तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
“मरिसकेको भए तापनि . . . अझै बोल्दैछन्”
भेडाहरू डाँडामा मजाले चरिरहेका छन्। हाबिल आफ्नो बगालतिर नजर लगाउँछन्। त्यसपछि तिनको आँखा बगालभन्दा परको मधुरो ज्योतिमा पऱ्यो होला। त्यहाँ सधैं घुमिरहने ज्वालामय तरबारले कसैलाई पनि अदनको बगैंचामा पस्न दिंदैन भनेर हाबिललाई थाह थियो। पहिला तिनका आमाबाबु त्यहीं बस्थे। तर अहिले त्यस बगैंचामा कोही पनि पस्न पाउँदैन। कल्पना गर्नुहोस्, हाबिल साँझपखको मन्द हावामा सृष्टिकर्ताबारे सोचेर आकाशतिर हेर्दै छन्। मानिस र परमेश्वरबीचको दूरीलाई कसरी घटाउने? हाबिल परमेश्वरसित राम्रो सम्बन्ध गाँस्न चाहन्छन्।
आज हाबिल तपाईंसँग बोल्दै छन्। के तपाईं सुन्नुहुन्छ? तपाईं भन्नुहोला, ‘असम्भव।’ हुन पनि हो, आदमका यी दोस्रा छोरा मरेको धेरै भइसक्यो। तिनी माटोमा मिसिएर अस्तित्वविहीन भएको लगभग ६,००० वर्ष बितिसक्यो। मरेकाहरूबारे बाइबल यसो भन्छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्।” (उपदेशक ९:५, १०) साथै बाइबलमा हाबिलले बोलेको एक शब्द पनि पाइँदैन। उसोभए तिनी हामीसँग कसरी बोल्छन्?
हाबिलबारे प्रेषित पावल यसो भन्न उत्प्रेरित भए: “तिनी मरिसकेको भए तापनि यसै विश्वासले गर्दा अझै बोल्दैछन्।” (हिब्रू ११:४) विश्वासजस्तो उत्कृष्ट गुण विकास गर्ने पहिलो मानिस हाबिल थिए। तिनले सशक्त ढङ्गमा विश्वास प्रदर्शित गरे। त्यसैले तिनको जीवन्त उदाहरण अहिले पनि पछ्याउन सक्छौं। हाबिलको विश्वास अनुकरण गर्ने प्रयास गऱ्यौं भने हामीले तिनको कुरा साँच्चै सुनिरहेका हुनेछौं।
बाइबलमा हाबिलबारे थोरै मात्र जानकारी दिइएको छ। तैपनि तिनी र तिनको विश्वासबारे सिक्न सक्छौं। आउनुहोस्, हेरौं।
मानव इतिहासको सुरुतिर
हाबिलको जन्म मानव इतिहासको सुरुतिर भएको थियो। येशूले हाबिललाई “संसारको प्रारम्भ”-का मानिस भनी उल्लेख गर्नुभयो। (लूका ११:५०, ५१) त्यतिबेला उहाँले पापबाट उद्धार पाउने आशा भएका मानिसहरूबारे कुरा गरिरहनुभएको हुनुपर्छ। हाबिल पृथ्वीमा पाइला टेक्ने चौथो मानिस भए तापनि परमेश्वरको नजरमा उद्धार पाउन लायकको पहिलो मानिस तिनी नै हुनुपर्छ।a स्पष्ट छ, हाबिल वरपरको परिस्थिति राम्रो थिएन।
पृथ्वीमा मानव जीवनको सुरुवात भर्खरै मात्र भएको थियो। तर मानव परिवारलाई दुःखै-दुःखले घेरिसकेको थियो। हाबिलका आमाबाबु आदम र हव्वा सर्वगुण सम्पन्न थिए। तर उनीहरूले जानाजानी गम्भीर गल्ती गरे। सुरुमा उनीहरू त्रुटिरहित थिए अनि उनीहरूसामु अनन्त जीवनको आशा थियो। तर यहोवा परमेश्वरको विद्रोह गरेपछि उनीहरूलाई अदनको बगैंचाबाट निकालियो। आफ्ना सन्तानको भन्दा आफ्नै इच्छा-आकाङ्क्षालाई महत्त्वपूर्ण ठानेको हुँदा उनीहरूले त्रुटिरहित शरीर अनि अनन्त जीवन गुमाए।—उत्पत्ति २:१५–३:२४.
अदनको बगैंचाबाट निकालिएपछि आदम र हव्वाले निकै सङ्घर्ष गर्नुपऱ्यो। उनीहरूले पहिलो बच्चाको नाम कयिन राखे, जसको अर्थ हो, “केही प्राप्त हुनु।” हव्वाले भनिन्: “परमप्रभुको आशीर्वादले एक पुरुष प्राप्त गरें।” त्यतिबेला उनले अदनको बगैंचामा यहोवाले गरेको प्रतिज्ञा सम्झेकी हुनुपर्छ। त्यस प्रतिज्ञाअनुसार एउटी स्त्रीले “सन्तान” जन्माउने थिई र उक्त सन्तानले आदम र हव्वालाई बहकाउने दुष्टलाई नाश गर्ने थियो। (उत्पत्ति ३:१५; ४:१) के हव्वाले त्यस भविष्यवाणीकी स्त्री आफू स्वयम् अनि प्रतिज्ञा गरिएको “सन्तान” कयिन हो भन्ठानी?
भन्ठानेकी भए त्यो उनको ठूलो गल्ती थियो। साथै उनले र आदमले कयिनलाई त्यस्तो सोचाइ राख्न सिकाएका भए उसको घमन्डलाई बढावा दिइरहेका हुने थिए। पछि हव्वाले दोस्रो छोरा जन्माइन्। तर त्यतिबेला उनले ठूलो हर्ष व्यक्त गरेको विवरण बाइबलमा पाइँदैन। उनीहरूले त्यस छोराको नाम हाबिल राखे, जसको अर्थ हुन सक्छ, “निःश्वास,” वा “व्यर्थ।” (उत्पत्ति ४:२) के उनीहरूले हाबिलबाट कम आशा गरेकोले यस्तो नाम छानेका हुन्? हामी यकिनका साथ भन्न सक्दैनौं।
जेहोस्, आजका आमाबाबुले प्रथम आमाबाबुबाट धेरै कुरा सिक्न सक्छन्। तपाईं आफ्नो बोली अनि व्यवहारद्वारा छोराछोरीको घमन्ड, महत्त्वाकाङ्क्षा र स्वार्थलाई बढावा दिनुहुन्छ कि यहोवालाई प्रेम गर्न र उहाँसित मित्रता गाँस्न सिकाउनुहुन्छ? दुःखको कुरा, प्रथम आमाबाबुले आफ्नो जिम्मेवारी पूरा गरेनन्। तर उनीहरूको सन्तानको लागि भने आशा थियो।
हाबिलले कसरी विश्वास बढाए?
छोराहरू हुर्कंदै जाँदा आदमले तिनीहरूलाई परिवारको दैनिक आवश्यकता पूरा गर्नको लागि काम गर्न सिकाएका हुन सक्छन्। कयिनले खेतीकिसानी गर्न थाले भने हाबिलचाहिं गोठालो भए।
तर हाबिलले एउटा महत्त्वपूर्ण काम गरे। समयसँगसँगै तिनले आफ्नो विश्वास बढाउँदै लगे, जुन मनमोहक गुणबारे पछि पावलले उल्लेख गरे। एकछिन विचार गर्नुहोस्:- हाबिल वरपरका मानिस राम्रा थिएनन्। त्यसोभए तिनले यहोवा परमेश्वरमाथिको विश्वास कसरी बढाए? विश्वास बलियो बनाउन तिनलाई मदत गरेको तीनवटा कुराबारे अब हामी विचार गरौं।
यहोवाको सृष्टि।
यहोवाले भूमिलाई श्राप दिनुभएकोले काँडा र सिउँडीहरू उम्रिए अनि बालीनाली सप्रन सकेन। तैपनि हाबिलको परिवारले खेतीकिसानी गरेर जीवन धान्न सके। परमेश्वरले जीवजन्तु, पहाड, नदी, ताल, समुद्र, आकाश, सूर्य, चन्द्रमा र तारालाई श्राप दिनुभएको थिएन। हाबिलले सबै थोक सृष्टि गर्नुहुने यहोवा परमेश्वरको अथाह प्रेम, बुद्धि र भलाइको प्रमाण जताततै देख्न सक्थे। (रोमी १:२०) यी कुराहरूमा मनन गरेर तिनले आफ्नो विश्वास बलियो बनाए।
हाबिलले समय लगाएर यहोवाबारे मनन गर्थे। तिनले भेडाहरू चराउँदै गरेको दृश्य कल्पना गर्नुहोस्। गोठालाहरू निकै हिंड्नुपर्ने हुन्थ्यो। हाबिल आफ्नो बगाललाई घाँस, पानी खुवाउन अनि विश्राम गर्न सुविधा भएको राम्रो ठाउँ चाहन्थे। त्यसैले तिनी उकाली-ओरोली गर्दै नदीहरू तरेर बगाललाई चराउन लैजान्थे। परमेश्वरले सृष्टि गरेका जनावरहरूमध्ये भेडा सबैभन्दा निस्सहाय देखिन्छ, मानौं भेडालाई मानिसको डोऱ्याइ र सुरक्षा चाहिन्छ। के हाबिलले मानिसभन्दा बुद्धिमान् र शक्तिशाली परमेश्वरको डोऱ्याइ, सुरक्षा र हेरचाहको आवश्यकता महसुस गरे? यसबारे तिनले यहोवालाई पक्कै पनि थुप्रै चोटि आफ्नो भावना पोखाए, जसले गर्दा तिनको विश्वास बढ्दै गयो।
सृष्टिलाई नियाल्दा हाबिलले मायालु सृष्टिकर्तालाई विश्वास गर्ने ठोस कारण पाए
यहोवाका प्रतिज्ञाहरू।
अदनको बगैंचाबाट निकालिनुको कारणबारे आदम र हव्वाले छोराहरूलाई पक्कै बताएको हुनुपर्छ। त्यसकारण हाबिलले मनन गर्न सक्ने कुरा थुप्रै थिए।
यहोवाले भूमि श्रापित हुनेछ भन्नुभएको थियो। श्रापित भूमिमा काँडा अनि सिउँडीहरू उम्रेको हाबिलले देखेका थिए। साथै गर्भवती हुँदा अनि बच्चा जन्माउँदा हव्वालाई निकै कष्ट हुनेछ भनेर पनि यहोवाले भविष्यवाणी गर्नुभएको थियो। भाइबहिनी जन्मँदा यहोवाका ती शब्दहरू पूरा भएको तिनले देखे। हव्वाले पतिबाट बढी नै माया अनि ध्यान खोज्नेछिन् तर आदमले भने उनलाई अधीनमा राख्नेछन् भनेर पनि यहोवालाई थाह थियो। हाबिलले त्यो तीतो वास्तविकता आफ्नै आँखाले देखे। यी सबै भविष्यवाणी पूरा भएको देख्दा यहोवाको वचनमा शङ्का गर्नुपर्ने कुनै कारण छैन भनेर तिनले बुझे। त्यसैले अदनको बगैंचामा सुरु भएको समस्या सुल्झाउने “सन्तान”-बारे यहोवाको प्रतिज्ञामा विश्वास गर्ने ठोस कारण हाबिलसित थियो।—उत्पत्ति ३:१५-१९.
यहोवाका सेवकहरू।
हाबिलले अनुकरण गर्न लायकको मानिस पृथ्वीमा कोही पनि थिएन तर उदाहरणीय स्वर्गदूतहरू भने थिए। आदम र हव्वालाई बगैंचाबाट निकालेपछि यहोवाले न उनीहरूलाई न त उनीहरूको सन्तानलाई बगैंचामा पस्न दिनुभयो। बगैंचालाई पहरा दिन यहोवाले करूबहरू (उच्च ओहदाका स्वर्गदूतहरू) र चारैतिर घुमिरहने ज्वालामय तरबार राखिदिनुभयो।—उत्पत्ति ३:२४.
सानो छँदादेखि ती करूबहरूलाई देखेको हुनाले हाबिलको मनमा कस्तो छाप पऱ्यो होला, कल्पना गर्नुहोस् त। मानव शरीर धारण गरेका ती करूबहरू एकदमै शक्तिशाली देखिन्थे। अनि घुमिरहने “ज्वालामय तरबार” पनि अद्भुत थियो। के हाबिलले ती करूबहरू झर्को मानेर आफ्नो ठाउँ छोडेर हिंडेको कहिल्यै देखे? अहँ देखेनन्। दिन, महिना, साल गर्दै वर्षौं बित्यो तर ती बुद्धिमान् अनि शक्तिशाली स्वर्गदूतहरूले आफ्नो ठाउँ कहिल्यै छोडेनन्। त्यसकारण यहोवाका वफादार अनि अटल सेवकहरू पनि रहेछन् भनेर हाबिलले देखे। हाबिलले ती करूबहरूमा यहोवाप्रतिको वफादारी र आज्ञाकारिता देखे, जुन तिनले आफ्नो परिवारमा कहिल्यै देखेनन्। ती स्वर्गदूतहरूको असल उदाहरणले तिनको विश्वास बलियो बनायो।
करूबहरू वफादार अनि आज्ञाकारी भई यहोवाको सेवा गरेको हाबिलले आफ्नो जीवनभर देखे
सृष्टि, प्रतिज्ञाहरू र आफ्ना सेवकहरूको असल उदाहरणमार्फत यहोवाले आफ्नो विषयमा धेरै कुरा प्रकट गर्नुभयो। यी कुराहरूमा मनन गरेर हाबिलले आफ्नो विश्वास बलियो बनाउन सके। तिनको उदाहरणबाट हामी पनि धेरै कुरा सिक्न सक्छौं, होइन र? यो विशेषगरि युवाहरूको लागि आश्वासनदायी कुरा हो। परिवारका सदस्यले यहोवासित सम्बन्ध गाँसून् या नगाँसून्, उहाँप्रतिको विश्वास बढाउन सम्भव छ। हाम्रो वरपर यहोवाले सृष्टि गर्नुभएका थुप्रै कुरा छन्; हामीसित सिङ्गो बाइबल छ अनि विश्वास देखाउने भाइबहिनीका थुप्रै उदाहरण पनि। त्यसकारण विश्वास बलियो बनाउने प्रशस्त कारण छ।
हाबिलको भेटी किन उत्कृष्ट?
यहोवाप्रतिको विश्वास बढ्दै जाँदा हाबिलले आफ्नो विश्वास कामद्वारा देखाउन चाहे। तर तुच्छ मानिसले ब्रह्माण्डको सृष्टिकर्तालाई दिन सक्ने केही छ र? परमेश्वरलाई मानिसबाट कुनै उपहार वा मदतको आवश्यकता छैन। पछि हाबिलले एउटा महत्त्वपूर्ण सत्य बुझे: असल मनसायले आफूसित भएको सबैभन्दा उत्तम कुरा चढाउँदा यहोवाले त्यो खुसीसाथ स्वीकार्नुहुन्छ।
त्यसैले हाबिलले बगालबाट भेडा रोजेर भेटीको रूपमा चढाउने विचार गरे। तिनले बगालबाट सबैभन्दा उत्तम भेडा अर्थात् पहिले जन्मेको पाठो छाने। अनि भेडाको सबैभन्दा उत्कृष्ट भाग चढाए। त्यसैगरि कयिनले पनि परमेश्वरबाट आशिष् अनि अनुमोदन पाउन उब्जनीबाट केही चढाउने विचार गरे। तर उनको मनसाय हाबिलको जस्तो थिएन। भेटी चढाउँदा तिनीहरूको मनसाय प्रस्ट देखियो।
विश्वासले उत्प्रेरित भई हाबिलले भेटी चढाए तर कयिनले त्यसरी चढाएनन्
आदमका दुवै छोराले भेटी चढाउन वेदी र आगो प्रयोग गरेका हुन सक्छन्। अनि करूबहरूले देख्नेगरि तिनीहरूले भेटी चढाएका हुन सक्छन्। त्यतिबेला पृथ्वीमा यहोवाको प्रतिनिधित्व गर्ने ती करूबहरू मात्र थिए। के यहोवाले ती भेटीहरू स्वीकार्नुभयो? बाइबल यसो भन्छ: “परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो।” (उत्पत्ति ४:४) परमेश्वरले तिनको भेटी ग्रहण गरेको कसरी देखाउनुभयो, बाइबलले यसबारे केही बताएको छैन। तर उहाँले हाबिलको भेटी किन ग्रहण गर्नुभयो?
भेटी नै विशेष भएर हो कि? हाबिलले अमूल्य रगत बगाएर जिउँदो बलिदान चढाए। त्यस्तो बलिदानको महत्त्व सायद हाबिलले बुझेका थिए। हाबिलको समयभन्दा धेरैपछि परमेश्वरले इस्राएलीहरूलाई खोटरहित पाठोको बलि चढाउन आज्ञा दिनुभयो। यस्तो खोटरहित पाठोको बलिदानले “परमेश्वरको थुमा” अर्थात् उहाँको त्रुटिरहित छोराको बलिदानलाई चित्रण गऱ्यो। (यूहन्ना १:२९; प्रस्थान १२:५-७) तर यहोवाको उद्देश्यमा बलिदानले खेल्ने यस्तो महत्त्वपूर्ण भूमिकाबारे भने हाबिलले बुझेका थिएनन् होला।
एउटा कुरा भने पक्का छ, हाबिलले आफूसँग भएको उत्कृष्ट भेटी चढाए। यहोवाले भेटी स्वीकार्नुभयो। तर त्यति मात्र होइन, उहाँले हाबिलको मनसाय पनि बुझ्नुभयो र तिनले उहाँको अनुमोदन पाए। हाबिलले यहोवाप्रतिको प्रेम र साँचो विश्वासद्वारा उत्प्रेरित भई भेटी चढाएका थिए।
कयिनको सन्दर्भमा भने कुरा फरक थियो। यहोवाले “कयिन र तिनको भेटी ग्रहण गर्नुभएन।” (उत्पत्ति ४:५) कयिनको भेटीमै कुनै खोट भएर परमेश्वरले ग्रहण नगर्नुभएको होइन किनभने पछि उहाँले भूमिको उब्जनीलाई भेटीको रूपमा चढाउने अनुमति दिनुभयो। (लेवी ६:१४, १५) तर बाइबलले कयिनका “कामहरू दुष्ट थिए” भनी बताउँछ। (१ यूहन्ना ३:१२) हाम्रो समयका थुप्रै मानिसले जस्तै कयिनले पनि अरूलाई देखाउने हिसाबले मात्र भक्ति गरे पुग्छ भन्ठाने। कयिनसित यहोवाप्रतिको साँचो विश्वास वा प्रेम नभएको कुरा उनका कामहरूबाट तुरुन्तै देखिन थाल्यो।
यहोवाको अनुमोदन नपाएपछि के कयिनले हाबिलको उदाहरणबाट पाठ सिके? अहँ सिकेनन्। उनले आफ्नो भाइलाई घृणा गर्न थाले। कयिनको मनमा के छ, सो यहोवाले देख्नुभयो र उनलाई राम्ररी सम्झाउनुभयो। त्यस्तो खराब मनस्थितिले उनलाई गम्भीर पापतर्फ धकेल्दै छ भनेर उहाँले चेतावनी दिनुभयो। अनि आफ्नो तौरतरिका बदलेको खण्डमा मात्र उनी “ग्रहणयोग्य” हुनेछन् भनेर परमेश्वरले बताउनुभयो।—उत्पत्ति ४:६, ७.
कयिनले परमेश्वरको चेतावनीलाई लत्त्याए। उनले आफ्नो सोझो भाइलाई खेतमा लगे र मारे। (उत्पत्ति ४:८) यस अर्थमा हाबिल धर्मको खातिर खेदो भोग्ने पहिलो सहिद भए। तिनी मरिसके तर अझै बोल्दै छन्।
प्रतीकात्मक अर्थमा हाबिलको रगतले बदला वा न्यायको लागि यहोवा परमेश्वरलाई दुहाइ दियो। अनि परमेश्वरले दुष्ट कयिनलाई सजाय दिएर न्याय गर्नुभयो। (उत्पत्ति ४:९-१२) महत्त्वपूर्ण कुरा, हाबिलको विश्वासले गर्दा तिनी अझै बोल्दै छन्। तिनी लगभग सय वर्षजति बाँचे, जुन त्यतिबेलाको सरदर आयुभन्दा कम हो। तर तिनले परमेश्वरलाई मन पर्ने तरिकामा जीवन बिताए। यहोवाको माया अनि अनुमोदन पाएको छु भन्ने कुरामा ढुक्क भएर तिनी मरे। (हिब्रू ११:४) यहोवाले तिनलाई कहिल्यै बिर्सनुहुनेछैन भन्ने कुरामा हामी पक्का हुन सक्छौं। तिनी प्रमोदवनमा पुनर्जीवित हुने प्रतीक्षामा छन्। (यूहन्ना ५:२८, २९) के तपाईं तिनलाई भेट्ने आशा गर्न सक्नुहुन्छ? हाबिलको कुरा सुन्न अनि तिनको विश्वास अनुकरण गर्न कटिबद्ध हुनुहुन्छ भने पक्कै सक्नुहुन्छ। (w13-E 01/01)
a “संसारको प्रारम्भ” भन्ने अभिव्यक्तिले बीउ फ्याँक्नु अर्थात् सबैभन्दा पहिलो मानव सन्तान जन्मनुलाई बुझाउँछ। पृथ्वीमा जन्मेका पहिलो मानिस कयिन थिए। तर येशूले किन हाबिललाई “संसारको प्रारम्भ”-का मानिसको रूपमा उल्लेख गर्नुभयो? कयिनले आफ्नो निर्णय अनि कामद्वारा जानाजानी यहोवा परमेश्वरको विद्रोह गरे। उनको आमाबाबुजस्तै उनी पनि पुनर्जीवित हुने अनि उद्धार पाउने मानिसहरूको सूचीमा पर्दैनन्।