहरूबाट बचाउने थियो। (उत्पत्ति ३:१५) पछि, परमेश्‍वरले त्यस आशिषित्‌ सन्तान अब्राहामको वंशबाट आउनेछ भनेर प्रकट गर्नुभयो। (उत्पत्ति २२:१८) परमेश्‍वरको मनमा यो मायालु उद्देश्‍य भएकोले नै उहाँले अब्राहामको सन्तान अर्थात्‌ इस्राएलीहरूलाई आफ्नो छानिएको राष्ट्र बनाउन रोज्नुभयो।

५. परमेश्‍वरले इस्राएलसित बाँध्नुभएको व्यवस्थाको करारबारे राम्ररी जान्‍न हामीले किन चासो लिनुपर्छ?

५ सा.यु.पू. १५१३ मा इस्राएलीहरूले परमेश्‍वरसितको करारको सम्बन्धमा प्रवेश गरे र उहाँका नियमहरू पालन गर्न राजी भए। आज परमेश्‍वरको उपासना गर्न चाहने सबैले त्यस व्यवस्थाको करारप्रति गहिरो चासो लिनुपर्छ। किनभने त्यसले प्रतिज्ञा गरेको सन्तानलाई इंगित गर्छ। यसमा “आउने उत्तम कुराहरूको . . . छाया” हुन्छ भनेर पावलले भने। (हिब्रू १०:१) पावलले यो कुरा भन्दै यताउता लग्न सकिने बासस्थान वा उपासनाको पालमा इस्राएली पूजाहारीहरूको सेवाबारे बताउँदैथिए। त्यस बासस्थानलाई “परमप्रभुको मन्दिर” वा “परमप्रभुको भवन” भनिन्थ्यो। (१ शमूएल १: ९, २४) हामीले यहोवाको पार्थिव मन्दिरमा सम्पन्‍न पवित्र सेवालाई जाँच्यौं भने, पापी मानवजातिलाई परमेश्‍वरसित मिलाप गराउनसक्ने कृपालु प्रबन्धको पूर्ण मूल्यांकन गर्नसक्छौं।

महापवित्रस्थान

६. महापवित्रस्थानमा के राखिएको थियो र त्यहाँ परमेश्‍वरको उपस्थिति कसरी प्रतिनधित्व हुन्थ्यो?

६ “हातले बनाएका भवनहरूमा सर्वोच्च परमेश्‍वर बास गर्नुहुन्‍न” भनेर बाइबलले बताउँछ। (प्रेरित ७:४८) तथापि, महापवित्रस्थान भनिने सबैभन्दा भित्री कोठामा लागेको बादलले आफ्नो पार्थिव घरमा परमेश्‍वरको उपस्थितिलाई प्रतिनिधित्व गर्थ्यो। (लेवी १६:२) स्पष्टतया, महापवित्रस्थानलाई उज्यालो पारेर बादल चम्कन्थ्यो। त्यो उज्यालो “साक्षीपाटीको सन्दूक” भनिने पवित्र बाकसमाथि चम्कन्थ्यो। त्यस बाकसभित्र परमेश्‍वरले इस्राएललाई दिनुभएका केही आज्ञाहरू कुँदेको ढुंगाका पाटीहरू थिए। सन्दुकको ढक्कनमा पखेटा फिंजाएका सुनका दुइ करूबहरू थिए, तिनीहरूले परमेश्‍वरको स्वर्गीय संगठनका उच्चस्तरीय आत्मिक प्राणीहरूलाई चित्रित गर्थे। ज्योतिर्मय त्यो चमत्कारपूर्ण बादल सन्दुकको ढक्कनमाथि करूबहरूको बीचमा चम्कन्थ्यो। (प्रस्थान २५:२२) यसले सर्वशक्‍तिमान परमेश्‍वर जीवित करूबहरूको साथ स्वर्गीय सिंहासनमा विराजमान हुनुभएको कुरालाई चित्रित गर्थ्यो। (१ इतिहास २८:१८) राजा हिजकियाहले किन यसरी प्रार्थना गरे, यस कुराले त्यसको पुष्टि दिन्छ: “हे सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्छ।”—यशैया ३७:१६.

पवित्रस्थान

७. पवित्रस्थानमा कस्ता सामग्रीहरू थिए?

७ बासस्थानको दोस्रो कोठालाई पवित्रस्थान भनिन्थ्यो। यसभित्र प्रवेशद्वारको देब्रेतिर सात हाँगा भएको सुन्दर पानस थियो र दाहिनेतिर भेटीको रोटी राखिएको टेबल थियो। सोझो अगाडिपट्टि वेदी थियो र त्यहाँबाट बल्दो धूपको सुगन्धित धुवाँ निस्किरहेको हुन्थ्यो। त्यो वेदी पवित्रस्थान र महापवित्रस्थानलाई छुटाउने पर्दाको ठीक अगाडिपट्टि थियो।

८. पूजाहारीहरूले पवित्रस्थानमा सधैं कुन कार्यहरू गर्थे?

८ हरेक बिहान र बेलुकी पूजाहारी बासस्थानमा प्रवेश गरेर धूपको वेदीमा धूप जलाउनुपर्थ्यो। (प्रस्थान ३०:७, ८) बिहान धूप जलाउँदा सुनको पानसमा भएका सात बत्तीहरूमा तेल भर्नुपर्थ्यो। बेलुकी पवित्रस्थानलाई उज्यालो पार्न ती बत्तीहरू बालिन्थ्यो। पूजाहारीले हरेक विश्राम दिनमा भेटीको रोटी राख्ने टेबलमा १२ वटा ताजा रोटी राख्नुपर्थ्यो।—लेवी २४:४-८.

चोक

९. बाटामा पानी राख्नुको उद्देश्‍य के थियो र यसबाट हामी के पाठ सिक्नसक्छौं?

९ बासस्थानमा पालले बारेको चोक पनि थियो। यसै चोकमा ठूलो बाटा राखिएको थियो र त्यसैको पानीले पूजाहारीहरूले पवित्रस्थानमा प्रवेश गर्नुभन्दा अघि हातगोडा धुन्थे। तिनीहरूले चोकमा भएको वेदीमा बलिदान चढाउनअघि पनि त्यसै गर्थे। (प्रस्थान ३०:१८-२१) सफाइको यो आवश्‍यकता आज परमेश्‍वरका सेवकहरूको लागि ठोस सम्झौटो हो किनभने तिनीहरूले परमेश्‍वरलाई स्वीकारयोग्य उपासना चढाउन शारीरिक, नैतिक, मानसिक र आध्यात्मिक तवरमा शुद्ध हुने प्रयास गर्नैपर्छ। (२ कोरिन्थी ७:१) अन्ततः मन्दिरका गैरइस्राएली दासहरूले वेदीमा बालिने दाउरा र बाटामा राखिने पानी ल्याउनुपर्थ्यो।—यहोशू ९:२७.

१०. बलिदानको वेदीमा चढाइने केही बलिदानहरू के थिए?

१० प्रत्येक बिहान र बेलुकी बलिदान चढाइने पाठालाई अन्‍नबलि र अर्घबलिको साथमा जलाइन्थ्यो। (प्रस्थान २९:३८-४१) अरू बलिदानहरू विशेष दिनहरूमा चढाइन्थ्यो। कहिलेकाहीं खास व्यक्‍तिगत पापको कारण बलिदान चढाउनुपर्थ्यो। (लेवी ५:५, ६) अरू समयमा इस्राएलीले राजीखुशी मेलबलि चढाउनसक्थे, जसको केही अंश पूजाहारीहरू र बलिदान चढाउनले खान्थे। यसले प्रतीकात्मक तवरमा परमेश्‍वरसित भोज खाएर पापी मानवहरूले उहाँसित शान्ति कायम राख्नसक्छन्‌ भन्‍ने कुरालाई संकेत गर्थ्यो। प्रवासीसमेत यहोवाको उपासक हुनसक्थे र तिनले उहाँको भवनमा राजीखुशी भेटी चढाउने सुअवसर पाउनसक्थे। तर यहोवालाई गर्नुपर्ने आदर देखाउन पूजाहारीहरूले सर्वोत्कृष्ट भेटीहरू मात्र स्वीकार्नसक्थे। अन्‍नबलि मसिनो पीठोको र बलि चढाइने पशु खोटरहित हुनुपर्थ्यो।—लेवी २:१; २२:१८-२०; मलाकी १:६-८.

११. (क) बलि चढाइएका पशुहरूको रगतलाई के गरिन्थ्यो र त्यसले कुन कुरालाई संकेत गर्थ्यो? (ख) परमेश्‍वरले मानव र पशु दुवैको रगतप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

११ यी बलिदानहरूको रगत वेदीमा ल्याइन्थ्यो। यसो गर्नु त्यस राष्ट्रको लागि दैनिक सम्झौटो थियो। किनभने तिनीहरू पापी थिए र तिनीहरूलाई मुक्‍तिदाताको खाँचो थियो, जसको बगेको रगतले तिनीहरूको पापको लागि सधैंभरि प्रायश्‍चित गर्न र तिनीहरूलाई मृत्युबाट बचाउनसक्थ्यो। (रोमी ७:२४, २५; गलाती ३:२४; तुलना गर्नुहोस्‌ हिब्रू १०:३) रगतको यस पवित्र प्रयोगले इस्राएलीहरूलाई के स्मरण गरायो भने, रगतले जीवनको प्रतिनिधित्व गर्छ र जीवन चाहिं परमेश्‍वरको अधिकारमा छ। मानवहरूलाई अरू कुनै ढंगमा रगत प्रयोग गर्न परमेश्‍वरले सधैं निषेध गर्नुभएको छ।—उत्पत्ति ९:४; लेवी १७:१०-१२; प्रेरित १५:२८, २९.

प्रायश्‍चितको दिन

१२, १३. (क) प्रायश्‍चितको दिन के थियो? (ख) प्रधानपूजाहारीले महापवित्रस्थानमा रगत ल्याउनुअघि के गर्नुपर्थ्यो?

१२ वर्षमा एक पटक अर्थात्‌ प्रायश्‍चितको दिन यहोवाको उपासना गर्ने प्रवासीलगायत सम्पूर्ण इस्राएल राष्ट्रले कुनै पनि काम गर्नु हुँदैन थियो र उपवास बस्नुपर्थ्यो। (लेवी १६:२९, ३०) त्यस महत्त्वपूर्ण दिनमा राष्ट्रलाई पापबाट स्पष्ट ढंगमा सफा पारिन्थ्यो। त्यसो गर्दा तिनीहरूले अर्को वर्ष परमेश्‍वरसित शान्तिमय सम्बन्धहरूको आनन्द उठाउनसक्थे। त्यस दृश्‍यको कल्पना गर्दै केही विशेषताहरूलाई विचार गरौं।

१३ बासस्थानको चोकमा प्रधानपूजाहारी छन्‌। तिनी बाटाको पानीले नुहाएपछि बलिदान चढाउन साँढे मार्छन्‌। साँढेको रगत भाँडामा खनाइन्छ र यसलाई पूजाहारी कुल लेवीको पापहरूको प्रायश्‍चितको लागि विशेष तरिकामा प्रयोग गरिनेछ। (लेवी १६:४, ६, ११) तर प्रधानपूजाहारीले बलिदानलाई केही गर्नुअघि एकथोक गर्नैपर्छ। तिनले सुगन्धित धूप (सम्भवतः डाडुमा हाल्छन्‌) र वेदीको आगोबाट झरिलो कोइला आगो राख्ने भाँडामा हाल्छन्‌। अब तिनी पवित्रस्थानमा प्रवेश गर्छन्‌ र महापवित्रस्थानको पर्दातिर जान्छन्‌। तिनी पर्दाको नजीकैबाट बिस्तारै गएर वाचाको सन्दुकअघि उभिन्छन्‌। त्यसपछि, अन्य कुनै पनि मानवले नदेख्नेगरि तिनले झरिलो कोइलामा धूप खन्याउँछन्‌। महापवित्रस्थान मीठो सुगन्धित बादलले भरिन्छ।—लेवी १६:१२, १३.

१४. किन प्रधानपूजाहारी दुइ बेग्लाबेग्लै पशुहरूको रगत लिएर महापवित्रस्थानमा प्रवेश गर्नुपर्थ्यो?

१४ अब परमेश्‍वरले कृपा र प्रायश्‍चित गर्नुभएको कुरा स्पष्ट ढंगमा देखाउने इच्छा गर्नु हुँदैछ। त्यसकारण सन्दुकको ढक्कनलाई “कृपा-आसन” वा ‘प्रायश्‍चित ढक्कन’ भनिन्थ्यो। (हिब्रू ९:५, पादटिप्पणी, NW) प्रधानपूजाहारी अति पवित्र स्थानबाट निस्कन्छन्‌ र साँढेको रगत लिएर महापवित्रस्थानमा पुनः प्रवेश गर्छन्‌। व्यवस्थाको आज्ञाअनुसार तिनले रगतमा औंला चोप्छन्‌ र सन्दुकको ढक्कनसामने सातपल्ट छर्किन्छन्‌। (लेवी १६:१४) त्यसपछि तिनी चोकमा फर्केर जान्छन्‌ र ‘मानिसहरूका लागि’ पापबलि चढाउन बोका मार्छन्‌। तिनले बोकाको रगत अलिकति लिएर साँढेको रगतलाई गरेजस्तै गर्छन्‌। (लेवी १६:१५) प्रायश्‍चितको दिन अन्य महत्त्वपूर्ण सेवाहरू पनि गरिन्थ्यो। उदाहरणका लागि, प्रधानपूजाहारीले आफ्नो हात दोस्रो बोकाको टाउकोमाथि राखेर “इस्राएलीहरूका सारा अधर्म” स्वीकार गर्नुपर्थ्यो। त्यसपछि त्यो जिउँदो बोकालाई उजाडस्थानमा पठाइन्थ्यो किनभने त्यसले प्रतीकात्मक अर्थमा त्यस राष्ट्रका पापहरू बोकेर लैजान्थ्यो। यसरी “पूजाहारीहरू र समुदायका सबै मानिसहरूका निम्ति” वर्षेनी प्रायश्‍चित गरिन्थ्यो।—लेवी १६:१६, २१, २२, ३३.

१५. (क) कसरी सुलेमानले बनाएको मन्दिर बासस्थानजस्तै थियो? (ख) बासस्थान र मन्दिरमा सम्पन्‍न पवित्र सेवाबारे हिब्रूको पुस्तकले के भन्छ?

१५ परमेश्‍वरले वाचा बाँध्नुभएको मानिसहरूको हैसियतमा इस्राएलको इतिहासको प्रथम ४८६ वर्षसम्म, त्यो यताउता लग्न सकिने बासस्थान तिनीहरूको परमेश्‍वर यहोवाको उपासना गर्ने स्थानको रूपमा थियो। त्यसपछि, इस्राएलको सुलेमानलाई स्थायी भवन निर्माण गर्ने सुअवसर दिइयो। त्यो मन्दिर ठूलो र विस्तृत हुने भए तापनि बासस्थान निर्माण गर्दाकै ईश्‍वरीय योजना त्यसको लागि पनि अपनाइयो। बासस्थानजस्तै त्यो मन्दिर उपासनाको लागि निकै ठूलो र प्रभावशाली प्रबन्धको दृष्टान्त थियो, जुन यहोवाले “खडा गर्नुभएको थियो मान्छेले होइन।”—हिब्रू ८:२, ५; ९:९, ११, NW.

पहिलो र दोस्रो मन्दिर

१६. (क) सुलेमानले मन्दिर समर्पण गर्दा कस्तो मायालु बिन्ती गरे? (ख) यहोवाले सुलेमानको प्रार्थना स्वीकार्नुभएको प्रमाण कसरी दिनुभयो?

१६ त्यस गौरवमय मन्दिरलाई समर्पण गर्दा सुलेमानले यो प्रेरित निवेदन समावेश गरे: “तपाईंको प्रजा इस्राएलको कुलको नभएको कुनै पनि विदेशीले तपाईंको ठूलो ख्याति . . . सुनेर टाढ़ाबाट आई यस भवनतिर फर्केर प्रार्थना गऱ्‍यो भने, आफ्नो बासस्थान स्वर्गमा त्यो प्रार्थना सुनेर त्यस विदेशीको पुकाराको प्रत्युत्तर दिनुहोस्‌। यसरी तपाईंको प्रजा इस्राएलझैं पृथ्वीका सबै मानिसहरूले तपाईंको ख्यातिलाई जानून्‌। औ तपाईंको भय मानून्‌, र मैले बनाएको यो भवन चाहिं तपाईंकै नाउँको हो भनी तिनीहरूले जानून्‌।” (२ इतिहास ६:३२, ३३) परमेश्‍वरले सुलेमानको समर्पण प्रार्थनालाई स्पष्टसित स्वीकार्नुभएको प्रमाण दिनुभयो। स्वर्गबाट आगोको मुस्लो बर्सिएर वेदीमा चढाएको पशु बलिलाई भस्म पाऱ्‍यो र यहोवाको महिमाले मन्दिर भरियो।—२ इतिहास ७:१-३.

१७. सुलेमानले बनाएको मन्दिर अन्ततः के भयो र किन?

१७ दुःखको कुरा, इस्राएलीहरूले परमेश्‍वरप्रतिको आफ्नो स्वास्थ्यकर भय गुमाए। समयको क्रममा तिनीहरूले रक्‍तपात, मूर्तिपूजा, जारी, हाडनाताकरणी कामका साथै टुहुराटुहुरी, विधवा तथा विदेशीहरूलाई दुर्व्यवहार गरेर उहाँको महान्‌ नाउँलाई कलंकित तुल्याए। (इजकिएल २२:२, ३, ७, ११, १२, २६, २९) तसर्थ, परमेश्‍वरले सा.यु.पू. ६०७ मा बाबेलको सेनाद्वारा मन्दिरलाई नष्ट गराउनुभएर तिनीहरूमाथि न्यायदण्ड ल्याउनुभयो। बचेका इस्राएलीहरू बाबेलमा कैद गरेर लगिए।

१८. यहोवाको उपासनालाई सारा हृदयले समर्थन गर्ने केही गैरइस्राएली पुरुषहरूलाई दोस्रो मन्दिरमा कस्ता सुअवसरहरू दिइयो?

१८ कैद गरिएको ७० वर्षपछि पश्‍चात्तापी शेष यहूदीहरू यरूशलेम फर्के र तिनीहरूले यहोवाको मन्दिर पुनर्निर्माण गर्ने सुअवसर पाए। चाखलाग्दो कुरा, यस दोस्रो मन्दिरमा सेवा गर्ने पूजाहारी र लेवीहरूको कमी थियो। परिणामस्वरूप, मन्दिरका गैरइस्राएली दासहरूबाट नेथिनिमवर्ग उत्तराधिकारीको रूपमा छानियो र तिनीहरूलाई परमेश्‍वरको भवनमा सेवकहरू हुने महान्‌ सुअवसर प्रदान गरियो। तथापि, तिनीहरू पूजाहारी र लेवीहरू बराबर कहिल्यै भएनन्‌।—एज्रा ७:२४; ८:१७, २०, NW.

१९. परमेश्‍वरले दोस्रो मन्दिरको आदर गर्दै कस्तो प्रतिज्ञा गर्नुभयो र ती वचनहरू कसरी साँचो साबित भए?

१९ प्रथमतः त्यो दोस्रो मन्दिर पहिलो मन्दिरको तुलनामा तुच्छदेखिन्थ्यो। (हाग्गै २:३) तर यहोवाले प्रतिज्ञा गर्नुभयो: “सबै जातिहरूलाई हल्लाउनेछु, र सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु . . . यस भवनको पछिको महिमा अघिको भन्दा अझ बढ़ता हुनेछ।” (हाग्गै २:७, ९) अगमवाणी गरिएअनुसार दोस्रो मन्दिरको साँच्चै ठूलो महिमा भयो। पहिलो मन्दिरभन्दा दोस्रो मन्दिर १६४ वर्ष धेरै अस्तित्वमा रह्‍यो र विभिन्‍न मुलुकबाट थुप्रै उपासकहरू यसको चोकमा ओइरिए। (प्रेरित २:५-११ तुलना गर्नुहोस्‌।) दोस्रो मन्दिरको जीर्णोद्वार गर्ने काम राजा हेरोदको समयमा सुरु भयो र यसको चोकहरू फराकिलो पारियो। ठूलो ढुंगामाथि खडा गरिएको र सुन्दर खाँबाहरूले घेरिएको त्यो मन्दिर सुलेमानले बनाएको मन्दिरभन्दा कम थिएन। त्यसमा यहोवाको उपासना गर्न चाहने राष्ट्रहरूका मानिसहरूका लागि एउटा ठूलो बाहिरी चोक थियो। अन्यजातिहरूको त्यस चोकलाई इस्राएलीहरूको लागि आरक्षित गरिएको भित्री चोकहरूबाट ढुंगाको पर्खालले छुट्याएको थियो।

२०. (क) पुनर्निर्मित मन्दिरमा कुन उल्लेखनीय भिन्‍नता पाइन्थ्यो? (ख) यहूदीहरूले मन्दिरप्रति गलत दृष्टिकोण राखेका थिए भनेर कुन कुराले देखाउँछ र येशूले त्यसप्रति कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुभयो?

२० त्यस दोस्रो मन्दिरका चोकहरूमा परमेश्‍वरका पुत्र येशू ख्रीष्टले शिक्षा दिनुभएर त्यसमा ठूलो भिन्‍नता देखियो। तर साधारणतया पहिलो मन्दिरमा जस्तै यहूदीहरूले परमेश्‍वरको भवनको परिचारक हुन पाएको सुअवसरप्रति सही दृष्टिकोण राखेनन्‌। त्यसैले त तिनीहरूले अन्यजातिहरूको चोकमा व्यापारीहरूलाई व्यापारसमेत गर्न दिए। त्यसबाहेक, मानिसहरूलाई सामानहरू लिएर मन्दिरबाट ओहरदोहर गर्न दिन्थे। आफ्नो मृत्यु हुनुभन्दा चार दिनअघि येशूले यस्ता अधार्मिक प्रचलनहरू हटाउनुभयो। त्यतिबेला उहाँले यसो भन्‍नुभयो: “के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ?’ तर तिमीहरूले ता यसलाई डाँकूहरूको ओड़ार पो तुल्याएका छौ।”—मर्कूस ११:१५-१७.

परमेश्‍वरले आफ्नो पार्थिव भवनलाई सधैंको लागि त्याग्नुहुन्छ

२१. येशूले यरूशलेमको मन्दिरको सन्दर्भमा के संकेत गर्नुभयो?

२१ परमेश्‍वरको शुद्ध उपासनालाई उत्थानदायी बनाउन येशूले जोशिलो कार्य गर्नुभएकोले यहूदी धार्मिक नेताहरूले उहाँलाई मार्ने निधो गरे। (मर्कूस ११:१८) आफ्नो चाँडै हत्या हुनेछ भन्‍ने थाह पाएर येशूले यहूदी धार्मिक नेताहरूलाई भने: “तिमीहरूको घर तिमीहरूका निम्ति उजाड़ छोड़िनेछ।” (मत्ती २३:३७, ३८) त्यसरी परमेश्‍वरले चाँडै यरूशलेमको वास्तविक मन्दिरमा चढाइने उपासनालाई अस्वीकार गर्नुहुने कुरालाई उहाँले संकेत गर्नुभयो। त्यो मन्दिर “सब जातिहरूको निम्ति प्रार्थनाको घर” हुने थिएन। येशूका चेलाहरूले उहाँलाई मन्दिरका भव्य भवनहरू देखाउँदा उहाँले यसो भन्‍नुभयो: “तिमीहरू यो सब देख्छौ? . . . यो भत्केर एउटा ढुंगामाथि अर्को ढुङ्‌गा सम्म पनि रहनेछैन।”—मर्कूस १३:१, २.

२२. (क) मन्दिरबारे येशूका वचनहरू कसरी पूरा भए? (ख) प्रारम्भिक मसीहीहरूले पार्थिव शहरमा आफ्नो आशा केन्द्रित गर्नुको साटो कुन कुरा खोजे?

२२ येशूको भविष्यवाणी ३७ वर्षपछि अर्थात्‌ सा.यु. ७० मा रोमी सेनाले यरूशलेम र यसको मन्दिरलाई नष्ट गर्दा पूरा भयो। त्यस घटनाले वास्तवमा परमेश्‍वरले आफ्नो वास्तविक भवनलाई त्याग्नुभयो भन्‍ने स्पष्ट प्रमाण पेश गऱ्‍यो। येशूले यरूशलेममा पुनः अर्को मन्दिर निर्माण गरिन्छ भनेर कहिल्यै अगमवाणी गर्नुभएन। प्रेरित पावलले त्यस पार्थिव शहरबारे हिब्रू मसीहीहरूलाई यसरी लेखे: “किनकि हाम्रो यहाँ रहिरहने शहर छैन, तर अब आउनेचाहिं हामी खोज्दछौं।” (हिब्रू १३:१४) प्रारम्भिक मसीहीहरूले “स्वर्गीय यरूशलेम” अर्थात्‌ शहररूपी परमेश्‍वरको राज्यको भाग हुने बाटो हेर्थे। (हिब्रू १२:२२) यसर्थ, यहोवाको साँचो उपासना वास्तविक पार्थिव मन्दिरमा केन्द्रित भइरहेन। हामी अर्को लेखमा परमेश्‍वरलाई “आत्मा र सत्यतामा” पूज्न चाहनेहरू सबैका लागि उहाँले प्रबन्ध गर्नुभएको उच्च प्रबन्धबारे छलफल गर्नेछौं।—यूहन्‍ना ४:२१, २४.

पुनरावलोकन प्रश्‍नहरू

◻ आदम र हव्वाले परमेश्‍वरसित कस्तो सम्बन्ध गुमाए?

◻ हाम्रोनिम्ति बासस्थानका विशेषताहरू किन चासोपूर्ण हुनुपर्छ?

◻ बासस्थानको चोकमा भएका क्रियाकलापबाट हामी के सिक्छौं?

◻ परमेश्‍वरले आफ्नो मन्दिर किन नष्ट हुन दिनुभयो?

[पृष्ठ १०, ११-मा भएको चित्र]

हेरोदले पुनर्निर्माण गरेको मन्दिर

१. महापवित्रस्थान

२. पवित्रस्थान

३. होमबलि चढाउने वेदी

४. विशाल खड्‌कुँलो

५. पूजाहारीहरूको चोक

६. इस्राएलको चोक

७. स्त्रीहरूको चोक

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने