प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ११/१५ pp. १६-२०
  • यहोवा प्रेम हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा प्रेम हुनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इतिहासले के भन्छ?
  • यहोवाको प्रेमको प्रमाण
  • दुष्टताको अन्त नजिकै
  • परमेश्‍वरको प्रेमको सबैभन्दा ठूलो प्रमाण
  • परमेश्‍वरको राज्य सक्रिय छ
  • एक मात्र साँचो परमेश्‍वरको रूपमा यहोवाको महिमा गर्नुहोस्‌
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • “पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो”
    यहोवासित नजिक हुनुहोस्‌
  • ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई प्रेम गर्नू’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ११/१५ pp. १६-२०
नयाँ संसारमा हाँसीखुसी जीवन बिताउँदै विभिन्‍न जातिका मानिसहरू

यहोवा प्रेम हुनुहुन्छ

“परमेश्‍वर प्रेम हुनुहुन्छ।”—१ यूह. ४:८, १६.

गीत: १८, ९१

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

  • प्रेमको परमेश्‍वर यहोवाले सही मनसाय राखेर उहाँको आज्ञा मान्‍ने मानिसहरूलाई इनाम स्वरूप के दिनुहुनेछ?

  • यहोवाले त्रुटिपूर्ण मानिसहरूलाई कसरी माया देखाउनुभएको छ?

  • मसीही राज्य यहोवाको प्रेमको एउटा उदाहरण हो भनेर किन विश्‍वस्त हुनुहुन्छ?

१. परमेश्‍वरको प्रमुख गुण कुन हो र यो कुरा विचार गर्दा तपाईंलाई कस्तो लाग्छ?

यहोवाको प्रेरणाद्वारा लेखिएको किताब बाइबलमा “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनेर उल्लेख गरिएको छ। बाइबलमा परमेश्‍वरका थुप्रै राम्रा गुणमध्ये एउटा प्रेम हो भन्‍ने कुरा मात्र बताइएको छैन। बरु “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनेर स्पष्ट पारिएको छ। (१ यूह. ४:८) प्रेम नै परमेश्‍वरको प्रमुख गुण हो। यहोवा प्रेमको मूर्तरूप हुनुहुन्छ। उहाँ सबै काम प्रेमले उत्प्रेरित भएर गर्नुहुन्छ। ब्रह्‍माण्ड र यसमा भएका सबै प्राणीको सृष्टिकर्ता यहोवा प्रेम हुनुहुन्छ भनेर थाह पाउँदा के तपाईंलाई खुसी लागेन र?

२. हामी कुन कुरामा विश्‍वस्त छौं? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

२ परमेश्‍वर आफ्नो सृष्टिलाई असाध्यै माया गर्नुहुन्छ। त्यसकारण यो कुरामा हामी विश्‍वस्त छौं: मानवजातिको लागि राख्नुभएको उद्देश्‍य पूरा गर्न उहाँले कुनै कसर बाँकी राख्नुहुनेछैन; उहाँको शासनको अधीनमा बस्न चाहने सबैले प्रशस्त लाभ उठाउनेछन्‌। मानवजातिको मायाले गर्दा नै उहाँले “आफूले निर्धारण गरेको स्तरबमोजिम सारा संसारको न्याय गर्न ... एक दिन तोक्नुभएको छ र आफूले नियुक्‍त गरेको एक जना मानिस” येशू ख्रीष्टद्वारा “उहाँले त्यो दिन न्याय गर्नुहुनेछ।” (प्रेषि. १७:३१) हो, यहोवाले आफूले तोकेको समयमा सबैको न्याय गर्नुहुनेछ। सही मनसाय राखेर यहोवाको आज्ञा मान्‍ने मानिसहरूले प्रशस्तै आशिष्‌ पाउनेछन्‌ र त्यस्तो आशिष्‌ सधैंभरि रहनेछ।

इतिहासले के भन्छ?

३. परमेश्‍वरमा प्रेम नै नभएको भए हाम्रो अवस्था कस्तो हुनेथियो?

३ परमेश्‍वरलाई मानिसजातिको माया नलाग्दो हो त हाम्रो अवस्था कस्तो हुने थियो? यो कुरा बुझ्न इतिहासको पाना पल्टाए पुग्छ। यस संसारको निर्दयी र क्रूर शासक सैतानको इशारामा नाच्ने मानव शासकहरूको दमनबाट मानिसहरूले छुटकारा पाएका छैनन्‌। परमेश्‍वरमा प्रेम नभएको भए हामीसित त्यस्तो दमनबाट उम्कने आशा हुने थिएन। (२ कोरि. ४:४; १ यूह. ५:१९; प्रकाश १२:९, १२ पढ्‌नुहोस्‌) यो ब्रह्‍माण्ड परमेश्‍वरको प्रेमले नचल्दो हो त हाम्रो भविष्य अन्धकारमय हुनेथियो।

४. सैतानले यहोवाको शासनको विरोध गर्दा उहाँले के गर्नुभयो?

४ सैतानले यहोवाको शासनको विरोध गऱ्‍यो र पहिलो मानव जोडीलाई पनि त्यस्तै गर्न उक्सायो। वास्तवमा मानवजातिमाथि शासन गर्ने अधिकार यहोवाको मात्र हो र उहाँले मात्र सही तरिकामा शासन गर्न सक्नुहुन्छ। तर सैतानले यहोवाको यो अधिकारलाई चुनौती दियो। त्यसले यसो भनिरहेको थियो, ‘यहोवाले भन्दा मैले राम्ररी शासन गर्न सक्छु।’ (उत्प. ३:१-५) यहोवाले त्यसलाई आफ्नो दाबी प्रमाणित गर्ने मौका दिनुभयो, तर त्यो मौका सधैंभरिको लागि थिएन। बुद्धिमान्‌ परमेश्‍वरले सैतानलाई आफ्नो दाबी प्रमाणित गर्न पर्याप्त समय दिइसक्नुभएको छ। परिणाम? इतिहासलाई फर्केर हेर्दा मानव शासकहरू र सैतानले ठीक तरिकामा शासन गर्न सक्दैन भन्‍ने कुरा प्रमाणित भइसकेको छ।

५. इतिहासले कुन कुरा प्रस्ट्याएको छ?

५ बितेको सय वर्षभित्र १० करोडभन्दा धेरै मानिसले युद्धमा ज्यान गुमाइसके। संसारको अवस्था अझ बिग्रँदै छ। यस “अन्तको दिनमा” “दुष्ट र जाली मानिसहरू झन्‌-झन्‌ खराब हुँदै जानेछ” भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (२ तिमो. ३:१, १३) त्यसैले खराब कुराहरू दिन दुई गुना रात चौगुना बढ्‌दै छ। यर्मिया १०:२३ को यो भनाइ सत्य हो भन्‍ने कुरा मानव इतिहासले प्रस्ट पारेको छ: “हे परमप्रभु, मलाई थाहा छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” हो, यहोवाको मदतविना मानिसहरूले आफ्नो पाइलालाई सही बाटोमा डोऱ्‍याउन सक्दैनन्‌। यहोवाले तिनीहरूलाई त्यसो गर्ने क्षमता अनि अधिकार दिनुभएको छैन।

६. परमेश्‍वरले खराब कुराहरू रहन दिनुभएकोले कुन कुरा प्रमाणित भएको छ?

६ परमेश्‍वरले केही समयको लागि खराब कुराहरू रहन दिनुभएकोले अर्को कुरा पनि प्रमाणित भएको छ। त्यो हो, यहोवाको शासनले मात्र मानवजातिलाई सुखशान्ति दिन सक्छ। त्यसकारण परमेश्‍वरले दुष्टहरूलाई नाश गरिसकेपछि फेरि कसैले उहाँको शासनलाई चुनौती दिएमा उसलाई आफ्नो दाबी प्रमाणित गर्ने मौका दिइराख्नु जरुरी हुनेछैन। बरु मानिसहरू आफूखुसी चल्दा अहिले जे भइरहेको छ, त्यसलाई आधार बनाएर यहोवाले विद्रोहीलाई तुरुन्तै नाश गर्न सक्नुहुन्छ।

यहोवाको प्रेमको प्रमाण

७, ८. यहोवाले हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुराको के-कस्ता प्रमाणहरू छन्‌?

७ यहोवा परमेश्‍वरले हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुराको अनगिन्ती प्रमाण छन्‌। यो विशाल ब्रह्‍माण्डलाई नै लिनुहोस्‌। यस ब्रह्‍माण्डमा अरबौं तारापुञ्ज छन्‌ र प्रत्येक तारापुञ्जमा अरबौं-अरब तारा तथा ग्रह छन्‌। जस्तै: मिल्की वे भनिने तारापुञ्जमा भएको एउटा तारा सूर्य हो। सूर्य नहुँदो हो त पृथ्वीमा जीवन सम्भव हुने थिएन। यहोवाका यी सबै सृष्टिले उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रमाण दिन्छ। उहाँ शक्‍तिशाली, बुद्धिमान्‌ र मायालु हुनुहुन्छ भनेर पनि देखाउँछ। हो, “उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, संसारको सृष्टिदेखि नै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्‌गै देखिने भएको छ।”—रोमी १:२०.

८ यहोवाले पृथ्वीमा मानिस लगायत अरू थुप्रै प्राणी सृष्टि गर्नुभयो र तिनीहरूले जीवनको आनन्द उठाउन सकून्‌ भनेर अरू कुराहरू पनि बनाउनुभयो। उहाँले पहिलो मानव जोडीलाई सृष्टि गरेर सुन्दर बगैंचामा राख्नुभयो अनि उनीहरू सधैंभरि बाँचून्‌ भनेर त्रुटिरहित शरीर र दिमाग पनि दिनुभयो। (प्रकाश ४:११ पढ्‌नुहोस्‌) साथै, ‘उहाँले सबै प्राणीहरूलाई आहार दिनुभएको छ। किनभने उहाँको करुणा सदासर्वदै रहिरहन्छ।’—भज. १३६:२५.

९. यहोवाले कस्तो कुरालाई घृणा गर्नुहुन्छ र किन?

९ हुन त यहोवा प्रेम हुनुहुन्छ। तर उहाँ खराब कुरालाई घृणा पनि गर्नुहुन्छ। जस्तै: भजन ५:४-६ मा उहाँबारे यस्तो लेखिएको छ: “तपाईं दुष्टतामा प्रसन्‍न हुने परमेश्‍वर हुनुहुन्‍न। . . . अधर्मको काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ।” ती पदहरूमा यसो पनि भनिएको छ: “परमप्रभुले रक्‍तपात र छल गर्ने मानिसलाई घृणा गर्नुहुन्छ।”

दुष्टताको अन्त नजिकै

१०, ११. (क) परमेश्‍वरले दुष्ट मानिसहरूलाई के गर्नुहुनेछ? (ख) परमेश्‍वरले उहाँको स्तरअनुसार चल्नेहरूलाई इनाम स्वरूप के दिनुहुनेछ?

१० प्रेमको परमेश्‍वर यहोवाले खराब कुरालाई घृणा गर्नुहुन्छ। त्यसकारण सैतानले खडा गरेको चुनौती पूर्ण रूपमा सुल्झिएपछि उहाँले सैतान र त्यसले फैलाएको दुष्टतालाई ब्रह्‍माण्डबाट नामेट पार्नुहुनेछ। परमेश्‍वरको वचनमा यस्तो प्रतिज्ञा गरिएको छ: “कुकर्मीहरू नष्ट हुनेछन्‌। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌। किनकि थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . परमप्रभुका शत्रुहरूचाहिं खर्कको शोभाजस्तै हुनेछन्‌। तिनीहरू भस्म हुनेछन्‌, र धुवाँजस्तै बिलाएर जानेछन्‌।”—भज. ३७:९, १०, २०.

११ बाइबलमा भविष्यबारे यस्तो प्रतिज्ञा पनि गरिएको छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भज. ३७:२९) परमेश्‍वरको स्तरअनुसार चल्ने ती मानिसहरूले “प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।” (भज. ३७:११) यी प्रतिज्ञाहरू अवश्‍य पूरा हुनेछन्‌ किनकि यहोवा परमेश्‍वर सधैं आफ्ना वफादार सेवकहरूको भलो चाहनुहुन्छ। बाइबल यसो भन्छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रका. २१:४) परमेश्‍वरको प्रेम अनमोल छ भनेर स्वीकार्ने र उहाँलाई आफ्नो शासक मान्‍ने मानिसहरूको भविष्य साँच्चै उज्ज्वल छ।

१२. भजन ३७:३७ मा उल्लेख गरिएको “सिद्ध मानिस”-ले कसलाई बुझाउँछ?

१२ परमेश्‍वरको वचनमा यस्तो लेखिएको छ: “सिद्ध मानिसलाई दृष्टि लगा, र धर्मात्मालाई हेर्‌, किनभने त्यस्ता मानिसको आखिरको अवस्था शान्तिमय हुन्छ। अपराधीहरूचाहिं सबै सँगसँगै नाश हुनेछन्‌, दुष्टको आखिर अवस्था सर्वनाशको हुनेछ।” (भज. ३७:३७, ३८) यहाँ उल्लेख गरिएको “सिद्ध मानिस”-ले कसलाई बुझाउँछ? यहोवा र उहाँको छोरा येशूको ज्ञान लिएर उहाँहरूलाई राम्ररी चिन्‍ने अनि परमेश्‍वरको इच्छाअनुसार चल्ने मानिसलाई। (यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌) परमेश्‍वरको इच्छाअनुसार चल्ने मानिसले १ यूहन्‍ना २:१७ मा लेखिएका यी शब्दहरू सधैं मनमा राख्छन्‌: “संसार बितेर जाँदैछ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।” अब चाँडै संसारको अन्त हुने भएकोले हामीले समय खेर नफाली ‘परमप्रभुको बाटो हेर्नुपर्छ र उहाँकै मार्गमा हिंड्‌नुपर्छ।’—भज. ३७:३४.

परमेश्‍वरको प्रेमको सबैभन्दा ठूलो प्रमाण

१३. परमेश्‍वरको प्रेमको सबैभन्दा ठूलो प्रमाण कुन हो?

१३ हामी त्रुटिपूर्ण भए पनि ‘यहोवाको मार्गमा हिंड्‌न सक्छौं।’ साथै, उहाँसित घनिष्ठ सम्बन्ध गाँस्न सक्छौं। किनकि उहाँले येशू ख्रीष्टलाई फिरौतीस्वरूप जीवन दिन पृथ्वीमा पठाउनुभएर हामीप्रति आफ्नो प्रेमको सबैभन्दा ठूलो प्रमाण दिनुभएको छ। यस्तो प्रबन्धले गर्दा हामीले आदमबाट पाएको पाप र मृत्युबाट छुटकारा पाउन सम्भव भयो। (रोमी ५:१२; ६:२३ पढ्‌नुहोस्‌) स्वर्गमा छँदा येशूले युगौंयुगसम्म वफादार भई यहोवाको सेवा गर्नुभयो। त्यसकारण यहोवा उहाँलाई पूर्ण भरोसा गर्नुहुन्थ्यो। यस्तो भरोसाले गर्दा नै उहाँले येशूलाई पृथ्वीमा पठाउनुभयो। यहोवा आफ्नो छोरालाई असाध्यै माया गर्नुहुन्छ। येशूले मानिसहरूको हातबाट दुर्व्यवहार भोग्नुपर्दा उहाँलाई कत्ति पीडा भयो होला, हामी कल्पना समेत गर्न सक्दैनौं। येशूले यहोवाको शासन गर्ने अधिकारलाई समर्थन गर्नुभयो र असाध्यै कठिन परिस्थितिमा समेत त्रुटिरहित मानिस यहोवाप्रति निष्ठावान्‌ रहन सक्छन्‌ भनेर प्रमाणित गर्नुभयो।

स्वर्ग छोडेर पृथ्वीमा आउन तयार येशू; उहाँले आफ्नो बुबालाई हेरिरहनुभएको छ

मानिसजातिको मायाले गर्दा यहोवाले येशूलाई पृथ्वीमा पठाउनुभयो र येशू पनि राजीखुसीले पृथ्वीमा आउनुभयो (अनुच्छेद १३ हेर्नुहोस्‌)

१४, १५. येशूको मृत्युले गर्दा कुन कुरा सम्भव भयो?

१४ असाध्यै पीडा भोग्नुपर्दा समेत येशूले निष्ठा कायम गरेर यहोवाको शासन गर्ने अधिकारलाई उच्च पार्नुभयो र आफ्नो बुबाप्रति अन्तसम्मै वफादार रहनुभयो। येशूले फिरौतीस्वरूप जीवन बलिदान दिनुभएकोले मानिसजातिले पापबाट छुटकारा पाए र यहोवाले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा अनन्त जीवन पाउने ढोका पनि खुल्यो। यहोवा र येशूले हाम्रो लागि यत्ति ठूलो त्याग गर्नुभएकोमा के हामी उहाँहरूप्रति आभारी हुनु पर्दैन र? प्रेषित पावलले यस्तो लेखे: “हामी कमजोर छँदै, अभक्‍त मानिसहरूको निम्ति ख्रीष्ट तोकिएको समयमा मर्नुभयो। हुन पनि, भला मानिसको निम्ति ज्यान दिन हिम्मत गर्ने कोही निस्के तापनि कर्तव्यपरायण मानिसको निम्ति आफ्नो ज्यान दिने सायदै कोही होला। तर हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।” (रोमी ५:६-८) प्रेषित यूहन्‍नाले पनि यसो भने: “हाम्रो सन्दर्भमा परमेश्‍वरको प्रेम यसरी प्रकट भएको छ, कि उहाँले आफ्नो एक मात्र छोरा संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौं। प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, बरु उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापहरूको प्रायश्‍चितको बलिदानको रूपमा उहाँले आफ्नो छोरालाई पठाउनुभयो।”—१ यूह. ४:९, १०.

१५ यहोवाले मानिसजातिलाई कत्तिको माया गर्नुहुन्छ भन्‍ने सन्दर्भमा येशूले यसो भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई [उहाँको नजरमा उद्धार पाउन योग्य ठहरिएका मानिसहरूलाई] यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्‍वास गर्ने हरेक नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (यूह. ३:१६) हो, यहोवा मानिसहरूलाई असाध्यै माया गर्नुहुन्छ। त्यसकारण मानिसहरूको भलाइको लागि ठूलै मोल चुकाउनु परे पनि तयार हुनुहुन्छ। उहाँको प्रेम कहिल्यै सेलाउँदैन। यसमा हामीले शङ्‌का गर्नुपर्ने ठाउँ नै छैन। पावलले यस्तो लेखे: “म विश्‍वस्त छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न सरकारहरूले, न अहिले यहाँ भएका न त पछि आउने कुराहरूले, न शक्‍तिले, न उचाइले, न गहिराइले, न त अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमार्फत व्यक्‍त भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न सक्नेछ।”—रोमी ८:३८, ३९.

परमेश्‍वरको राज्य सक्रिय छ

१६. मसीही राज्य के हो र यो राज्यको राजा को हुनुहुन्छ?

१६ यहोवाले येशू ख्रीष्टलाई मसीही राज्यको राजा नियुक्‍त गर्नुभएको छ। यसबाट पनि उहाँ मानिसहरूलाई धेरै माया गर्नुहुन्छ भन्‍ने कुरा देखिन्छ। मसीही राज्य भनेको यहोवाको सरकार हो। यहोवाले आफ्नो सरकार चलाउन नियुक्‍त गर्नुभएको राजा येशूले मानिसहरूलाई धेरै माया गर्नुहुन्छ र उहाँ शासन गर्न योग्य पनि हुनुहुन्छ। (हितो. ८:३१) उहाँसित मिलेर एक लाख ४४ हजार वफादार मानिसहरूले स्वर्गबाट शासन गर्नेछन्‌। पृथ्वीमा हुँदा बटुलेको अनुभवले गर्दा तिनीहरूले मानिसजातिमाथि राम्ररी शासन गर्न सक्नेछन्‌। (प्रका. १४:१) पृथ्वीमा छँदा येशूले त्यही राज्यको विषयमा प्रचार गर्नुभयो अनि चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईंको नाम पवित्र पारियोस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।” (मत्ती ६:९, १०) यहोवाले भविष्यमा ती चेलाहरूको प्रार्थनाको जवाफ दिनुहुँदा मानिसजातिले प्रशस्त आशिष्‌ पाउनेछन्‌।

१७. येशूको शासन र मानव शासनबीच कस्तो भिन्‍नता छ?

१७ येशूको शासन र मानव शासनबीच आकाश-पातालको भिन्‍नता छ। मानव शासकहरू आपसमा युद्ध गर्छन्‌, जसले गर्दा लाखौंले ज्यान गुमाइसकेका छन्‌। तर येशू भने आफ्नो प्रजाको ख्याल राख्नुहुन्छ र प्रेमलगायत यहोवाका मनमोहक गुणहरूको अनुकरण गर्नुहुन्छ। (प्रका. ७:१०, १६, १७) पृथ्वीमा छँदा उहाँले यसो भन्‍नुभएको थियो: “हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिसहरू हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। मेरो जुवा बोक र मबाट सिक, किनकि म कोमल स्वभाव र नम्र मनको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।” (मत्ती ११:२८-३०) कस्तो मनै छुने निमन्त्रणा!

१८. (क) परमेश्‍वरको राज्य स्थापित भएपछि यस राज्यले कुन काम गरिरहेको छ? (ख) अर्को लेखमा कस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौं?

१८ बाइबल भविष्यवाणीले देखाएअनुसार सन्‌ १९१४ मा ख्रीष्टको उपस्थिति भएसँगै स्वर्गमा परमेश्‍वरको राज्य स्थापित भयो। त्यो समयदेखि परमेश्‍वरको राज्यले स्वर्गमा येशूसँगै शासन गर्नेहरूमध्येका बाँकी सदस्यहरू र यस युगको अन्त हुँदा नयाँ संसारमा जीवन पाउने आशा राखेको “ठूलो भीड”-लाई जम्मा गरिरहेको छ। (प्रका. ७:९, १३, १४) त्यसोभए अहिले त्यो भीड कत्रो भएको छ? तिनीहरूबाट कस्तो आस गरिएको छ? यी प्रश्‍नहरूको जवाफ अर्को लेखमा पाउनेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने