प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ९/१५ pp. १४-१९
  • प्रेमले अनुचित डाहमाथि विजय प्राप्त गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेमले अनुचित डाहमाथि विजय प्राप्त गर्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मसीहीहरूबीच डाह
  • मण्डलीभित्र
  • परिवारभित्र
  • डाहमाथि विजय प्राप्त गरेका उदाहरणहरू
  • सबैभन्दा उल्लेखनीय उदाहरणहरू
  • डाहलाई नियन्त्रणमा राख्ने
  • डाह यसबारे तपाईंले के थाह पाउनुपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवाको शुद्ध उपासनाको लागि डाही
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • के मसीहीहरू डाही हुनु उचित हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • युसुफ दाइहरूको डाहको सिकार भए
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ९/१५ pp. १४-१९

प्रेमले अनुचित डाहमाथि विजय प्राप्त गर्छ

“प्रेमले डाह गर्दैन।”—१ कोरिन्थी १३:४.

१, २. (क) येशूले आफ्ना चेलाहरूलाई प्रेमबारे के बताउनुभयो? (ख) के मायालु हुनुको साथसाथै डाही हुनु पनि सम्भव छ अनि तपाईंले त्यस्तो जवाफ दिनुको कारण के हो?

प्रेम, साँचो मसीही धर्मको चिनारी हो। येशू ख्रीष्टले भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) प्रेमले संगी मसीहीहरूबीचको सम्बन्धमाथि पार्ने प्रभावबारे लेख्न प्रेरित पावल उत्प्रेरित भए। अन्य कुराहरूका साथै तिनले लेखे: “प्रेमले डाह गर्दैन।”—१ कोरिन्थी १३:४.

२ पावलले ती शब्दहरू मार्फत अनुचित डाहलाई औंल्याउँदै थिए। अन्यथा तिनले त्यही मण्डलीलाई यसो भन्‍न सक्नेथिएनन्‌: “ईश्‍वरीय डाहले म तिमीहरूमाथि डाही भएको छु।” (२ कोरिन्थी ११:२) मण्डलीमा भ्रष्ट प्रभाव पारिरहेका केही मानिसहरूले गर्दा तिनमा “ईश्‍वरीय डाह” जागेको थियो। यसले गर्दा कोरिन्थका मसीहीहरूलाई निकै मायालु सल्लाहका साथ दोस्रो प्रेरित पत्र लेख्न पावल उत्प्रेरित भए।—२ कोरिन्थी ११:३-५.

मसीहीहरूबीच डाह

३. कोरिन्थका मसीहीहरूबीच डाहको समस्या कसरी विकास भयो?

३ नयाँ मसीहीहरूलाई एकअर्कासित मिलेर बस्न गाह्रो परिरहेको हुँदा पावलले कोरिन्थीहरूलाई लेखेको प्रथम पत्रमा त्यस समस्याबारे बताउनुपऱ्‍यो। तिनीहरू केही मानिसहरूलाई उच्च पारेर ‘एउटा अर्कोको विरुद्धमा घमण्डले’ फुलिरहेका थिए। यसले गर्दा मण्डलीभित्र विभाजन हुन थाल्यो र केहीले “‘म पावलको’, कसैले ‘म अपोलोसको’ कसैले, ‘म केफासको’” भन्‍न थाले। (१ कोरिन्थी १:१२; ४:६) पवित्र आत्माको डोऱ्‍याइले गर्दा प्रेरित पावलले समस्याको मूल कारण बुझ्न सके। कोरिन्थीहरू “आत्मिकहरू” जस्तो नभई शारीरिक चालमा हिंडिरहेका थिए। तसर्थ, पावलले यसप्रकार लेखे: “तिमीहरू अझै शारीरिकनै छौ। किनभने जहाँसम्म तिमीहरूमा डाह र झगड़ा छँदैछ, के तिमीहरू शारीरिक र मानिसको चालमा चल्ने भएनौ र?”—१ कोरिन्थी ३:१-३.

४. एकअर्काप्रति सही दृष्टिकोण राख्ने मदतको लागि प्रेरित पावलले कुन उदाहरण चलाए र यसबाट हामी कस्तो पाठ सिक्नसक्छौं?

४ पावलले कोरिन्थीहरूलाई मण्डलीका विभिन्‍न व्यक्‍तिहरूका सीप तथा योग्यताहरूप्रति सही दृष्टिकोण राख्न मदत दिए। तिनले सोधे: “तिमीलाई कसले छुट्याउँछ र? तिमीले नपाएको के छ र? तर तिमीले पाएका छौ भने ता, त्यो नपाए जस्तैगरी किन घमण्डले फूल्दछौ?” (१ कोरिन्थी ४:७) पावलले १ कोरिन्थी १२ अध्यायमा मण्डलीका सदस्यहरूलाई शरीरका बेग्लाबेग्लै अंगहरूजस्तै हुन्‌ भनेर वर्णन गरे। उदाहरणका लागि, हात, आँखा र कान सबै एउटै शरीरका भाग हुन्‌। ती सबै अंगहरूले एकअर्काको हेरचाह गरोस्‌ भन्‍ने ढंगमा परमेश्‍वरले बनाउनुभएको छ भनी तिनले औंल्याए। पावलले यो पनि लेखे: “एउटा अंगको आदर भयो भने, सबै अंगहरूले यसैको साथसाथै आनन्द गर्दछन्‌।” (१ कोरिन्थी १२:२६) आज परमेश्‍वरका सबै सेवकहरूले एकअर्कासितको सम्बन्धमा यही सिद्धान्त लागू गर्नुपर्छ। परमेश्‍वरको सेवामा अरूको कार्यभार वा उपलब्धिहरूले गर्दा तिनको डाह गर्नुको साटो तिनीहरू सँगसँगै आनन्दित हुनुपर्छ।

५. याकूब ४:५ मा कुन कुरा प्रकट गरिएको छ र यी शब्दहरूको सत्यतालाई शास्त्रले कसरी प्रकाश पार्छ?

५ हो, गर्नुभन्दा भन्‍नु सजिलो छ। बाइबल लेखक याकूबले हरेक पापी मानिसहरूमा हुने “डाह गर्ने आत्मा[बारे]” सम्झाउँछन्‌। (याकूब ४:५) कयिनले आफ्नो अनुचित डाहलाई वशमा राख्न नसक्दा प्रथम मानव मृत्यु भयो। पलिश्‍तीहरूले इसहाकलाई सताए किनभने तिनीहरूले तिनको संवृद्धिको ईर्ष्या गरे। आफ्नी दिदीले सन्तान जन्माएकीमा राहेल डाही भइन्‌। आफ्नो कान्छो भाइ, यूसुफप्रति देखाइएको कृपाले गर्दा याकूबका अरू छोराहरू डाही भए। स्पष्ट छ, मरियमले आफ्नी गैरइस्राएली भाउजूको डाह गरिन्‌। कोरह, दातान र अबीरामले ईर्ष्यालु भएर मोशा र हारूनको विरुद्धमा षड्यन्त्र रचे। राजा शाऊलले दाऊदका सैन्य सफलताहरूको डाह गरे। निस्सन्देह, येशूका चेलाहरूले आफूमध्ये को सबैभन्दा ठूलो भनी बारम्बार विवाद गर्नुको एउटा कारण डाह पनि थियो। तथ्य के हो भने, कुनै पनि असिद्ध मानव “डाह गर्ने [पापी] इच्छा[बाट]” पूर्णतया मुक्‍त हुँदैन।—उत्पत्ति ४:४-८; २६:१४; ३०:१; ३७:११; गन्ती १२:१, २; १६:१-३; भजन १०६:१६; १ शमूएल १८:७-९; मत्ती २०:२१, २४; मर्कूस ९:३३, ३४; लूका २२:२४.

मण्डलीभित्र

६. प्राचीनहरूले डाह गर्ने इच्छालाई कसरी नियन्त्रणमा राख्नसक्छन्‌?

६ सबै मसीहीहरूले आफूलाई ईर्ष्या र अनुचित डाहबाट जोगाउनुपर्छ। यसमा परमेश्‍वरका जनहरूको हेरचाह गर्न नियुक्‍त प्राचीनहरूको निकाय समावेश छ। यदि प्राचीन विनीत छन्‌ भने तिनी महत्त्वाकांक्षी भएर अरूभन्दा श्रेष्ठ हुन खोज्नेछैनन्‌। अर्कोतर्फ, कुनै प्राचीनसित व्यवस्थापक वा जनवक्‍ताको हैसियतमा उल्लेखनीय योग्यताहरू छन्‌ भने अरूले यसलाई मण्डलीको निम्ति आशिष्‌ ठानेर आनन्दित हुनेछन्‌। (रोमी १२:१५, १६) एक जना भाइले राम्रो प्रगति गरेर आफ्नो जीवनमा परमेश्‍वरको आत्माको फल फलाइरहेको प्रमाण दिनसक्छन्‌। तिनका योग्यताहरूलाई विचार गर्दा तिनका सानातिना त्रुटिहरूलाई बढाइचढाइ गरेर तिनलाई सहायक सेवक वा प्राचीनको हैसियतमा सिफारिश गर्नदेखि रोक्नु हुँदैन। त्यसले प्रेम र व्यवहारिकताको अभाव देखाउनेछ।

७. एक मसीहीले केही ईश्‍वरतान्त्रिक कार्यभार पाउँदा कस्तो समस्या विकास हुनसक्छ?

७ कसैले ईश्‍वरतान्त्रिक कार्यभार वा आध्यात्मिक आशिष्‌ प्राप्त गर्दा मण्डलीका अन्य व्यक्‍तिहरू ईर्ष्यालु हुनदेखि जोगिनुपर्छ। उदाहरणको लागि, मसीही सभाहरूमा प्रदर्शनहरू गर्न एक दक्ष बहिनीलाई अरूभन्दा बढी प्रयोग गरिएको हुनसक्छ। यसले गर्दा कहिलेकाहीं केही बहिनीहरू डाही हुनसक्छन्‌। शायद फिलिप्पी मण्डलीमा इयोदिया र सिन्तकेबीच त्यस्तै समस्या भएको हुनसक्छ। त्यस्ता आधुनिक समयका स्त्रीहरूलाई नम्र तथा “प्रभुमा एउटै मनका” हुन प्राचीनहरूको मायालु प्रोत्साहन चाहिन्छ।—फिलिप्पी २:२, ३; ४:२, ३.

८. डाहले गर्दा कस्ता पापी कार्यहरू हुनसक्छन्‌?

८ अहिले मण्डलीमा विशेषाधिकार पाएको कुनै भाइ या बहिनीले विगतमा गरेको गल्तीबारे कुनै मसीहीलाई थाह हुनसक्छ। (याकूब ३:२) डाही भएर त्यसबारे अरूलाई बताउन र मण्डलीमा त्यस व्यक्‍तिले पाएको जिम्मेवारीमाथि शंका गर्न तिनी प्रलोभित हुनसक्छन्‌। यो प्रेमको विपरीत हुनेछ किनभने प्रेमले “असंख्य पापहरू ढाक्‍तछ।” (१ पत्रुस ४:८) डाही कुराकानीले मण्डलीको शान्तिलाई भंग गर्नसक्छ। चेला याकूबले यसप्रकार चेताउनी दिए: “यदि तिमीहरूका हृदयमा कठोर इबी र विरोध छ भने घमण्ड नगर, र सत्यको विरुद्धमा झूट नबोल। यो ज्ञान माथिबाट आउने ज्ञान होइन, तर यो ता सांसारिक, स्वाभाविक र शैतानी ज्ञान हो।”—याकूब ३:१४, १५.

परिवारभित्र

९. विवाहित दम्पतीहरूले डाही भावनाहरूलाई कसरी नियन्त्रणमा राख्नसक्छन्‌?

९ अनुचित डाहले गर्दा धेरै विवाहहरू असफल हुन्छन्‌। आफ्नो पति या पत्नीप्रति भरोसा नदेखाउनु मायालु कुरा होइन। (१ कोरिन्थी १३:७) अर्कोतर्फ, पति या पत्नी आफ्नो जोडीको डाही भावनाहरूप्रति असंवेदनशील हुनसक्छन्‌। उदाहरणको लागि, आफ्नो पतिले कुनै स्त्रीप्रति देखाएको चासोले गर्दा पत्नी डाही हुनसक्छिन्‌। वा आफ्नी पत्नीले खाँचोमा परेको नातेदारलाई हेरचाह गर्न बिताएको सम- यले गर्दा पति डाही हुनसक्छन्‌। त्यस्ता भावनाहरूले गर्दा लज्जित महसुस गर्दै पति या पत्नी चुपो लागेर बस्लान्‌। अनि समस्यालाई अझ जटिल बनाउने ढंगमा आफ्नो निराशा व्यक्‍त गर्नसक्छन्‌। त्यसको साटो डाही पति वा पत्नीले कुराकानी गर्नुपर्छ र आफ्ना भावनाहरूबारे इमानदार हुनुपर्छ। त्यसो गर्दा पति या पत्नीले समझदारी देखाएर तिनलाई आफ्नो प्रेमको आश्‍वासन दिनुपर्छ। (एफिसी ५:२८, २९) डाह उत्पन्‍न हुने परिस्थितिहरूबाट जोगिएर दुवैले त्यस्ता भावनाहरूलाई कम गर्नुपर्ने हुनसक्छ। परमेश्‍वरको बगालको गोठालाको हैसियतमा आफ्नो जिम्मेवारी पूरा गर्न आफूले अर्की स्त्रीलाई सीमित तथा उचित चासो देखाइरहेको हो भनेर बुझ्न मसीही निरीक्षकले कहिलेकाहीं आफ्नी पत्नीलाई सम्झाउनुपर्ने हुनसक्छ। (यशैया ३२:२) निस्सन्देह, डाही हुने कुनै वैध कारण दिनदेखि प्राचीन होशियार हुनुपर्छ। यसो गर्न सन्तुलन चाहिन्छ र आफ्नो वैवाहिक सम्बन्धलाई सुदृढ पार्न तिनले यथेष्ट समय बिताएका छन्‌ कि छैनन्‌ भनेर यकिन गर्नुपर्छ।—१ तिमोथी ३:५; ५:१, २.

१०. आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई डाही भावनाहरूको सामना गर्न कसरी मदत दिनसक्छन्‌?

१० आमाबाबुहरूले पनि आफ्ना छोराछोरीहरूलाई अनुचित डाहबारे बुझ्न मदत दिनैपर्छ। केटाकेटीहरूका कचिंगलहरू प्रायजसो झगडामा परिणत हुन्छन्‌। यो प्रायः डाहले गर्दा हुन्छ। हरेक बच्चाका आवश्‍यकताहरू भिन्दै हुने भएकोले सबै बच्चाहरूलाई एकैनासको व्यवहार गर्न मिल्दैन। यसबाहेक हरेक बच्चाले आफ्ना योग्यता तथा कमजोरीहरूबारे बुझ्नु आवश्‍यक छ। एक जना बच्चालाई सधैं अर्कोले जत्तिकै गर्न प्रोत्साहित गर्दा यसले एक जना बच्चामा ईर्ष्या र अर्कोमा घमण्डको भावना जगाउनसक्छ। यसर्थ, आमाबाबुहरूले छोराछोरीहरूलाई आफ्नो प्रगति एकअर्कासित प्रतिस्पर्धाद्वारा होइन तर परमेश्‍वरको वचनमा दिइएका उदाहरणहरूअनुरूप छन्‌ किन छैनन्‌ भनी दाँज्न प्रशिक्षण दिनुपर्छ। बाइबलले यसो भन्छ: “एउटाले अर्कोसित पाखुरा सुर्काउने, र एउटाले अर्कोको डाह गर्ने भएर हामी अति अहंकारी नहोऔं।” बरु, “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्‌। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ।” (गलाती ५:२६; ६:४) सबैभन्दा महत्त्वपूर्ण कुरा, मसीही आमाबाबुहरूले बच्चाहरूलाई नियमित बाइबल अध्ययनद्वारा परमेश्‍वरको वचनका असल तथा खराब उदाहरणहरूलाई प्रकाश पारेर मदत दिनुपर्छ।—२ तिमोथी ३:१५.

डाहमाथि विजय प्राप्त गरेका उदाहरणहरू

११. डाह सामना गर्ने सन्दर्भमा मोशा कसरी असल उदाहरण साबित भयो?

११ यस संसारको शक्‍तिका भोका नेताहरूजस्तो नभएर “मोशाचाहिं पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति थिए।” (गन्ती १२:३) मोशालाई एक्लैले इस्राएलीहरूको नेतृत्व गर्न बोझिलो लागेपछि यहोवाले आफ्नो आत्माद्वारा ७० जना इस्राएलीहरूलाई नियुक्‍त गर्नुभयो। साथै मोशालाई मदत गर्न तिनीहरूलाई शक्‍ति दिनुभयो। यीमध्ये दुइ जनाले अगमवक्‍ताहरूजस्तो व्यवहार गर्न थाल्दा यहोशूलाई यसो गर्नु मोशाको नेतृत्वबाट तर्किनुझैं लाग्यो। यहोशू यी मानिसहरूलाई रोक्न चाहन्थे तर मोशाले नम्रतापूर्वक यस्तो तर्क गरे: “के मेरो खातिर तँ डाह गर्ने भइस? परमप्रभुले आफ्ना आत्मा मानिसमाथि राखिदिनुभएर सबै अगमवक्‍तानै भइदिएता कति असल हुनेथियो।” (गन्ती ११:२९) हो, अरूले सेवाका विशेषाधिकारहरू पाउँदा मोशा खुशी थिए। तिनले डाही भएर आफ्नै महिमा खोजेनन्‌।

१२. जोनाथनलाई कुन कुराले डाही भावनाहरूदेखि जोगिन मदत दियो?

१२ प्रेमले डाहका सम्भाव्य अनुचित भावनाहरूलाई जित्ने सम्बन्धमा इस्राएली राजा शाऊलका छोरा, जोनाथनले असल उदाहरण प्रदान गरे। जोनाथन आफ्नो बुबाका उत्तराधिकारी थिए तर यहोवाले शाऊलपश्‍चात्‌ राजा हुन यिशैका छोरा, दाऊदलाई छान्‍नुभयो। जोनाथनको परिस्थितिमा हुँदो हो त थुप्रै मानिसहरूले दाऊदलाई आफ्नो प्रतिद्वन्दी ठानेर तिनको डाह गर्नेथिए। तथापि, दाऊदप्रति जोनाथनको प्रेमले गर्दा तिनी त्यस्ता भावनाहरूको वशमा परेनन्‌। जोनाथनको मृत्युबारे थाह पाएपछि दाऊदले यसो भन्‍न सके: “हे जोनाथन मेरो भाइ, तिम्रो निम्ति म विलाप गर्दछु! तिमी मेरो निम्ति प्रिय र मनपर्दा थियौ। मप्रतिको तिम्रो प्रेम अचम्मको थियो, स्त्रीहरूको प्रेमलाई जित्ने।”—२ शमूएल १:२६.

सबैभन्दा उल्लेखनीय उदाहरणहरू

१३. डाहलाई नियन्त्रणमा राख्ने सन्दर्भमा सर्वोत्तम उदाहरण कसको हो र किन?

१३ उचित डाहमाथि समेत नियन्त्रण राख्नुहुने व्यक्‍तिको उल्लेखनीय उदाहरण, यहोवा परमेश्‍वर हुनुहुन्छ। उहाँले त्यस्ता भावनाहरू पूर्ण नियन्त्रणमा राख्नुहुन्छ। ईश्‍वरीय डाहको जुनसुकै शक्‍तिशाली प्रकटीकरण सदैव परमेश्‍वरको प्रेम, न्याय र बुद्धिअनुरूप हुन्छन्‌।—यशैया ४२:१३, १४.

१४. शैतानजस्तो नहुनु भएर येशूले कस्तो उदाहरण बसाल्नुभयो?

१४ डाहका भावनाहरूलाई नियन्त्रणमा राख्ने दोस्रो उल्लेखनीय उदाहरण परमेश्‍वरको प्रिय पुत्र, येशू ख्रीष्ट हुनुहुन्छ। येशूले “परमेश्‍वरको स्वरूपमा भएर परमेश्‍वरसितै बराबरको हुनालाई, जोगाइराख्ने धन जस्तो सम्झनुभएन।” (फिलिप्पी २:६) पछि शैतान अर्थात्‌ दियाबल बनेको महत्त्वाकांक्षी स्वर्गदूतले अपनाएको मार्गभन्दा कति भिन्‍न! शैतानले “बाबेलको राजा[जस्तै]” डाही भएर यहोवाको विरुद्ध प्रतिद्वन्दी देवको हैसियतमा “परम परमेश्‍वर जत्तिकै” हुने इच्छा गरे। (यशैया १४:४, १४; २ कोरिन्थी ४:४) शैतानले येशूलाई त्यसको सामु “घोप्टेर . . . दण्डवत्‌[समेत]” गराउन खोजे। (मत्ती ४:९) तर यहोवाको सार्वभौमिकताप्रति अधीनताको नम्र मार्ग पछ्याउनदेखि येशूलाई कुनै पनि कुराले बहकाउन सकेन। शैतानजस्तै नभएर येशूले “आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। औ रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो।” यसप्रकार येशूले आफ्नो पिताको शासनको औचित्यलाई कायम गर्नुभयो अनि घमण्ड र डाहजस्ता शैतानी मार्गलाई पूर्णतया इन्कार गर्नुभयो। येशूको विश्‍वासिलोपनको लागि “परमेश्‍वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।”—फिलिप्पी २:७-११.

डाहलाई नियन्त्रणमा राख्ने

१५. डाही भावनाहरूलाई नियन्त्रणमा राख्न हामी किन होशियार हुनुपर्छ?

१५ परमेश्‍वर र ख्रीष्ट सिद्ध हुनुहुन्छ तर मसीहीहरू असिद्ध छन्‌। पापी भएकोले तिनीहरूलाई कहिलेकाहीं पापी डाहले उस्काउनसक्छ। आफ्नो संगी विश्‍वासीको सानोतिनो त्रुटि वा कल्पित भूललाई डाही भएर आलोचना गर्नुको साटो यी प्रेरित शब्दहरूमाथि मनन गर्नु महत्त्वपूर्ण छ: “ज्यादै धर्मी र ज्यादै बुद्धिमानी नहो। तिमी किन आफैलाई एउटा हाँसोको पात्र बनाउँछौ?”—उपदेशक ७:१६.

१६. यस पत्रिकाको पुरानो अंकमा डाहको विषयमा कस्तो राम्रो सल्लाह दिइएको थियो?

१६ डाहको विषयमा मार्च १५, १९११ को द वाच टावर-ले यस्तो चेताउनी दियो: “हामी प्रभुको उद्देश्‍य पूरा गर्न असाध्यै जोशिलो र डाही हुनुपर्छ। यद्यपि, एक मसीहीको कमजोरीबारे अरूले केही भन्‍नुहुँदैन भन्ठान्‍नुहुन्‍न; अनि अरूको कामकुरामा मात्र ‘चियोचर्चो’ गर्नदेखि सतर्क हुनुपर्छ। त्यसको साथै त्यस विषयमा प्राचीनहरूलाई छानबिन गर्न दिनु वा तिनीहरूलाई बताउनु उचित होला कि नहोला, त्यसलाई विचार गर्नुपर्छ। हामी सबै जना प्रभुको काममा निकै डाही हुनुपर्छ तर त्यसमा कटु भाव नराख्न होशियार हुनुपर्छ . . . अर्को शब्दमा भन्‍ने हो भने, अरूको डाह गर्नु हुँदैन तर हाम्रो डाह अरूको भलाइ र सर्वोत्तम हितको लागि हो कि होइन, त्यो जाँच्नुपर्छ।”—१ पत्रुस ४:१५.

१७. हामी डाहका पापी कार्यहरूबाट कसरी जोगिनसक्छौं?

१७ हामी मसीहीहरूको हैसियतमा घमण्ड, डाह र ईर्ष्याबाट कसरी जोगिनसक्छौं? हाम्रो जीवनमा परमेश्‍वरको पवित्र आत्मा क्रियाशील हुन दिनु नै त्यसको समाधान हो। उदाहरणको लागि, हामीले परमेश्‍वरको पवित्र आत्मा तथा त्यसका असल फलहरू फलाउन प्रार्थना गर्नुपर्छ। (लूका ११:१३) हामीले मसीही सभाहरू धाउनुपर्छ जसको सुरुआत प्रार्थनाद्वारा गरिन्छ र त्यसमा परमेश्‍वरको आत्मा तथा आशिष्‌ हुन्छ। यसबाहेक, हामीले परमेश्‍वरद्वारा प्रेरित बाइबलको अध्ययन गर्नुपर्छ। (२ तिमोथी ३:१६) अनि यहोवाको पवित्र आत्माको शक्‍तिद्वारा गरिने राज्य प्रचार कार्यमा भाग लिनुपर्छ। (प्रेरित १:८) परमेश्‍वरको आत्माको असल प्रभाव देखाउने अर्को तरिका, कुनै अप्रिय अनुभवले गर्दा खिन्‍न भएका संगी मसीहीहरूलाई मदत दिनु हो। (यशैया ५७:१५; १ यूहन्‍ना ३:१५-१७) यी मसीही दायित्वहरूलाई जोशिलो भएर पूरा गर्दा डाहका पापी झुकावहरूदेखि जोगिनेछौं। किनभने परमेश्‍वरको वचनले यसो भन्छ: “आत्माको भरमा हिंड़, र तिमीहरूले शरीरको लालसा कुनै किसिमले गर्नु पर्नेछैन।”—गलाती ५:१६.

१८. हामीले डाहका अनुचित भावनाहरूसित किन सधैं संघर्ष गर्नुपर्नेछैन?

१८ प्रेमलाई परमेश्‍वरको पवित्र आत्माका फलहरूमध्ये सर्वप्रथम सूचीबद्ध गरिएको छ। (गलाती ५:२२, २३) प्रेम देखाउँदा अहिले पापी झुकावहरूलाई नियन्त्रण गर्न मदत पाउनेछौं। तर भविष्यमा नि? यहोवाका लाखौं सेवकहरूले आउँदै गरेको पार्थिव प्रमोदवनमा जीवन प्राप्त गर्ने आशा राखेका छन्‌ र त्यहाँ तिनीहरूले मानव सिद्धतामा पुग्ने इच्छा गर्नसक्छन्‌। त्यस नयाँ संसारमा प्रेम सर्वव्यापी हुनेछ र कसैलाई डाही भावनाहरूले पिरोल्नेछैन। किनभने “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।”—रोमी ८:२१.

मनन गर्नका लागि बुँदाहरू

◻ डाहलाई प्रतिरोध गर्ने सम्बन्धमा पावलले कस्तो उदाहरण चलाए?

◻ डाहले मण्डलीको शान्तिलाई कसरी भंग गर्नसक्छ?

◻ आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई डाही भावनाहरूको सामना गर्न कसरी प्रशिक्षण दिनसक्छन्‌?

◻ हामी डाहका पापी कार्यहरूदेखि कसरी जोगिनसक्छौं?

[पृष्ठ १६-मा भएको चित्र]

डाहले गर्दा मण्डलीको शान्ति भंग हुन नदिनुहोस्‌

[पृष्ठ १७-मा भएको चित्र]

आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई डाही भावनाहरू सामना गर्ने प्रशिक्षण दिनसक्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने