येशूलाई पछ्याइ रहनुहोस्
१ येशूले एक पटक यसो भन्नुभयो: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस [“शूली,” NW] उठाएर मेरोपछि लागोस्।” (मत्ती १६:२४) येशूका ती शब्दहरूलाई हामी पक्कै पनि सकारात्मक ढंगमा लिन चाहन्छौं। आउनुहोस्, उहाँले निमन्त्रणा दिनुभएका ती वाक्यहरूमा विथोलित कुराहरू जाँच गरौं।
२ “उसले आफूलाई इन्कार गरोस्”: हामीले आफ्नो जीवन यहोवालाई समर्पण गर्दा नै हामी आफूलाई इन्कार गर्छौं। “इन्कार गर्नु” भनेर अनुवाद गरिएको युनानी शब्दको खास अर्थ, “नकार्नु” हो। यसको मतलब, यहोवालाई खुशी पार्ने अठोट गरेर हामीले आफ्ना आकांक्षा, इच्छा, सुखसुविधा र व्यक्तिगत आनन्दहरू सबै सधैंभरिको लागि उहाँलाई स्वेच्छाले सुम्पिसक्यौं।—रोमी १४:८; १५:३.
३ ‘आफ्नो शूली उठाएर’: मसीही जीवन, आफ्नो शूली उठाएर आत्मत्यागको भावसहित यहोवाको सेवा गर्ने जीवन हो। सेवकाईमा कत्तिको खट्टिएको छ त्यसबाट पनि आत्मत्यागको भावना झल्किन्छ। यस सम्बन्धमा, यो वर्ष थुप्रै प्रकाशकहरूले सहायक अग्रगामी गरेर आनन्द उठाइरहेका छन्। शायद तपाईं पनि त्यस समूहमा पर्नुहुन्छ होला अनि आफूले गरेको आत्मत्यागको तुलनामा कैयौं गुणा बढ्ता आशिष् पाएको छु भनेर बयान गर्न सक्नुहुन्छ होला। ज-जसले सहायक अग्रगामी सेवा गर्न सकेका छैनन्, तिनीहरूले मण्डलीका प्रकाशकहरूको हैसियतमै बेलाबेलामा बढी समय प्रचार कार्यमा बिताएका छन्। त्यस कुरालाई ध्यानमा राखेर कुनै कुनै मण्डलीले क्षेत्र सेवकाईको सभा पहिला गर्दै आएकोभन्दा केही मिनेटअघि नै सुरु गर्ने तालिका बनाएका छन्। खासगरि, गर्मी महिनामा यसरी सबेरै सेवा सुरु गर्न पाउँदा र धेरै समयसम्म प्रचार गर्न पाउँदा यस्तो प्रबन्धको धेरै प्रकाशकहरूले मूल्यांकन गर्छन्। सधैं गर्ने गरेकोभन्दा बढी ‘अर्को एउटा घरमा’ अथवा ‘केही मिनेट मात्र बढी’ प्रचार गर्दा पनि कसै कसैले एकदम उल्लेखनीय परिणाम पाएका छन्।
४ आत्मत्यागको भाव झल्काउने अर्को तरिका हो, व्यक्तिगत लक्ष्य राख्नु। राम्रोसँग योजना बनाएर अनि आफ्नो तालिकामा केही छाँटकाँट गरेर कोही कोही त नियमित अग्रगामी भएका छन्। कसैकसैले भने आफ्नो कामकाजमा छाँटकाँट गर्न सकेका छन् र आफूलाई बेथेल अथवा मिसनरी सेवाको लागि प्रस्तुत गर्न सकेका छन्। कोही चाहिं राज्य प्रचारकहरू बढी आवश्यक भएको इलाकातिर बसाइँ सरेका छन्।
५ ‘मेरोपछि लागिरहोस्’: येशूका चेलाहरूले थुप्रै परीक्षाहरू सामना गर्न परे तापनि सेवकाईप्रति येशूको जोश र सहनशीलता देखेर तिनीहरू प्रोत्साहित भए। (यूह. ४:३४) उहाँ तिनीहरूको साथमा हुनुभएकोले र उहाँको सन्देशले गर्दा तिनीहरू स्फूर्ति पाउँथे। त्यसैले उहाँलाई पछ्याउनेहरू साँच्चै आनन्दित देखिन्थे। (मत्ती ११:२९) त्यसरी नै, हामी पनि राज्यको समाचार प्रचार गर्ने र चेला बनाउने सबैभन्दा महत्त्वपूर्ण काममा लागिरहन एकअर्कालाई प्रोत्साहित गरौं।
६ आत्मत्यागी भावको विकास गर्दै हामी सबैले येशूलाई पछ्याइरहेर उहाँले दिनुभएको निमन्त्रणाप्रति सकारात्मक प्रतिक्रिया देखाऔं। त्यसो गऱ्यौं भने, अहिल्यै हामीले भरपूर आनन्द पाउनेछौं र भविष्यमा पनि अझ बढ्ता आशिष् पाउने आशा राख्नसक्छौं।