प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १०/१ pp. १०-१५
  • परमेश्‍वरको वचन सदा सर्वदा रहिरहन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको वचन सदा सर्वदा रहिरहन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दबाउने प्रयासहरू गरिंदा
  • गलत अर्थ लगाउनदेखि सुरक्षित राखिएको
  • विश्‍वभरि सन्देश पुग्छ
  • कुरा गर्न रुचाउनुहुने परमेश्‍वर—यहोवा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • के बाइबल परमेश्‍वर बाट आएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • बाइबल किन यत्ति थरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • बाइबल हामीसम्म कसरी आइपुग्यो?
    ब्यूँझनुहोस्‌!: बाइबल हामीसम्म कसरी आइपुग्यो?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १०/१ pp. १०-१५

परमेश्‍वरको वचन सदा सर्वदा रहिरहन्छ

“हाम्रा परमप्रभुको वचन सधैंभरि अटल रहनेछ।”—यशैया ४०:८.

१. (क) यहाँ “हाम्रा परमप्रभुको वचन[को]” अर्थ के हो? (ख) मानिसहरूको प्रतिज्ञा परमेश्‍वरको वचनसित कसरी तुलना गर्न सकिन्छ?

प्रख्यात पुरुष तथा स्त्रीहरूका प्रतिज्ञाहरूमा भरोसा राख्ने प्रवृत्ति मानिसहरूको हुन्छ। तर जीवनमा उन्‍नति चाहने मानिसहरूलाई ती प्रतिज्ञाहरू जत्ति नै रहरलाग्दो लागे तापनि हाम्रो परमेश्‍वरको वचनसित तुलना गर्दा ती ओइलाउन लागेका फूलझैं हुन्‌। (भजन १४६:३, ४) यहोवा परमेश्‍वरले २,७०० वर्षभन्दाअघि भविष्यवक्‍ता यशैयालाई यी शब्दहरू लेख्न प्रेरित गर्नुभयो: “सारा प्राणी घाँसै हो, र त्यसका सबै शोभा मैदानको फूलजस्तै हो। घाँस सुकिहाल्छ, फूल ओइलाइहाल्छ तर हाम्रा परमप्रभुको वचन सधैंभरि अटल रहनेछ।” (यशैया ४०:६, ८) तर त्यो अटल रहने “वचन” के हो? यो आफ्ना उद्देश्‍यबारे परमेश्‍वरको कथन हो। आज हामीसित त्यो “वचन” बाइबलमा लिखित रूपमा छ।—१ पत्रुस १:२४, २५.

२. कस्तो मनोवृत्ति र कार्य व्याप्त भइरहेको बेला यहोवाले पुरातन इस्राएल र यहूदाको सन्दर्भमा आफ्नो वचन पूरा गर्नुभयो?

२ पुरातन इस्राएलको समयका मानिसहरूले यशैयाले लिपिबद्ध गरेका कुराहरू सत्य रहेछन्‌ भनी थाह पाए। उहाँप्रति अचाक्ली अविश्‍वासी भएको कारण पहिला इस्राएलको दश कुल अनि यहूदाको दुइ कुललाई बन्दी बनाएर लगिनेछ भनी यहोवाले आफ्ना अगमवक्‍ताहरू मार्फत भविष्यवाणी गर्नुभयो। (यर्मिया २०:४; आमोस ५:२, २७) तिनीहरूले यहोवाका अगमवक्‍ताहरूलाई सताउनुका साथै कसै कसैलाई मारे पनि। अनि चेताउनी भएको परमेश्‍वरको सन्देश जलाइदिए र भविष्यवाणी पूरा हुन नदिन मिश्री सेनासित मदत मागे तरैपनि यहोवाको वचन पूरा भई छाड्यो। (यर्मिया ३६:१, २, २१-२४; ३७:५-१०; लूका १३:३४) अझ, बाँकी रहेका पश्‍चात्तापी यहूदीहरूलाई तिनीहरूको भूमिमा पुनर्स्थापित गर्ने परमेश्‍वरको प्रतिज्ञा उल्लेखनीय ढंगमा पूरा भयो।—यशैया, अध्याय ३५.

३. (क) यशैयाले लिपिबद्ध गरेको कुन प्रतिज्ञाहरूले हाम्रोनिम्ति विशेष अर्थ राख्छ? (ख) यी कुराहरू पूरा हुनेछन्‌ भनी तपाईं किन पूर्णतया विश्‍वस्त हुनुहुन्छ?

३ यशैया मार्फत यहोवाले मानिसजातिमाथि मसीहको धार्मिक शासन, पाप र मृत्युबाट मुक्‍ति तथा पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने उद्देश्‍यबारे पनि भविष्यवाणी गर्नुभयो। (यशैया ९:६, ७; ११:१-९; २५:६-८; ३५:५-७; ६५:१७-२५) के यी कुराहरू पनि पूरा हुनेछन्‌? पक्कै हुनेछन्‌, यसमा कुनै शंका छैन! ‘परमेश्‍वरले कहिल्यै झूट बोल्नुहुन्‍न।’ हाम्रो फाइदाको निम्ति उहाँले आफ्ना भविष्यसूचक शब्दहरू लिपिबद्ध गर्न लगाउनुभयो अनि त्यो वचन जोगाइराख्न बन्दोबस्त मिलाउनुभएको छ।—तीतस १:२; रोमी १५:४.

४. बाइबलका सुरुका पाण्डुलिपिहरू जगेर्ना नगरिए तापनि परमेश्‍वरको वचन “जिउँदो” छ भन्‍नु किन सही छ?

४ उहाँका पुरातन प्रतिलिपिकहरूले लेखेका ती भविष्यवाणीहरूका सुरुका पाण्डुलिपिहरू यहोवाले जोगाउनुभएन। तर उहाँले घोषणा गर्नुभएका उद्देश्‍यहरू अर्थात्‌ उहाँको “वचन” जीवित वचन साबित भएको छ। ती उद्देश्‍यहरू कुनै बाधाबिना पूरा भइरहन्छ र यसरी बढ्‌दै जाँदा यसले प्रभाव पारेका मानिसहरूको भित्री विचार तथा अभिप्रेरणाहरू प्रकट हुन्छ। (हिब्रू ४:१२) यसबाहेक, प्रेरित धर्मशास्त्रको जगेर्ना र अनुवाद ईश्‍वरीय निर्देशनद्वारा नै भएको हो भनी ऐतिहासिक अभिलेखहरूबाट प्रमाणित हुन्छ।

दबाउने प्रयासहरू गरिंदा

५. (क) प्रेरित हिब्रू धर्मशास्त्रलाई खतम पार्न सिरियाका राजाले कस्तो प्रयास गरे? (ख) तिनी किन असफल भए?

५ शासकहरूले प्रेरित लेखोटहरूलाई नाश गर्ने दुष्प्रयास धेरै चोटि गरे। सा.यु.पू. १६८ मा सिरियाका राजा एन्टियोकस एफिफेनसले (पृष्ठ १० मा देखाइएको छ) यहोवालाई समर्पण गरिएको मन्दिरमा ज्युसका लागि वेदी खडा गरे। तिनले ‘व्यवस्थाको पुस्तक’ जफत गरेर जलाइ दिए र धर्मशास्त्र राख्ने जो कोहीले पनि ज्यान सजाय पाउने घोषणा गरे। तिनले यरूशलेम र यहूदामा जत्ति नै धेरै प्रतिहरू जलाइ दिए तापनि धर्मशास्त्रलाई पूर्णतया नामेट गर्न सफल भएनन्‌। त्यतिबेला यहूदीहरूको उपनिवेश व्यापक तवरमा फैलिएको थियो र हरेक सभाघरहरूमा पुस्तकहरूको संग्रह हुन्थ्यो।—प्रेरित १३:१४, १५ तुलना गर्नुहोस्‌।

६. (क) प्रारम्भिक मसीहीहरूले प्रयोग गरेको धर्मशास्त्र नाश गर्न कस्तो भरमग्दूर प्रयास गरियो? (ख) नतिजा कस्तो भयो?

६ त्यसरी नै, सा.यु. ३०३ मा रोमी सम्राट डाइक्लोसियनले मसीही सभाघरहरू भत्काउन र ‘धर्मशास्त्र आगोमा नाश’ गर्न आज्ञप्ति जारी गरे। त्यस्तो विनाश एक दशकसम्म चलिरह्‍यो। हो, सतावट ज्यादै कठोर थियो तर डाइक्लोसियन मसीहीधर्म नामेट पार्न सफल भएनन्‌, नता परमेश्‍वरले सम्राटको कार्यकर्ताहरूलाई उहाँको प्रेरित वचनको कुनै अंश नै नाश गर्न अनुमति दिनुभयो। तर परमेश्‍वरको वचनको वितरण र प्रचार कार्यप्रति ती विरोधीहरूको प्रतिक्रियाले तिनीहरूको हृदयमा के छ, छर्लंग भयो। तिनीहरूले आफूलाई शैतानद्वारा अन्धा तुल्याइएका र त्यसकै इच्छाअनुसार गर्ने मानिसहरू हुन्‌ भनी चिनाए।—यूहन्‍ना ८:४४; १ यूहन्‍ना ३:१०-१२.

७. (क) पश्‍चिमी युरोपमा बाइबल ज्ञान फैलिन नदिन कस्ता प्रयासहरू गरिए? (ख) बाइबल अनुवाद र मुद्रण गर्ने काममा के कस्ता कुराहरू सम्पन्‍न भए?

७ अरू बेग्लाबेग्लै तरिका अपनाएर पनि बाइबल ज्ञानलाई फैलनदेखि रोक्ने प्रयास गरियो। जब ल्याटिन भाषा चलनचल्तीको भाषा भएन, मूर्तिपूजक शासकहरूले होइन तर मसीही भनौंदाहरू अर्थात्‌ पोप ग्रेगरी सातौं (१०७३-८५) र पोप इनोसेन्ट तेस्रोले (११९८-१२१६) जनसाधारणको भाषामा बाइबल अनुवाद नगर्न कडा विरोध गरे। चर्चको अधिकार विरुद्ध मतभेदलाई कुल्चीमिल्ची पार्ने प्रयासमा टुलुज, फ्रान्सको रोमन क्याथोलिक परिषद्‌ले १२२९ मा आमजनताले चलनचल्तीको भाषामा बाइबलका पुस्तकहरू राख्न नपाउने आज्ञप्ति जारी गऱ्‍यो। त्यस आज्ञप्तिलाई कार्यान्वयन गर्न इन्क्विजिशन पनि जोडदारसँग प्रयोग गरियो। यद्यपि, इन्क्विजिशनको ४०० वर्षपछि परमेश्‍वरका वचनका प्रेमीहरूले लगभग २० वटा भाषाहरूमा सम्पूर्ण बाइबल अनुवाद गरेर मुद्रित संस्करणहरू वितरण गर्न थालिसकेका थिए र यसबाहेक क्षेत्रीय तथा अन्य १६ वटा भाषाहरूमा थुप्रै अंशहरू अनुवाद गरिरहेका थिए।

८. उन्‍नाइसौं शताब्दीको दौडान रूसमा बाइबल अनुवाद र वितरणको सन्दर्भमा के भइरहेको थियो?

८ आमजनतासम्म बाइबल पुग्नदेखि रोक्ने दुष्प्रयास रोमन क्याथोलिक चर्चले मात्र गरेको होइन। सेन्ट पिटर्सबर्ग एकेडेमी अफ डिभिनिटीका प्राध्यापक पाभास्कीले १९ औं शताब्दीको सुरुतिर मत्तीरचित सुसमाचारको पुस्तक युनानीबाट रूसी भाषामा अनुवाद गरे। मसीही युनानी धर्मशास्त्रका अन्य पुस्तकहरू पनि रूसी भाषामा अनुवाद गरियो र पाभास्कीले सम्पादकको रूपमा काम गरे। यी अनुवादहरू व्यापक रूपमा वितरण भइरहेका थिए। तर १८२६ मा चर्चको धर्मतन्त्रको दाउपेचमा रूसी बाइबल सोसाइटीलाई रूसी अर्थोडक्स चर्चको “पवित्र धर्मसभा” अन्तर्गत राख्न रूसी जारलाई उक्साइयो। जसको फलस्वरूप रूसी बाइबल सोसाइटीको कार्यहरूलाई दमन गरियो। पछि, पाभास्कीले हिब्रू धर्मशास्त्र हिब्रू भाषाबाट युनानी भाषामा अनुवाद गरे। झन्डै झन्डै त्यही समयताका अर्थोडक्स चर्चका मिसनरी माकारियोसले पनि हिब्रू धर्मशास्त्र हिब्रू भाषाबाट युनानी भाषामा अनुवाद गरे। यी प्रयासहरूको लागि दुवैले सजाय पाए र तिनीहरूको अनुवाद चर्चको अभिलेखालयमा राखियो। बाइबललाई पुरानो स्लोभेनियाली भाषामै राखिराख्न चर्च कटिबद्ध थियो किनभने त्यतिबेला आमजनताले त्यो भाषा पढ्‌न वा बुझ्न सक्दैन थिए। बाइबलको ज्ञान हासिल गर्ने मानिसहरूको प्रयासलाई दमन गर्न नसकेपछि मात्रै १८५६ मा “पवित्र धर्मसभा”-ले धर्मसभाको अनुमति लिएर अनुवाद गर्न सुर कस्यो। तर चर्चको विचारधारासित मिल्दो शब्दावलीहरू चलाउन धूर्ततापूर्वक चर्चले निर्देशन जारी गऱ्‍यो। अतः, परमेश्‍वरको वचनको प्रचारप्रसार सन्दर्भमा धार्मिक नेताहरूको बाहिरी रूप र वास्तविक ध्येयमा भिन्‍नता तिनीहरूको कार्य र वचनबाट प्रस्ट भयो।—२ थिस्सलोनिकी २:३, ४.

गलत अर्थ लगाउनदेखि सुरक्षित राखिएको

९. केही बाइबल अनुवादकहरूले परमेश्‍वरको वचनप्रति कसरी प्रेम प्रदर्शित गरे?

९ धर्मशास्त्र अनुवाद गर्ने र प्रतिलिपि बनाउने मानिसहरूमध्ये त्यस्ता मानिसहरू पनि पर्छन्‌, जसले साँच्चै परमेश्‍वरको वचनलाई प्रेम गर्थे र सबैलाई यो उपलब्ध गराउन निष्कपटतासाथ प्रयासहरू गरे। बाइबल अंग्रेजी भाषामा उपलब्ध गराउने प्रयास गरेकोमा विलियम टिन्डेल (१५३६ मा) शहीद भए। मसीही युनानी धर्मशास्त्र स्पेनी भाषामा अनुवाद गरेर मुद्रण गरेकोले फ्रान्थेस्को डे एनथेनासलाई (१५४४ पछि) क्याथोलिक इन्क्विजिशनले कैदमा हाल्यो। आफ्नो ज्यानै जोखिममा राखेर रबर्ट मोरिसनले (१८०७ देखि १८१८ सम्म) बाइबल चिनियाँ भाषामा अनुवाद गरे।

१०. परमेश्‍वरको वचनप्रतिको प्रेम अलावा अन्य कुराहरूले पनि केही बाइबल अनुवादकहरू प्रेरित भएका थिए भनी कुन उदाहरणहरूले देखाउँछन्‌?

१० तथापि, कहिलेकाहीं परमेश्‍वरको वचनप्रतिको प्रेमले मात्र नभई अन्य कुराहरूले पनि प्रतिलिपिक तथा अनुवादकहरूको कार्यमा प्रभाव पाऱ्‍यो। चार उदाहरणहरू हेरौं: (१) सामरीहरूले यरूशलेमको मन्दिरको प्रतिद्वन्द्वीको रूपमा गीरिज्जीम डाँडामा मन्दिर स्थापना गरे। यस्तो कार्यप्रति समर्थन जनाउन सामरीहरूले सामरी पेन्टाटुकको प्रस्थान २०:१७ मा हेरफेर गरे। दश आज्ञाकै भाग जस्तैगरि यस्तो आज्ञा थपियो, गीरिज्जीम डाँडामा ढुंगाको वेदी बनाउने र त्यहाँ बलि चढाउने। (२) युनानी सेप्टुआजिन्ट-को लागि सर्वप्रथम दानियलको पुस्तक अनुवाद गर्ने व्यक्‍तिले आफ्नो कार्यलाई त्यति गम्भीरतापूर्वक लिएनन्‌। हिब्रू पदमा भएको कुरालाई अझ स्पष्ट पार्ने वा जोडदार बनाउने जस्ता हेतुले तिनले कथनहरू थपथाप गरे। पाठकहरूलाई केही विवरणहरू अस्वीकार्य हुन्छ जस्तो लागेमा त्यो हटाए। दानियल ९:२४-२७ मा उल्लिखित मसीह देखापर्ने समयबारेको भविष्यवाणी अनुवाद गर्दा तिनले गलत समयावधि लेखे र त्यसमा शब्दहरू थपघट र तलमाथि गरे। सम्भवतः, तिनले मक्कबिजहरूको आन्दोलनलाई यस भविष्यवाणीले समर्थन गरेको जस्तो देखाउन त्यसो गरेको हुनसक्छ। (३) सा.यु. चौथो शताब्दीको एउटा ल्याटिन लेखमा त्रिएकको कट्टर समर्थकले शायद “स्वर्गमा पिता, वचन तथा पवित्र आत्मा र यी तीन एउटै हो” भन्‍ने शब्दहरू मानौं १ यूहन्‍ना ५:७ कै उद्धरण हो जस्तैगरि थपेको हुनुपर्छ। पछि त्यस भागलाई ल्याटिन बाइबलको पाण्डुलिपिमा समावेश गरियो। (४) फ्रान्समा लुइस तेह्रौंले (१६१०-४३) प्रोटेस्टेन्टहरूको प्रयासमा बाधा पुऱ्‍याउने हेतुले झाँक कोर्बानलाई बाइबल फ्रान्सेली भाषामा अनुवाद गर्न अनुमति दिए। यही कुरालाई ध्यानमा राख्दै कोर्बानले केही भाषिक परिवर्तनहरू गरे। जस्तै प्रेरित १३:२ मा “मासको पवित्र बलिदान” भनेर थपे।

११. (क) केही बाइबल अनुवादकहरूको बेइमानीको बावजूद परमेश्‍वरको वचन कसरी रहिरह्‍यो? (ख) बाइबलले सुरुमा के भन्यो भन्‍ने प्रमाणको निम्ति कत्तिको पुरातन पाण्डुलिपिहरू छन्‌? (पेटी हेर्नुहोस्‌।)

११ यहोवाले उहाँको वचनसित गरेको यस्तो खेलबाड रोक्नुभएन, नता यसले उहाँको उद्देश्‍य नै परिवर्तन गऱ्‍यो। यसले कस्तो प्रभाव पाऱ्‍यो? गीरिज्जीम डाँडाकै कुरा गर्ने हो भने पनि, सामरीधर्म मानिसजातिलाई आशिष्‌ दिने परमेश्‍वरको माध्यम हुन सकेन। बरु, यसबाट के प्रमाणित भयो भने, सामरीधर्मले पेन्टाटुकमा विश्‍वास गरेको दाबी गरे तापनि यसले सत्य सिकाउँछ भन्‍ने भर छैन। (यूहन्‍ना ४:२०-२४) सेप्टुआजिन्ट-मा शब्दहरू बंग्याए तापनि अगमवक्‍ता दानियल मार्फत अगमवाणी गरेको समयमा मसीह आउनदेखि रोक्न सकेन। यसबाहेक, प्रथम शताब्दीमा सेप्टुआजिन्ट चलनचल्तीमा भए तापनि स्पष्टतः तिनीहरूलाई सभाघरहरूमा हिब्रूमै पढेको सुन्‍ने बानी परिसकेको हुनसक्छ। फलतः, भविष्यवाणी पूर्ति हुने समय आउँदा “मानिसहरू आशा गरिरहेकै थिए।” (लूका ३:१५) जहाँसम्म त्रिएक र मासको शिक्षालाई समर्थन गर्न १ यूहन्‍ना ५:७ र प्रेरित १३:२ मा थपथाप गरेको सवाल छ, यी कुराहरूले सत्यलाई परिवर्तन गर्न सकेन। अनि समयमा यस्ता जालझेलहरू पूर्णतया उदांग भए। मूल भाषाहरूमा भएका बाइबलका पाण्डुलिपिहरूको ठूलो भण्डारले कुनै पनि अनुवाद वैध छ या छैन, जाँच्न सजिलो बनाउँछ।

१२. (क) केही बाइबल अनुवादकहरूले कस्ता गम्भीर हेरफेरहरू गरे? (ख) यसले कत्तिको प्रभाव पाऱ्‍यो?

१२ धर्मशास्त्रलाई परिवर्तन गर्ने अन्य प्रयासहरूमा केही पदहरूका शब्दहरू थपथाप गर्ने मात्र गरेका होइनन्‌। तिनीहरूले परमेश्‍वरको चिनारीलाई समेत दखल पार्ने प्रयास गरेका छन्‌। ती अनुवादहरूमा त्यति बिघ्न गरिएको परिवर्तनहरूबाट के स्पष्ट हुन्छ भने, त्यसमा कुनै व्यक्‍तिविशेष वा मानव संगठनको हात नभई त्योभन्दा एउटा शक्‍तिशाली स्रोत, यहोवाको प्रमुख शत्रु, शैतान अर्थात्‌ दियाबलले प्रभाव पारेको छर्लंग हुन्छ। त्यसको प्रभावमा परेर अनुवादक तथा प्रतिलिपिकहरूले खुशीसाथ या त जबरजस्ती हजारौं ठाउँमा परमेश्‍वरको व्यक्‍तिगत नाउँ, यहोवा प्रेरित वचनबाट हटाउन थाले। पहिला पहिला, हिब्रूबाट युनानी, ल्याटिन, जर्मन, अंग्रेजी, इटालेली, डच तथा अन्य भाषाहरूमा गरिएका अनुवादमा इश्‍वरीय नाउँ पूर्णतया हटाए वा कुनै कुनै ठाउँमा मात्रै यथावत्‌ राखे। मसीही युनानी धर्मशास्त्रबाट पनि त्यो नाउँ हटाए।

१३. बाइबलमा हेरफेर गर्ने निकै प्रयास गरिए तापनि मानव सम्झनाबाट परमेश्‍वरको नाउँ किन पूर्णतया हटाउन सकिएन?

१३ यद्यपि, मानव सम्झनाबाट त्यो महिमित नाउँ पूर्णतया हटाउन सकिएन। हिब्रू धर्मशास्त्रको स्पेनी, पुर्तगाली, जर्मन, अंग्रेजी, फ्रान्सेली तथा अन्य थुप्रै भाषाहरूमा गरिएको अनुवादहरूले परमेश्‍वरको व्यक्‍तिगत नाउँ यथावत्‌ राखे। सोह्रौं शताब्दीतिर मसीही युनानी धर्मशास्त्रको हिब्रू अनुवादहरूमा फेरि परमेश्‍वरको व्यक्‍तिगत नाउँ देखापर्न थाल्यो अनि १८ औं शताब्दीदेखि जर्मनमा तथा १९ औं शताब्दीदेखि क्रोएशियाली र अंग्रेजीमा पनि देखापर्न थाल्यो। मानिसहरूले परमेश्‍वरको नाउँ ढाकछोप गर्ने लाख प्रयास गरे तापनि “प्रभुको [“यहोवाको,” NW] दिन” आउँदा परमेश्‍वरले घोषणा गर्नुभएझैं “तिनीहरूले मनै परमप्रभु [“यहोवा,” NW] हुँ भनी जान्‍नेछन्‌।” परमेश्‍वरले घोषणा गर्नुभएको त्यो उद्देश्‍य विफल हुनेछैन।—२ पत्रुस ३:१०; इजकिएल ३८:२३; यशैया ११:९; ५५:११.

विश्‍वभरि सन्देश पुग्छ

१४. (क) बीसौं शताब्दीसम्म युरोपका कतिवटा भाषामा बाइबल प्रकाशित भइसकेको थियो र यसले कस्तो प्रभाव पाऱ्‍यो? (ख) सन्‌ १९१४ को अन्तसम्ममा अफ्रिकाको कतिवटा भाषामा बाइबल उपलब्ध भइसकेको थियो?

१४ बीसौं शताब्दीको आरम्भसम्म बाइबल ९४ युरोपेली भाषाहरूमा प्रकाशित भइसकेको थियो। संसारको त्यस भागका बाइबल स्टुडेन्ट्‌सहरू अन्यजातिहरूको समय १९१४ मा अन्त भएपछि संसारलाई त्रसित तुल्याउने घटनाहरू हुनेछन्‌ भन्‍ने तथ्यप्रति सचेत भए र नभन्दै त्यस्तो भयो! (लूका २१:२४) निर्णायक वर्ष १९१४ अन्त हुनुअघि अंग्रेजी, फ्रान्सेली र पुर्तगाली भाषाहरूका अनुवाद व्यापक रूपमा प्रयोग हुनुका साथै बाइबलको पूरै भाग वा यसका केही अंशहरू अफ्रिकाको १५७ भाषाहरूमा प्रकाशित भइसकेको थियो। अतः, त्यहाँ बस्ने थुप्रै जातीय तथा राष्ट्रिय समूहका नम्र व्यक्‍तिहरूलाई आध्यात्मिक तवरमा छुटकारा दिने बाइबल सत्यका शिक्षाहरू बाँड्‌ने जग बसालियो।

१५. आखिरी दिन सुरु हुँदा उत्तर तथा दक्षिण अमेरिकामा कुन हदसम्म जनसाधारणको भाषामा बाइबल उपलब्ध भइसकेको थियो?

१५ भविष्यवाणी गरिएअनुसार आखिरी दिन सुरु भइसकेपछि उत्तर तथा दक्षिण अमेरिकामा पनि बाइबल व्यापक रूपमा वितरण भइसकेको थियो। युरोपीय आप्रवासीहरूले आ-आफ्नो स्थानीय भाषाको बाइबल सँगै लिएर आएका थिए। विस्तृत बाइबल शिक्षण कार्यक्रम पनि सुरु भइसकेको थियो, जसअन्तर्गत जनभाषण र त्यतिबेला अन्तरराष्ट्रिय बाइबल स्टुडेन्ट्‌स भनिने यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबल प्रकाशनहरू चारै कुनामा वितरण गरिन्थ्यो। यसबाहेक, पश्‍चिमी गोलार्धका आदिवासीहरूका लागि बाइबल सोसाइटीहरूले अन्य ५७ वटा भाषामा बाइबल छाप्न सुरु गरिसकेका थिए।

१६, १७. (क) विश्‍वभरि प्रचार गर्ने समय आउञ्जेलसम्म बाइबल कुन हदसम्म उपलब्ध भइसकेको थियो? (ख) बाइबल साँच्चै सदा सर्वदा रहिरहने र एकदम प्रभावशाली पुस्तक कसरी साबित भएको छ?

१६ ‘अन्त आउनुअघि’ जब विश्‍वभरि नै सुसमाचार प्रचार गर्ने समय आयो तब एसिया र प्रशान्त महासागरका टापुहरूलाई बाइबल कुनै नौलो कुरा थिएन। (मत्ती २४:१४) यो २३२ भाषामा प्रकाशित भइसकेको थियो। यस भागको विशेषता नै यहाँका यति धेरै भाषाहरू हुन्‌। कुनै कुनै भाषाहरूमा बाइबलको सम्पूर्ण भाग नै उपलब्ध थियो भने अन्य थुप्रै भाषाहरूमा चाहिं मसीही युनानी धर्मशास्त्र उपलब्ध थियो। त्यस्तैगरि अरू कुनै कुनै भाषामा पवित्र धर्मशास्त्रको एउटा भागको मात्र अनुवाद थियो।

१७ स्पष्टतः, बाइबल संग्रहालयमा प्रदर्शित गर्ने एउटा पुरातन किताबको रूपमा मात्र जोगाइएको थिएन। सबै पुस्तकहरूमध्ये यो सबैभन्दा व्यापक रूपमा अनुवाद गरिएको र सबैभन्दा व्यापक वितरण भएको पुस्तक हो। ईश्‍वरीय अनुग्रहको प्रमाणलाई ध्यानमा राख्दै यस पुस्तकमा लिपिबद्ध कुराहरू पूरा हुन लागेको थियो। यसका शिक्षा तथा यसलाई प्रेरित गर्ने पवित्र आत्माले थुप्रै राष्ट्रका मानिसहरूमा चिरकालीन प्रभाव पारी नै रहेको थियो। (१ पत्रुस १:२४, २५) तर कुरा त्यति मात्र होइन।

के तपाईंलाई सम्झना छ?

◻ सदा सर्वदा रहिरहने “हाम्रा परमप्रभुको वचन” के हो?

◻ बाइबललाई दमन गर्न कस्ता प्रयासहरू गरिएका छन्‌ र नतिजा कस्तो भएको छ?

◻ बाइबलको विशुद्धतालाई कसरी सुरक्षित राखिएको छ?

◻ परमेश्‍वरका उद्देश्‍यहरूले भरिएको वचन कसरी जीवित वचन साबित भएको छ?

[पृष्ठ १२-मा भएको पेटी]

बाइबलले सुरुमा जे भन्यो, के हामीलाई साँच्चै थाह छ?

हिब्रू धर्मशास्त्रका विषयवस्तुहरूको प्रमाण दिन लगभग ६,००० वटा हस्तलिखित हिब्रू पाण्डुलिपिहरू छन्‌। यिनीहरूमध्ये केही त मसीही युगपूर्वका पनि छन्‌। सम्पूर्ण हिब्रू धर्मशास्त्रको अहिलेसम्म भएको पाण्डुलिपिहरूमध्ये कम्तीमा पनि १९ वटा पाण्डुलिपिहरू मूभेबल टाइपको आविष्कार सुरु हुनुअगाडिका हुन्‌। यसबाहेक, सोही समयमा २८ वटा अन्य भाषाहरूमा गरिएका अनुवादहरू अहिलेसम्म संरक्षित छन्‌।

मसीही युनानी धर्मशास्त्रको पनि एउटा सूची तयार पारिएको छ, जसमा झन्डै ५,००० वटा पाण्डुलिपिहरू समावेश छन्‌। यिनीहरूमध्ये एउटा सा.यु. १२५ भन्दाअघि अर्थात्‌ मौलिक लेखोटभन्दा केही वर्षपछि लेखिएको हो। कतिपय अंशहरू असाध्यै पुरानो होला भनी अनुमान लगाइएको छ। जम्मा २७ वटा प्रेरित पुस्तकमध्ये २२ वटा पुस्तकका पाण्डुलिपिहरू १० देखि १९ ठूलठूला अक्षरहरूमा लेखिएका पाण्डुलिपिबाट संकलन गरिएको छ। मसीही युनानी धर्मशास्त्रमा ठूलठूला अक्षरका पाण्डुलिपिहरूबाट विषयवस्तु संकलन गरिएको छ, ती पाण्डुलिपिहरू पूर्ण भए तापनि सबैभन्दा कम प्रयोग चाहिं प्रकाशको पुस्तकमा भएको छ। सम्पूर्ण मसीही धर्मशास्त्रको एउटा पाण्डुलिपि सा.यु. चौथो शताब्दीको पनि छ।

अरू कुनै पनि पुरातन साहित्यको त्यतिबिघ्न लिखित प्रमाणको छेलोखेलो छैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने