विश्वासले हामीलाई धैर्यवान र प्रार्थनाशील बनाउँछ
“धैर्य धारण गर, आफ्नो हृदयलाई स्थिर गराओ, किनभने प्रभुको आगमन नजीकै छ।”—याकूब ५:८.
१. याकूब ५:७, ८ माथि किन मनन गर्नुपर्छ?
येशू ख्रीष्टको चिरप्रतिक्षीत “आगमन” अहिले वास्तविकतामा परिणत भइसकेको छ। (मत्ती २४:३-१४) अतः परमेश्वर र ख्रीष्टमाथि विश्वास गर्छु भनी दाबी गर्ने मानिसहरूले चेला याकूबका यी शब्दहरूमाथि पहिलेभन्दा झन् मनन गर्नुपर्ने कारण छ: “हे भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, पृथ्वीको बहुमूल्य फलको आशा राखेर किसानले अघिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खी रहन्छ। तिमीहरूले पनि धैर्य धारण गर, आफ्नो हृदयलाई स्थिर गराओ, किनभने प्रभुको आगमन नजीकै छ।”—याकूब ५:७, ८.
२. याकूबको पत्र पाउनेहरूले सामना गरिरहेका केही समस्याहरू के थिए?
२ याकूबको पत्र पाउनेजति सबैले धैर्य धारण गरी विभिन्न समस्याहरू समाधान गर्नु आवश्यक थियो। परमेश्वरमाथि विश्वास गर्छु भनी दाबी गरे तापनि थुप्रैले परमेश्वरमाथि विश्वास गर्ने व्यक्तिबाट आशा गरिने कामको ठीक विपरीत काम गरिरहेका थिए। उदाहरणका लागि, कसै कसैको मनमा केही खास इच्छाहरू पलाएको हुँदा त्यसलाई ठेगानमा ल्याउन केही गर्नु परेको थियो। ती प्रारम्भिक मसीहीहरूबीच शान्ति स्थापित गर्नु परेको थियो। धैर्यवान र प्रार्थनाशील हुन पनि तिनीहरूलाई सल्लाह दिनु परेको थियो। यी सबै समस्याहरूलाई लिएर याकूबले के भने, हामी छलफल गर्दै जानेछौं। अनि यसरी छलफल गर्दा याकूबले भनेका कुराहरू हाम्रो जीवनमा कसरी उतार्न सकिन्छ, हामी त्यो पनि विचार गरौं।
कुइच्छाहरू विनाशकारी हुन्छन्
३. मण्डलीमा कलह हुनुका कारणहरू के थिए र यसबाट हामी के सिक्नसक्छौं?
३ मसीही हुँ भनी दाबी गर्ने केही व्यक्तिहरूमा शान्तिको अभाव थियो र त्यसो हुनुको मुख्य कारण कुइच्छाहरू थिए। (याकूब ४:१-३) कलहले गर्दा गोलमाल भइरहेको थियो र केही व्यक्तिहरूले कुनै दयामाया नदेखाई भाइहरूको न्याय गरिरहेका थिए। यी सबै तिनीहरूको अंगमा संग्राम गर्ने तिनीहरूका सुख विलासको लालसाले गर्दा भइरहेको थियो। मानसम्मान, शक्ति अनि धनसम्पत्तिको लालसामा परेर मण्डलीको शान्ति खलल पार्न हामी त्यस्तै केही गर्न नपुगोस् भन्नका लागि शायद हामीले पनि प्रार्थनाद्वारा त्यस्ता लालसाहरूको प्रतिरोध गर्न मदत माग्नु आवश्यक होला। (रोमी ७:२१-२५; १ पत्रुस २:११) प्रथम शताब्दीका केही मसीहीहरूबीच लोभले गर्दा घृणा अनि खूनी भावनासमेत पलाइसकेको थियो। परमेश्वरले तिनीहरूको कुइच्छा पूरा नगर्नुहुने हुँदा आफ्नो लक्ष्य पूरा गर्न तिनीहरू लडिरहन्थे। हाम्रा इच्छाहरू पनि तिनीहरूको जस्तै खराब छन् भने, हामी मागौंला तर पाउनेछैनौं। किनभने हाम्रो पवित्र परमेश्वरले त्यस्तो प्रार्थनाको जवाफ दिनुहुन्न।—विलाप ३:४४; ३ यूहन्ना ९, १०.
४. याकूब कसै कसैलाई किन “व्यभिचारी” भनेर सम्बोधन गर्छन् र यसले हामीलाई कस्तो असर पार्नुपर्ने हो?
४ कुनै कुनै प्रारम्भिक मसीहीहरूसित सांसारिकपना, डाह अनि अभिमान थियो। (याकूब ४:४-६) केही मसीहीहरूले संसारसँग मित्रता गाँसेर आध्यात्मिक तवरमा व्यभिचार गरेको हुनाले याकूबले तिनीहरूलाई “व्यभिचारी” भनी सम्बोधन गरे। (इजकिएल १६:१५-१९, २५-४५) निस्सन्देह, हामी आफ्नो मनोवृत्ति, बोली र काम सांसारिक भएको कदापि चाहँदैन। किनभने त्यसो भएमा हामी परमेश्वरको शत्रु हुनेछौं। “डाह गर्ने इच्छा” खराब झुकाउ वा पापी मानिसहरूको “आत्मा[को]” भाग हो भनेर परमेश्वरको वचनले देखाउँछ। (उत्पत्ति ८:२१; गन्ती १६:१-३; भजन १०६:१६, १७; उपदेशक ४:४) अतः डाह, अभिमान वा अरू कुनै खराब झुकाउ विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता देख्यौं भने, पवित्र आत्मा मागेर परमेश्वरको मदत खोजौं। किनभने परमेश्वरको अनुग्रहद्वारा प्राप्त हुने त्यस्तो शक्ति “डाह गर्ने आत्मा[भन्दा]” शक्तिशाली हुन्छ। यहोवा अभिमानीको विरोध गर्नुहुन्छ तर हामी पापी झुकाउहरूसित लड्यौं भने, अनुग्रह देखाउनुहुनेछ।
५. परमेश्वरको अनुग्रह पाउन कुन आवश्यकताहरू पूरा गरेको हुनुपर्छ?
५ परमेश्वरको अनुग्रह कसरी पाउनसक्छौं? (याकूब ४:७-१०) यहोवाको अनुग्रह पाउन उहाँको आज्ञा मान्नैपर्छ, उहाँले प्रबन्ध गर्नुभएका कुराहरू स्वीकार्नैपर्छ र उहाँले जेजस्तो परिस्थिति बित्न दिने इच्छा गर्नुहुन्छ, त्यसलाई नम्र भएर स्वीकार्नैपर्छ। (रोमी ८:२८) यसबाहेक, शैतानको “विरोध” गर्नैपर्छ, त्यसको ‘विरुद्ध खडा’ हुनैपर्छ। हामी अटल भई यहोवाको विश्वव्यापी सार्वभौमिकतालाई समर्थन गरिरह्यौं भने, त्यो ‘हामीबाट भाग्नेछ।’ यस सन्दर्भमा हामीसित येशूको मदत छ। हामीमाथि कुनै चिरकालीन हानि नपुगोस् भनेर उहाँले यस संसारका दुष्ट माध्यमहरूलाई रोक्नुहुन्छ। अनि कहिल्यै नबिर्सनुहोस्: प्रार्थना, आज्ञाकारिता अनि विश्वासद्वारा हामी परमेश्वरसित घनिष्ठ हुन्छौं र उहाँ हामीसित घनिष्ठ हुनुहुन्छ।—२ इतिहास १५:२.
६. याकूब केही मसीहीहरूलाई किन “पापी” भन्छन्?
६ परमेश्वरमाथि विश्वास गर्छु भनी दाबी गर्ने केही व्यक्तिहरूलाई याकूब किन “पापी” भन्छन्? किनभने तिनीहरू मसीहीहरूले देखाउनै नहुने प्रवृत्ति, “लडाइँ” अनि घृणाजस्ता कुराहरूका लागि दोषी थिए। (तीतस ३:३) तिनीहरूका “हात” कुकर्मले भरिएको हुँदा शुद्ध पार्न आवश्यक थियो। तिनीहरूका प्रेरणाहरूको स्रोत “हृदय” पनि शुद्ध पार्नु आवश्यक थियो। (मत्ती १५:१८, १९) यी “दोमनका” मानिसहरू कहिले परमेश्वरसित त कहिले संसारसित मित्रता गाँसिरहेका थिए। आउनुहोस्, तिनीहरूले छाडेको नराम्रो उदाहरणलाई चेताउनी सम्झी हामी निरन्तर जोसिलो भइरहौं ताकि त्यस्ता कुराहरूले हाम्रो विश्वास कहिल्यै डुबाउन नपाओस्।—रोमी ७:१८-२०.
७. याकूब कसै कसैलाई किन “दुःखी होओ, . . रोओ” भन्छन्?
७ याकूब आफ्ना पाठकहरूलाई “दुःखी होओ, अफसोस गर र रोओ” भन्छन्। किनकि तिनीहरूले परमेश्वरको इच्छाअनुसार अफसोस गरेको खण्डमा त्यो पश्चात्तापको प्रमाण ठहर्नेछ। (२ कोरिन्थी ७:१०, ११) आज, विश्वास छ भनी टोपल्ने केही मानिसहरू संसारसँगको मित्रता खोज्दैछन्। यदि हामीमध्ये कोही कोही त्यही बाटोमा लागिरहेका छौं भने, के आफ्नो कमजोर आध्यात्मिक अवस्थाको लागि शोक गरेर तुरुन्तै सही बाटोमा लागी हाल्नुपर्ने होइन र? हामीले छाँटकाँट गऱ्यौं अनि परमेश्वरको क्षमा पायौं भने, शुद्ध अन्तस्करणका साथै अनन्त जीवनको आनन्ददायी प्रत्याशा पाउनेछौं। फलतः हामी गर्व महसुस गर्नेछौं।—भजन ५१:१०-१७; १ यूहन्ना २:१५-१७.
एकअर्काको विरुद्धमा नबोल
८, ९. एकअर्काको विरुद्धमा किन बोल्नु हुँदैन?
८ सँगी विश्वासीको विरुद्धमा बोल्नु पाप हो। (याकूब ४:११, १२) यद्यपि, कोही कोही आफ्नो आत्मधर्मी मनोवृत्तिको कारण वा अरूलाई खसालेर ठूलो हुने इच्छाले गर्दा सँगी विश्वासीहरूको आलोचना गर्छन्। (भजन ५०:२०; हितोपदेश ३:२९) ‘विरुद्धमा बोल्नु’ अर्थ लाग्ने युनानी शब्दले वैमनस्यतालाई संकेत गर्छ र कुरा थपथाप गरी बताउनु वा झूटा आरोप लगाउनु बोध गराउँछ। यी सब गर्नु भनेको आफ्नो भाइको विरुद्धमा अचाक्ली बोल्नु हो। यस्तो व्यवहार देखाउनु कसरी ‘व्यवस्थाको विरुद्धमा बोल्नु वा व्यवस्थालाई दोष लगाउनु’ हो? शास्त्री र फरिसीहरूलाई हेर्नुहोस्। “परमेश्वरको आज्ञालाई त्यागेर” तिनीहरू आफूले निर्धारण गरेका स्तरअनुसार अरूको न्याय गर्थे। (मर्कूस ७:१-१३) त्यस्तैगरि, यहोवाले दोषी नठहराउनुहुने व्यक्तिलाई हामीले दोषी ठहराउन थाल्यौं भने, के त्यो ‘परमेश्वरको व्यवस्थाको इन्साफ’ गरेको हुनेछैन र? अनि के परमेश्वरको व्यवस्थामा खोट छ भनेर दुष्ट्याइँका साथ भनिरहेको हुनेछैन र? आफ्नो भाइको अचाक्ली आलोचना गर्दा हामीले प्रेमको व्यवस्था पूरा गरिरहेका हुनेछैनौं।—रोमी १३:८-१०.
९ हामी कहिल्यै नबिर्सौं: “व्यवस्था दिने र इन्साफ गर्ने ता एउटै हुनुहुन्छ,” अर्थात् यहोवा। उहाँको “व्यवस्था निर्दोष छ,” त्यसको कुनै खोट छैन। (भजन १९:७; यशैया ३३:२२) छुटकाराको निम्ति स्तर तथा नियम निर्धारण गर्ने हक परमेश्वरलाई मात्र छ। (लूका १२:५) त्यसैकारण, याकूब प्रश्न गर्छन्: “आफ्नो छिमेकीलाई दोष लगाउने तिमी को हौ?” अरूको न्याय गर्ने, दोषी ठहराउने अधिकार हामीसित छैन। (मत्ती ७:१-५; रोमी १४:४, १०) परमेश्वरको सार्वभौमिकता अनि निष्पक्षता अनि हाम्रो पापपूर्ण अवस्थामाथि मनन गऱ्यौं भने, आफूलाई धर्मी ठानेर अरूको न्याय गर्नदेखि अलग बस्न सक्नेछौं।
शेखीले भरिएको आत्मविश्वास नदेखाउनुहोस्
१०. हरेक दिन आफ्नो दिनचर्यामा लाग्दा यहोवालाई किन सम्झनुपर्ने हो?
१० हामीले सधैं यहोवा र उहाँको व्यवस्थालाई मनन गरिरहनुपर्छ। (याकूब ४:१३-१७) आत्मविश्वासी मानिसहरू परमेश्वरको वास्तै नगरी यसो भन्छन्: “आज कि भोलि हामी फलानो शहरमा जाऔंला, र त्यहाँ एक वर्ष बिताऔंला, र किन-बे[च] गरेर नाफा गरौंला।” “परमेश्वरतर्फ धनी नभइकन आफ्नो निम्ति मात्र धन जम्मा” गर्न थाल्यौं भने, हाम्रो जीवन हुनसक्छ, भोलि नै टुंगिनेछ। फलतः यहोवाको सेवा गर्ने कुनै मौका नपाउन सक्छौं। (लूका १२:१६-२१) किनकि याकूबले भनेझैं हामी ‘केही बेर देखा परेर बिलाइहाल्ने पानीको वाफ हौं।’ (१ इतिहास २९:१५) यहोवामाथि विश्वास गऱ्यौं भने मात्र हामी सधैंभरि आनन्दित अनि जीवित रहने आशा गर्नसक्छौं।
११. “परमेश्वरको इच्छा भयो भने” भन्नुको अर्थ के हो?
११ घमण्डी भएर परमेश्वरलाई बेवास्ता गर्नुको साटो हामीले यस्तो अडान लिनुपर्छ: “यदि परमेश्वरको इच्छा भयो भने, हामी बाँचौंला र यस्तो उस्तो गरौंला।” “परमेश्वरको इच्छा भयो भने” भन्नु, परमेश्वरको इच्छाअनुरूप चल्ने कोसिस गरिरहेका छौं भनेर देखाउनु हो। परिवार धान्न, राज्यसम्बन्धी कामकुराहरूका निम्ति यात्रा गर्न र यस्तै अन्य खर्चहरू टार्न कामधन्दा गर्नु आवश्यक होला। तर हामी त्यसमा घमण्ड नगरौं। “त्यस्तै . . . घमण्ड खराब हो।” किनकि त्यस्तो घमण्ड गर्ने व्यक्तिले परमेश्वरमाथि भर गर्नु आवश्यक ठान्दैन।—भजन ३७:५; हितोपदेश २१:४; यर्मिया ९:२३, २४.
१२. याकूब ४:१७ को अर्थ के हो?
१२ सम्भवतः आत्मविश्वास र फूर्ति लगाउने सन्दर्भमा आफूले भन्नुपर्ने जति भनेपछि याकूब यसो भन्छन्: “जसले भलाई गर्न जानीकन पनि गर्दैन, त्यसलाई पाप लाग्छ।” हरेक मसीहीले आफू परमेश्वरमाथि भर नपरी हुँदैन भनेर विनम्रतापूर्वक स्वीकार्नुपर्छ। किनकि त्यसो नगरेमा “त्यसलाई पाप लाग्छ।” निस्सन्देह, परमेश्वरमाथि विश्वास गरेपछि पूरा गर्नुपर्ने कुरा पूरा गर्न सकेनौं भने पनि त्यही सिद्धान्त लागू हुन्छ।—लूका १२:४७, ४८.
धनीहरू विरुद्ध चेताउनी
१३. आफ्नो धनको दुरुपयोग गर्नेहरूबारे याकूब के भन्छन्?
१३ केही प्रारम्भिक मसीहीहरू भौतिकवादी वा धनीहरूको प्रशंसक हुन थालेको हुँदा याकूबले कोही कोही धनाढ्यहरूबारे कडा शब्दमा भन्नुपऱ्यो। (याकूब ५:१-६) आफ्नो धनको दुरुपयोग गर्ने सांसारिक पुरुषहरूलाई परमेश्वरले तिनीहरूको कामअनुसार इनाम दिनुहुँदा तिनीहरू ‘आफूमाथि परी आउने कष्टहरूको निम्ति विचलित भई’ रूनेछन्। प्रथम शताब्दीतिर प्रायजसो मानिसहरूको धन नै लत्ताकपडा, अन्न अनि दाखमद्य हुने गर्थ्यो। (योएल २:१९; मत्ती ११:८) यस्तो प्रकारको धनमध्ये केही कुहिनसक्थ्यो, ‘कीराले खानसक्थ्यो।’ तर याकूब धन नाशवान् वस्तु हो भनेर होइन कि धन बेकारको वस्तु भनेर जोड दिइरहेका छन्। किनकि सुन, चाँदी काई लागेर नाश नहुने भए तापनि हामीले थुपार्न थाल्यौं भने, ती द्रव्यहरू अन्ततः काई लागेका वस्तुझैं बेकार हुनेछन्। “काई[ले]” असल काममा नलगाइएको भौतिक धन बुझाउँछ। अतः भौतिक धनसम्पत्तिमाथि भरोसा गर्नेजति सबैले परमेश्वरको क्रोध अर्थात् “आखिरी समयको निम्ति” ‘आगो जस्तो’ केही साँचेका हुन्छन् भनेर हामी नभुलौं। हामी “अन्तको समय[मा]” बाँचिरहेको हुँदा यी शब्दहरू हाम्रानिम्ति विशेष महत्त्वका छन्।—दानियल १२:४; रोमी २:५.
१४. धनी मानिसहरू प्रायः कस्तो व्यवहार गर्छन् र हामीले के गर्नुपर्ने हो?
१४ धनी मानिसहरू प्रायः ज्यामीहरूसित धोकाबाजी गर्छन्। त्यसैले तिनीहरूको ज्याला, दण्डको निम्ति “कराउँछ।” (उत्पत्ति ४:९, १० तुलना गर्नुहोस्।) सांसारिक धनी मानिसहरू “सुख-विलास[मा] . . . मस्त भएर बसेका [छन्]।” चौबीसै घण्टा आनन्दमा मस्त भएर बसेको हुनाले तिनीहरूले आफ्नो हृदयलाई चेतनाहीन बनाएका छन् र मारकाटको “दिन[सम्म]” तिनीहरू त्यस्तै भएर बस्नेछन्। तिनीहरू ‘धर्मात्मालाई दोषी ठहराएर मार्छन्।’ याकूब प्रश्न गर्छन्: “के [धनीले] तिमीहरूको विरोध गर्दैन?” तर यसलाई यसरी पनि अनुवाद गरिएको छ “तिनले [धर्मीले] तिमीहरूको विरोध गर्दैनन्।” तथापि, कुनै व्यक्ति धनी छ भन्दैमा उसलाई पक्षपात गर्नु हुँदैन। हामीले आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिनैपर्छ।—मत्ती ६:२५-३३.
विश्वासले हामीलाई धैर्य धारण गर्न मदत गर्छ
१५, १६. धैर्य धारण गर्नु किन अनिवार्य छ?
१५ संसारका शोषक धनाढ्यहरूको उल्लेख गरिसकेपछि याकूब शोषित मसीहीहरूलाई धैर्य धारण गर्न प्रोत्साहित गर्छन्। (याकूब ५:७, ८) विश्वास हुनेहरूले धैर्य धारण गरी कठिनाइ सह्यो भने, ख्रीष्टको आगमनको दौडान शोषकहरूको न्याय हुँदा तिनीहरूले चाहिं आफ्नो विश्वासिलोपनाको इनाम पाउनेछन्। (मत्ती २४:३७-४१) शरद् ऋतु कहिले सुरु होला र बाली लगाउँला अनि बसन्त ऋतुमा कहिले पानी पर्ला र बाली पाक्ला भनेर पर्खने किसानजस्तै ती प्रारम्भिक मसीहीहरू धैर्यवान हुनु परेको थियो। (योएल २:२३) अहिले येशू ख्रीष्ट अर्थात् “प्रभुको आगमन” भइसकेको हुँदा हामीले पनि धैर्य धारण गरी आफ्नो हृदयलाई स्थिर राख्नु परेको छ!
१६ हामीले धैर्य धारण किन गर्नुपर्छ? (याकूब ५:९-१२) धैर्य धारण गऱ्यौं भने, सँगी मसीहीहरूले दिक्क पार्दा हामी ठस्कने वा गनगनाउने छैनौं। किनकि खराब मनसाय लिएर ‘एकअर्काको विरुद्धमा गनगनायौं’ भने हाम्रो न्यायकर्ता येशू ख्रीष्टले दोषी ठहराउनुहुनेछ। (यूहन्ना ५:२२) अहिले उहाँको “आगमन” सुरु भइसकेको र साथै “ढोकैमा” हुनुभएको हुँदा हामीले जस्तै विश्वासका थुप्रै परीक्षाहरूको सामना गर्ने हाम्रा भाइहरूसित धैर्य धारण गरी शान्ति कायम गरिरहौं। अय्यूबले पनि धैर्य धारण गरी परीक्षाहरू सहेको हुनाले नै परमेश्वरले इनाम दिनुभयो भन्ने कुरा सम्झँदा पनि हाम्रो विश्वास बलियो हुन्छ। (अय्यूब ४२:१०-१७) विश्वास गऱ्यौं र साथसाथै धैर्य धारण गऱ्यौं भने, “प्रभु [“यहोवा,” NW] टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ” भनेर देख्नेछौं।—मीका ७:१८, १९.
१७. याकूब किन “शपथ नहाल” भन्छन्?
१७ धैर्य धारण गरेनौं भने तनाउको बेला जिब्रोको दुरुपयोग गर्नसक्छौं। जस्तै, हामीले सोचविचारै नगरी शपथ खानसक्छौं। आफू चिढिएको बेला विचारै नगरी शपथ नखाने चेताउनी दिंदै चेला याकूब भन्छन्, “शपथ नहाल।” एउटै कुरालाई दश चोटी शपथ खाएर जोड दिनु पनि कपट्याइँ हो। तसर्थ, केवल साँचो बोल्नुपर्छ, हो भने हो, होइन भने होइन। (मत्ती ५:३३-३७) निस्सन्देह, अदालतमा सत्य कुरा बोल्नुपर्दा शपथ खानु गलत हो भनेर यहाँ याकूबले भन्न खोजेको होइन।
विश्वास अनि हाम्रो प्रार्थना
१८. कुन कुन बेला ‘प्रार्थना गर्नुपर्छ र ‘भजन गाउनुपर्छ’?
१८ यदि हामी आफ्नो बोलीवचनलाई वशमा राख्न चाहन्छौं, धैर्य धारण गर्न चाहन्छौं अनि परमेश्वरमाथि बलियो विश्वास राख्न चाहन्छौं भने, प्रार्थना हाम्रो जीवनको अभिन्न अंग हुनैपर्छ। (याकूब ५:१३-२०) विशेषगरि, परीक्षामा परेको बेला हामीले ‘प्रार्थना गरिरहेको’ हुनुपर्छ। यद्यपि, आनन्दित छौं भने चाहिं येशूले आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापित गर्नुहुँदा चेलाहरूसित गाउनुभए जस्तै हामी पनि ‘भजन गाऔं।’ (मर्कूस १४:२६, पादटिप्पणी, NW) कहिलेकाहीं हाम्रो हृदय परमेश्वरप्रतिको कृतज्ञताले यति ओतप्रोत हुन्छ कि हृदयले समेत उहाँको प्रशंसा गुनगुनाइरहेको हुन्छ। (१ कोरिन्थी १४:१५; एफिसी ५:१९) अनि हाम्रा मसीही सभाहरूको दौडान गीत गाएर यहोवाको जयजयकार गर्न पाउनु कत्ति आनन्दको कुरा हो!
१९. आध्यात्मिक तवरमा बिरामी भयौं भने के गर्नुपर्छ र किन गर्नुपर्छ?
१९ आध्यात्मिक तवरमा बिरामी हुँदा हामीलाई गाऊँगाऊँ जस्तो नलाग्नसक्छ। शायद, गलत काम गरेको हुँदा वा यहोवाको टेबलबाट नियमित तवरमा नखाएको हुँदा हामी बिरामी भएको हौंला। यदि हामी यस्तो अवस्थामा छौं भने, आउनुहोस्, विनम्र भई प्राचीनहरूलाई बोलाऔं, ताकि तिनीहरूले ‘हाम्रो विषयमा प्रार्थना गरून्।’ (हितोपदेश १५:२९) तिनीहरूले ‘यहोवाको नाउँमा हामीलाई तेल पनि घसि दिनेछन्।’ घाउमा तेल लाउँदा सञ्चो भएजस्तो प्राचीनहरूको सान्त्वनादायी वचन तथा धर्मशास्त्रीय सल्लाहले नैराश्य, शंका, डर हटाउन मदत गर्छ। हामीले विश्वासअनुसार काम गरेका छौं भने ‘विश्वासको प्रार्थनाले हामीलाई बचाउनेछ।’ कुनै गम्भीर पापले गर्दा आध्यात्मिक तवरमा बिरामी भएका रहेछौं भन्ने देखेमा चाहिं प्राचीनहरूले दयापूर्वक हाम्रो पाप देखाउनेछन् र मदत पनि गर्नेछन्। (भजन १४१:५) हामी पश्चात्तापी भयौं भने, परमेश्वरले प्राचीनहरूको प्रार्थना सुनेर हामीलाई क्षमा गर्नुहुनेछ भनी हामी ढुक्क हुनसक्छौं।
२०. एउटाले अर्कोसँग पाप किन स्वीकार्नुपर्छ र किन एउटाले अर्कोको निम्ति प्रार्थना गर्नुपर्छ?
२० एउटाले अर्कोसँग आ-आफ्नो पाप स्वीकारेपछि अझ पाप नगर्ने बलियो अठोट हामीले गर्नुपर्ने हो र आपस आपसमा अनुकम्पा पनि बढ्नुपर्ने हो। किनकि अनुकम्पाले “एउटाले अर्कोको निम्ति प्रार्थना” गर्न उत्प्रेरित गर्छ। “धार्मिक मानिस” अर्थात् विश्वास गर्ने अनि परमेश्वरले निर्दोष ठान्नुभएको व्यक्तिले गरेको प्रार्थनाले यहोवाको हातबाट धेरै ठूलो काम गराउनसक्ने भएकोले यसरी एकअर्काको लागि प्रार्थना गर्नु फाइदै हुन्छ भनी हामी विश्वस्त हुनसक्छौं। (१ पत्रुस ३:१२) एलिया अगमवक्ताका पनि हाम्रा जस्तै कमजोरीहरू थिए। तर तिनका प्रार्थनाहरू प्रभावशाली थिए। तिनले प्रार्थना गर्दा साढे तीन वर्षसम्म पानी परेन। अनि पछि फेरि प्रार्थना गर्दा पानी पऱ्यो।—१ राजा १७:१; १८:१, ४२-४५; लूका ४:२५.
२१. सँगी मसीही “सत्यबाट चुक्छ भने” सम्भवतः हामी के गर्नसक्छौं?
२१ तर मण्डलीको कुनै सदस्य सही शिक्षा तथा आचरणदेखि भड्केर ‘सत्यबाट चुके’ भने नि? बाइबलबाट सल्लाह दिएर, प्रार्थना गरेर अनि अन्य सहयोग पुऱ्याएर त्यस्ताहरूलाई होसमा फर्काउन हामी शायद सफल हुनसक्छौं। सफल भयौं भने, उनी ख्रीष्टको छुटकाराको बलिदानको अधीनमा रहनेछन्। फलस्वरूप, आध्यात्मिक मृत्यु र चिरकालीन विनाश हुनदेखि जोगिनेछन्। गल्ती गर्ने व्यक्तिलाई मदत गरेर हामी उनका असंख्य पापहरू ढाक्छौं। सुधार पाउने पापी आफ्नो गलत मार्गबाट फर्केर पश्चात्ताप गर्दा, आफ्नो पापको क्षमा खोज्दा हामी चाहिं उनका पापहरू ढाक्न आफूले योगदान पुऱ्याउन सकेकोमा रमाउनेछौं।—भजन ३२:१, २; यहूदा २२, २३.
सबैका निम्ति केही न केही सल्लाह
२२, २३. याकूबले भनेका कुराहरूले हामीलाई कसरी असर गर्नुपर्ने हो?
२२ हामी निर्धक्क भएर भन्नसक्छौं, याकूबको पत्रमा हामी सबैका निम्ति केही न केही फाइदाको कुरा छ। तिनको पत्रले परीक्षाहरू कसरी सहने, त्यो देखाउँछ भने कृपावाद नदेखाउने सल्लाह दिन्छ र धार्मिक कामहरूमा लाग्न आग्रह गर्छ। याकूब हामीलाई आफ्नो जिब्रो वशमा राख्न, सांसारिक प्रभावहरूको प्रतिरोध गर्न अनि मेलमिलाप बढाउन पनि आग्रह गर्छन्। यसबाहेक तिनले भनेका कुराहरूले हामीलाई धैर्यवान अनि प्रार्थनाशील पनि बनाउनुपर्ने हो।
२३ हो, याकूबको पत्र मूलतः प्रारम्भिक अभिषिक्त मसीहीहरूका लागि लेखिएको भए तापनि आ-आफ्नो विश्वासलाई पक्रिराख्न हामी सबैले याकूबको सल्लाह स्वीकार्नुपर्छ। याकूबले भनेका कुराहरूले हाम्रो विश्वासलाई बलियो बनाउँछ। फलतः हामी परमेश्वरको सेवाको लागि निर्णायक कदमहरू चाल्न उत्प्रेरित हुन्छौं। अनि यस ईश्वर प्रेरित पत्रले हाम्रो विश्वासलाई धैर्यवान पनि बनाउँछ। फलस्वरूप, हामी आज, येशू ख्रीष्ट अर्थात् हाम्रो “प्रभुको आगमन[को]” बेला यहोवाका धैर्यवान, प्रार्थनाशील साक्षीहरू हुनसक्छौं।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ केही प्रारम्भिक मसीहीहरूले आफ्नो मनोवृत्ति र आचरण किन बदल्नु परेको थियो?
◻ याकूब धनाढ्यहरूलाई के चेताउनी दिन्छन्?
◻ धैर्य धारण किन गर्नुपर्छ?
◻ नियमित तवरमा प्रार्थना किन गर्नुपर्छ?
[पृष्ठ १९-मा भएको चित्रको स्रोत]
Pictorial Archive (Near Eastern History) Est.
[पृष्ठ २३-मा भएका चित्र]
केही प्रारम्भिक मसीहीहरू आफ्ना सँगी मसीहीहरूसित अझ धैर्यवान हुनु परेको थियो
[पृष्ठ २४-मा भएका चित्र]
मसीहीहरू धैर्यवान, मायालु, प्रार्थनाशील हुनुपर्छ