आत्म-त्यागको भावसाथ यहोवाको सेवा गर्नु
“कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस [शूली, न्यु व०] उठाएर मेरोपछि लागोस्।”—मत्ती १६:२४.
१. येशूले आफ्ना चेलाहरूलाई उहाँको चाँडै हुने मृत्युबारे कसरी अवगत गराउनु भयो?
हिमै-हिमले ढाकेको हर्मन पर्वतको छेउ-छाउ, येशू आफ्नो जीवनको एउटा महत्त्वपूर्ण मोडमा पुग्नु हुन्छ। उहाँ अब एक वर्ष पनि बाँच्नु हुने छैन। यो उहाँलाई थाहा छ; उहाँका चेलाहरूलाई भने थाहा छैन। तर अब तिनीहरूले पनि थाहा पाउने समय आइ पुगेको छ। हुन तः योभन्दा अघि पनि येशूले आफ्नो आउन लागेको मृत्युलाई सङ्केत गर्नु भएको थियो। तर यस विषयमा स्पष्टसित उहाँ अब प्रथम पटक कुरा गर्नु हुन्छ। (मत्ती ९:१५; १२:४०) मत्तीको व्याख्या यसप्रकार छ: “त्यस बेलादेखि येशूले आफ्ना चेलाहरूलाई देखाउनलाग्नुभयो, कि उहाँलाई कसरी यरूशलेममा जानु, र बूढा-प्रधान र मुख्य पूजाहारीहरू औ शास्त्रीहरूबाट धेरै शासना भोग्नु, र मारिनु, र तेस्रो दिनमा बौरनु आवश्यक छ।”—मत्ती १६:२१; मर्कूस ८:३१, ३२.
२. येशूले दुखःकष्ट भोग्नु हुने सम्बन्धमा भन्नु भएका शब्दहरूप्रति पत्रुसले के प्रतिक्रिया व्यक्त गरे र यसमा येशूको विचार के थियो?
२ येशू अब धेरै दिन बाँच्नु हुनेछैन। सोच्दा पनि यति डरलाग्दो कुरा सुनेर पत्रुस रिसाउँछन्। मसीह साँच्चै नै मारिनु हुनेछ भनेर तिनी पत्यारै गर्न सक्तैनन्। तिनले आफ्नो स्वामीलाई हप्काउने आँट समेत गर्छन्। तिनी एकजना निष्कपट शुभचिन्तक भएर आवेशका साथ यो बिन्ती गर्छन्: “‘परमेश्वरको कृपा रहोस्, प्रभु, यस्तो कुरा तपाईंमाथि कदापि परिआउने छैन।’ तर यो कुनै दया देखाउने समय होइन। यसकारण एउटा विषालु सर्पको शिर कच्याकुचुक पारे जस्तैगरी, येशूले पनि झट्ट पत्रुसको खण्डन गर्नुहुन्छ: “ए शैतान, मेरो सामनेबाट हटिजा, तँ मेरो निम्ति ठेस लाग्ने कारण रहेछस्। किनभने तँ परमेश्वरका होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्।”—मत्ती १६:२२, २३.
३. (क) पत्रुसले थाहै नपाईकन आफूलाई शैतानको एकजना कार्यकर्ता कसरी बनाए? (ख) आत्म-त्यागको मार्गमा पत्रुस एउटा बाधा कसरी हुन गयो?
३ पत्रुसले थाहै नपाइकन आफूलाई शैतानको एकजना कार्यकर्ता बनाएको छ। यसैकारण त येशूले शैतानलाई उजाडस्थानमा दिनु भएको जस्तै तिनलाई पनि मुखभरिको जवाब दिनुहुन्छ। त्यतिखेर दियाबलले येशूको परीक्षा गर्दै उहाँको सामुन्ने एउटा आरामको जिन्दगी र कुनै दुःखकष्ट नभोगीकन राजा हुने मौका राखिदिएको थियो। (मत्ती ४:१-१०) अहिले चाहिं पत्रुसले उहाँलाई आराम लिने सुझाव दिइरहेछ। तर यो उहाँको पिताको इच्छा होइन भनेर येशू जान्नु हुन्छ। उहाँले आरामको होइन, आत्म-त्यागको जीवन बिताउनु परेको छ। (मत्ती २०:२८) तर यसमा पत्रुस एउटा बाधा भइरहेछ; तिनको शुभेच्छा एउटा पासो भएको छ।a तथापि, त्याग बिनाको जीवनबारे सोच्नु पनि परमेश्वरको अनुग्रहबाट बञ्चित भएर शैतानको मृत्युदायी पासोमा पर्नु हो। यो कुरा येशूले राम्ररी बुझ्नु हुन्छ।
४. आत्म-विलासी चैनको जिन्दगी येशू र उहाँका चेलाहरूले किन बिताउनु थिएन?
४ अतः, पत्रुसको सोचाइमा छाँटकाँट गर्नु परेको थियो। तिनले येशूलाई भनेका शब्दहरूमा परमेश्वरको होइन, मानिसको सोचाइ थियो। आत्म-विलासी र दुःखकष्टबाट सजिलैसित मुक्त हुने जीवनशैली नता येशू बिताउन चाहनु हुन्थ्यो न उहाँका चेलाहरूले बिताएको नै उहाँ चाहनु हुन्थ्यो। यसैकारण त येशूले त्यति नै खेर पत्रुसलाई र बाँकी चेलाहरूलाई यसो भन्नु हुन्छ: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस [शूली न्यु व०] उठाएर मेरोपछि लागोस्।”—मत्ती १६:२४.
५. (क) मसीही जीवन बिताउँदा कुन कुरा एउटा चुनौती हो? (ख) कुन तीन आवश्यक कुराहरूका लागि एकजना मसीही तयार हुनु पर्छ?
५ बारम्बार येशू यही मूल ध्येय अर्थात् मसीही जीवन बिताउने चुनौतीबारे चर्चा गरिरहनु हुन्छ। येशूका अनुयायीहरू हुन मसीहीहरूले तिनीहरूका अगुवाले झैं यहोवाको सेवा आत्म-त्यागको भावसाथ गर्नु पर्छ। (मत्ती १०:३७-३९) अतः उहाँले तीनवटा आवश्यक कुराहरू बताउनु हुन्छ जसको पालन गर्न एकजना मसीही तयार हुनु पर्छ: (१) आफूलाई इन्कार गर्न, (२) आफ्नो शूली उठाउन र (३) निरन्तर उहाँको पछिपछि लाग्न।
“कोही मेरोपछि आउने इच्छा गर्दछ भने”
६. (क) एकजना व्यक्तिले आफूलाई कसरी इन्कार गर्छ? (ख) आफूलाईभन्दा बढी हामीले कसलाई खुशी तुल्याउनु पर्छ?
६ आफूलाई इन्कार गर्नुको अर्थ के हो? यसको अर्थ आफ्ना सबै इच्छाहरूलाई दबाउनु अथवा एक किसिमले आफूलाई मार्नु हो। जुन युनानी शब्दलाई “इन्कार गर्नु” भनेर अनुवाद गरिएको छ, त्यसको मूल अर्थ “नकार्नु” र “सम्पूर्णतया अस्वीकार” गर्नु हो। अतः मसीही जीवन बिताउने चुनौती स्वीकार्नु भयो भने तपाईंले आफ्ना आकाङ्क्षाहरू, सुविधा, अभिलाषाहरू, आनन्द र खुशी, सबै स्वेच्छासाथ त्याग्नु हुनेछ। भनाइको अर्थ तपाईंले आफ्नो सम्पूर्ण जीवन र त्योसित सम्बन्धित सबै कुरा यहोवा परमेश्वरलाई सदाका लागि अपर्ण गर्नु हुनेछ। आफूलाई इन्कार गर्नुको अर्थ आफूलाई मनपर्ने एक दुईवटा कुराहरू समय समयमा त्याग्नु मात्र होइन। बरु, आफ्नो मालिक आफै हुन छाडेर आफूलाई यहोवाको हातमा सुम्पिदिनु हो। (१ कोरिन्थी ६:१९, २०) जसले आफूलाई इन्कार गरेको हुन्छ, उसले स्वयंलाई होइन, परमेश्वरलाई खुशी पार्ने लक्ष्य अपनाउँछ। (रोमी १४:८; १५:३) उसले हर पल स्वार्थी इच्छाहरूलाई नकार्छ र यहोवालाई सकार्छ।
७. मसीहीले बोक्नुपर्ने शूली के हो र तिनले त्यसलाई कसरी बोकेर हिंड्छ?
७ अतः आफ्नो शूली उठाउनुसित धेरै गम्भीर कुराहरू सम्मिलित छन्। शूली बोकेर हिंड्नु एउटा बोझ हो। मृत्युको एउटा प्रतीक हो। येशू ख्रीष्टको चेला हुने एकजना मसीहीले दुःखकष्ट भोग्न, बेइज्जती, सासना अथवा मृत्यु समेतको सामना गर्न तयार हुनु पर्छ। येशूले यसो भन्नु भयो: “जो आफ्नो क्रूस [शूली न्यु व०] उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।” (मत्ती १०:३८) दुःखकष्ट भोग्ने सबैले नै शूली उठाएको हुँदैन। दुष्ट मानिसहरूको पनि “अफसोस” गर्ने धेरै कारणहरू हुन्छन्। तापनि तिनीहरूले शूली चाहिं उठाएको हुँदैन। (भजनसंग्रह ३२:१०) तथापि एकजना मसीहीको जीवनमा चाहिं तिनले आत्म-त्यागको भावसाथ यहोवाको सेवा गर्ने शूली उठाएको हुन्छ।
८. येशूले आफ्ना अनुयायीहरूका लागि कस्तो जीवनशैली उदाहरणको रूपमा प्रस्तुत गर्नु भयो?
८ येशूले तोक्नु भएको आखिरी आवश्यकता, निरन्तर उहाँको पछिपछि लाग्नु हो। उहाँले सिकाउनु भएका कुराहरूलाई हामीले स्वीकार गरेर तीमाथि विश्वास गरेको मात्र येशू चाहनु हुन्न; बरु उहाँले कायम गरी दिनु भएको उदाहरणलाई हामीले आजीवन अनुकरण गरेको उहाँ चाहनु हुन्छ। र उहाँको जीवनपद्धतिमा स्पष्टै देखिने केही विशेषताहरू के हुन्? आफ्ना चेलाहरूलाई तिनीहरूको आखिरी जिम्मेवारी सुम्पनु हुँदा, उहाँले यसो भन्नु भयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ . . . , जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) येशूले राज्यको सुसमाचार सिकाउनु भयो, प्रचार गर्नु भयो। त्यसबेलाका उहाँका चेलाहरूले र भनौं भने सुरुका सारा मसीही मण्डलीले पनि सोही काम गरे। तिनीहरूले संसारको कामकुरामा भाग लिनबाहेक, जोशका साथ यसै काम गर्दा नै तिनीहरूमाथि संसारको घृणा र विरोध आइ पऱ्यो। परिणामस्वरूप तिनीहरूले उठाउनु परेको शूली झन गहृङ्गो हुन गयो।—यूहन्ना १५:१९, २०; प्रेरित ८:४.
९. येशूले अरूहरूसित कस्तो व्यवहार गर्नु हुन्थ्यो?
९ येशूको जीवनको एउटा अर्को विशेषता अरूहरूसित उहाँले गर्नु भएको व्यवहार हो। उहाँ दयालु “विनयी र नम्र हृदयको” हुनुहुन्थ्यो। उहाँको उपस्थितिबाट उहाँका स्रोताहरूले ढाडस र प्रोत्साहन पाउँथे। (मत्ती ११:२९) उहाँले तिनीहरूलाई धम्काएर आफ्नो पछि हिंड्न लाउनु भएन नता उहाँको पछि लाग्दा तिनीहरूले पालन गर्नु पर्ने तीनथुप्रो नियमहरू नै बनाउनु भयो; अर्थात् तिनीहरूमा दोषको भाव उत्पन्न गराएर उहाँको पछिपछि लाग्न तिनीहरूलाई बाध्य पार्नु भएन। तिनीहरूले आत्म-त्यागको जीवन बिताउँनु पर्दा पनि, साँचो आनन्द फैलाउँदै हिंड्थे। “आखिरी दिनहरूमा” जताततै देखिने संसारको आत्म-विलासी प्रवृत्तिभन्दा कति भिन्न!—२ तिमोथी ३:१-४.
येशूमा भएको आत्म-त्यागको भाव आफूमा विकास गर्नु होस्, त्यसैलाई कायम राख्नु होस्
१०. (क) फिलिप्पी २:५-८ अनुसार ख्रीष्टले आफूलाई कसरी इन्कार गर्नु भयो? (ख) हामी ख्रीष्टका अनुयायीहरू हौं भने हामीले कुन प्रकारको मानसिक मनोवृत्ति व्यक्त गर्नु पर्छ?
१० आफूलाई इन्कार गर्ने उदाहरण येशूले कायम गर्नु भयो। उहाँले आफ्नो शूली उठाउनु भयो र उहाँको पिताको इच्छानुसार गर्नु हुँदै त्यो शूली निरन्तर बोकेर हिंड्नु भयो। पावलले फिलिप्पीका मसीहीहरूलाई यसप्रकार लेखे: “तिमीहरूमा यो मन होस्, जो ख्रीष्टमा पनि थियो। उहाँले परमेश्वरको स्वरूपमा भएर परमेश्वरसितै बराबरको हुनालाई, जोगाइराख्ने धन जस्तो सम्झनुभएन, तर आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। औ रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको [शूली न्यु व०] मृत्युसम्मै आफूलाई होच्याउनुभयो।” (फिलिप्पी २:५-८) त्यसरी आफूलाई पूर्णतया इन्कार गर्न अरू कसले पो सक्थ्यो र? तपाईं पनि ख्रीष्ट येशूको हुनुहुन्छ अर्थात् उहाँको एकजना अनुयायी हुनुहुन्छ भने, सोही मनोवृत्ति तपाईंमा पनि हुनु पर्छ।
११. आत्म-त्यागको भावसाथ जीवन बिताउनुको अर्थ कसको इच्छा पूरा गर्नका लागि बाँच्नु हो?
११ पत्रुस, एकजना अर्को प्रेरित भन्छन् कि येशूले दुःख भोग्नु भएर हाम्रा पापहरूका लागि मरिदिनु भएको हुनाकारण, मसीहीहरूले पनि शस्त्र सिपाहीहरूले हतियार धारण गरेझैं, ख्रीष्टको जस्तै प्रवृत्ति धारण गर्नु पर्छ। तिनी यसप्रकार लेख्छन्: “जसरी ख्रीष्टले शरीरमा दुःख भोग्नुभयो, त्यसरी तिमीहरूले पनि त्यही मनसायको हतियार लेओ, किनभने जसले शरीरमा दुःख भोगेको हुन्छ, त्यसले पाप गर्न छोडेको हुन्छ, र तिमीहरूको शरीरको बाँकी समय फेरि मानिसको अभिलाषामा होइन, तर परमेश्वरको इच्छामा बिताओ।” (१ पत्रुस ३:१८; ४:१, २) परमेश्वरको इच्छा पालन गर्ने विषयमा येशूको विचारधारा के थियो, त्यो उहाँको आत्म-त्यागी जीवनशैलीबाट स्पष्ट देख्न सकिन्छ। उहाँको भक्तिमा एकाग्रता थियो। आफ्नो इच्छालाई भन्दा सधैं आफ्नो पिताको इच्छालाई उहाँ प्राथमिकता दिनु हुन्थ्यो। यहाँसम्म कि अपमानजनक मृत्युसमेत भोग्न उहाँ तयार हुनुभयो।—मत्ती ६:१०; लूका २२:४२.
१२. आत्म-त्यागको जीवन बिताउनु के येशूलाई अप्रिय लागेको थियो? व्याख्या गर्नुहोस्।
१२ येशूको आत्म-त्यागी जीवनशैली एउटा कठिन र चुनौतीपूर्ण मार्ग भए तापनि, उहाँले त्यसलाई अप्रिय ठान्नु भएन। ईश्वरीय इच्छाको अधीनमा बस्नुमै उहाँले आनन्द लिनु हुन्थ्यो। पिताको इच्छा गर्नु त उहाँका लागि भोजन जस्तै थियो। त्यसबाट उहाँले साँचो सन्तोष अनुभव गर्नु हुन्थ्यो। यस्तो सन्तोष जो स्वादिलो आहार खाँदा मानिसहरूले अनुभव गर्छन्। (मत्ती ४:४; यूहन्ना ४:३४) अतः, तपाईं पनि आफ्नो जीवनमा साँच्चै नै तृप्त हुन चाहनु हुन्छ भने, येशूको उदाहरण अनुसरण गर्नु र आफूमा उहाँको जस्तै मनोवृत्ति बढाउनुभन्दा अर्को राम्रो उपाय छैन।
१३. आत्म-त्यागको भावलाई पछाडिबाट प्रेरणा दिने शक्ति प्रेम नै हो भनेर कसरी भन्न सकिन्छ?
१३ आत्म-त्यागको भावलाई प्रेरणा दिने कुरा वास्तवमा के हो? एउटै शब्द, प्रेम। येशूले यसो भन्नु भयो: “‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। प्रमुख र प्रथम आज्ञा यही हो।’ दोस्रो चाहिं त्यही जस्तो हो, ‘तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।’” (मत्ती २२:३७-३९) ती शब्दहरूलाई कुनै पनि आत्मविलासी मसीहीले व्यवहारमा ल्याउन सक्ने छैन। तिनको आफ्नो आनन्द र चासोका विषयहरूमाथि सर्वप्रथम यहोवाको र त्यसपछि छिमेकीको प्रेमले प्राथमिकता लिनु पर्छ। यसै सिद्धान्त अनुरूप येशूले आफ्नो जीवन बिताउनु भयो र उहाँका अनुयायीहरूले पनि सोही गरेको उहाँ चाहनु हुन्छ।
१४. (क) हिब्रू १३:१५, १६-मा कुनकुन जिम्मेवारीहरूको व्याख्या गरिएको छ? (ख) सुसमाचारलाई जोशका साथ प्रचार गर्न हामीलाई के ले प्रेरित पार्दछ?
१४ प्रेमको यस नियमलाई प्रेरित पावलले बुझेका थिए। तिनले यसप्रकार लेखे: “तब उहाँद्वारानै हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढ़ाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो। तर भलाई गर्न र सहयोगी हुन नबिर्स, किनकि यस्तै बलिदानहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।” (हिब्रू १३:१५, १६) मसीहीहरूले यहोवाका लागि जनावरहरू अथवा त्यस्तै कुनै चीजहरू बलिदान चढाउँदैनन्; तिनीहरूले उपासना गर्दा कुनै लौकिक मन्दिरमा मानवीय याजकहरूको मदतको खाँचो पर्दैन। ख्रीष्ट येशूद्वारा नै प्रशंसाको हाम्रो बलिदान चढाइन्छ। र प्रशंसाको त्यही बलिदान अर्थात् उहाँको नाउँको खुलेआम अङ्गीकार गरेर नै हामी परमेश्वरका लागि आफ्नो प्रेम देखाउने गर्छौं। भनौं भने, प्रेममा आधारित हाम्रो निःस्वार्थ भावले नै हामीलाई जोशका साथ सुसमाचार प्रचार गर्न अथवा परमेश्वरलाई आफ्नो ओठको बलिदान चढाउँन सधैं तयार रहन कोशिश गर्ने प्रेरणा दिन्छ। यसो गर्दा हामीले छिमेकीका लागि पनि प्रेम देखाउँछौं।
आत्म-त्यागले प्रशस्त आशिष ल्याउँछ
१५. आत्म-त्यागबारे हामीले आफूलाई के कस्ता गहिरा प्रश्नहरू सोध्न सक्छौं?
१५ तल दिइएका प्रश्नहरूमाथि एकछिनका लागि मनन गर्नुहोस्: के अहिले मेरो जीवन पद्धतिमा आत्म-त्यागको भाव देखिन्छ? के मेरा लक्ष्यहरूमा पनि आत्म-त्यागको भाव झल्किन्छ? के मेरो उदाहरणबाट मेरा परिवारका सदस्यहरूले प्रशस्त आध्यात्मिक लाभ उठाइ रहेकाछन्? (१ तिमोथी ५:८ सङ्ग तुलना गर्नुहोस्।) अनाथहरू र विधवाहरूबारे नि? के तिनीहरूले पनि मेरो आत्म-त्यागी भावबाट लाभ उठाइरहेकाछन्? (याकूब १:२७) के मैले जनसमक्ष प्रशंसाको बलिदान चढाउने काममा अझ बढी समय लगाउन सक्छु? के म अग्रगामी, बेथेल अथवा मिसनरी सेवाका लागि अघि बढ्न सक्छु कि? अथवा राज्य प्रचारकहरूको अझ ठूलो आवश्यकता परेको ठाउँमा म बसाइँ सर्न सक्छु?
१६. आत्म-त्यागको जीवन बिताउन हामीलाई चतुऱ्याइँले कसरी मदत दिन सक्छ?
१६ कहिलेकाहीं त यहोवालाई आत्म-त्यागको भावसाथ पूर्ण-रूपमा सेवा गर्नका लागि अलिकता चतुऱ्याइँको मात्र खाँचो परेको हुन्छ। उदाहरणका लागि, इक्वेडोरमा बस्ने एउटी नियमित अग्रगामी ज्यानेट पूर्ण-समय जागिर पनि खान्थिन्। यसले गर्दा एकजना नियमित अग्रगामीले सेवामा बिताउनु पर्ने समय आनन्दपूर्वक बिताउन गाह्रो हुन थालेको थियो। तिनले यो समस्या आफ्नो मालिकलाई बताइ दिने फैसला गरिन्। साथै तिनले काममा बिताउनु पर्ने समय पनि कम गरीओस् भनेर बिन्ती गरिन्। तर कामगर्ने समयमा कटौती गर्न मालिक तयार भएनन्। अतः, ज्यानेटले मालिक कहाँ मारियालाई लिएर गइन् किनभने मारिया पनि अग्रगामी सेवा गर्न सक्नका लागि केही घण्टामात्र काम गरे पुग्ने खालको जागिरको खोजीमा थिइन्। यी दुवै मिलेर आधा-आधा दिन काम गर्ने प्रस्तावना मालिकको सामुन्ने राखिदिए ताकि जम्मा जम्मी एक दिनको पूरै काम हुने थियो। मालिकले तिनीहरूको प्रस्तावना स्वीकार गरे। अब यी दुवै बहिनीहरू नियमित अग्रगामीहरू हुन्। यसको राम्रो परिणाम त्यही कम्पनीमा पूर्ण-समय काम गर्ने काफाले पनि देखिन्। काफा पनि अग्रगामीले सेवामा लगाउनु पर्ने समय लगाउने कोशिश गर्दागर्दा हैरान भएकी थिइन्। अतः तिनले पनि मालिककहाँ आफूसित मागालीलाई लगेर गइन् र सोही योजना प्रस्तुत गरिन्। मालिक फेरि राजी भए। अब भने, पूर्ण-समय सेवकाईलाई छाड्नै लागेकी दुइटी बहिनीहरूको सट्टा, चार जना बहिनीहरू अग्रगामी सेवामा लागेका छन्। चतुऱ्याइँ र आँटको परिणाम लाभदायक भयो।
१७-२१. एउटा विवाहित दम्पतीले आफ्नो जीवनको लक्ष्य पुनःविचार कसरी गरे र यसको परिणाम के भयो?
१७ यीबाहेक बितेका दश वर्षभरि ईवोनले गरेकी आत्म-त्यागलाई विचार गर्नुहोस्। तिनले मई १९९१-मा सोसाइटीलाई यसो भनेर लेखिन्:
१८ “अक्टोबर १९८२-मा मेरो परिवार र मैले ब्रुकलिन बेथेलको भ्रमण गऱ्यौं। ती सबै देखेर मलाई पनि त्यहाँ स्वयंसेवक भएर काम गर्न मन लाग्यो। दरखास्त फारममा सोधिएका प्रश्नहरूमध्ये मलाई यो प्रश्न अति नै घतलाग्दो लाग्यो: ‘बितेका छ महिनादेखि तपाईंले प्रत्येक महिना क्षेत्र सेवामा लगभग कति घण्टा बिताइ रहनु भएको छ? औसतन घण्टा दसभन्दा कम छ भने, कारण दिनुहोस्।’ आफ्नो कम घण्टाहरूको पछाडि कुनै ठोस कारण मैले देख्न सकिनँ। यसकारण, मैले आफ्नो लागि एउटा लक्ष्य बनाएँ र पाँच महिनाभरि त्यस लक्ष्यलाई पूरा गरें।
१९ “मैले अग्रगामी सेवा नगर्नका लागि एक दुइटा ठोस कारणहरू मनमा आउन त आयो। तर १९८३-का लागि यहोवाका साक्षीहरूका वार्षिक पुस्तक पढेपछि चाहिं अग्रगामी सेवा गर्नका लागि मैलेभन्दा धेरै नै ठूला बाधाविघ्नहरूको सामना अरूहरूले पनि गरेका रहेछन् भनेर म विश्वस्त भएँ। अतः १९८३-को अप्रिल १ तारिक मैंले धेरै तलब पाउने आफ्नो जागिर छाडें र सहायक अग्रगामी भएँ। त्यसपछि सेप्टेम्बर १, १९८३-मा मैले नियमित अग्रगामी सेवालाई अपनाएँ।
२० “अप्रिल १९८५-मा एकजना असल सहायक सेवकसित विवाह गर्न पाउँदा म एकदमै खुशी भएँ। तीन वर्षपछि, एउटा जिल्ला सम्मेलनमा अग्रगामी सेवाबारे भाषण चलिरहेको बेला, मेरा पतिले मतिर झुकेर खुसुक्क सोधे: ‘सेप्टेम्बर १ देखिन् मैंले पनि अग्रगामी सेवा सुरु गरे कसो होला?’ यसपछि आउँदो दुइवर्षसम्म तिनी मसित अग्रगामी सेवामा लागे।
२१ “यसका साथै, ब्रुकलिन बेथेलमा भइरहेको निर्माण कार्यमा श्रमदान दिन तिनी दुइहप्तासम्मका लागि पनि गए। यसबाहेक अन्तरराष्ट्रिय निर्माण कार्यक्रममा सामेल हुने दरखास्त पनि तिनले बुझाए। फलःस्वरूप शाखा निर्माण कार्यमा सहयोग पुऱ्याउन हामी मई १९८९-मा एक महिनाका लागि नाइजेरिया गयौं। भोलि हामी जर्मनी जानेछौं जहाँ पोल्याण्ड प्रवेश गर्ने हाम्रो भिसाको प्रबन्ध गरिनेछ। पोल्याण्डमा भइरहेको यस्तो ऐतिहासिक र स्मरणीय निर्माण कार्यमा सम्मिलित हुनका साथै पूर्ण-समय सेवाको यो एउटा नयाँ क्षेत्रमा भाग लिन पाएकोमा हामी अति नै हर्षित छौं।”
२२. (क) हामी पत्रुस जस्तै थाहै नपाइकन एउटा ठेसको कारण कसरी बन्न सक्छौं? (ख) आत्म-त्यागको भावसाथ यहोवाको सेवा गर्नु कुन कुरामा भर पर्दैन?
२२ तपाईं स्वयं अग्रगामी सेवा गर्न सक्नु हुन्न भने पनि, पूर्ण-समय सेवकाईमा लागिसकेकाहरूलाई तिनीहरूले पाएको विशेषाधिकार कायम नै राख्ने प्रोत्साहन र मदत के तपाईंले तिनीहरूलाई दिन सक्नु हुन्छ? अथवा के तपाईं शुभचिन्तक भनौदा केही नातेदार र साथीहरू जस्तै हुनु हुनेछ? पत्रुसलेझैं तिनीहरूले पनि एकजना पूर्ण-समय सेवकलाई आरामसित जीवन बिताउने र आफूप्रति कठोर नहुने सल्लाह दिने गर्छन्। यसप्रकारको सल्लाह दिने व्यक्ति थाहै नपाईकन एउटा ठेसको कारण भइ रहेको हुन सक्छ। हुनतः हो, एकजना अग्रगामीको स्वास्थ्य खतरामा छ अथवा तिनले आफ्नो मसीही जिम्मेवारीहरू पूरा गर्न पाएका छैनन् भने, केही समयका लागि अग्रगामी सेवा छाड्नु आवश्यक हुनु सक्छ। आत्म-त्यागको भावसाथ यहोवाको सेवा गर्नु, अग्रगामी, बेथेलाइट अथवा यस्ता अरू कुनै पदवीमा भर गर्दैन। बरु हामी व्यक्तिगत रूपमा कस्ता मानिसहरू हौं—हामी कसरी सोच्तछौं, के गर्दछौं, अरूहरूसित कसरी व्यवहार गर्छौं, आफ्नो जीवन कसरी बिताउँछौं—यी कुराहरूमा भर गर्छ।
२३. (क) परमेश्वरको एकजना सहकर्मी हुन पाएकोमा हामी कसरी निरन्तर आनन्दित हुन सक्छौं? (ख) हिब्रू ६:१०-१२-मा हामी के आश्वासन पाउँछौं?
२३ हामीमा आत्म-त्यागको भाव साँच्चै नै छ भने, परमेश्वरका सहकर्मीहरू हुन पाएकोमा हामी आनन्दित हुनेछौं। (१ कोरिन्थी ३:९) यहोवाको हृदयलाई खुशी तुल्याउँदैछौं भन्ने हामीले सन्तुष्टि अनुभव गर्नेछौं। (हितोपदेश २७:११) साथै हामी निश्चित हुनेछौं कि यहोवाप्रति विश्वासी रहुञ्जेल उहाँले हामीलाई कहिल्यै बिर्सनु हुने छैन नता त्याग्नु हुनेछ।—हिब्रू ६:१०-१२. (w93 6/1)
[फुटनोटहरू]
a युनानी भाषामा, “ठेस लाग्ने कारण” (σκάνδαλον, स्कान’दा-लोन) मूलतः “पासोको एउटा भाग थियो जसमा सिकारलाई आकर्षित गर्ने खाने कुरा राखिन्थ्यो। यसैकारण त्यस भागलाई पनि पासो अथवा जाल भन्नु मिल्छ।”—वाइन्स एक्सपोजिट्रि डिक्शनेरी अफ ओल्ड एन्ड न्यु टेस्टामेन्ट वर्ड्स्.
तपाईंको विचार के हो?
▫ आफूले थाहै नपाईकन पत्रुस आत्म-त्यागको मार्गमा ठेसको कारण कसरी हुन गयो?
▫ आफूलाई इन्कार गर्नुको अर्थ के हो?
▫ एकजना मसीहीले आफ्नो शूली कसरी बोक्छ?
▫ आत्म-त्यागको भावको विकास गर्दै त्यसलाई हामी कसरी कायम राख्न सक्छौं?
▫ आत्म-त्यागको भाव पछाडि प्रेरणा दिने शक्ति के हो?
[पृष्ठ ९-मा भएको चित्र]
के तपाईं आफूलाई इन्कार गर्न, आफ्नो शूली उठाउन र निरन्तर येशूको पछि लाग्न तयार हुनुहुन्छ?