डाह यसबारे तपाईंले के थाह पाउनुपर्छ
डाह के हो? यो असाध्यै तीव्र भावना हो र यसले मानिसलाई उत्सुक बनाउन, दुःखी तुल्याउन वा रीस उठाउनसक्छ। कुनै कार्यमा आफूभन्दा अर्को व्यक्ति बढी सफल देखिएमा हामी डाही हुनसक्छौं। वा आफूले भन्दा साथीले बढी प्रशंसा प्राप्त गर्दा डाही हुनसक्छौं। तर के डाह गर्नु सधैं गलत हो?
डाही मानिस सम्भाव्य प्रतिद्वन्दीहरूबारे शंकालु हुनसक्छ। पुरातन इस्राएलका राजा शाऊल यसका उदाहरण हुन्। सुरुमा तिनले आफ्नो हतियार बोक्ने दाऊदलाई असाध्यै प्रेम गरेकोले उनलाई सेनाका एक कप्तानसमेत नियुक्त गरे। (१ शमूएल १६:२१; १८:५) तर एक दिन स्त्रीहरूले यसो भन्दै दाऊदको प्रशंसा गरिरहेको राजा शाऊलले सुने: “शाऊलले हजारौं हजारलाई ध्वंस गरे, तर दाऊदले ता लक्खौं लाखलाई ध्वंस गरे।” (१ शमूएल १८:७) यो सुनेर शाऊलले दाऊदसितको राम्रो सम्बन्धलाई तीतो पार्न नहुने हो। तथापि, तिनले त्यसलाई आफ्नो अपमान ठाने। “त्यस दिनदेखि उसो शाऊलले दाऊदलाई डाहाको दृष्टिले हेर्नलागे।”—१ शमूएल १८:९.
डाही मानिसले अरूको हानि होस् भन्ने इच्छा नगर्लान्। तिनले केवल आफ्नो सहचरको सफलताप्रति अप्रसन्न भएर उनको जस्तै गुन तथा परिस्थितिको लालसा गर्लान्। अर्कोतर्फ, ईर्ष्या भनेको विशेषगरि डाहको नकारात्मक रूप हो। आफूले डाह गर्ने व्यक्तिबाट ईर्ष्यालु मानिसले गोप्य तवरमा असल कुरा वञ्चित गर्नसक्छ वा त्यसमाथि हानि आइपरोस् भन्ने इच्छा गर्नसक्छ। कहिलेकाहीं ईर्ष्यालु मानिसले आफ्ना भावनाहरूलाई लुकाउन सक्दैन। राजा शाऊलले दाऊदलाई मार्न खोजेझैं उसले अर्को व्यक्तिलाई प्रत्यक्षतः हानि पुऱ्याउनसक्छ। शाऊलले “दाऊदलाई भित्तैमा उनिने” प्रयासमा निकै चोटि भाला हाने।—१ शमूएल १८:११; १९:१०.
तर तपाईं भन्नुहोला, ‘म डाह गर्दिनँ।’ हो, डाहले तपाईंको जीवनलाई नियन्त्रण नगर्ला। तथापि, हामी सबैलाई केही हदसम्म डाही भावनाहरूले असर गरेको हुन्छ। ती, हाम्रा आफ्नै वा अरूका डाही भावनाहरू हुनसक्छन्। हामीले अरूको डाही स्वभाव झट्टै देखी हालौंला तर आफूमा भएको डाह भने त्यति सजिलै देख्न सक्दैनौं।
“डाह गर्ने इच्छा”
परमेश्वरको वचन, बाइबलमा प्रकट गरिएअनुसार पापी मानव स्वभावको विवरणले प्रायजसो ईर्ष्यासित सम्बन्धित पापहरूलाई प्रकाश पार्छ। के तपाईंले कयिन र हाबिलको विवरण सम्झनुभएको छ? आदम र हव्वाका यी दुवै छोराहरूले परमेश्वरलाई भेटी चढाए। हाबिलले विश्वासबाटै भेटी चढाए। (हिब्रू ११:४) यस पृथ्वीको लागि महान् उद्देश्य पूरा गर्नुहुने परमेश्वरको क्षमतामा तिनले विश्वास गरे। (उत्पत्ति १:२८; ३:१५; हिब्रू ११:१) आउँदै गरेको पार्थिव प्रमोदवनमा परमेश्वरले विश्वासी मानवहरूलाई इनाम दिनुहुनेछ भनेर हाबिललाई उहाँमाथि पूर्ण विश्वास थियो। (हिब्रू ११:६) तसर्थ, हाबिलको भेटीसित परमेश्वर खुशी हुनुभयो। कयिनले आफ्नो भाइलाई साँच्चै प्रेम गरेको भए परमेश्वरले हाबिललाई आशिष् दिनुहुँदा तिनी खुशी हुनेथिए। तर कयिन “ज्यादै रिसाए।”—उत्पत्ति ४:५.
कयिनले पनि आशिष् पाउन सकोस् भनेर परमेश्वरले तिनलाई असल कार्य गर्न आग्रह गर्नुभयो। त्यसपछि परमेश्वरले यस्तो चेताउनी दिनुभयो: “तैंले असल गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र? यदि तैंले असल गरेनस् भनेता पाप ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नैपर्छ।” (उत्पत्ति ४:७) तर दुःखको कुरा, कयिनले आफ्नो डाही रीसलाई नियन्त्रणमा राखेनन्। यसले तिनलाई आफ्नो धर्मी भाइको हत्या गर्न उस्कायो। (१ यूहन्ना ३:१२) त्यसउप्रान्त झगडा तथा युद्धहरूले करोडौं व्यक्तिहरूको ज्यान लिएको छ। द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसप्रकार वर्णन गर्छ, “युद्ध हुनुका केही आधारभूत कारणहरू अझ बढी भूमि, बढी धन-सम्पत्ति, बढी शक्ति वा सुरक्षा प्राप्त गर्ने इच्छा हुनसक्छ।”
साँचो मसीहीहरूले यस संसारका युद्धहरूमा भाग लिंदैनन्। (यूहन्ना १७:१६) तर दुःखको कुरा, मसीहीहरू कहिलेकाहीं मौखिक झगडाहरूमा मुछिन्छन्। मण्डलीका अरू सदस्यहरू पनि यी झगडाहरूमा सामेल हुँदा ती हानिकारक मौखिक युद्धमा परिणत हुनसक्छन्। बाइबल लेखक याकूबले संगी विश्वासीहरूलाई यो प्रश्न गरे, “तिमीहरूमा लडाइँ कहाँबाट आउँछ? औ झगड़ा कहाँबाट आउँछ?” (याकूब ४:१) तिनले तिनीहरूको भौतिकवादी लोभलाई पर्दाफास गरेर उक्त प्रश्नको जवाफ दिए र अझै यसो भने, “तिमीहरू . . . लोभ गर्दछौ” वा “डाह” गर्छौ। (याकूब ४:२) हो, भौतिकवादले आफूभन्दा उत्तम परिस्थितिको आनन्द उठाउने व्यक्तिहरूको लोभ र डाह गर्न उस्काउनसक्छ। यसकारण याकूबले मानिसमा हुने “डाह गर्ने इच्छा” विरुद्ध चेताउनी दिए।—याकूब ४:५.
डाहका कारणहरूलाई केलाउँदा के लाभ हुन्छ? भनौं भने, यसले हामीलाई इमानदार हुन र अरूसितको सम्बन्धलाई अझ राम्रो बनाउन मदत दिनसक्छ। यसले हामीलाई अझ बढी समझदार, सहनशील र क्षमाशील हुन मदत दिनसक्छ। तर सबैभन्दा मुख्य कुरा, यसले पापी मानव प्रवृत्तिहरूबाट छुटकारा पाउन परमेश्वरको मायालु प्रबन्धको अत्यावश्यक खाँचोलाई प्रकाश पार्छ।—रोमी ७:२४, २५.
पापी डाहबिनाको संसार
पापी डाहबिनाको संसार त मानव दृष्टिकोणबाट असम्भव नै जस्तो लाग्छ। लेखक रम लान्ड्यु यसरी स्वीकार्छन्: “पुस्तौंदेखि दार्शनिकहरू . . . तथा मनोवैज्ञानिकहरूले डाहको विषयमा जे जति भनेका छन्, त्यसमा निकै बुद्धि पाइन्छ। तर त्यसले डाह पीडित मानवजातिलाई कुनै डोऱ्याइ प्रदान गर्न सकेको छैन। . . . के कुनै चिकित्सकले डाही मानिसलाई कहिल्यै निको पारेको छ?”
तर परमेश्वरको वचनले नयाँ संसारमा सिद्ध जीवन प्राप्त गर्ने आशा प्रदान गर्छ। त्यहाँ कोही पनि अधर्मी डाह वा ईर्ष्याले पीडित हुनेछैन। यसको अलावा, त्यस्ता दुष्ट गुनहरू झल्काउने मानिसहरूले त्यस नयाँ संसारको शान्तिलाई भंग गर्नेछैनन्।—गलाती ५:१९-२१; २ पत्रु. ३:१३.
यद्यपि, सबै प्रकारको डाह अनुचित होइन। वास्तवमा बाइबलले यहोवा “डाही” परमेश्वर हुनुहुन्छ भनेर बताउँछ। (प्रस्थान ३४:१४) यसको अर्थ के हो? अनि बाइबलले उचित डाहबारे के बताउँछ? त्यसको साथै मानिसले अनुचित डाहलाई कसरी आफ्नो नियन्त्रणमा राख्नसक्छ? यसपछिका लेखहरू हेर्नुहोस्।