के तपाईं जिम्मेवारी सम्हाल्न अघि बढ़नु हुँदैछ?
“कुनै मानिस अध्यक्षको काम गर्न अघि बढ़छ भने, तिनले असलै कामको इच्छा गर्छन्।” —१ तिमोथी ३:१ [न्यू. व].
१. यहोवाका साक्षीहरूका लागि कुन लक्ष्यको पूर्ति सबै भन्दा महत्वपूर्ण हो?
यहोवाका साक्षीहरूका असल लक्ष्यहरू हुन्छन् र यी लक्ष्यहरूको निर्देशन र कार्यान्वयन ईश्वरीय ढङ्गमा हुन्छ। यो कुनै छक्क पर्ने कुरा होइन। किनभने तिनीहरूका परमेश्वरको पनि महान लक्ष्यहरू छन् र ती लक्ष्यहरू उहाँले जहिले पनि पूरा गर्नु हुन्छ। (यशैया ५५:८-११) यहोवाका सेवकहरू ती मानिसहरू जस्ता हुनु भएन जसको सामने कुनै असल उद्देश्य हुँदैन र आफ्नो बाहेक अरू कसैको निम्ति केही भलाइ न गरिकन जीवन व्यर्थमा खेर फाल्छन्। परमेश्वरका साक्षीहरूका लागि सबै भन्दा महत्वपूर्ण कार्य राज्यको सुसमाचार प्रचार गर्नु हो र अरूहरूसँग परमेश्वरको वचनको जीवनदायी ज्ञान बाँटनु हो।—भजनसंग्रह ११९:१०५; मर्कूस १३:१०; यूहन्ना १७:३.
२. १ तिमोथी ३:१ मा मसीही पुरूषहरूका लागि कुन लक्ष्य हुनुपर्छ भनेर पावलले चर्चा गरे?
२ यहोवाको सङ्गठनमा अरू उत्कृष्ट लक्ष्यहरू पनि छन्। यी लक्ष्यहरू मध्य एउटाको चर्चा प्रेरित पावलले यस प्रकार गरे: “यो वचन विश्वासयोग्य छ, यदि कुनै मानिस अध्यक्षको काम गर्न अघि बढ़छ भने, तिनले असलै कामको इच्छा गर्छन्।” यस प्रकारको मानिसले अरूहरूको भलाइका निम्ति केही गर्न चाहन्छ। तिनले आराम र शानको जीवन होइन तर “असल कामको” इच्छा गर्छन्। एउटा अर्को अनुवाद एसो भन्छ: “अगुवाइ लिने काममा मन लगाउने मानिसको आकांक्षा साँच्चैनै प्रशंसनीय हो।”—१ तिमोथी ३:१, फिलिप्स.
प्राचीनहरूका निम्ति खतरा
३, ४. अध्यक्षको जिम्मेवारी लिन चाहने मानिसले आफ्नो हृदयलाई किन सुरक्षित राख्नु पर्छ?
३ एक जन मानिसले मसीही अध्यक्ष हुन मन लगाउँदा, उसको “आकांक्षा” कसरी “प्रशंसनीय” हुन्छ? आकांक्षा कुनै लक्ष्य प्राप्त गर्ने एउटा उत्कट इच्छा हो। हो, दुवै असल र खराब प्रकारका आकांक्षाहरू हुन्छन्। तर कुनै मानिस अरूहरूको सेवा गर्नका निम्ति, नम्रतापूर्वक अध्यक्ष पद प्राप्त गर्न अघि बढ़छन् भने, असल नियत राखेर गरिएको तिनको यो सेवा द्वारा आत्मिक आशिष उपलव्ध हुन सक्छ। तर तिनले आफ्नो हृदयलाई सुरक्षित राख्नु पर्दछ।—हितोपदेश ४:२३.
४ केही उच्चाभिलाषी मानिसहरू शान खोज्छन्। कोही चाहिं अरू मानिसहरूमाथि शासन गर्न चाहन्छन्। प्रतिष्ठा र शक्तिको लोभ एउटा कुहेको जरो जस्तो हो जसले गर्दा बाहिरबाट सुस्वस्थ देखिने वृक्ष पनि खसेर तल झर्न सक्छ। एक जना मसीही पनि यस प्रकारको खराब नियत द्वारा प्रेरित आकांक्षाको शिकार हुन सक्छ। (हितोपदेश १६:१८) प्रेरित यूहन्नाले मण्डलीलाई पत्र द्वारा एसो भनी पठाए: “मैले मण्डलीलाई केही लेखेथें, तर तिमीहरूमा ठूलो हुनखोज्ने डियोत्रिफसले हामीलाई ग्रहण गर्दैनन्। [“सबै कुराको प्रमुख हुन चाहने” फिलिफ्स] यसकारण म आएँ भने, त्यसले कुवचनले हाम्रा विरूद्ध बोलेर गरेको औ त्यतिले पनि सन्तोष नभएर भाइहरूलाई पनि ग्रहण नगरी, ग्रहण गर्ने इच्छा गर्नेहरूलाई पनि रोकेर मण्डलीबाट निकालिदिएका कुराहरूको सम्झना म गराउनेछु।” (३ यूहन्ना ९, १०) डियोत्रिफसको गैर मसीही आकांक्षा थियो। अहङ्कारी र अरूहरूमाथि प्रभुत्व जमाउने उच्चाभिलाषी हुनेहरूले येशूका साँचो चेलाहरूका बीचमा ठाउँ पाउने छैनन्।—हितोपदेश २१:४.
५. अध्यक्षहरूले के कस्तो मनोवृत्ति साथ आफ्ना कर्त्तव्यहरू निभाउनु पर्छ?
५ आफ्ना कर्त्तव्यहरू राम्रो नियतले पूरा गर्ने अध्यक्ष स्वार्थी आकांक्षाहरूको पछि लाग्ने छैनन्। तिनले मसीही अध्यक्षताको कामलाई एउटा ईश्वरीय जिम्मेवारी ठान्ने छन् र परमेश्वरको बगाललाई “करले होइन, तर परमेश्वरको इच्छा बमोजिम, खुशीसाथ, पैसाको लोभले होइन, तर तयारी मनले; [आफ्ना] जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालका उदाहरण” हुँदै गोठालोको काम गर्नेछन्। (१ पत्रुस ५:२, ३) हो, अध्यक्षहरू अहङ्कारी हुन र अख्तियारको दुरूपयोग गर्न देखि बचेर बस्नु पर्छ।
६. एउटा प्राचीनले परमेश्वरको जनमाथि किन प्रभुत्व जमाउनु हुँदैन?
६ प्राचीनले अरू मसीहीहरूमाथि प्रभुत्व जमाउनु हुँदैन किनभने तिनी अरूहरूको ‘विश्वासको मालिक’ होइनन् तर सबैका सहकर्मी हुन्। (न्यू. व, २ कोरिन्थी १:२४) कुनै कुनै प्रेरितहरूले प्रतिष्ठा खोजीगर्दा, येशूले एसो भन्नु भयो: “तिमीहरूलाई थाहनै छ, कि अन्य जातिका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्दछन्, र तिनीहरूका ठूला ठूलाहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्। तिमीहरूमा चाहिं ता यस्तो हुनेछैन तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ। जो तिमीहरूमा पहिलो हुने इच्छा गर्दछ त्यो तिमीहरूको चाकर हुनेछ जस्तो कि, मानिसको पनि सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।” (मत्ती २०:२०-२८) कुनै पनि प्राचीन प्रधान गोठाला होइन। तिनी एउटा उप-गोठाला मात्र हुन्। तिनले बगालमाथि प्रभुत्व जमाउँनुको अर्थ अहङ्कारी प्रवृत्ति प्रकट गर्नु हो। विशेष गरी, तिनले आफ्नो अहङ्कारपूर्ण उच्चाभिलाषाहरूको पूर्ति अरूहरूलाई पनि फकाएको खण्डमा धेरै नै हानि हुन सक्छ। एउटा नीतिवचन एसो भन्छ: “अहङ्कारी मानिस, सबका सब, परमप्रभुको [यहोवाको न्यू. व] दृष्टिमा घृणित छन्। यो निश्चय याद राख—तिनीहरू दण्डबाट उम्कनसक्तैनन्।”—हितोपदेश १६:५.
७, ८. (क) मसीही प्राचीनहरूलाई किन नम्र हुन खाँचो छ? (ख) एउटा नम्र प्राचीनको उदाहरण दिनु होस्?
७ यसकारण, मसीही प्राचीनहरूले “परमेश्वरका बलवान बाहुलीमनि आफैलाई नम्र” तुल्याउनु पर्छ। आध्यात्मिक उपयोगितालाई अहङ्कारले बाधा दिन्छ किनभने नम्र व्यक्तिहरूको मन र हृदय ईश्वरीय इच्छा गर्ने उचित अवस्थामा हुन्छ। “परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (१ पत्रुस ५:५, ६) हो, यहोवाले नम्र मन हुनेहरूलाई आशिष दिनु हुन्छ। यस्ता मनहुनेहरू मध्यबाट नै मसीही प्राचीनहरूको हैसियतमा सेवा गर्न निपुण पुरूषहरू नियुक्त हुन्छन्।
८ ईश्वर-भक्त व्यक्तिहरूहरूले चढ़ाएको नम्र सेवाको बयान यहोवाका साक्षीहरूको आधुनिक इतिहास भरि पाइन्छ। उदाहरणका लागि, आत्म-संयमी डबलु. जे. थोर्नलाई ध्यान दिनु होस्। तिनी आफ्नो पालोमा एउटा परिभ्रमण अध्यक्ष थिए र धेरै वर्ष सम्म बेथलमा पनि काम गरेका थिए। तिनको विषयमा एक जना मसीहीले एसो भने: “भाइ थोर्नले भनेको एउटा कुरा म कहिले बिर्सने छैन। त्यो कुराले मलाई आजसम्म मदद दिएको छ। तिनले एसो भनेका थिए: ‘जब जब म आफूलाई अलिक बढ़ी ठान्न थाल्छु, तब म आफूलाई एक कुनामा लगरे एसो भन्छु: “तँ धूलोको एउटा सानो कण। घमण्ड गर्ने कारण तँसँग आखिर छ के?”’” प्राचीनहरू र अरूहरूले व्यक्त गर्नु पर्ने कति राम्रो गुण हो यो! याद राख्नु होस्, “नम्रताको फल, परमप्रभुको [यहोवाको न्यू. व] भय हो र धन, मान र जीवन त्यसको साथ हुन्छन्।”—हितोपदेश २२:४.
ईश्वर प्रदत्त सेवा गर्ने इच्छा
९. अध्यक्षको हैसियतमा सेवा गर्ने इच्छा ईश्वरको वरदान हो भनेर किन भन्न सकिन्छ?
९ अध्यक्षको हैसियतमा सेवा गर्ने इच्छा के एउटा ईश्वरीय वरदान हो? हो, किनभने यहोवाको आत्माले उत्साह, साहस र उहाँलाई पवित्र सेवा चढ़ाउने बल दिन्छ। उदाहरणका लागि, येशूका चेलाहरूले सतावटको सामना गरिरहेको बेलामा, निडरता साथ प्रचार गर्न पाउँ भनी प्रार्थना गर्दा, के भयो? “तिनीहरू भेला भएको ठाउँमा कम्प भयो र तिनीहरू सबै जना पवित्र आत्माले भरिए र तिनीहरूले निर्भयतासँग परमेश्वरको वचन बोले।” (प्रेरित ४:२७-३१) पवित्र आत्माले यस प्रकारको काम सम्पन्न गर्न सकेको कारण, त्यसले मानिसलाई जिम्मेवारी सम्हाल्न अघि बढ़ने प्रेरणा पनि दिन सक्छ।
१०. (क) एउटा मसीही पुरूष जिम्मेवारी लिन अघि न बढ़ेको एउटा कारण के होला? (ख) परमेश्वरले हामीलाई सेवा गर्ने अधिकार दिनु हुन्छ भने, कुन कुरा बारे पनि हामी निश्चिन्त रहन सक्छौं?
१० तर कुनै परिपक्व मसीही के कारणले गर्दा जिम्मेवारी लिन अघि न बढ़ेको हुन सक्छ? आफू आध्यात्मिक मानिस भएर पनि तिनले आफूलाई अनिपुण ठानेको हुनु सक्छ। (१ कोरिन्थी २:१४, १५) हुन ता हो, आफू बारे नम्र दृष्टिकोण राख्नु र आफ्नो सीमा बारे चेतनशील हुनु उचित हो। (मीका ६:८) कुनै जिम्मेवारीको निम्ति म नै सबै भन्दा योग्यको छु भनी सोंच्नुको सट्टा, “बुद्धि नम्र व्यक्तिहरूसँग हुन्छ” भनी याद राख्नु असल हुन्छ। (हितोपदेश ११:२ न्यू. व) तर साथै, हामीले यो पनि सम्झनु पर्छ कि परमेश्वरले हामीलाई कुनै सेवा सुम्पनु भयो भने, त्यो पूरा गर्ने शक्ति पनि दिनु हुनेछ। पावलले भने झैं: “जसले मलाई शक्ति दिनु हुन्छ उहाँमा सबै कुरा म गर्न सक्छु।”—फिलिप्पी ४:१३.
११. सल्लाह दिने यथेष्ट बुद्धि आफूमा छैन भनी ठानेर जिम्मेवारी लिन अघि न बढ़ने मसीही पुरूषले के गर्न सक्नेछ?
११ अरूहरूलाई सल्लाह दिने यथेष्ट बुद्धि आफूसँग छैन भनी ठानेर पनि कुनै मसीही अघि न बढ़ेको हुनु सक्छ। तर बुद्धि प्राप्त गर्नका लागि तिनले परमेश्वरको वचन अध्ययन गर्न अझ परिश्रम गर्न सक्छन् र साथै बुद्धिको निम्ति प्रार्थना पनि गर्न सक्नेछन्। याकूबले यस प्रकार लेखे: “तर यदि तिमीहरूमध्य कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्वरसित त्यसले मागोस् र त्यसलाई सो दिइनेछ। तर त्यसले केही पनि सन्देह नगरी विश्वास साथ मागोस्। सन्देह गर्नेचाहिं बतासले हुत्तिएर उचाल्दै पछार्दै गरेका समुद्रका लहरीसमान हुनेछ। किनकि त्यस मानिसले यस्तो नसम्झोस्, कि यसले प्रभुबाट [यहोवाबाट न्यू. व] केही पाउनेछ। दोहोरो मन भएको मानिस उसको सबै चाल-चलनमा चञ्चल हुन्छ।” (याकूब १:५-८) प्रार्थनाको जवाफ दिनु हुँदै, परमेश्वरले सुलेमानलाई “बुद्धि र समझ” भएको मन दिनु भयो, जसले गर्दा, न्याय गर्ने बेलामा, सुलेमानले असल र खराब छुट्याउन सके। (१ राजा ३:९-१४) हो, सुलेमानको परिस्थिति एउटा विशेष परिस्थिति थियो। तापनि, परमेश्वरको मदद र लगनशीलतापूर्वक गरेको अध्ययन द्वारा, मण्डलीमा जिम्मेवारी सुम्पिएका पुरूषहरूले अरूहरूलाई धार्मिकतासाथ सल्लाह दिन सक्ने छन्। “बुद्धि दिने परमप्रभुनै [यहोवा न्यू. व] हुनुहुन्छ, र ज्ञान र समझ-शक्ति उहाँबाटनै आउँछन्।”—हितोपदेश २:६.
१२. कुनै कुराको फिक्रीले गर्दा, एउटा व्यक्ति जिम्मेवारी लिन अघि बढ़दैनन् भने, तिनलाई के ले मदद दिन सक्नेछ?
१२ मानिसलाई केही मात्रामा फिक्रीले पनि जिम्मेवारी लिन अघि बढ़नदेखि रोक्न सक्छ। प्राचीनको भारी जिम्मेवारी उठाउन सक्ने छैनन् भनी तिनले सोंच्न सक्छन्। पावलले पनि यो स्वीकारे: “मलाई दिनहुँ दबाउ दिने कुरा ता सबै मण्डलीहरूका निम्तिको फिक्रीनै हो।” (२ कोरिन्थी ११:२८) तर फिक्री अनुभव गर्दा कसो गर्नु पर्ने हो, प्रेरित पावललाई थाह थियो, किनभने तिनले यस प्रकार लेखे: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यबादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) हो, प्रार्थना र परमेश्वरमाथि भरोसा राख्दै हामी हर प्रकारको फिक्री हटाउन सक्नेछौं।
१३. जिम्मेवारी लिन अघि बढ़ने विषयमा सङ्कोच मान्ने व्यक्तिले कसरी प्रार्थना गर्न सक्छन्?
१३ यति सबै गरेर पनि, केही मात्रामा चिन्ता रही नै रह्यो भने, जिम्मेवारी लिन अघि बढ़न सङ्कोच मान्ने मानिसले दाऊदले झैं प्रार्थना गर्न सक्नेछ: “हे परमेश्वर मलाई जाँच्नु होस्, र मेरो हृदय बुझ्नुहोस्। मलाई खार्नुहोस् र मेरा विचारहरू जान्नुहोस्। र हेर्नुहोस्, ममा दुराचरण केही रहेछ कि रहेनछ, र मलाई अनन्तको चालमा डोर्याउनुहोस्।” (भजनसंग्रह १३९:२३, २४) हाम्रा व्याकुल अथवा अशान्त “विचारहरू” जस्तो सुकै भएता पनि, परमेश्वरले हामीलाई तिनीहरूको सामना गर्दै आध्यात्मिक प्रगति गर्ने मदद दिन सक्नु हुनेछ। (दी न्यु इन्टरनेशनल भर्सन हेर्नुहोस्) एउटा अर्को भजन यस प्रकार छ: “जब मैले भनें, “मेरो खुट्टा चिप्लन्छ” तपाईंको कृपाले मलाई थाम्यो, हे परमप्रभु [यहोवा न्यू. व]। मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछ।”—भजनसंग्रह ९४:१८, १९.
यहोवाको इच्छा बमोजिम आनन्दसाथ सेवा गर्नुहोस्
१४. जिम्मेवारी लिन अघि न बढ़ी रहेको मानिसले परमेश्वरको पवित्र आत्माको लागि किन प्रार्थना गर्नु उचित हो?
१४ फिक्री, अयोग्यताको भावना अथवा प्रेरणाको अभावले गर्दा एउटा मसीही पुरूष जिम्मेवारी लिन अघि बढ़न सकेको छैन भने, तिनले प्रार्थनामा परमेश्वरको आत्माको निम्ति माँग गर्नु उचित हुनेछ। येशूले भन्नु भयो: “तिमीहरू दुष्ट भइकन आफ्ना छोरा-छोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ता गरेर पवित्र आत्मा दिनु हुनेछ।” (लूका ११:१३) शान्ति र आत्म-संयम आत्माका फलहरू हुन्। यसकारण, यो आत्माले हामीलाई फिक्री र अशक्तताको भावनासँग सङ्घर्ष गर्ने मदद दिन सक्ने छ।—गलाती ५:२२, २३.
१५. सेवा गर्ने अधिकारहरूको निम्ति अघि बढ़न सङ्कोच मान्ने व्यक्तिहरूलाई कुन प्रकारको प्रार्थनाले मदद दिन सक्नेछ?
१५ अघि बढ़ने प्रेरणाको आफूमा अभाव छ भने के गर्ने? बप्तिस्मा लिएका मसीहीहरू भएको हुनाकारण, परमेश्वरलाई प्रसन्न पार्ने कुराहरू उहाँले हामीलाई गर्न लगाउन होस् भनेर प्रार्थना गर्न सक्ने छौं। दाऊदले यो बिन्ती गरे: “तपाईंको मार्ग मलाई देखाउनुहोस्, हे परमप्रभु [यहोवा न्यू. व], . . . तपाईंको सत्यतामा मेरो अगुवा हुनुहोस् र मलाई सिकाउनुहोस्” (भजनसंग्रह २५:४, ५) यस प्रकारका प्रार्थनाहरूले हामीलाई गलत बाटोमा जानदेखि बचाउन सक्नेछ र जिम्मेवारी लिन अघि बढ़ने प्रेरणाको आफूमा अभाव छ भने पनि, हामी यस प्रकार प्रार्थना गर्न सक्ने छौं। उहाँको सेवा गर्ने मौका स्वीकार्ने मन हामीमा दिनुहोस् भनेर हामी उहाँसँग प्रार्थना गर्न सक्दछौं। वास्तवमा, हामीले परमेश्वरको आत्माको निम्ति प्रार्थना गर्यौं र त्यसको निर्देशन अनुसार हिड़्यौं भने, हाम्रो सामने आएका सेवा गर्ने मौकाहरू स्वीकार्न हामी निश्चय तयार हुनेछौं। आखिर, परमेश्वरको कुनै पनि सेवक उहाँको आत्माको विपरीत काम गर्न चाहन्दैन।—एफिसी ४:३०.
१६. कुन प्रकारको प्रवृत्तिले मण्डलीमा जिम्मेवारीहरू उठाउन अघि बढ़न एउटा बलियो प्रेरणा प्रदान गर्न सक्छ?
१६ हामीमा “ख्रीष्टको मन” भयो भने, ईश्वरीय इच्छा गर्नमा हामी आनन्द अनुभव गर्नसक्दछौं। (१ कोरिन्थी २:१६) ख्रीष्टको पनि त्यही विचार थियो जस्तो विचार भजनसंग्रहको लेखकको थियो र तिनले त्यस विचारबारे एसो भने: “हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ।” (भजनसंग्रह ४०:८) ख्रीष्टले भन्नु भयो: “हेर्नुहोस्, तपाईंको इच्छा पूरा गर्नालाई म आएको छु।” र त्यो इच्छा पूरा गर्न उहाँ काठमा झुण्डिएर मर्नसम्म तयार हुनु भयो। (हिब्रू १०:९, १०) यहोवाको सेवामा आफूले सकेसम्म सबै थोक गर्ने इच्छाले पनि मण्डलीमा जिम्मेवारी सम्हाल्न अघि बढ़ने प्रेरणा दिन्छ।
भविष्य तिर दृष्ट लगाउनु होस्
१७.(क) पहिला जति पूर्णरूपमा आज सेवा गर्न न सक्ने पुरूषहरू किन निरूत्साहित हुनु भएन? (ख) सबै भन्दा महान अधिकार के हो?
१७ मण्डलीमा केही समय अघि महत्वपूर्ण जिम्मेवारी उठाएकाहरूले स्वास्थ्य सम्बन्धी अथवा अरू कुनै समस्याले गर्दा, हाल त्यही जिम्मेवारीहरू उठाउने सुअवसर पाएका छैनन् होला। यिनीहरू निरूत्साहित हुनु भएन। हामी जान्दछौं, आज धेरै विश्वासी पुरूषहरू पहिले जतिको सेवा गर्न नसकेता पनि, आफ्नो समग्रता कायम राख्दै दृढ़ता साथ, ढलपल नभइ बसेका छन्। (भजनसंग्रह २५:२१) साथै, धेरै समय देखिन् प्राचीनको जिम्मेवारी उठाएका नम्र पुरूषहरू, आफ्नो अनुभवबाट अरूलाई लाभ उठाउन सम्भव पार्न, प्राचीनहरूको समितिमा रही नै रहन सक्छन्। बूढ़ेस्काल अथवा अरू कुनै शारीरिक कमजोरीको कारणले गर्दा, तिनीहरू प्राचीनको पदबाट हटन आवश्यक छैन। तथापि, यहोवाका प्रत्येक साक्षीले परमेश्वरको ‘राज्यको महिमाको वर्णन’ गर्ने र उहाँको पवित्र नाउँ सधैं ऊँचा राख्ने सुअवसरको मोल गरी नै रहून्।—भजनसंग्रह १४५:१०-१३.
१८. (क) कुनै प्राचीन अथवा सहायक-सेवक आफ्नो ओहदाबाट हटाइएका छन् भने के गर्न आवश्यक होला? (ख) आफ्नो जिम्मेवारीबाट हटाइएका एक जना प्राचीनले के असल प्रवृत्ति व्यक्त गरे?
१८ तपाईं कुनै समयमा प्राचीन अथवा सहायक-सेवक हुनुहुन्थ्यो र आज त्यो हैसियतमा सेवा गर्नु हुँदैन भने, आज पनि परमेश्वरले तपाईंमा चासो लिनु हुन्छ भनी निश्चिन्त हुनुहोस् र शायद भविष्यमा तपाईंले आशै नगर्नु भएको जिम्मेवारीहरू उहाँले तपाईंलाई सुम्पनु सक्नु हुन्छ। (१ पत्रुस ५:६, ७) तपाईंले आफूमा केही छाँट-काँट ल्याउनु परेको छ भने, आफ्नो गलती स्वीकार्न तयार हुनुहोस् र परमेश्वरको मदद द्वारा त्यसलाई जित्ने प्रयत्न गर्नुहोस्। प्राचीनको ओहदाबाट हटाइएका केही व्यक्तिहरूले गैर-मसीही विचार अपनाएका छन् र यी मध्य कति सच्चाइबाट टाढ़ा गएका छन् अथवा निष्कृय भएकाछन्। तर असल विचारधारा व्यक्त गर्नेहरूको अनुसरण गर्नु बुद्धिमानीको कुरा हुनेछ! उदाहरणका लागि, सेन्ट्रल अमेरिकामा, वषौं सेवा गरी सकेका एक जना प्राचीनलाई हटाउँदा, तिनले एसो भने: “यतिका समयसम्म मोल गर्दै आएको अधिकार गुमाउनु पर्दा मलाई धेरै नै दुःख लाग्छ। तर अब भाईहरूले मलाई अरू जुन सुकै कामको निम्ति प्रयोग गर्न चाहन्छन् भने म त्यही काममा मेहनत गर्ने छु र गुमाएको सेवा गर्ने अधिकारहरू पुनः प्राप्त गर्ने कोशिश गर्ने छु।” समयमा, यो भाइले फेरि प्राचीनको हैसियतबाट सेवा गर्ने मौका पाए।
१९. प्राचीन अथवा सहायक-सेवकको जिम्मेवारीबाट हटाइएका भाइका निम्ति के उपयुक्त सल्लाह दिइएको छ?
१९ तपाईं पनि प्राचीन अथवा सहायक-सेवकबाट हटाइनु भएको छ भने, नम्र प्रवृत्ति कायम राख्नु होस्। भविष्यमा काम गर्न बाधा दिने तितो विचारधारा न अपनाउनु होस्। ईश्वरीय प्रवृत्तिको सबैले आदर गर्छन्। निरूत्साहित हुनुको सट्टा तपाईंको सेवकाई अथवा तपाईंको परिवारमाथि यहोवाको आशिष बारे मनन गर्नु होस्। आफ्नो परिवारको आध्यात्मिकतालाई बलियो पार्नु होस्, बिरामी परेकाहरूसँग भेट गर्न जानु होस् र कमजोरहरूलाई प्रोत्साहन दिनुहोस्। तर सबै भन्दा बढ़ी, परमेश्वरको प्रशंसा गर्ने र यहोवाका एक जना साक्षीको हैसियतमा सुसमाचारको प्रचार गर्ने तपाईंको अधिकारको मोल गर्नु होस्।—भजनसंग्रह १४५:१, २; यशैया ४३:१०-१२.
२०. प्राचीनहरूको समूहले जिम्मेवारीबाट हटाइएका प्राचीन अथवा सहायक-सेवकलाई कसरी मदद दिन सक्ने छन्?
२० आफ्नो ओहदाबाट हटाउँदा अथवा स्वेच्छाले स्वयं हटदा पनि, प्राचीन अथवा सहायक-सेवकको हैसियतमा पहिले सेवा गरी सकेका भाइले केही समयसम्म मानसिक क्लेश अनुभव गर्न सक्छन्। यो कुरा प्राचीनहरूको समूहले बिर्सनु भएन। त्यो भाइ बहिष्कार भएका छैनन् र तिनी निराश देखिन्छन् भने, प्राचीनहरूले तिनलाई प्रेमपूर्ण आत्मिक सहायता दिनु पर्ने हो। (१ थिस्सलोनिकी ५:१४) मण्डलीमा तिनको आवश्यकता छ भनेर त्यो भाइलाई विश्वास दिलाउने खाँचो छ। सल्लाहको आवश्यकता परेको मानिसले पनि, नम्र र कृतज्ञ प्रवृत्ति देखाएमा, मण्डलीमा चाँड़ै नै फेरि सेवा गर्ने अधिकार पाउन सक्नेछ।
२१. सेवा गर्ने अधिकारका लागि कस कसले पर्खी बसे र आज पर्खी बस्नेहरूलाई के सल्लाह दिइएको छ?
२१ तपाईं जिम्मेवारी उठाउन अघि बढ़नु हुँदैछ भने, शायद सेवा गर्ने थप अधिकारहरू पाउनका लागि तपाईं केही बेर पर्खनु पर्ला। हतार नगुर्न होस्। मिश्रको दासत्वबाट इस्राएलीहरूलाई स्वतन्त्र तुल्याउने कामको निम्ति परमेश्वरले मोशालाई प्रयोग गर्नु अघि, मोशा ४० वर्षसम्म पर्खी बसे। (प्रेरित ७:२३-३६) मोशाको उत्तराधिकारी नियुक्त हुनु अघि, यहोशूले पनि धेरै समयसम्म मोशाको सेवकको हैसियतमा काम गरे। (प्रस्थान ३३:११; गन्ती २७:१५-२३) दाऊदले पनि इस्राएलको सिंहासनमा बस्न पाउनु अघि केही समय पर्खनु पर्यो। (२ शमुएल २:७; ५:३) पत्रुस र यूहन्ना मर्कूसलाई पनि आफ्नो व्यक्तित्वमा सुधार ल्याउन आवश्यक पर्यो। (मत्ती २६:६९-७५; यूहन्ना २१:१५-१९; प्रेरित १३:१३; १५:३६-४१; कलस्सी ४:१०) यसकारण हाल मण्डलीमा तपाईंलाई केही खास जिम्मेवारी सुम्पिएको छैन भने, शायद यहोवाले तपाईंलाई अझ बढ़ी अनुभव पाउने मौका दिनु हुँदै होला। जे होस्, अघि बढ़दै जानु हुँदा, परमेश्वरबाट मदद माँगनु होस् र उहाँले तपाईंलाई अझ बढ़ी जिम्मेवारीहरू उठाउने सुअवसर दिनु होला। साथ साथै, मण्डलीका जिम्मेवारीहरू उठाउन निपुण हुन मेहनत गर्नु होस् र दाऊदको जस्तै प्रवृत्ति प्रकट गर्नु होस् जसले यो घोषणा गरे: “मेरो मुखले परमप्रभुको [यहोवाको न्यू. व] प्रशंसाको बयान गर्नेछ, र सारा प्राणीले सधैंको निम्ति उहाँको पवित्र नाउँलाई धन्यको भनून्।”—भजनसंग्रह १४५:२१. (w90 9/1)
तपाईं के उत्तर दिनु हुन्छ?
◻ के खतराहरूबाट मसीही प्राचीनहरू होशियार हुनुपर्छ?
◻ फिक्री अथवा अयोग्यता महसूस गर्दै जिम्मेवारी लिन अघि नबढ़नेहरूलाई के ले मदद दिन सक्छ?
◻ कुनै एउटा व्यक्तिलाई मण्डलीमा जिम्मेवारी उठाउने प्रेरणा के ले दिन सक्छ?
◻ हटाइएका प्राचीनहरू र सहायक-सेवकहरूले के विचार लिएर भविष्य तिर हेर्नु पर्छ?
[पृष्ठ ११-मा भएको चित्र]
डबलु. जे. थोर्न एउटा नम्र प्राचीनको उदाहरण हुनु हुन्थ्यो
[पृष्ठ १३-मा भएको चित्र]
येशू झैं, के तपाईं पनि यहोवाको सेवामा सबै सम्भव कुरा गर्न इच्छुक हुनु हुन्छ?