येशू—“अघिदेखि, अर्थात् प्राचीनकालदेखिनै” शासक
तपाईं लामो समयदेखि भेट नभएको नातेदारको आगमनको प्रतीक्षामा हुनुहुन्छ र झन् झनै उत्सुक हुन थाल्नुहुन्छ। बल्ल तपाईं तिनलाई भेट्नुहुन्छ र हार्दिक अभिवादन गर्नुहुन्छ। तिनका पिताले तपाईंलाई भेट्न किन पठाएको रहेछ भनी ध्यान दिएर सुन्नुहुन्छ। अनि केही समय नबित्दै तिनको घर फर्कने बेला हुन्छ। न्यास्रो मान्दै तपाईं तिनलाई बिदाइ गर्नुहुन्छ। तर तिनी सकुशल घर पुगेको समाचार पाउनुभएपछि न्यास्रो मान्नुहुन्न।
पछि, पुराना कागजातहरू खोतल्दा केही चिठीहरू पाउनुहुन्छ जसमा तपाईंको नातेदारले तपाईंलाई भेट्न आउनुभन्दा धेरै पहिला गरेका महान् कार्यहरूबारे छोटकरीमा उल्लेख गरिएको छ। ती चिठीहरूबाट तिनको पृष्ठभूमिबारे चाखलाग्दो अन्तरदृष्टि पाउनुहुन्छ अनि तपाईं तिनको भ्रमण र वर्तमान कार्यको झन् धेरै मूल्यांकन गर्नुहुन्छ।
“प्राचीनकालदेखिनै”
प्रथम शताब्दीका यहूदीहरूले पाएका पुराना कागजातहरूमध्ये एउटा परमेश्वरका अगमवक्ता मीकाका लेखोटहरू थिए र यो प्रथम शताब्दीभन्दा लगभग सात सय वर्षअघि लेखिएका थिए। यी विवरणहरूबाट मसीहको जन्मस्थल ठ्याक्कै थाह पाउनसक्छौं। “ए बेतलेहेम एप्राता, तँ जो यहूदाका हजारौंका बीचमा सानो छस्, तँबाट मेरो निम्ति एक जना निस्कनेछ, जो इस्राएलका शासक हुनेछ, जसको शुरू अघिदेखि, अर्थात् प्राचीनकालदेखिनै छ।” (मीका ५:२) यस भविष्यवाणीमा बताएमुताबिक नै येशूको जन्म यहूदी गाउँ बेतलेहेममा भएको थियो र त्यस वर्षलाई अहिले सा.यु.पू. २ भनिन्छ। तर कसरी उहाँको सुरुआत “अघिदेखि” हुनसक्छ?
येशूको मानवपूर्व अस्तित्व थियो। प्रेरित पावलले कलस्सीका मसीहीहरूलाई लेखेको पत्रमा येशूलाई “अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिको जेठो” भनी वर्णन गरे।—कलस्सी १:१५.
सम्पूर्ण बुद्धिका स्रोत यहोवाले “अरू सबै कुरा भन्दा पहिलेनै” उहाँका पहिलो पुत्र सृजनुभयो र ती पुत्रलाई हितोपदेशको पुस्तकमा राजा सुलेमानले लिपिबद्ध गरेका अभिव्यक्तिहरू चलाउन प्रेरित गर्नुभयो। येशूको पार्थिव यात्रा र स्वर्गमा फर्कनुभएपछि “सृष्टिको प्रारम्भनै” उहाँ हुनुहुन्छ भनी निर्विवाद प्रमाण दिनुभयो। आफ्नो बुद्धिको प्रदर्शन गर्दै मानवपूर्व अस्तित्व भएका येशूले यस्तो घोषणा गर्नुभयो: “[यहोवाले] आकाशलाई त्यसको ठाउँमा बसाल्नुहुँदा म त्यहाँ थिएँ।”—हितोपदेश ८:२२, २३, २७, नेपाली (नयाँ संशोधित संस्करण); प्रकाश ३:१४.
सुरुदेखि नै परमेश्वरका पुत्रले आफ्ना पिताको साथमा “मुख्य कारिगर” [ NW] हुने अद्वितीय काम पाउनुभयो। यसबाट यहोवा अत्यन्तै प्रसन्न हुनुभयो! हितोपदेश ८:३० ले यसो भन्छ: “त्यस बेला म [यहोवाको] छेउमा उहाँको प्रिय र आनन्दको पात्रझैं दिनहुँ उहाँकै सामने निरन्तर खेल्दै बस्थें।”
पछि यहोवाले आफ्ना पहिलो पुत्रलाई मानवजाति सृष्टि गर्ने कार्यमा सहभागी हुन पनि बोलाउनुभयो। उहाँले यस्तो घोषणा गर्नुभयो: “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं।” (उत्पत्ति १:२६) फलस्वरूप, अर्को स्नेह जाग्यो। मानवपूर्व अस्तित्व भएका येशूले यसो भन्नुभयो: “मेरो [“स्नेह,” NW] चाहिं मानव-जातिमा थियो।” (हितोपदेश ८:३१) सुसमाचारको पुस्तकको सुरुमै प्रेरित यूहन्नाले सृष्टि गर्ने कार्यमा मानवपूर्व येशूको भूमिकाबारे यसो भने: “सबै थोक उहाँबाट हुनआए, औ हुनआएको कुनै एक थोक पनि उहाँ विना हुनआएन।”—यूहन्ना १:३.
यहोवाका प्रवक्ता
परमेश्वरका पुत्रले आनन्द उठाउनुभएको अर्को सुअवसरतर्फ पनि यूहन्ना ध्यानकेन्द्रित गर्छन्। त्यो थियो, यहोवाका प्रवक्ता हुने। सुरुदेखि नै उहाँले वचनको रूपमा सेवा गर्नुभयो। अतः यहोवाले आदमसित अनि पछि आदम र हव्वा दुवैसित कुरा गर्नुहुँदा सम्भवतः वचन मार्फत कुरा गर्नुभयो। मानिसको हितको निम्ति मानवजातिबारे चासो लिने व्यक्तिले बाहेक अरू कसले पो परमेश्वरको निर्देशन राम्ररी बताउनसक्छ?—यूहन्ना १:१, २.
हव्वा अनि पछि आदम सृष्टिकर्ताप्रति अनाज्ञाकारी भएको देख्दा वचन कत्ति दुःखित हुनुभयो होला! अनि अनाज्ञाकारिताको कारण तिनीहरूको सन्तानमा व्याप्त दुःख हटाउन उहाँ कत्तिको तत्पर हुनुभयो होला! (उत्पत्ति २:१५-१७; ३:६, ८; रोमी ५:१२) हव्वालाई विद्रोह गर्न उक्साउने शैतानलाई सम्बोधन गर्दै यहोवाले यसो भन्नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु।” (उत्पत्ति ३:१५) वचनले अदनको बँगैचामा भएको घटना देखेपछि आफू स्त्रीको “सन्तानको” प्रमुख भाग भएकोले दुश्मनीको मुख्य तारो हुनेछु भनी बुझ्नुभयो। शैतान हत्यारा हो भनी उहाँलाई थाह थियो।—यूहन्ना ८:४४.
शैतानले पछि विश्वासी अय्यूबको निष्ठाबारे प्रश्न उठाएर पितामाथि निन्दनीय आरोपहरू लगाउँदा वचन क्रोधित हुनुभएको हुनुपर्छ। (अय्यूब १:६-१०; २:१-४) अनि प्रधान दूतको भूमिकामा वचन माइकलको रूपमा चिनिनुहुन्छ जसको अर्थ “परमेश्वर जस्तो को छ?” हो र यसबाट यहोवाको सार्वभौमिकता हडप्ने आकांक्षा राख्ने जोसुकै विरुद्ध लड्न पनि उहाँ तयार हुनुहुन्छ भन्ने संकेत पाउँछौं।—दानियल १२:१; प्रकाश १२:७-१०.
इस्राएलको इतिहास प्रकट हुँदै जाँदा शैतानले मानिसहरूलाई साँचो उपासनादेखि टाढा राख्न खोजेको वचनले देख्नुभयो। मिश्रबाटको प्रस्थानपछि परमेश्वरले मोशा मार्फत इस्राएललाई यसो भन्नुभयो: “हेर, बाटामा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई पुऱ्याउनलाई म एउटा दूत तिमीहरूको अगि अगि पठाउनेछु। ध्यान दिएर तिनको कुरा सुन। तिनको विरुद्ध नउठ, किनकि तिनले तिमीहरूको अपराध क्षमा गर्नेछैनन्, किनकि तिनैमा मेरो नाउँ छ।” (प्रस्थान २३:२०, २१) त्यो स्वर्गदूत को थिए? सम्भवतः मानवपूर्व येशू हुनुहुन्थ्यो।
वफादारी अधीनता
मोशाको मृत्यु सा.यु.पू. १४७३ मा भयो र तिनको लाश “मोआबको देशमा बेतपोरको सामने एउटा बेंसीमा” गाडियो। (व्यवस्था ३४:५, ६) घटना विवरण केलाउँदा झूटो उपासनालाई प्रोत्साहन दिन शैतानले मोशाको लाश दुरुपयोग गर्न चाहन्थ्यो जस्तो देखिन्छ। माइकलले यसको विरोध गर्नुभयो तर आफ्नो पिता, यहोवाको अधिकार सामुन्ने उहाँ विनम्रतापूर्वक झुक्नुभयो। ‘शैतानमाथि निन्दित दोष लाउने साहस नगरी’ माइकलले शैतानलाई यस्तो चेताउनी दिनुभयो: “तँलाई प्रभुले हप्काउनुहुन्छ।”—यहूदा ९.
त्यसपछि, इस्राएल प्रतिज्ञाकृत देश कनानमाथि विजय हासिल गर्न अघि बढ्यो। यरीहो शहर नजिकै छँदा इस्राएल राष्ट्रमाथि निगरानी रहने आश्वासन यहोशूले वचनबाट पाए। त्यहाँ तिनले नांगो तरवार लिएर उभिरहेको एक जना मानिसलाई भेटे। त्यस अपरिचित मानिसकहाँ गएर यहोशूले यस्तो प्रश्न गरे: “तपाईं हामीतर्फको हुनुहुन्छ?” त्यस अपरिचित व्यक्तिले “होइन, तर परमप्रभुको फौजको कप्तान भएर म यहाँ आएको हुँ,” भनी आफ्नो परिचय दिंदा यहोशू कत्ति छक्क परे होलान् कल्पना गर्नुहोस्। त्यसैकारण त यहोवाको यस महिमित प्रतिनिधिसामु जमिनमा घोप्टो परेर यहोशूले दण्डवत् गरे। निस्सन्देह, उहाँ पछि “अभिषेक जन” हुने मानवपूर्व येशू हुनुहुन्थ्यो।—यहोशू ५:१३-१५; दानियल ९:२५.
परमेश्वरको अगमवक्ता दानियलको समयमा शैतानसित वचनको अर्को मुठभेड भयो। यतिबेला, फारस राज्यको कुमार दूतले तीन हप्तासम्म ‘युद्ध गरिराख्दा’ माइकलले आफ्नो सहदूतलाई सहयोग गरे। त्यस दूतले यसो भने: “फारसको राज्यको कुमारको विरुद्धमा मलाई सहायता गर्न माइकल आए।”—दानियल १०:१३, २१.
मानवपूर्व अस्तित्व तथा मानव महिमा
यहूदाका राजा उज्जियाह मरेको वर्ष अर्थात् सा.यु.पू. ७७८ मा परमेश्वरका अगमवक्ता यशैयाले यहोवालाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखे। “म कसलाई पठाऊँ औ हाम्रो निम्ति को जाने?” भनी यहोवाले प्रश्न गर्नुभयो। यशैया जान तम्से तर तिनका सँगी इस्राएलीहरूले तिनको कुरा सुन्नेछैनन् भनी यहोवाले चेताउनी दिनुभयो। प्रेरित यूहन्नाले प्रथम शताब्दीका अविश्वासी मसीहीहरूलाई यशैयाका दिनका मानिसहरूसित तुलना गर्दै यसो भने: “यशैयाले यी कुरा भने, किनकि तिनले उहाँको महिमा देखे।” कसको महिमा? स्वर्गीय न्यायालयमा यहोवा अनि उहाँ सँगसँगै मानवपूर्व येशूको।—यशैया ६:१, ८-१०; यूहन्ना १२:३७-४१.
केही शताब्दीपछि येशूले सबैभन्दा ठूलो कार्यभार पाउनुभयो। यहोवाले आफ्ना एक मात्र प्रिय पुत्रको जीवन शक्ति स्वर्गबाट मरियम नाउँ गरेकी स्त्रीको गर्भमा सार्नुभयो। तिनले नौ महिनापछि छोरा जन्माइन् जसको नाउँ येशू राखियो। (लूका २:१-७, २१) प्रेरित पावलकै शब्दमा भन्ने हो भने: “जब तोकिएको समय आयो, परमेश्वरले आफ्नो पुत्रलाई स्त्रीबाट, व्यवस्थाका अधीनमा [जन्माउनुभयो]।” (गलाती ४:४) त्यस्तैगरि प्रेरित यूहन्नाले यसप्रकार बताए: “अनि वचन देह हुनआयो, र हाम्रा बीचमा अनुग्रह र सत्यले पूर्ण भई बास गऱ्यो, (औ हामीले उहाँको महिमा, पिताबाट आउनुभएको एकलो पुत्रको जस्तो महिमा देख्यौं)।”—यूहन्ना १:१४.
मसीह देखा पर्नुहुन्छ
बाह्र वर्षको सानो उमेरमै येशूलाई स्वर्गमा हुनुहुने आफ्ना पिताको कार्यमा व्यस्त हुनुपर्छ भनी थाह भइसकेको थियो। (लूका २:४८, ४९) त्यसको १८ वर्षपछि येशू यर्दन नदीमा बप्तिस्मा दिने यूहन्नाकहाँ आउनुभयो र बप्तिस्मा लिनुभयो। येशूले प्रार्थना गर्नुहुँदा स्वर्ग उघ्रियो र पवित्र आत्माद्वारा नियुक्त हुनुभयो। अनि यसो कल्पना गर्नुहोस् त, हजारौं हजार वर्षसम्म आफ्ना पितासँगै मुख्य कारिगर, प्रवक्ता, परमेश्वरको सेनाको राजकुमार र प्रधान दूत माइकलको हैसियतमा गरेका कामहरूका झलक झलझली उहाँका आँखा अगाडि आए होलान्। अनि त्यसपछि पिताले बप्तिस्मा दिने यूहन्नालाई “यिनी मेरो प्यारो पुत्र हुन्, जोसँग म खुशी छु” भन्नुभएको सुन्दा उहाँ कत्ति रोमाञ्चित हुनुभयो होला।—मत्ती ३:१६, १७; लूका ३:२१, २२.
बप्तिस्मा दिने यूहन्नालाई येशूको मानवपूर्व अस्तित्वबारे फिटिक्कै शंका थिएन। येशू यूहन्नाकहाँ आउनुहुँदा यूहन्नाले यस्तो घोषणा गरे: “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा!” अनि तिनले अझ यसो भने: “यहाँ उहाँनै हुनुहुन्छ, जसका विषयमा मैले भनें, मपछि आउने मभन्दा अगाड़ि हुनुभएको छ, किनभने उहाँ मभन्दा पहिला हुनुहुन्थ्यो।” (यूहन्ना १:१५, २९, ३०) प्रेरित यूहन्नालाई पनि येशूको मानवपूर्व अस्तित्वबारे थाह थियो। तिनले यसरी लेखे: “माथिबाट आउने सबैभन्दा माथिका हुन्,” अनि “स्वर्गबाट आउने सबैभन्दा माथिका हुन्। जो उहाँले देख्नु र सुन्नुभएको छ, त्यसको गवाही उहाँ दिनुहुन्छ, औ उहाँको गवाही कसैले ग्रहण गर्दैन।”—यूहन्ना ३:३१, ३२.
सा.यु. ६१ तिर प्रेरित पावलले हिब्रू मसीहीहरूलाई येशूको आगमन तथा प्रधानपूजाहारीको रूपमा उहाँको कार्यको महत्त्वलाई पूर्णतया बुझ्न आग्रह गरे। प्रवक्ताको हैसियतमा येशूको भूमिकातर्फ ध्यानाकर्षण गर्दै पावलले यस्तो लेखे: “परमेश्वर . . . यी दिनका अन्तमा आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ, . . . जसद्वारा उहाँले जगत्हरू पनि बनाउनुभयो।” यसले चाहे येशूको “मुख्य कारिगरको” भूमिका संकेत गरेको होस् वा मानिसको पुनर्मिलापको निम्ति परमेश्वरको सिलसिलेबार ढंगमा एकपछि अर्को प्रबन्धमा संलग्नतालाई संकेत गरेको होस्, पावलले पनि येशूको मानवपूर्व अस्तित्वबारे साक्षी दिए।—हिब्रू १:१-६; २:९.
“अघिदेखि” वफादार
फिलिप्पीमा प्रथम शताब्दीका मसीहीहरूलाई पावलले यस्तो सल्लाह दिए: “तिमीहरूमा यो मन होस्, जो ख्रीष्टमा पनि थियो। उहाँले परमेश्वरको स्वरूपमा भएर परमेश्वरसितै बराबरको हुनालाई, जोगाइराख्ने धन जस्तो सम्झनुभएन, तर आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। औ रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो।” (फिलिप्पी २:५-८) येशूको पुनरुत्थान गर्नुका साथै उहाँलाई स्वर्गमा पुनः स्वागत गर्नुभएर यहोवाले मायालु ढंगमा येशूको वफादारीको इनाम दिनुभयो। युगानुयुगको दौडान येशूले हाम्रोनिम्ति निष्ठाको कस्तो उत्कृष्ट नमुना बसाल्नुभएको छ!—१ पत्रुस २:२१.
बाइबलले येशूको मानवपूर्व अस्तित्वका झलकहरू दिएकोमा हामी साह्रै कृतज्ञ छौं! विशेषगरि, अहिले परमेश्वरको मसीही राज्यमा राजाको हैसियतमा शासनारूढ हुनुहुँदा उहाँको वफादार सेवा अनुकरण गर्ने हाम्रो संकल्प सुदृढ पार्ने मदत पाउँछौं। हाम्रा राज्यपाल र शासक येशू ख्रीष्ट अर्थात् “शान्तिका राजकुमार[को]” जयजयकार गरौं जसको सुरुआत “अघिदेखि, अर्थात् प्राचीनकालदेखिनै” थियो!—यशैया ९:६; मीका ५:२.
[पृष्ठ २४-मा भएको पेटी]
मानवपूर्व अस्तित्वको प्रमाण
तल उल्लिखित येशूका शब्दहरूले उहाँको मानवपूर्व अस्तित्वको यथेष्ट प्रमाण दिन्छन्:
◻ “स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लिगएको छैन।”—यूहन्ना ३:१३.
◻ “मोशाले तिमीहरूलाई स्वर्गबाट रोटी दिएका होइनन्, तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ। किनभने परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्छ। . . . म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा पूरा गर्नालाई स्वर्गबाट ओर्लिआएको हुँ।”—यूहन्ना ६:३२, ३३, ३८.
◻ “स्वर्गबाट ओर्लने रोटी यही हो, कि कोही मानिस त्यो खाएर नमरोस्। स्वर्गबाट ओर्लेको जीवित रोटी मनै हुँ, यो रोटी कोही मानिसले खायो भने सधैंभरि जिउनेछ।”—यूहन्ना ६:५०, ५१.
◻ “तिमीहरूले मानिसको पुत्रलाई जहाँ उ अघि थियो त्यता उक्लँदै गरेको देख्यौ भने नि कसो?”—यूहन्ना ६:६२.
◻ “मेरो गवाही सत्य छ, किनभने म जान्दछु, म कहाँबाट आएँ र कहाँ जान्छु, . . . तिमीहरू तलका हौ। म माथिको हुँ। तिमीहरू यस संसारका हौ। म यस संसारको होइनँ।”—यूहन्ना ८:१४, २३.
◻ “परमेश्वर तिमीहरूका पिता हुनुहुँदो हो ता तिमीहरूले मलाई प्रेम गर्नेथियौ, किनभने म परमेश्वरका तर्फबाट आएँ, औ आएको छु। म आफ्नैतर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो।”—यूहन्ना ८:४२.
◻ “साँचो साँचो म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अघिदेखिनै म छँदैछु।”—यूहन्ना ८:५८.
◻ “हे पिता, मेरो जुन महिमा संसार हुनभन्दा अघि तपाईंसित थियो, त्यसैले मलाई तपाईं आफैसित महिमा गर्नुहोस्। हे पिता, म इच्छा गर्दछु, कि जो जो तपाईंले मलाई दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु मसितै होऊन्, र तपाईंले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देखून्, किनकि तपाईंले संसारको उत्पत्तिभन्दा पहिलेदेखिनै मलाई प्रेम गर्नुभयो।”—यूहन्ना १७:५, २४.
[पृष्ठ २३-मा भएको चित्र]
यहोशू र परमेश्वरको सेनाका राजकुमारबीच भेट