यहोवाको नजरमा म कस्तो छु?
१. बाइबल कसरी ऐना जस्तै छ?
१ तपाईं कति पटक ऐना हेर्नुहुन्छ? हामी हरेक दिन ऐना हेर्छौं किनभने यसो गर्दा हामीले अनुहार वा लवाइमा केही मिलेको छैन कि भनेर थाह पाउन सक्छौं। बाइबल पनि ऐना जस्तै छ। परमेश्वरको वचन बाइबल पढेर हामी आफ्नो भित्री व्यक्तित्व कस्तो छ भनेर थाह पाउन सक्छौं। अनि यहोवा परमेश्वरले पनि हामीमा हेर्नुहुने कुरा त हाम्रो भित्री व्यक्तित्व हो। (१ शमू. १६:७; याकू. १:२२-२४) परमेश्वरको वचनले “मनको विचार र आशय जाँच्न सक्छ।” (हिब्रू ४:१२) दिनहुँ बाइबल पढ्दा र मनन गर्दा हामीले सफल प्रचारक बन्न कुन-कुन कुरामा ध्यान दिनुपर्छ भनेर सिक्न सक्छौं। कसरी?—भज. १:१-३.
२. आफैलाई जाँच्न बाइबलले कसरी मदत गर्छ?
२ बाइबललाई ऐना जस्तै प्रयोग गर्नुहोस्: यहोवाका वफादार सेवकहरूबारे बाइबलमा दिइएको विवरण पढ्दा उहाँलाई कस्ता गुणहरू मनपर्छ भनी थाह पाउन सक्छौं। उदाहरणको लागि दाऊदले यहोवा परमेश्वरको नाउँको लागि जोस देखाएका थिए। (१ शमू. १७:४५, ४६) यशैयाले पनि गाह्रो इलाकामा प्रचार गर्न साहस देखाएका थिए। (यशै. ६:८, ९) स्वर्गमा हुनुहुने आफ्नो बुबा यहोवाप्रतिको मायाले गर्दा येशूले सेवाको कामलाई बोझको रूपमा नभई स्फूर्ति दिने र सन्तोषजनक कामको रूपमा लिनुभयो। (यूह. ४:३४) प्रथम शताब्दीका ख्रीष्टियनहरूले पनि यहोवा परमेश्वरमा भर पर्दै जोसका साथ प्रचार गरे। तिनीहरू हरेस नखाई प्रचारमा लागिरहे। (प्रेषि. ५:४१, ४२; २ कोरि. ४:१; २ तिमो. ४:१७) हामीले यस्ता उदाहरणहरूमा मनन गऱ्यौं भने आफैलाई जाँच्न मदत पाउनेछौं र पवित्र सेवाको गुणस्तर बढाउन अझै के गर्नुपर्छ भनेर थाह पाउनेछौं।
३. कमी कमजोरी सच्याउन किन ढिलो गर्नुहुँदैन?
३ कमी कमजोरी सच्याउनुहोस्: तपाईं ऐना हेर्नुहुन्छ तर नमिलेको कुरालाई बेवास्ता गर्नुहुन्छ भने ऐना हेर्नुको कुनै अर्थ हुँदैन। त्यसैले इमानदार भई आफैलाई जाँच्न अनि आफ्नो कमी कमजोरी सच्याउन मदत दिनुहोस् भन्दै हामी यहोवा परमेश्वरलाई पुकार्न सक्छौं। (भज. १३९:२३, २४; लूका ११:१३) समय थोरै मात्र बाँकी भएकोले र हाम्रो सेवाको काममा मानिसहरूको जीवन मुछिएकोले आफूमा गर्नुपर्ने परिवर्तन पछि गरौंला भनेर ढिला नगर्नुहोस्।—१ कोरि. ७:२९; १ तिमो. ४:१६.
४. परमेश्वरको वचनमा ध्यान दिएर हेर्ने र आफ्नो कमी कमजोरी सच्याउने व्यक्तिले कस्तो इनाम पाउनेछ?
४ यहोवाले हेर्नुहुने भित्री व्यक्तित्व मानिसको बाहिरी रूपभन्दा कता हो कता महत्त्वपूर्ण छ। (१ पत्रु. ३:३, ४) परमेश्वरको वचनमा ध्यान दिएर हेर्ने र आफ्नो कमी कमजोरी थाह पाएपछि त्यसलाई सच्याउने व्यक्तिले कस्तो इनाम पाउनेछ? “त्यो मानिस आनन्दित हुनेछ, किनकि ऊ सुनेर बिर्सने होइन तर त्यसैअनुसार काम गर्ने मानिस भएको छ।” (याकू. १:२५) हो, ‘ऐनाले जस्तै यहोवाको गौरव प्रतिबिम्बित गर्दा’ हामी आनन्दित र प्रभावकारी प्रचारक हुन सक्नेछौं।—२ कोरि. ३:१८.