हाम्रो विश्वासमा सद्गुण कसरी थप्नसक्छौं?
“तिमीहरूका विश्वासमा सद्गुण . . . थप।”—२ पत्रुस १:५.
१, २. यहोवाका मानिसहरूबाट किन हामीले सद्गुणी कामहरू अपेक्षा गर्नुपर्छ?
यहोवा सधैं सद्गुणको मार्ग अनुसार चल्नु हुन्छ। उहाँले धार्मिक र असल कार्यहरू गर्नुहुन्छ। त्यसैकारण त परमेश्वरले ‘आफ्नो महिमा र पुण्य [सद्गुण न्यु व०]’ द्वारा अभिषिक्त मसीहीहरूलाई बोलाउनु भयो भनेर प्रेरित पत्रुसले भन्न सके। साँचो ईश्वरीय भक्तिअनुसार जीवन बिताउन कुन कुन कुराहरूको आवश्यकता थियो भन्ने कुरा स्वर्गमा हुनुहुने तिनीहरूको सद्गुणी पिताको सही ज्ञानले तिनीहरूलाई देखाइ सकेको थियो।—२ पत्रुस १:२, ३.
२ प्रेरित पावल मसीहीहरूलाई “प्रिय बालकहरूझैं परमेश्वरका देखा-सिकी गर्नेहरू होओ” भनेर सल्लाह दिन्छन्। (एफिसी ५:१) स्वर्गमा हुनुहुने आफ्ना पिताले झैं यहोवाका उपासकहरूले हर परिस्थितिमा जे कुरा सद्गुणी छ त्यही गर्नुपर्छ। तर सद्गुण के हो?
सद्गुण के हो
३. “सद्गुण”-लाई कसरी परिभाषित गरिएको छ?
३ आधुनिक शब्दकोशहरूले “सद्गुण”-लाई “नैतिक श्रेष्ठता; भलाइ” भनेर परिभाषित गर्छन्। त्यो “ठीक काम र सोचाइ; नैतिक चरित्रको भलाइ” हो। एकजना सद्गुणी मानिस धर्मी हुन्छ। सद्गुणलाई “सही स्तर अनुरूप चल्नु” भनेर पनि परिभाषित गरिएको छ। निस्सन्देह मसीहीहरूका लागि परमेश्वरले नै “सही स्तर” निर्धारण गर्नुभएको छ र आफ्नो पवित्र वचन, बाइबलमा त्यसलाई स्पष्ट पार्नु भएको छ।
४. दोस्रो पत्रुस १:५-७ मा वर्णन गरिएको कुन चाहिं गुणहरूको विकास गर्न मसीहीहरूले कडा परिश्रम गर्नुपर्छ?
४ साँचो मसीहीहरू यहोवा परमेश्वरको धार्मिक स्तरहरू अनुसार चल्छन् र उहाँका अनमोल प्रतिज्ञाहरूमाथि विश्वास गर्छन्। तिनीहरू पत्रुसको यस सल्लाहलाई पनि ध्यान दिन्छन्: “यही कारणले तिमीहरूले सबै किसिमका प्रयत्नले तिमीहरूका विश्वासमा सद्गुण, सद्गुणमा बुद्धि, बुद्धिमा संयम, संयममा धीरज, धीरजमा भक्ति, भक्तिमा भ्रातृस्नेह, भ्रातृस्नेहमा प्रेम थप।” (२ पत्रुस १:५-७) यी गुणहरूको विकास गर्न एकजना मसीहीले कडा परिश्रम गर्नुपर्छ। तर यो केही दिन वा केही वर्षमा हुने काम होइन, यसका लागि जीवनभर लगातार प्रयत्न गरिरहनु आवश्यक पर्छ। भनौं भने विश्वासमा सद्गुण थप्नु नै एउटा चुनौती हो।
५. शास्त्रीय दृष्टिकोण अनुसार सद्गुण भनेको के हो?
५ यहाँ “सद्गुण” भनेर अनुवाद गरिएको युनानी शब्दको मूल साहित्यिक अर्थले “कुनै पनि प्रकारको श्रेष्ठता”-लाई बुझाउँछ भनेर कोशकार एम० आर० भिनसेन्ट भन्दछन्। मसीहीहरूले अरू देशहरूमा पनि परमेश्वरको “सर्वश्रेष्ठता” अथवा सद्गुणलाई घोषणा गर्नुपर्छ भन्दा प्रेरित पत्रुसले श्रेष्ठता शब्दको बहुवचन रूप चलाएका थिए। (१ पत्रुस २:९) शास्त्रीय दृष्टिकोण अनुसार सद्गुणलाई निष्क्रिय होइन तर “नैतिक बल, नैतिक शक्ति, आत्मबल”-को रूपमा वर्णन गरिएको छ। सद्गुणको उल्लेख गर्दा पत्रुस दृढ नैतिक श्रेष्ठताको विषयमा सोच्दै थिए जसलाई परमेश्वरका प्रत्येक सेवकले प्रकट गर्न र कायम राख्न आवश्यक छ। तर के हामी असिद्ध भएर पनि परमेश्वरको नजरमा सद्गुणी कामहरू गर्नसक्छौं?
असिद्ध तर सद्गुणी
६. हामीहरू असिद्ध भए तापनि, परमेश्वरको नजरमा सद्गुणी कामहरू गर्नसक्छौं भनेर किन भन्न सकिन्छ?
६ वंशानुगत असिद्धता र पाप पाएका हुनाकारण हामीले परमेश्वरको नजरमा कसरी सद्गुणी काम गर्नसक्छौं र, भनी हामी सोचमा पर्न सक्छौं। (रोमी ५:१२) शुद्ध हृदय प्राप्त गर्नाका लागि निश्चय नै हामीलाई यहोवाको मदतको खाँचो पर्छ। किनभने शुद्ध हृदयबाट नै सद्गुणी विचार, वचन र कामहरू आउन सक्छ। (लूका ६:४५ तुलना गर्नुहोस्) बेतशेबासँग पाप गरिसकेपछि पश्चात्तापी भजनहार दाउदले यसो भन्दै विन्ती गरे: “हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्। र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्।” (भजनसंग्रह ५१:१०) सद्गुणको मार्गमा चल्न दाऊदले परमेश्वरबाट क्षमा र आवश्यक मदत पाए। यसर्थ, यदि हामीले गम्भीर भूल गरेका छौं तर परमेश्वर र मण्डलीका प्राचीनहरूबाट प्राप्त मदतलाई पश्चात्तापी मनोवृतिका साथ स्वीकारेका छौं भने हामी फेरि सद्गुणको मार्गमा चल्न र त्यसैमा लागिरहनसक्छौं।—भजनसंग्रह १०३:१-३, १०-१४; याकूब ५:१३-१५.
७, ८. (क) यदि हामी सद्गुणी भइरहने हो भने कुन कुराको आवश्यकता छ? (ख) सद्गुणी हुने सम्बन्धमा मसीहीहरूका लागि के मदत उपलब्ध छ?
७ जन्मजात असिद्धताको कारण सद्गुणको मार्गमा चल्न आवश्यक कामहरू गर्न हामीले निरन्तर एउटा आन्तरिक युद्ध लडिरहनु पर्छ। हामी सद्गुणी भइरहने हो भने आफैलाई कहिल्यै पापको दास बन्न दिनु हुँदैन। बरू हामी “धार्मिकताको निम्ति दास” हुनुपर्छ, र सधैं सद्गुणी ढङ्गमा सोच्नु, बोल्नु र काम गर्नुपर्छ। (रोमी ६:१६-२३) निस्सन्देह हाम्रा शारीरिक लालसाहरू र पापी झुकावहरू प्रबल छन्। यस बाहेक यी कुराहरू र परमेश्वरले हामीबाट माग गर्नुहुने सद्गुणी कुराहरूबीचको सङ्घर्षको सामना गर्नुपरेको छ। त्यसोभए गर्नु पर्ने कुरा के हो त?
८ प्रथमतः हामीले यहोवाको पवित्र आत्मा वा सक्रिय शक्तिको निर्देशनलाई पछ्याउनु पर्छ। तसर्थ हामीले पावलको यस सल्लाहलाई ध्यान दिनुपर्छ: “तर म भन्दछु, आत्माको भरमा हिंड, र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नु पर्नेछैन। किनभने शरीरले आत्माको विरुद्धमा लालसा गर्दछ, र आत्माले शरीरको विरुद्धमा। किनकि तिमीहरूले इच्छा गरेका कुराहरू गर्न नपाओस् भनेर यिनीहरू एकको विरुद्ध अर्को हुन्छ।” (गलाती ५:१६, १७) हो, धार्मिकतालाई बल दिन हामीसँग परमेश्वरको आत्मा र ठीक चालचलनलाई निर्देशन दिन परमेश्वरको वचन छ। यस बाहेक हामीसँग यहोवाको सङ्गठनको मायालु मदत र “विश्वासी र बुद्धिमान दास”-ले दिने सल्लाह पनि छ। (मत्ती २४:४५-४७) यसप्रकार, पापी प्रवृत्तिहरू विरुद्ध हामी एउटा सफल युद्ध लड्न सक्छौं। (रोमी ७:१५-२५) निस्सन्देह, यदि गलत विचारहरू मनमा आउँछ भने हामीले त्यसलाई तुरुन्त हटाइहाल्नुपर्छ र सद्गुण नभएको कुनै पनि काम गर्ने प्रलोभनको विरोध गर्न परमेश्वरसँग प्रार्थनाद्वारा मदत माग्नुपर्छ।—मत्ती ६:१३.
सद्गुण र हाम्रा विचारहरू
९. सद्गुणी चालचलनका लागि कस्तो किसिमको सोचाइ आवश्यक छ?
९ एकजना व्यक्तिको सोच्ने ढङ्गमा सद्गुण निर्भर गर्छ। ईश्वरीय अनुमोदनको आनन्द उठाउन चाहन्छौं भने हामीले धार्मिक, असल र सद्गुणी कुराहरू सोच्नु पर्छ। यस विषयमा पावलले यसो भने: “अन्त्यमा हे भाइ हो, जे कुरा सच्चा छन्, जे कुरा आदरणीय छन्, जे कुरा चोखा छन्, जे कुरा असल छन्, जे कुरा मनपर्दा छन्, तिनमा केही सद्गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।” (फिलिप्पी ४:८) हामीले आफ्नो मनलाई धार्मिक र पवित्र कुराहरूमा लगाउनुपर्छ र सद्गुण नभएको कुनै पनि कुराबाट हामी मोहित हुनुहुँदैन। त्यसैले पावलले यसो भन्न सके: “तिमीहरूले जुन कुरा सिक्यौ, र ग्रहण पनि गऱ्यौ, सुन्यौ र ममा देख्यौ, तिनै काम गर।” हामीहरू पनि पावल जस्तै—आफ्नो सोचाइ, बोलीवचन र काममा सद्गुणी भयौं भने—हामी असल मित्र तथा मसीही जीवनशैलीको असल उदाहरण बन्नेछौं र ‘शान्तिका परमेश्वर हामीहरूसँग हुनुहुनेछ।’—फिलिप्पी ४:९.
१०. पहिलो कोरिन्थी १४:२०-लाई व्यक्तिगत तवरमा प्रयोग गर्नाले कसरी सद्गुणी भइरहन मदत पाउन सकिन्छ?
१० आफ्नो सोचाइमा सद्गुणी भइरहने हाम्रो इच्छा छ र यसप्रकार स्वर्गमा हुनुहुने पितालाई हामी खुशी तुल्याउन चाहन्छौं भने पावलले दिएको यस सल्लाहलाई हामीले प्रयोग गर्नु आवश्यक छ: “समझमा केटा-केटी नहोओ, खराबीमा बालकहरू होओ, तर समझमा मानिस होओ।” (१ कोरिन्थी १४:२०) यसको अर्थ हामी मसीहीहरू भएर दुष्टताको ज्ञान प्राप्त गर्ने वा त्यसलाई चाख्ने कोशिश गर्ने छैनौं। यसरी आफ्नो मनलाई भ्रष्ट हुन दिनुको सट्टा, बरु हामी बुद्धिमानीका साथ त्यस्ता कुराहरूमा बालकहरूझैं अनुभवहीन र अबोध हुन रोज्नेछौं। यसका साथै हामीलाई यो पनि राम्रोसँग थाहा छ कि यहोवाको नजरमा अनैतिकता र कुकर्म पापपूर्ण छ। सद्गुणी भएर उहाँलाई प्रसन्न पार्ने गहिरो हार्दिक इच्छाले हाम्रो हित गर्दछ। किनभने यसले हामीलाई अनैतिक मनोरञ्जनहरू र मनलाई भ्रष्ट पार्ने, शैतानको अधीनस्थ संसारका प्रभावहरूदेखि टाढा बस्न प्रेरित गर्नेछ।—१ यूहन्ना ५:१९.
सद्गुण र हाम्रो बोलीवचन
११. सद्गुणी हुनका लागि कस्तो प्रकारको बोली आवश्यक पर्छ र यस सम्बन्धमा यहोवा परमेश्वर र येशू ख्रीष्टको कस्तो उदाहरण छ?
११ हाम्रा विचारहरू सद्गुणले भरिएको छ भने, यसले हाम्रो बोलीमा गहिरो असर पार्नु पर्दछ। सद्गुणी हुनका लागि सफा, हितकर, प्रोत्साहक र सत्य बोली हुनु आवश्यक छ। (२ कोरिन्थी ६:३, ४, ७) यहोवा “सत्य परमेश्वर” हुनुहुन्छ। (भजनसंग्रह ३१:५) आफ्नो सबै व्यवहारमा उहाँ विश्वासी हुनुहुन्छ र उहाँका प्रतिज्ञाहरू भरपर्दा छन् किनभने उहाँ झूट बोल्नुहुन्न। (गन्ती २३:१९; १ शमूएल १५:२९; तितस १:२) परमेश्वरको पुत्र, येशू ख्रीष्ट “अनुग्रह र सत्य”-ले पूर्ण हुनुहुन्छ। आफ्नो पिताबाट जुन सत्य पाउनुभएको थियो पृथ्वीमा हुनुहुँदा उहाँले सधैं त्यही सत्य बोल्नुभयो। (यूहन्ना १:१४; ८:४०) यसबाहेक, येशूले “नता कुनै पाप गर्नुभयो, न उहाँको मुखमा छलको कुरा पाइयो।” (१ पत्रुस २:२२) यदि हामी साँच्चै नै परमेश्वर र ख्रीष्टका सेवकहरू हौं भने, मानो हाम्रो “कम्मर सत्यताले” कसे झैं हाम्रो बोली-वचन सत्य र हाम्रो चालचलन असल हुनेछ।—एफिसी ५:९; ६:१४.
१२. हामी सद्गुणी हुने हो भने, कस्तो प्रकारको बोलीहरूदेखि हामी अलग्गै बस्नु पर्छ?
१२ हामी सद्गुणी छौं भने त्यस्ता केही प्रकारका बोलीहरूदेखि हामी टाढा बस्नेछौं। हामी पावलले दिएको यस सल्लाहअनुसार चल्नेछौं: “सबै तीतोपना, क्रोध, रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्।” “व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइओस्, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ। औ न अशिष्टता, न बेमतलबका कुरा अथवा ठट्टा, यी उचित होइनन्, तर बरु धन्यवाद दिने काम होस्।” (एफिसी ४:३१; ५:३, ४) मसीहीहरूलाई नसुहाउने बोलीदेखि टाढा बस्न हाम्रो धार्मिक हृदयले हामीलाई उत्प्रेरणा दिनेहुँदा अरू व्यक्तिहरू हामीसँग सङ्गत गर्दा आनन्द महसुस गर्नेछन्।
१३. मसीहीहरूले जिब्रोलाई किन नियन्त्रणमा राख्नुपर्छ?
१३ परमेश्वरलाई प्रसन्न पार्ने र सद्गुणी वचन बोल्ने इच्छाले आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्न हामीलाई मदत दिनेछ। पापी झुकावहरूले गर्दा हामी सबै नै कहिलेकाहीं आफ्नो वचनमा चुक्दछौं। यद्यपि, चेला याकूब यसो भन्छन्, “हामीले घोडाहरूको मुखमा डोकडिहरू लगायौं भने” त्यसलाई हामी जता डोऱ्याउँछौं त्यो त्यतै जान्छ। यसर्थ, आफ्नो जिब्रोलाई लगाम लगाउन हामीले कडा प्रयत्न गर्न र त्यसलाई सद्गुणी कुराहरू मात्र बोल्न चलाउनुपर्छ। अनियन्त्रित जिब्रो “अधर्मको एक दुनियै हो।” (याकूब ३:१-७) यस भक्तिहीन संसारको हरेक प्रकारका खराब गुण वशमा नराखिएको जिब्रोसँग सम्बन्धित छ। झूटा गवाही दिनु, गाली गर्नु, बदनाम गर्नु जस्ता हानिकारक कुराहरूका लागि त्यो जिम्मेवार छ। (यशैया ५:२०; मत्ती १५:१८-२०) र बेकाबू जिब्रोले अपमानजनक, तीखो वा अरूहरूको बदनाम गर्ने टिप्पणी गर्दा त्यो मृत्युकारी विषले भरिएको हुन्छ।—भजनसंग्रह १४०:३; रोमी ३:१३; याकूब ३:८.
१४. मसीहीहरूले बोल्दा कुन दोहोरो स्तरहरूदेखि टाढा बस्नु पर्छ?
१४ याकूबले भने झैं, परमेश्वरको विषयमा असल बोलेर “यहोवाको प्रशंसा” गर्नु र पछि गएर त्यही जिब्रोको दुरुपयोग गर्दै अरूहरूको अशुभ कुरा बोलेर ‘मानिसहरूलाई सराप्नु’ सुहाउँदो कुरा होइन। सभाहरूमा परमेश्वरको प्रशंसा गाइसकेपछि बाहिर गएर आफ्नै सङ्गी विश्वासीहरूको विषयमा खराब कुरा बोल्नु कस्तो अधर्मी कुरा हो! एउटै मुहानबाट मीठो र तितो दुवै किसिमको पानी आउन सक्तैन। यदि हामी यहोवाको सेवा गर्दैछौं भने अप्रिय शब्दहरूको सट्टा हामीले सद्गुणी कुराहरू बोलेको अरूहरूले आशा गर्नु मुनासिब हो। तसर्थ खराब बोलीहरूदेखि हामी टाढा बसौं र हामीसँग सङ्गत गर्नेहरूलाई फाइदा हुने र तिनीहरूलाई आध्यात्मिक तवरमा ढाडस दिने कुराहरू बोल्ने प्रयत्न गरौं।—याकूब ३:९-१२.
सद्गुण र हाम्रा कामहरू
१५. छली तरिकाहरूतर्फ लाग्नु देखि टाढा बस्नु किन अति महत्त्वपूर्ण छ?
१५ मसीही विचार र बोली सद्गुणी हुनुपर्ने भएको हुनाले, हाम्रो कामहरूको विषयमा चाहिं के भन्न सकिन्छ? आचरणमा सद्गुणी हुनु परमेश्वरको अनुमोदन प्राप्त गर्ने एउटा मात्र तरिका हो। यहोवाको कुनै पनि सेवकले सद्गुणलाई त्यागेर भ्रष्ट र छली कुरामा लाग्नु र त्यस्ता कुराहरू परमेश्वरका निम्ति स्वीकारयोग्य हुनेछ भनी ठान्नु हुँदैन। हितोपदेश ३:३२-ले यसो भन्छ: “किनभने जो सोझो छैन, त्यसलाई परमप्रभु घीन गर्नुहुन्छ, तर सोझा मानिसहरू परमेश्वरका विश्वास-पात्र हुन्छन्।” यहोवा परमेश्वरसँगको हाम्रो सम्बन्धलाई यदि हामी प्रिय ठान्छौं भने अरूहरूको विरुद्धमा हानिकारक जाल बुन्न वा अरू कुनै भ्रष्ट काम गर्नदेखि ती विचारोद्दीपक शब्दहरूले हामीलाई रोक्नु पर्छ। अझ भनौं भने “खराबी चिताउने मन,” यहोवाको आत्मालाई मन नपर्ने सातवटा घृणित कुराहरूमध्ये एउटा हो। (हितोपदेश ६:१६-१९) अतः त्यस्ता कामहरूदेखि हामी टाढा बसौं र हाम्रो सह मानवहरूको हित र स्वर्गमा हुनुहुने हाम्रो पिताको महिमाका लागि सद्गुणी कामहरू गरौं।
१६. किन मसीहीहरू कुनै पनि प्रकारको ढोङ्गी कामहरूमा लाग्नु हुँदैन?
१६ सद्गुण देखाउन इमान्दार हुन आवश्यक छ। (हिब्रू १३:१८) आफ्नो वचनको विपरित काम गर्ने एकजना ढोङ्गी मानिस सद्गुणी हुन सक्तैन। “ढोङ्गी” भनेर अनुवाद गरिएको युनानी शब्द (हिपोक्रिटस) को अर्थ “जवाफ फर्काउने” हुन्छ र यस शब्दले रङ्गमञ्चको पात्रलाई पनि सङ्केत गर्छ। युनानी र रोमी पात्रहरूले नाटक गर्दा मुखौटाहरू लगाउने हुँदा, यस शब्दलाई ढोङ्ग गर्ने व्यक्तिहरूमाथि प्रतिकात्मक रूपमा चलाइन थालियो। ढोङ्गी व्यक्तिहरू “अविश्वासीहरू” हुन्। (लूका १२:४६ लाई मत्ती २४:५०, ५१ सँग तुलना गर्नुहोस्।) ढोङ्ग (हिपोक्राइसिस) शब्दले दुष्टता र धूर्ततालाई पनि सङ्केत गर्नसक्छ। (मत्ती २२:१८; मर्कूस १२:१५; लूका २०:२३) निर्धक्क भएर भरोसा गरिरहेको एकजना मानिस देखावटी मुस्कान, खुशामद र कामहरूको शिकार हुनु कति दुःखलाग्दो कुरा हो! तर अर्कोतर्फ विश्वासयोग्य मसीहीहरूसँग हामीले व्यवहार गर्दैछौं भनेर थाहा पाउनु एउटा आनन्ददायी कुरो हो। र हामी सद्गुणी भयौं, ढोङ्गी भएनौं भने परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ। उहाँको अनुग्रह “भाइप्रति निष्कपट प्रेम” देखाउने र “निष्कपट विश्वास” हुने व्यक्तिहरूमाथि रहन्छ।—१ पत्रुस १:२२; १ तिमोथी १:५.
सद्गुण सक्रिय भलाइ हो
१७, १८. हामीले आत्माको फल भलाइलाई प्रकट गर्दा, अरूहरूसँग हामी कस्तो व्यवहार गर्नेछौं?
१७ आफ्नो विश्वासमा हामीले सद्गुण थप्यौं भने, परमेश्वरलाई स्वीकार्य नहुने कुराहरू सोच्न, बोल्न र त्यस्ता कामहरू गर्न देखि टाढा बस्न हामी प्रयत्न गर्नेछौं। तथापि, मसीही सद्गुण प्रदर्शित गर्न हामीले सक्रिय रूपमा भलाइ गर्न पनि आवश्यक छ। वास्तवमा सद्गुणलाई भलाइ भनेर परिभाषित गरिएको छ। भलाइ मानव यत्नको फल नभइ यहोवाको पवित्र आत्माको एउटा फल हो। (गलाती ५:२२, २३) हामीले आत्माको फल भलाइ प्रकट गर्दैजाँदा अरूहरूको असिद्धताको बावजूद पनि उनीहरूको विषयमा असल सोच्न र सराहाना गर्न हामी उत्प्रेरित हुँदै जानेछौं। के तिनीहरूले वर्षौं देखि विश्वासी भएर यहोवाका सेवा गरिरहेका छन्? त्यसोभए, हामीले तिनीहरूलाई आदर देखाउन र परमेश्वरको निम्ति तिनीहरूले गरेको सेवा र तिनीहरूको विषयमा भलो कुरा बोल्नुपर्छ। उहाँको नाउँको खातिर देखाएको प्रेम र विश्वासको सद्गुणी कामहरूलाई स्वर्गमा हुनुहुने हाम्रो पिताले बिर्सनुहुन्न र हामीले पनि त्यस्तै गर्नुपर्छ।—नहेम्याह १३:३१ख; हिब्रू ६:१०.
१८ सद्गुणले हामीलाई धैर्यवान, सहानुभूतिशील र अनुकम्पापूर्ण बनाउँछ। यहोवाका कुनै सङ्गी उपासक सङ्कष्टमा परेको वा निराशित भएको छ भने स्वर्गमा हुनुहुने हाम्रो मायालु पिताले हामीलाई सान्त्वना दिनुभए झैं हामी आश्वासनपूर्ण कुराहरू गर्नेछौं र तिनलाई केही सान्त्वना दिनेछौं। (२ कोरिन्थी १:३, ४; १ थिस्सलोनिकी ५:१४) आफ्नो प्रिय जनको मृत्युको कारण वा अन्य कुनै कारणद्वारा शोकित भएका व्यक्तिहरूमाथि हामी सहानुभूति देखाउँछौं। तिनको दुःखलाई कम गर्न हामीले केही गर्नसक्छौं भने हामी त्यो पनि गर्नेछौं किनभने सद्गुणी भावनाले मायालु र अनुकम्पापूर्ण काम गर्न प्रेरित गर्छ।
१९. विचार, शब्द र काममा हामी सद्गुणी छौं भने सम्भवतः अरूहरूले हामीसित कस्तो व्यवहार गर्नेछ?
१९ हाम्रो सोचाइ, बोली-वचन र काम सद्गुणले भरिएको छ भने हामीले असल कुरा बोलेर यहोवाको प्रशंसा गरेझैं अरूहरूले पनि हाम्रो प्रशंसा गर्नसक्छन्। (भजनसंग्रह १४५:१०) बुद्धिले भरिएको एउटा हितोपदेशले यसो भन्छ: “धर्मीमाथि आशिषको झरी बर्षन्छ। दुष्टहरू आफ्नै अत्याचारले निसासिन्छन्।” (हितोपदेश १०:६) दुष्ट र हिंस्रक व्यक्तिमा हामीलाई अरूहरूको नजरमा प्रिय बनाउने सद्गुण हुँदैन। उसले जे रोप्छ त्यसैको कटनी गर्छ किनभने उसको विषयमा भलो कुराहरू गरेर मानिसहरूले इमान्दारीपूर्वक उसको प्रशंसा गर्न सक्दैनन्। (गलाती ६:७) यहोवाका सेवकहरू भएर सद्गुणका साथ सोच्नु, बोल्नु र त्यसै अनुसार काम गर्नु कति असल कुरा हो! तिनीहरूको आदर गर्न र तिनीहरूको विषयमा भलो कुरा बोल्न उत्प्रेरित भएका व्यक्तिहरूबाट तिनीहरू प्रेम, आदर र भरोसा जित्छन्। यसबाहेक, तिनीहरूको ईश्वरीय सद्गुणका कारण यहोवाको अनमोल आशिष तिनीहरूले पाउँछन्।—हितोपदेश १०:२२.
२०. यहोवाका जनहरूको मण्डलीमा सद्गुणी विचार, बोली र कामहरूले कस्तो प्रभाव पार्नसक्छ?
२० सद्गुणी विचार, वचन र कामहरूले निश्चय नै यहोवाका जनहरूको मण्डलीको हित गर्छ। सङ्गी विश्वासीहरूबीच स्नेही र आदरपूर्ण विचार हुँदा, तिनीहरूबीच भ्रातृ प्रेम फस्टाउँदछ। (यूहन्ना १३:३४, ३५) हार्दिक सराहना र प्रोत्साहन लगायत सद्गुणी वचनले सहयोग र एकताको न्यानो भावनालाई बढाउँछ। (भजनसंग्रह १३३:१-३) र आनन्ददायी र सद्गुणी कामहरूले अरूहरूलाई त्यस्तै किसिमको प्रतिक्रिया व्यक्त गर्न उक्साउँछ। सबैभन्दा मुख्य कुरा, मसीही सद्गुणको अभ्यास गर्नाले स्वर्गमा हुनुहुने हाम्रो सद्गुणी पिता यहोवाको अनुमोदन र आशिष प्राप्त हुन्छ। तसर्थ परमेश्वरका बहुमूल्य प्रतिज्ञाहरूमाथि विश्वास गर्दै त्यसतर्फ आफ्नो प्रतिक्रिया व्यक्त गर्ने हाम्रो लक्ष्य बनाऔं। र हाम्रो विश्वासमा सद्गुण थप्न जोडदार प्रयत्न गरौं। (w93 7/15)
तपाईंको उत्तरहरू के हुन्?
▫ “सद्गुण”-लाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ र असिद्ध मानिसहरू किन सद्गुणी हुनसक्छन्?
▫ सद्गुणी हुन कस्तो किसिमको विचार हुनुपर्छ?
▫ हाम्रो बोलीमाथि सद्गुणले कसरी प्रभाव पार्नुपर्छ?
▫ हाम्रो कामहरूमा सद्गुणको कस्तो असर हुनुपर्छ?
▫ सद्गुणी हुँदा हुने केही फाइदाहरू के के हुन्?
[पृष्ठ २९-मा भएको चित्र]
एउटै स्रोतबाट मीठो र तीतो दुवै किसिमको पानी आउन नसक्ने हुनाले यहोवाका सेवकहरूले सद्गुणी कुरामात्र बोलेको अरूहरूले अपेक्षा गर्नु मुनासिब हो