प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 २/१ pp. २२-२६
  • यहोवाको धीरज अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको धीरज अनुकरण गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको धीरज विचार गर्नुहोस्‌
  • अगमवक्‍ताहरूको धीरज विचार गर्नुहोस्‌
  • “अय्यूबको स्थिरता”
  • ‘यहोवाको दिन आउनेछ’
  • यहोवा र येशूको धीरजबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • धीरजी भइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • धीरज—हाम्रो सेवाको एउटा चिनारी
    हाम्रो राज्य सेवा—२०११
  • धीरज राम्रो कुराको आशा गर्दै सहनु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 २/१ pp. २२-२६

यहोवाको धीरज अनुकरण गर्नुहोस्‌

“आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्‍न, तर . . . धीरज देखाउनुभएको छ।”—२ पत्रुस ३:९.

१. कसैले दिन नसक्ने कस्तो उपहार यहोवाले मानिसहरूलाई दिन्छु भन्‍नुभएको छ?

कसैले पनि दिन नसक्ने कुरा यहोवाले हामीलाई दिन्छु भन्‍नुभएको छ। त्यो असाध्यै राम्रो अनि मूल्यवान्‌ कुरा हो। तर हामी आफैले त्यो किन्‍न वा कमाउन सक्दैनौं। उहाँले दिनुहुने त्यो चीज, अनन्त जीवनको वरदान हो। हामीमध्ये धेरै जनालाई यसको अर्थ, प्रमोदवनमा परिणत भएको यसै पृथ्वीमा कहिल्यै अन्त नहुने जीवन हुनेछ। (यूहन्‍ना ३:१६) त्यतिबेला कस्तो आनन्द हुनेछ! अहिले हामीलाई दुःख दिने कुराहरू थुप्रै छन्‌। जस्तै—द्वन्द्व, हिंसा, गरिबी, अपराध, बिरामी र मृत्यु। प्रमोदवनमा यस्ता कुराहरू हुँदैनन्‌। परमेश्‍वरको मायालु शासनमा चारैतिर शान्ति छाउनेछ अनि मानिसहरू मिलेर बस्नेछन्‌। यस्तै प्रमोदवनको हामी कत्ति इच्छा गर्छौं!—यशैया ९:६, ७; प्रकाश २१:४, ५.

२. यहोवाले शैतानको दुष्ट रीतिरिवाजलाई अहिलेसम्म नहटाउनुको कारण के हो?

२ पृथ्वी प्रमोदवनमा परिणत हुने समयलाई यहोवाले पनि प्रतीक्षा गरिरहनुभएको छ। यहोवा धार्मिकता र न्यायको परमेश्‍वर हुनुहुन्छ, त्यसैकारण उहाँले प्रमोदवनको प्रतीक्षा गर्नु स्वाभाविकै हो। (भजन ३३:५) आज थुप्रैले उहाँको धार्मिक सिद्धान्तलाई वास्ता गर्दैनन्‌ वा त्यसको विरोध गर्छन्‌। उहाँको अख्तियारलाई ठाडै इन्कार गर्छन्‌ अनि उहाँका जनहरूप्रति दुर्व्यवहार गर्छन्‌। यी सबै देख्दा उहाँ पटक्कै खुसी हुनुहुन्‍न। तर शैतानको दुष्ट रीतिरिवाजलाई उहाँले अहिलेसम्म नहटाउनुका ठोस कारणहरू छन्‌। ती कारणहरू, उहाँको सार्वभौमिकतासित सम्बन्धित छन्‌। अनि के सही र के गलत भन्‍ने नैतिक विवाद पनि यसमा समावेश छ। यी विवादहरू सुल्झाउन यहोवाले एउटा एकदमै राम्रो गुण देखाउनुभएको छ। तर त्यो गुण आजकल सजिलै भेटिंदैन। त्यो हो—धीरज।

३. (क) बाइबलमा “धीरज” भनेर अनुवाद गरिएका युनानी तथा हिब्रू शब्दको अर्थ के हो? (ख) अब हामी कुन-कुन प्रश्‍न विचार गर्नेछौं?

३ एउटा युनानी शब्दलाई न्यु वर्ल्ड ट्रान्सलेसन-ले तीन चोटि “धीरज” भनेर अनुवाद गरेको छ। यो शब्दको अक्षरशः अर्थ हो, “आत्मालाई तन्काउनु।” यसलाई अक्सर “धैर्य धारण” र एक चोटि भने “धीरज गर्नु” भनेर अनुवाद गरिएको छ। “धीरज” अर्थ बुझाउने युनानी र हिब्रू दुवै शब्दमा सहनशीलता र रीस गर्न ढिलो भन्‍ने भाव पाइन्छ। यहोवाको धीरजले गर्दा हामीलाई कस्तो लाभ भएको छ? यहोवा र उहाँका विश्‍वासी सेवकहरूले देखाएको धीरज र स्थिरताबाट हामी के सिक्न सक्छौं? यहोवाको धीरजको सीमा छ भनेर हामी कसरी थाह पाउन सक्छौं? आउनुहोस्‌, यी कुराहरूबारे अब हामी विचार गरौं।

यहोवाको धीरज विचार गर्नुहोस्‌

४. यहोवाको धीरजबारे प्रेरित पत्रुसले के लेखे?

४ यहोवाको धीरजबारे प्रेरित पत्रुसले यस्तो लेखे: “हे प्रिय हो, यो एउटा कुरो नबिर्स, कि प्रभुमा [यहोवामा] एक दिन हजार वर्षझैं र हजार वर्ष एक दिनझैं हुन्छ। कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्‍न, तर कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धीरज देखाउनुभएको छ।” (२ पत्रुस ३:८, ९) यहोवाको धीरजबारे बुझ्न यहाँ बताइएको दुइटा बुँदालाई कृपया याद गर्नुहोस्‌।

५. समयको हिसाब गर्ने यहोवाको तरिकाले उहाँको कामकुरालाई कसरी असर गर्छ?

५ पहिलो बुँदा हो, समयको हिसाब गर्ने यहोवाको तरिका हाम्रो भन्दा फरक छ। सधैंभरि बाँच्नुहुने परमेश्‍वरको लागि हजार वर्ष भनेको एक दिन मात्र हो। उहाँले हतार गर्नुपर्ने कुनै कारण छैन। तर यसो भन्दैमा आवश्‍यक कदम चाल्न उहाँ ढिलो गर्नुहुन्‍न। यहोवा बुद्धिको अथाह भण्डार हुनुहुन्छ। त्यसैले सबैको हितको लागि कदम चाल्नुपर्ने सबैभन्दा उपयुक्‍त समय उहाँलाई थाह छ। त्यो समयको लागि उहाँ धीरजी भई पर्खनुहुन्छ। तर त्यो समय नआउन्जेल आफ्ना सेवकहरूले भोग्नुपर्ने दुःखकष्टलाई यहोवा वास्तै गर्नुहुन्‍न भन्‍ने निष्कर्षमा पुग्नु ठीक होइन। उहाँ “कोमल दया” देखाउनुहुन्छ र उहाँ प्रेम हुनुहुन्छ। (लूका १:७८; १ यूहन्‍ना ४:८) अहिले केही समयको लागि हुन दिनुभएको दुःखकष्टले गर्दा भोग्नुपर्ने हानिलाई सदाको लागि अनि पूर्णतया सच्याउन उहाँ सक्षम हुनुहुन्छ।—भजन ३७:१०.

६. परमेश्‍वरबारे हामी कस्तो निष्कर्षमा पुग्नु हुँदैन र किन?

६ हुन त, आफूले एकदमै चाहेको कुरालाई पर्खेर बस्नु सजिलो हुँदैन। (हितोपदेश १३:१२) त्यसैले त, आफूले भनेको कुरा कसैले तुरुन्तै पूरा गरेन भने ऊसित त्यो पूरा गर्ने विचारै छैन भन्‍ने निष्कर्षमा मानिसहरू पुग्न सक्छन्‌। परमेश्‍वरबारे पनि त्यस्तै सोच्नु कस्तो मूर्खता हुनेछ! परमेश्‍वरको धीरजलाई उहाँले ढिला गर्नुभएको ठान्यौं भने समय बित्दै जाँदा हामी शङ्‌का र निराशाको सिकार बन्‍न सक्छौं। यस्तो भयो भने आध्यात्मिक तवरमा सुस्त हुने खतरा हुन्छ। त्योभन्दा पनि खतरनाक कुरा त, विश्‍वास नभएका गिल्ला गर्नेहरूको कुरा सुनेर हामी बहकिन सक्छौं। यिनीहरूबारे पत्रुसले पहिल्यै चेतावनी दिइसकेका थिए। ती मानिसहरू खिसी गर्दै यसो भन्छन्‌: “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखिनै सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्‌।”—२ पत्रुस ३:४.

७. मानिसहरूले पश्‍चात्ताप गरून्‌ भनेर नै यहोवाले धीरज देखाउनुभएको हो भनेर किन भन्‍न सकिन्छ?

७ दोस्रो पत्रुस ३:८, ९ बाट हामीले बुझ्नुपर्ने दोस्रो बुँदा हो, सबैले पश्‍चात्ताप गरून्‌ भनेर यहोवाले धीरज देखाउनुभएको छ। जानाजानी आफ्नो खराब मार्ग त्याग्न नचाहने मानिसहरू यहोवाको हातबाट नाश हुनेछन्‌। तर दुष्ट व्यक्‍ति समेत नाश नहोस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ। बरु, मानिसहरूले पश्‍चात्ताप गरेर आफ्नो खराब मार्ग त्यागेको अनि बाँचेको यहोवा हेर्न चाहनुहुन्छ। (इजकिएल ३३:११) यसैकारण उहाँले धीरज देखाउनुभएको छ अनि मानिसहरूले बाँच्ने मौका पाऊन्‌ भनेर संसारभरि सुसमाचार प्रचार गर्न लगाउनुभएको छ।

८. इस्राएल राष्ट्रप्रति परमेश्‍वरले कसरी धीरज देखाउनुभयो?

८ परमेश्‍वरले प्राचीन समयको इस्राएल राष्ट्रसित गर्नुभएको व्यवहार हेर्दा पनि उहाँको धीरजबारे बुझ्न सक्छौं। इस्राएलीहरूको अनाज्ञाकारितालाई उहाँले सयौं वर्षसम्म सहनुभयो। आफ्ना अगमवक्‍ताहरू मार्फत उहाँले तिनीहरूलाई पटक-पटक यसो भन्‍नुभयो: “तिमीहरू आफ्ना खराब चाल छोड, व्यवस्थामा दिएका मेरा आज्ञा र धर्म-विधिहरू जो मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेको थिएँ, र मेरा खास अगमवक्‍ताहरूद्वारा तिमीहरूलाई सुम्पिदिएको थिएँ, ती पालन गर।” तर के भयो? दुःखको कुरा “तिनीहरूले सुनेनन्‌।”—२ राजा १७:१३, १४.

९. येशूले आफ्नो पिताको जस्तै धीरज कसरी देखाउनुभयो?

९ अन्तमा, यहोवाले आफ्नो पुत्र पठाउनुभयो। यहूदीहरूलाई परमेश्‍वरतर्फ फर्काउन उहाँले अथक प्रयास गर्नुभयो। येशूले पनि यहोवाको धीरज जस्ताको तस्तै अनुकरण गर्नुभयो। आफू चाँडै मारिनेछु भनी येशूलाई राम्ररी थाह थियो। उहाँले यस्तो दुखेसो पोख्नुभयो: “ए यरूशलेम, ए यरूशलेम तँ जो अगमवक्‍ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्‌गाले हान्‍ने! जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामनि बटुल्छ, त्यसरीनै कत्तिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले मानिनस्‌।” (मत्ती २३:३७) मन छुने यी शब्दहरू एक जना कठोर न्यायाधीशको कुरा होइन जो कसलाई सजाय सुनाऊँ भनेर आतुर हुन्छन्‌। बरु, आफ्ना मानिसहरूप्रति धीरज देखाउने मायालु व्यक्‍तिका वचन हुन्‌। स्वर्गमा हुनुहुने आफ्नो पिताजस्तै येशू पनि मानिसहरूले पश्‍चात्ताप गरेको अनि नराम्रो न्याय भोग्नबाट बचेको चाहनुहुन्थ्यो। कसै-कसैले येशूको चेतावनी सुने अनि इस्वी संवत्‌ ७० मा यरूशलेमले भोग्नुपरेको भयानक विनाशबाट बचे।—लूका २१:२०-२२.

१०. परमेश्‍वरको धीरजबाट हामीले कसरी लाभ उठाएका छौं?

१० यहोवाको धीरज साँच्चै महान्‌ छ, होइन र? मानिसहरू यतिबिघ्न अनाज्ञाकारी भए तापनि हामी प्रत्येक र अरू लाखौं मानिसले यहोवालाई चिन्‍न अनि मुक्‍तिको आशा स्वीकार्न उहाँले बाटो खोलिदिनुभएको छ। पत्रुसले आफ्ना सँगी मसीहीहरूलाई लेखे: “प्रभुको धीरजनै मुक्‍ति हो भनी सम्झ।” (२ पत्रुस ३:१५) यहोवाको धीरजले गर्दा हामीले आफ्नो जीवन बचाउने मौका पाएका छौं। के यसको लागि हामी कृतज्ञ छैनौं र? दिनहुँ यहोवाको सेवा गरिरहँदा उहाँले हामीप्रति धीरज देखाइरहून्‌ भनेर के हामी प्रार्थना गर्दैनौं र?—मत्ती ६:१२.

११. यहोवाको धीरजबारे राम्ररी बुझेपछि हामी के गर्न चाहन्छौं?

११ यहोवा धीरजी हुनुभएको कारण बुझेपछि हामी पनि धीरजी भई उहाँले दिनुहुने मुक्‍तिको बाटो पर्खन सक्छौं। अनि प्रतिज्ञाहरू पूरा गर्न उहाँ ढिलो गर्नुहुन्छ भन्‍ने निष्कर्षमा कहिल्यै पुग्नेछैनौं। (विलाप ३:२६) परमेश्‍वरको राज्य आओस्‌ भनेर हामी प्रार्थना गर्न छोड्‌दैनौं। अनि त्यो प्रार्थनाको जवाफ दिने सबैभन्दा उपयुक्‍त समय उहाँलाई नै थाह छ भनेर पूरा भरोसा गर्छौं। साथै, हाम्रा मसीही भाइबहिनीहरू अनि प्रचारकार्यमा भेट्‌ने मानिसहरूसित व्यवहार गर्दा पनि यस्तै धीरज देखाएर यहोवा परमेश्‍वरको अनुकरण गर्न चाहन्छौं। हामी पनि कोही नाश भएको हेर्न चाहँदैनौं। तर तिनीहरूले पश्‍चात्ताप गरेको अनि हामीले जस्तै अनन्त जीवनको आशा राखेको हेर्न चाहन्छौं।—१ तिमोथी २:३, ४.

अगमवक्‍ताहरूको धीरज विचार गर्नुहोस्‌

१२, १३. याकूब ५:१० अनुसार अगमवक्‍ता यशैया धीरज देखाउन कसरी सफल भए?

१२ यहोवाको धीरजबारे विचार गरेपछि यो गुणको कदर गर्न अनि त्यसलाई खेती गर्न हामी मदत पाउँछौं। असिद्ध मानिसहरूलाई धीरज खेती गर्न सजिलो हुँदैन। तर असम्भव भने छैन। परमेश्‍वरका पहिले-पहिलेका सेवकहरूबाट हामी सिक्न सक्छौं। चेला याकूबले यस्तो लेखे: “हे मेरा भाइ हो, प्रभुका नाउँमा बोल्ने ती अगमक्‍ताहरूका शासना र धैर्यको दृष्टान्त लेओ।” (याकूब ५:१०) हामीले भोग्नुपरेको कुरा, अरूले पनि सफलतापूर्वक सामना गरिसकेका छन्‌ भनेर थाह पाउँदा हामीलाई सान्त्वना मिल्छ र प्रोत्साहन पनि पाउँछौं।

१३ उदाहरणका लागि, अगमवक्‍ता यशैयालाई आफ्नो कार्यभार पूरा गर्न धीरज नभई हुँदैन थियो। यही कुरालाई बुझाउँदै यहोवाले तिनलाई यसो भन्‍नुभयो: “जा, गएर ती मानिसहरूलाई भन्‌, तिमीहरू सुन्‍न ता सुन्छौ, तर बुझ्दैनौ, तिमीहरू देख्न ता देख्छौ, तर थाह पाउँदैनौ। यी मानिसहरूका हृदय गह्रौं पार्‌, र तिनीहरूका कान बाक्लो पार्‌, औ तिनीहरूका आँखा बन्द गरिदे, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्लान्‌, र आफ्ना कानले सुन्लान्‌, र तिनीहरूले बुझ्लान्‌, र फेरि फर्केर तिनीहरू निको होलान्‌!” (यशैया ६:९, १०) मानिसहरू कठोर भए तापनि यशैयाले कम्तीमा पनि ४६ वर्षसम्म यहोवाको चेतावनी सुनाइरहे! त्यसरी नै, हामीले सुनाउने सन्देश धेरै जनाले नसुने तापनि सुसमाचार सुनाइरहन धीरजले नै हामीलाई मदत गर्नेछ।

१४, १५. अप्ठ्यारो अवस्था आइपर्दा र निराश हुँदा यर्मियालाई कुन कुराले मदत गऱ्‍यो?

१४ सेवकाईमा लाग्दा अगमवक्‍ताहरूले कुरा नसुन्‍ने कठोर मानिसहरूको सामना गर्नुपऱ्‍यो। तर त्यति मात्र होइन, तिनीहरूले सतावट पनि भोग्नुपऱ्‍यो। यर्मियालाई ठिंगुरामा हालियो, “घरमा कैद गरेर” राखियो अनि इनारमा फ्याँकियो। (यर्मिया २०:२; ३७:१५; ३८:६) आफूले जसलाई मदत गर्न चाहेका थिए, तिनीहरूकै हातबाट यर्मियाले यस्तो दुर्व्यवहार भोगे। तैपनि यर्मियाले मन तीतो बनाएनन्‌ अनि बदला पनि लिएनन्‌। धैर्य धारण गर्दै तिनी वर्षौंसम्म स्थिर रहे।

१५ मानिसहरूले सताउँदा र गिल्ला गर्दा यर्मियाले लत्तो छोडेनन्‌। यस्तै परिस्थिति आउँदा आज हामी पनि लत्तो छोड्‌दैनौं। हुन त, कहिलेकाहीं हामी निराश हुन सक्छौं। यर्मिया पनि निराश भएका थिए। तिनले भने: “परमप्रभुको वचन मेरो निम्ति दिनभरिनै निन्दा र खिसीको कारण भएको छ।” तिनले भने, “म उहाँको चर्चा गर्नेछैनँ, म फेरि कहिल्यै उहाँको नाउँ लिन्‍नँ।” तर के भयो? के यर्मियाले प्रचार गर्न छोडे? तिनले यसो भने: “मेरो हृदयमा [परमेश्‍वरको वचन] जलिरहेको आगो हड्डीहरूका बीचमा थुनिराखेको जस्तै हुनेछ, त्यसलाई भित्र रोकिराख्ता म थकित हुन्छु, औ म त्यो थाम्नै सक्‍तिनँ।” (यर्मिया २०:८, ९) याद गर्नुहोस्‌, मानिसहरूको खिसीलाई मात्र ध्यान दिंदा, तिनले आफ्नो आनन्द गुमाए। तर आफूले सुनाउने सन्देश कत्तिको अमूल्य र महत्त्वपूर्ण छ भन्‍ने कुरामा ध्यान दिंदा तिनी फेरि आनन्दित हुन सके। यो भन्दा पनि महत्त्वपूर्ण कुरा, “एक भयङ्‌कर योद्धाझैं” यहोवा यर्मियासित हुनुहुन्थ्यो। जोसका साथ अनि निडर भई परमेश्‍वरको वचन सुनाइरहन उहाँले नै यर्मियालाई बलियो बनाउनुभयो।—यर्मिया २०:११.

१६. सुसमाचार प्रचार गर्ने काममा हामी कसरी आनन्दित रहिरहन सक्छौं?

१६ के अगमवक्‍ता यर्मिया आफ्नो काममा आनन्दित हुन सके? अवश्‍य! तिनले यहोवालाई यसो भने: “तपाईंका वचन पाइए औ मैले ती खाएँ, तपाईंका वचन मलाई रमाहट, र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनभने हे सेनाहरूका परमप्रभु, तपाईंको नाउँले म कहलाइन्छु।” (यर्मिया १५:१६) साँचो परमेश्‍वरको नाउँले चिनिने अनि उहाँको वचन प्रचार गर्ने सम्मान पाएकोमा यर्मिया आनन्दित भए। हामी पनि आनन्दित हुन सक्छौं। यति मात्रै कहाँ हो र, स्वर्गदूतहरू पनि हामी सँगसँगै रमाउँछन्‌। संसारभरि थुप्रैले परमेश्‍वरको राज्यको सन्देश स्वीकारेको, पश्‍चात्ताप गरेको अनि अनन्त जीवनको बाटोमा हिंड्‌न थालेको देख्दा स्वर्गदूतहरू हामी सँगसँगै रमाउँछन्‌।—लूका १५:१०.

“अय्यूबको स्थिरता”

१७, १८. अय्यूब कसरी स्थिर रहे अनि नतिजा के भयो?

१७ पहिले-पहिलेका अगमवक्‍ताहरूबारे बताइसकेपछि चेला याकूबले यस्तो लेखे: “तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको [यहोवाको] अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ।” (याकूब ५:११, NRV) यहाँ “स्थिरता” भनेर अनुवाद गरिएको युनानी शब्द र यसअघिको पदमा याकूबले “धैर्य” भनी अनुवाद गरेका शब्दको अर्थ मिल्दोजुल्दो छ। यी दुई शब्दबीचको भिन्‍नता देखाउँदै एक जना विद्वान्‌ले यस्तो लेखे: “धैर्य भनेको मानिसहरूले दुर्व्यवहार गर्दा सहनु हो। स्थिरता भनेको हामीलाई दुःखित पार्ने अवस्थामा हिम्मत नहार्नु हो।”

१८ अय्यूबले असाध्यै दुःख भोग्नुपऱ्‍यो। तिनको धनसम्पत्ति गुम्यो, छोराछोरीको मृत्यु भयो अनि असाध्यै पीडादायी रोगले सतायो। यहोवाले नै तिनलाई सजाय दिइरहनुभएको हो भन्‍ने झूटा आरोप पनि सुन्‍नुपऱ्‍यो। आफूले भोगेको दुःखकष्ट तिनले व्यक्‍त गरे। तिनले आफ्नो अवस्थामा दुःख माने अनि परमेश्‍वरभन्दा बरु म नै धर्मी छु पनि भने। (अय्यूब ३५:२) तैपनि तिनले आफ्नो विश्‍वास कहिल्यै त्यागेनन्‌ अनि आफ्नो निष्ठा पनि तोडेनन्‌। शैतानको दाबी थियो, अय्यूबले परमेश्‍वरलाई सराप्नेछन्‌। तर तिनले त्यसो गरेनन्‌। (अय्यूब १:११, २१) नतिजा के भयो? यहोवाले “अय्यूबको जीवनको आखिरी समयमा शुरूको समयभन्दा बढी आशिष दिनुभयो।” (अय्यूब ४२:१२) यहोवाले अय्यूबको स्वास्थ्य राम्रो बनाइदिनुभयो, धनसम्पत्ति दोब्बर बढाइदिनुभयो। अनि अय्यूबले आफ्नो मायालु परिवारसित सन्तोषजनक र आनन्दित जीवन बिताउन पाए। विश्‍वासी भई स्थिर रहेको हुँदा तिनले यहोवालाई अझ राम्ररी चिन्‍न सके।

१९. धीरजी भई स्थिर रहेका अय्यूबको उदाहरणबाट हामी के सिक्न सक्छौं?

१९ अय्यूब धीरजी भई स्थिर रहे। यसबाट हामी के सिक्न सक्छौं? अय्यूबले जस्तै हामीले पनि रोगबिमार वा अरू नै प्रकारको कठिनाइ भोग्नुपर्ला। कुनै परीक्षा भोग्नुपर्दा, किन यहोवाले यस्तो हुन दिनुभएको होला भन्‍ने कारण पनि राम्ररी नबुझौंला। तैपनि यो कुरामा भने हामीले कुनै शङ्‌का गर्नु पर्दैन: विश्‍वासी भइरह्‍यौं भने हामीले आशिष्‌ पाउनेछौं। उत्सुकतासाथ उहाँको खोजी गर्नेहरूलाई यहोवाले अवश्‍य इनाम दिनुहुन्छ। (हिब्रू ११:६) येशूले यसो भन्‍नुभयो: “आखिरसम्म सहने चाहिंले उद्धार पाउनेछ।”—मत्ती १०:२२; २४:१३.

‘यहोवाको दिन आउनेछ’

२०. यहोवाको दिन अवश्‍य आउनेछ भनेर हामी किन ढुक्क हुन सक्छौं?

२० यहोवा धीरजी हुनुहुन्छ। तर उहाँ न्यायी पनि हुनुहुन्छ अनि दुष्टतालाई सधैंभरि सहनुहुन्‍न। उहाँको धीरजको सीमा छ। पत्रुसले यस्तो लेखे: “[परमेश्‍वरले] प्राचीन संसारलाई बाँकी राख्नुभएन।” उहाँले नूह र तिनको परिवारलाई बचाउनुभयो। तर त्यो अभक्‍त संसारलाई जलप्रलयद्वारा नाश गर्नुभयो। यहोवाले सदोम र गमोरा पनि नामोनिशान नहुने गरी विनाश गर्नुभयो। यी न्यायदण्ड पछि हुने विनाशको एउटा “उदाहरण” थियो। यो कुरामा हामी ढुक्क हुन सक्छौं: ‘यहोवाको दिन आउनेछ,’ अवश्‍य आउनेछ।—२ पत्रुस २:५, ६; ३:१०, NRV.

२१. हामी कसरी धीरजी र स्थिर भइरहन सक्छौं र यसपछिको लेखमा कुन विषय छलफल गरिनेछ?

२१ अरू मानिसहरूले पश्‍चात्ताप गरून्‌ र बचून्‌ भनेर हामी तिनीहरूलाई मदत गर्छौं। यसरी हामीले यहोवाको धीरज अनुकरण गरिरहौं। अरूले हाम्रो कुरा नसुने तापनि धीरजी भई सुसमाचार प्रचार गरिरहेर अगमवक्‍ताहरूको धीरज अनुकरण गरौं। साथै, अय्यूबले जस्तै परीक्षाहरू सह्‍यौं र निष्ठा तोडेनौं भने यहोवाले प्रचुर मात्रामा आशिष्‌ दिनुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं। संसारभरि सुसमाचार प्रचार गर्न आफ्ना जनहरूले प्रयास गर्दा यहोवाले प्रचुर मात्रामा आशिष्‌ दिनुहुन्छ भन्‍ने कुरा बुझेपछि सेवकाईमा आनन्द गुमाउनुपर्ने कुनै कारण छैन। यसपछिको लेखमा हामी यही कुरा छलफल गर्नेछौं।(w06 2/1)

के तपाईंले सम्झनुभएको छ?

• यहोवा किन धीरजी हुनुहुन्छ?

• अगमवक्‍ताहरूले देखाएको धीरजबाट हामी के सिक्न सक्छौं?

• अय्यूब कसरी स्थिर रहे अनि नतिजा कस्तो भयो?

• यहोवाको धीरजको सीमा छ भनेर कसरी भन्‍न सक्छौं?

[पृष्ठ २२-मा भएको चित्र]

येशूले यहोवाको धीरज जस्ताको तस्तै अनुकरण गर्नुभयो

[पृष्ठ २४-मा भएका चित्रहरू]

यर्मियाले धीरज देखाउँदा यहोवाले कसरी इनाम दिनुभयो?

[पृष्ठ २५-मा भएका चित्रहरू]

अय्यूब स्थिर रहँदा यहोवाले कसरी इनाम दिनुभयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने