सिद्धान्त बुझ्नु परिपक्वता झल्काउनु हो
खराब संगतले भला चालचलनलाई बिगार्छ। तपाईं जे रोप्नुहुन्छ, त्यसैको कटनी गर्नुहुन्छ। (१ कोरिन्थी १५:३३; गलाती ६:७) शारीरिक तवरमा होस् या आध्यात्मिक तवरमा, यी दुवै भनाइ एउटा आधारभूत सत्यको उदाहरण हो। यो सत्य, एउटा सिद्धान्त हुनुका साथै यसले नियमकानुनहरूको आधार प्रदान गर्छ। नियमकानुनहरू स्थायी हुँदैनन् र कुनै खास परिस्थिति वा अवस्थासित मात्र सम्बन्धित हुन्छन्। तर अर्कोतर्फ, सिद्धान्तहरू स्थायी हुन्छन् र त्यसले कुनै एउटा खास अवस्थालाई मात्र समेटेको हुँदैन। तसर्थ, परमेश्वरको वचनले हामीलाई कुनै पनि कुरासित सम्बन्धित सिद्धान्त यथासम्भव केलाउन प्रोत्साहन दिन्छ।
वेब्स्टर्स थर्ड न्यु इन्टरनेशनल डिक्शनरी-ले सिद्धान्तलाई यसरी परिभाषित गर्छ, “एउटा सामान्य वा आधारभूत सत्य: विस्तृत तथा आधारभूत नियम, धर्मसिद्धान्त वा अनुमान हो जसमा अन्य कुराहरू आधारित हुन्छन्।” उदाहरणका लागि, बच्चालाई तपाईंले यस्तो नियम दिनुहोला, “चुल्होमा हात हाल्नु हुँदैन।” तर वयस्कलाई “चुल्हो तातो हुन्छ” भने मात्र पनि पुग्छ। याद गर्नुहोस्, पछिल्लो वाक्यांश एउटा आधारभूत वाक्यांश मात्र हो। चुल्होमा खाना पकाउने, चुल्हो बन्द गर्ने इत्यादि गरिने हुँदा यो वाक्यांशले त्यससित सम्बन्धित थुप्रै कार्यहरू समेट्छ र फलतः यो एउटा सिद्धान्त हुन जान्छ।
निस्सन्देह, जीवनका मुख्य सिद्धान्तहरू आध्यात्मिक हुन्छन्। त्यसमा परमेश्वरको उपासना र हाम्रो आनन्द बिथोलित हुन्छ। तर कोही कोही ती सिद्धान्तहरूमा तर्क गर्नदेखि पन्छिन्छन्। कुनै निर्णय गर्नुपर्दा एउटा सरल नियम पछ्याउनु नै निको मान्छन्। यो बुद्धिमानी कार्य होइन र बाइबलकालीन विश्वासी पुरुषहरूको उदाहरणसित मेल खाँदैन।—रोमी १५:४.
ईश्वरीय सिद्धान्तअनुसार हिंडेका पुरुषहरू
असिद्ध मानवहरूमध्ये ईश्वरीय सिद्धान्तअनुसार हिंड्ने प्रथम पुरुष हाबिल थिए। शायद तिनले “वंश” सम्बन्धी प्रतिज्ञाबारे निकै सोचविचार गरेका थिए र पापबाट छुटकारा पाउन रगतको बलिदान आवश्यक पर्नेछ भनी बुझे। (उत्पत्ति ३:१५) यसकारण, तिनले “आफ्ना भेड़ाका बगालबाट पहिले जन्मेका” भेटी चढाए। “तिनका उत्तम भाग” भन्ने पद्यांशले देखाउँछ कि हाबिलले यहोवालाई सर्वोत्तम भेटी चढाए। यद्यपि, हाबिलको मृत्युभन्दा दुइ हजार वर्षपछि मात्र परमेश्वरले बलिदानहरूसम्बन्धी विस्तृत विवरण दिनुभयो। सिद्धान्तअनुसार हिंड्ने ईश्वरभीरु पुरुष हाबिलजस्तो नभएर कयिनले झारो टार्ने उद्देश्यले बलि चढाए। तर तिनको मनोवृत्ति ठीक थिएन र तिनको भेटीले सिद्धान्तहरू राम्ररी नबुझेको हृदय झल्कायो।—उत्पत्ति ४:३-५.
नूह पनि ईश्वरीय सिद्धान्त पालन गर्ने व्यक्ति थिए। बाइबलको विवरणअनुसार परमेश्वरले जहाज बनाउने आज्ञा तोकेरै दिनुभएको भए तापनि प्रचार गर्ने आज्ञा उल्लेख भएको पाउँदैनौं। तैपनि, नूहलाई “धर्मका प्रचारक” भनिन्छ। (२ पत्रुस २:५) परमेश्वरले नूहलाई प्रचार गर्ने निर्देशन त दिनुभयो होला तर साथसाथै त्यसमा मुछिएको सिद्धान्तप्रति सजगता र छिमेकीप्रतिको प्रेमले अझ उत्प्रेरित गरेको हुनुपर्छ। हामी नूहको जस्तै समयमा बाँचिरहेको हुँदा तिनको असल मनोवृत्ति तथा उदाहरणको अनुकरण गरौं।
आफ्नो समयका धर्मगुरुहरूजस्तो नभई येशूले मानिसहरूलाई कुनै पनि विषयवस्तुसित सम्बन्धित सिद्धान्तहरू केलाउन सिकाउनुभयो। त्यस्तै एउटा उदाहरण उहाँले डाँडामा दिनुभएको उपदेश हो। यसको सम्पूर्ण आशय नै सिद्धान्तमा आधारित छन्। (मत्ती, अध्याय ५-७) येशूले त्यसरी सिकाउनसक्नुको कारण के थियो भने, आफूअघिका पुरुषहरू, हाबिल र नूहले जस्तै उहाँले पनि परमेश्वरलाई राम्ररी चिन्नुभएको थियो। ठिटौलो उमेरमा समेत उहाँले यस आधारभूत सत्यको आदर गर्नुहुन्थ्यो: “मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ।” (व्यवस्था ८:३; लूका २:४१-४७) हो, ईश्वरीय सिद्धान्त अनुसार हिंड्ने मानिस हुनुको अर्थ यहोवालाई राम्ररी चिन्नु अर्थात् उहाँलाई के मनपर्छ, के मनपर्दैन बुझ्नु र उहाँका उद्देश्यहरू थाह पाउनु हो। ती आधारभूत सिद्धान्तहरूले हाम्रो जीवन नियन्त्रण गर्न थालेमा, ती सिद्धान्तहरू साँच्चै क्रियाशील हुन्छन्।—यर्मिया २२:१६; हिब्रू ४:१२.
सिद्धान्त र हृदयको सम्बन्ध
अनाज्ञाकारी भएमा दण्ड पाइन्छ भन्ने डरले मन नपरी नपरी नियमकानुन पालन गर्न पनि सकिन्छ। तथापि, सिद्धान्त पालन गर्दा त्यस्तो मनोवृत्तिले कुनै ठाउँ पाउँदैन किनभने सिद्धान्तअनुसार हिंड्नुको मूल सार नै भित्री हृदयदेखि आज्ञा पालन गर्न अग्रसर हुनु हो। हाबिल र नूहजस्तै ईश्वरभीरु व्यक्ति, यूसुफलाई विचार गर्नुहोस्, जो मोशाको व्यवस्था स्थापना हुनुभन्दा अघिका पुरुषहरू हुन्। पोतिफरकी पत्नीले फसाउन खोज्दा यूसुफले यसो भने, “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?” हो, पति र पत्नी “एउटै जीउ” हुन् भन्ने सिद्धान्त यूसुफलाई थाह थियो।—उत्पत्ति २:२४; ३९:९.
वर्तमान संसारमा न्यायसंगत सिद्धान्तहरूको कुनै मान्यता छैन। मानिसहरू हिंसा र अनैतिकतामा चुर्लुम्म डुबेका छन्। मसीही पनि चलचित्र, भिडियो हेर्ने तथा किताबहरू पढ्ने जस्ता हानिकारक कुराहरू अलि अलि गरेर खान प्रलोभित हुनसक्छन्। आउँदै गरेको “महा संकष्टमा” परमेश्वरले वफादार जनहरूलाई मात्र बचाउनुहुनेछ भनी सम्झँदै यूसुफले जस्तै सिद्धान्त बुझेर खराब कुराहरूलाई घृणा गर्नु कत्ति सराहनीय हुनेछ। (मत्ती २४:२१) हामी अरू मानिसको अगाडि होइन तर एक्लै छँदा कस्तो व्यवहार गर्छौं, त्यसले हामी वास्तवमा कस्ता व्यक्तिहरू हौं भनेर झल्काउँछ।—भजन ११:४; हितोपदेश १५:३.
बाइबलका सिद्धान्तअनुरूप हिंडेका छौं भने, परमेश्वरका नियमहरू कतिसम्म छल्नसक्छौं, त्यो हेर्नेछैनौं। अथवा कुनै नियम भंग नगरी के के गर्नसक्छौं, त्यो पनि हेर्नेछैनौं। त्यस्तो सोचाइले आखिरमा आफूलाई नै हानि पुऱ्याउँछ। पछि गएर दुःख भोग्ने त आफै हुन्छौं।
नियम मात्र होइन, त्यसमा मुछिएको सिद्धान्त केलाउनुहोस्
निस्सन्देह, मसीहीको जीवनमा नियमकानुनहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। ती हामीलाई सुरक्षा प्रदान गर्ने पालेहरूजस्तै हुन् र त्यसमा थुप्रै महत्त्वपूर्ण सिद्धान्तहरू मुछिएका हुन्छन्। यी सिद्धान्तहरू बुझ्न नसक्दा त्यससित सम्बन्धित नियमकानुनप्रति हाम्रो चासो सेलाउनसक्छ। पुरातन राष्ट्र, इस्राएलले यसै गऱ्यो।
परमेश्वरले इस्राएललाई दश आज्ञा दिनुभयो र त्यसमध्ये प्रथम आज्ञा थियो, यहोवाबाहेक अरू कुनै पनि परमेश्वरको उपासना नगर्नू। यस आज्ञासित मुछिएको आधारभूत सत्य हो, सबै थोकको सृष्टिकर्ता यहोवा हुनुहुन्छ। (प्रस्थान २०:३-५) तर के यस राष्ट्रले यो सिद्धान्त पालन गऱ्यो? यहोवा स्वयं यस्तो जवाफ दिनुहुन्छ: “तिनीहरू जसले रूखलाई ‘तिमी मेरा पिता हौ,’ [इस्राएलीहरू भन्छन्] र ढुंगालाई, ‘तिमीले मलाई जन्म दिएकी हौ’ भन्छन्! यसरी तिनीहरूले आफ्ना पीठ म [यहोवातिर] फर्काए, औ मुख ता होइन।” (यर्मिया २:२७) कस्तो चेतनाशून्य तथा असैद्धान्तिक चाला! अनि यसले यहोवालाई अत्यन्तै दुःखित तुल्यायो!—भजन ७८:४०, ४१; यशैया ६३:९, १०.
मसीहीहरूलाई पनि परमेश्वरले नियमहरू दिनुभएको छ। उदाहरणका लागि, मसीहीहरू मूर्तिपूजा तथा यौन अनैतिकतामा संलग्न हुनु हुँदैन र रगतको दुरुपयोग गर्नु हुँदैन। (प्रेरित १५:२८, २९) यी कुराहरूलाई विचार गर्दा हामी त्यसमा मुछिएको सिद्धान्त बुझ्छौं। जस्तै: परमेश्वर ऐकान्तिक भक्तिको योग्य हुनुहुन्छ; पतिपत्नी एकअर्काप्रति वफादार हुनुपर्छ र हाम्रो जीवनदाता यहोवा हुनुहुन्छ। (उत्पत्ति २:२४; प्रस्थान २०:५; भजन ३६:९) यी निर्देशनहरूसित मुछेको सिद्धान्त बुझ्यौं र त्यसको साँच्चै मूल्यांकन गऱ्यौं भने, त्यो हाम्रै भलाइको लागि हो भनेर थाह पाउनेछौं। (यशैया ४८:१७) हाम्रोलागि परमेश्वरका “आज्ञाहरू कड़ा छैनन्।”—१ यूहन्ना ५:३.
विगतमा इस्राएलीहरूले परमेश्वरको आज्ञा उल्लंघन गरेका थिए। तर येशूको समयसम्म त “व्यवस्थाका गुरुहरू” अर्थात् शास्त्रीहरूले अचाक्ली नियमहरू बनाइसकेका थिए। तिनीहरूले तीन थुप्रो नियम तथा परम्पराहरू बसालेर साँचो उपासनालाई धमिल्याए अनि ईश्वरीय सिद्धान्तहरू अस्पष्ट पारे। (मत्ती २३:२, एन इ बी) जनसाधारण मानिसहरू असफलता, निराशा वा कपट्याइँले पिल्सिएको महसुस गर्थे। (मत्ती १५:३-९) मानिसले बनाएका ती असंख्य नियमहरू अमानवीय थिए। हात सुकेको मानिसलाई निको पार्न लाग्दा त्यहाँ उपस्थित फरिसीहरूलाई येशूले सोध्नुभयो: “विश्रामको दिनमा भलो गर्नु . . . उचित हो?” तिनीहरूले एक शब्द बोलेनन्। यसैले देखाउँछ कि तिनीहरू विश्राम दिनमा कसैलाई निको पार्नु अनुचित ठान्थे र येशू “तिनीहरूको हृदयको कठोरता देखी दुःखित” हुनुभयो। (मर्कूस ३:१-६) फरिसीहरूले विश्रामको दिनमा अलपत्र परेको वा घाइते घरपालुवा जन्तुलाई (आर्थिक लगानी) बचाउन खोज्लान्, तर जीवन र मृत्युको सवाल होइन भने पुरुष होस् वा स्त्री, कसैलाई पनि बचाउने पर्वाहसमेत गर्नेथिएनन्। निस्सन्देह, कमिलाको ताँतीले चित्रलाई पूरै ढाकेपछि चित्र देख्नै नसकेझैं मानिसले बनाएका नियम तथा कानुनी विवरणहरूमा चुर्लुम्मै डुबेको हुँदा ईश्वरीय सिद्धान्तहरू बुझ्न सकेनन्।—मत्ती २३:२३, २४.
तथापि, साना केटाकेटीहरूको पनि हृदय निष्कपट छ भने बाइबल सिद्धान्त बुझेर यहोवाको आदर गर्नसक्छन्। तेह्र वर्षीया रिबेकाका शिक्षकले विद्यार्थीहरूलाई जूवा खेल्छौ कि खेल्दैनौ भनी सोधे। धेरैजसोले जूवा खेल्दैनौं भनेर जवाफ दिए। यद्यपि, शिक्षकले बेग्लाबेग्लै परिस्थितिहरू उल्लेख गर्दा रिबेकाबाहेक अरू सबैले कुनै न कुनै ढंगमा जूवा खेल्नेछौं भनेर स्वीकारे। शिक्षकले रिबेकालाई सोधे, एउटा महत्त्वपूर्ण कामको लागि २० सेन्ट पर्ने चिट्ठा किन्ने कि नकिन्ने। रिबेकाले किन्दिनँ भनेर जवाफ दिइन् र त्यसो गर्नु भनेको जूवा खेल्नु बराबर हुनेछ भनेर धर्मशास्त्रीय कारण पनि बताइन्। त्यसपछि, तिनको शिक्षकले सम्पूर्ण कक्षालाई यसो भने: ‘मेरो विचारमा “सिद्धान्त” शब्दको सही मर्म बुझ्ने त रिबेका मात्रै हो।’ हो, रिबेकाले यस्तो जवाफ पनि दिनसक्थिन्, “यो मेरो धर्म विपरीत कुरा हो,” तर तिनले उक्त अवस्थासित सम्बन्धित सिद्धान्तमा गहन मनन गरेकी थिइन्। त्यसकारण, तिनले जूवा खेल्नु किन गलत हो र त्यसमा भाग नलिनुको कारण बताउन सकिन्।
हाबिल, नूह, यूसुफ र येशूको उदाहरणले हाम्रो “विवेक” र “तर्कशक्ति” चलाएर परमेश्वरको उपासना गर्दा कस्ता लाभहरू पाउँछौं भनेर देखाउँछ। (हितोपदेश २:११; रोमी १२:१, NW) मसीही प्राचीनहरूले ‘आफ्नो जिम्मामा रहेको परमेश्वरको बगालको गोठालो’ गर्दा येशूको अनुकरण गर्नु बेस हो। (१ पत्रुस ५:२) येशू स्वयंले देखाउनुभएझैं ईश्वरीय सिद्धान्तलाई प्रेम गर्ने व्यक्तिहरू यहोवाको सार्वभौमिकताको अधीनमा फल्नेफुल्नेछन्।—यशैया ६५:१४.