प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ११/१ pp. १९-२३
  • एक अर्कालाई ढाडस दिंदै गर्नु होस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक अर्कालाई ढाडस दिंदै गर्नु होस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कुवाक्यलाई टाढा राख्नु
  • अरूहरूलाई ढाडस दिने काम गरौं
  • ईश्‍वरीय रीतिले ढाडस दिने गर्नुहोस्‌
  • अरूहरूलाई ढाडस दिने प्राचीनहरू
  • ख्रीष्टको व्यवस्थाअनुरूप जीवन यापन गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “उत्थान गर्ने असल वचन” बोल्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • तपाईंको पहिरन र कोरीबाटी—के परमेश्‍वरले ख्याल गर्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • के तपाईंको पहिरनले परमेश्‍वरको महिमा गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ११/१ pp. १९-२३

एक अर्कालाई ढाडस दिंदै गर्नु होस्‌

“केही कुवाक्य तिमीहरूको मुखबाट ननिस्कोस, तर परिआएको खण्डमा सुधारको निम्ति केही असल कुरो हुन्छ भने मात्र-”—एफिसी ४:२९.

१, २. (क) बोल्ने क्षमता एउटा चमत्कार हो भनेर किन भन्‍नु सुहाउँछ? (ख) आफ्नो जिब्रो चलाउने सम्बन्धमा कुन कुराबारे सावधान हुनु उपयुक्‍त छ?

“बोली एउटा जादुई धागो हो जसले समाज, परिवार र मित्रहरूलाई आत्मीयताको बन्धनमा बाँध्दछ . . . मानिसको दिमाग र जिब्रोका माशंपेशीहरूको सङ्‌कुचनद्वारा हामी त्यस्ता आवाजहरू निकाल्दछौं जसले प्रेम, इर्ष्या, आदर—वास्तवमा कुनैपनि मानव भावना उक्साउदँछ।”—सुनाइ, स्वाद र गन्ध.

२ हाम्रो जिब्रो निल्न वा स्वाद लिनका लागि मात्र बनिएको अगं होइन। हाम्रो भावना र विचारहरू बाँड्‌न सक्ने क्षमताको यो एउटा भाग हो। “जिब्रो पनि एउटा सानो इन्द्रिय हो” भनेर याकूबले लेखे। “यसबाट हामीले प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैबाट हामी ‘परमेश्‍वरको सकलमा’ बनेका मानिसहरूलाई सराप्त पनि छौं।” (याकुब ३:५, ९) हो, हामी आफ्नो जिब्रोलाई परमेश्‍वरको प्रशंसा गर्ने जस्तो असल काममा उपयोग गर्न सक्छौं। तर असिद्ध भएको हुनाकारण यसै जिब्रोलाई घोच्ने वचनहरू र नकारात्मक कुराहरू बोल्न पनि सजिलैसँग उपयोग गर्न सक्छौं। याकूबले लेखे: “हे मेरा भाइ हो, यस्तो कुरा हुन नपाओस्‌।”—याकूब ३:१०.

३. हाम्रो बोलीवचनको कुन दुई पक्षमाथी हामीले ध्यान दिनुपर्छ?

३ कुनै पनि मानिसले आफ्नो जिब्रोलाई पूर्ण रूपले अधीनमा राख्न सक्‍तैन। तैपनि उन्‍नति गर्ने जोरदार प्रयत्न भने हामीले अवश्‍य गर्नुपर्छ। यस सम्बन्धमा प्रेरित पावल यसरी सल्लाह दिन्छन्‌: “केही कुवाक्य तिमीहरूको मुखबाट ननिस्कोस्‌, तर परिआएको खण्डमा सुधारको निम्ति केही असल कुरो हुन्छ भने मात्र, कि त्यसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।” (एफिसी ४:२९) ध्यान दिनुहोस, यस परामर्शका दुई पक्षहरू छन्‌: कुन कुरादेखि टाढा रहन हामीले सङ्‌घर्ष गर्नुपर्छ र हामीले के गर्ने चेष्टा गर्नुपर्दछ। अब हामी यी दुवै पक्षहरूलाई विचार गरौं।

कुवाक्यलाई टाढा राख्नु

४, ५. (क) फोहर बोलीको विरुद्धमा मसीहीहरूले के युद्ध लड्‌नु पर्छ? (ख) “कुवाक्य” भन्‍ने शब्दबाट कस्तो चित्र प्रस्तुत गर्न सकिन्छ?

४ एफिसी ४:२९ ले प्रथमतः “केही कुवाक्य तिमीहरूको मुखबाट ननिस्कोस्‌” भनेर हामीलाई आग्रह गर्दछ। यो गर्न त्यत्ति सजिलो नहोला। यसको एउटा कारण हाम्रो वरिपरि अपमानजनक भाषाको व्यापकता हो। धेरै जवान मसीहीहरू दिनहुँ अरूहरूले बोलेको फोहर दुर्वचन सुन्छन्‌। उनीहरूको सहपाठीहरूको विचारमा यसो गर्नु आफ्नो बहादुरी देखाउनु वा आफ्नो कुरामा बल दिनु हो। फोहर बोली सुन्‍नबाट टाढा बस्न हामी पूर्णतः सक्षम हुन सक्‍तैनौं होला। तर त्यस्ता कुराहरूलाई मनमा नहाल्ने सजग प्रयास भने गर्न सक्छौं र गर्नु पनि पर्छ। त्यस्ता कुराहरूका लागि हाम्रो मुखमा र मनमा कुनै स्थान छैन।

५ पावलले दिएको उक्‍त चेतावनीमा बासी माछा वा कुहिएको फलफूलहरूसँग सम्बन्धित एउटा ग्रीक शब्द लुकेको छ। एकछिन कल्पना गर्नुहोस्‌: तपाईं एकजना मानिसलाई अधीर र एकैछिनमा अति नै क्रोधित्‌ भएको देख्नु हुन्छ। अचानक त्यस व्यक्‍तिले आफ्नो रिस पोखाउँदछ र तपाईं उसको मुखबाट सडेको माछा निस्केको देख्नुहुन्छ। त्यसपछि अरूहरूको लुगाभरि लाग्ने गरी गन्हाउने कुहिएको फलफूलहरू मुखबाट निस्केको देख्नुहुन्छ। को होला त्यस्तो व्यक्‍ति? कस्तो नराम्रो कुरो, यदि त्यो व्यक्‍ति हामी मध्येकै कोही हो भने! तथापि हामीले ‘कुवाक्य हाम्रो मुखबाट निस्कन’ दियौं भने त्यस मानिसको चित्रण हामीसँग ठ्याक्क मिल्न सक्नेछ।

६. एफिसी ४:२९, आलोचनात्मक र नकारात्मक बोलीवचन माथि कसरी प्रयोग हुन्छ?

६ एफिसी ४:२९-को अर्को प्रयोग हामी हर समय आलोचनात्मक नहुनु पनि हो। यो कुरा सही हो कि आफूले मन नपराउने अथवा स्वीकार नगर्ने कुराहरू प्रति हाम्रो आ-आफ्नै विचारहरू र रुचिहरू छन्‌। तर के कहिल्यै त्यस्तो व्यक्‍तिको नजिक पर्नु भएको छ, जससँग कुनै व्यक्‍ति, ठाउँ वा कुनै वस्तुको विषयमा कुरा गर्दा नकारात्मक टिप्पणी (वा टिप्पणीहरू) बाहेक केही हुँदैन? (तुलना गर्नुहोस्‌ रोमी १२:९; हिब्रू १:९.) यस्ताको बोलीले अरूलाई होच्याउछ, निराश वा बरबाद पार्दछ। (भजनसंग्रह १०:७; ६४:२-४; हितोपदेश १६:२७; याकूब ४:११, १२) मलाकीले वर्णन गरेका आलोचकहरूसँग आफू कत्तिको मेल खान्छ भनेर शायद त्यो व्यक्‍तिले महसुस नगरेको हुन सक्छ। (मलाकी ३:१३-१५) उसको मुखबाट सडेको माछा वा कुहिएको फलफूल निस्कन्दैछ भनेर नजिकै उभिनेले भन्यो भने ऊ कति झस्कन्थ्यो होला!

७. हामी सबैले के आत्म-परिक्षण गर्नु पर्छ?

७ अरूले बारम्बार नकारात्मक वा आलोचनात्मक टिप्पणी गरेको महसुस गर्न सजिलो छ। तर आफैलाई सोध्नुहोस्‌ ‘के त्यस्तै हुने प्रवृत्ति ममा पनि छ? साँच्चैनै के म त्यस्तो छु?’ हामी कस्तो भावनाका साथ बोल्छौं, त्यस बारे समय समयमा विचार गर्नु समझदारीको कुरा हो। के ती मूलतः बढी आलोचनात्मक वा नकारात्मक छन्‌? के हामी झूटा सान्त्वना दिन आएका अय्यूबका ती तीन मित्रहरू झैं बोल्दछौं? (अय्यूब २:११; १३:४, ५; १६:२; १९:२) कुनै एउटा सकारात्मक पक्षबारे कुरा गर्ने प्रयास किन नगर्ने? वार्तालाप बढी आलोचनापूर्ण छ भने, कुरालाई फाइदाजनक विषयहरू तर्फ किन नमोड्‌ने?

८. बोलीवचनको सम्बन्धमा मलाकी ३:१६-ले के शिक्षा दिंदछ, र त्यो शिक्षा पालन गरिरहेका छौं भनेर हामीले कसरी देखाउन सक्छौं?

८ मलाकीले यो एउटा भिन्‍न दृष्टिकोण प्रस्तुत गरे: “तब परमप्रभुको डर मान्‍नेहरूले आपसमा कुरा गरे, औ परमप्रभुले तिनीहरूको कुरा ध्यानसित सुन्‍नुभयो, औ उहाँको नाउँको सोच गर्नेहरूको नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।” (मलाकी ३:१६) यहोवाले लाभदायक कुराकानी तर्फ विशेष ध्यान दिनु भएको के तपाईंले याद गर्नुभयो? सङ्‌गी साथीहरू माथि त्यस्ता वार्तालापले सम्भवतः कस्तो प्रभाव पार्‌यो होला? आफ्नो दैनिक बोलीचाली बारे हामी व्यक्‍तिगत तवरमा पाठ सिक्नसक्छौं। हाम्रो आदर्श बोलीवचनमा परमेश्‍वरलाई चढाइने ‘स्तुतिको बलिदान’ झल्किएमा हाम्रालागि र अरूहरूका लागि समेत कति असल हुन्थ्यो।—हिब्रू १३:१५.

अरूहरूलाई ढाडस दिने काम गरौं

९. मसीही सभाहरू अरूहरूलाई ढाडस दिने राम्रो अवसरहरू किन हुन्‌?

९ मण्डलीका सभाहरू, ‘परिआएको खण्डमा सुधारको निम्ति’ र ‘सुन्‍नेहरूलाई अनुग्रह मिलोस’ भनेर बोल्ने सर्वोत्तम अवसरहरू हुन्‌। (एफिसी ४:२९) यो काम हामी बाइबलको जानकारीमाथि भाषण दिंदा, प्रदर्शनहरूमा भाग लिंदा वा प्रश्‍नोत्तर कार्यक्रमहरूमा टिप्पणी दिंदा गर्नसक्छौं। यस प्रकार हामी हितोपदेश २०:१५-को यस कुरालाई पुष्टि गर्दछौं: “ज्ञानका कुरा बहुमूल्य रत्न जस्तै हो।” र यसरी हामी कति जनाको हृदय छुँदछौं वा कतिजनालाई ढाडस दिन्छौं, कसलाई थाहा छ र?

१०. हामीले प्रायः धेरै जसो को सँग कुराकानी गर्ने गरेका छौं भन्‍ने कुरालाई जाँचेपछि, के परिवर्तन ल्याउनु आवश्‍यक हुन सक्छ? (२ कोरिन्थी ६:१२, १३)

१० सभाहरू हुनु भन्दा अघि र सभा पछि, सुन्‍नेहरूका लागि अनुग्रह मिल्ने किसिमका वार्तालापहरू गरेर अरूहरूलाई ढाडस दिने सुविधाजनक समय हुन्‌। यो समय आफूलाई मनपर्ने नजिकका मित्रहरू र नातेदारहरूसँग मात्र कुरा गरेर बिताउन सजिलो होला। (यूहन्‍ना १३:२३; १९:२६) तथापि, एफिसी ४:२९ ले भने अनुसार हामीले तिनीहरू बाहेक अरूहरूसँग पनि कुरा गर्न किन न खोज्ने? (लूका १४:१२-१४ तुलना गर्नुहोस्‌.) भर्खरै आएका ती नयाँ व्यक्‍तिहरू, बूढापाका वा जवान व्यक्‍तिहरूसँग औपचारिक अभिवादन वा नमस्कार भन्दा बढी भन्‍नसक्ने अरू कुराहरू हामी पहिले नै सोच्न सक्छौं। साना केटाकेटीहरूसँग पनि थपक्क बसेर उनीहरूकै स्तरका कुराहरू गर्न सक्छौं। हाम्रो यस्तो गहिरो चासो र प्रोत्साहनजनक वार्तालापले अरूहरूलाई दाऊदले भजनसंग्रह १२२:१-मा पोखाएका भावनालाई दोहर्‌याउन अझ सक्षम तुल्याउनेछ।

११. (क) सभामा बस्ने स्थान सम्बन्धी कुरामा धेरै जनाले के बानी बसालेका छन्‌? (ख) कसै कसैले चाहिं जानी जानी आफ्नो बस्ने ठाउँ फेर्ने किन गर्दछन्‌?

११ सभामा आफू बस्ने स्थानको परिवर्तन गरी रहनाले पनि लाभदायी वार्तालाप गर्ने मद्दत दिन्छ। शायद आफ्नो बच्चाको स्याहार गर्न एउटी आमालाई आराम-कक्ष नजिक वा शारीरिक तवरले दुर्बल व्यक्‍तिलाई बाटो छेउको कुर्सीमा बस्नु पर्ने बाध्यता होला। तर बाँकी हामीहरूको विषयमा के भन्‍न सकिन्छ? एउटा चरो स्वभावैले आफ्नो गुडँमा फर्के जस्तै आफ्नो बानीले गर्दा हामी सधैं एउटै निश्‍चित स्थान वा कुर्सीमा बस्ने गरेका हुन सक्छौं। (यशैया १:३; मत्ती ८:२०) साफ साफ भन्‍ने हो भने हामी आफूले चाहेको जुनसुकै ठाउँमा पनि बस्नसक्ने हुनाले, ठाउँ फेरि फेरि हामी किन नबस्ने—दायाँ वा बायाँ या अगाडि वा पछाडि—जसले गर्दा सबै व्यक्‍तिहरूसँग अझ बढी परिचित हुन सक्नेछौं। हामीले यस्तो गर्नु नै पर्छ भन्‍ने नियम नभए तापनि, ठाँउ फेरि फेरि बस्ने प्राचीनहरू र अरू परिपक्व व्यक्‍तिहरूलाई आफ्ना नजिकका केही मित्रहरूलाई मात्र नभएर अरू धेरैलाई अनुग्रह मिल्ने कुराको मद्दत दिन सजिलो भएको छ।

ईश्‍वरीय रीतिले ढाडस दिने गर्नुहोस्‌

१२. इतिहासभरि कुन अप्रिय प्रवृत्ति प्रकट भएको छ?

१२ धेरै नियमहरू बनाउने मानव झुकावको अनुसरण गर्नुको सट्टा, अरूहरूलाई ढाडस दिने इच्छा राख्नु उचित हो। यस प्रकार एकजना मसीही यस मामिलामा परमेश्‍वरको अनुसरण गर्न प्ररित हुनेछ।a असिद्ध मानिसहरू पहिलेदेखि नै आफ्ना वरिपरिका व्यक्‍तिहरूलाई आफ्नो अधीनमा राख्न इच्छुक थिए र यहोवाका कोही कोही सेवकहरू समेत यस झुकावको शिकार भएका थिए। (उत्पत्ती ३:१६; उपदेशक ८:९) येशूको समयमा यहूदी अगुवाहरूले ‘गह्रौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा हालिदिन्थे तर आफैले भने औंलाले पनि ती सारिदिने मन गर्दैनन्‌’ थिए। (मत्ती २३:४) तिनीहरूले साधारण चलनहरूलाई, पालन नगरी नहुने रीतिथितिमा बद्‌ली दिएका थिए। मानव निर्मित नियमहरू प्रति धेरै ध्यान दिंदा परमेश्‍वरले बढी महत्त्वपूर्ण ठानेका कुराहरूलाई तिनीहरूले बेवास्ता गर्न पुगे। तिनीहरूले बनाएका अशास्त्रीय नियमहरूले कसैलाई पनि ढाडस दिएनन्‌; तिनीहरूको तरिका परमेश्‍वरको तरिका थिएन।—मत्ती २३:२३, २४; मर्कूस ७:१-१३.

१३. संगी मसीहीहरूका लागि अनगिन्ती नियमहरू बनाउनु किन अनुचित हो?

१३ मसीहीहरू ईश्‍वरीय नियमहरूलाई साँचो हृदयले समर्थन गर्न चाहन्छन्‌। तरै पनि हामी अनगिन्ती र कठिन नियमहरू बनाउने प्रवृत्तिको शिकार हुनसक्छौं। किन? एउटा कारण, हरेकको स्वाद र रुचि फरक फरक हुन्छ। जुन कुरा एउटाका लागि ग्रहणयोग्य होला, त्यही कुरा अर्कोको विचारमा खराब र हटाउनु पर्ने कुरा हुन सक्‍तछ। यसैगरी मसीहीहरू पनि आत्मिक परिपक्वता तर्फ प्रगति गर्ने कुरामा एक अर्कासँग फरक हुन्छन्‌। तर तीन थुप्रो नियमहरू बनाउनु, के यो अरूहरूलाई परिपक्वता तर्फ प्रगति गर्न मद्दत दिने ईश्‍वरीय तरिका हो? (फिलिप्पी ३:१५; १ तिमोथी १:१९; हिब्रु ५:१४) कुनै व्यक्‍तिले वास्तवमा कुनै जोखिमपूर्ण कुरा वा अचाक्ली गरेको देखिए तापनि, के यसको सर्वोत्तम समाधान प्रतिबन्ध लगाउने नियमहरू बनाउनु हो र? योग्यता भएकाहरूले गल्ती गर्ने व्यक्‍तिसँग नम्रतापूर्वक तर्क गर्दै तिनलाई पुनः स्थापित गर्ने प्रयास गर्नु नै परमेश्‍वरको तरिका हो।—गलाती ६:१.

१४. परमेश्‍वरले इस्राएललाई दिनुभएको व्यवस्थाद्वारा कुन कुन उद्देश्‍य पूरा भयो?

१४ यो साँचो हो कि इस्राएललाई आफ्नो जनको रूपमा प्रयोग गर्नु हुँदा परमेश्‍वरले मन्दिरको उपासना, बलिदान र सरसफाइ सम्बन्धी सयौं नियमहरू दिनु भएको थियो। एउटा विशेष राष्ट्रका लागि यो सुहाउँदो थियो, र तिनीहरूलाई दिइएका धेरै नियमहरू भविष्यवाणीको रूपमा महत्त्वपूर्ण थिए र जसले यहूदीहरूलाई मसीह तर्फ डोऱ्‍याउन मद्दत पनि दिए। यस विषयमा पावलले यसरी लेखे: “यसैले विश्‍वासैबाट हामी धर्मी ठहरिऔं भनेर हामीलाई ख्रीष्टमा ल्याउनलाई व्यवस्था ता हाम्रा जिम्मावाल भएको हो। तर अब विश्‍वास आएको हुनाले हामी अझै जिम्मावालको अधीनमा छैनौं।” (गलाती ३:१९, २३-२५) कष्टको काठमा यी नियमहरू खारेज भएपछि, मसीहीहरूलाई जीवनका धेरै क्षेत्रहरूमा अनुसरण गर्न परमेश्‍वरले नियमहरूको विस्तृत सूची दिनुभएन, किनभने तिनीहरूलाई विश्‍वासमा दह्रो राख्ने तरिका त्यो थिएन।

१५. मसीही उपासकहरूलाई परमेश्‍वरले के निर्देशन दिनु भएको छ?

१५ हुन तः हामी नियम बिना छैनौं। परमेश्‍वरले हामीलाई मूर्तिपूजा, व्यभिचार, र रगतको दुरुपयोगदेखि टाढा बस्ने आज्ञा दिनुभएको छ। उहाँले हत्या, झूठ, प्रेतवाद र अन्य अरू पापहरू किटेर निषेध गर्नुभएको छ। (प्रेरित १५:२८, २९; १ कोरिन्थी ६:९, १०; प्रकाशितवाक्य २१:८) आफ्नो वचनमा धेरै विषयहरू माथि उहाँले स्पष्ट सल्लाह दिनुभएको छ। तथापि, बाइबलका सिद्धान्तहरू सिक्ने र प्रयोग गर्ने कुरामा हामी इस्राएलीहरू भन्दा धेरै गुणा जिम्मावार छौं। प्राचीनहरूले नियमहरू बनाउनु वा खोजी हिंड्‌नुको सट्टा बाइबलका ती सिद्धान्तहरू खोज्ने र विचार गर्ने मद्दत दिंदै अरूहरूलाई उन्‍नति गर्न मद्दत दिन सक्छन्‌।

अरूहरूलाई ढाडस दिने प्राचीनहरू

१६, १७. सँगी उपासकहरूका लागि नियम बनाउने सम्बन्धमा प्रेरितहरूले कुन असल आदर्श कायम गरेका छन्‌?

१६ पावलले लेखे: “केवल जहाँसम्म हामी पुगीसकेका छौं, त्यही बमोजिम हामी चलौं।” (फिलिप्पी ३:१६) यसै ईश्‍वरीय दृष्टिकोण अनुरूप यी प्रेरितले अरूहरूसँग व्यवहार गरे र यसले गर्दा तिनीहरूले उन्‍नति गर्न सके। उदाहरणका लागि, मूर्तिपूजा गरिने मन्दिरबाट ल्याएको मासु खाने कि नखाने भन्‍ने विषयमा एक पटक प्रश्‍न उठेको थियो। के यी प्राचीनले मण्डलीमा एकरूपता वा सरलताका लागि मण्डलीका सबै व्यक्‍तिहरूका निम्ति कुनै एउटा नियम बनाए? बनाएनन्‌। परिपक्वताको मार्गमा विभिन्‍न व्यक्‍तिहरूले विभिन्‍न स्तरसम्म प्रगति गरेका हुन्छन्‌ र विभिन्‍न मात्रामा ज्ञान हासिल गरेका हुन सक्छन्‌। यसले गर्दा, उक्‍त विषयमा विभिन्‍न मसीहीहरूले बेग्ला बेग्लै फैसला गर्न सक्छन्‌ भन्‍ने कुरा तिनले स्वीकारे। र आफूले चाहिं एउटा असल उदाहरण कायम राख्ने फैसला गरे।—रोमी १४:१-४; १ कोरिन्थी ८:४-१३.

१७ पोशाक र कोरीबाटी जस्ता केही व्यक्‍तिगत मामिलाहरू बारे पनि प्रेरितहरूले कामलाग्ने सल्लाहहरू दिएको कुरा मसीही ग्रीक शास्त्रले देखाउँछ। तर तिनीहरूले हर परिस्थितिमा लागू हुने नियमहरू बनाउने बानी चाहिं बसालेनन्‌। झुन्डको उन्‍नति गर्न इच्छुक हुने मसीही अध्यक्षहरूका लागि आज यो एउटा राम्रो उदाहरण हो। साथै यो त्यही मूल तरिका हो जसको प्रयोग परमेश्‍वरले पुरातन इस्राएलीहरू सित पनि गर्नु भएको थियो।

१८. यहोवाले इस्राएललाई पोशाक सम्बन्धी के नियमहरू दिनुभयो?

१८ पहिरनको सम्बन्धमा पनि परमेश्‍वरले इस्राएलीहरूलाई विस्तृत नियमहरू दिनु भएन। प्रत्यक्षतः त्यति बेला पुरुष र स्त्री दुवैले एकै किसिमका लवेदा वा बाहिरी पोशाक लगाउँदथे। यद्यपि स्त्रीहरूको पोशाक चाहिं अलिक बुट्टेदार वा बढी रङ्‌गी-चङ्‌गी हुन्थ्यो। स्त्री-पुरुष दुवैले सा-धिनʹ वा भित्री लुगा लगाउँथे। (न्यायकर्ता १४:१२; हितोपदेश ३१:२४; यशैया ३:२३) पोशाकको विषयमा परमेश्‍वरले के नियमहरू दिनुभयो? सम्भवतः पुरुषगामी नियतलाई ध्यानमा राख्दै, स्त्रीले पुरुषको वा पुरुषले स्रीको पोशाक लगाउनु निषेध गरिएको थियो। (व्यवस्था २२:५) वरपरका राष्ट्रहरू भन्दा बेग्लै भएको कुरा देखाउन, इस्राएलीहरूले आफ्नो लुगाको किनारामा नीलो संजाप लगाएको झुम्का लगाउनु पर्थ्यो र शायद लवेदाको किनारामा पनि झल्लर लगाउनुपर्थ्यो जस्तो छ। (गन्ती १५:३८-४१) पोशाकको विषयमा व्यवस्थाले दिएको निर्देशन प्रायः यति नै थियो।

१९, २०. (क) मसीहीहरूलाई पहिरन र कोरीबाटी गर्ने कुरामा बाइबलले के निर्देशन दिंदछ? (ख) व्यक्‍तिगत रूपरंग सम्बन्धी नियमहरू बनाउने कुरामा प्राचीनहरूको के दृष्टिकोण हुनुपर्छ?

१९ आज मसीहीहरू यस नियमको अधीनमा नभए तापनि के हाम्रा लागि बाइबलमा पहिरन वा श्रृङ्‌गारपटार सम्बन्धी अन्य विस्तृत नियमहरू दिइएको पाउछौं? अहँ, पाउँदैनौं। बरु हामीले प्रयोगमा ल्याउन सक्ने सन्तुलित सिद्धान्तहरू परमेश्‍वरले दिनुभएको छ। यसबारे पावलले यसरी लेखे: “त्यही किसिमले स्त्रीहरू साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्‌। कपाल सिंगारेर बाटेका, सुन, मोती र बहुमूल्य लुगाहरूले ता होइन।” (१ तिमोथी २:९) मसीही स्त्रीहरूले शारीरिक सजिसजाउमा भन्दा “नम्र र शान्त आत्माको अविनाशी पोशाक त्यो गुप्त मानिस हुनमा” बढी ध्यान दिनुपर्छ भनेर पत्रुसले पनि सल्लाह दिएका थिए। (१ पत्रुस ३:३, ४) यस प्रकारका सल्लाहहरू शास्त्रमा लिपिबद्ध गरिएको कुराबाट प्रथम शताब्दीका केही मसीहीहरूलाई अरूभन्दा बढी शिष्ट हुने जरुरत र पहिरन वा श्रृङ्‌गारको मामिलामा आफूलाई लगाम लगाउनु परेको बोध हुँदछ। तथापि कुनै पहिरन वा श्रृङगार शैली निषेध गर्नुको सट्टा, प्रेरितहरूले खाली उन्‍नतिशील सल्लाह मात्र दिए।

२० शिष्ट पहिरन पहिरेका हुनाकारण, यहोवाका साक्षीहरूलाई प्रायः अरूहरूले आदर गर्दछन्‌ र आदर गर्नु पर्ने पनि हो। यद्यपि देश देश अनुसार र कहिले काहीं क्षेत्र अथवा मण्डली अनुसार श्रृङ्‌गार वा वेशभूषा फरक फरक हुन सक्छ। अवश्‍य, पहिरन वा श्रृङ्‌गारबारे आफ्नो कुनै कडा विचार-धारा वा रुचि भएको एउटा प्राचीनले सोही अनुसार आफ्नो परिवार र आफ्नो लागि निर्णय गर्नसक्छ। तर झुन्डका लागि विचार गर्दा चाहिं पावलले दिएको यो कुरामाथि तिनले ध्यान दिन जरुरी छ: “तिमीहरूको विश्‍वासमा हाम्रो प्रभुत्व भएको होइन, तर तिमीहरूका आनन्दको सहयोगी हौं, किनकि विश्‍वासबाटनै तिमीहरू स्थिर छौ।” (२ कोरिन्थी १:२४) हो, मण्डलीका लागि नियमहरू बनाउने प्रवृत्तिको विरोध गर्दै, प्राचीनहरूले अरूहरूको विश्‍वास दह्रो बनाउने काम गर्नुपर्दछ।

२१. प्राचीनहरूले कसरी उत्ताउलो प्रकारको लुगा लगाउनेहरूलाई लाभदायी मद्दत दिन सक्छन्‌?

२१ प्रथम शताब्दीमा झैं आज पनि समय समयमा नयाँ आएकाहरू वा आत्मिक तवरमा कमजोरहरूले पहिरन वा श्रृङ्‌गारपटार वा गर-गहनाको मामिलामा शंकास्पद वा अनुचित चाला अपनाउन सक्छन्‌। यस्तो अवस्थामा के गर्न सकिन्छ? यस सम्बन्धमा फेरि गलाती ६:१ ले इमान्दारीताका साथ मद्दत दिन चाहने ती मसीही प्राचीनहरूका लागि राम्रो निर्देशन दिंदछ। एक जना प्राचीनले यसबारे सल्लाह दिने निर्णय गर्नु भन्दा अगाडि अर्को प्राचीनसँग सो विषयबारे छलफल गर्नु बुद्धिमानीको कुरा हुनेछ। तर आफ्नो जस्तै विचार-धारा वा रुचि भएको प्राचीनकहाँ नजानु नै बेस हुनेछ। कहिले काहीं वेशभूषा वा कोरीबाटी गर्ने सांसारिक तौर-तरिकाले मण्डलीका धेरै जनालाई छोएको हुन सक्छ। यस्तो परिस्थितिमा मद्दत दिन सक्ने उत्तम तरिका बारे प्राचीनहरूको समूहले छलफल गर्न सक्छन्‌। तिनीहरूले सायद व्यक्‍तिगत रूपमा मद्दत अथवा कुनै एउटा सभामा दयालु र प्रोत्साहनयुक्‍त सर-सल्लाह दिने विचार गर्न सक्छन्‌। (हितोपदेश २४:६; २७:१७) तर जे भए पनि तिनीहरूको मुख्य लक्ष्य २ कोरिन्थी ६:३ मा उल्लेखित यस विचारलाई समर्थन गर्ने हुनुपर्दछ: “हाम्रो सेवामा कलङ्‌क नलागोस भनेर हामी कुनै कुरामा केही बाधा दिन्‍नौं।”

२२. (क) आपसको विचारधारामा सानुतिनु भिन्‍नता भयो भन्दैमा किन विचलित हुनु हुँदैन? (ख) पावलले कुन असल उदाहरण कायम गरे?

२२ मसीही प्राचीनहरू ‘तिनीहरूका जिम्मामा रहेको परमेश्‍वरको बगालको गोठालो’ भएका हुनाले यो काम पत्रुसले भने झैं ‘जिम्मामा रहेकाहरूमाथि अधिकार’ नजमाएर गर्न चाहन्छन्‌। (१ पत्रुस ५:२, ३) आफ्नो प्रेमपूर्ण सेवाको दौडानमा यस्ता विषयहरू माथि प्रश्‍न खडा हुन सक्छन्‌, जसमा सबैको बेग्ला-बेग्लै दृष्टिकोणहरू हुन सक्छन्‌। शायद प्रहरीधरहरा अध्ययनमा परिच्छेदहरू पढ्‌दा उठेर पढ्‌ने स्थानीय चलन हुन सक्छ। त्यस्तै गरी, क्षेत्र सेवकाईका लागि प्रबन्ध र सेवकाई सम्बन्धी अन्य विवरणहरू पनि स्थानीय चलन अनुसार नै गरिरहेको हुनसक्छ। तथापि यस विषयमा कसैले अलिकता बेग्लै तरिका प्रस्तुत गरेमा के खराबी हुन्छ र? मायालु स्वभावका अध्यक्षहरू “सबै काम शिष्ट रूपले र नियमपूर्वक” होस्‌ भन्‍ने इच्छा गर्दछन्‌। यो शब्द पावलले चमत्कारपूर्ण वरदानको सम्बन्धमा चलाएका थिए। तर पावलको मुख्य चासो “मण्डलीको सुधार” थियो भनेर यस पद्यको प्रसङ्‌गबाट देखिन्छ। (१ कोरिन्थी १४:१२, ४०) पावलले अनगिन्ती नियमहरू बनाउने झुकाव व्यक्‍त गरेनन्‌। तिनको मुख्य उद्देश्‍य सम्पूर्ण एकरूपता र निपुणता थिएन। यसबारे पावलले लेखे: “जो [अधिकार] तिमीहरूलाई बिगार्नालाई होइन, तर सुधार्नाको निम्ति प्रभुले दिनुभएको छ।”—२ कोरिन्थी १०:८.

२३. अरूहरूलाई ढाडस दिने सम्बन्धमा पावलले देखाएको नमुनालाई अनुसरण गर्न सक्ने तरिकाहरू के के हुन्‌?

२३ निःसन्देह पावलले सकारात्मक र प्रोत्साहनजनक बोलीद्वारा अरूहरूलाई ढाडस दिन परिश्रम गरेका थिए। उहाँले आफ्नै मित्रहरूको सानो परिधि भित्र मात्र संगत गरेनन्‌। यसको सट्टा तिनले आत्मिक तवरमा बलियो र ढाडसको खाँचो भएका सबै भाइ-बहिनीहरू सित भेट गर्ने प्रयास गरे। पावलले नियमहरू माथि भन्दा—प्रेममाथि जोड दिए—किनभने “प्रेमले उन्‍नति गराउँछ।”—१ कोरिन्थी ८:१. (w92 8/15)

[फुटनोट]

a परिस्थितिअनुसार परिवारभित्र विभिन्‍न नियमहरू बनाउनु उचित हुन सक्छ। बाइबलले आमा-बाबुलाई आफ्ना नाबालिग छोरा-छोरीहरूका निम्ति आवश्‍यक कुराहरूको निर्णय गर्ने अधिकार दिएको छ।—प्रस्थान २०:१२; हितोपदेश ६:२०; एफिसी ६:१-३.

पुनःरावलोकनका निम्ति बुंदाहरू

◻ नकारात्मक वा आलोचनात्मक कुरा गर्ने प्रवृत्ति हामीमा छ भने, परिवर्तन ल्याउनु किन उपयुक्‍त हो?

◻ मण्डलीमा अरूहरूलाई ढाडस दिनका लागि हामी के गर्नसक्छौं?

◻ अरूहरूका लागि थुप्रै नियमहरू बनाउने विषयमा ईश्‍वरीय नमुना के हो?

◻ झुन्डका लागि मानव नियमहरू नबनाउन प्राचीनहरूलाई कुन कुराले मद्दत गर्नेछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने